विकासन्युज

गोर्खाज फाइनान्सको सीईओमा अधिकारी

  काठमाडौं । गोर्खाज फाइनान्सको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा प्रकाशचन्द्र अधिकारी नियुक्त भएका छन् । पुष १४ गते बसेको कम्पनी सञ्चालक समितिको बेठकले सीईओको पदमा अधिकारीलाई नियुक्त गर्ने निर्णय गरेको हो । उनलाई पुष १८ गतेबाट लागु हुने गरी आगामी ४ वर्षको लागि वित्तीय संस्थाको सीईओमा नियुक्त गर्ने निर्णय भएको कम्पनीका सचिव दीपक न्यौपानेले जानकारी दिए ।

शून्य ब्याजदरमै सीएफमोटोको ‘टु हन्ड्रेड फिफ्टी एनके’, २ वर्ष किस्तावन्दीको सुविधा

काठमाडौं । सीएफमोटो नेपालले नयाँ वर्षको अवसर पारेर आफ्नो विशेष वित्तीय योजना ‘न्यू इयर, न्यू राइड’ सार्वजनिक गरेको छ । यस योजनाले ग्राहकहरुलाई ० प्रतिशत ब्याजदरमै २४ महिने सरल किस्ताबन्दीमा आफ्नो ‘टु हन्ड्रेड फिफ्टी एनके’ कम्प्युटर सेग्मेन्टमा न्याकेड सिरिजको वाइक किन्न उत्कृष्ट अवसर प्रदान गरेको छ । सीमित अवधिका लागि लागू गरिएको यस योजना पौष १६ गते देखि माघ १८ गते सम्म लागु हुने कम्पनीले जनाएकाे छ । न्यूनतम ५० प्रतिशत डाउन पेमेन्ट गरेर सरल किस्ताबन्दी योजनाका सीएफमोटोको टु हन्ड्रेड फिफ्टी एनके खरिद गर्न सकिने कम्पनीको भनाइ छ । साथै यस योजनाले सरल कागजी प्रकृया रुचिअनुसारको किस्ताबन्दी योजना रोज्ने सुविधासमेत प्रदान गर्दछ । कम्पनीको भनाइअनुसार यस सेग्मेन्टका आफ्ना ग्राहक युवा अवस्थाका रहेका र यस योजना अन्तर्गत ० प्रतिशत ब्याजदर बाट लाभ लिन सक्ने भएकोले यसले आफ्नो ब्राण्डलाई अझ पहुँचयोग्य वनाउने कुरामा विश्वास लिएको जनाएको छ । बिक्रीको साथ साथै कम्पनीले बिक्री पछिको सेवालाई अझ चुस्त र दुरुस्त बनाउन, स्पेयर पार्टसको सहज उपलब्धि तथा सर्भिस क्वालिटीलाई समेत उच्च प्राथमिकता दिएको जानकारी दिएको छ । कम्पनीले हालसालै उपत्यका लगायत बाहिरी जिल्लाका ग्यारेजवालाहरूलाई समेत २ दिने आफ्ना २५० सीसी तथा ४५० सीसीका बाइकहरूको तालिम सीएफमोटो चाइनाका ट्रेनरहरूमार्फत सन्चालन गरेको थियो । यसका साथै टु हन्ड्रेड फिफ्टी एनके नगदमा खरीद गर्ने ग्राहकहरूलाई २५ हजार रुपैयाँसम्म छुट, एक्सचेन्जमा ३० हजार र थप मूल्यांकनको साथै फ्री गिफ्ट, हेल्मेट, १ वर्षको लागि सीएफमोटोको पार्ट्स खरीदमा १० प्रतिशत छुटसमेत दिएको छ । सीएफमोटोको टु हन्ड्रेड फिफ्टी एनकेमा २४९.५ सीसीको सिंगल साइलाइनर इन्जिन दिइएको छ, जसले २०.५ किलोवाटको म्याक्सिमम पावर र २२ एनएमको टर्क उत्पादन गर्ने र यसमा डुअल च्यानल एबीएस, १२.५ लिटरको ट्यांक, आकर्षक डिजाइन तथा प्रविधि अपनाएको छ । जसले उक्त वाईकमा सवार भएका सवारीले सुरक्षित यात्राको साथ साथ अपग्रेडेड राइडको मज्जा लिन सक्ने छन् ।

सल्लेरीबाट सुर्केसम्म यातायात सेवा सञ्चालन हुँदा पर्यटन व्यवसायी उत्साहित

सोलुखुम्बु । सगरमाथा क्षेत्रको पर्यटनको केन्द्र मानिने लुक्ला नजिकैको सुर्केगाउँसम्म यातायात सेवा विस्तार भएपछि पर्यटन व्यवसायी उत्साहित भएका छन् । खुम्बु पासाङल्हामु गाउँपालिकाको विशेष लगानीमा सुर्केसम्म सडक विस्तार भएसँगै सल्लेरीबाट सुर्केसम्म यातायात सेवासञ्चालनमा आएको छ । यसले सगरमाथा क्षेत्रको पर्यटन प्रवर्द्धनमा ठूलो फड्को मार्ने अपेक्षा गरिएको छ । खुम्बु पासाङल्हामु –१ खरिखोलाबाट वडा नं २ सुर्केसम्म १६ करोड रुपैयाँको लागतमा करिब २५ किलोमिटर सडक निर्माण गरिएको हो । यो परियोजना गाउँपालिकाको मुख्य लगानीमा दुई वर्षअघि सुरु भएको थियो । परियोजनाका लागि पालिकाले स्थानीय जलविद्युत् आयोजना—सिल्क पावर र दूधकोशी छैटौसँग साझेदारी गरेको छ । थामडाँडाबाट सुर्केसम्मको १२.५ किलोमिटर सडक ठेक्का प्रणालीमार्फत १० करोड ५२ लाख रुपैयाँमा निर्माण सम्पन्न भएको छ । गाउँपालिकाका लेखा शाखा प्रमुख चेतनाथ कट्टेलका अनुसार ५० प्रतिशत लगानी गाउँपालिकाको छ भने बाँकी ५० प्रतिशत जलविद्युत् आयोजनाबाट जुटाइएको छ । खरिखोलाबाट थामडाँडासम्मको १२.३ किलोमिटर सडक भने छ करोड १४ लाख रुपैयाँमा लागतमा पालिकाको आफ्नै स्रोतबाट निर्माण गरिएको थियो । दूधकोशी नदीमा रहेको मितेरीपुल बाढीका कारण क्षतिग्रस्त भएपछि अस्थायी रूपमा ह्युमपाइप राखेर सडक सञ्जाललाई निरन्तरता दिइएको छ । दूधकोशीपारिको खरिखोला र पैयाँखोला गरी दुई ठाउँमा ह्युमपाइप प्रयोग गरिएको वडा नं २ का अध्यक्ष आङफुर्वा शेर्पाले बताए । यसले मालवाहक र अन्य सवारीलाई सहजै सुर्केसम्म पुर्याउन सम्भव बनाएको छ । स्थानीय पर्यटन व्यवसायीले सडक निर्माणप्रति उत्साह व्यक्त गर्दै यो कदमले क्षेत्रीय पर्यटनलाई नयाँ उचाइमा पुर्याउने बताएका छन् । मौसमका कारण उडान रद्द हुँदा यात्री अलपत्र पर्ने समस्या अब समाप्त हुने व्यवसायीको धारणा छ । स्थानीयवासीले सडक विस्तारले जीवनशैलीमा सकारात्मक प्रभाव पार्ने विश्वास व्यक्त गरेका छन् । यसले उनीहरूको दैनिकी सहज बनाउनुका साथै क्षेत्रीय विकासमा गति दिनेछ । लुक्ला नजिकैको सुर्केसम्म सडक सञ्जाल विस्तार भएको खुम्बु क्षेत्रका लागि कोशेढुङ्गा सावित हुँदैछ । सगरमाथा क्षेत्रको पर्यटकीय महत्वलाई बढाउँदै यो परियोजनाले स्थानीय र राष्ट्रिय अर्थतन्त्रमा दीर्घकालीन योगदान दिने अपेक्षा गरिएको छ । पर्यटन व्यवसायी, स्थानीयवासी र सरोकारवाला सबैले यो विकासलाई स्वागत गरेका छन् । सुर्केसम्म सडक पुगेपछि सल्लेरीबाट ६४ किलोमिटरको दूरीलाई सहज यात्राका माध्यमबाट पार गर्न सकिने भएको छ । लुक्ला विमानस्थलबाट करिब डेढ घण्टाको पैदल दूरीमा पर्ने फाक्दिङसम्म सडकको पहुँचले भरपर्दो विकल्प सृजना गरेको पर्यटन व्यवसायी अमृत मगरले बताए । यसअघि मौसम प्रतिकूल हुँदा विदेशी पर्यटक हप्तौँसम्म रामेछापको मन्थलीमा कुर्न बाध्य हुने अवस्था थियो । अब सडक मार्गको विकल्पले मौसमको प्रतिकूलताबाट प्रभावित हुने समस्यालाई धेरै हदसम्म समाधान गर्ने देखिन्छ । पर्यटन व्यवसायी निराजन शर्माका अनुसार आधा पर्यटक अब सिधै सडक मार्गबाट खुम्बु पुग्ने सम्भावना छ । पर्यटनमा सम्भावना र आर्थिक प्रभाव सडक विस्तारसँगै खुम्बु क्षेत्रमा पर्यटन व्यवसायमा उल्लेखनीय सुधार हुने अपेक्षा गरिएको छ । यसले होटल, रेस्टुरेन्ट, ट्राभल एजेन्सी, गाइड र पोर्टरको रोजगारीमा पाि सकारात्मक प्रभाव पार्नेछ । खुम्बु पासाङल्हामु गाउँपालिकाका अनुसार यो सडकले स्थानीय उत्पादनको ढुवानीलाई पनि सहज बनाउनेछ । यस क्षेत्रका आलु, गहुँ, जौँजस्ता उत्पादन अब बजारमा सहजै पुग्ने छन् । साथै निर्माण सामग्री र खाद्यान्न आपूर्तिमा पनि सुधार आउनेछ । सडक निर्माणको यो महत्त्वपूर्ण परियोजना यही पुस २० उद्घाटन गर्ने कार्यक्रम रहेको छ । यसले खुम्बु क्षेत्रलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय मञ्चमा थप प्रचार गर्ने विश्वास गरिएको छ । रासस

नेपाल विज्ञापन संघको २५औं वार्षिक साधारण सभा सम्पन्न

काठमाडौं । नेपाल विज्ञापन संघको २५औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । काठमाडौंकाे ताहाचलमा रहेकाे होटल ह्यात प्यालेसमा शुक्रबार सम्पन्न साधारण सभाले सबै पक्ष मिलेर विज्ञापन बजारलाई चलायनमान बनाउने निष्कर्ष निकाल्दै साधारण सभा सकिएको संघले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । साधारण सभा तीन सत्रमा सञ्चालन भएको थियो । पहिलो सत्रमा संघका महासचिव र कोषाध्यक्षले छुट्टा-छुट्टै वार्षिक तथा आर्थिक एवम् आगामी वर्षको अनुमानित आय-व्यय विवरण प्रस्तुत गरेका थिए । दोस्रो सत्रमा ‘स्टेइंग रेलिभेन्ट : रिसेपिङ नेपाल्स एडभरटाइजिङ ल्यान्डस्केप’ विषयक अन्तर्क्रिया कार्यक्रम आयोजना गरिएको थियो । अन्तर्क्रियामा विज्ञापन बोर्डका अध्यक्ष लक्ष्मण हुमागाई, नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष अञ्जन श्रेष्ठ, नेपाल उद्योग परिसंघका उपाध्यक्ष रोहित गुप्ता, नेपाल चेम्बर अफ कमर्सका कमलेश अग्रवाल, मिडिया एलायन्स नेपालका अध्यक्ष भाष्करराज राजकर्णिकार, हिमालय टेलिभिजनका अध्यक्ष धर्मराज भुसाल, नेपाल विज्ञापन संघका अध्यक्ष सुदिप थापा लगायतले आ–आफ्नो क्षेत्रबारे धारणा राखेका थिए । कार्यक्रममा वरिष्ठ विज्ञापन व्यवसायी रञ्जित आचार्यले राष्ट्रिय सामाजिक तथा आर्थिक परिप्रेक्ष्यमा विज्ञापन तथा समग्र मिडिया उद्योगको वर्तमान अवस्थाबारे धारणा राखेका थिए । कार्यक्रमको तेस्रो सत्रमा विज्ञानपन उद्योगको क्षेत्रमा योगदान गर्ने व्यक्तिहरूलाई सम्मान गरिएको थियो । कार्यक्रममा प्रशन्न श्रेष्ठ र साइस्मा घिमिरेलाई पनि प्रशंसा पत्र प्रदान गरिएको थियो । एसिया प्रशान्त क्षेत्रका १८ विज्ञापन बजारका प्रतिनिधिहरू बीच भएको प्रतिस्पर्धामा श्रेष्ठ र घिमिरे उत्कृष्ट पाँचभित्र पर्न सफल भएका थिए ।

अङ्ग्रेजी नयाँ वर्षमा आन्तरिक पर्यटन प्रवर्द्धन गरिँदै

बाँके । बाँकेमा सञ्चालित तारे होटलहरूले अङ्ग्रेजी नयाँ वर्ष २०२५ को स्वागतमा आन्तरिक पर्यटन प्रवर्द्धन गर्न विशेष कार्यक्रम गर्ने भएका छन् । अङ्ग्रेजी नयाँ वर्षका अवसरमा आन्तरिक तथा बाह्य पर्यटकलाई लक्षित गर्दै बाँकेमा रहेको होटल तथा पर्यटन व्यवसायीले विभिन्न आकर्षक प्याकेजसँगै साङ्गीतिक एवं सांस्कृतिक कार्यक्रम तय गरेका छन् । ‘पर्यटन व्यवसायलाई चलायमान बनाउन परिस्थिति सुधारको पर्खाइभन्दा हामी आफ्नै अग्रसरतामा केही गर्नुपर्ने आवश्यकता देखिएको छ’, नेपालगञ्जस्थित होटल स्टार लाइटका फ्रन्ट म्यानेजर विनोद बुढाथोकीले भने, ‘कम्तीमा आफ्ना नियमित पाहुनालाई नयाँ वर्षकै अवसर पारेर होटलसम्म ल्याउने र रमाउने वातावरण सृजना गर्न खोजेका छौँ ।’ उनका अनुसार, नयाँ वर्षको अवसरमा साङ्गीतिक माहोलमा पारिवारिक वातावरण दिएर होटल स्टार लाइटले सहुलियत तर आकर्षक प्याकेज तयार गरेको छ । लागत मूल्यमा ‘लाइभ फुड’, ‘अनलिमिटेड स्न्क्याक्स’, ‘बुफे डिनर’सहित लोकप्रिय पपगायक सञ्जय श्रेष्ठ, लोकगायिका इब्सु सञ्ज्यालको देउडा सङ्गीत अनि ‘द स्याड ब्याण्ड’को लाइभ प्रस्तुति व्यवस्थापन गरिएको छ । म्यानेजर बुढाथोकीले आन्तरिक तथा बाह्य पर्यटकलाई व्यवस्थित बसाइसहित भिन्न र नयाँ प्रस्तुति होटल स्टार लाइटले दिन खोजेको उल्लेख गर्दै भने, ‘नयाँ पुस्तासँग पुरानो चर्चित ब्याण्ड तथा लोकप्रिय गायकलाई चिनाउन पनि हाम्रो कार्यक्रमले विशेष भूमिका खेल्नेछ ।’ नेपालगञ्जस्थित पाँचतारे होटल सोल्टीले पनि नयाँ वर्ष २०२५ लाई भव्य रूपले स्वागत गर्न कलाज्ञ ब्याण्डलाई नेपालगञ्ज निम्त्याएको छ । त्यससँगै आफ्ना पाहुनाका लागि आकर्षक पुरस्कारसमेत राखेको सोल्टीले ‘लाइभबार’, ‘फुड काउन्टर’जस्ता विशेषतासहितका आकर्षक प्याकेज तयार गरेको जनाएको छ । कोहलपुरस्थित पाँचतारे होटल सेन्ट्रल प्लाजाले चर्चित गायक शिव परियार र पछिल्ला नेपाल आइडल करण परियारलाई ३१ डिसेम्बरको (आज) राति कोहलपुर निम्त्याएको छ ।  डायमण्ड प्यालेस लर्डस् प्लाजाले बलिउड शैलीमा नेपालगञ्जमै ‘न्यू इयर इभ’ आयोजना गर्ने जनाएको छ । होटल सिद्धार्थ नेपालगञ्जले गायिका रचना रिमालसहितको साङ्गीतिक प्रस्तुतिसँगै नयाँ वर्षका अवसरमा आन्तरिक पर्यटन प्रवर्द्धनको तयारी गरेको होटलका सेल्स एण्ड मार्केटिङ म्यानेजर नवीन भट्टले बताए । नेपालगञ्जकै तारे होटल कल्पतरुले पनि सन् २०२५ को स्वागतका लागि साङ्गीतिक कार्यक्रमसहित विभिन्न स्वादका परिकार पस्किने जनाएको छ । कल्पतरुले गायिका प्रतिक्षासहित उनको ब्याण्डले नयाँ वर्षको स्वागत गर्ने जनाएको छ । होटल ग्यालेक्सी दरबारले लाइभ म्युजिकसहित विभिन्न परिकारलाई सहुलियत दरमा आकर्षक ‘प्याकेजिङ’ गरेको जनाएको छ । जुना द टिम ब्याण्डको लाइभ म्युजिक आकर्षक खानाका स्वाद पस्किने ‘न्यू इयर इभ’मा निःशुल्क प्रवेश व्यवस्था मिलाइएको ग्यालेक्सी दरबारका प्रबन्धक हस्तबहादुर हिमालले जानकारी दिए ।

बैतडीको सिगास न्वाघर केन्द्रबिन्दु भएर भूकम्पको धक्का

बैतडी । बैतडीसहित सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लामा भूकम्पको धक्का महसुस गरिएको छ । सुर्खेतस्थित भूकम्प मापन केन्द्रका प्रमुख चिन्तन तिमल्सिनाका अनुसार बैतडीको सिगास गाउँपालिका–७ को न्वाघर केन्द्रबिन्दु भएर आज बिहान ७ः५४ बजे ४.६ रेक्टर स्केलको भूकम्प गएको हो । भूकम्पको धक्का महसुस बैतडीसहित, बझाङ, डडेल्धुरा, डोटीमा गरिएको छ । भूकम्पबाट के कति क्षति भयो भन्ने अहिलेसम्म जानकारी नआएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

करमाथि करः सरकारको खातामा ४ अर्ब ५ करोड, लगानीकर्ताको खल्तीमा १ अर्ब ९८ करोड

काठमाडौं । सरकारले विकास निर्माणको काम गर्न सकेन, जनताले तिरेको कर सरकारले प्रशासनिक खर्चमा धेरै गर्यो भन्ने आवाज जनस्तरमा व्यापक बन्दै छ भने व्यवसायी माथि सरकारले ज्यादा कर उठायो, कर माथि कर लगायो भन्ने आवाज व्यवसायिक जगतमा धेरै सुनिन्छ । त्यसको एउटा उदाहरण ग्लोवल आइएमई बैंकको आर्थिक वर्ष २०८०/८१ को वार्षिक प्रतिवेदनमा देखिन्छ । प्रतिवेदनमा ग्लोबल आइएमई बैंकले गत वर्ष सरकारलाई ४ अर्ब रुपैयाँ भन्दा बढी कर तिरेको उल्लेख छ । बैंकले आर्थिक वर्ष २०८०/८१ मा व्यवसायबाट नियमित कर २ अर्ब ७२ करोड ९९ लाख रुपैयाँ तिरको हो । मर्जर तथा प्राप्ति र एफपीओमा सरकारले भूतप्रभावि कर लगाउँदा बैंकले १ अर्ब ३२ करोड ३९ लाख ६१ हजार ३८१ रुपैयाँ थप कर रकम सरकारलाई बुझाएको थियो । बैंकबाट सरकारले ४ अर्ब ५  करोड कर उठाउँदा  साेही वर्ष सेयरधनीले जम्मा १ अर्ब ९८ कराेड ७० लाख मात्र पाएका छन् । सेयरधनीले लाभांश जति पाएका छन्, त्यो भन्दा सरकारले २०५.५४ प्रतिशत बढी कर असुल गरेको छ । सामान्यतया सरकारले कम्पनीहरुमाथि नाफामा २५ प्रतिशत कर लगाउँछ । बैंक तथा वित्तीय सस्थालाई यस्तो करका दरमा थप ५ प्रतिशत जोडेर ३० प्रतिशत लगाउँदै आएको छ । तर, यहाँ ३० प्रतिशत मात्र होइन, कर माथि कर लगाउँदै सरकारले सेयरधनीले पाउने रकमभन्दा झण्डै २०५ प्रतिशत कर असुल गरेको छ । गत असारसम्म बैंकको सञ्चालन मुनाफा ८ अर्ब ८६ करोड ७३ लाख रुपैयाँ भएपनि सेयरधनीले १ अर्ब ९८ कराेड ७० लाख मात्र पाए । बैंकको चुक्ता पुँजी ३८ खर्ब ११ करोड ५८ लाख रुपैयाँ छ । सेयरधनीलाई बैंकले जम्मा ५.५ प्रतिशत मात्र लाभांश वितरण गरेको छ ।

१५ अर्ब बढीको च्याउ बजार, बीमा बजारले पत्याएन

काठमाडौं । पुस १५ मा राष्ट्रिय च्याउ दिवस भव्य रूपमा मनाइयो । विभिन्न कार्यक्रमहरूको आयोजना गरी च्याउ दिवस सम्पन्न मनाइएको हो । २०७६ सालमा च्याउ उत्पादक किसान एकजुट भएर मेची महाकाली ‘राष्ट्रिय च्याउ जागरण अभियान’ गरेपछि पुस १५ गते राष्ट्रिय च्याउ दिवस तोकेका थिए । त्यसैले किसानहरूले प्रत्येक पुस १५ गते राष्ट्रिय च्याउ दिवस मनाउन थालेका हुन् । च्याउ दिवसका अवसरमा च्याउ उत्पादक किसान संघले राजधानीको भृकुटीमण्डपमा सोमबार च्याउ मेला तथा प्रदर्शनी आयोजना गरेक हो । मेलामा ४० वटा स्टलमा च्याउसँग सम्बन्धित विभिन्न वस्तु प्रदर्शनी राखिएका थिए । च्याउ उत्पादक किसान संघका अध्यक्ष सन्तोष कार्की नेपालमा ३५ हजार किसान च्याउखेतीमा आवद्ध रहेको बताउँछन् । विभिन्न जातका च्याउ उत्पादन र १५ अर्ब रुपैयाँ हाराहारीमा कारोबार हुने गरेको उनले बताए । नेपालको ७० जिल्लामा च्याउखेती विस्तार भएको छ भने ४० जिल्लामा व्यावसायिक रूपमा च्याउ उत्पादन गर्ने किसानहरू रहेको उनले बताए । अध्यक्ष कार्कीका अनुसार हालसम्म च्याउको बीउ उत्पादन गर्ने ल्याबको संख्या ६७ वटा छन् । हाल दैनिक गोलो च्याउ ८ हजार केजीदेखि १० हजार केजी उत्पादन भइरहेको छ । यस्तै, कन्य च्याउ ४० हजार केजीदेखि ५० हजार केजी उत्पादन भइरहेको कार्कीले बताए । अब १० दिनपछि च्याउको मूल्य सस्तिने उनले जानकारी दिए । बढी उत्पादन भएर लागतभन्दा कम मूल्यमा बिक्री गर्नुपरेको उनको भनाइ छ । सिताके च्याउ भने न्यून उत्पादन भइरहेको उनले बताए । के हो च्याउ ? च्याउ एक प्रकारको ढुसी हो । तर, सबै ढुसी च्याउ होइनन् । च्याउले आफ्नो खाना आफै बनाउन सक्दैन । च्याउ जरा र पात नभएको, फूल नफुल्ने र आँखाले नदेखिने, मसिनो धागोजस्तो रेसाहरूले जेलिएर बनेका हुन्छन् । यी रेसाहरूलाई अंग्रेजीमा ‘माइसेलियम’ भनिन्छ । यिनीहरू कुहिएको वस्तु, चिसो र ओसिलो ठाउँमा उम्रन्छन् । च्याउ अति नै पोषिलो र स्वास्थ्यवर्द्धक खाद्यवस्तु हो । त्यसैले विश्वबजारमा यसको माग अत्यधिक रहेको छ । नेपालमा हाल गोभ्रे, कन्य, सिताके, दुघे र राजा च्याउको व्यावसायिक रूपमा खेती गरिँदै आएको छ । नेपालमा धेरै जातका च्याउहरू पाइन्छन् । तर, यसको अध्ययन, अनुसन्धान र विकास भने हुन सकेको छैन । नेपालमा बहुमूल्य जातका च्याउको उत्पादन र निर्यातको पर्याप्त सम्भावना हुदाँहुदै सरकारको ध्यान पुग्न नसकेको कार्कीको भनाइ छ । नेपालमा च्याउको इतिहास नेपालमा प्राचीन समयदेखि नै च्याउको उपभोग गरिँदै आएको पाइन्छ । व्यावसायिक रूपमा च्याउ उत्पादन नगरिएको अवस्थामा पनि वन जंगलमा उपलब्ध भएको च्याउ मानिसहरूले उपभोग गर्ने गरेको पाइन्छ । सर्वप्रथम कन्य च्याउको उत्पादन र अनुसन्धानपश्चात् विसं २०३०/३१ मा गोब्रेच्याउको खेती प्रविधि सम्बन्धि अनुसन्धान भएको देखिन्छ । राष्ट्रिय कृषि अनुसन्धान परिषद्अन्तर्गत बाली रोग विज्ञान महाशाखाबाट च्याउखेती प्रविधि सम्बन्धि अध्ययन सफल भएपछि विसं २०३७ सालबाट देशका विभिन्न स्थानका किसानलाई च्याउखेती प्रविधि सम्बन्धि तालिम दिई यसको विस्तार गर्ने कार्य भएको हो । विसं २०३४/३५ सालबाट नै काठमाडौंको बलम्बु, चापागाउँ, दधिकोट हुँदै देशभर च्याउखेती गरिँदै आएको हो । हाल च्याउ उपभोग गर्ने मानिसको संख्या बढ्दै गएपछि व्यावसायिक उत्पादन गर्ने किसानको संख्या पनि दैनिक बढिरहेको संघका अध्यक्ष कार्कीले बताए । ‘च्याउ दिवसलाई संघ सरकारले पनि घोषणा गरेर कार्यक्रम ल्याउनुपर्छ, कृषि मन्त्रालयले बीमामा करिब ७५ प्रतिशत अनुदान दिएको छ । तर, च्याउको बीमा गर्न बीमा कम्पनीहरू मान्नु हुँदैन,’ गुनासो गर्दै अध्यक्ष कार्कीले भने, ‘च्याउ उत्पादन गर्न उचित नीति आवश्यक छ । कुन किसिमको च्याउ खेती गर्ने, त्यसको कसरी बजारीकरण गर्ने भन्ने विषयमा सरकारले नीति ल्याउनुपर्छ ।’ साथै च्याउमा नेपाल आत्मनिर्भर बन्नेतर्फ अग्रसर भएको उनको भनाइ छ । तर, राज्यले सहयोगबिना सम्भव नरहेको उनले बताए । ‘डल्ले च्याउमा अब आत्मनिर्भर बन्ने अवस्था सिर्जना भइसक्यो, दुई/चार वर्षमै आत्मनिर्भर बन्न सक्छौं । सरकारले उचित पहल गरिदिनुपर्छ,’ उनले भने, ‘आत्मनिर्भरताको यो यात्रामा सरकारले साथ दिएमा मुलुक छिट्टै च्याउ आयात गर्नुपर्ने अवस्थाबाट निर्यात गर्ने अवस्थामा पुग्नेछ ।’ कुन वर्ष कति च्याउ आयात ? च्याउ उत्पादक किसान संघका अनुसार नेपालमा आर्थिक वर्ष २०७९/८० मा १८ करोड २९ लाख ७० हजार रुपैयाँ बराबरको ७ लाख ४९४ केजी च्याउ आयात भएको थियो । यस्तै, गत आव २०८०/८१ मा १० करोड ४८ लाख १२ हजार रुपैयाँ बराबरको ३ लाख ८१ हजार ८७१ केजी च्याउन आयात भएको संघको दाबी छ । तर, पछिल्लो समय च्याउ आयात घटेको तथ्याङ्कले देखाएको छ । चालु आव २०८१/८२ को मसिरसम्म १ करोड ९१ लाख ४६ हजार रुपैयाँको ३५ हजार १५५ केजीमात्रै च्याउ आयात भएको देखिन्छ ।