अमेरिकी डलरको भाउ बढ्यो, आजका लागि यस्तो छ विदेशी मुद्राको विनिमय दर
काठमाडौं । सोमबारको तुलनामा मंगलबार अमेरिकी डलरको भाउ बढेको छ । नेपाल राष्ट्र बैंकले अमेरिकी डलरको मूल्य एकको खरिदर १३५.२८ रुपैयाँ र बिक्रीदर १३५.८८ रुपैयाँ तोकेको छ । आज युरोपियन यूरोको एकको खरिदर १४३.१३ रुपैयाँ र बिक्रीदर १४३.७७ रुपैयाँ, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १७२.८९ रुपैयाँ र बिक्रीदर १७३.६५ रुपैयाँ, स्वीस फ्रयाङ्क एकको खरिददर १५३.९६ रुपैयाँ र बिक्रीदर १५४.६५ रुपैयाँ, अष्ट्रेलियन डलर एकको खरिददर ८७.२२ रुपैयाँ र बिक्रीदर ८७.६१ रुपैयाँ तोकेको छ । यस्तै, क्यानेडियन डलर एकको खरिददर ९५.७० रुपैयाँ र बिक्रीदर ९६.१२ रुपैयाँ, सिङ्गापुर डलर एकको खरिददर १०१.०५ रुपैयाँ र बिक्रीदर १०१.४९ रुपैयाँ, जापानी येन १० को खरिददर ८.९९ रुपैयाँ र बिक्रीदर ९.०३ रुपैयाँ र चिनियाँ युआन एकको खरिददर १८.६२ रुपैयाँ र बिक्रीदर १८.७० रुपैयाँ तोकेको छ । राष्ट्र बैंककाअनुसार साउदी अरेबियन रियाल एकको खरिददर ३६.०१ रुपैयाँ र बिक्रीदर ३६.१७ रुपैयाँ, कतारी रियाल एकको खरिददर ३७.११ रुपैयाँ र बिक्रीदर ३७.२७ रुपैयाँ, थाई भाट एकको खरिददर ४.०१ रुपैयाँ र बिक्रीदर ४.०३ रुपैयाँ, युएई दिराम एकको खरिददर ३६.८३ रुपैयाँ र बिक्रीदर ३७.०० रुपैयाँ, मलेसियन रिङ्गेट एकको खरिददर ३०.५७ रुपैयाँ र बिक्रीदर ३०.७१ रुपैयाँ तोकेको छ । यस्तै, साउथ कोरियन वन एक सयको खरिदद ९.४५ रुपैयाँ र बिक्रीदर ९.४९ रुपैयाँ, स्वीडिस क्रोनर एकको खरिददर १२.४२ रुपैयाँ र बिक्रीदर १२.४७ रुपैयाँ, डेनिस क्रोनर एकको खरिददर १९.१९ रुपैयाँ र बिक्रीदर १९.२८ रुपैयाँ, हङ्कङ डलर एकको खरिददर १७.४० रुपैयाँ र बिक्रीदर १७.४८ रुपैयाँ तोकेको छ । यस्तै, कुवेती दिनार एकको खरिददर ४४०.२९ रुपैयाँ र बिक्रीदर ४४२.२५ रुपैयाँ, बहराइन दिनार एकको खरिददर ३५८.७२ रुपैयाँ र बिक्रीदर ३६०.३१ रुपैयाँ, ओमानी रियाल एकको खरिददर ३५१.२८ रुपैयाँ र बिक्रीदर ३५२.९४ रुपैयाँ कायम रहेको राष्ट्र बैंकले जनाएको छ ।
स्ट्याण्डर्ड चार्टर्ड बैंकको पहिलो नेपाली सीईओ बने राणा, को हुन् उनी ?
काठमाडौं । स्ट्याण्डर्ड चार्टर्ड बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा गोरख शमशेर राणा नियुक्त भएका छन् । बैंक सञ्चालक समितिको बैठकले राणालाई सीईओमा नियुक्त गर्ने निर्णय गरेको हो । यससँगै बैंकको सीईओ बन्ने पहिलो नेपाली नागरिक बनेका छन् राणा । स्ट्याण्डर्ड चार्टर्ड बैंकमा स्ट्याण्डर्ड चार्टर्ड ग्रुपको ७०.२१ प्रतिशत विदेशी बैंकको सेयर स्वामित्व छ । सन् १९८७ मा सञ्चालनमा आएको बैंकले विदेशी नागरिकलाई नै सीईओ बनाउँदै आएको थियो । तर, यसपटक भने बैंकले नेपाली नागरिकलाई नै बैंकको व्यवस्थापकिय नेतृत्व दिने निर्णय गरेको हो । रााणले ग्रिनलेज बैंकबाट बैंकिङ करियर सुरु गरेका हुन् । ग्रिनलेज बैंकलाई स्ट्याण्डर्ड चार्टर्ड बैंकले किनेपछि उनी पनि स्ट्याण्डर्ड चार्टर्ड बैंकमा नै काम गर्दै आएका थिए । यसअघि उनी बैंकको नायव प्रमुख कार्यकारी अधिकृत (डीसीईओ) पदमा कार्यरत थिए । डीसीईओ हुँदा उनले प्रमुख कमर्सियल, कर्पोरेट र संस्थागत बैंकिङ्ग, ग्राहक कभरेजको जिम्मेवारी समेत सम्हालेका थिए । तीन दशक बढी बैंकिङ अनुभव रहेको राणाले एमबिए गरेका छन् । स्ट्याण्डर्ड चार्टर्ड बैंक तत्कालिन कम्पनी ऐन, २०२१ (संशोधन सहित) बमोजिम वि.सं २०४२ पुस ४ गते कम्पनी रजिष्ट्रारको कार्यालयमा नेपाल ग्रिण्डलेज बैंक लिमिटेडको नामबाट दर्ता भएको हो । तत्कालिन वाणिज्य बैंक ऐन, २०३१ अन्तर्गत नेपाल राष्ट्र बैंकबाट वित्तीय कारोवार गर्न स्वीकृति पाएको यस बैंकले वि.सं २०४२ माघ २४ गतेदेखि सञ्चालनमा आएको हो । तर, कम्पनी रजिष्ट्रारको कार्यालयको वि.सं २०५८ असार २६ गतेको निर्णयबाट साविकको नेपाल ग्रिण्डलेज बैंक नाम परिवर्तन गरी स्ट्याण्डर्ड चार्टर्ड बैंकमा रुपान्तरण भएको हो ।
तनहुँ जलविद्युत् आयोजना तीन चरणमा काम हुँदै, तीव्रता दिन कुलमानको निर्देशन
काठमाडौं । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले निर्माणाधीन १४० मेगावाट क्षमताको तनहुँ जलविद्युत् आयोजनाको सोमबार अनुगमन गरेका छन् । ऋषिङ गाउँपालिकामा निर्माणाधीन आयोजनाको निर्देशक घिसिङले स्थलगत अनुगमन गरी कामको प्रगति र समस्याका बारेमा जानकारी लिएका हुन् । अनुगमनका क्रममा उनले आयोजनाको कामलाई निर्धारित समयमा सक्नेगरी तीव्रता दिन आग्रह गरे । कार्यकारी निर्देशक घिसिङलाई तनहुँ हाइड्रोपावर लिमिटेडका प्रबन्ध सञ्चालक किरणकुमार श्रेष्ठले भौतिक तथा आर्थिक प्रगतिबारे जानकारी गराएका थिए । चरण एकअन्तर्गत बाँधसहित संरचना निर्माण भइरहेको छ । यस प्याकेजको काम सोङ्दा कालिका जेभीले गरिरहेको छ । यस अवधिसम्ममा समग्र निर्माण प्रगति ३५.७ प्रतिशत रहेको आयोजना कार्यालयले जनाएको छ । मुख्य बाँध निर्माणअन्तर्गत १४० मिटर अग्लो बाँध बनाउन पूर्वतयारी सुरु गरिएको छ । बाँधको जग निर्माणस्थलमा जम्मा भएको पानी फाल्ने र टावर क्रेन जडान गर्ने कार्य सम्पन्न भएको छ । बाँध निर्माणस्थलको तल्लो तटीय क्षेत्र सफा गर्न, ड्रिलिङ, ग्राउटिङलगायत कार्य जारी छन् । आयोजनाको चरण दुईअन्तर्गत विद्युत् गृह तथा सम्बन्धित उपकरणमा सिनो हाइड्रोले काम गरिरहेको छ । यो चरणमा ६३.५ प्रतिशत प्रगति भएको छ । चरण तीनको प्रसारण लाइनअन्तर्गत दमौली भरतपुर २२० केभी ३४.७ किलोमिटर प्रसारण लाइनमा पर्ने ९४ टावरमध्ये ७८ टावरको जग हाल्ने र ६९ वटा टावर जडान कार्य सम्पन्न भएका छन् । यो चरणमा ७३.६ प्रतिशत भौतिक प्रगति भएको छ ।
नवीकरणीय ऊर्जामा बिना धितो ऋण दिँदै सहकारी
काठमाडौं । परम्परागत ऊर्जालाई प्रतिस्थापन गर्ने उद्देश्यले शुक्लाफाँटा नगरपालिका-१० झलारीमा सिर्जनशील बचत तथा ऋण सहकारी संस्थाले नवीकरणीय ऊर्जामा लगानी गर्न थालेको छ । नवकरणीय ऊर्जा उपयोग गर्ने उपभोक्तालाई सहकारीले सहुलियत दरमा कर्जा उपलब्ध गराउन थालेको हो । ई-रिक्सा, बायोग्यास, सौर्य ऊर्जा प्रणालीमा आधारित सिँचाइ, सौर्य बत्ती, विद्युतीय चुलोमा ऋण प्रदान गर्ने व्यवस्था मिलाइएको सहकारीका कार्यकारी प्रमुख मदनराज भट्टले बताए । उनका अनुसार हालसम्म १५० जनालाई विनाधितो नवीकरणीय ऊर्जाका लागि ऋण प्रदान गरिएको छ । वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रसँग समन्वय गरी १ लाख रुपैयाँसम्म नवीकरणीय ऊर्जामा कर्जा प्रदान गर्ने व्यवस्था मिलाइएको कार्यकारी प्रमुख भट्टले जानकारी दिए । ‘गत वर्षदेखि नवीकरणीय ऊर्जा कार्यक्रमलाई निरन्तरता दिएका छौँ, वातावरण प्रदूषण न्यूनीकरणमा यस कार्यले सहयोग पुर्याउँछ, वन माथिको निर्भरतामा कमी आउँछ,’ उनले भने । सहकारीबाट ई-रिक्सा खरिदका लागि सहुलियत दरको ऋण लिनेको सङ्ख्या बढी रहेको उनले जानकारी दिए । नवीकरणीय ऊर्जासपछि सौर्य ऊर्जामा आधारित सिँचाइका लागि ऋण लिने बढी रहेका प्रमुख भट्टले बताए। नवीकरणीय ऊर्जाको उपयोगले पुर्याउने लाभबारे सहकारीका सदस्यहरूलाई छलफल तथा विविध कार्यक्रमका माध्यमबाट जानकारी दिने कार्य सहकारी गरिरहेको उनको भनाइ छ । योसँगै विभिन्न दातृ निकायसँग सहकार्य गरी जैविक विधिको प्रयोगगरी व्यावसायिक कृषिलाई अगाडि बढाउनका लागि अनुदान र ऋणका कार्यक्रम अगाडि बढाइएको छ । ‘कृषकहरूको उत्पादन क्षमता वृद्धि गरी बजारीकरणमा सहयोग पु¥याउने कार्य गरिरहेका छौँ, किसानको घरदैलोमा आवश्यक वित्तीय सहयोग तथा प्राविधिक सहयोग उपलब्ध, आवश्यक प्रविधि र खेती प्रणालीबारे तालिम दिने कार्य गरिरहेका छौँ,’ सहकारीका सचिव खगेन्द्रप्रसाद पाण्डेयले भने । सदस्यहरूको माग र आवश्यकताका आधारमा सहकारीले सीपमूलक, उद्यमशीलतामूलक तालिम प्रदान गरी उत्पादनमूलक क्षेत्रमा लगानी विस्तार गर्दै आएको छ ।
आज अन्तर्राष्ट्रिय मानव अधिकार दिवस मनाइँदै, योग्यता पुगेको व्यक्ति नभेटिएपछि पुरस्कार नबाँड्ने
काठमाडौं । मानव अधिकारको विश्वव्यापी घोषणापत्र जारी भएको दिनको स्मरण गर्दै आज विभिन्न कार्यक्रमका साथ मनाइँदैछ । हरेक बर्ष डिसेम्बर १० तारिखका दिन विश्वभर यो दिवस मनाउने गरिन्छ । यस वर्षको अन्तर्राष्ट्रिय मानव अधिकार दिवसको नारा ‘हाम्रो अधिकार, हाम्रो भविष्य र अहिले’ रहेको छ । कानुन न्याय तथा संसदीय मामिला मन्त्रालयका अनुसार २०७५ सालदेखि हरेक वर्ष मानव अधिकारको सरंक्षण र सम्वर्द्धनमा उल्लेखनीय योगदान पुर्याउने व्यक्ति वा संस्थालाई मानअधिकार पुरस्कार प्रदान गरिँदै आइएको छ । ‘मानव अधिकार पुरस्कार कोष सञ्चालन नियमावली, २०७५’ बमोजिम स्थापना भएको कोषबाट उक्त पुरस्कार दिँदै आइएको हो । यस वर्ष भने नियमावलीले तोकेको योग्यता र कार्यविधिअनुसार प्रक्रिया पूरा नभएकाले पुरस्कार प्रदान नगरिने मन्त्रालयले स्पष्ट पारेको छ । मानव अधिकारका क्षेत्रमा कटिबद्ध भएर लाग्नुभएका व्यक्ति वा संस्थाहरूको अनुरोधमा वार्षिक रूपमा प्रदान गरिँदै आएको पुरस्कारको राशिमा वृद्धि गर्न आवश्यक अध्ययन सुरु गरिएको मन्त्रालयले जनाएको छ । आवश्यक अध्ययन र तयारी गरेर पुरस्कारको व्यवस्थालाई नियमित गर्ने विश्वास मन्त्रालयले दिलाएको मन्त्रालयका सहसचिव एवं प्रवक्ता कोमलबहादुर खत्रीले जानकारी दिए ।
देशभर पश्चिमी वायुको प्रभाव, आगामी २४ घण्टामा हवाई उडानमा असर पर्न सक्ने
काठमाडौं । हाल देशमा पश्चिमी वायुको प्रभाव रहेको छ । यही प्रभावले कोशी प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भागमा मौसम आंशिक बदलीदेखि मुख्यतया सफा रहने छ । जल तथा मौसम विज्ञान विभागका अनुसार आज दिउँसो कोशी प्रदेशका पहाडी भागमा आंशिक बदली रही बाँकी भागमा मौसम सफा रहने छ । त्यसैगरी, आज राति कोशी र गण्डकी प्रदेशका पहाडी भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सफा रहने छ । आगामी २४ घण्टामा बिहानको समयमा तराई तथा उपत्यका धेरै स्थानमा हुस्सु लाग्नुका साथै थोरै स्थानमा कुहिरोको सम्भावना रहेकाले दैनिक जनजीवन, यातायात तथा हवाई उडानमा आंशिक असर पर्न सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन विभागले अनुरोध गरेको छ ।
आज चितवन राइनोज र लुम्बिनी लायन्स, कर्णाली याक्स र पोखरा एभेन्जर्स भिड्दै
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल) मा आज दुई खेल हुने भएका छन् । पहिलो खेलमा चितवन राइनोज र लुम्बिनी लायन्सबीच प्रतिस्पर्धा हुनेछ भने दोस्रो खेलमा कर्णाली याक्स र पोखरा एभेन्जर्सबीच खेल हुने छ । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा पहिलो खेल बिहान ९ः१५ बजेदेखि सुरु हुनेछ भने दोस्रो खेल दिउँसो १ः१५ बजे आरम्भ हुने छ । चितवन राइनोज अङ्क तालिकाको तेस्रो स्थानमा छ । उसले हालसम्म चार खेल खेलेको छ । तीनमा जित र एउटामा हार बेहोरेको चितवन राइनोजको ६ अङ्क छ । चितवन राइनोजले पहिलो खेलमा काठमाडौं गुर्खाजलाई पाँच विकेटले तथा दोस्रो खेलमा पोखरा एभेन्जर्सलाई ८७ रनले हराएको थियो । तेस्रो खेलमा कर्णाली याक्ससँग ६ विकेटले हारेको चितवन राइनोजले चौथो खेलमा सुदूरपश्चिम रोयल्सलाई ३३ रनले हराएको थियो । यस्तै लुम्बिनी लायन्स चारवटै हेलमा हार बेहोर्दै अङ्क तालिकाको पुछारमा छ । लुम्बिनी पहिलो खेलमा विराटनगरसँग दुई विकेटले, दोस्रो खेलमा पोखरासँग १० विकेटले, तेस्रो खेलमा सुदूरपश्चिमसँग ४५ रनले तथा चौथो खेलमा जनकपुरसँग एक रनले पराजित भएको थियो । कर्णाली याक्सले मध्यम प्रदर्शन गरेको छ । कर्णाली याक्सले चार खेलमा दुईमा जित र दुईमा हार बेहोर्दै चार अङ्क जोडेको छ । कर्णाली चौथो स्थानमा छ । कर्णाली पहिलो खेलमा जनकपुरसँग आठ विकेटले र दोस्रो खेलमा काठमाडौं गुर्खाजसँग तीन विकेटले हारेको थियो । कर्णालीले तेस्रो खेलमा चितवनलाई ६ विकेटले तथा चौथो खेलमा विराटनगरलाई सात रनले हराएको थियो । यसैगरी पोखरा एभेन्जर्स दुई अङ्कसहित पाँचौँ स्थानमा छ । उसले तीन खेलमा एकमा जित दुईमा बेहोरेको छ । पोखरा पहिलो खेलमा चितवनसँग ८७ रनले र दोस्रो खेलमा जनकपुरसँग सात विकेटले पराजित भएको थियो । तेस्रो खेलमा पोखराले लुम्बिनी लायन्सलाई १० विकेटले हराएको थियो । आइतबारसम्म १५ खेल सम्पन्न भएका छन् । यही मङ्सिर १५ गतेदेखि सुरु भएको एनपिएलमा जनकपुर बोल्ट्स आफ्ना सबै खेलमा विजयी हुँदै अङ्क तालिकामा शीर्ष स्थानमा रहेको छ । उसले चार खेलबाट आठ अङ्क जोडेको छ । जनकपुर बोल्टस्ले उद्घाटन खेलमा विराटनगर किङ्ग्सलाई आठ विकेटले पराजित गरेको थियो । दोस्रो खेलमा कर्णाली याक्सलाई आठ विकेटले नै हराएको थियो । तेस्रो खेलमा पोखरा एभेन्जर्सलाई सात विकेटले हराएको जनकपुरले चौथो खेलमा लुम्बिनी लायन्सलाई एक रनले पराजित गरेको थियो । एनपिएलमा चार खेल खेलेको सुदूरपश्चिम रोयल्स तीनमा जित तथा एउटा खेलमा हारका साथ दोस्रो स्थानमा छ । यसले चार खेलबाट ६ अङ्क जोडेको छ । सुदूरपश्चिम रोयल्सले पहिलो खेलमा विराटनगरलाई ९० रनले, दोस्रो खेलमा काठमाडौं गुर्खाजलाई ७३ रनले तथा तेस्रो खेलमा लुम्बिनी लायन्सलाई ४५ रनले पराजित गरेको थियो । चौथो खेलमा भने सुदूरपश्चिम रोयल्स चितवन राइनोजसँग ३३ रनले हारेको थियो । काठमाडौं गुर्खाज दुई अङ्कसहित छैटौँ स्थानमा छ । काठमाडौं पहिलो खेलमा चितवनसँग पाँच विकेटले हारेको थियो । दोस्रो खेलमा कर्णालीलाई तीन विकेटले हराएको काठमाडौँ तेस्रो खेलमा सुदूरपश्चिमसँग ७२ रनले पराजित भएको थियो । विराटनगर किङ्ग्स दुई अङ्कका साथ सातौँ स्थानमा छ । विराटनगरले तीन खेलमा हार तथा एउटामा मात्र जित निकालेको थियो । पहिलो खेलमा विराटनगर जनकपुरसँग आठ विकेटले हारेको थियो । दोस्रो खेलमा सुदूरपश्चिमसँग ९० रनले हारेको विराटनगरले तेस्रो खेलमा भने लुम्बिनीलाई दुुई विकेटले पराजित गरेको थियो । चौथो खेलमा विराटनगर कर्णालीसँग सात रनले हारेको थियो ।
ईभी गाडीको चार्जिङ शुल्क मनलाग्दी, कार्यविधि बनाएर अनुगमन गर्ने तयारीमा आयोग
काठमाडाैं । नेपालमा विद्युतीय सवारी (ईभी) को संख्या बढ्दै गएको छ । वातावरणीय लाभदेखि आर्थिक बचत पनि हुनाले ईभी सबैको रोजाइमा परेको हो । अहिले नेपालका सडकमा विभिन्न कम्पनीका ईभी गाडी गुडिरहेका छन्, जुन निकै सकारात्मक कुरा हो । ईभीको अझै प्रवर्द्धन हुनुपर्ने हो तर चार्जिङ स्टेशनमा भने मनपरी शुल्क असुल्ने गरिएको पाइएको छ । खासगरी नेपालमा ईभी विक्रेता कम्पनी, विक्रेता कम्पनीबाट चार्जिङ स्टेशन सञ्चालन अनुमति लिएका संस्था र नेपाल विद्युत प्राधिकरणले चार्जिङ स्टेशन सञ्चालन गर्दै आएका छन् । तर, यसरी खोलिएर सञ्चालनमा आएका चार्जिङ स्टेशनहरूमा सवारी चार्ज गरेको शुल्क भने मनपरि छ । विद्युत प्राधिकरणले कुन समयमा चार्ज गरेको हो, त्यसका आधारमा शुल्क निर्धारण गरेको छ । विद्युत महसुल संकलन विनियमावलीले ईभी चार्ज गर्दा प्रति यूनिट कति शुल्क लाग्छ भनेर निर्धारण गरिदिएको छ । अर्थात् ट्यारिफ रेट रहेको छ । तर, चार्जिङ स्टेशनहरूले भने ट्यारिफ रेटभन्दा १० गुणा बढी शुल्क असुल्ने गरेको पाइएको छ । विनियमावलीअनुसार चार्जिङ शुल्क ४ रुपैयाँ ४५ पैसादेखि ११ रुपैयाँ ७० पैसासम्म रहेको छ । पिक आवरमा चार्ज गर्दा ११ रुपैयाँ ७० पैसा र अफ पिक समयमा चार्ज गर्दा ४ रुपैयाँ ४५ पैसा शुल्क रहेको छ । चार्जिङ स्टेशनहरूले त्यो रेटभन्दा २० प्रतिशत बढी रकम लिन पाउँदछन् । तर, नेपालमा सञ्चालनमा रहेका चार्जिङ स्टेसनले भने यो रेटलाई वेवास्ता गर्दै मनपरी शुल्क लिने गरे पनि त्यसको कसैले पनि अनुगमन गरेका छैनन् । प्राधिकरणका प्रवक्ता चन्दनकुमार घोरासैनीले प्राधिकरणले ट्यारिफ रेटभन्दा धेरै मूल्य नलिएको उल्लेख गरे । तर, अन्य निजी क्षेत्रले सञ्चालन गरेको स्टेशनले के कति लिए भनेर अनुगमन तथा नियमन गर्ने निकाय प्राधिकरण नभएको बताए । उनका अनुसार कुनै पनि निजी क्षेत्रले कुनै स्थानमा चाजिङ स्टेशन बनाउन चाह्यो भने त्यस क्षेत्रमा विद्युतीय पूर्वाधार पुर्याउने काम प्राधिकरणको हो । तर, अनुगमन र नियमन गर्ने काम भने प्राधिकरणको नभएको उनको भनाइ छ । प्रवक्ता घोरासैनी भने, ‘चार्जिङ स्टेशनले लिने शुल्क निर्धारण गरिएको छ । चार्जिङ स्टेशन बन्ने ठाउँमा प्राधिकरणले विद्युतीय पूर्वाधार विकास गर्ने हो । बढी शुल्क लिएको बारेमा हामीले केही गर्न सकिँदैन ।’ विद्युत उत्पादन, प्रसारण, वितरण वा व्यापारलाई नियमित गर्ने निकाय विद्युत नियमन आयोगको हो । यसर्थ ईभी चार्जिङ स्टेशनको नियमन, अनुगमन गर्ने काम पनि आयोगकै क्षेत्र अधिकारमा पर्ने आयोगकी प्रवक्ता मोनदेवी श्रेष्ठ बताउँछिन् । तर, हालसम्म कुनै पनि चार्जिङ स्टेशनमा आयोगले अनुगमन नगरेको उनले जानकारी दिइन् । प्रवक्ता श्रेष्ठका अनुसार अनुगमनको कार्यविधि नभएकाले अनुगमन आयोगले हालसम्म अनुगमन नगरेको हो । उनले आयोगमा कार्यविधिबारे भने बेला बेला छलफल भइरहेको जानकारी दिँदै भनिन्, ‘के कसरी अनुगमन गर्ने भन्ने हामीसँग कार्यविधि छैन । कार्यविधि बनेपछि त्यहीअनुसार हामी अनुगमन गर्ने गर्दछौं ।’ कार्यविधि बनाउन ढिलो भएन र भन्ने प्रश्नमा उनले भनिन्, ‘चार्जिङ स्टेशनहरूको स्थापना पछिल्लो समयमा भएको हो । पहिला चार्जिङ स्टेशन नै थिएनन् ।’ आयोगमा हालसम्म चार्जिङ स्टेशनको बारे कुनै गुनासोसमेत आइनसकेको प्रवक्ता श्रेष्ठले बताइन् । यस्तै, अटोमोबाइल व्यवसायीहरूको छाता संगठन नाडा अटोमोबाइल्स एशोसिएसन अफ नेपालले ईभी चार्जिङ स्टेशनको अनुगमन सरकारले नै गर्नुपर्ने जनाएको छ । नाडाका उपध्याक्ष राजनबाबु श्रेष्ठले चार्जिङ स्टेशनको अनुगमन, निरीक्षण र कारबाही गर्ने काम सरकारी निकायको भएको बताए । उनका अनुसार आयातकर्ता कम्पनीले चार्जिङ स्टेशन सञ्चालनको जिम्मा व्यवसायीहरूलाई दिने भएकाले नाडाले यसको अनुगमन गर्न नसक्ने उल्लेख गरे । नाडाका अनुसार नेपालमा ५ सयको हाराहारीमा चार्जिङ स्टेशन छन् । जसमध्ये प्राधिकरणले भने हाल ६२ वटा स्टेशन सञ्चालन गरिरहेको छ । प्राधिकरणको ४ वटा स्टेशनमा गएको बाढी-पहिरोले क्षति पूर्याएको छ । हाल ५८ वटाबाट दैनिक २ हजार ७ सय गाडी चार्ज भइरहेका छन् । त्यसमा ट्यारिफ रेटअनुसार नै शुल्क प्राधिकरणले लिएको छ ।