विकासन्युज

व्यस्त दम्पत्तिको सहारा बन्दै शिशु स्याहार केन्द्र, भर्ना पाउनै मुस्किल

काठमाडौं । भक्तपुर दुवाकोट बस्ने सन्दीप कार्की मार्केटिङको जागिर गर्छन् । कार्कीको श्रीमती पनि नर्समा जागिरे छिन् । दुवैजना जागिरे त्यसमा पनि एकल परिवार भएकाले सन्दीप दम्पतीले आफ्नो सन्तानलाई समय दिन पाउँदैनन् । उनीहरूले आफ्नो नानीलाई नगरपालिकाले सञ्चालन गरेको नजिकैको शिशु स्याहार तथा बालविकास केन्द्रमा भर्ना गरे । शिशु स्याहार केन्द्रमा बच्चालाई राखेर ढुक्कले काम गर्न पाएको कार्की बताउँछन् । ‘हामीले एक वर्षदेखि नानीलाई शिशु स्याहार केन्द्रमा राखेका छौं,’ उनले भने, ‘शिशु स्याहार केन्द्रमा नानीलाई राख्दा हामीले ढुक्कले काम गर्न पाएका छौं ।’ भक्तपुर दूधपाटी बस्ने उर्मिला प्याथ सहकारीमा जागिर गर्छिन् । श्रीमान पनि काममा व्यस्त हुँदा उनले काम गर्न नपाउने हो कि भन्ने चिन्तामा थिइन् । तर उनले पनि आफ्नो बाबुलाई नगरपालिकाले नै सञ्चालन गरेको शिशु स्याहार केन्द्रमा भर्ना गरेपछि जागिर गर्न पाएकी छिन् । बाबुलाई स्याहार केन्द्रमा राख्न थालेको एक महिनामात्रै भएको उनले सुनाइन् । केन्द्रको सेवाप्रति निकै सन्तुष्टि छिन् उर्मिला । निजी संस्थाले सञ्चालन गरेको स्याहार केन्द्रमा भन्दा यस स्याहार केन्द्रमा धेरै राम्रो स्याहार र सुविधा भएको उनले बताइन् । ‘प्राइभेटमा भन्दा यहाँ धेरै राम्रो लाग्यो, यहाँ बच्चालाई खेल्ने ठाउँदेखि खानाको पनि राम्रो व्यवस्था छ, बच्चालाई केही भइहाल्ल्ने हो कि भन्ने कुरामा चिन्ता लिनुपर्दैन । बेलाबेला स्वास्थ्य जाँच पनि गराइरहेको हुन्छ । शुल्क पनि न्यून छ,’ उनले भनिन् । माथि प्रस्तुत गरिएका प्रसंग केही प्रतिनिधि पात्रमात्रै हुन् । अहिले एकल परिवार, त्यसमा पनि श्रीमान/श्रीमती दुबैजना जागिरे हुने चलन बढ्दै गएको छ । गाउँघरमा यस्तो चलन कम देखिएता पनि सहर बजारमा भने प्रशस्तै भेटिन्छन् । कमाउनका लागि दम्पती नै जागिर गर्न जाँदा सन्तानलाई समय दिन अभिभावक असमर्थ हुन्छन् । यस्तो अवस्थामा बच्चालाई समय दिनकै लागि दम्पतीमध्ये एक जना विशेषगरी महिलाहरूले आफूले गरिरहेको जागिर छाड्नुपर्ने बाध्यता छ । यो अवस्थामा पनि विस्तारै परिवर्तन हुँदै आएको छ । पछिल्लो समय आफ्नो सन्तानको हेरविचारको लागि भनेर जागिर नै छाडेर बस्नुपर्ने बाध्यता छैन । अहिले साना बच्चाहरूको हेरविचारको लागि विभिन्न बाल स्याहार केन्द्र सञ्चालनमा आइसकेका छन् । निजीमात्र नभएर सरकारी संघसंस्थाहरूमा पनि अहिले शिशु स्याहार केन्द्र सञ्चालनमा छन् । यसैले आजको दिनमा महिलाहरूलाई जागिर नै छाडेर घर बस्नुपर्ने अवस्था छैन । बढ्दै शिशु स्याहार केन्द्रको प्रभावकारिता आजभन्दा २५ वर्ष अर्थात विसं २०५६ सालअघि शिशु स्याहारको अवधारणा आइसकेको थिएन । अहिलेजस्तो व्यावसायिक रूपमा छ्यापछ्याप्ती स्याहार केन्द्रहरू पनि खुलेका थिएनन् । त्यतिबेला दम्पतीमध्ये एक जनाले बच्चा हेर्नेपर्ने बाध्यता थियो । त्यसैलाई मध्यनजर गरेर भक्तपुर नगरपालिकाले शिशु स्याहार तथा बालविकास केन्द्रको अवधारणा अघि सारेको हो । जागिर गर्ने महिलाले बच्चाकै कारण कामबाट वञ्चित हुनुनपरोस् भन्ने सोंचले शिशु स्याहार केन्द्र सञ्चालनमा ल्याइएको नगरपालिकाका प्रवक्ता दामोदर सुवाल बताउँछन्। उनले भने, ‘विशेषगरी आर्थिक अवस्था कमजोर र एकल परिवारलाई लक्षित बनाएर सुरु गरेका हौं । आजको दिनसम्म आइपुग्दा यसको प्रभावकारिता बढ्दै गएको छ।’ यो केन्द्र सञ्चालनमा ल्याएपछि यसबाट धेरै जना दम्पती लाभान्वित भएको प्रवक्ता सुवालले जानकारी दिए । यो केन्द्रमा आफ्ना बच्चालाई राखेर आमाहरूले ढुक्कले काम गर्न, पढ्न पाएका छन् । यसले नगरबासीको स्वास्थ्य र आर्थिक स्थितिमा टेवा पुगेको सुवालले बताए । उनका अनुसार केन्द्रबाट हालसम्म पाँच हजारभन्दा बढी बालबालिका लाभाविन्त भइसकेका छन् । केन्द्रमा भर्ना गरिएका धेरै शिशु अहिले डाक्टर, इन्जिनियर, नर्सलगायत विभिन्न पेशामा जागिरे भइसकेको प्रवक्ता सुवालले बताए । केन्द्रका शाखा प्रमुख दीपेन्द्र प्रजापती जागिरे दम्पतीमात्रै नभएर कृषिमा आवद्ध परिवारलाई पनि सहज होस् भन्ने हिसाबले यो कार्यक्रम सुरु भएको बताए । ‘जागिरे महिला मात्रै नभएर कृषि व्यवसाय गर्नेहरूलाई पनि समस्या हुन्छ । बच्चालाई घरमा एक्लै छाड्न नमिल्ने, खेतमा सँगै लगेर जान पनि नमिल्ने । शिशुलाई केन्द्रमा भर्ना गरेपछि आमाबुवाले ढुक्कले खेतमा काम गर्न पाएका छन्,’उनले भने । नगरपालिकाभित्र ६ वटा शिशु स्याहार केन्द्र सञ्चालनमा छन् । प्रजापतिका अनुसार भार्वाचो, मंगलतीर्थ, गोल्मढी, खँचा, भोलछें र लिवालीवडामा सञ्चालन भइरहेका छन् । १८ महिनादेखि ४ वर्षसम्मका बच्चाहरूलाई यस केन्द्रमा राख्न सकिन्छ । एउटा केन्द्रमा २ जना आया (सहयोगी) दिदी र २ जना शिक्षिकाको व्यवस्था गरिएको छ । ६ केन्द्रमा २४ जना कर्मचारी खटिएका छन् । एउटा केन्द्रमा ४० जना मात्रै शिशुको कोटाको व्यवस्था गरिएको छ । ‘एक जना शिक्षिकाले १० जना विद्यार्थीलाई कभर गर्न सक्छन् भन्ने मान्यताले प्रत्येक केन्द्रमा ४० जनाको कोटा व्यवस्था गरेको शाखा प्रमुख प्रजापतिले बताए । हाल नगरभित्रको ६ वटा शिशु स्याहार केन्द्रमा २४० जना शिशु छन् । न्यून शुल्कमा उत्कृष्ट सेवा नगरपालिकाले सञ्चालन गरेको शिशु स्याहार केन्द्रमा एक जना शिशु बराबर एक हजार रुपैयाँमात्रै शुल्क निर्धारण गरिएको छ । मासिक एक हजारमै बच्चाहरूले खाजादेखि लिएर सबै सुविधा पाउने शाखा प्रमुख प्रजापतिले बताए । उनी नगरपालिकाले लिने यो शुल्क आकर्षण गर्नका लागि नभएको स्पष्ट पार्छन् । ‘हामीले लिने शुल्क आकर्षण शुल्क होइन । आकर्षणकै लागि हो भने अहिले सरकारी स्कुलमा शिशु स्याहार केन्द्र छन् । स्कुलले कम शुल्क लिन्छन्, त्यहाँ पनि सबै खालको सुविधा हुन्छन् तर त्यहाँ अभिभावकको विश्वास छैन । निजी स्कुलमा महिनाको चार हजारभन्दा माथि लिन्छन्, जुन सबै अभिभावकले तिर्न सक्ने अवस्था हुँदैन ।’ प्रजापतिका अनुसार २५० शिशु बराबर नगरपालिकाले शिशु स्याहार केन्द्रको लागि वार्षिक १० देखि १२ लाख रुपैयाँसम्म खर्च गर्दै आएकाे छ । नगरपालिकाले शिशु स्याहार केन्द्रलाई नाफा नोक्सानभन्दा पनि सेवाको हिसाबले सञ्चालन गरेको सुनाउँछन् । ‘नगरबासीको छोराछोरीलाई स्याहार गर्नु हाम्रो धर्म हो । यो जिम्मेवारीमा पर्छ भनेर हामीले नाफा-नोक्सानसँग तुलना गरेका छैनौं, ’ उनले भने । शिशु स्याहार केन्द्रको लागि आवश्यक सबै खर्च नगरपालिकाले बेहोर्दै आइरहेको छ । नगरपालिकाले केन्द्रमा खटिएका शिक्षिका र आया दिदीलाई दिने तलब सरकारी कर्मचारीकै बराबर प्रदान गरेको प्रजापतिले बताए । यसबाहेक नगपालिकाले वडासँग समन्वय गरेर नियमित खाजाको व्यवस्था गर्दै आएको छ । अरू केन्द्रभन्दा पृथक सरकारी स्कुल, निजी विद्यालय तथा संघसंस्थाले सञ्चालन गरेको शिशु स्याहार केन्द्रभन्दा नगरपालिकाले सञ्चालन गरेको केन्द्रमा धेरै भिन्नता रहेको प्रजापति दावी गर्छन् । उनका अनुसार नगरपालिकाले सञ्चालन गरेको शिशु केन्द्र पूर्ण रूपले शिशु स्याहारलाई मात्रै ध्यान दिने गरेको छ, जुन कुरा अरू ठाउँमा कम हुन्छ । बढ्दो आकर्षण नगरपालिकाले सञ्चालन गरेको शिशु स्याहारको अभ्यास र यसको आकर्षण बढ्दै गएको छ । २०७४ सालअघि भने केन्द्रमा यस प्रकारको आकर्षण थिएन । त्यसबेला अभिभावकको विश्वास जित्न केन्द्रलाई ठूलो चुनौती भएको प्रजापतिले स्मरण गर्दै भने । ‘त्यतिबेला अभिभावकको विश्वास जित्न निकै कठिन परिस्थिति थियो । केन्द्रमा बच्चालाई स्याहार नहुने हो कि, केही पो भइहाल्ने हो कि भन्ने शंकाउपशंकाले अभिभावकले केन्द्रमा शिशु छाड्न डराउथे । केन्द्र पनि अहिलेजस्तो व्यवस्थित बनाउन सकेका थिएनौं,’ उनले भने । केन्द्रलाई सञ्चालन गर्न नियमावली अहिले नगरपालिकाले ६ वटै केन्द्रमा शिक्षिका, आया दिदी नियुक्त गर्नुका साथै शिशुका लागि आवश्यक सबैखाले सुविधा व्यवस्थित गरेको छ । केन्द्रलाई थप व्यवस्थित बनाउन शाखा नै बनेको छ । त्यस्तै, केन्द्रलाई कसरी सञ्चालन गर्ने भन्ने नियमावली बनेको छ । नगरपालिकाले केन्द्रहरूमा नियमति अनुगन गर्ने, छलफल गर्दै आइरहेको छ । बच्चाहरूलाई समय-समयमा स्वास्थ्य जाँचदेखि लिएर अभिभावक कार्यक्रमहरू पनि केन्द्रले सञ्चालन गर्छ । केन्द्रमा बच्चाहरुका लागि भौतिक पूर्वाधार, खेल्ने, बस्ने ठाउँ सबै व्यवस्थित छ । बच्चाहरूको स्वास्थ्यलाई मध्यनजर गरेर दिनको तीनपटक स्वच्छ खानाको व्यवस्था गरेको छ । तालिमप्राप्त शिक्षिकामार्फत बच्चालाई श्रव्यदृष्यमार्फत सिकाउने, खेलाउने, सुताउने नियमित रूपमा केन्द्रमा हुने गरेको छ । बाहिरी जिल्लाका लागि पनि सुविधा यसबाहेक नगरपालिकाले सुरुवातमा नगरभित्र बसोबास गर्ने स्थायी बासिन्दाको लागि मात्रै यो कार्यक्रम सञ्चालन गरेकोमा अहिले बाहिर जिल्लाबाट आएर बसोबास गर्नेहरूले पनि आफ्नो बच्चालाई भर्ना सक्ने व्यवस्था छ । यसैले पनि अहिले अभिभावकको केन्द्रप्रतिको विश्वास ह्वात्तै बढेको शाखा प्रमुख प्रजापतिले बताए । विगतमा यहाँ केन्द्रमा खटिने शिक्षिकाहरूमाथि तलब मात्रै खाने भन्ने आरोप लाग्ने गरेकोमा अहिले शिक्षिकाहरूमाथि हेर्ने दृष्टिकोणमा पनि ठूलो परिवर्तन आएको प्रजापति सुनाउँछन् । उनका अनुसार केन्द्रमा आफ्नो शिशु राख्दिनुपर्‍यो भनेर धेरै अभिभावक नगरपालिकामा अनुरोध गर्न आउँछन् । एउटा केन्द्रमा ४० जनाको मात्रै कोटा हुँदा नगरपालिकाले सबैलाई सम्बोधन गर्न नसकेकोमा आगामी दिनमा भने केन्द्रहरू थप गर्दै लैजाने योजना रहेको प्रजापतिले बताए । केन्द्रमा खटिने आया दिदी र शिक्षिकाहरूले बच्चाहरूको सेवा गर्न पाउँदा खुसी महसुस हुने बताउँछन् । विगत दुई वर्षदेखि शिशु स्याहार केन्द्रमा सेवा गर्दै आएकी रोशनी साखकर्मी बच्चाहरूसँग समय बिताउँदा रमाइलो हुनुका साथै नयाँ कुरा सिक्ने अवसर पाउने बताउँछिन् । यसअघि पनि शिक्षण पेशामा आवद्ध भइसकेकी साखकर्मी बच्चाहरूको सेवा आफ्नो जागिरभन्दा पनि जिम्मेवारी हो भनेर लिने गरेकी छिन् । उनले भनिन्, ‘हामीलाई अभिभावकले विश्वास गरेर साना शिशुहरूलाई हाम्रो जिम्मामा छोडिदिनुहुन्छ, हामीले पनि उहाँहरूको विश्वास दिलाउनेगरी काम गरिरहेका छौं ।’ साखकर्मीमा अनुसार केन्द्रमा बच्चाहरूको शारीरिक, मानसिक र स्वास्थ्य सबैलाई ध्यानमा राखेर त्यही खालको क्रियाकलापहरू हुने गरेको छ । केन्द्रको सेवाप्रति अभिभावकले सकारात्मक प्रतिक्रिया दिने गरेको उनले बताइन् । ‘यहाँ केन्द्रमा भर्ना गरेपछि उहाँहरूले आफ्नो बच्चामा धेरै परिवर्तन देख्नुहुन्छ, यो देखेर उहाँहरू खुसी हुनुहुन्छ । हामीलाई पनि यसैले खुसी मिल्छ,’ उनले सुनाइन् ।

सरकारले आयात प्रतिस्थापन र निर्यात प्रवर्द्धन गर्ने नीति अनुरूप काम गर्नुपर्छ: अध्यक्ष ढकाल

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले देशको आर्थिक विकासको लागि सरकारले आयात प्रतिस्थापन तथा निर्यात प्रवर्द्धनका लागि ठोस कदम चाल्नुपर्ने बताएका छन् । नेपाल निर्यात परिषद्को २७ औं वार्षिक साधारण सभा तथा नवौं निर्यात दिवसका अवसरमा काठमाडौंमा आयोजित कार्यक्रममा बोल्दै उनले देशको आर्थिक विकासका लागि यी दुई विषयमा गम्भीर भएर लाग्नु पर्ने धारणा राखे । ‘सरकारले आयात प्रतिस्थापन र निर्यात प्रवर्द्धन गर्ने नीति अनुरूप काम गर्नुपर्छ । आयात प्रतिस्थापनका लागि घरेलु उद्योग प्रतिष्ठानलाई कसरी बलियो बनाउन सकिन्छ त्यसतर्फ ध्यान दिनुपर्‍यो । निर्यातका लागि पनि सोही अनुरूप नीति बनाउन र कार्यान्वयन गर्नु पर्छ । यसो गर्न सकेमा सरकार र निजी क्षेत्र दुवैले चाहेको उद्देश्य पूर्ति हुन्छ,’ उनले भने । अध्यक्ष ढकालले निजी क्षेत्रका व्यवसायीलाई प्रोत्साहन गर्न सरकारले प्रतिवद्धता व्यक्त गरे अनुसार समयमा निर्यातमा अनुदान दिन पनि आग्रह गरे । उनले सरकारलाई व्यवसायीलाई प्रदान गरिने सम्मानबाट समेत प्रोत्साहन गर्न सकिने धारणा राखे । यसका लागि सरकारले सीआइपी दिने दिन घोषणा गर्न र व्यवसायीलाई दिने मर्यादामा ध्यान दिनसमेत अनुरोध गरे । यस्तै, अध्यक्ष ढकालले निर्यात प्रवर्द्धन र विदेशी लगानीका लागि विदेशस्थित नेपाली नियोगहरुलाई पनि नेपालको निर्यात व्यापारको लागि देश अनुरूप तार्गेट दिन र सो अनुरूपको मूल्याङ्कन गर्नसमेत आग्रह गरे । उनले नेपाल सन् २०२६ मा अल्पविकसित मुलुकको अवस्थाबाट विकासोन्मुखमा स्तरोन्नति हुने हुँदा या त नेपाल त्यसको लागि तयार रहनु पर्ने या निश्चित समय थप गर्नका लागि सरकारले पहल गर्नु पर्ने धारणा राखे । कार्यक्रममा उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले निजी क्षेत्रले उठाएको चासो प्रति सरकार गम्भीर रहेको उल्लेख गर्दै निजी क्षेत्रलाई समेत आफ्नो प्रतिष्पर्धात्मक क्षमता बढाउन आग्रह गरे । कार्यक्रममा निजी क्षेत्रका अन्य विभिन्न संघ संस्थाका प्रतिनिधिहरूले दिगो आर्थिक विकासका लागि निर्यात प्रवर्द्धन आवश्यक भएको भन्दै त्यसतर्फ ध्यान दिन सरकारलाई आग्रह गरेका थिए ।

भूकम्पबाट सङ्खुवासभामा एउटा घरमा क्षति

किमाथाङ्का । चीनको सिजाङ स्वशासित क्षेत्रको डिङ्गयी काउन्टी केन्द्र भएर आज बिहान ६ बजेर ५० मिनेटमा गएको ६ दशमलव ८ म्याग्निच्युडको भूकम्पका कारण सङ्खुवासभाको भोटखोला गाउँपालिका–१ किमाथाङ्कामा एउटा घर भत्किएको छ । भूकम्पबाट स्थानीय तेन्छेवी शेर्पाको घरमा क्षति पुगेको सङ्खुवासभाका प्रमुख जिल्ला अधिकारी विनोदकुमार खड्काले जानकारी दिए । जस्तापाताले छाएको शेर्पाको दुई तले ढुङ्गाको घरमा चिरा परेको उनले बताए । शेर्पाको घरमा सात जनाको परिवार बस्दै आएको थियो । उनीहरु भने सकुशल रहेका छन् । भूकम्पबाट जिल्लामा मानविय क्षति भने नभएको प्रजिअ खड्काले बताए । क्षतिको विवरण सङ्कलन गर्न स्थानीय तहका कर्मचारी, नेपाल प्रहरी र सशस्त्र प्रहरी बल खटिएको छ ।

स्वास्थ्य र खर्च संकटमा सारथी बन्दै सन मेडिकेयर

काठमाडौं । विश्वव्यापी रूपमा हृदयघातका कारण हरेक वर्ष लाखौं मानिस प्रभावित हुन्छन् । यस्तै, अन्य आकस्मिक स्वास्थ्य उपचार समयमै नपाएर धेरैको निधनसमेत हुने गरेको छ । अझै पनि कयौं मानिस समयमै उपचार नपाएर ज्यान गुमाउन बाध्य छन् । स्वास्थ्य उपचारसम्बन्धी विकास भएपनि आर्थिक रूपमा भने अझै कयौं मानिस अस्पतालसम्म जान नसक्ने अवस्थामा छन् । आर्थिक र स्वास्थ्यसम्बन्धी उपचारमा सहयोग पुर्‍याउने हेतुले सन नेपाल लाइफ इन्स्योरेन्सले सन मेडिकेयर योजना ल्याएको छ । स्वास्थ्यसम्बन्धी समस्याको समाधान गर्ने गरी कम्पनीले आपतमा राहत प्रदान गर्ने गरी सन मेडिकेयर विशेष योजना ल्याएको हो । यस्ता समस्याबाट अनाहकमा ज्यान गुमाउन नपरोस् भनेर कम्पनीले एक अचुक उपाय अर्थात् सन मेडिकेयर योजना ल्याएको जनाएको छ । आकस्मिक स्वास्थ्य समस्यालाई सन मेडिकेयर योजनाले समेट्नेछ । साथै सडक दुर्घटना, घर वा कार्यस्थलमा दुर्घटना, विषाक्तता, डुबान, गम्भीर चोटपटक, मानसिक स्वास्थ्यको समस्या, स्ट्रोक, हृदयाघात जस्ता जीवन रक्षाका घटनामा परेका व्यक्तिलाई सन मेडिकेयर योजनाले समेट्ने छ । यस्तै, ग्यास्ट्रोइन्टेस्टाइनल ब्लिडिङ, इलेक्ट्रिकल बर्न्स, ट्रम्याटिक ब्रेन इन्जुरी, एक्टोपिक प्रेग्नेन्सीलगायत रोगलाई यस योजनामा समेटिने कम्पनीले जनाएको छ । कम्पनीका अनुसार उक्त योजनामा आवद्ध भइसकेपछि दावी भुक्तानीको अनौठो विधि छ । सन मेडिकेयरले अस्पतालको बिल बमोजिम भुक्तानीभन्दा पनि अस्पतालमा भर्ना भएको आधारमा दाबी भुक्तानी प्रदान गर्ने बताएको छ । सस्तो, प्रभावकारी र भरपर्दो रहेको यस योजनाले वार्षिक १ हजार ३९३ रुपैयाँमा १ लाख रुपैयाँसम्मको आर्थिक राहत प्रदान गर्ने कम्पनीको भनाइ छ । अप्रत्यासित तथा आकस्मिक चिकित्सा खर्चको बोझ कम गर्न सन मेडिकेयर योजना साथी बन्ने कम्पनीले जनाएको छ । विश्वासिलो सेवा भएकाले सबैले सन मेडिकेयर रोज्ने कम्पनीको अपेक्षा छ । यस योजनाबाट आकस्मिक स्वास्थ्य समस्याहरूले वित्तीय अवस्थामा असर नगर्ने, दावी प्रक्रिया सजिलो, छिटो र पारदर्शी रहेको कम्पनीले जनाएको छ । अस्पताल खर्चको तनाव नलिई उपचारमा केन्द्रित हुने सुविधा रहेको कम्पनीको भनाइ छ ।

नयाँ वर्षमा जुकरबर्गको भाग्य चम्कियो, कमाइमा एलन मस्कलाई उछिने

काठमाडौं । विश्वका सबैभन्दा धनी व्यक्ति एलन मस्कको कुल सम्पत्ति गत वर्ष २०३ अर्ब डलरले बढ्यो । अहिले ४३७ अर्ब डलरको नेटवर्थसहित उनी नम्बर एक स्थानमा अडिग छन् । तर नयाँ वर्षमा धेरै धनीले कमाइको मामिलामा उनीहरूलाई पछि पारेका छन् । मस्कको कुल सम्पत्ति यो वर्ष अहिलेसम्म ५.०५ बिलियन डलरले बढेको छ । फेसबुकको मूल कम्पनी मेटा प्लेटफर्मका मार्क जुकरबर्ग यो वर्ष अहिलेसम्मकै सबैभन्दा धेरै कमाइ गर्ने हिसाबले पहिलो स्थानमा छन् । ब्लूमबर्ग बिलियनेर्स इन्डेक्सका अनुसार सोमबार जुकरबर्गको कुल सम्पत्ति ८.८६ बिलियन डलरले बढेको छ । यस वर्ष उनको कुल सम्पत्ति १५.४ बिलियनले बढेको छ । उनी २२३ अर्ब डलरको सम्पत्तिसहित विश्वका धनी व्यक्तिको सूचीमा तेस्रो स्थानमा छन् । एनभीडीयाका संस्थापक जेन्सेन हुआङको कुल सम्पत्ति यस वर्ष १२.७ बिलियन डलरले बढेको छ भने चेङ्पेङ झाओको कुल सम्पत्ति ११.९ बिलियन डलरले बढेको छ । अमेजनका संस्थापक जेफ बेजोसको कुल सम्पत्ति यो वर्ष ७.६३ अर्ब डलरले बढेको छ र उनी २४६ अर्ब डलरको कुल सम्पत्तिका साथ विश्वका धनी व्यक्तिको सूचीमा दोस्रो स्थानमा छन् । ल्यारी पेजको कुल सम्पत्ति यस वर्ष ५.९८ बिलियन डलरले बढेको छ भने सर्गेई ब्रिनको कुल सम्पत्ति ५.५८ बिलियन डलरले बढेको छ । त्यस्तै, माइकल डेलको कुल सम्पत्ति ४.५४ बिलियन डलरले बढेको छ । यता, मुकेश अम्बानी र गौतम अडानीको नेटवर्थ घटेको छ । अम्बानीको नेटवर्थ २.५९ र अडानीको नेटवर्थ ३.५३ बिलियन डलरले घटेको हो । भारतीय सेयर बजारमा सोमबार आएको गिरावटले दुबै जनाको नेटवर्थ घटेको हो । अडानीले यस वर्ष ४.२१ अर्ब डलर गुमाएका छन् भने अम्बानीले ११९ मिलियन डलर गुमाएका छन् । अम्बानी ९०.५ अर्ब डलरका साथ विश्वका धनी व्यक्तिको सूचीमा १७औं स्थानमा छन् भने अडानी ७४.५ अर्ब डलरसहित १९औं स्थानमा छन् ।

चीनमा भूकम्पपछि माउन्ट कोमोलाङ्मा क्षेत्र बन्द

काठमाडौं । चीनमा मङ्गलबार बिहान सिचाङ स्वायत्त क्षेत्रको डिङ्ग्री काउन्टीमा गएको ६८ म्याग्निच्युडको भूकम्पपछि माउन्ट कोमोलाङ्मा क्षेत्र अस्थायी रूपमा बन्द गरिएको छ । हालसम्म भूकम्पमा परी ५३ जनाको मृत्यु भएको र ६२ जना घाइते भएको क्षेत्रीय प्रकोप राहत मुख्यालयले जनाएको छ । डिङ्ग्री संस्कृति तथा पर्यटन ब्यूरोका अनुसार कोमोलाङ्मा क्षेत्रमा होटल भवन र वरपरको क्षेत्र अस्तव्यस्त रहेको र पर्यटक तथा कर्मचारी सुरक्षित रहेका छन् । डिङ्ग्रीमा रहेको चाइनिज एकेडेमी अफ साइन्सेजको किमोलुङ स्टेशनको विद्युत् कटौती भएको छ । मौसम पूर्वानुमान महाशाखाले डिङ्ग्रीको तापक्रम माइनस १८ डिग्री सेल्सियसदेखि शून्यभन्दा तलसम्म रहेको जनाएको छ ।

जर्मनीमा विद्युतीय कार बिक्री २७.४ प्रतिशतले घट्यो

काठमाडौं । गत वर्ष जर्मनीमा विद्युतीय कारहरूको बिक्री २७ दशमलव ४ प्रतिशतले घटेको आधिकारिक तथ्यांकले सोमबार देखाएको छ । समग्रमा, सन् २०२४ मा युरोपको सबैभन्दा ठूलो कार बजारमा लगभग २ दशमलव ८ लाख नयाँ विद्युतीय कार दर्ता भएको थियो । यो अघिल्लो वर्षको तुलनामा एक प्रतिशतले कम भएको केबिए सङ्घीय यातायात प्राधिकरणले जनाएको छ । तीमध्ये, केवल तीन लाख ८० हजार ६०९ विद्युतीय कार थिए, जुन १३ दशमलव ५ प्रतिशतको बजार हिस्सा बराबर छ । इवाई विश्लेषक कन्स्टान्टिन गलले भने, ‘सन् २०२३ को अन्त्यमा सरकारी अनुदान फिर्ता लिएपछि जर्मनीमा विद्युतीय कारहरूको माग सुस्त भएको छ । नयाँ इभि मोडलहरूको उच्च मूल्य, कमजोर चार्जिङ पूर्वाधार र दायरा सीमितताहरूले पनि धेरै उपभोक्ताहरूलाई विद्युतीय कार छनौट गर्न निरुत्साहित गरेको छ ।’ विद्युतीय कारहरूको घट्दो बिक्रीले जर्मनीको फराकिलो अटो उद्योगले सामना गर्ने चुनौतीहरूलाई रेखांकित गर्छ । यस क्षेत्रले कमजोर माग र विद्युतीय सवारी साधन समस्यासँग सङ्घर्ष गरेको छ । निर्माता र आपूर्तिकर्ताहरूले गत वर्ष धेरै रोजगार कटौतीको घोषणा गरेको थियो । फेब्रुअरी २३ गते हुने निर्वाचनअघि अटो उद्योगको सङ्कट राजनीतिक मुद्दा बनेको छ । केही आलोचकहरूले जर्मनीको सामान्य आर्थिक मन्दीलाई विद्युतीय सवारीसाधनमा सँग जोडेका बताएका छन् । यसले विद्युतीय कार निर्माताहरूलाई कमजोर बनाएको छ । अर्थ कार निर्माताहरूले आगामी वर्ष बिक्रीमा सामान्य वृद्धि भन्दा बढी आशा गर्न सक्ने अवस्था नरहेको उनले बताए । रासस

भूकम्पले सोलुखुम्बुमा दुई घरमा क्षति

सोलुखुम्बु । मंगलबार गएको भूकम्पका कारण थुलुङ दूधकोशी गाउँपालिका र खुम्बु पासाङल्हामु गाउँपालिकामा दुईवटा घरमा क्षति पुगेको छ । थुलुङ दूधकोशी–७ देउसा लुरुवाका ५० वर्षीय हर्कबहादुर खत्रीको ढुङ्गामाटोको गारो र ढुङ्गाकै छानो भएको दुईतले घरमा क्षति पुगेको प्रहरीले जनाएको छ । खुम्बु पासाङल्हामु गाउँपालिका–५ हेलाजुङ बस्ने आङङिमा शेर्पाको ढुङ्गा, माटो र टिनको छानाको दुईतले घरमा क्षति पुगेको प्रहरी नायब उपरीक्षक द्वारिकाप्रसाद घिमिरेले जानकारी दिए । उनका अनुसार घटनास्थलतर्फ प्रहरी टोली खटाइएको छ । क्षतिबारे यकिन विवरण आउन बाँकी छ । भूकम्पका कारण जिल्लामा भएको क्षतिबारे विस्तृत विवरण प्राप्त भइसकेको छैन । सम्भावित उद्धार तथा राहतका लागि प्रहरीसहित सबै संयन्त्र तयारी अवस्थामा राखिएको प्रमुख जिल्ला अधिकारी अनोजकुमार घिमिरेले बताए ।