टोयोटाले नोभेम्बरमा बेच्यो ९ लाख २० हजार ५६९ गाडी, उत्पादन भने लगातार १० औं महिना घट्यो
काठमाडौं । अटो जायन्ट टोयोटा मोटरको विश्वव्यापी उत्पादन नोभेम्बरमा लगातार १० औं महिनामा घटेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । यद्यपि संयुक्त राज्य अमेरिका र चीनमा भने लगातार दोस्रो महिना बिक्री बढेको छ। विश्वको सबैभन्दा ठूलो अटोमेकरले नोभेम्बरमा ८ लाख ६९ हजार २३० सवारीसाधनहरू उत्पादन गरेको थियो, जुन गत वर्षको सोही महिनाको तुलनामा ६.२ प्रतिशतले कम हो । यो अक्टोबरको ०.८ प्रतिशत गिरावटभन्दा बढी हो । टोयोटाको अमेरिकी उत्पादन ११.८ प्रतिशतले घट्यो, यद्यपि अक्टोबरको अन्त्यतिर ग्रान्ड हाइल्याण्डर र लेक्सस टीएक्स एसयूभी मोडलहरूको उत्पादन फेरि सुरु भएको थियो । चीनमा उत्पादन १.६ प्रतिशतले घटेको छ, जुन अघिल्लो महिनाको ९ प्रतिशत गिरावटको तुलनामा राम्रो सुधार हो । बिक्रीका हिसाबले टोयोटाले नोभेम्बरमा ९ लाख २० हजार ५६९ सवारीसाधन बेचेको थियो, जसले नयाँ कीर्तिमान कायम गर्यो । जनवरीदेखि नोभेम्बरको अवधिमा टोयोटाको विश्वव्यापी उत्पादन अघिल्लो वर्षको सोही अवधिको तुलनामा ५.२ प्रतिशतले घटेर करिब ८ लाख ७५ हजार सवारीसाधनमा सीमित भयो, जबकि विश्वव्यापी बिक्री १.२ प्रतिशतले घटेको थियो । उत्पादन र बिक्रीको तथ्याङ्कमा टोयोटाको लेक्सस ब्रान्ड समावेश छ तर समूह कम्पनीहरूजस्तै हिनो र डाइहात्सु भने समावेश छैनन्। निक्की अखबारका अनुसार बीवाईडी र अन्य चिनियाँ ब्रान्डहरूको वृद्धिको बीचमा टोयोटाले सांघाईमा एक स्वतन्त्र प्लान्ट निर्माण गर्ने र लगभग २०२७ बाट आफ्नो लेक्सस लक्जरी ब्रान्डका लागि इलेक्ट्रिक कारहरू निर्माण गर्ने निर्णय गरेको छ ।
जापान एयरलाइन्समा साइबर आक्रमण, सेयर कारोबार २.५ प्रतिशतसम्म घट्यो
काठमाडौं । जापान एयरलाइन्सले बिहीबार साइबर आक्रमणको रिपोर्ट गरेको छ । एयरलाइन्सले यसबाट घरेलु र अन्तर्राष्ट्रिय उडानहरूमा ढिलाइ भएको तर पछि उक्त कारण पत्ता लगाएर समाधान गरेको बतायो । एयरलाइन्सको ब्यागेज चेक–इन प्रणालीमा समस्याहरूले धेरै जापानी विमानस्थलमा एक दर्जनभन्दा बढी उडानमा ढिलाइ भएको तर कुनै सामूहिक रद्द वा ठूलो अवरोध नभएको सार्वजनिक प्रसारक एनएचकेले बतायो । जापान एयरलाइन्स (जेएएल) अल निप्पन एयरवेज (एएनए) पछिको देशको दोस्रो ठूलो एयरलाइन्स हो । ‘हामीले समस्याको कारण पत्ता लगायौँ र सम्बोधन गर्यौँ । हामी प्रणाली पुनःस्थापना स्थितिको जाँच गरिरहेका छौँ’, जेएएलले सामाजिक सञ्जाल प्लेटफर्म एक्समा एक पोस्टमा भन्यो, ‘आज प्रस्थान गर्ने दुवै घरेलु र अन्तर्राष्ट्रिय उडानको बिक्री स्थगित गरिएको छ । कुनै पनि असुविधाका लागि हामी माफी चाहन्छौँ ।’ यसअघि बिहीबार जेएएलका प्रवक्ताले कम्पनीमाथि साइबर आक्रमण भएको बताएका थिए । स्थानीय समयानुसार बिहीबार बिहान ७ः२४ बजे नेटवर्क अवरोध सुरु भएको जेएएलले विज्ञप्तिमा जनायो । ‘त्यसपछि बिहान ८ः५६ बजे हामीले अवरोध सिर्जना गरिरहेको राउटर (नेटवर्कहरू बीच डाटा आदानप्रदान गर्ने उपकरण) लाई अस्थायी रूपमा अलग गर्यौँ’, विज्ञप्तिमा उल्लेख छ । यो खबर सार्वजनिक भएपछि जेएएलको सेयर बिहानको कारोबारमा २.५ प्रतिशतसम्म घट्यो । त्यसपछि केही सुधार भयो । एयरलाइन्स साइबर आक्रमणबाट प्रभावित हुने पछिल्लो जापानी कम्पनी मात्र हो । जापानको अन्तरिक्ष एजेन्सी जाक्साले सन् २०२३ मा अज्ञात संस्थाहरूले साइबर आक्रमण गरेर प्रवेश गरेको तर रकेट वा स्याटेलाइटबारे कुनै संवेदनशील जानकारी प्राप्त नभएको बताएको थियो । सोही वर्ष जापानको व्यस्त बन्दरगाहहरू मध्ये एक नागोया बन्दरगाह र्यान्समवेयर आक्रमणबाट प्रभावित भएको थियो । यसको दोष रुसमा आधारित साइबर अपराध सङ्गठन लकबिटलाई दिइएको थियो । जापानको साइबरट्याक्स विरुद्धको रक्षाका लागि जिम्मेवार एजेन्सी नेसनल सेन्टर अफ इन्सिडेन्ट रेडिनेस एन्ड स्ट्रेटेजी फर साइबरसिक्योरिटी (एनआइएससी) ले सन् २०२३ मा नै ह्याकरहरूले नौ महिनासम्म घुसपैठ गरेको बताएको छ । सन् २०२२ मा सरकारले टोयोटा आपूर्तिकर्तामा अवरोधको पछाडि साइबर आक्रमण भएको बताएको थियो । यसले शीर्ष बिक्री हुने अटो निर्मातालाई एक दिनका लागि घरेलु कारखानाहरूमा सञ्चालन रोक्न बाध्य तुल्याएको थियो । हालै लोकप्रिय जापानी भिडियो साझेदारी वेबसाइट निकोनिकोले ठूलो स्तरको साइबर आक्रमणको प्रभावमा परेको भन्दै जुन महिनामा आफ्ना सेवाहरू स्थगित गरेको थियो । रासस
नेपाल बैंकका कर्मचारी र ग्राहकलाई काठमाडौं डेन्टल हस्पिटलमा छुट
काठमाडौं । नेपाल बैंक लिमिटेड र काठमाडौं डेन्टल हस्पिटलबीच छुट प्रदान गर्ने सम्झौता भएको छ । नेपाल बैंक लिमिटेडमा कार्यरत कर्मचारी र ग्राहकलाई काठमाडौंको माछापोखरीमा अवस्थित बुद्ध मलमा रहेको काठमाडौं डेन्टल हस्पिटल एन्ड रिसर्च सेन्टरमा उपचार गर्दा बिल रकमको ३० प्रतिशत र बैंकमा खाता रहेका ग्राहकलाई २५ प्रतिशत छुट हुने भएको हो ।
होन्डासँगको मर्जरले निसान ‘नरसंहार’ को शिकार हुनसक्ने
काठमाडौं । वित्तीय समस्यामा रहेको जापानी अटोमोबाइल कम्पनी निसान र होन्डा मोटरबीच मर्जर हुने विषयले यतिबेला अटाेक्षेत्र तातिएको छ । यी दुईबीच मर्जर हुने खबरले निसान मोटरकाे सेयर ऐतिहासिक उचाइमा पुगेको थियो । फ्याक्टसेटको डाटाअनुसार निसानका सेयर २३.७ प्रतिशतले वृद्धि भएको हो, जुन सन् १९८५ पछि अहिलेसम्मकै उच्च वृद्धि हो । यसैबीच, निसानका पूर्व प्रमुख कार्यकारी अधिकृत (सीईओ) कार्लोस घोसनले निसाले होन्डासँग मर्जर गरे निसान ‘नरसंहार’ को शिकार हुनसक्ने बताएका छन् । सीएनबीसीसँगको कुराकानीका क्रममा उनले भने, ‘होन्डा ड्राइभरको सिटमा हुनेछ भन्नेमा कुनै शंका छैन । मैले निसानको १९ वर्षसम्म नेतृत्व गरें । अहिले यो देख्दा मलाई निकै दु:ख लागेको छ । उनीहरू मर्ज हुन जाँदैछन् । निसान नरसंहारको शिकार हुँदैछ, किनभने निसान र होन्डाबीच पूर्ण नक्कल छ ।’ निसान, रेनिल्ट र मित्सुबिशीको नेतृत्व गरेका घोसनमाथि आर्थिक अपराधको आरोपमा मुद्दासमेत चलेको थियो । सम्भावित होन्डा र निसान मर्जरको बारेमा अनुमान यस महिनाको सुरुमा भएको थियाे । दुई कम्पनीहरूले सोमबार एक पत्रकार सम्मेलनमा मर्जर प्रक्रियाबारे आधिकारिक रूपमा वार्ता सुरु भएको पुष्टि गरे । हालका प्रस्तावअन्तर्गत एक होल्डिङ कम्पनीले दुवै फर्महरूको अभिभावकको रूपमा काम गर्नेछ र टोकियो स्टक एक्सचेन्जमा सूचीबद्ध हुनेछ । होन्डासँग जसको बजार पूँजीकरण निसानको भन्दा चार गुणा छ । होन्डाले नयाँ संस्थाका अधिकांश बोर्ड सदस्यहरूलाई मनोनयन गर्ने जनाइएको छ । निसानको रणनीतिक साझेदार मित्सुबिशी पनि समूहमा सामेल हुने वार्तामा व्यस्त छ । ५४ अर्ब डलरको निसान-होन्डा समूहले बिक्रीमा दक्षिण कोरियाको हुन्डाईलाई उछिन्न मद्दत गर्ने जनाइएको छ । बिक्रीको आधारमा विश्वकै सबैभन्दा ठूलो अटोमोबाइल उत्पादक कम्पनी जापानको टोयोटा हो । दोस्रोमा जर्मनीको फक्सवागन आउँछ । एकीकृत समूहले अटोमोटिभ उद्योगमा पनि एउटा ल्यान्डमार्कको प्रतिनिधित्व गर्ने जनाइएको छ । यो मर्जरले विद्युतीय सवारीसाधनको विकासलाई अघि बढाउन र विभिन्न चुनौतीहरूसँग सामना गर्न सघाउनेछ । वैश्विक अटो उद्योग हाल विद्युतीय सवारीसाधन (ईभी) तर्फ रूपान्तरण हुँदै गर्दा धेरै चुनौतीहरूको सामना गरिरहेको छ, जसमा टेस्ला र चीनको बीवाईडीजस्ता कम्पनीहरूको प्रभुत्व छ । उदाहरणका लागि फक्सवागनले जर्मनीमा कारखाना बन्द गर्ने र हजारौं जागिर कटौती गर्ने योजना बनाएको छ भने जनरल मोटर्सले हालै आफ्नो सेल्फ-ड्राइभिङ रोबोट्याक्सी कम्पनी क्रुज बन्द गरिसकेको छ । होन्डा र निसान दुबैका कार्यकारीहरूले संयुक्त कम्पनीले वर्तमान समस्यासँग जुध्न सक्षम हुने जनाएका थिए । लामो समयका लागि सञ्चालन नाफालाई करिब १९.१ अर्ब डलरमा बढाएर अगि बढ्ने जनाइएको छ । निसानले विश्वव्यापी उत्पादन क्षमतालाई पाँचौंले घटाउने र ९ हजार रोजगारी कटौती गर्नेछ । होन्डाका सीईओ तोशिहिरो मिबेले केही सेयरधारकहरूले आफ्नो कम्पनीले संघर्षरत निसानलाई समर्थन गरिरहेको महसुस गर्न सक्ने बताएका थिए । उनका अनुसार यदि यी दुई अटोमोबाइल निर्माताहरू आफू स्वतन्त्र रूपमा अडिन सकेनन् भने व्यापार एकीकरण वार्ता ‘साकार हुने छैन ।’ यद्यपि घोस भन्छन्- ‘निसान प्यानिक मोड’मा रहेको र यस्तो परिस्थितिबाट बचाउन ऊ कसैको खोजीमा छ । किनभने तिनीहरू आफैले समाधान निकाल्न असमर्थ छन् ।’ उनले निसान सफल हुनेमा ‘शङ्का’ व्यक्त गरे । न्युबर्गर बर्मनका वरिष्ठ उपाध्यक्ष तथा पोर्टफोलियो प्रबन्धक केई ओकामुराले सम्झाैतामा अनवाइन्ड हुने सम्भावना पनि रहेको बताए । ‘मर्जपछिको एकीकरण एकदमै आवश्यक हुनेछ । जबसम्म यी कम्पनीहरूले जनता, सम्पत्ति र संस्कृतिको हिसाबले आफूलाई पूर्ण रूपमा एकीकृत गर्न सक्षम हुँदैनन्, यी सम्झौताहरूमा अनवाइन्ड हुने सम्भावना हुन्छ । यदि निसान आफ्नो टर्नअराउन्ड कार्यक्रममा नआएमा यो सम्झौता नहुन सक्छ भन्ने कुरालाई ध्यानमा राख्नु पर्छ,’ ओकामुराले भने । यदि निसान र होन्डाबीच मर्जर भएको खण्डमा यो हालसम्मकै सबैभन्दा ठूलो अटोमोटिभ उद्योगको मर्जर हुनेछ । यसअघि २०२१ को जनवरीमा फियाट क्रिस्लर र फ्रान्सको पीएसए ग्रुप मर्ज भई स्टेलान्टिस बनेको थियो । स्टेलान्टिसको मार्केट क्याप ३८.६७ बिलियन डलर रहेको छ भने निसान र होण्डाको मर्जरपश्चात् ५४ बिलियन डलरको कम्पनी बन्नेछ । सम्बन्धित सामग्री : होन्डा र निसानबीच मर्ज हुने, हालसम्मकै ठूलो अटोमोटिभ कम्पनी बन्ने स्टेलान्टिस र सीएटीएलले स्पेनमा ईभी ब्याट्री प्लान्ट निर्माण गर्ने, ४.३ बिलियन डलरको लगानी झन् सशक्त बन्दै बीवाईडी, अर्को वर्ष नयाँ पुस्ताको ब्लेड ब्याट्री लन्च गर्ने चीनमा इभीको वर्चश्व बढ्दै, अरू विदेशी कम्पनी टिक्न सकस
सडक सौन्दर्यीकरण परियोजनाका लागि सिटिजन्स बैंकको सहयोग
काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत विराटनगर महानगरपालिका क्षेत्रभित्र पर्ने रानी–बरगाछी सडक सौन्दर्यीकरण परियोजनाका लागि २ लाख रुपैयाँ सहयोग प्रदान गरेको छ । विराटनगरलाई सफा, सुन्दर, व्यवस्थित र विकसित बनाउने अभियान अन्तर्गत रानी– बरगाछी ६ लेन सडकको डिभाइडरमा हरियाली सहित सडक सौन्दर्यकरण परियोजनाका लागि बैंकले सो सहयोग रकम प्रदान गरेको हो । विराटनगर महानगरपालिकामा आयोजित एक कार्यक्रमकाबीच मेयर नागेश कोइरालालाई २ लाख रुपैयाँ बराबरको चेक हस्तान्तरण भएको छ । आगामी दिनमा पनि बैंकले संस्थागत सामाजिक उतरदायित्व कार्यक्रम अन्तर्गत सामाजिक, आर्थिक, सांस्कृतिक, शैक्षिक आदि जस्ता क्षेत्रमा सकारात्मक परिवर्तन ल्याउनका निम्ति विभिन्न कार्यक्रम संचालन गर्ने योजना रहेको जानकारी गराएको छ ।
सङ्खुवासभामा ३४ करोड बढीको सुन्तला कारोबार
किमाथाङ्का । जिल्लामा यो वर्ष ३४ करोड रुपैयमाँ बढीको सुन्तला बिक्री भएको छ । सुन्तला उत्पादन बढेसँगै कारोबारमा पनि वृद्धि भएको हो । यो वर्षको हालसम्म ३४ करोड ८५ लाख रुपैयाँको सुन्तला बिक्री भएको जिल्लास्थित कृषि ज्ञान केन्द्रका प्रमुख छत्र विश्वकर्माले यावदले जानकारी दिए । पछिल्लो केहीवर्षयता उत्पादनमा निरन्तर ओरालो लागेकामा यस वर्ष भने वृद्धि भएको उनको भनाइ छ । ‘यहाँ स्थानीय जातका सुन्तला उत्पादन हुन्छन् । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन इकाई सुन्तला जोन लागू भई कृषकलाई प्रोत्साहन कार्यक्रममार्फत सहयोग पुर्याएपछि उत्पादन बढ्दै जान थालेको हो । जिल्लामा गत वर्ष १९ करोड ९३ लाख ९१ हजार रुपैयाँको सुन्तला बिक्री भएकामा यसवर्षको हालसम्म ३४ करोड रुपैयाँ खबढीको कारोबार भइसकेको छ’, प्रमुख यावदले भने । यो वर्ष जिल्लामा तीन हजार चार सय ८५ मेट्रिकटन सुन्तला उत्पादन भएको कृषि ज्ञान केन्द्रले जनाएको छ । साथै एक सय १५ मेट्रिकटन किवी उत्पादन भएको छ । परियोजना कार्यान्वयन भएसँगै किसानलाई प्राविधिक सहयोग हुनुका साथै सुन्तलाका लागि उपयुक्त मौसम भएकाले पनि यसको उत्पादन बढेको प्रमुख यादवले बताए । उनका अनुसार जिल्लाभरि एक हजार एक सय ४८ हेक्टर खेतीयोग्य जमिनमध्ये छ सय २० हेक्टरमा सुन्तला उत्पादन हुने गरेको छ । उत्पादन भएको सुन्तला बगानबाट प्रतिकिलो एक सय रुपैयाँमा बिक्री भइरहेको छ । सङ्खुवासभाको मादी, खाँदबारी र चैनपुर नगरपालिकामा व्यावसायिक सुन्तला खेती हुने गरेको केन्द्रले जनाएको छ । यहाँ उत्पादित सुन्तला पूर्वी तराईका साथै काठमाडौंसम्म पुग्ने गर्दछ ।
पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा सिचुवान एयरलाइन्सको जहाज अवतरण
पोखरा । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा सिचुवान एयरलाइन्सको जहाज छेङ्दुबाट एक सय २६ यात्रु लिएर अवतरण भएको छ । अङ्ग्रेजी नयाँ वर्ष २०२५ को अवसर पारेर पोखरा महानगर, चिनियाँ दूतावास र ड्रागन बोट एशोसिएसनको आयोजनामा यही पुस १४ र १५ मा फेवा तालमा आयोजना हुने दोस्रो अन्तर्राष्ट्रिय ‘ड्रागन बोट रेस’मा सहभागी हुन आएका चार्टर उडानबाट चिनियाँ टोलीलाई पोखरा ल्याएको हो । चीन सरकारको अगुवाइमा नेपालमा पहिलो पटक सन् २०२३ मा ड्रागन बोट फेस्टिभल भएको थियो । पुस १७ गते पोखरा विमानस्थल उद्घाटन भएको दुई वर्ष पूरा हुँदैछ । विमानस्थलबाट नियमित अन्तर्राष्ट्रिय उडान भने हुन सकेको छैन । चार्टर उडानबाट आशा जगाउने काम भने भइरहेको विमानस्थल कार्यालयले जनाएको छ । सिचुवानको यो तेस्रो चार्टर उडान हो । यसअघि चीन, भुटान र भारतबाट सात चार्टर्ड र तीन अन्य अन्तर्राष्ट्रिय उडान सम्पन्न भएका छन् ।
स्थानीय तहका विपद् जोखिम न्युनिकरण सम्बन्धी संरचना बलियो बनाउनुपर्छ : गृहमन्त्री लेखक
काठमाडौं । गृहमन्त्री रमेश लेखकले विपद् जोखिम न्युनिकरणका लागि निर्माण भइसकेका संरचनालाई बलियो बनाउन जरुरी रहेको बताएका छन् । बिहीबार काठमाडौंमा आयोजित राष्ट्रिय विपद् जोखिम न्युनिकरण तथा व्यवस्थापन प्राधिकरणको संस्थागत क्षमता तथा कार्य जिम्मेवारीलाई प्रभावकारी बनाउने उपायहरुबारेको छलफल कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् । उनले संघदेखि स्थानीय तहसम्मका विपद् जोखिम न्युनिकरण सम्बन्धी संरचनालाई बलियो बनाउन जरुरी रहेको बताए । जोखिमको पहिचान गरेर आवश्यक संरचना निर्माण गर्न जरुरी रहेको बताए । नेपाल विपद् जोखिमको पनि उच्च जोखिममा रहेको उल्लेख गर्दै सबै मिलेर विपद् जोखिम न्युनिकरणका लागि पहल गर्न आवश्यक रहेको बताए । भुगोलको जोखिम, प्राकृतिक जोखिम र मानव सिर्जित जोखिमहरुलाई कम गर्नेगरी अघि बढ्न जरुरी रहेको जानकारी दिए । ‘हामी विपद् जोखिमको पनि उच्च जोखिममा छौँ । हाम्रो भुगोल पनि विपद्को जोखिमकै स्थितिमा छ, भुगोलका कारणले पनि । कतिपय प्राकृतिक जोखिम छन्, कतिपय मानव निर्मित जोखिम छन् । त्यसो भएको हुनाले यसलाई न्युनिकरण गर्नका निमित्त हामी सबै मिलेर मात्रै सम्भव छ’, उनले भने । गृहमन्त्री लेखकले समुदाय र वडामा रहेका विपद् जोखिम न्युनिकरण सम्बन्धी संरचनालाई बलियो बनाउन जरुरी रहेको बताए । समुदायलाई बलियो नबनाएसम्म विपद् जोखिम न्युनिकरण गर्न नसकिने बताए । समयमै पूर्वसूचना प्राप्त भए जोखिम न्युनिकरणका लागि सहयोगी हुने जानकारी दिए ।