विकासन्युज

जहाजभन्दा बढी विमानस्थल, ५० प्रतिशत घाटामा, यस्तो छ आम्दानी र खर्च

काठमाडौं । देशमा सञ्चालनमा रहेका अधिकांश विमानस्थल घाटामा सञ्चालन भइरहेको देखिएकाे छ। नेपाल नागरिक उड्यन प्राधिकरणले उपलब्ध गराएको आर्थिक वर्ष २०८०/८१ को तथ्यांकअनुसार देशभर सञ्चालनमा रहेका ३६ विमानस्थलमध्ये १८ विमानस्थल घाटामा सञ्चालन भइरहेको पाइएको हाे । तथ्यांकअनुसार गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलसहित १८ विमानस्थल घाटामा सञ्चालित छन् । गौतमबुद्ध विमानस्थलले आर्थिक वर्ष २०८०/८१ मा २१ करोड १३ लाख आम्दानी गरेकोमा २१ करोड २२ लाख खर्च भएको छ । उक्त विमानस्थलको सञ्चालन खर्चमात्रै १६ करोड २ लाख रहेको छ भने पुँजीगत खर्च ५ करोड २० लाख भएको छ । तथ्यांकअनुसार गौतमबुद्धको आव २०७९/८० को तुलनामा २०८०/८१ मा आम्दानीसमेत घटेको देखिन्छ । आव २०७९/८० मा उक्त विमानस्थलले २५ करोड ३० लाख आम्दानी गरेको छ । आव २०७९/८० पनि विमानस्थल घाटामै सञ्चालित थियो । उक्त आवमा विमानस्थलको खर्च २८ करोड २० लाख रुपैयाँ खर्च भएको देखिन्छ । घाटामा रहेको अर्को विमानस्थल हो तुम्लिङटार । उक्त विमानस्थलले आव २०८०/८१ मा ५१ लाख रुपैयाँ बराबरको आम्दानी गर्दा ६१ लाख रुपैयाँको खर्च देखिन्छ । विमानस्थलको सञ्चालन खर्चमात्रै ५५ लाख ६६ हजार छ । जुम्ला विमानस्थलले आव २०८०/८१ मा २६ लाख रुपैयाँ बराबरको आम्दानी गर्दा २९ लाखभन्दा बढी खर्च गरेको छ । घाटामा चलिरहेको अर्को विमानस्थल हो बझाङ । जुन विमानस्थलले २ लाख मात्रै कमाइ गरेको छ । जसको खर्च २६ लाख छ । त्यस्तै, बाजुरा विमानस्थलले २३ लाख रुपैयाँको आम्दानी गर्दा खर्च ९ लाख रुपैयाँभन्दा बढी भएको छ । भोजपुर विमानस्थलले ६ लाख ६३ हजार रुपैयाँको कमाइ गरेको देखिन्छ भने जसको खर्च १४ लाख ४५ हजार बढी छ । २०८०/८१ अनुसार घाटामा सञ्चालित अन्य विमानस्थलहरुमा दाङ, डोल्पा, रारा, रुकुम सल्ले, रुम्जाटार पनि हुन् । दाङले पाँच लाखका कमाइ गर्दा ८ लाखको खर्च भएको छ । डोल्पाको आम्दानी १४ लाख रुपैयाँ छ, जसको खर्च १६ लाख रुपैयाँ छ । राराको कमाइ २५ लाख रुपैयाँ र खर्च २६ लाख रहेको छ । घाटामा सञ्चालित विमानस्थल नाफामा सञ्चालित विमानस्थल नेपालमा सञ्चालित विमानस्थलमध्ये सबैभन्दा बढी आम्दानी गर्ने विमानस्थल त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल रहेको छ । उक्त विमानस्थलले आर्थिक वर्ष २०८०/८१ मा १२ अर्ब ८६ करोड रुपैयाँ कमाएको छ । विमानस्थलको उक्त आवमा एक अर्ब ३५ करोड रुपैयाँ मात्रै खर्च भएको छ । तथ्यांकअनुसार त्रिभुवन विमानस्थलको सञ्चालन खर्च ९९ करोड ३५ लाख र पुँजीगत खर्च ५७ करोड ४१ लाख रुपैयाँ भएको छ । नाफामा सञ्चालन भइरहेको अर्को अन्तर्राष्ट्रिय विमानस्थल हो पोखरा । पोखरा विमानस्थलले ३४ करोड ९३ लाख रुपैयाँको आम्दानी गर्दा १३ करोड ३६ लाखको खर्च भएको छ । नेपालगञ्ज विमानस्थलले १३ लाख ११ करोडको आम्दानी गरेको छ । जुन विमास्थलको ४ करोड ९९ लाख रुपैयाँ खर्च भएको देखिन्छ । त्यस्तै, धनगढी विमानस्थले आव २०८०/८१ मा ६ करोड ३९ लाख आम्दानी गरेको छ । जसको खर्च २ करोड ७८ लाख छ । भरतपुर विमानस्थलले ६ करोड ३९ लाखको आम्दानी गर्दा एक करोड ३५ लाखको खर्च गरेको देखिन्छ । किन घाटामा छन् विमानस्थल ? नेपाल नागरिक उड्यन प्राधिकरणका अनुसार तीन अन्तर्राष्ट्रिय विमानस्थल र ५२ आन्तरिक विमानस्थल गरी हाल देशभर ५५ विमानस्थल सूचीकृत छन् । ५२ आन्तरिक विमानस्थलमध्ये पनि मझौला जहाज जाने ११ वटा विमानस्थल छन् । बाँकी ४१ विमानस्थल साना धावनमार्ग भएका विमानस्थलहरू हुन् । ४१ मध्यपनि २८ वटा धावनमार्ग कालेपत्र भएका विमानस्थल छन् । बाँकी १३ वटा अनपेभ्ड विमानस्थलमा पर्छन् । जिरी, लाङटाङ, रोल्पा, ढोरपाटन, गोर्खापालुङटार, दार्जुलालगायत यसभित्र पर्छन् । प्राधिकरणका अनुसार १३ विमानस्थलमध्ये ९ वटा विमानस्थल सूचीमा मात्रै सीमित छन् । जुन विमानस्थल उडानयोग्य छैनन् । ती विमानस्थललाई प्राधिरणले सूचीबाट हटाउन सकेको छैन । प्राधिकरणका अनुसार २८ वटा कालेपत्रे भएका विमानस्थलमध्येमा पनि नियमित उडान हुने विमानस्थल १८ वटा मात्रै छन् । बाँकी १० वटा नियमित रूपमा उडान हुने तालिका छैन । यसरी संख्यामा धेरै विमानस्थल देखिएतापनि व्यावसायिक रूपमा सञ्चालन हुने विमानस्थल थोरै देखिन्छ । प्राधिकरणका प्रवक्ता हंशराज पाण्डे नेपालमा विमानस्थलको संख्याअनुसार जहाज कम हुँदा २८ वटै विमानस्थलमा नियमति उडान गर्न सम्भव नभएको बताउँछन् । सञ्चालनमा रहेका ती विमानस्थलहरूमध्ये धेरैजसो दुर्गम, पहाडी भूभागदेखि सडक सडक पूर्वाधार नभएको ठाउँमा छन् । जहाँ यसको महत्त्व धेरै छ । ‘विमानस्थलको महत्त्व हुँदाहुँदै पनि नियमति उडान गर्न सकेको छैन । उडान नहुँदा विमानस्थलहरुले आम्दानी गर्न सकेका छैनन्, आम्दानी नहुँदा कम्पनीले नाफा गर्न सक्ने अवस्था हुँदैन,’ उनले भने । दुर्गम क्षेत्रमा निगमको दायित्व महत्त्व हुँदाहुँदै पनि दुर्गम क्षेत्रमा उडान नहुँदा ती विमानस्थल ओझेलमा परेको उल्लेख गर्दै प्रवक्ता पाण्डेले ती क्षेत्रमा उडान गर्ने सरकारी दायित्व नेपाल वायु सेवा निगमले लिनुपर्ने बताए । घाटामा जाने जाने विमानस्थललाई व्यावसायिक रूपमा सञ्चालनमा ल्याउन र चलायमन बनाउन सबै निकायको उत्तिकै सहयोग आवश्यक रहेको प्रवक्ता पाण्डेको भनाइ छ । त्यसबाहेक जहाजको संख्या थपेर नियमति उडान गर्न सके घाटा कम गर्न सक्ने प्रवक्ता पाण्डेको विचार छ । घाटामा गएका विमानस्थलहरू सामाजिक उत्तरदायित्वअन्तर्गत पर्ने हुँदा त्यसको महत्त्व पनि धेरै छ । ‘ती विमानस्थलमा आर्थिक हिसाबले घाटा भएपनि अतिआवश्यक छन् । भूकम्प, दैवीप्रकोप हुँदा त्यही विमानस्थलले ठूलो भूमिका खेलेको हुन्छ,’ पाण्डेले भने ।

नेप्सेमा एकल अंकको वृद्धि, ६ अर्ब ४० करोडको कारोबार

काठमाडौं । मंगलबार बढेको सेयर बजारले बुधबार पनि निरन्तरता पाएको छ । आज नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ६.५३ अंकले बढेर २६५३.३८ बिन्दुमा कायम भएको छ । बुधबार नेप्से ६.१६ अंकले बढेको थियो । नेप्सेका अनुसार ३०५ स्टकको ७२ हजार १२० पटक कारोबारमा एक करोड ५५ लाख २ हजार ७५१ कित्ता सेयर खरिदबिक्री हुँदा ६ अर्ब ४० करोड ७९ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । आज १३ उपसमूहमध्ये सात उपसमूहको सेयरमूल्य घटेको छ भने बाँकी उपसमूह बढेका छन् । बैंकिङ ०.२६, होटल तथा पर्यटन ०.०६, लगानी ०.३८, म्युचल फण्ड ०.१०, निर्जीवन बीमा ०.१३, अन्य ०.२६ र व्यापार १.५६ प्रतिशतले घटेको छ । विकास बैंक ०.५३, वित्त ४.७७, जीवन बीमा ०.४०, उत्पादन तथा प्रशोधन ०.४०, माइक्रोफाइनान्स १.५९ प्रतिशतले बढको छ । आज समृद्धि फाइनान्स कम्पनीको सेयरमा सकारात्मक सर्किट लागेको छ । उक्त कम्पनीको सेयर १० प्रतिशतले बढेको छ । त्यस्तै, सिन्धु विकास बैंकको सेयरमा पनि सकारात्मक सर्किट लागेको छ । उक्त बैंकका लगानीकर्ताकर्ताले ९.९९ प्रतिशतका दरले गुमाएका छन् । आज सामुदायिक लघुवित्त वित्तिय संस्थाको सेयरमा नकारात्मक सर्किट लागेको छ । उक्त कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले गुमाएका छन् । त्यस्तै, बारही हाइड्रोपावर ९.६९, त्रिशुली जलविद्युत ६.१३ प्रतिशतले घटेको छ । कारोबार रकमको आधारमा न्यादी हाइड्रोपावरको सर्वाधिक २२ करोड ५३ लाख रुपैयाँ बराबर कारोबार भएको छ । दोस्रोमा सिन्धु विकास बैंकको १९ करोड ७७ लाख १६ हजार रुपैयाँको कारोबार भएको छ । सुपर म्यादी हाइड्रोपावर १८ करोड ५९ हजार, एनआरएन इन्फ्रास्ट्रक्चर १५ करोड ४२ लाख र नेपाल फाइनान्स लिमिटेडको १४ करोड ७४ लाख रुपैयाँको कारोबार भई शीर्ष पाँचमा प्रवेश गरेका छन् ।

लक्ष्मी सनराइज बैंकको २४ औं साधारणसभाले पारित गर्‍यो ५ प्रतिशत लाभांश

  काठमाडौं । लक्ष्मी सनराइज बैंक लिमिटेडले ५ प्रतिशत बोनस सेयर गर्ने भएको छ । बुधबार बसेको कम्पनीको चौबिसौं वार्षिक साधारणसभाले बोनस सेयर वितरण गर्ने प्रस्ताव पारित गरेको हो । पारित बोनस सेयरसँगै बैंकको चुक्ता पूँजी २४ अर्ब ३४ करोड रुपैयाँ पुगेको छ । साधारणसभाले आर्थिक वर्ष २०८०/८१ का लागि सञ्चालक समितिको प्रतिवेदन तथा सोही आवको बैंकको वित्तीय विवरण उपर छलफल गरी स्वीकृत गरेको छ । साथै आव २०८१/८२ का लागि लेखापरीक्षकको नियुक्तिसमेत गरेको छ । आव २०८०/८१ मा ३३३ अर्ब निक्षेप र २५८ अर्ब रुपैयाँ कर्जा पुर्‍याएको यस बैंकको वासलातको आकार ३९५ अर्ब रुपैयाँ रहेको छ । सो आवमा बैंकले २ अर्ब ९२ करोड रुपैयाँ खुद मुनाफा आर्जन गर्न सफल भएको छ ।

राष्ट्रिय जीवन बीमा कम्पनीको सीईओका लागि ४ जनाको नाम ‘सर्टलिष्ट’मा, अन्तर्वार्ता कहिले ?

काठमाडौं । राष्ट्रिय जीवन बीमा कम्पनीले प्रमुख कार्यकारी अधिकृत (सीईओ) नियुक्ति गर्नका लागि ४ जनाको नाम सर्टलिष्ट गरेको छ । सीईओ बन्नका लागि आवेदन दिएका ८ जनामध्ये कम्पनीको पदपूर्ति समितिले ४ जनाको नाम सर्टलिष्टमा राखेको हो । कम्पनीले सार्वजनिक गरेको सूचनाअनुसार सर्टलिष्टमा महेश रिमाल, राजुनाथ खनाल, रामदेव यादव र सुन्दर पन्थी रहेका छन् । जसमध्ये रिमाल हाल सोही कम्पनीको कार्यवाहक सीईओ हुन् । उनले विगत एक वर्षदेखि कम्पनीको कार्यवाहक सीईओको भूमिका निर्वाह गर्दै आएका छन् । उनी चार्टर्ड एकाउन्टेन्टसमेत हुन् । राजनाथ खनाल नेपाल बैंकको उच्च व्यवस्थापन पदबाट रिटायर कर्मचारी हुन् । उनी साविक बीमा संस्थानको सञ्चालक समितिका सदस्य समेत बनेका थिए । धनुषा घर भएका रामदेव यादव विभिन्न विकास बैंकको उच्च व्यवस्थापन पदमा काम गरिसकेका व्यक्ति हुन् । यस्तै, सुन्दर पन्थी नेपाल बैंकको फष्ट क्लास अफिसर हुन् । स्थायी ठेगाना गुल्मी रहेका पन्थीले बैंकको अपरेशन डिपार्ट सम्हालिरहेका छन् । कम्पनीले सर्टलिष्टमा परेका उमेदवारहरूका लागि प्रस्तुतिकरण र अन्तर्वार्ताको मिति पनि तोकेको छ । प्रस्तुतिकरण माघ ४ गते र अन्तर्वार्ता माग ५ गतेका लागि मिति तोकेको कम्पनीले जनाएको छ । प्रस्तुतिकरण र अन्तर्वार्ता कम्पनीको केन्द्रीय कार्यालयमा हुने पनि कम्पनीले स्पष्ट पारेको छ । कम्पनीले मसिंर ६ गते सीईओको दरखास्त माग गर्दै सूचना सार्वजनिक गरेको थियो । २१ दिनको म्याद राखेर सार्वजनिक गरिएको उक्त सूचनाका आधारमा कम्पनीमा ८ जनाले सीईओका लागि आवेदन दिएका थिए ।

नेक्स्ट जेनेरेसन फ्लाइङ कार विकास गर्न ईहांग र चांगान अटोमोबाइलबीच रणनीतिक साझेदारी

काठमाडौं । विश्वको अग्रणी अर्बन एयर मोबिलिटी (यूएएम) टेक्नोलोजी प्लेटफर्म कम्पनी ईहांग होल्डिंग्स लिमिटेडले सरकारी स्वामित्वमा रहेको एवं दोस्रो ठूलो चिनियाँ अटोमेकर चोङकिङ चांगान अटोमोबाइल कम्पनी लिमिटेड (चांगान अटोमोबाइल) सँग रणनीतिक सहयोग सम्झौताको घोषणा गरेको छ । चोङकिङ नगरपालिका सरकार र उद्योगका प्रतिनिधिहरूको उपस्थितिमा उक्त सम्झौतामा हस्ताक्षर भएको हो । यो सहकार्य विद्युतीय भर्टिकल टेकअफ र ल्यान्डिङ (इभीटीओएल) विमान र नवीन हवाई कारहरूसहित फ्लाइङ कारका उत्पादनहरूको अनुसन्धान र विकास, निर्माण, बिक्री र सञ्चालनमा केन्द्रित रहने छ । हवाई सवारीसाधन र कम उचाइका उडानहरूको व्यवस्थापनमा ईहांगको विशेषज्ञता र चांगान अटोमोबाइलको बलियो उत्पादन र बजार स्रोतहरूको प्रयोग गरेर दुवै पक्षले भविष्यको मोबिलिटी इकोसिस्टम प्रविधिहरूका लागि संयुक्त उद्यम स्थापना गर्ने लक्ष्य राखेका छन् । यो अन्तर-उद्योग साझेदारीले व्यापक उपभोक्ता आधारलाई लक्षित गर्दै ईहांगको इभीटीओएल उत्पादन लाइन विस्तार गर्नेछ । चीनको दोस्रो ठूलो अटोमेकर चांगान अटोमोबाइलसँग अनुसन्धान र विकास, उत्पादन, सप्लाई चेन, बिक्री च्यानलहरू र बजार प्रभावमा असाधारण क्षमताहरू रहेको छ । ईहांगले इभीटीओएलको विमान डिजाइन, उत्पादन, प्रमाणीकरण र सञ्चालनको नेतृत्व गर्दछ । यस सहकार्यले अत्याधुनिक प्रविधि, भविष्यउन्मुख डिजाइन र बजार प्रतिस्पर्धाको साथमा उड्ने कारहरूको विकासको मार्गप्रशस्त गर्नेछ । सम्झौतामा अनुसन्धान र विकास, उत्पादन, बजार प्रवर्द्धन, प्रयोगकर्ता अनुभव, बिक्रीपछिको सेवार ईहांगको इभीटीओएल उत्पादनहरू र फ्लाइङ कारको व्यावसायीकरणलाई द्रूत बनाउने उल्लेख छ । चांगानको बारेमा दोस्रो ठूलो चिनियाँ अटोमोबाइल निर्माता चांगान अटोमोबाइल १६० वर्षभन्दा बढीको विरासत भएको सबैभन्दा पुरानो कार निर्माता हो । १० विश्वव्यापी उत्पादन आधारहरू र ३५ विश्वव्यापी अनुसन्धान र विकास केन्द्रहरू भएको चांगानले ४ मिलियन एनईभी (नयाँ ऊर्जा वाहन) सहित २२ मिलियनभन्दा बढी सवारीसाधनहरूको उत्पादन गरेको छ । आफ्नो अत्याधुनिक प्रविधि, सुरक्षा आविष्कार र प्रिमियम डिजाइनहरूका लागि प्रख्यातचांगान स्मार्ट र उच्च प्रदर्शन गर्ने सवारीसाधनहरूको साथमा दिगो गतिशीलताको भविष्यलाई चलायमान बनाउन समर्पित छ ।

तेस्रो डिएभी बीसीए इन्टर कलेज फुटसल कपको तयारी पुरा

काठमाडौं । तेस्रो डिएभी बीसीए इन्टर कलेज फुटसल कपको तयारी पुरा भएको छ । डीएभी बीसीए कलेजले फुटसल कपको तयारी पुरा भएको जनाएकाे छ । फुटसल पुस २९ गतेदेखि सुरु हुन लागेको हो । फुटसल कप डिएभी कलेज परिसरमा सञ्चालन गरिनेछ । खेलकुदका माध्यमबाट बीसीए कलेजहरूबीच एकता, सहकार्य र भाइचाराको भावना अभिवृद्धि गर्ने उद्देश्यसहित हरेक वर्ष बीसीए अन्तर–कलेज फुटसल कप सञ्चालन गरिएको डिएभी बिसीए कलेजका प्रोग्राम कोर्डिनेटर सुदीप अधिकारीले जानकारी दिए । खेल आयोजनाको सम्पूर्ण जिम्मेवारी डिएभी बीसीए कलेज सम्बद्ध वीज्जी डिएभीएन्स क्लबले लिएको छ र खेल मैदान एन्फा आबद्ध रेफ्रीको नियन्त्रणमा रहने छ । तेस्रो संस्करणको फुटसल कपमा काठमाडौं उपत्यकाका बीसीए कलेजहरूका ३२ टीम सहभागी हुनेछन् । प्रथम विजेता टीमलाई एक लाख पचास हजार नगद पुरस्कारसहित ट्रफी, मेडल र सर्टिफिकेटद्वारा सम्मान गरिनेछ । त्यसैगरी दोस्रो विजेता टिमलाई ७५ हजार नगद पुरस्कारसहित ट्रफी मेडल र सर्टिफिकेटद्वारा सम्मान गरिनेछ । साथै व्यक्तिगततर्फ, उत्कृष्ट खेलाडी, उत्कृष्ट गोलकिपर र सर्वाधिक गोलकर्तालाई ट्रफीद्वारा सम्मान गरिनेछ । माघ २ गते तय भएका अन्तिम चरणका खेलहरूसँगै विशेष अर्वाड समारोह आयोजना गरिनेछ र तेस्रो बीसीए कपको विधिवत रूपमा समापन हुने जनाइएकाे छ ।

कुमारी बैंकद्वारा विराटनगरमा उद्यमी प्रशिक्षण कार्यक्रम सम्पन्न

काठमाडौं । कुमारी बैंकले विराटनगर महानगरपालिका, मोरङकाे समन्वयमा विराटनगरमा उद्यमी प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको छ । युएसएडसँगको साझेदारीमा बैंकले उद्यमी प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको हो । उद्यमी प्रशिक्षणबाट हरेक स्थानीय निकायमा रहेका उद्यमी सोचहरूको प्रवर्द्धन तथा विकासमा टेवा पुर्‍याउँदै आर्थिकरूपमा समृद्ध परिवार, समाज तथा राष्ट्र निर्माणमा टेवा पुग्ने विश्वास बैंकले लिएको छ । बैंकले ‘देशैभरि वर्षैभरि’ उद्यमशीलता विकास एवं प्रवर्द्धनका लागि नियमितरूपमा उद्यमी प्रशिक्षण अभियान सञ्चालन गर्दै आइरहेको छ । बैंकले यस अभियानमा सर्वसाधारणहरूको विषयगत संवेदनशीलतालाई सहजै बुझ्न सकिने गरी वित्तीय उद्यमी प्रशिक्षण, वित्तीय साक्षरता पुस्तिका, कुमारीजी एप, राष्ट्रियस्तरमा ख्यातिप्राप्त कलाकारहरुको अभिनयसहितका सन्देशमूलक भिडियो, सचेतनामूलक सन्देशहरू विकास गरी नियमितरूपमा प्रकाशन तथा प्रशारणसमेत गरिरहेको छ । विगत २३ वर्षदेखिबैं किङ सेवा दिँदै आएको कुमारी बैंकले वित्तीय साक्षरता प्रवर्द्धन गर्दै आफ्ना देशभर रहेका ३०२ शाखा सञ्जाल, ३१६ एटीएम, ५० एक्सटेन्सन काउन्टर तथा ५४ शाखारहित बैंकिङ इकाहरूमार्फत आफ्ना ग्राहकलाई सेवा प्रदान गर्दै आइरहेको छ ।

पोखरामा आधुनिक इँटाभटा : अन्तर्राष्ट्रिय प्रविधिबाट सञ्चालन, कालो होइन सेतो धुँवा

काठमाडौं । इँटाभटाबाट ‘कालो’ धुवाँंको मुश्लो फालेको देखेका हामीलाई सेतो धुँंवा मात्रै फाल्ने पनि इँटाभटा हुन्छन् भन्दा धेरैलाई पत्यार नलाग्न सक्छ । तर, पोखरा इको रेड ब्रिक्स प्रालिले सञ्चालनमा ल्याएको इँटाभटाबाट भने कालो होइन, सेतो धुँवा मात्रै फालेको हुन्छ । नेपालमै पहिलो पटक अन्तर्राष्ट्रिय प्रविधिबाट सञ्चालन भएका कारण यसले अन्य सामान्य इटाभटाले जस्तो कालो धुँवा नफाल्ने जनाइएको छ । नेपाल इँटा उद्योग व्यवसायी महासंघको तथ्यांकअनुसार देशभर एक हजार दुई सयको हाराहारीमा इँटाभटाहरू छन् । तर, ती सबै इँटाभटाहरू भन्दा पोखरा इको रेड ब्रिक्स प्रालिले सञ्चालनमा ल्याएको इँटाभटा आधुनिक हो । पोखरा इको रेड व्रिक्स प्रालिका टेक्निकल इन्जिनियर कृष्णभक्त दुवालका अनुसार यो इँटाभटाबाट कहिल्यै पनि कालो धुँवा निकाल्दैन । ‘धुँवा चाहिं सेतो निकाल्छ, तर इँटा भने रातो,’ उनले भने । उनका अनुसार यस्ता आधुनिक इँटाभटामा एक हजारदेखि एक हजार एक सय डिग्री सेल्सियसमा होम म्यान क्लिनभित्र पोलेर इँटा पकाइन्छ । यही कारण यसका इँटाहरू रातो हुने गर्दछन् । तर धुँवा भने सेतो मात्रै अर्थात् प्रदूषणविहीन धुँवा मात्रै फाल्छ । रातो इँटालाई गुणस्तरीय इँटा मानिन्छ । यो प्रविधिबाट इँटा उत्पादन गर्दा सबै काम मेसिनले नै गर्ने गर्दछ । मेसिनले इँटा पार्नेदेखि इँटा निकाल्नेसम्मको सबै काम गर्छ । अन्य इँटाभटाहरूमा इँटा पार्ने काम मानिसबाट हुने गर्दछ । यो प्रविधिबाट इँटा उत्पादन गर्दा १२ औं महिना कारखाना सञ्चालन गर्न मिल्ने हुन्छ । इँटा घाममा राखेर नभई आफै सुक्ने बनाइने भएकाले यो प्रविधिबाट वर्षाको सिजनमा पनि इँटा बनाउन सकिने भएको हो । अन्य सामान्य इँटाभटाहरू वर्षमा ६ महिना मात्रै चल्ने गर्दछ । प्रत्येक वर्ष मंसिरमा सुरु भई वैशाख महिनामा उद्योग बन्द हुने गर्दछ । जेठ असारदेखि पानी पर्न थाल्ने भएकाले त्यस्ता उद्योग अस्थायी रूपमा ६ महिना चल्ने र ६ महिना बन्द हुने गर्दछन्। पोखरा इको रेड ब्रिक्स प्रालि भक्तपुरको जगातीस्थित भक्तपुर इँटा तथा टायल उद्योग प्रालिले जस्तै १२ महिना सञ्चालन गर्न सकिने उद्योग हो । नेपालमा पहिलादेखि चल्दै आएका दुईवटा चाइनिज इँटा उद्योग थिए- भक्तपुर जगातीस्थित भक्तपुर इटा तथा टायल उद्योग र ललितपुरको हरिसिद्धि इटा तथा टायल उद्योग । तीमध्ये अहिले ललितपुरको हरिसिद्धिस्थित इँटा तथा टायल उद्योग बन्द भइसकेको छ । यता भक्तपुरको इँटा तथा टायल उद्योग भने निजी क्षेत्रले सञ्चालन गर्दै आएको छ । चाइनिज प्रविधिबाट भक्तपुरमा चाइनिज इँटा उत्पादन हुँदै आए पनि अन्तर्राष्ट्रिय प्रविधिमा आधारित भएर यस्तो इँटाभटा सञ्चालन हुन नसकेको बताइएको छ । बंगलादेशी विज्ञलाई झिकाइ लामो समयदेखि काम गराई यस्तो आधुनिक उद्योग सञ्चालन गर्न सफल भएको कम्पनीले जनाएको छ । अटोमेटिक मेसिन मेड क्लिन ब्रिक्स (इँटा) विज्ञलाई काम गराई यस्तो प्रविधि भित्राउन सफल भएको कम्पनीको भनाइ छ । इँटाभटाका कारण वातावरण प्रदूषण बढेको चर्काे आलोचना सबैतिरबाट निरन्तर भइरहेको छ । यही आलोचनालाई थेग्न इँटा उद्योगीहरूले यो वर्ष ढिला गरी मात्रै अर्थात् माघ १ गतेदेखि मात्रै इटाभटामा फायरिङ (इँटाभटामा इँटा पोल्न आगो लगाउने काम) गर्ने भएको नेपाल इँटाभटा व्यवसायी महासंघका सदस्य एवं भक्तपुर इँटाभटा व्यवसायी संघका अध्यक्ष नातिभाइ ह्योम्वाले जनाए । पुस-माघ महिनामा काठमाडौं उपत्यमा हुस्सु आउने र तराईमा शितलहर चल्ने कारण यो बेला इँटाभटाबाट निस्कने धुँवाले बढी प्रदूषण हुने भन्दै उद्योगीहरूले यो वर्ष पहिलाका वर्षमा भन्दा एकदुई महिना पछाडि मात्रै अर्थात् हुुस्सु र शितलहर कम हुने समय माघदेखि मात्रै फायरिङ गर्ने निर्णय गरेको ह्योम्वाले जनाए । तथापि नेपाल सरकारले भने फागुन महिनामा मात्रै फायरिङ गर्न अनुरोध गरेको थियो ।