विकासन्युज

कुमारी बैंकद्वारा कीर्तिपुरमा उद्यमी प्रशिक्षण कार्यक्रम सम्पन्न

काठमाडौं । युएसएडसँगको साझेदारीमा ‘देशै भरि वर्षै भरि’ उद्यमशिलता विकास एवं प्रवर्द्धनका लागि नियमितरुपमा उद्यमी प्रशिक्षण अभियान सञ्चालन गरिरहेको कुमारी बैंकले महिला सशक्तिकरण केन्द्र कीर्तिपुरसँगको समन्वयमा कीर्तिपुरमा महिला उद्यमी प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको छ । वित्तीय ज्ञान, सिप, मनोबृद्धि तथा व्यवहार विकासबाट मात्रै व्यवहारिकरुपमा उद्यमशिलता प्रवर्द्धन तथा विकास हुने विश्वास लिएको कुमारी बैंकले यस अभियानमा सर्वसाधारणहरुको विषयगत संवेदनशीलतालाई सहजै बुझ्न सकिने गरि वित्तीय उद्यमी प्रशिक्षण, वित्तीय साक्षरता पुस्तिका, कुमारीजी एप, राष्ट्रियस्तरमा ख्यातिप्राप्त कलाकारहरुको अभिनय सहितका सन्देशमुलक भिडियोहरु, सचेतनामुलक सन्देशहरु विकास गरि नियमितरुपमा प्रकाशन तथा प्रशारण समेत गरिरहेको छ । उद्यमी प्रशिक्षणबाट हरेक स्थानिय निकायमा रहेका उद्यमी सोचहरुको प्रवर्द्धन तथा विकासमा टेवा पु-याउदै आर्थिकरुपमा समृद्ध परिवार, समाज तथा राष्ट्र निर्माणमा टेवा पुग्ने विश्वास बैंकले लिएको छ ।

माछापुच्छ्रे बैंकबाट १ जना सञ्चालक बाहिरिए, २ जना भित्रिए

काठमाडौं । माछापुच्छ्रे बैंकबाट १ जना सञ्चालक बाहिरिँदा २ जना भित्रिएका छन् । बैंकका संस्थापक सेयरधनी श्रीराम जानकी इन्भेष्टमेन्ट एण्ड पेट्रोलियम सप्लायर्स प्रालिको प्रतिनिधित्व गर्ने सञ्चालक हरिभक्त सिग्देलले सञ्चालक पदबाट राजीनामा दिएका हुन् । सिग्देलले मंसिर १४ गते सञ्चालक समितिमा राजीनामा दिएका थिए । उनको राजीनामा मंसिर २० गते बसेको सञ्चालक समितिको बैठकले स्वीकृत गरेको बैंकले जनाएको छ । यस्तै, मंसिर २० गते नै बसेको सञ्चालक समितिको बैठकले राम जानकीको तर्फबाट मुकुन्द महतलाई नियुक्त गरेको छ । यस्तै, सोही दिनको सञ्चालक समितिले अनिल साहलाई सञ्चालकमा नियुक्त गरेको छ ।

देशको निर्माण क्षेत्र हाँकिरहेका १० ठूला व्यवसायी : अर्बौंको कारोबार, कामको भ्याइनभ्याई

काठमाडौं । निर्माण क्षेत्र अर्थतन्त्रको मेरुदण्ड हो । पूर्वाधारको विकासमार्फत् निर्माण कम्पनीले अर्थतन्त्रमा ठूलो टेवा पुर्‍याएका छन् । देशभरका २४ हजार बढी निर्माण कम्पनीले आर्थिक गतिविधमा ठूलो योगदान पुर्‍याएका छन् । वार्षिक लाखको कारोबारदेखि अर्बौं रुपैयाँको कारोबार गर्ने कम्पनी पनि देशमा छन् । सडक, हाउजिङ, भवन, पुल, सिँचाइ, पर्यटकीय क्षेत्र र जलविद्युत लगायत क्षेत्रको पूर्वाधारको विकास गरेर अर्थतन्त्रमा निर्माण कम्पनीले ठूलो जिम्मेवारी बहन गरेका छन् । आज हामीले देशका ठूला १० निर्माण कम्पनी र ती कम्पनीको नेतृत्व गर्ने व्यवसायीको विषयमा यो सामग्री तयार गरेका छौं । कालिका कन्स्ट्रक्सन विक्रम पाण्डे कालिका कन्स्ट्रक्सन नेपालको सबैभन्दा ठूलो निर्माण कम्पनी हो । जसको नेतृत्व विक्रम पाण्डेले गरिरहेका छन् । विसं २०६३ सालमा स्थापना भएको यो कम्पनीको केन्द्रीय कार्यालय बालुवाटार, काठमाडौंमा छ । यो कम्पनी नेप्सेमा सूचीकृत जलविद्युत कम्पनी हो । भवन, सडक, पुल, खानेपानी तथा सिँचाइ र जलविद्युत परियोजना निर्माण गर्ने कालिका कन्स्ट्रक्सनले १४ वटा पुल, ११ वटा खानेपानी आयोजना, ६५ वटा राजमार्ग, ३ हाइड्रोपावर, ७ वटा सिँचाइ परियोजना एक अन्तर्राष्ट्रिय गरी कुल १०१ परियोजनाहरूको निर्माण कार्य सम्पन्न गरिसकेको छ । बहुचर्चित कोशी पुल, मदन भण्डारी राजमार्ग र दरौदी हाइड्रोपावर लगायतका निर्माण आयोजना यस कम्पनीले निर्माण गरेको हो । सिक्टा सिँचाइ आयोजना पनि यो कम्पनीले निर्माण गरिरहेको छ । कालिका ग्रुपका अध्यक्ष पाण्डे राजनीतिमा पनि सक्रिय छन् । उनी राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता हुन् । कालिका कन्स्ट्रक्सनको व्यवसाय पनि पछिल्लो तीन आर्थिक वर्षमा निरन्तर बढ्दो छ । यस कम्पनीले २०८० मा ४ अर्ब २८ करोड १० लाख, २०७९ मा ३ अर्ब ६३ करोड ३० लाख र २०७८ मा २ अर्ब ८५ करोड १० लाख रुपैयाँबराबरको व्यवसाय गरेको छ । यो तीन वर्षको अवधिमा यस निर्माण कम्पनीको व्यवसाय ५० प्रतिशतले बढेको तथ्यांकबाट प्रष्ट हुन्छ । यो निर्माण कम्पनीको १५ अर्ब बढी ऋण लिन सक्ने ल्याकत छ । शर्मा कन्स्ट्रक्सन शर्मा कन्स्ट्रक्सन प्रालि पनि नेपालको ठूलोमध्येको एक निर्माण कम्पनी हो । विसं २०२३ सालमा स्थापना भएको यस निर्माण कम्पनीको नेतृत्व रमेश शर्माले गरिरहेका छन् । सीतापाइला काठमाडौंमा मुख्य कार्यालय रहेको यस कम्पनीमा एक हजार बढी कर्मचारी कार्यरत छन् । रमेश शर्मा । कम्पनीका चिप म्यानेजर उपेन्द्र श्रेष्ठकाअनुसार यस कम्पनीले देशका ठूल्ठूला परियोजना निर्माण गर्दै आएको छ । भवन, सडक र पुल निर्माण, खानेपानी आपूर्ति, सिँचाइ, एयरपोर्ट, सीवेज (सीडी) निर्माण लगायतका कार्यहरूमा यो कम्पनी संग्लन छ । यसले भवनमा आवासीय र व्यावसायिक भवन निर्माणका साथै अपार्टमेन्ट र अन्य संरचनाहरूको निर्माण गर्दै आइरहेको छ । यस कम्पनीले राष्ट्रपति भवन, राष्ट्रिय वाणिज्य बैंकको भवन, नागरिक लगानी कोषको कार्यालय, मेडिसिडी अस्पताल, त्रिभुवन अन्तर्राष्ट्रिय कार्यालयको भवन, वीर अस्पतालको नयाँ भवन लगायत अन्य ठूला आयोजना सफलताका साथ काम सम्पन्न गरिसकेको छ । ए वर्गको यस निर्माण कम्पनीले २०८० मा ३ अर्ब ६२ करोड ५० लाख, २०७९ मा २ अर्ब ४७ करोड ६० लाख र २०७८ मा १ अर्ब ८९ करोड ९० लाख रुपैयाँको कारोबार गरेको थियो । यस कम्पनीले करिब ११ अर्बको ऋणका लागि रेटिङ पनि गराएको छ । अध्यक्ष शर्मा नेपाल निर्माण व्यवसायी महासंघका पूर्वअध्यक्षसमेत हुन् । शर्मालाई सरकारले २०८० चैतमा किर्गिजस्तानका अवैतनिक महावाणिज्यदूतमा पनि नियुक्त गरेको थियो । अहिले कम्पनीले धेरै परियोजनाहरू निर्माण गरिरहेको छ । हाल ४ वटा परियोजनाको काम निर्माणधीनको चरणमा रहेको कम्पनीका चिप म्यानेजर श्रेष्ठले बताए । गुणस्तर र प्राविधिक दक्षता भएको कम्पनीले समयमै गुणस्तरीय निर्माण कार्य सम्पन्न गर्ने र नवीनतम प्रविधिको प्रयोगमा ध्यान दिने कम्पनीको भनाइ छ । यो कम्पनी ठूलो पुँजी भएको कम्पनी हो । तुन्डी कन्स्ट्रक्सन ऋषी प्रसाद सुवेदी । तुन्डी कन्स्ट्रक्सन प्रालि नेपालको अर्को ठूलो निर्माण कम्पनी हो । विसं २०४१ सालमा भएको यो कम्पनीको नेतृत्व ऋषिप्रसाद सुवेदीले गरिरहेका छन् । यस कम्पनीले करिब दुई सय बढी ठूला निर्माण परियोजनाहरू सम्पन्न गरिसकेको जानकारी दिएको छ । यो कम्पनीले आवासीय र व्यावसायिक भवनहरू, सडक र पुल निर्माण, हाइड्रो, इन्फ्रास्ट्रक्चर प्रोजेक्ट, मर्मत र पुनर्निर्माण र अन्य निर्माणजन्य काम गर्दै आएको छ । उच्च गुणस्तरीय निर्माण कार्य र ग्राहकहरूको सन्तुष्टि सुनिश्चित गर्न आधुनिक प्रविधि र दक्ष मजदुरको प्रयोग गरिरहेको कम्पनीले जनाएको छ । कम्पनीले निर्माण परियोजनाको समग्र व्यवस्थापन, डिजाइन, र कार्यान्वयनमा बढी जोड दिने गरेको बताएको छ । यस कम्पनीले अहिले संसीय संसद भवनको निर्माणको काम गरिरहेको छ भने राष्ट्रपति भवन, काठमाडौं विश्वविद्यालय, नारायणी सिमेन्ट उद्योग, त्रिभुव विश्वविद्यालयको भवन, धनगढी विमानस्थल, चमेलिया दार्चुला सडक, पूर्व-पश्चिम राजमार्गको बेलबारी सडक खण्ड, भालुवाङ–प्युठान सडकलगायत ठूला परियोजना निर्माण सम्पन्न गरेको छ । ठूला रकमको कारोबार गर्ने यो निर्माण कम्पनीले यसअघि १३ अर्ब रुपैयाँको ऋणका लागि रेटिङ गराएको थियो भने वार्षिक ६ अर्ब रुपैयाँ बढीको कारोबार गर्ने गरेको छ । अनक कन्स्ट्रक्सन श्रीराम मर्हजन । अनक कन्स्ट्रक्सन प्रालि नेपालको अर्को ठूलो निर्माण कम्पनी हो । विसं २०४२ सालमा स्थापना भएको यो निर्माण कम्पनीको नेतृत्व श्रीराम मर्हजनले गरिरहेका छन् । रविभवन काठमाडौंमा मुख्य कार्यालय रहेको यस कम्पनीले पनि देशका ठूला गौरव गर्न लायक पूर्वाधार निर्माण सम्पन्न गरिसकेको छ । कृषि तथा वनविज्ञान विश्वविद्यालयको भवन, कर्मचारी सञ्चय कोष भवन, नेपाल पर्यटन बोर्ड र दोलखा जिल्ला अस्पताल लगायत ठुल्ठूला भवन तथा सडकहरु निर्माण सम्पन्न गरेको छ । यो कम्पनी आवासीय, व्यावसायिक र सार्वजनिक संरचनाहरूको निर्माणमा संलग्न छ । पुल, भवन, राजमार्ग, सिँचाई, जलविद्युत सडकलगायत अन्य गरी जम्मा ७३ ठूला वटा प्रोजेक्ट यस कम्पनीले सम्पन्न गरेको छ भने ३ वटा आयोजना निर्माणाधीनको चरणमा रहेका कम्पनीका सञ्चालक कविन महर्जनले बताए । उनका अनुसार यस कम्पनीले आवासीय निर्माणमा घर, अपार्टमेन्ट, फ्ल्याट र अन्य आवासीय परियोजनाहरू, व्यावसायिक निर्माणमा कार्यालय भवन, सपिङ मल, होटल, व्यावसायिक केन्द्रहरू जस्ता संरचनाहरूको निर्माण र मर्मत गर्दै आएको छ । आफ्ना निर्माण परियोजनामा सस्तो र टिकाउ समाधानको साथसाथै उच्च सुरक्षा मानकहरू पालना गर्दै काम गर्न सुनिश्चित गर्ने गरेको कम्पनीले दाबी गरेको छ ।यो कम्पनीले पनि कारोबार बढाउँदै गएको छ । कम्पनीले वार्षिक अर्ब बढीको कारोबार गर्दै आएको छ । समानान्तर निर्माण सेवा अच्युतप्रसाद खरेल । समानान्तर कन्स्ट्रक्सन प्रालि पनि ठूलो निर्माण कम्पनी हो । विसं २०५० सालमा स्थापना भएको यस कम्पनीको नेतृत्व अच्युतप्रसाद खरेलले गरिरहेका छन् । पुरानो बानेश्वर, काठमाडौंमा कार्यालय रहेको यस कम्पनीले घर, अपार्टमेन्ट, फ्ल्याट, कार्यालय भवन, शपिङ मल, होटललगायत विभिन्न आयोजनाहरूको निर्माण गर्दै आइरहेको छ । यस कम्पनीले हालसम्म जम्मा ५४ वटा निर्माण परियोजनाहरूमध्ये ४७ वटा सम्पन्न गरिसकेको छ भने ७ वटा निर्माणकै चरणमा रहेका छन् । गुणस्तरीय निर्माण, नवीनतम प्रविधीहरूको प्रयोग र समयमै परियोजनाहरूको पूरा गर्ने लक्ष्य राखेको समानान्तर कम्पनीले जनाएको छ । यस कम्पनीले पनि २०७८ मा ३ अर्ब १३ करोड ९० लाख, २०७९ मा ३ अर्ब १९ करोड ९० लाख र २०८० मा २ अर्ब ६६ करोड २० लाख रुपैयाँको कारोबार गरेको छ । वार्षिक एक अर्ब बढी कारोबार गर्ने कम्पनीको सूचिमा यो निर्माण कम्पनी पनि पर्दछ । समानान्तरले सर्वोच्च अदालत र भक्तपुर जिल्लाको नयाँ भवन, काठमाडौंमा बनिरहेका मुख्य सरकारी भवनहरु, नेपाल आयल निगमको कर्पोरट भवन, नेपाल प्रहरीको बहुउद्देश्यीय हल, भैंसेपाटीमा बनेका प्रदेशका मुख्यमन्त्रीका लागि बनेका भवन, गंगालाल राष्ट्रिय हृहदयरोग केन्द्र, बालाजु औद्योगिक क्षेत्र र त्रिपुरेश्वरस्थित पासपोर्ट विभागको भवन निर्माण गरेको हो । कतिपय परियोजना अहिले पनि निर्माण गरिरहेको छ । स्वच्छन्द निर्माण सेवा जयराम लामिछाने । स्वच्छन्द निर्माण प्रालि पनि नेपालको ठूलो मध्येको निर्माण कम्पनी हो । जसको नेतृत्व नेपाल निर्माण व्यवसायी महासंघका पूर्वअध्यक्ष समेत रहेका जयराम लामिछानेले गरिरहेका छन् । कंलकी, काठमाडौंमा कार्यालय रहेको यस कम्पनीको स्थापना विसं २०४४ सालमा भएको हो । आवासीय, व्यावसायिक र सार्वजनिक संरचनाहरूको निर्माणमा यो कम्पनी संलग्न छ । घर, फ्ल्याट, अपार्टमेन्ट, भवन, शपिङ मल, होटल, सडक, पुल, ढल, पानी आपूर्तिलगायत गरी जम्मा ३२ वटा प्रयोजनाहरू निर्माण गरेको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको विस्तार, दोलखा सिंगटी सडक, सिन्धुली सडक, कालिमाटी-बल्खु रोड, संखमुल गौशाला रोड, डाउनटाउन अपार्टमेन्ट, सिटी भ्यू अपार्टमेन्ट, दुधकोशी, सुनकोशी र धेरी पुल लगायको निर्माण तथा डिजाइन गरेको यो निर्माण कम्पनी देशको प्रख्यात कम्पनी हो । अहिले बहुचर्चित नागढुङ्गा सुरुङमार्ग निर्माण, पोखरा खानीपानी आपूर्ति परियोजना यही कम्पनीले निर्माण गरिरहेको छ । उत्कृष्ट काम गरेबापत यो कम्पनी धेरै पटक सम्मानित भइसकेको छ । यस निर्माण कम्पनीले २०८० मा ६४ करोड ६० लाख, २०७९ मा ७४ करोड र २०७८ मा ८० करोड बढीको कारोबार गरेको थियो । आशीष निर्माण सेवा ऋषिकेश गौली । आशीष निर्माण सेवा पनि ठूलो मध्येको एक निर्माण कम्पनी हो । विसं २०४१ सालमा स्थापना भएको यो कम्पनीको नेतृत्व ऋषिकेश गौलीले गरिरहेका छन् । भरतपुर, चितवनमा कार्यालय रहेको यस कम्पनी पूर्वाधार निर्माणको क्षेत्रमा परिचित नाम हो । यस निर्माण कम्पनीले ठूला ८० वटा परियोजनाहरूको निर्माणको काम सम्पन्न गरिसकेको छ । १५ सय बढी कर्मचारी रहेको यस कम्पनीले आवासीय निर्माण, घर, फ्ल्याट, अपार्टमेन्ट र विलासिता आवासहरूको निर्माण, कार्यालय भवन, सपिङ मल, पुल, सडक, खानेपानी, होटल लगायतका ठूला परियोजना निर्माण गर्दै आएको छ । कम्पनीले इन्जिनियरिङतर्फ निर्माणको प्राविधिक पक्षको योजनाबद्धता, डिजाइन र कार्यान्वयन, जस्तै संरचनात्मक, सिभिल र विद्युतीय इन्जिनियरिङको क्षेत्रमा पनि काम गर्दै आइरहेको छ । कम्पनीले आफ्नो काममा गुणस्तरीय सामग्री र आधुनिक प्रविधिको प्रयोग गर्दै उच्च स्तरको निर्माण कार्य सुनिश्चित गर्दै आइरहेको दाबी गरेको छ । यस कम्पनीको वार्षिक कारोबार पनि बढ्दै गएको छ । गत वर्ष यस कम्पनीले ६अर्ब रुपैयाँको कारोबार गरेको थियो भने अघिल्लो वर्ष ५ अर्ब रुपैयाँको कारोबार गरेको थियो । कम्पनीले १० अर्ब रुपैयाँ बढीको ऋणका लागि रेटिङ पनि गरेको थियो । यस निर्माण कम्पनीले कर्णाली प्रदेशको प्रादेशिक अस्पताल, काठमाडौं–तराई फाष्ट ट्र्याक, जनकपुर-धल्केवरको सडक, धरान खानेपानी, नेपाल इन्टरमोडल यातायात विकास बोर्डको भवन, भन्सार विभागको भवन, बीपी आँखा कान अस्पताल भक्तपुरको भवन, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको टर्मिनल भवन, दमकको भ्यू टावर लगायत ठूला परियोजनाको काम गरिसकेको छ । हाल यस निर्माण कम्पनीले रानी विराटनगर सडक र कालिगण्डकी करिडोर अन्तर्गतको गैंडाकोट–रामपुर सडक पनि निर्माण गरिरहेको छ । कुमार श्रेष्ठ कन्स्ट्रक्सन ऋषिकेश गौली । निर्माण क्षेत्रमा आफ्नो पृथक परिचय स्थापित कम्पनी हो- कुमार श्रेष्ठ कन्स्ट्रक्सन । विसं २०३४ सालमा स्थापना भएको यस कम्पनीको नेतृत्व प्रेमकुमार श्रेष्ठले गरिरहेका छन् । यो कम्पनीले आवासीय र व्यावसायिक भवनहरू, सडक र पुल निर्माण, इन्फ्रास्ट्रक्चरका परियोजना निर्माण गरिरहेको छ । हाल यसले जम्मा गरी १३ वटा ठूला परियोजनाहरू सम्पन्न गरेको छ भने ८ वटा निर्माणाधीन चरणमै रहेका छन् । कैलालीको गेटा मेडिकल कलेज, किर्तिपुर क्रिकेट मैदान, लमही-कोइलाबास सडक, धनखोला-शिवखोला सडक, टनकपुर लाइन सडक लगायतका ठूला परियोजना निर्माण सम्पन्न गरिसकेको छ । यस कम्पनीले हाल महाकाली पुल, सहजपुर-बोकटान सडक खण्ड लगायत परियोजना निर्माण गरिरहेको छ । यस कम्पनीले २०७९ मा करिब ४ अर्ब र २०७८ मा साढे ३ अर्ब रुपैयाँको कारोबार गरेको थियो । यस कम्पनीले आफ्नो काममा दक्षता, इन्जिनियरिङ प्राविधिकता र आधुनिक प्रविधिहरूको प्रयोगलाई प्राथमिकता जोड दिएको बताएको छ । लामा कन्स्ट्रक्सन जिबछिरिङ लामा । लामा कन्स्ट्रक्सन प्रालि पनि नेपालको पूरानो मध्येको एक ठूलो निर्माण कम्पनी हो । विसं २०३२ सालमा स्थापना भएको यस कम्पनीको नेतृत्व जिबछिरिङ लामाले गरिरहेका छन् । साढे चार दशकको समयावधिमा कम्पनीले ५० बढी ठूला परियोजना सम्पन्न गरिसकेको छ । कम्पनीका सुपरभाइजर गणेश चौहानका अनुसार कम्पनीले संरचना निर्माण, इन्जिनियरिङ र परियोजना व्यवस्थापनजस्ता सेवाहरू प्रदान गर्दै आएको छ । कम्पनीले भवन निर्माणमा आवासीय, व्यावसायिक र औद्योगिक भवन निर्माण गर्दै आएको छ भने सार्वजनिक संरचना अन्तर्गत सडक, पुल, स्कूल, अस्पताल जस्ता पूर्वाधार निर्माण गरिरहेको छ । पुर्ननिर्माण तथा मर्मतको काम पनि कम्पनीले गर्दै आएको छ । कम्पनीले खानेपानी, जलविद्युत र सञ्चार नेटवर्क स्थापना गर्ने परियोजना पनि निर्माण गर्दै आएको चौहानले बताए । उनका अनुसार सोलार प्यानल इन्स्टलेसन, हरित भवन निर्माण लगायत आयोजनाहरूमा पनि यो कम्पनीले निर्माण गरिरहेको छ । यस कम्पनीले २०७९ मा करिब एक अर्ब रुपैयाँ सञ्चालन आम्दानी गरेकोमा २०७८ मा साढे एक अर्ब र २०७७ मा १ अर्ब बढी रुपैयाँको सञ्चालन आम्दानी गरेको थियो । २०७९ मा यस निर्माण कम्पनीले साढे चार अर्ब रुपैयाँ ऋणको रेटिङ गराएको थियो । रसुवा कन्स्ट्रक्सन अनन्तप्रसाद आचार्य । रसुवा कन्स्ट्रक्सन पनि नेपालको ठूलो मध्येको एक निर्माण कम्पनी हो । कम्पनीको नेतृत्व अनन्तप्रसाद आचार्यले गरिरहेका छन् । कम्पनीले नेपालमा विभिन्न प्रकारका निर्माण परियोजनाहरूमा काम गर्दै आएको छ । आवासीय घर, फ्ल्याट, अपार्टमेन्ट र अन्य आवासीय संरचनाहरूको निर्माण गर्दै आएको छ । कम्पनीले कार्यालय भवन, व्यापारिक केन्द्र र अन्य व्यावसायिक संरचनाहरूको निर्माण गर्दै आएको छ भने सडक, पुल, ढल र सार्वजनिक संरचनाहरूको निर्माण गर्दै आइरहेको छ । यस निर्माण कम्पनीले पूराना भवनहरूको पुर्ननिर्माण तथा मर्मत, खानेपान र जलविद्युत परियोजनाको निर्माण पनि गरिरहेको छ । कम्पनीले चालु आर्थिक वर्षमा साढे एक अर्ब, २०८० मा साढे दुई अर्ब, २०७९ मा साढे तीन अर्ब, २०७८ मा साढे चार अर्ब रुपैयाँको कारोबार गरेको थियो । कम्पनीले करिब १० अर्ब रुपैयाँको ऋणका लागि पनि रेटिङ गराएको छ ।

लक्ष्मी लघुवित्तका सेयरधनीको हात खाली, छैन लाभांश प्रस्ताव

काठमाडौं । यो वर्ष लक्ष्मी लघुवित्त वित्तीय संस्था लिमिटेडका सेयरधनीको हात खाली हुने भएको छ । संस्थाले आर्थिक वर्ष २०८०/८१ को नाफाबाट लाभांश वितरण गर्ने प्रस्ताव गरेसँगै सेयरधनीका हात खाली हुने भएको हो । कम्पनीको मंसिर २१ गते बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०८०/८१ को मुनाफाबाट सेयरधनीलाई कुनै पनि लाभांश वितरण नगर्ने निर्णय गरेको हो । संस्थाको सोही बैठकले २०८१ असार मसान्तसम्मको वासलात, आव २०८०/८१ को नाफा, नोक्सान, तथा नगद प्रवाह विवरण लगायतका वित्तीय विवरण माथि छलफल गरी सोलाई स्वीकृतका लागि नेपाल राष्ट्र बैंकमा पठाउने निर्णय गरेको छ ।

नेपालपे क्युआर र आइसिटी अवार्डबीच सहकार्य, डिजिटल इकोसिस्टम प्रवद्र्धनमा सहयोग पुग्ने

काठमाडौं । नेपालको प्रतिष्ठित अवार्डको रूपमा चिनिएको आइसिटी अवार्डको नवौँ संस्करणमा नेपाल क्लियरिङ हाउस लिमिटेड (एनसीएचएल) को नेपालपे क्युआर आबद्ध भएको छ । यसका लागि एनसीएचएल र आइसिटी अवार्डबीच सहकार्य सम्बन्धि सम्झौता भएको हो । उक्त अवार्ड कार्यक्रम आगामी पुस ५ गते ह्यात रिजेन्सी काठमाडौंमा आयोजना हुँदैछ । कार्यक्रममा विभिन्न १४ विधामा अवार्ड प्रदान गरिने छ । एनसीएचएलले नेपालको डिजिटल भुक्तानीको विकास र प्रवद्र्धनमा विगत १६ वर्ष देखि काम गर्दै आएको छ भने अवार्डले पनि सूचना तथा सञ्चार प्रविधिको क्षेत्रमा काम गर्ने विभिन्न कम्पनी, स्टार्टअप तथा व्यक्तित्वहरुलाई विशेष सम्मान र प्रोत्साहन गर्दै आएको छ । आइसिटी अवार्डसँगको यस सहकार्यले नेपालको डिजिटल इकोसिस्टम प्रवद्र्धनमा महत्वपूर्ण भूमिका खेल्ने विश्वास कम्पनीले लिएको छ । नेशनल पेमेन्ट स्वीच अन्तर्गत नेपाल क्युआर मापदण्ड कार्यान्वयन गर्न एनसीएचएलले नेपालपे क्युआर सञ्चालन गरी मर्चेन्टहरूलाई अन्तरआबद्धता कायम गर्दै आएको छ । बैंक वित्तीय संस्था तथा भुक्तानी सेवा प्रदायकहरुले नेपालपे क्युआरको अन्तरआबद्ध नेटवर्कमा ८ लाख ७५ भन्दा बढी मर्चेन्टहरु आबद्ध गरिसकेका छन् । ग्राहकहरुले ४० वटा मोबाइल बैंकिङ एप, ११ वटा वालेट एप तथा कनेक्ट आइपीएसबाट नेपालपे क्युआर स्क्यान गरी सहज भुक्तानीको सुविधा प्रयोग गर्न सकिन्छ ।

भूटानी राजा काठमाडौंमा, स्वयम्भूनाथ र बौद्धनाथको दर्शन गर्ने

काठमाडौं । भूटानी राजा नरेश जिग्मे खेसर नाम्गेल वाङचुक अनौपचारिक भ्रमणका सिलसिलामा शुक्रबार बिहान काठमाडौं आइपुगेका छन् । उनलाई परराष्ट्रमन्त्री डा आरजु राणा देउवाले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरे । भूटानी नरेश वाङचुकले स्वयम्भूनाथ र बौद्धनाथको दर्शन गर्ने कार्यक्रम छ । भारतबाट स्वदेश फर्कने क्रममा उनी काठमाडौंमा छन् । उनी आजै स्वदेश फर्कने परराष्ट्र मन्त्रालयले जनाएको छ ।

बेलायतमा ईभीको वर्चश्व बढ्दै, आगामी दशकसम्म पेट्रोलबाट चल्ने कारको संख्या आधा घट्ने

काठमाडौं । सन् २०२४ मा बेलायतमा पेट्रोलियम पदार्थको प्रयोग उत्कर्षमा पुग्ने प्रक्षेपण गरिएको छ । रिपोर्टअनुसार विद्युतीय सवारीसाधन (ईभी) ले राम्रो बजार लिइरहेको छ र अझै बढ्दो रूपमा रहेको छ । बुधबार प्रकाशित एक विश्लेषणमा अटो ट्रेडरले आगामी दशकमा पेट्रोलबाट चल्ने कारहरूको संख्या लगभग आधा घट्ने जनाएको छ, किनभने चालकहरू विद्युतीय सवारीसाधनतर्फ आकर्षित हुँदै गइरहेका छन् । सन् २०२४ मा ब्रिटेनका सडकमा १ करोड ८७ लाख पेट्रोलबाट चल्ने कारहरू छन्, तर यो संख्या स्थिर रूपमा घट्दै २०३४ सम्ममा केवल १ करोड ११ लाखमा सीमित हुने अपेक्षा गरिएको छ । यही समयावधिमा इभीहरूको संख्या १ करोड २५ लाखबाट बढेर १ करोड ३७ लाख पुग्नेछ, किनभने यी सवारीसाधनहरू क्रमशः थप किफायती सावित हुँदै गएका छन् । अटो ट्रेडरका अनुसार नयाँ कार बजारमा ईभीहरूको हिस्सा यस वर्षको करिब १८ प्रतिशतबाट बढेर सन् २०२५ सम्ममा २३ प्रतिशत पुग्नेछ । यद्यपि यो दर अझै पनि यूके सरकारको शून्य उत्सर्जन सवारीसाधन म्यान्डेटअन्तर्गतको बिक्री लक्ष्य २८ प्रतिशतभन्दा कम छ। अटो ट्रेडरका इयान प्लमरले यो रिपोर्टमा भनेका छन्, ‘पीक पेट्रोल ब्रिटेनका लागि एक ऐतिहासिक क्षण हो ।’ ‘आगामी दशकमा ब्रिटिश मोटरिङमा ठूलो परिवर्तन हुने अपेक्षा गरेका छौं, किनभने पेट्रोल कारहरूको संख्या लगभग आधाले घट्नेछ र विद्युतीय सवारीसाधनले निकै ठूलो हिस्सा लिनेछ,’ उनले थपे । ‘यो सबै उद्योगले विभिन्न चुनौतीहरूको सामना गरिरहेका अवस्थामा भइरहेको छ । तीमध्ये शून्य उत्सर्जन सवारीसाधन लक्ष्यको कार्यान्वयन, आपूर्तिमा कमी, बदलिँदो वित्त नियम र बजेट पनि प्रमुख छन् । यद्यपि, प्रयोग भएका कारहरूको माग असाधारण रूपमा बलियो छ,’ प्लमरले भने । उद्योगमा अत्यधिक दबाब हालको नियमअनुसार कार कम्पनीहरूले कम्तीमा २२ प्रतिशत शून्य उत्सर्जन सवारीसाधन बनाउनुपर्छ । यो लक्ष्य सन् २०२५ मा २८ प्रतिशतमा वृद्धि हुनेछ, सन् २०३० सम्ममा ८० प्रतिशत र सन् २०३५ सम्ममा १०० प्रतिशत पुर्‍याइनेछ । यद्यपि यसले उद्योगमा अत्यधिक दबाब दिइरहेको छ । मोटर निर्माताहरू र व्यापारीहरूको समाज (एसएमएमटी) ले गत महिनाको अन्त्यमा चेतावनी सरकारी लक्ष्यले उद्योगमा अत्यधिक दबाब पारिरहेको र जसले व्यापार र रोजगारीमा ‘विनाशकारी प्रभाव’ पार्न सक्ने चेतावनी दिएको थियाे । गत हप्ता स्टेलान्टिसले दक्षिणी इंग्ल्याण्डको लुटनमा रहेको आफ्नो भक्सहल भ्यान कारखाना बन्द गर्ने योजना घोषणा गरेको थियो, जसले एक हजारभन्दा बढी रोजगारी जोखिममा परेको छ । तर १४ वटा गैरसरकारी संगठन, थिंक ट्यांक र अभियान समूहले नोभेम्बर मध्यतिर ब्रिटेन सरकारलाई खुला पत्र लेख्दै शून्य उत्सर्जन सवारीसाधन नीति कायम राख्न माग गरेका थिए । ती समूहहरूले यो नीति देशको सबैभन्दा ठूलो कार्बन बचत उपायहरूमध्ये एक भएको र कार उद्योगलाई प्रदान गरिएका लचकता पर्याप्त भएको तर्क गरेका थिए । एक सरकारी प्रवक्ताले नयाँ पेट्रोलियम पदार्थमा आधारित कारहरूको बिक्री सन् २०३० सम्म बन्द गर्ने प्रतिबद्धतामा उद्योगलाई समर्थन कसरी गर्न सकिन्छ भनेर विचार गर्न चाँडै परामर्श अघि बढाइने बताए । ‘हामी उद्योगले सामना गरिरहेको विश्वव्यापी चुनौतीहरूलाई ध्यानमा राखिरहेका छौं,’ प्रवक्ताले भने । घरेलु उत्पादनको परिवर्तनलाई समर्थन गर्नका लागि २.५४ बिलियन अमेरिकी डलरको लगानी र ईभीहरूको प्रयोग प्रवर्द्धन गर्न ३०० मिलियन पाउन्डभन्दा बढीको बजेट घोषणा गरिएको छ । (एजेन्सीहरूको सहयोगमा)

सुनको मूल्य घट्यो, चाँदीको बढ्यो

काठमाडौं । नेपाली बजारमा पछिल्लो केही दिन यता निरन्तर बढेको सुनको मूल्य शुक्रबार भने घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार साताको अन्तिम कारोबार दिन सुनको मूल्य घटेको हो । महासंघकाअनुसार शुक्रबार सुन तोलामा ६ सय रुपैयाँले घटेर प्रतितोला १ लाख ५० हजार १ सय रुपैयाँमा कारोबार भएको छ । बिहीबार सुनको मूल्य प्रतितोला ३ सय रुपैयाँले बढेको थियो । यस्तै, शुक्रबार सुनको मूल्य घट्दा चाँदीको मूल्य भने बढेको छ । बिहीबारको तुलनामा शुक्रबार चाँदीको मूल्य प्रतितोला १० रुपैयाँले बढेर प्रतितोला १ हजार ८ सय ९० रुपैयाँ पुगेको हो । बिहीबार चाँदीको मूल्य प्रतितोला १५ रुपैयाँले बढेको थियो ।