औषधी उद्योग : लगानी बढ्यो, प्रतिफल घट्यो
देउराली-जनता फर्मास्युटिकल्स सञ्चालनमा आउँदा नेपालमा औषधी उद्योगहरू खासै थिएनन् । देउराली पाँचौं स्थानमा थियो । अहिले औषधी उत्पादनमा लगानी बढेर उद्योगहरूको संख्या पनि बढेको छ । हजारौंले रोजगारी पाएका छन् । १५/२० वर्षदेखि नेपालमा औषधी खपतको ४५ प्रतिशत हिस्सा आन्तरिक उत्पादनले धानिरहेको छ । अहिले पनि नेपालमा खपत हुने ५५ प्रतिशत औषधी भारत, चीन, बंगलादेशगायत विभिन्न विकसित मुलुुकहरूबाट आउने गर्छ । औषधी उत्पादनको कच्चा पदार्थ पनि विभिन्न देशबाट आयात गरिन्छ । तर, औषधी उद्योगहरूको संख्या बढ्दै गर्दा बजारको हिस्सा भने घट्दै गएको छ । औषधी उद्योगहरूको संख्या बढिरहे पनि प्रतिफल लिन भने सकस परिरहेको छ । देउराली-जनताले पनि औषधी उत्पादनमा ठूलो लगानी गरेको छ । तर, लगानीअनुसारको प्रतिफल पाएको छैन । आममानिसको जीवनसँग जोडिएका औषधी उद्योगहरूका दुःख पनि पर्याप्त छन् । ०६२/६३ को परिवर्तनपछि नेपाल उद्योगमैत्री बन्छ, नेपालले औद्योगिक विकासमा फड्को मार्छ भन्ने निजी क्षेत्रको अपेक्षा तुुषरापात भएको छ । परिवर्तनले दुुई दशक पुुग्दै गर्दा पनि देशमा उद्योगमैत्री वातावरण बनाइएन, देश व्यापारमैत्री मात्रै भयो । नेपालमा आयातलाई सहज र उत्पादनलाई अप्ठ्यारो हुने गरी बनाइँदै आएको नीतिमा कुनै सुधार भएन । नीतिगत रूपमै नेपाल व्यापार गरेर मात्रै खाने मुलुक रूपमा विकास भइसकेको छ । एउटै प्रकृतिको विदेशी कम्पनीले उत्पादन गरेको औषधी २५ रुपैयाँमा बिक्री गर्न दिने सरकारले स्वदेशी उत्पादकहरूलाई भने १५-१६ रुपैयाँमा बेच्न बाध्य पार्छ । उत्पादनकै लागत हेर्ने हो भने पनि विदेशी कम्पनीहरूको भन्दा नेपाली उद्योगले उत्पादन गर्ने वस्तुहरूमा लागत बढी पर्न जान्छ । सबै कच्चा पदार्थको मूल्य बढेको छ । डलरको मूल्यदेखि पेट्रोलियम पदार्थलगायत सबै वस्तुुको मूल्य बढेको छ । तर औषधीको मूल्य भने १२–१५ वर्ष अगाडिदेखि एउटै छ । कच्चा पदार्थको मूल्य र उत्पादन लागत अन्य देशको तुलनामा महँगो छ, अनि औषधीको मूल्य सबैभन्दा सस्तो छ । पुरानै मूूल्य राखेर मात्रै औषधी व्यवस्था विभागले नवीकरण गर्ने गरेको छ । नेपालमा उत्पादन भएको औषधीको मूल्य सस्तो बनाउन बाध्य पारिन्छ र नेपाली उद्योगलाई प्रणालीगत रूपमै समस्यामा पार्ने गरिएको छ । नेपाली उद्यमीहरूलाई पाइला-पाइलामा अप्ठ्यारो सिर्जना गरिन्छ । तर, औषधी आयात खुरुखुरु गर्न दिइन्छ । नेपाली औषधी उत्पादकहरूलाई चाहिनेभन्दा बढी कागजातहरू पेस गर्नेदेखि अनेकन झन्झटिलो प्रक्रियामा अल्झाउने गरिन्छ । जस्तै– हरेक कच्चा पदार्थ आयात गर्न हरेक वर्ष नयाँ लाइसेन्स लिनुपर्छ । हरेक उत्पादनका लागि छुट्टाछुट्टै अनुमतिपत्र लिनुपर्छ र हरेक वर्ष नवीकरण गर्नुपर्छ । यस्तो नियम संसारमा अन्यत्र कहीँ पनि छैन । नयाँ उत्पादनको लाइसेन्स लिन त दुई/तीन वर्षसम्म कुर्नुपर्ने बाध्यता छ । अझ नयाँ उत्पादन गर्नुभन्दा त्यसको अनुमति लिन समस्या छ । त्यस्तै, विदेशबाट कुनै प्राविधिक (टेक्निसियन) ल्याएको खण्डमा पाँच वर्षसम्म श्रम स्वीकृतको व्यवस्था छ । तर, श्रम विभागले बढीमा एक वर्ष श्रम स्विकृति दिइनेछ भनेर श्रम नियमावलीमा बनाएको छ । कानुनमा भएको व्याख्याभन्दा खराब नियमावली कसरी बन्छ बुुझिनसक्नु छ । यस्तै अवस्था रहिरहे तीन/चार वर्षमा औषधी उद्योगहरू हराउँदै जान सक्छन् । नेपालमै उद्योग खोलेर काम गर्छु भन्नेहरूलाई उचित वातावरण छैन । बरु आयात गर्नेहरूलाई धेरै सुविधा दिइएको छ । आयात बढाउने र व्यापक राजस्व उठाउने ध्यानमा सरकार छ । औषधी मात्रै होइन अहिले जुनसुकै उद्योग क्षेत्रमा समस्या छ । भाषणमा सबैले उद्योगमैत्री बनाउँछु भन्छन् । तर, व्यवहारमा उद्योगमैत्री वातावरण छैन । नेपालाई औद्योगीकरणको बाटोमा लैजान धेरै ढिला भइसकेको छ । नेपाली उद्योगहरू फस्टाउन नसक्दा नयाँ लगानी गर्न उद्यमी डराइरहेका छन् । नेपालमा उद्योग सञ्चालन गर्नेहरू सबै बदमास हुन्छन्, यिनीहरूले ठगी गर्छन् भन्ने भाष्य निर्माण गरिएको छ । कानुन पनि त्यही दृष्टिकोणले बनाइन्छ र सबै सरकारी कार्यालयहरूले त्यहीअनुसार काम गर्छन् । सरकारले उद्यमीहरूलाई सानो गल्तीमै जेल लगेर राख्ने कानुन बनाएको छ । सानो गल्तीमै ठुलो सजाय दिने गरेपछि उद्योग चलाउन डराउने भए । नेपालमा उद्योगलाई धेरै नियमन र नियन्त्रण गरिएको छ । औषधीको क्षेत्रमा पनि चाहिनेभन्दा बढी नियमन छ । एकातिर खुला अर्थतन्त्रका कुरा गर्छौं तर, अर्कातिर चलमलाउनै नसक्ने गरी बाँधिदिन्छौं । कुनै नेपाली औषधी उद्योगले नयाँ औषधीको अनुज्ञापत्र लिनै सक्दैन । कि नियन्त्रित अर्थतन्त्रमा जानुप¥यो होइन भने खुला अर्थतन्त्रका सामान्य सिद्धान्तहरू पनि पालना नगर्ने अवस्था रहनुु हुुँदैन । न हाँस न बकुल्लाको चालले उद्योगधन्दाको विकास हुँदैन । सरकारले उद्योगमैत्री वातावरण बनाउने हो भने नेपाल औषधीमा आत्मनिर्भर बन्न सक्छ । तर, औषधीका क्षेत्रमा अहिले भएका नीतिहरू नफेरेसम्म आत्मनिर्भर बन्न सकिँदैन । छिमेकी मुलुकहरूमा औषधी उत्पादनका उद्योगको आकारै ठुलो छ भएकाले ठूलो स्केलमा उत्पादन गर्छन् । तर, नेपालमा ठुला उद्योगलाई फस्टाउन दिइँदैन, सानाले उत्पादन गरेर प्रतिस्थापन गर्न सक्दैनन् । पहिलो, मुुलुकको अर्थनीति के हो ? बनाउन चाहेको कस्तो हो ? स्पष्ट हुनुपर्छ । संसारका हामीजस्तै मुलुकमा दुई रुपैयाँमा बेचिरहेको वस्तुु नेपालमा एक रुपैयाँमा बेच्नुपर्छ भन्ने आधार के हो ? यस्तो वातावरणमा नेपालको उद्योगहरूले विश्वमा प्रतिस्पर्धा गर्नु त परको कुरा भइहाल्यो, नेपालमै पनि प्रतिस्पर्धा गर्न सक्दैनन् । एउटा उदाहरण हेरौं न, देउराली-जनताको उद्योग टोखा नगरपालिकामा छ । नगरपालिकामा पहिला व्यवसाय दर्ता गर्नुपर्छ । काठमाडौं महानगरपालिमा कार्यालय छ, त्यहाँ पनि व्यवसाय दर्ता गर्नुपर्छ । उद्योग विभागले उद्योग दर्ता गर्छ । कम्पनी रजिस्ट्रारले कम्पनी दर्ता गर्छ । औषधी व्यवस्था विभागबाट स्वीकृति नलिई केही गर्न पाइँदैन । तीन/तीनवटा सरकारी अड्डाबाट दर्ता गरिसकेपछि नगरपालिकामा पनि रजिस्ट्रेसन गर्नुपर्छ । नगरपालिकाको रजिस्ट्रेसनकर लिन मात्रै हो । पहिले उद्योगधन्दालाई सम्पत्ति कर लाग्दैन थियो । अहिले नगरपालिकाहरूले सम्पत्ति कर उठाइरहेका छन् । संसारमा धेरैजसो मुलुकले उद्योगधन्दाको सम्पत्तिमा सम्पत्ति कर लिँदैनन् । तर, नेपालमा पालिकामार्फत सम्पत्ति कर लिने गरिएको छ । उद्योगलाई सबैतिरबाट नियमन र उद्योगसँग राजस्व मात्रै लिनुुपर्छ भन्ने सोचले उद्योगहरू संकटमा पर्दै गएका हुन् । अहिले धेरै औषधी उद्योगहरू अप्ठ्यारोमा चलिरहेका छन् । यस्तै अवस्था रहिरहे तीन/चार वर्षमा औषधी उद्योगहरू हराउँदै जान सक्छन् । नेपालमै उद्योग खोलेर काम गर्छु भन्नेहरूलाई उचित वातावरण छैन । बरु आयात गर्नेहरूलाई धेरै सुविधा दिइएको छ । आयात बढाउने र व्यापक राजस्व उठाउने ध्यानमा सरकार छ । यसले दीर्घकालमा नेपालमा उद्योगहरूको क्षमतामा ह्रास पुर्याउँछ र उद्योगमैत्री वातावरण अभावमा वैदेशिक लगानी पनि रोकिन्छ । नेपालमै भएका युवाहरू उद्योगमा लगानी गर्ने आँट गर्दैनन् । मुलुुकमा कुनै आशा/भविष्य नदेखेपछि विभिन्न कारण देखाएर युुवाहरू विदेशिने क्रम बढ्दो छ । नेपालमा अवसरहरू नभएको होइन तर, अवसरहरूको उपयोग गर्न नदिने खालको कानुन, नीति, नियम छ । यसलाई सुधार गर्न कसैको ध्यान छैन । निजी क्षेत्रले समस्या छन्, अप्ठ्यारो भइरहेको छ र सहज वातावरण बनाउन सके थपअगाडि बढ्न सकिन्छ भनेर ढाडस दिइरहेको छ । तर, सरकार र राजनीतिक दलहरू नीतिगत सुधारका लागि पटक्कै तयार छैनन् । आफैं उत्पादन गर्ने, निर्यात गर्नेभन्दा आयातमा रमाएर विदेशीहरूको भरमा बस्ने बानी लगाइरहेका छौँ । मुलुुक जति पनि आयात गर्न तयार भएकैले नेपाली उद्योगहरू फस्टाउन सकेका छैनन् । ग्लोबल स्केलमा काम गर्ने खालको वातावरण नेपालमा छैन । कुनै पनि मुुलुक आम्दानी नगरी खर्च गर्ने ठुलो आकांक्षा राख्छ भने ती देशहरू आर्थिक हिसाबले डामाडोल भएका छन् । नेपाल पनि अहिले त्यही बाटोमा हिँडिरहेको छ । नेपालको अहिलेको अवस्थालाई सुधार नगरी अघि बढ्ने हो भने ढिलोचाँडो मुुलुक असफल हुन्छ । बहुदल आएपछि नेपालमा कुनै पनि गुणस्तरीय उद्योग कलकारखाना बन्न सक्ने औद्योगिक क्षेत्रहरूको निर्माण भएको छैन । बरु पञ्चायतले बनाएको औद्योगिक क्षेत्रहरू तहसनहस पारिएको छ । राजा महेन्द्रका पालामा धेरै औद्योगिक क्षेत्रहरू बनेका थिए । अहिले भाषणमा मात्रै औद्योगिक क्षेत्र छ तर निर्माण प्राथमिकतामा छैन । यस्तो अवस्थामा हामी उद्यमीहरू कसरी अगाडि बढ्न सक्छौं ? नेपाली औषधी उद्योगहरूलाई सहज तरिकाले चल्न सक्ने वातावरण बनाउने हो भने आयातित औषधीलाई प्रतिस्थापन गर्न सकिन्छ । चुरोट, रक्सी नेपालमै बनाउन सकिन्छ भने औषधी बनाउने किन सकिँदैन ? प्रविधि (टेक्नोलोजी) ल्याउन दिनुप¥यो, लगानी गर्न तयार छौँ, आयात प्रतिस्थापन गर्छौं, नेपाललाई औषधीमा आत्मनिर्भर बनाउँछौँ र निर्यात पनि गर्छौं भनिरहेका छौँ । र पनि उद्योगीहरूका कुनै कुरा सरकारले सुन्दैन । औषधी उद्योगका लागि बनाइएका अनावश्यक नीति, नियमहरू हटाउनुपर्छ । चाहिनेभन्दा बढी नीति, नियमन परिमार्जन गरेर औषधी उद्योगको लागत नबढ्ने उपाय अपनाउन ढिलो भइसक्यो । जति कडा कानुन बनायो त्यति धेरै व्यवसायिक अनुशासन राम्रो हुन्छ भन्ने गलत सोच राखिएको छ । यदि यस्तो हुँदो हो त नेपालमा अहिले रामराज्य हुनुपर्ने हो । तर, त्यस्तो सुशासन कतै देखिँदैन । खराब मानिसहरूले त्यही प्रणालीबाट झन् खराब काम गरिरहेका छन् । जहाँ नचाहिँदो तरिकाले नियन्त्रण गर्न खोजिन्छ त्यहाँका असल नागरिक बाहिर जान्छन् । नेपालमा उद्योगीहरूलाई अविश्वास गर्ने वातावरण बनाइएको छ । निजी क्षेत्रलाई हेर्ने नजर परिवर्तन गरी सरकारले विश्वास गर्नुपर्छ । खराब ग¥यो भने कारबाही गर्ने कानुन छँदै छ । नेपालीले गर्नुपर्ने नेपालमै हो । नेपालीले केही राम्रो गर्दा गर्व गर्ने नेपालले नै हो । मानौं, मैले अमेरिकामा गएर ठुलै काम गरे पनि त्यहाँ गर्व गर्न सक्दिनँ । किनभने त्यो मेरो ठाउँ होइन । नेपाल अब कसरी बन्नसक्छ र के कारणले नेपाल बनेन भनेर आत्मसमीक्षा गर्ने बेला आएको छ । आत्मसमीक्षा गरेर परिवर्तनको बाटो खोल्नुपर्छ । नेपालमा वर्षमा १५ हजार रोजगारी पनि सिर्जना नभएको अवस्था छ । रोजगारी बढाउन उद्योगधन्दा खुुल्नुुपर्छ र त्यसका लागि उद्योगको प्रवर्धन गर्नुपर्छ । उद्योगधन्दा धेरै समस्यामा छन् भनेर बारम्बार भनिरहे पनि सुधार भएको छैन । समस्याहरूको समाधान गर्ने हो भने उद्योगधन्दा फस्टाउन सक्छन् । यसले रोजगारी बढ्छ, अर्थतन्त्र बढ्छ र नेपाल पनि चाँडै बन्छ । विदेशी औषधीको आयातमा गरिएको सहजता, नेपाली उत्पादनका लागि लामो र झन्झटिलो प्रक्रिया र निर्यातमा सहजीकरण नहुनु मुख्य समस्या हुुन् । नयाँ प्रविधि, औषधी उद्योग निर्माण गर्न आवश्यक पर्ने संसाधन, निर्माण सामग्रीको आयातमा लाग्ने उच्च भन्सार र मूल्य अभिवृद्धि करले गर्दा उद्योगको लगानी छिमेकी मुलुकमा भन्दा ४०-५० प्रतिशत महँगोे भएका कारण समस्यामा परेका हुन् । नीतिगत तहमा सम्बोधन नभई अवस्था सहज हुुँदैन । अहिले सरकार उद्योगधन्दा चलाउनेभन्दा पनि उद्योग र उद्यमीलाई नियन्त्रण गर्ने, धेरै राजस्व लिने र मूल्य नियन्त्रण गर्नेमा केन्द्रित भएको छ । यसरी उद्योगहरू फस्टाउन सक्दैनन् । अहिले पनि नेपाली औषधी उद्योगहरूले उत्पादन गरेका औषधीहरूको बजार हिस्सा आयातको भन्दा कम छ । आयातलाई निरुत्साहित गर्दै औषधी उद्योगहरूलाई प्रोत्साहन गरेमा मात्रै आत्मनिर्भर हुने सम्भावना बढ्छ । विदेशको भर नपर्ने गरी नेपालमै औषधी उत्पादन गर्न सकिन्छ, आयात प्रतिस्थापन हुन्छ र आत्मनिर्भर बनाउँदै निर्यात पनि गर्न सकिन्छ । त्यसका लागि सरकारले कानुन र नीतिमा आमूल सुधार गरी उद्योगहरू प्रोत्साहन हुने वातावरण बनाउनुपर्छ । (शर्मा देउराली-जनता फर्मास्युटिकल्सका कार्यकारी सञ्चालक हुन् । स्रोत : नाफिज अर्थचित्र)
तलबका लागि सरकारको मुख ताक्ने होइन, औषधीको उत्पादन बढाउनुस्ः स्वास्थ्यमन्त्री पौडेल
काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले सिंहदरबार वैद्यखानामा आयुर्वेदिक औषधी उत्पादनको अवस्थाबारे अनुगमन गरेका छन् । मन्त्री पौडेलले वैद्यखाना सुधारका लागि विशेष चासो दिंदै आएका छन् । सोहीअनुरुप विकास समितिमा नयाँ नेतृत्वलाई जिम्मेवारी दिएका मन्त्री पौडेलले सोचजस्तो उत्पादन वृद्धि नभए पछि स्थलगत अनुगमन गर्दै समस्या समाधानका लागि उपायको खोजी थालेका हुन् । मन्त्रालयका उच्च अधिकारीसहित अनुगमनमा गएका मन्त्री पौडेलले वैद्यखानाको काम कारबाहीबारे जानकारी लिंदै आमरुपमा सुनिएका गुनासा समाधान गर्न समेत कर्मचारीहरुको ध्यानाकर्षण गराए । पर्याप्त औषधी उत्पादन नभएकोबारे गुनासो सुने पछि मन्त्री पौडेलले उत्पादन बढाउन हरसम्भव उपाय लगाउन आग्रह गरे । ‘बजारमा जति औषधी उत्पादन भए पनि वैद्यखनाको औषधी बिक्री हुने रहेछ’, उनले भने, ‘तपाईंहरुले उत्पादन बढाउने काममा देखिने गरी परिवर्तन ल्याउनुपर्छ ।’ मन्त्री पौडेललाई कर्मचारीहरुले श्रोत अभाव भएको गुनासो गरे पछि मन्त्री पौडेलले केही समयअघि पनि वैद्यखानाका लागि बजेट गएको प्रसंग निकाल्दै सार्वजनिक संस्थानहरुलाई पुँजीगत सहयोग गर्न सकिने तर तलब ख्वाउनका लागि सरकारले रकम दिन नसक्ने प्रष्ट पारे । ‘तपाईंहरुको पुँजीगत क्षमता विकासका लागि के चाहिन्छ भन्नुस्,हामी सघाउँछौं’, मन्त्री पौडेलले भने, ‘तर उत्पादन नबढाउने अनि सरकारसँग पैसा मागेर तलब र उपादान दिन सकिन्न ।’ मन्त्री पौडेलले बजारमा सिंहदरबार वैद्यखानाको औषधी किन्न खोज्दासमेत नपाइने अवस्था आएको भन्दै पर्याप्त कच्चा पदार्थ उपलब्ध नगराउने ठेकेदारलाई कालोसूचीमा राखेर नयाँ विकल्प खोज्न भने । ‘प्रधानमन्त्रीज्यूको पनि वैद्यखानाले उत्पादन बढाओस् भन्ने चासो छ’, मन्त्री पौडेलले भने, ‘बजारमा जति उत्पादन गरे पनि बिक्ने चिज पनि हामी किन बेच्न सक्दैनौं ?’ मन्त्री पौडेलले तीन दिनभित्र समस्या नभै समाधानसाथ उत्पादन बढाउने योजना ल्याउन पदाधिकारीलाई आग्रह गर्दै भने, ‘उत्पादन बढाउने योजनामा बजेट अभाव हुन दिन्नौं ।’
‘ईभीयुगमा व्यापक दृष्टिकोणलाई ध्यान दिइयोस् ताकि अर्थतन्त्रको सन्तुलन अनुभव होस्’ [अन्तर्वार्ता]
नेपालमा पछिल्ला वर्षहरूमा विद्युतीय सवारी (ईभी)को आयात बढेको छ । विशेषगरी दुई पाङ्ग्रेभन्दा पनि चार पाङ्ग्रे ईभीको आयात ह्वात्तै बढेको हो । तर, जुन गतिमा ईभीको आयात बढ्यो, त्यो गतिमा इकोसिस्टम भने बनेन । चार्जिङ स्टेशन, आफ्टर सेल्स सर्भिस, ईभीको लागि अनुकूल सडक, ईभी मर्मतका लागि मेकानिकलगायत विषयको बोरेमा अनुसन्धान र पूर्वतयारी बिना नै नेपालमा ईभीको प्रयोग बढ्यो। यस्तै, पछिल्लो समय ईभीको ब्याट्रीको डिस्पोजको विषय पनि विश्वव्यापी बहसको विषय बनेको छ । आज हामीले नेपालका लागि हुण्डाईको आधिकारिक आयातकर्ता तथा बिक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालि (लक्ष्मी हुण्डाई)का जनरल म्यानेजर दीपक थपलियासँग यिनै विषयमा कुराकानी गरेका छाैं । प्रस्तुत छ थपलियासँगको कुराकानीको सम्पादित अंश । पछिल्ला वर्षहरूमा नेपालको अर्थतन्त्रमा केही सकस छ भन्छन् । यो असरले अटो क्षेत्रमा कस्तो प्रभाव परेको छ ? त्यति ठूलो असर नपरे पनि केही असर भने परेको नै छ । नेपालमा राम्रो समयमा गाडी आयात वार्षिक रुपमा १५/१६ हजारको हाराहारीमा आयात हुन्थ्यो । अहिले पनि १४ हजारको हाराहारीमा नै गाडी आयात भइरहेको छ । भन्नुको मतलब नेपालमा गाडी भित्रिइरहेको छ । तर, बजारमा भने जस्ताे मन्दी नै छैन त भन्ने प्रश्न आउला । तर, अन्य क्षेत्रमा भने मन्दी छाएको देखिन्छ । नेपालमा आयात भएको गाडीको संख्या हेर्दा मन्दी छैन । तर, अन्य क्षेत्रमा मन्दी छ भन्ने कुरा यहाँबाट पनि थाहा हुन्छ कि सरकारले पेन्सन खर्च जुटाउनका लागि ऋण लिएको छ । अर्थात, जनताले गाडी किन्ने हैसियत गुमाएका छैनन् । तर, देश भने गरिब भइरहेको रहेछ । अहिले पनि हामीले हेर्याैं भने राति ८ बजेपछि बजारका सबै सटर बन्द भइसकेको हुन्छ । तसर्थ मन्दीको प्रभाव अन्य क्षेत्रमा भने छ । गाडी केही ग्लामरस वस्तु भएकाले पनि मानिसहरूले ऋण नै लिएर पनि खरिद गरेका पनि हुन सक्छन् । नेपालको अटो बजारमा कार र जीप सेग्मेन्टमा हुण्डाईको हिस्सा कति छ ? नेपालको अटोमोबाइल्स क्षेत्रमा विगत १५ वर्षदेखि हुण्डाईले नेतृत्व गर्दै आएको छ । तर, पछिल्लो समय नेपालमा ईभीको आयात ह्वात्तै बढिरहेको छ । यो अवस्थामा ईभीमा भने हाम्रो हिस्सा कम नै छ । तर, आईसीई इन्जीन (खनिज इन्जनबाट सञ्चालन हुने सवारी) मा अझै पनि हामि नम्बर वानमै छाैं । आईसीई इन्जिनमा भने यो वर्ष हुण्डाईले ४५ प्रतिशत बजार ओगटेको छ । ईभी र आईसीई कम्बाइन गरेर हेर्दा हुण्डाईले १२ प्रतिशत बजार ओगटेको छ । आईसीई क्षेत्रमा हाम्रो बजार ठूलो छ । अन्य ब्राण्डलाई हुण्डाईले धेरै पछि छोडेको छ । आईसीई इन्जिन जसरी नै ईभीमा पनि बजार हिस्सा बढाउँन के कस्तो योजना अपनाउँदै हुनुहुन्छ ? ईभीमा हामीसँग के-कस्तो प्रडक्ट छन् त्यसमा भर पर्दछ । आईसीईमा हामीसँग ईन्ट्री लेभलदेखि प्रिमियम लेभलको सेग्मेन्टको प्रडक्ट छ । ईभीमा चाहीँ सीमित प्रडक्ट छ । ईभीको दुइटा प्रडक्ट छ । जुन अलि प्रिमियम सेग्मेन्ट हो । हामीसँग कोना र आयोनिक फाइभ छ । आयोनिक आफैंमा प्रिमियम भेइकल भएकाले त्यसको लक्षित ग्राहक सीमित छन् भने कोना भने सहरी क्षेत्रका लागि लक्षित गरिएको छ । प्रडक्टको हिसाबले हामी जुन स्पेसमा बस्नु पर्ने हो, त्यसमा छौं । नराम्रो छैन । कुनै समयमा एसयूभीमा क्रेटा नम्बर वान थियो । पछिल्लो समय त्यो क्रेज घटेको हो ? क्रेज घटेको भन्ने कुरामा म सहमत छैन । क्रेज घटेको छैन । हुण्डाईको कुनै समयमा स्यान्ट्रो एउटा ब्राण्ड थियो भने पछि क्रेटा ब्राण्ड भएर आयो । क्रेटाप्रतिको ट्रष्ट मानिसहरूमा उच्च छ । नेपालमा ७० प्रतिशत गाडी ईभीमा आएको अवस्थामा क्रेटा त्यो सेग्मेन्टमा छैन । म १०० मिटरको रेसमा सहभागी छैन भने मेरो क्रेज कमजोर भयो भन्न मिल्दैन । क्रेटा आफ्नो सेग्मेन्टको रेसमा सबैभन्दा अगाडि नै छ । आईसीई सेग्मेन्टमा हुण्डाईको बजार ४५ प्रतिशत, त्यसमा पनि ४० प्रतिशतभन्दा धेरै क्रेटाको छ । भनेपछि ग्राहकले क्रेटा रुचाएका छन्, जुन बेला तुलनात्मक रूपमा ईभीको गाडी सस्तो छ । पछिल्लो ३ महिनामा ३५० यूनिट क्रेटा हामीले डेलिभरी गरिसकेका छौं । अहिले कुनै क्षेत्रबाट पनि आईसीईलाई फेवरेवल नभएको अवस्थामा पनि हामीले राम्रो सेल्स गरिरहेका छौं । केही महिनाअघि नेपाल भित्रिएको हुण्डाईको नयाँ क्रेटाको आकर्षण बढ्दो देखिन्छ । यसमा खास के-के विशेषता छन्, जुन कुरामा उपभोक्ता आकर्षित भएका छन् ? क्रेटा आफैमा पूर्ण एसयूभी हो । जसमा कुनै पनि उपभोक्ताले एक्पेन्सिभ पैसा नहालिकन फुल फङ्सन एसयूभीको जे फिचर्स हो, त्यो इन्जोए गर्न पाउँछन् । मुख्यत: क्रेटाको आकर्षण बढ्नुको कारण त्यो नै हो । कोना र आयोनिक मास सेग्मेन्टमा विश्वको नम्बर वान ब्राण्ड हो । ग्राहकले पनि यसको खुलेरै प्रशंसा गर्ने गर्दछन् । तर, नेपालमा यसको बिक्री भने तुलनात्मक रूपमा कम देखिन्छ । किन यस्ताे भयो ? मार्केटिङ र सेल्समा कम्पनी चुकेकै हो ? दुबै गाडी फेन्टास्टिक छन् । २०१९ मा हामीले उक्त गाडी भित्र्याउँदा डिमाण्ड एकदम उच्च थियो । तुलनात्मक रूपमा मूल्यले ग्राहकहरूलाई गाइड गरिरहेको छ ।सरकारले ईभीलाई छुट दिएको छ । त्यो छुटमा हामीले ल्याउन सकेनौं । त्यसले तुलनात्मक रूपमा कोना र आयोनिक थोरै महँगो हुन गयो । अन्य ब्राण्डको तुलनामा १५ देखि २५ लाख महँगो हाम्रो गाडी पर्न गयो । प्रडक्टको उच्च क्यालिटी र एभरेज मूल्य हुँदाहुँदै पनि कर प्रणालीका कारण सोही सेग्मेन्टका अन्य ब्राण्डको मूल्य तुलनात्मक रूपमा कम देखियो । मूल्य नै मुख्य आकर्षण भैदिएका कारण तुलनात्मक रूपमा कोना र आयोनिकको बिक्री कम भएको हो । तर, बिक्री पछिकाे कुरालाई पनि ग्राहकले ध्यान दिनु जरुरी छ । ईभीको ब्याट्रीको विषयले समस्या आएको भन्ने ग्राहकको गुनासो आउँछ । रिप्लेस र डिस्पोज समस्याको सामाधान के हो ? ब्याट्री भनेको ईभीको एउटा पार्टमात्रै हो । ईभीको धेरै समस्याहरू बुझ्नुपर्छ । ईभी टेक्नोलोजी आफैंमा नयाँ हो । ईभीसम्बन्धी सिप भएका जनशक्ति नै कम छन् नेपालमा । ईभी आफैंमा प्रविधिले भरिपूर्ण हो । आईसीई इन्जिनभन्दा धेरै फिचर्सहरू ईभीमा जडान गरिएका हुन्छन् । धेरै फिचर्सहरू जडान गरिएकाले ईभी गाडी आफैंमा खर्चालु हो । खरिद मूल्य पनि विदेशमा आईसीई इन्जिनभन्दा ईभी अलि महँगो नै छ । नेपालमा आईसीईमा २६० प्रतिशत कर लाग्छ भने ईभीमा ६० प्रतिशत मात्रै लाग्छ । त्यसले गर्दा नेपालमा सस्तो पर्न गएको हो । इन्ट्री सेग्मेन्टको ग्राहकलाई ईभी त्यति अनुकूल होइन, सुरुमा सस्तो परे पनि यसका धेरै फिचर्सहरू भएकाले पछि खर्चालु हुन सक्छ । हामीसँग ईभीको इकोसिस्टम नै बनेको पनि छैन । पछिल्लो दुई वर्षमा हात्तै ईभीको आयात बढ्यो । यसका लागि चाहिने पूर्वाधारहरू जस्तै- चार्जिङ स्टेशन, बाटो, ईभी मर्मतका लागि दक्ष जनशक्ति, स्पेयर पार्ट्स, प्रयोग भइसकेको ब्याट्रीको डिस्पोजलगायत विषयको अध्ययन, उत्पादन र विकास नगरी देशलाई ईभीमय बनाइयो । यसले गर्दा ठूलो समस्या आउनेवाला छ । १०/१२ वर्षपछि ईभीको ब्याडी फेर्नुपर्ने हुन्छ । त्यो पुरानो ब्याट्रीको व्यवस्थापनको बारेमा हामीले सोचेका छैनौं । कसैले यसमा सोच्ने इफोर्ट पनि लगाएको छैन । ब्याट्रीको विषयमा लिथियम आफैमा रिसाइकल हुँदैन । भए पनि धेरै खर्चिलो प्रविधि हुन्छ । यसको व्यवस्थापन कसरी गर्ने भन्ने कुनै कम्पनीले पनि प्रि-प्लान बनाएका छैनन् । कागजमा प्लान देखाए पनि व्यावहारिक रूपमा कसैले प्लान बनाएका छैनन् । सरकारले तेल आयात घटाउँछु भन्ने सोचले ईभीमैत्री नीति निर्माण गर्यो । तर, तेल आयात घटाउँदा र ईभीमा कर छुट दिँदा त्यसले नेपालको अर्थतन्त्रमा कस्तो असर पर्छ भन्ने सोचेन । नेपालमा ४ पाङ्ग्रेको पहिलो एसेम्बल प्लाण्ट हुण्डाईले सञ्चालनमा ल्याएको छ । आफैं एसेम्बल गर्न थालेपछि बजारमा कस्तो प्रभाव पाउनु भयो ? चारपाङ्ग्रे म्यानुफ्याक्चर गर्ने पहिलो कम्पनीभन्दा गर्व महसुस हुन्छ । हामी सबै पार्ट एसेम्बल गर्छाैं । च्यासिस भने हामी बाहिरबाट नै ल्याउँछाैं । हुण्डाईले नै विश्वको सबै एसेम्बल प्लाण्टभन्दा नेपालको एसेम्बल प्लाण्ट राम्रो भनेको छ । नेपालमा एसेम्बल गरिरहँदा त्यो एसेम्बल प्लान्टमा टेक्निसियन, इन्जिनियर्स र इन्टर्नहरूले काम गरिरहेका छन् । यसले रोजगारी पनि दिएको छ । यससँगै विश्व बजारको टेक्नोलोजीको ज्ञान पनि सेयरिङ भइरहेको छ । जसले नेपाली युवाले विश्वबजारको टेक्नोलोजीको काम जान्न पाएका छन् । त्यो प्लान्टको रेगुलेसनका लागि हुण्डाईको माउ कम्पनी कोरियाबाट नै जनशक्तिहरू खटिएका हुन्छन् । उनीहरूको प्रोटोकलअनुसार त्यो प्लान्ट सञ्चालनमा रहेको छ । त्यसैले प्लान्टमा उत्पादन हुने प्रडक्ट अन्य देशबाट आएका प्रडक्ट जस्तो हो, त्यस्तै हुन्छ । २० मा १९ होइन । २० मा २० नै हुन्छ । यो एसेम्बल प्लान्टले एउटा नयाँ ऊर्जा दिएको छ । एसेम्बलबाट उत्पादित गाडीहरू ५ लाख रुपैयाँसम्म सस्तो पर्दछ । एसेम्बल गर्दा २० प्रतिशतको हाराहारीमा कर छुट हुन्छ । जसमध्ये उपभोक्तालाई हामीले १० प्रतिशत छुट दिएका छौं । बाँकी १० प्रतिशत प्लान्ट सञ्चालनका लागि खर्च गरेका छौं । त्यसमा पनि हामीले रोजगारी पनि दिएका छौं । थोरै भए पनि आयात कम भएको छ । विदेशि विनिमय सञ्चिति बढाउन थोरै भएपनि योगदान गरेका छौं । हामीले एसेम्बलबाट ५ सयको हाराहारीमा उत्पादन गरिसकेका छौं । बाहिरबाट नेपाल भित्र्याउँदा सोही गाडीको मूल्य ५० लाख पर्न जान्छ । नेपालमै एसेम्बल गरेको सोही गाडी हामीले ४५ लाखमा बिक्री गरिरहेका छौं । म अन्य ब्राण्ड बिक्री गर्ने कम्पनीहरूलाई पनि एसेम्बल प्लान्ट बनाउन सुझाव दिन्छु । यदि मार्केटको २० प्रतिशतभन्दा धेरै बजार ओगटेको ब्राण्डले एसेम्बल गर्दा राम्रो हुन्छ । तर, सानो स्केलमा प्रडक्ट गर्नका लागि भने एसेम्बल उपयुक्त हुँदैन ।
मेलम्चीको पानी आपूर्ति : ‘पाइप लाइन’को काम शीघ्र पूरा गर्न निर्देशन
काठमाडौं । खानेपानीमन्त्री प्रदीप यादवले काठमाडौं उपत्यकाका विभिन्न स्थानमा मेलम्चीको पानी आपूर्ति गर्न बिच्छ्याइएका ‘पाइप लाइन’को काम शीघ्र पूरा गर्न निर्देशन दिएका छन् । स्थानीय इन्द्रचोक, जनवहाल, नयाँसडक, असनलगायत स्थानमा जारी पाइपलाइनको कामको आज निरीक्षण गरेपछि उनले त्यस्तो निर्देशन दिएका हुन् । साथै उनले चुहावट नियन्त्रण गर्नुपर्नेमा जोड दिए । गुणस्तर सुनिश्चित नहुँदा धेरै स्थानमा पानी चुहिएको र पानी चुहिएका स्थानमा यथाशीघ्र मर्मतसम्भार गर्न उनले निर्देशन दिए । मन्त्री यादवका साथ खानेपानी मन्त्रालयका सचिव प्रमिलादेवी शाक्य बज्राचार्य, काठमाडौं उपत्यका खानेपानी लिमिटेड आयोजना कार्यान्वयन निर्देशनालयका वरिष्ठ अधिकारी थिए।
नेशनल लाइफ इन्स्योरेन्सको त्रिदिवसीय ‘चेयरपर्सन कार्यक्रम’ सम्पन्न
काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्ना अभिकर्ताहरूका लागि तीनदिने ‘चेयरपर्सन क्लब सदस्य सम्मान तथा तालिम कार्यक्रम’ काठमाडौंस्थित होटेल सोल्टी क्राउन प्लाजामा सम्पन्न गरेको छ । आर्थिक वर्ष २०८०/८१ मा तोकिएको लक्ष्य पूरा गर्न सफल ४९१ जना अभिकर्ताहरूलाई कम्पनीकी चेयरपर्सन प्रेमा राज्यलक्ष्मी सिंहको उपस्थितिमा चेयरपर्सन क्लबको सदस्यता वितरण तथा सम्मान प्रदान गर्ने एवं प्रशिक्षण प्रदान गर्ने उद्देश्यले कार्यक्रमको आयोजना गरिएको हो । सिंहको सभापतित्वमा सम्पन्न भएको चेयरपर्सन क्लब कार्यक्रममा अथक् परिश्रम र मेहनतबाट तोकिएको लक्ष्य पूरा गरी सदस्यता प्राप्त गर्ने सबैलाई बधाई ज्ञापन गर्दै छनोट भएका सबै अभिकर्ताहरूलाई चेयरपर्सन क्लब सदस्यता वितरण र विभिन्न विधाहरूमा सर्वोत्कृष्ट घोषित भएका अभिकर्ताहरूलाई सम्मान प्रदान गरेकी थिइन् । उनले आर्थिक वर्ष २०८०/८१ मा समग्र जीवन बीमा बजार ९.९४ प्रतिशतले वृद्धि भएकोमा कम्पनीले १७ प्रतिशतले वृद्धि गर्न सफल हुनुमा अभिकर्ताहरूको अतुलनीय योगदान रहेको बताइन् । साथै उनले कम्पनीको वित्तीय सूचकहरू पनि सन्तोषप्रद रहेको तथा कम्पनीको वित्तीय संरचना, कम्पनीका प्रचलित बीमा योजनाहरू, बीमितहरूलाई प्रदान गर्दै आएको प्रतिफल बोनसदर, पुँजी बजारमा कम्पनीको उपस्थिति, व्यापक अभिकर्ता सञ्जाल आदि सबैले आउने दिनहरूमा कम्पनीले थप प्रगति गर्नेमा विश्वस्त रहेको बताइन् । कार्यक्रममा प्रमुख कार्यकारी अधिकृत सुरेशप्रसाद खत्रीले कम्पनीलाई अग्रस्थानमा पुर्याउन महत्त्वपूर्ण भूमिका खेल्ने अभिकर्ता समूहसँग सम्बन्धित कार्यक्रमलाई उच्च प्राथमिकतामा राखी केही नयाँ अभ्यासहरू सुरू गरेको र यसबाट व्यावसायिक अभिकर्ताहरूलाई प्रत्यक्ष लाभ पुगेको बताए । साथै उनले चेयरपर्सन क्लब कार्यक्रमलाई थप मर्यादित र आकर्षक बनाउन विगतदेखि नै प्रयास गर्दै आइरहेको हुँदा उत्कृष्ट व्यवसाय गर्ने व्यावसायिक अभिकर्ताहरू थप उत्साहित भएको बताए । कार्यक्रममा उपस्थित अभिकर्ताहरूलाई नेपाल बीमा प्राधिकरणका उपनिर्देशक साम्भराज लामिछानेले सम्पत्ति शुद्धीकरण तथा आतंकवादी क्रियाकलापमा वित्तीय लगानी निवारण सम्बन्धमा प्रशिक्षण प्रदान गरेका थिए । यस्तै, चर्चित प्रशिक्षक अमित शर्माले कार्यक्रममा सहभागी अभिकर्ताहरूलाई उत्प्रेरणात्मक प्रशिक्षण प्रदान गरेका थिए । उनले विभिन्न उदाहरण प्रस्तुत गर्दै कुनै पनि कार्यमा सफलता हासिल गर्नका लािग आफ्नो काममा विशेष फोकस गर्नुपर्ने बताए । समारोहमा आर्थिक वर्ष २०८०/८१ मा १०० वा सोभन्दा बढी बीमालेख बिक्री गर्न सफल अभिकर्ताहरू, नेशनल स्टार र नेशनल सुपरस्टार घोषित अभिकर्ताहरू, विगत १० वर्षदेखि निरन्तर चेयरपर्सन क्लबमा छनोट हुने अभिकर्ताहरू, आर्थिक वर्ष २०८०/८१ मा सञ्जाल व्यवसायमा नेपालभरबाट उत्कृष्ट व्यवसाय गर्ने ७ जना र आफ्नो कोडबाट उत्कृष्ट व्यवसाय गर्ने ७ जना अभिकर्ताहरूलाई पनि विशेष सम्मान गरिएको थियो । यसैगरी, नेपालभरबाट आफ्नो कोड र सञ्जालमा सर्वोत्कृष्ट व्यवसाय गरी प्रथम, द्वितीय र तृतीय हुने अभिकर्ताहरू र समूहगत व्यवसायबाट प्रथम हुने एक जना गरी ७ जना अभिकर्ताहरूलाई सम्मान पत्र र नगद पुरस्कारबाट सम्मानित गरिएको थियो । सम्मानित बिजनेस लिडरहरूले कम्पनीकी अध्यक्षबाट सम्मान ग्रहण गर्न पाउँदा आफूले गरेको मेहनतको कदर भएको र अत्यन्तै गर्व लागेको बताएका थिए ।
‘कन्टेन्ट क्रिएट’मा जम्दै विद्यार्थी, पढ्दै-कमाउँदै
काठमाडौं । ग्रेस चौलागाईं काठमाडौं वर्ल्ड स्कुलमा ए लेभल दोस्रो वर्षमा अध्ययनरत छन् । उनी विज्ञान विषय लिएर अध्ययन गरिरहे पनि उनलाई डिजिटल एड बनाउन खुब मनपर्छ । अहिले पनि फुर्सदको बेला उनी मोबाइलबाटै ब्लगहरू बनाइरहन्छन् । मन पर्ने मात्र होइन, उनलाई भिडियो खिच्न अनि इडिट गर्न पनि आउँछ । तर, कुनै इन्स्टिच्युटमा भने उनले सिकेका छैनन् । युट्युबमै गएर कसरी भिडियो बनाउने भन्ने विषयमा हेर्दै सिकेको उनी बताउँछन् । डिजिटल प्लेटफर्ममा यति पोख्त भइसकेका ग्रेसलाई भिडियो खिच्न इडिट गरी आफै मिक्सिङ गर्न आउँछ । ‘मेरो मार्केटिङ क्षेत्र होइन, साइन्स लिएर पढिरहेको छु,’ ग्रेस भन्छन्, ‘अहिले जमाना प्रविधिको छ, टेक्स्ट, अडियोभन्दा पनि भिडियो त्यो पनि सर्ट भिडियोले कम समयमा धेरै सन्देश दिरहेको छ, यो अहिलेको आवश्यकता पनि हो ।’ ग्रेसले सोंचेका थिएनन्, रहरले सिकेको भिडियो बनाउने तरिकाले एक दिन डिजिटल कन्टेन्ट निर्माण प्रतियोगितामा भाग लिनुपर्ला भनेर । तर उनले यस्तै प्रतियोगितामा भाग लिएर टप थ्रीमै पर्न सफल भए । आजभोलि कुनैपनि वस्तुको प्रचारप्रसार गर्ने थलो भनेको सामाजिक सञ्जाल बनेको छ । अहिलेको आवश्यकतालाई मध्यनजर गर्दै अमेरिकामा रहेको वेबस्टर विश्वविद्यालयले नेपाली विद्यार्थीलाई डिजिटल मार्केटिङको विषयमा जानकारी गराइ प्रतिस्पर्धा नै गराएको छ । नेपालमा रहेको सुजिकी नेपाल , सुबिसु र द प्लाजा ब्रान्डसँग समन्वय गर्दै विश्वविद्यालयले विभिन्न ६ वटा विद्यालयका विद्यार्थीलाई डिजिटल मार्केटिङ ‘द कन्टेन्ट मास्टर्सको आयोजना गर्यो । विद्यालयभित्रका विभिन्न समूह बनाएर तीनवटै ब्रान्डको ३० सेकेन्डको भिडियो विज्ञापन गर्न लगायो । भिडियो कसरी बनाउने, कसरी खिच्ने यो विषय विद्यार्थी आफैले खोजे । काठमाडौंमा रहेको जेम्स स्कुल, काठमाडौं वर्ल्ड स्कुल काष्ठमण्डप विद्यालय, मालपी इनटरनेसनल कलेज, प्रिमियर कलेजमा अध्ययनरत विद्यार्थीको समूह बनाएर प्रतिस्पर्धा नै गराएको छ । ६ स्कुलका ६३ वटा समूह, समूहमा ३ सय ७८ विद्यार्थीले डिजिटल एड बनाउन सिकेका छन् । यसका लागि वेबस्टर विश्वविद्यालयले अनलाइनमार्फत् साताकाे २ दिन एक घण्टा कसरी विज्ञापन बनाउने भन्नेबारेमा जानकारी सिकाएको थियो । विद्यार्थीहरूले सुजिकी मोटर्स, सुबिसु र प्लाजाको विज्ञापन बनाएका थिए । ६३ समूहले बनाएका विज्ञापनमध्ये उत्कृष्ट तीन समूहलाई छनोट गरेर प्रथम, द्वितीय र तृतीय छनोट गरी अवार्डसमेत गरेको छ । अहिलेको आवश्यकता कन्टेन्ट मास्टर्स वर्कसपमा सहभागी विद्यार्थी यो विषयमा जानकारी लिन पाउँदा खुसी भएको बताउँछन् । ‘मलाई मार्केटिङको बारेमा थाहा थिएन, यसमा भाग लिने थाहा पाइसकेपछि त यसले अनलाइनमा सिकाउने रहेछ,’ ग्रेस भन्छन्, ‘मलाई यो विषयमा झन् चासो बढ्यो ,के रहेछ भनेर बुझ्दै गएँ, त्यहीअनुसार काम गर्दै गएँ, पहिलो कन्टेन्ट बनाइसकेपछि त टप थ्रीमा परें ।’ काठमाडौंका सोनम घिसिङ तामाङ काठमाडौं वर्ल्ड स्कुलमै अध्ययन गरिरहेका छन् । म्यानेजमेन्टमा अध्ययनरत उनले डिजिटल मार्केटिङका विषयमा अध्ययन गर्नुपर्छ । किताबमा पढेको कुरालाई कसरी प्रयोग गर्ने भन्नेबारे सिकेका थिएनन् । कक्षामा पढाइ भएपनि कसरी वस्तुहरूको डिजिटल मार्केट गर्ने, सबै उपभेक्तालाई आकर्षण गर्ने गरी कसरी विज्ञापन बनाउने भन्ने विषय थाहा थिएन । बजारमा कुनै पनि नयाँ सामग्री ल्याउँदा त्यो सामानबारे जनमानसलाई थाहा हुनुपर्छ । ता कि त्यो सामग्रीको बजार बढोस् । मार्केटिङ विषयमा कसरी आफ्नो वस्तुको मार्केटिङ बढाउने ? यसलाई डिजटल प्रविधिबाट कसरी प्राप्त गर्ने भन्ने विषयमा पढाइन्छ । तर, यसमा कसरी वस्तुको प्रचारप्रसार गर्ने भन्नेबारे विद्यार्थीलाई सिकाइएको हुँदैन । अहिले आफै सर्ट भिडियो बनाउन थालेपछि यो कुरामा सहज भएको उनी बताउँछन् । ‘पढेको कुरालाई प्रयोगमा ल्याउन पाउँदा सहज हुँदो रहेछ । आज हामी आफैले प्रयास गर्दा थाहा भयो,’ उनी भन्छन्, ‘भिडियो सुट कसरी गर्ने, यसको कस्तो पाटोलाई फाल्ने, कस्तो राख्ने, ३० सकेण्डमा एउटा वस्तुको कसरी विज्ञापन गर्ने भन्ने विषयमा थाहा भयो । ’ सुजिकी नेपालका ब्राण्ड एक्सपर्ट करुण शाक्य अहिलेको पुस्तामा डिजिटलाइजेशन भएको बताउँदै कुनै पनि ब्रान्डको जानकारी डिजिटलबाटै दिनुपर्ने बताउँछन् । अहिलेको पुस्ता यो विषयमा निकै अगाडि रहेको बताउँदै उनी मार्केटिङ अध्ययन गर्ने विद्यार्थीमात्र नभइ सबैले यो विषयमा जानकारी लिन आवश्यक रहेको बताए । विद्यार्थीहरूले बनाएको भिडियो हेरिसकेपछि विभिन्न ब्राण्डका एक्सपर्टले सोचेभन्दा राम्रो विज्ञापन विद्यार्थीले बनाएको बताएका थिए । सुबिसु केबल नेटका ब्राण्ड एक्सपर्ट सुजन प्रधानले विद्यार्थीहरूसँग अद्भूत क्षमता रहेको बताउँदै आवश्यक ठाउँ चहिएको बताए । आफूले सोचेको भन्दा बिल्कुल फरक थोरै समयमा धेरै जानकारी दिने विज्ञापन बनाउन सफल भएको बताए । नयाँ किसिमको प्रयास नेपाली विद्यार्थीले पढ्न पाउने भनेको पाठ्यक्रममा रहेको विषय हो । कतिपय कलेजले विद्यालयले पढाएको कुरालाई प्रयोग गरेर देखाउने अवसर दिए पनि धेरै ठाउँमा यो सुविधा छैन । उनीहरूले कुनै सीप सिक्न अथवा पढेको कुरा व्यवहारमा लागू गर्न पाएका हुँदैनन् । यही विषयलाई मध्येनजर गर्दै अमेरिकामा रहेको वेबस्टर विश्वविद्यालयले नेपाली विद्यार्थीका लागि डिजिटल मार्केटबारे ज्ञान दिने उद्देश्यले कन्टेन्ट मास्टर्स कार्यक्रम गरेको हो । शिक्षा क्षेत्रमा बिरलै मात्र गरिने यो कार्यक्रमले धेरै विद्यार्थीले डिजिटल मार्केटबारे ज्ञान लिएका छन् । वेबस्टर विश्वविद्यालयकी नेपाल प्रतिनिधि जसवानी राना नेपालमा म्मार्केटिङ पढिरका विद्यार्थीलाई मात्र नभए अहिलेका सबै विद्यार्थीमा यो सीप अनिवार्य रहेको बताउँछिन् । नेपालमा अहिले प्रविधिले निकै फड्को मारेको अवस्थामा कलेजमा म्यानेजमेन्ट र मार्केटिङ लिएर पढ्नेको संख्या धेरै रहेकाले यो कार्यक्रम गरेको बताइन् । ‘अहिले मार्केट डिजिटल र एआएआईमा गइरहेको छ,’ उनी भन्छिन्, ‘यस्तो अवस्थामा विद्यार्थीलाई पनि यसमा तयार पर्न आवश्यक देखिएकाले वर्कसप गरिएको हो ।’
तोलामा १७ सय रुपैयाँले घट्यो सुनको मूल्य
काठमाडौं । नेपाली बजारमा बिहीबार सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार सुनको मूल्य तोलामा १ लाख ४९ हजार रुपैयाँ तोकिएको छ । यसअघि बुधबार सुनको मूल्य तोलामा १ लाख ५० हजार ७०० रुपैयाँमा कारोबार भएको थियो । आज सुनको मूल्य तोलामा १ हजार ७०० रुपैयाँ घटेको हो । साथै, आज चाँदीको मूल्य पनि घटेको छ । बुधबार तोलामा १ हजार ८३५ रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य १ हजार ७८० रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।
सिराहामा पुस्तकालय भवन निर्माण गरी एनआईसी एशिया बैंकद्वारा हस्तान्तरण
काठमाडौं । एनआईसी एशिया बैंकको सहयोगमा निर्माण गरिएको सिराहा जिल्लास्थित श्री बाला सुन्दरी माध्यमिक विद्यालयको पुस्तकालय भवनमा पुस्तकालय समुद्घाटन गरिएको छ । बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत मुलुकभरका विभिन्न जिल्लाका सामुदायिक विद्यालयहरुमा निर्माण गरेका भवनहरु मध्ये मधेश प्रदेशको सिराहा जिल्ला स्थित भगवानपुर गाउँपालिका–१ मा अवस्थित श्री बाला सुन्दरी माध्यमिक विद्यालयमा पुस्तकालय समुद्घाटन गरिएको हो । विद्यार्थीहरुलाई आवश्यक शैक्षिक सामग्रीहरु उपलब्ध गराई अध्ययन अध्यापनमा सहयोग गर्न र विद्यालयमा उत्कृष्ट शैक्षिक वातावरण सिर्जना गर्ने उद्देश्यले सम्बन्धित विद्यालय एवं स्थानीय तहको सक्रिय सहभागितामा बैंकको सहयोगमा निर्माण गरी उक्त विद्यालयलाई हस्तान्तरण गरिएको पुस्तकालय भवन मंसिर २७ गते समुद्घाटन गरिएको छ । उक्त पुस्तकालय समुद्घाटन समारोहमा सोही गाउँपालिकाका अध्यक्ष उग्र नारायण यादव र बैंकका तर्फबाट यस बैंकका मधेश प्रदेश—६ का प्रमुख शंकर ढकाल र सम्बन्धित विद्यालयका प्रतिनिधिहरु लगायतको उपस्थिति रहेको थियो । यस पुस्तकालय सञ्चालनमा आएसँगै उक्त विद्यालयका ११ सय भन्दा धेरै विद्यार्थी तथा शिक्षकरशिक्षिकाहरु प्रत्यक्षरुपमा लाभान्वित भएका छन् । यसअघि बैंकले गण्डकी प्रदेशको तनहुँ जिल्ला स्थित बन्दिपुर गाउँपालिका–१ मा अवस्थित श्री पवित्रा माध्यमिक विद्यालय, सुदूरपश्चिम प्रदेशको कैलाली जिल्ला स्थित जोशीपुर गाउँपालिका–१ मा अवस्थित श्री मोहन्याल माध्यमिक विद्यालय, कोशी प्रदेशको झापा जिल्ला स्थित बुद्धशान्ती गाउँपालिका–२ मा अवस्थित श्री आदर्श माध्यमिक विद्यालय र सोही जिल्लाको गौरीगञ्ज गाउँपालिका–३ मा अवस्थित श्री गौरीगञ्ज माध्यमिक विद्यालयमा निर्माण गरिएका पुस्तकालयको समुद्घाटन भइसकेका छन्