विकासन्युज

मनाङको नेस्याङ केन्द्रबिन्दु भएर भूकम्प

काठमाडौं । मनाङको नेस्याङ केन्द्रबिन्दु भएर आज बिहान भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार बिहान ७ बजेर ३७ मिनेटमा मनाङको नेस्याङ केन्द्र बनाएर ४.७ म्याग्निच्यूडको भूकम्प गएको हो । यसअघि मंगलबार बझाङको धमेना केन्द्र बनाएर ४.३ म्याग्निच्यूडको भूकम्प गएको थियो।

आज सेयरधनी बने नेपाल एसबिआई बैंक र तारागाउँ रिजेन्सीको लाभांश पाइने

काठमाडौं । नेपाल एसबिआई बैंक र तारागाउँ रिजेन्सी होटल्सको लाभांश सुरक्षित गर्ने आज पुस ४ गते अन्तिम दिन रहेको छ । साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ यी कम्पनीले पुस ७ गते बुकक्लोज गर्ने निर्णय गरेका छन् । त्यसैले आजसम्म नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा कारोबार भई कायम सेयरधनीहरूले साधारण सभामा सहभागिता जनाई लाभांश प्राप्त गर्न सक्नेछन् । नेपाल एसबिआई बैंकले गत आर्थिक वर्ष २०८०/८१ को नाफाबाट चुक्ता पुँजीको ३.८० प्रतिशतका दरले ३९ करोड ९० लाख ५ हजार रुपैयाँ बोनस सेयर र कर प्रयोजनसहितका लागि ६.८५ प्रतिशतका दरले ७१ करोड ९२ लाख ६० हजार रुपैयाँ नगद गरी कुल १०.६५ प्रतिशत लाभांश प्रस्ताव गरेको छ । लाभांश पारित गर्न बैंकले पुस २१ गते त्रिभुवन आर्मी अफिसर्स क्लब भद्रकाली काठमाडौंमा बिहान ११ बजे ३१औँ वार्षिक साधारण सभा बोलाएको छ । यस्तै, तारागाँउ रिजेन्सी होटल्सले गत वर्षको नाफाबाट ११ प्रतिशत नगद लाभांश प्रस्ताव गरेको छ । लाभांश पारित गर्न कम्पनीले पुस २४ गते २८ औं साधारण सभा बोलाएको छ ।

बुटवल पावर कम्पनीले एफपीओ जारी गर्ने, २ हाइड्रोको अनुमति हस्तारण

काठमाडौं । बुटवल पावर कम्पनीले थप सार्वजनिक निष्काशन (एफपीओ) जारी गर्ने भएको छ । कम्पनीले एफपीओ निष्काशन प्रस्ताव पारित गर्न ३२औँ वार्षिक साधारण सभा समेत बोलाएको छ । कम्पनीको साधारण सभा पुस २८ गते काठमाडौंमा बिहान ११ बजे बस्नेछ । कम्पनीको सभाले तल्लो मनाङ मस्र्याङ्दी जलविद्युत आयोजनाको विद्युत उत्पादन अनुमतिपत्र लोअर मनाङ मर्स्याङदी हाइड्रोपावर कम्पनीमा र चिनोखोला जलविद्युत आयोजनाको विद्युत उत्पादन अनुमतिपत्र चिनो हाइड्रोपावरमा हस्तान्तरण गर्ने प्रस्ताव पारित गर्नेछ । यस्तै गत वर्ष विभिन्न संस्था तथा व्यक्तिहरूलाई दिइएको आर्थिक सहयोग रकम ५ लाख ९९ हजार ३९४ रुपैयाँ सभाले अनुमोदन गर्नेछ । कम्पनीको सभाले गत आर्थिक वर्ष २०८०/८१ को नाफाबाट चुक्ता पुँजीको ५ प्रतिशत नगद लाभांश प्रस्ताव पारित गर्नेछ । लाभांश वितरण तथा साधारण सभा प्रयोजनका लागि कम्पनीले पुस १८ गते एक दिनका लागि बुक क्लोज गर्ने निर्णय गरेको छ । त्यसैले पुस १७ गतेसम्म नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा कारोबार भई कायम भएका सेयरधनीहरुले साधारण सभामा सहभागी भई लाभांश प्राप्त गर्न सक्नेछन् ।

डिप्रोक्स नेपालले ३ सय घरमा इन्टरनेट जडान गरिदिने, स्पीड १ सय एमबीपीएस

काठमाडौं । डिप्रोक्स नेपालले ३ सय घरमा इन्टरनेट जडान गरिदिने भएको छ । गैर सरकारी डिप्रोक्स नेपालले दाङको शान्तिनगर र दंगीशरण गाउंपालिकाका ३ सय (१० प्रतिशतसम्म थप हुन सक्ने) घरधुरीमा इन्टरनेट सेवा जडान गरिदिने भएको हो । गैर सरकारी डिप्रोक्स नेपालले जेर्सी ओभर्सेज एडको आर्थिक सहयोग र प्राक्टिकल एक्सनको अगुवाईमा समुन्नति डिजिटल फाइनान्स परियोजना सञ्चालन गरेको छ । उक्त परियोजना दाइ, रोल्पा र रुकुम पूर्वका स्थानीय तहहरूमा सञ्चालन गरिरहेको छ । परियोजनाले सेवा दिनुपर्ने ५ हजार ५ सय घरधुरीमध्ये अधिकांश घरधुरीमा इन्टरनेट सेवाको पहुँच नभएको जनाएको छ । इन्टरनेट सेवा उपलब्ध गराई डिजिटल प्रविधिमार्फत वित्तीय सेवा, बजारसँग सम्पर्क र सूचना सेवाको प्रयोग गर्न सक्ने अवस्थामा ल्याउन इच्छुक इन्टरनेट सेवा प्रदायकले बोलपत्र पेश गर्न आह्वान गरेको छ । यसअघि गत मंसिर २६ गते ७ दिनको समयावधि राखी बोलपत्र आह्वान गरेकोमा बोलपत्र नआएकोले सोही कामको लागि पुनः दोस्रो पटक इच्छुक इन्टरनेट सेवा प्रदायकबाट सिलबन्दी बोलपत्र आह्वान गरेको डिप्रोक्स नेपालले जनाएको छ । इच्छुक कम्पनीले दाङमा कुनै न कुनै किसिमको इन्टरनेट सेवा दिएको प्रमाण संलग्न गर्नुपर्नेछ । इन्टरनेट सेवा प्रदायकले शान्तिनगर गाउँपालिकाका १७३ र दंगीशरण गाउँपालिकाका १२७ घरधुरीमा सेवा दिनुपर्नेछ । यी ३०० घरधुरीको सूची परियोजनाबाट उपलब्ध हुनेछ । यी परिवारलाई इन्टरनेट सेवा जडान गर्न र वार्षिक इन्टरनेट शुल्कमा केही अनुदान उपलब्ध गराइनेछ । सेवा प्रदायकले तोकिएका शर्तहरुको पालना गरी सम्झौताको ४५ दिनभित्रमा सबै घरधुरीमा सेवा जडान गर्नुपर्नेछ । इन्टरनेटको स्पीड १ सय एमबीपीएस हुनुपर्नेछ ।

आजपनि अमेरिकी डलरले बनायो नयाँ रेकर्ड, यस्तो छ अन्य देशको मुद्राको भाउ

काठमाडौं । बिहीबार अमेरिकी डलरको मूल्य हालसम्मकै उच्च बिन्दुमा पुगेको छ । नेपाल राष्ट्र बैंकले आज अमेरिकी डलरको मूल्य एकको खरिदर १३५.६३ रुपैयाँ र बिक्रीदर १३६.२३ रुपैयाँ तोकेको छ । जुन हालसम्मकै उच्च मूल्य हो । यसअघि हिजो पुस ३ गते सबैभन्दा धेरै खरिदर १३५.५४ रुपैयाँ र बिक्रीदर १३६.१४ रुपैयाँ थियो । आज युरोपियन यूरोको एकको खरिदर १४२.४२ रुपैयाँ र बिक्रीदर १४३.०५ रुपैयाँ, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १७२.४५ रुपैयाँ र बिक्रीदर १७३.२२ रुपैयाँ, स्वीस फ्रयाङ्क एकको खरिददर १५१.७४ रुपैयाँ र बिक्रीदर १५२.४१ रुपैयाँ, अष्ट्रेलियन डलर एकको खरिददर ८५.६३ रुपैयाँ र बिक्रीदर ८६.०१ रुपैयाँ तोकेको छ । यस्तै, क्यानेडियन डलर एकको खरिददर ९४.६९ रुपैयाँ र बिक्रीदर ९५.११ रुपैयाँ, सिङ्गापुर डलर एकको खरिददर १००.४१ रुपैयाँ र बिक्रीदर १००.८६ रुपैयाँ, जापानी येन १० को खरिददर ८.८१ रुपैयाँ र बिक्रीदर ८.८७ रुपैयाँ र चिनियाँ युआन एकको खरिददर १८.६२ रुपैयाँ र बिक्रीदर १८.७० रुपैयाँ तोकेको छ । राष्ट्र बैंककाअनुसार साउदी अरेबियन रियाल एकको खरिददर ३६.१० रुपैयाँ र बिक्रीदर ३६.२६ रुपैयाँ, कतारी रियाल एकको खरिददर ३७.२० रुपैयाँ र बिक्रीदर ३७.३७ रुपैयाँ, थाई भाट एकको खरिददर ३.९७ रुपैयाँ र बिक्रीदर ३.९८ रुपैयाँ, युएई दिराम एकको खरिददर ३६.९३ रुपैयाँ र बिक्रीदर ३७.०९ रुपैयाँ, मलेसियन रिङ्गेट एकको खरिददर ३०.३४ रुपैयाँ र बिक्रीदर ३०.४८ रुपैयाँ तोकेको छ । यस्तै, साउथ कोरियन वन एक सयको खरिदद ९.४४ रुपैयाँ र बिक्रीदर ९.४८ रुपैयाँ, स्वीडिस क्रोनर एकको खरिददर १२.३९ रुपैयाँ र बिक्रीदर १२.४४ रुपैयाँ, डेनिस क्रोनर एकको खरिददर १९.०९ रुपैयाँ र बिक्रीदर १९.१७ रुपैयाँ, हङ्कङ डलर एकको खरिददर १७.४५ रुपैयाँ र बिक्रीदर १७.५३ रुपैयाँ तोकेको छ । यस्तै, कुवेती दिनार एकको खरिददर ४४०.९९ रुपैयाँ र बिक्रीदर ४४२.९५ रुपैयाँ, बहराइन दिनार एकको खरिददर ३५९.५७ रुपैयाँ र बिक्रीदर ३६१.१६ रुपैयाँ, ओमानी रियाल एकको खरिददर ३५२.२९ रुपैयाँ र बिक्रीदर ३५३.८४ रुपैयाँ कायम रहेको राष्ट्र बैंकले जनाएको छ ।

चितवन राष्ट्रिय निकुञ्ज घुम्नेमा स्वदेशी भन्दा विदेशी बढी, साढे १० करोड राजस्व सङ्कलन

काठमाडौं । चितवन राष्ट्रिय निकुञ्जमा ७२ हजार पर्यटकले भ्रमण गर्दा साढे १० करोड रुपैयाँ बढी राजस्व रकम सङ्कलन भएको छ । चालु आर्थिक वर्षको साउनदेखि मङ्सिरसम्म ७२ हजार ४६१ जनाले निकुञ्ज भ्रमण गरेका जनाइएको छ । निकुञ्ज घुम्नेमा सबैभन्दा बढी विदेशी पर्यटक ३३ हजार ७३० जना रहेका निकुञ्जका सूचना अधिकारी एवं संरक्षण अधिकृत अविनाश थापामगरले जानकारी दिए । उनका अनुसार यस अवधिमा ३२ हजार ८८० नेपाली तथा ५ हजार ८५१ जना दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क) मुलुकका पर्यटकले निकुञ्ज भ्रमण गरेका छन् । निकुञ्ज घुम्न आएका आन्तरिक तथा बाह्य पर्यटकबाट निकुञ्ज प्रवेश शुल्कबापत पाँच महिनाको अवधिमा १० करोड ६७ लाख १ हजार ९ सय राजस्व सङ्कलन भएको उनले जानकारी दिए । यसैबीच यस अवधिमा निकुञ्जले घडियाल प्रजनन केन्द्र कसरामा हुर्काएका ४१ घडियाल गोहीलाई प्राकृतिक वासस्थानमा छोडेको छ । पाँच वर्षमाथिका घडियाललाई विभिन्न तीन पटकमा गरी ४० पोथी र एक भाले राप्ती नदीमा लगेर छाडिएको अधिकृत थापामगरले जानकारी दिए । निकुञ्जले वन्यजन्तुको संरक्षण र चोरी सिकारी नियन्त्रणका लागि विभिन्न समयमा स्थानीयसँगको सहकार्यमा बैठक बस्ने तथा कार्ययोजना बनाएर काम गर्ने गरेको उनले बताए । निकुञ्जको पश्चिम क्षेत्रमा गैँडाको सङ्ख्या धेरै देखिएको जनाउँदै पूर्वी क्षेत्रमा स्थानान्तरण गर्ने तयारी गरिएको उहाँले जानकारी दिए । निकुञ्जको पश्चिम सेक्टर नवलपुर क्षेत्रमा गैँडाको सङ्ख्या धेरै पाइएकाले नारायणी नदीमा आउने बाढीले गैँडालाई बगाएर भारततर्फ लैजानसक्ने भएकाले गैँडा संरक्षणका लागि स्थानान्तरण आवश्यक भएको उनको भनाइ छ । गैँडा स्थानान्तरणका लागि राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका वरिष्ठ इकोलोजिष्ट हरिभद्र आचार्य, चितवन राष्ट्रिय निकुञ्ज कार्यालयका वरिष्ठ संरक्षण अधिकृत डा गणेश पन्त, राष्ट्रिय निकुञ्ज सुरक्षार्थ तैनाथ नयाँ गोरख गणका गणपति, डिभिजनल वन अधिकृत, मध्यवर्ती क्षेत्र उपभोक्ता समितिका अध्यक्षहरु, पर्यटन समितिका पदाधिकारी साथै व्यवसायी, स्थानीय तहका प्रतिनिधिसहित सरोकारवालाको उपस्थितिमा गैँडाको आन्तरिक स्थानान्तरणको लागि पूर्वतयारी छलफल तथा अन्तक्र्रिया गरिएको अधिकृत थापामगरको बताए ।

कालोपत्र सडकले जोडिएसँगै सुगम, हट्यो सर्दीका जनताको वर्षौदेखिको दुःख

काठमाडौं । सडक पूर्वाधार नबन्दा कुनै बेला विकट मानिने सर्दी कालोपत्र सडकले जोडिएसँगै सुगम बनेको छ । नवलपरासीको विनयी त्रिवेणी गाउँपालिकाले गौरवको योजनाका रूपमा अघि बढाएको दुम्किबास-सर्दी सडक कालोपत्र सडकले जोडिएपछि घण्टौँ लगाएर कष्टपूर्ण यात्रा गर्ने बाध्यता हटेको छ । गाउँपालिका अध्यक्ष घनश्याम गिरीले दशकौँदेखिको सडक समस्या समाधान भएसँगै अन्य गतिविधि पनि बढ्न थालेको बताए । ‘गाउँपालिकाले दुम्किबास-डाँडाजोर–सिदे्र हुँदै कोल्टाडीसम्मको करिब १४ किलोमिटर सडक कालोपत्र गरेको छ । दशकौँदेखि निर्माण हुन नसकेको सडक हामी आएसँगै चुनावी प्रतिबद्धताअनुसार सम्पन्न भएको छ । हाल एक छिनमा सरर सर्दी पुग्न सकिन्छ,’ उनले भने । पालिकाका इन्जिनियर शम्भु केसीले करिब १७ करोड रुपैयाँको लागतमा सडक स्तरोन्नति गरिएको बताए । यसले स्थानीयको जनजीवन सहज बन्नुका साथै अन्य गतिविधिमा पनि बढोत्तरी भएको उनको भनाइ छ । स्थानीय विष्णुमाया भुजेलले सडक बनेसँगै वर्षौदेखिको समस्याबाट मुक्ति पाइएको बताए । ‘पहिला घण्टौँ लगाएर हिँडेर जानुपर्ने बाध्यता थियो, विरामी पर्दा, कतिपय अवस्थामा सर्पले टोकेका बिरामीलाई समयमै अस्पताल पु¥याउन नसक्दा बाटो मै ज्यान जान्थ्यो, अहिले त बाटोले धेरै सुविधा भएको छ । बाटो बनेसँगै कष्टपूर्ण यात्रा गरी राजमार्गसम्म पुग्नुपर्ने दुःख हटेको छ,’ उनले भने । यस सडकले विनयी त्रिवेणी वडा नं १, २, ३, ४ र ५ का बासिन्दालाई सहजता भएको छ । मुख्यगरी वडा नं ३, ४ र ५ का बासिन्दालाई सहज रूपमा दुम्किबास आउन सुविधा पुगेको छ । सडक कालोपत्र भएसँगै सर्दी–दुम्किबासको यात्रा करिब २० मिनेटमै तय हुने गरेको छ । गाउँपालिका अध्यक्ष गिरीले सडक विकासका अन्ग गतिविधिको पनि मुख्य आधार भएकाले पालिकाले प्राथमिकताका साथ निर्माणसम्पन्न गरेको बताए । ‘पालिकाको महत्वपूर्ण सङ्कल्प पूरा भएको र क्रमशः सबै वडालाई राजमार्ग र पालिकासँग सहज रूपमा सुविधायुक्त सडकले जोड्ने योजना छ । त्यसमा काम गरिरहेका छौँ,’ उनले भने । गाउँपालिका उपाध्यक्ष भगवती वैदवारले दुम्किबास–सर्दी सडक कालोपत्र भएसँगै सर्दी क्षेत्रबाट राजमार्ग पुग्न सहजता थपेको र यहाँको कष्टकर जनजीवन सामान्य बन्दै गएको बताए । यस कार्यले सडकमा पर्ने करिब तीन दर्जन गाउँका स्थानीयलाई यात्रा र आफ्ना कृषिउपजको बजारीकरणमा पनि टेवा पुगेको उनले बताए । विनयी त्रिवेणीसँगै पूर्वी पाल्पाका बासिन्दालाई समेत यस सडकले सुविधा थपेको उपाध्यक्ष वैदवारको भनाइ छ ।

विद्यालयमा सहकारी शिक्षा, विद्यार्थीमार्फत अभिभावकलाई सचेत गराउने

काठमाडौं । नेपालगञ्ज उपमहानगरपालिकाका विद्यालयमा सहकारी शिक्षा सुरु भएको छ । उपमहानगरपालिका क्षेत्रका ६ विद्यालयका विद्यार्थीलाई लक्षित गरी सहकारी शिक्षा सुरु गरिएको हो । उपमहानगरपालिकाका पञ्जीकरण तथा सहकारी शाखाका प्रमुख प्रवीण रानाले बुधबार महेन्द्र उच्च माध्यमिक विद्यालयमा कक्षा ११ र १२ का विद्यार्थीलाई सहकारी शिक्षा दिएसँगै अभियान सुरु भएको जानकारी दिए । उनले यस वर्ष नेपालगञ्जका छ विद्यालयमा सहकारी शिक्षा प्रदान गरिने जानकारी दिए । महेन्द्र मावि, आदर्श मावि, मङ्गलप्रसाद मावि, धम्बोझी मावि, सरस्वती र जयजनता माविमा सहकारी शिक्षा कार्यक्रम दिइने रानाले बताए । ‘सहकारीको अवधारणा, सहकारी दर्ता र अहिले सहकारीमा देखिएका समस्या र अवस्थाका बारेमा जानकारी दिने उद्देश्यले यो कार्यक्रम सुरु गरेका हौँ । विद्यार्थीमार्फत अभिभावक पनि सहकारीका बारेमा सचेत हुने हाम्रो बुझाइ छ,’ उनले भने । हरेक वर्ष सञ्चालन भइरहेको सो कार्यक्रमलाई यस वर्ष पनि निरन्तरता दिइएको सहकारी उल्लेख उपमहानगरपालिकाले जनाएको छ । उपमहानगरले विगत वर्षमा पनि यस्तो कार्यक्रम गर्दै आएको थियो । अघिल्लो वर्ष उपमहानगरका २४ विद्यालयका प्रतिनिधिको सहभागितामा सहकारी शिक्षा प्रदान गरिएको सहकारी शाखा प्रमुख रानाले जानकारी दिए । उपमहानगरपालिकाले सहकारीलाई व्यवस्थित र विश्वसनीय बनाउन सूचना प्रविधि तालिमसमेत दिएको छ । दुईदिने तालिममा सहकारीको सफ्टवेयर वा इन्टरनेट चलाउँदा हुने समस्या, त्यसबाट जोगिने तरिका, साइबर सेक्युरिटी, सहकारीको डिजिटल फर्म्याटमा उपस्थिति देखाउनेलगायत विषयमा प्रशिक्षित गरिएको जनाइएको छ ।