मुक्त्तिनाथ विकास बैंकले ल्यायो एनिभर्सरी बोनाञ्जा योजना, १० हजार रुपैयाँसम्म पाइने
काठमाडौं । मुक्त्तिनाथ विकास बैंकले १९ औं वर्ष प्रवेश गरेको अवसरमा डिजिटल भुक्तानीमा प्रोत्साहन गर्न मुक्त्तिनाथ एनिभर्सरी बोनाञ्जा योजना ल्याएको छ । पहिलो योजना अनुसार बैंकको मोबाइल बैंकिङमा भएको कनेक्ट आईपीएसमार्फत रकम ट्रान्सफर गर्ने ग्राहकमध्येबाट २ जनाले लक्की ड्रमार्फत मोबाइल फोन पाउनेछन् । बैंकका अनुसार यसैगरी १०० रुपैयाँ वा सोभन्दा बढीको टपअप तथा डेटा प्याक लिने ग्राहकमध्ये दैनिक १९ जनाले लक्की ड्रमार्फत १०० रुपैयाँ टपअप प्राप्त गर्नेछन् । पुस १९ गते सुरु भएको यो योजना माघ १९ गतेसम्म रहने छ । यस्तै बैंकको मोबाइल बैंकिङमार्फत बिजुलीको बिल भुक्तानी गर्ने १ ग्राहकले लक्की ड्रमार्फत भुक्तानी रकम वा अधिकतम १० हजार १२५ रुपैयाँसम्म प्राप्त गर्न सक्नेछन् । पुस १९ गते सुरु भएको यो योजना माघ १९ गतेसम्म रहने बैंकले जनाएको छ । बैंकको क्यूआर मर्चेन्ट भई कुनै पनि कारोबार क्यूआरमार्फत प्राप्त नगरेका मर्चेन्टले यस अवधिमा कारोबार संख्या ३ र २०० रुपैयाँसम्मको कारोबार रकम क्यूआरमार्फत प्राप्त गरेमा ५ जनाले लक्की डमार्फत स्मार्ट वाच प्राप्त गर्नेछन् । त्यसैगरी भारतीय पर्यटकबाट क्यूआर मर्चेन्टमा २०० रुपैयाँसम्मको रकम क्यूआरमार्फत प्राप्त गरेमा ५ जनाले लक्की ड्रमार्फत स्मार्ट वाच प्राप्त गर्नेछन् । पुस १९ गते सुरु भएको यो योजना पुस २५ गतेसम्म लागू हुनेछ । मोबाइल बैंकिङ्गमार्फत अन्य बैंकमा रकम ट्रान्सफर गर्ने ग्राहकमध्ये दैनिक १ जनालाई लक्की ड्रमार्फत १,००० रुपैयाँ क्यास ब्याक र क्यूआरमार्फत बिल भुक्तानी गर्ने ग्राहकमध्येबाट दैनिक २ जनालाई लक्की ड्रमार्फत ५०० रुपैयाँका दरले क्यास व्याक प्रदान गरिने बैंकले जनाएको छ । पुस १९ गते सुरु भएको यो योजना पुस २५ गतेसम्म लागू हुनेछ ।
पर्यटक बसपार्क निर्माणका लागि पर्यटनमन्त्रीले पहल गर्ने, व्यवसायीले सुनाए गुनासो
काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले पर्यटक बस राख्नका लागि अलग्लै ‘पर्यटक बसपार्क’ आवश्यक रहेको बताएका छन् । यहाँस्थित अस्थायी बसपार्कको निरीक्षण गर्दै उनले सङ्घीय राजधानी काठमाडौंलगायत देशका विभिन्न स्थानमा पर्यटक बसपार्कको आवश्यकता छ भने । ‘नेपाल पर्यटकीय दृष्टिकोणले धनी देश हो, पर्यटकीय गन्तव्य सबै ठाउँमा पर्यटक बसपार्क आवश्यक छ, यसका निर्माणका लागि पहल गर्छु,’ उनले भने । टुरिष्ट बस एशोसिएसन अफ नेपालले काठमाडौंको गौशालास्थित पशुपति क्षेत्र विकास कोषमा बसपार्क निर्माणका लागि गरेको पहलबारे आफू छलफल गरेर अगाडि बढ्ने मन्त्री पाण्डेको भनाइ थियो । नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत (सीइओ) दीपकराज जोशीले पर्यटन प्रवर्द्धनका लागि मुलुकको सङ्घीय राजधानी काठमाडौंमा पर्यटक बसपार्कको आवश्यक रहेको बताएका थिए । उनले पर्यटक बसपार्क निर्माणका लागि बोर्डले सहयोग गर्ने प्रतिबद्धता पनि व्यक्त गरे । नेपाल एशोसिएसन टूर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा)का अध्यक्ष कुमारमणि थपलियाले टिवान र नाट्टाले पशुपति क्षेत्र विकास कोषसँग बसपार्क निर्माणका लागि प्रक्रिया अगाडि बढाइसकेको भन्दै उक्त कार्यमा सहयोग गर्न मन्त्रीलाई आग्रह गरेका थिए । टुरिष्ट बस एशोसिएसन अफ नेपालका अध्यक्ष भीष्म न्यौपानेले पर्यटकीय राजधानी पोखरा र चितवनको सौराहमा पर्यटकका लागि छुट्टै बसपार्क भए पनि सङ्घीय राजधानी काठमाडौंबाट भने सडकबाट पर्यटक बस गुडाउनुपर्ने बाध्यता रहेको भन्दै यसलाई अन्त्य गर्न पहल गरिदिन सरकारको ध्यानाकर्षण गरेका थिए । टिवानका संस्थापक अध्यक्ष श्रीकान्त आचार्य, सल्लाहकार केदार शर्मा, मदन आचार्यलगायतले मुुलुकको राजधानीमा काठमाडौंबाट बसपार्कको अभावका कारण बिहान ७ बजे चितवन, पोखरा, लुम्बिनीलगायत क्षेत्रमा पर्यटक बस गुडाउनुपर्ने अवस्था आएको भन्दै बसपार्क निर्माण भए जुनसुकै समयमा पर्यटक बस सञ्चालन गर्न सकिने बताएका थिए । हाल मुलुकको राजधानी काठमाडौंबाट पोखरा र चितवनको सौराह, लुम्बिनी, जनकपुरका लागि मात्रै दैनिक झण्डै एक सयवटा पर्यटकीय बस आवतजावत गर्दै आएका छन् भने दैनिक तीन हजारदेखि चार हजार हाराहारीमा स्वदेशी तथा विदेशी पर्यटकले पर्यटक बसमा यात्रा गर्ने गरेका छन् । व्यवसायीले हाल बिहान ५ देखि ७ बजेसम्म सोह्रखुट्टेको सडकमा पर्यटकीय बस ‘पार्किङ’ गरेर यात्रु बोक्दै आएका छन्भने रातको समयमा विभिन्न ‘ग्यारेज’मा शुल्क तिरेर पार्किङ गर्दै आएका छन् । रासस
तिब्बतको सिगात्से सहरमा गएको भूकम्पमा परी मृत्यु हुनेको संख्या ५३ पुग्यो
काठमाडौं । तिब्बतको सिगात्से सहरमा मंगलबार गएको भूकम्पमा परी ५३ जनाको मृत्यु भएको र ३८ जना घाइते भएको चिनियाँ समाचार संस्था सिन्ह्वाले जनाएको छ । सिगात्से सहरमा भूकम्पका कारण त्यहाँ ठूलो क्षति हुन सक्ने आशंका गरिएको छ । एक हजारभन्दा बढी घरमा क्षति भएकाे बताइएकाे छ । नेपालको राजधानी काठमाडौंसहित उत्तर भारतमा पनि भूकम्पको धक्का महसुस गरिएको छ । अमेरिकी भूगर्भ सर्वेक्षण (युएसजीएस)का अनुसार भूकम्पको केन्द्रविन्दु चीनको तिब्बतमा रहेको थियो जहाँ ७.१ म्याग्निच्युडको भूकम्प गएको थियो । यसअघि युएसजीएसले भूकम्पको केन्द्रविन्दु नेपालको लोबुचे क्षेत्र रहेको बताएको थियो तर त्यसपछि परिवर्तन गरेको थियो । युएसजीएसले नेपालको खुम्बु क्षेत्रमा ४ दशमलव ८ म्याग्निच्युडका चारवटा भूकम्प पनि रेकर्ड गरेको छ । चीनको सरकारी च्यानल सीसीटीभीका अनुसार भारतीय समय अनुसार मंगलबार बिहान ६ बजेर ३५ मिनेटमा तिब्बतको सिगात्से सहरमा ६.९ म्याग्निच्युडको भूकम्प गएको थियो ।
तिब्बतसँग सीमा जोडिएको सोलुखुम्बुमा भूकम्पको क्षतिबारे विवरण संकलन गरिँदै
सोलुखुम्बु । चीनको तिब्बत प्रान्तको दिङ्गे काउन्टीमा केन्द्रबिन्दु भएर सात रेक्टर स्केलको भूकम्पबाट भएको क्षतिको विवरण सङ्कलन थालिएको छ । प्रमुख जिल्ला अधिकारी अनोजकुमार घिमिरेले भने , ‘अहिलेसम्म भूकम्पबाट भएको क्षतिको यकिन जानकारी आइसकेको छैन, तर हामी बुझ्ने प्रयास गरिरहेका छौँ, हाम्रा सुरक्षा निकाय र विपद् व्यवस्थापनको टोली विवरण सङ्कलनमा सक्रिय भइसकेका छन् भने स्थानीय स्थानीय पालिकाका जनप्रतिनिधिसँग पनि समन्वय गरिरहेका छौँ ।’ उनले तिब्बतको सिमाना जोडिएको जिल्लाको खुम्बु क्षेत्रमा भूकम्पको क्षतिको पुर्याएको अनुमान गरेको बताए । खुम्बु पासाङल्हामु गाउँपालिका–४ का वडाध्यक्ष लक्ष्मण अधिकारीले भूकम्पबाट लबुचे आसपासमा क्षति गराएको हुनसक्ने जानकारी दिए । ‘लबुचेमा केही क्षति भयो कि भन्ने लागेर त्यहाँ हाम्रो टोली खटिएको छ, पुग्न केही समय लाग्न सक्छ तर टेलिफोन सम्पर्क कमजोर भएकाले विवरण सङ्कलनमा समस्या भएको छ’, उनले भने । भूकम्पको धक्का महसुस भएपछि जिल्ला सदरमुकाम सल्लेरीवासी घरबाहिर निस्किएका थिए । रासस
ललितपुरको कल सेन्टरमा सीआइबीको छापा, ५३ जना पक्राउ
काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआइबी)लेसातदोबाटोस्थित एक कल सेन्टरमा छापा मारेर दुई भारतीयसहित ५३ जनालाई अनलाइन जुवा खेलाएको अभियोगमा पक्राउ गरेको छ । सीआइबीका प्रवक्ता प्रहरी उपरीक्षक होविन्द्र बोगटीका अनुसार उनीहरुलाई ‘अनलाइन क्यासिनो’ खेलाएका अभियोगमा पक्राउ गरिएको हो । हाल अनुसन्धान जारी रहेको तथा आज अदालतबाट म्याद लिएर थप अनुसन्धान गरिने उनले बताए । अभियुक्तहरूबाट ८५ वटा ल्यापटप कम्प्युटर ८२ थान मोबाइल फोन पनि बरामद भएको छ । उनीहरुले अनलाइन जुवालगायत अवैध गतिविधि सञ्चालन गरेको पाइएको उनले बताए ।
बीमा कम्पनीहरूले वित्तीय विवरणमा छुट्टै राख्दैनन् ‘सर्भेयर फी’को हिसाब
काठमाडौं । मानिसहरूले कुनै पनि भैपरि आउने दुर्घटनाबाट हुने धनको क्षतिको सुरक्षानका लागि बीमा गरेका हुन्छन् । मानिसहरूले विपदबाट हुने क्षतिबाट बच्न आफ्नो घर, भवन, सवारीसाधन, स्टक सामग्रीहरूलगायतको बीमा गर्ने गर्दछन् । कुनै पनि कारणले बीमा गरिएको सम्पत्तिमा क्षति पुगे त्यसका लागि अध्ययन गर्न बीमा कम्पनीहरूले सर्भेयरलाई खटाउँछन् । बीमा कम्पनीले सर्भेयरलाई उक्त क्षतिको मूल्याङ्कन गर्न खटाउने गर्छन् । सर्भेयरले गरेको मूल्याङ्कनका आधारमा बीमा कम्पनीहरूले बीमितलाई दाबी भुक्तानी दिन्छन् । सर्भेयरले सर्भे गर्न घटनाको प्रकृतिअनुसार समय लगाउने गर्दछन् । सामान्य एउटा मोटरसाइकल आगलागी भएको सर्भे गर्दा ४/५ दिनमा नै उनीहरूले सर्भे गरिसक्छन् भने कुनै १० अर्बको हाइड्रोपावरमा बाढी पसेर क्षति भयो भने त्यसका लागि महिनौंमम समय लाग्छ । सर्भेयरले यसरी ससानादेखि ठूल्लठूला क्षतिको मूल्याङ्कन गरेवापत बीमा कम्पनीहरूले उनीहरूलाई निश्चित शुल्क (सर्भेयर्स फी) भुक्तानी गर्ने गर्दछन् । सर्भेयरहरूले सर्भे रिपोर्टमा उल्लेख भएको आधारमा बीमा कम्पनीले बीमितलाई दाबी भुक्तानी दिने गर्छन् । र सोही रकमको आधारमा सर्भे शुल्क लिने गर्दछन् । यसर्थ कुनैपनि बीमा कम्पनीले एक वर्षमा सर्भेयर्स फीवापत ठूलो रकम खर्च गरेको हुन्छ । तर, त्यसरी भुक्तानी गरेको रकम कम्पनीहरुले आफ्नो वित्तीय विवरणमा उल्लेख भने गरेका हुँदैनन् । जीवन बीमा कम्पनीहरूले बीमा अभिकर्तालाई दिएको कमिसन स्पष्टरूपमा विवरणमा उल्लेख गरेपनि निर्जीवन कम्पनीहरूले भने सर्भेयरलाई भुक्तानी गरेको रकम उल्लेख नै गर्दैनन् । कम्पनीहरूले उक्त रकम दाबी भुक्तानीमा समावेश गरेर विवरण सार्वजनिक गर्ने गरेको पाइएको छ । नेपाल बीमा प्राधिकरणका उपनिर्देशक विरोध वाग्लेले सर्भेयर फी कम्पनीहरूले दाबी भुक्तानी शीर्षकमा नै समावेश गरेर सार्वजनिक गर्ने गरेको बताए । तर, यसले गर्दा बीमितले पाएको र कम्पनीले भुक्तानी गरेको रकममा ठूलो भिन्नता आउने गर्दछ । मानौं कुनै एउटा घरको आगलागीवापत बीमा कम्पनीले १ करोड क्षति दिने निधो गर्यो । त्यसमा ५ लाख रुपैयाँ सर्भेयर फी पनि सो रकममा जोड्दा दाबी भुक्तानी १ करोड ५ लाख रुपैयाँ हुने भयो । बीमितले १ करोड रुपैयाँ पाँउछ तर कम्पनीले १ करोड ५ लाख रुपैयाँ दिएको देखिन्छ । चार्टर्ड एकाउन्टेन्टसमेत रहेका वाग्लेले बीमितलाई दाबी भुक्तानी दिलाउने प्रक्रियाअन्तर्गतकै कार्यभित्र सर्भे पर्ने भएकाले सर्भे फीलाई दाबी भुक्तानीमा नै समावेश गरिएको जानकारी दिए । उनले अन्तर्राष्ट्रिय अभ्यास पनि यही रहेको भन्दै विश्वको बजारअनुसार नेपालको पनि बीमा बजार अगाडि बढिरहेकाले नेपालमा पनि सर्भेयरको फी दाबीमा नै समावेश गरिएको पनि स्पष्ट पारे । यसका साथै उपनिर्देशक वाग्लेले विश्वमा एउटै फर्म्याटकाे लेखामान होस् भन्ने मान्यता रहेकाले र एनएफआरएसमा पनि सोहीअनुसार सर्भेयर फीका लागि छुट्टै शीर्षक सृजना नगरिएको जनाए । उनका अनुसार बीमा कम्पनीहरूले दाबी भुक्तानीका लागि पुनर्बीमा कम्पनीहरूसँग विवरण पेश गर्ने गर्दछन् । यसरी विवरण पेश गर्दा उनीहरूले सर्भेयर फीलाई पनि दाबी शीर्षक नै उल्लेख गरेर पेश गर्दछन् । र सोहीअनुसार पुनर्बीमा कम्पनीहरूले दाबी भुक्तानीवापतको रकम भुक्तान गर्दछ । यस सन्दर्भमा यदि सर्भेयर फीलाई दाबी शीर्षकमा नराख्ने हो भने सर्भेयर फीवापतको रकम पुनर्बीमा कम्पनीसँग दाबी गर्न पाइँदैन । यसले गर्दा पनि सर्भेयर फीलाई दाबी शीर्षकमा नै राखिएको हुनसक्ने उनको अनुमान छ । उनले भने, ‘यसमा पहिलादेखि नै त्यस्तै व्यवस्था छ । सोही व्यवस्थाअनुसार हामीले काम गरेका छौं ।’ यदि सर्भेयर फीलाई दाबी भुक्तानी शीर्षकमा देखाउँदा केही समस्या आएको खण्डमा त्यसलाई प्राधिकरणले सच्याउन पनि सक्ने उनको भनाइ छ । यस्तै, निर्जीवन बीमाका विज्ञ नूरप्रकाश प्रधानले पनि सर्भेयरको फी दाबी भुक्तानी शीर्षकमा उल्लेख गर्नु विश्वव्यापी मान्यता भएको बताए । उनले भने, ‘विश्वका देशहरूमा सर्भेयर फीलाई दाबी भुक्तानी शीर्षकमा नै उल्लेख गरेर विवरण सार्वजनिक गर्ने चलन छ । त्यही चलन नेपालमा पनि छ ।’ तत्कालीन लुम्बिनी जनरल इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत (सीईओ) समेत रहेका प्रधानका अनुसार लेखाको सिद्धान्तअनुसार नै दाबी भुक्तानी शीर्षकअन्तर्गत सर्भेयर्स फीलाई समावेश गरिएको हो । एनएफआरएसमा पनि सर्भेयर फी दाबी भुक्तानी शीर्षकमा नै समावेश हुने उनले बताए । ‘सर्भेयर फी’मा कति हुन्छ खर्च ? बीमा कम्पनीहरूले बीमितलाई दिएको दाबी भुक्तानीका आधारमा र सर्भे रिपोर्टमा उल्लेख भएको रकमका आधारमा सर्भेयरलाई शुल्क भुक्तान गर्दछन् । मोटर बीमा अन्तर्गत बीमितले पाउने दाबी भुक्तानीका आधारमा सर्भेयरले शुल्क पाउने गर्दछन् भने अन्य पोर्टफोलियोमा सर्भे रिपोर्टमा उल्लेख भएको रकमका आधारमा सर्भेयरको शुल्क भुक्तानी हुन्छ । मोटरको हकमा बीमितले ५० हजार रुपैयाँ भुक्तानी पाएको अवस्थामा सर्भेयरले २ हजार ५ सय रुपैयाँ पाउँछ । यसैगरी ५० हजारदेखि १ लाख ५० हजार रुपैयाँसम्म बीमितले पाएको अवस्थामा सर्भेयर शुल्क ५ हजार रुपैयाँ पर्दछ । सोही क्रमअनुसार यदि ६० लाख रुपैयाँभन्दा धेरै भुक्तानी भएको खण्डमा ४० हजार रुपैयाँ सर्भेयर शुल्क लाग्छ । यसका साथै सर्भेयरले क्षति भएको स्थानमा जाँदा दूरीअनुसार लाग्ने शुल्क, होटलमा बसेको खर्च, फोटोग्राफवापतको खर्च, रिमाेट क्षेत्रमा गएर सर्भे गरेको खर्च आदि शीर्षकमा छुट्टै भत्ता पनि पाउँछन् । मोटरबाहेकका पोर्टफोलियोमा ५० हजार रुपैयाँसम्मको क्षति भएको रिपोर्ट आएको खण्डमा सर्भेयरले ७ हजार ५ सय, ५० हजार १ रुपैयाँदेखि १ लाख १ रुपैयाँसम्म दाबी आएको अवस्थामा ९ हजार ७५० रुपैयाँ र ३.९० प्रतिशत सर्भेयरले शुल्क पाउँछन् । सोही क्रमअनुसार १ करोड १ रुपैयाँभन्दा धेरै दाबी पेश भएको खण्डमा सर्भेयरले २ लाख ३५ हजार १७० रुपैयाँ र दाबी पेश भएको रकमको ०.६५ प्रतिशत रकम सर्भेयरले शुल्क पाउँछ । यसका साथै, होटल खर्च, फिल्ड भिजिट, फोटोग्राफलगायतको भत्ता छँदै छ ।
फोनपे बिजनेस एपमा ‘अन–रिक्वेस्ट विदड्रअल’ सुविधा
काठमाडौं । फोनपे नेपालको प्रमुख डिजिटल भुक्तानी प्लेटफर्मले व्यवसायिक व्यक्तिहरूका लागि नगद व्यवस्थापनमा सहज पहुँच सुनिश्चित गर्न नयाँ ‘अन–रिक्वेस्ट विदड्रअल’ सुविधा सार्वजनिक गरेको छ । यस सुविधाले व्यापारीहरूलाई कुनै पनि समयमा आफ्नो आवश्यकता अनुसार नगद निकाल्ने अवसर दिन्छ । अब व्यापारीहरूले आफ्नो बैंक खातामा नगद तुरुन्तै निकासी गर्न सक्नेछन् र यसका लागि कुनै अतिरिक्त शुल्क वा विलम्बको सामना गर्नु पर्दैन । फोनपेले यो सुविधा ल्याउनको उद्देश्य व्यापारीहरूको नगद प्रवाहमा पूर्ण नियन्त्रण दिनु हो, जसले गर्दा उनीहरूको वित्तीय व्यवस्थापन अझ प्रभावकारी र सुविधाजनक हुनेछ । व्यापारीहरूले आपूर्तिकर्ताहरूलाई भुक्तानी गर्न कर्मचारीहरूको तलब व्यवस्थापन गर्न र आकस्मिक खर्चहरूको सामना गर्न यो सुविधा प्रयोग गर्न सक्नेछन् । र यो सुविधा फोनेपे बिजनेस एपमा उपलब्ध छ । तत्काल नगद निकासी : व्यापारीहरूले आफूले चाहेको समयमा आफ्नो फोनेपे बिजनेस एप प्रयोग गरी नगद तुरुन्त आफ्नो बैंक खातामा निकाल्न सक्नेछन् । यस सुविधाले नगदको प्रवाहलाई तत्काल र अनुकूलनीय बनाउँछ, जसले व्यापारीको दैनिक कार्यलाई सहज बनाउँछ । स्वचालित निकासी : यदि व्यापारीले आफ्नो नगद अन–रिक्वेस्ट विदड्रअल नगरेको खण्डमा, रकम स्वचालित रूपमा निर्धारित समय अनुसार बैंक खातामा स्थानान्तरण हुनेछ । यसले व्यापारीलाई आफ्नो नगद प्रवाहमा निरन्तरता र पारदर्शिता सुनिश्चित गर्न मद्दत पुर्याउँछ । शुल्क बिना नगद निकासी : व्यापारीहरूले अब कुनै अतिरिक्त शुल्क नलागी आफ्नो नगद तुरुन्तै निकाल्न सक्नेछन्, जसले व्यापारका खर्चहरू घटाउँछ र तिनीहरूको वित्तीय व्यवस्थापनलाई सजिलो र प्रभावकारी बनाउँछ । यो सुविधा सक्रिय गरेपछि ग्राहकले आवश्यक परेको जुनसुकै समयमा आफ्नो नगद कुनै अतिरिक्त शुल्क बिना नै तुरुन्तै आफ्नो बैंक खातामा निकासी गर्न सक्नेछन् । फोनपेको निःशुल्क अन–रिक्वेस्ट विदड्रअल सुविधाले व्यवसायीहरूलाई कुनै पनि समय नगद तुरुन्त आफ्नो बैंक खातामा निकासी गर्नको अवसर प्रदान गर्दछ । यसले व्यवसायीहरूको नगद प्रवाहमा अधिक लचिलोपन र नियन्त्रण ल्याउँछ, जसले गर्दा उनीहरू आफ्ना व्यापारिक निर्णयहरू छिटो र प्रभावकारी बनाउन सक्षम हुने बताइएको छ ।
आर्थिक विकासका लागि ‘विराट एक्स्पो’ हुँदै
मोरङ । जिल्लाको आर्थिक एवं औद्योगिक विकासका लागि उद्योग सङ्गठन मोरङले ‘विराट एक्स्पो-२०२५’ आयोजना गर्न लागेको छ । सङ्गठनले विराटनगर महानगरपालिका–१४ जतुवास्थित डिग्री क्याम्पसको मैदानमा आगामी माघ ११ गतेदेखि २० गतेसम्म एक्स्पो (व्यापार तथा औद्योगिक मेला) आयोजना गर्न लागेको सोमबार यहाँ आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइएको हो । विराट एक्स्पोमा नौ वटा पेभिलियन (व्यापारी कक्ष) अन्तर्गत दुई सय ६८ स्टल रहने एक्स्पो व्यवस्थापन समितिका संयोजक भोलेश्वर दुलालले जानकारी दिए । उद्योग सङ्गठन मोरङका अध्यक्ष राकेश सुरानाले नेपाल, भारत, पाकिस्तान र बङ्गलादेशका स्टार्टअप भिजन, कोशी ह्याकाथुन, रोजगार, व्यावसायिक सेवा प्रदायक, सूचना, शिक्षा तथा डिजिटल प्रविधि, अटोमोबाइल्सका, औद्योगिक कर्पोरेट, कृषि, पर्यटन, खाद्यका स्टल रहने उल्लेख गरे । प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराई, नेपाल उद्योग वाणिज्य महासङ्घ कोशी प्रदेशका अध्यक्ष राजेन्द्र राउत, मोरङ उद्योग व्यापार सङ्घका वरिष्ठ उपाध्यक्ष अनिल साह, नेपाल पत्रकार महासङ्घ कोशी प्रदेशका अध्यक्ष भरत खड्का, उद्योग सङ्गठन मोरङका वरिष्ठ उपाध्यक्ष नन्दकिशोर राठी र उपाध्यक्ष विपिन काबराले एक्स्पो आयोजनाले यस क्षेत्रमा आर्थिक कारोबारमा वृद्धि हुने विश्वास व्यक्त गरे । विराट एक्स्पो–२०२५ को सम्पूर्ण आन्तरिक तयारी पूरा भइसकेको र स्टलका लागि मैदान निर्माण सुरु भएको संयोजक दुलालले जानकारी दिए ।