नेपालीपन झल्किएको इम्बार्क कलेज, शिक्षालाई रोजगारीसँग जोड्ने प्रण
काठमाडौं । चिटिक्क परेको सेतो भवन, जति बाहिरबाट हेर्दा सुन्दर छ, त्योभन्दा अझ हेर्न लायक छ यसको संरचना । भुइँतला जहाँ ल्याब अनि लाइब्रेरी छन् । प्रत्येक कोठाको नाम तराईका विभिन्न तालका नामबाट राखिएका छन् । त्योभन्दा माथिल्लो तला जहाँ विद्यार्थी अध्ययन गर्छन्, तिनको नाम पनि विभिन्न पहाडका तालको नामबाट राखिएका छन् । कहीं रारा, कहीं बेगनास त कहीं फोक्सुण्डो । त्यसको माथिल्लो तला जहाँ विद्यार्थीले सिकेको कुरा अथवा आफ्नो प्रोजेक्टको छलफल गर्न सक्छन्, ती कोठाहरू विभिन्न हिमालको नामबाट परिचित छन्, जस्तै- सगरमाथा, मनास्लु, अन्नपूर्ण… । कक्षाकोठामा विद्यार्थी प्रवेश गर्ने ढोका र अन्य व्यक्ति तथा कर्मचारी प्रवेश गर्ने ढोका फरक छ । जहाँ संरचना बनावट अन्य कलेजको भन्दा फरक छ । तराई, पहाड र हिमाल जसरी कलेजको संरचना बनाइएको यो कलेज हो- इम्बार्क कलेज । इम्बार्कको अर्थ केही कुरा सुरुवात गर्नु हो । ललितपुरको पुल्चोकमा सञ्चालनमा आएको यो कलेजले अबको केही दिनमै कार्यक्रम सुरु गर्दैछ । यो कलेजले स्नातक तहमा बिजनेस म्यानेजमेन्ट कोर्स (बीएससी) र स्नातकोत्तर तहमा एमबीए कोर्सहरू सुरु गर्न लागेको हो । अहिले विद्यार्थी भर्ना अभियान सुरु भइरहेको छ । कलेजका अनुसार यो अर्काे सातादेखि पढाइ सुरु हुनेछ । अहिले शिक्षा क्षेत्रमा एउटै गुनासो छ, नेपालमा विद्यार्थीहरू छैनन् । सरकारी कलेजहरू मर्ज गर्नुपर्ने आवाज उठिरहेको छ भने निजी कलेजका सञ्चालक भित्रभित्रै विकल्प खोजिरहेका छन् । संकटमा परिरहेका नेपालका शिक्षालय र धमाधम विदेसिएका विद्यार्थीका समस्याको कुरा सञ्चारमाध्यममा दिनहुँ हेडलाइन बन्ने गरेका छन् । यस्तो अवस्थामा नेपाली विद्यार्थीलाई नेपालमै त्यो पनि सीप र उद्यमशीलतामा जोड्ने उद्देश्यका साथ इम्बार्क कलेज सञ्चालनमा आएको हो । यो कलेजमा गोल्छा समूह र ग्लोकल प्राइभेट लिमिटेडको संयुक्त लगानी छ । नेपालमा रहेका कलेजहरू समस्यामा रहेको बेला तपाईंले नयाँ सम्भावना के देख्नुभयो ? भन्ने प्रश्नमा ग्लोकलका अध्यक्ष तथा कलेजका कार्यकारी निर्देशक आशीष ठाकुर भन्छन्, ‘चुनौती हरेक क्षेत्रमा छ । तर, चुनौती छ भन्दैमा भाग्न मिल्दैन । चुनौतीभित्रै नेपाली विद्यार्थीलाई नेपालमै भविष्य दिलाउने हाम्रो प्रयास हो, हामी यसमा सफल पनि हुन्छौं ।’ ठाकुरलाई अहिले भ्याइनभ्याइ छ । कलेज म्यानेजमेन्टदेखि विद्यार्थी भर्नाको काम पनि जारी रहेकाले उनको समय दिनभर यसैमा बित्छ । भन्छन्, ‘नयाँ कुरा सुरु गर्दा गाह्रो हुन्छ, गेटमा गार्ड हुनुपर्यो, शिक्षक हुनुपर्यो, विद्यार्थी हुन पर्यो । यो व्यवस्था गर्न धेरै वर्ष कुर्नुपर्यो, अहिले हामीले कलेज सञ्चालनको लागि अनुमति पनि पाइसकेका छौं, अहिले विद्यार्थीहरूको भर्ना प्रक्रिया जारी छ । अब अर्को हप्तादेखि कक्षा सञ्चालन गर्ने योजना छ ।’ ग्लोकलका अध्यक्ष तथा कलेजका कार्यकारी निर्देशक आशीष ठाकुर । तस्बिर : नरेश बोहोरा/विकासन्यूज किन राेज्ने इम्बार्क कलेज ? नेपाली विद्यार्थीलाई अन्तर्राष्ट्रिय स्तरका कार्यक्रमहरू दिने कलेज नेपालमा करिब ६० को हाराहारीमा छन् । इम्बार्कले पनि युनिभर्सिटी अफ रोह्याम्प्टन लन्डन (युके)बाट मान्यता लिएको छ । इम्बार्क कलेज नै विद्यार्थीले केका लागि रोज्ने भन्ने प्रश्नमा ठाकुर भन्छन्, ‘यो कलेजले सीप र उद्यमशीलतालाई बढी जोड दिएको छ । यो कलेजले विद्यार्थीले रोज्नुपर्ने दुई-तीनवटा कारण छ । पहिलो कुरा पढाइ कस्तो हुन्छ विद्यार्थीले यो कुरा सोच्नुपर्छ, त्योभन्दा बाहेक यो कलेजले मलाई के दिन सक्छ भन्ने कुरा सोच्नुपर्छ । आजको पढाइ भनेको शिक्षकले कक्षामा आएर यो विषय यसरी पढ्नुहोस्, यो बेला परीक्षा हुन्छ, यसको लागि तयारी गर्नुहोस् भन्नको लागि होइन ।’ नेपाली विद्यार्थी अहिले नेपालबाट बाहिर गएको कुरा सबैलाई थाहा छ । यसका पछाडि केही कारण पनि छन् । जस्तै- समयमा परीक्षा नभएको, रिजल्ट नआएको यस्तै …। यो कलेजले अन्तर्राष्ट्रिय युनिभर्सिटी अफ रोह्याम्पटन युकेसँग साझोरी गरेको छ, जुन एक हजार र्याङ्किङभित्र छ । यसले विगतदेखि नै अनुसन्धान, विद्यार्थीको अनुभव र रोजगारीमा काम गरिरहेको छ । शिक्षाको सबैभन्दा ठूलो आउटकम भनेको रोजगारी हुनुपर्छ । कि रोजगार कि स्वरोजगारमा विद्यार्थी जानसक्ने अवस्था हुनुपर्छ भन्ने यो कलेजको मुख्य उद्देश्य हो । कलेजमा रहेको बीएससी बिजनेस म्यानेजमेन्ट कार्यक्रमलाई एप्लाइड एजुकेशनको रूपमा हेरिएको छ । संसारभरि बिएससी भन्ने कोर्सलाई मान्यता दिइएको छ । रोजगारदाताले आवश्यकताअनुसारको दक्ष जनशक्ति पाउन नसकेको गुनासो आइरहन्छ भने विद्यार्थीले जागिर पाउन नसकेको गुनासो गरिरहेका छन् । नेपालमा सीप भएका व्यक्ति खोज्न गाह्रो छ तर, सर्टिफिकेट भएका मान्छे खोज्न सजिलो छ । अब इम्बार्क कलेजले हरेक पाठ्यक्रमलाई सीपयुक्त बनाउने ठाकुरको दाबी छ । ठाकुर भन्छन, ‘जनरल एकेडेमिकल कोर्स पढ्दा विद्यार्थीले एक्स्ट्रा करिकुलम एक्टिभिटीबाट सिकेका सीपलाई अप्लाई गरेर बेस्ट आउटकम विद्यार्थीका लागि फोकस गरिएको छ ।’ यहाँ हरेक विद्यार्थीले प्रोफेसनल काम गर्नैपर्छ भन्ने मान्यता छ । ‘एमबीए वीथ प्लेसमेन्ट’ हुनुपर्छ भन्ने तरिकाले काम गरिरहेको ठाकुरले बताए । ‘विद्यार्थीलाई कक्षाकोठाभित्र पढाएर मात्र होइन, उसलाई चाहिने इन्फास्ट्रक्चर पनि हामीले बनाएका छौं,’ उनी भन्छन्, ‘यो हाम्रो पहिलो प्रयास हो, धेरै कुराहरूलाई अझै राम्रो बनाउदै जान्छौं, तर अहिले यो सुरुवात गर्दा हामीले विद्यार्थीलाई उद्यमशीलता मानसिकताको लागि प्रवर्द्दन र सँगै सीपयुक्त बनाउने ता कि उनीहरू जब मार्केटमा जाँदा रोजगार दिने व्यक्तिले उनीहरूलाई फेरि तालिम गरिरहन नपरोस् अथवा इन्टर्नसीप गर्न नपरोस् ।’ रोजगारदातासँगै सहकार्य यो कलेजले पढाउने मात्र होइन । कलेजमा पढिरहेका र पढिसकेका व्यक्तिलाई रोजगारको अवसर पनि प्रदान गर्ने छ । यसका लागि कलेजले धेरै उद्योगहरूसँग सहकार्य गरिरहेको छ । जहाँ विद्यार्थीलाई कलेज पढिराख्दादेखि नै जब प्लेसमेन्टका कुरामा सहयोग गरिने छ । ठाकुरले नेपालका प्रतिष्ठित व्यवसायीहरू नै यो कलेजको सल्लाहकार समितिमा रहेको बताए । अहिले शिक्षा र बजार दुवैसँगै आउनुपर्ने आवश्यकता छ । ‘शिक्षा दिइसकेपछि त्यो मान्छे बजार जान्छ र काम गर्छ, मान्छेले काम गरेर बिजनेस हुने हो,’ ठाकुर भन्छन्, ‘त्यो बनाउने जिम्मेवारी शैक्षिक संस्थाको हो, र यसमा उद्योगहरू पनि जिम्मेवारी हुनुपर्छ । ’ इम्बार्कले कोर्स बनाउँदा नै ग्लोबल इन्ड्रस्टी अनुसार बनाएको छ । कलेजले नेपालका विभिन्न उद्योगी व्यवसायीसँग बसेर छलफल गरेर कोर्स तयार पारेकाे छ । यसो गर्दा रोजगारदातालाई चाहने जनशक्ति र विद्यार्थीलाई आवश्यक पर्ने रोजगार सहज हुने कलेजको विश्वास छ । आईटी कार्यक्रम ल्याउने अहिले दुइटा कार्यक्रममात्र सञ्चालन गरेको यो कलेजले अब कलेजमात्र नभइ स्कुलतह पनि खोल्ने लक्ष्य लिएको छ । ठाकुरका अनुसार तत्काल आईटीका कोर्सहरू पढाउन सुरु गर्ने तयारी छ । बजारलाई चाहिने आवश्यकताअनुसारको कोर्स कलेजले बिस्तारै सुरु गर्दै जाने उनले बताए । यसका लागि चाहिने आवश्यक कोर्स पनि इन्डस्ट्रीसँगै बसेर बनाउने तयारी छ । संसारभरिका विभिन्न शैक्षिक संस्था सर्टिफाइट एजेन्सीसँग बसेर सर्टटर्म कोर्सेज नेपाल भित्र्याउने तयारी पनि कलेजले गरिरहेको छ । जस्तो आइआइटी मद्रास भारतको सर्टकोर्स नेपालमा यो कलेजबाट लन्च गर्ने तयारी भइरहेको छ । ‘हामीले विद्यार्थीलाई चाहिने हरेक सीप, शिक्षा र अवसर कलेजले दिनसक्ने यही हो,’ उनी भन्छन्, ‘तर यसमा गर्न सक्ने नसक्ने जिम्मेवारी विद्यार्थीको हो । विद्यार्थीले हरेक कुरा सिक्दै जान्छन् । जस्तै एउटा बच्चा जन्मेको केही वर्षपछि किन्डर गार्डेन जान्छ । उसले प्लेग्रुपमा केही कुरा सिक्छ । त्यसपछि स्कुलभित्र केही कुरा सिक्छ । प्लस टुमा केही कुरा सिक्छन् र पछि स्नातक तह पढ्न आउँछन् । यो सबै उसले पास गरेको खुड्किलाे हो । तर यहाँ कतिपय चिज उसले राम्रो नपाएको हुन सक्छ । त्यसको लागि यो कलेजले विद्यार्थी लिँदा अन्तवार्ता लिने, एट्टिच्युड टेस्ट गर्छ ।यो कलेजले अलि नवीनतम सोच्न सक्ने, उत्सुकता राख्ने खालका विद्यार्थी हेर्छ । सबैका लागि उत्कृष्ट कलेज नेपालमा शिक्षा विभेदकारी भएको बहस बेलाबेला उठ्दै आइरहेको छ । आर्थिक अवस्था राम्रो भएको व्यक्तिले पैसा तिरेर शिक्षा किन्न सक्छ भने पैसा नभएकाहरूले चाहेर पनि राम्रो शिक्षा पाइरहेका छैनन् । आशीष ठाकुर यो कलेजले पढ्न र सिक्ने इच्छा भएका विद्यार्थीलाई अवसर दिने बताउँछन् । नेपाल सरकारले भनेको १० प्रतिशत विद्यार्थीलाई छात्रवृति दिने नियमअनुसार यस्ता विद्यार्थीलाई छात्रवृत्तिमा समावेश गर्ने कलेजको योजना छ । यसका लागि कलेजले मापदण्ड पनि बनाएको छ । महत्त्वपूर्ण भनेकै सीप शिक्षामा सीप आवश्यक छ । केही वर्ष पहिले ठाकुर आवद्ध ग्लोकल कम्पनीले एउटा रिसर्च गरेको थियो । जहाँ नेपालमा दिनको ६ सय वटा जबको विज्ञापन पत्रिकामा आउँदा, त्यसको ६० प्रतिशत विज्ञापन तीन पटकसम्म पुन: छापिएको पाइएको थियो । यसले नेपाली शिक्षा र बजारमा कति ठूलो खाडल छ भन्ने कुराको उदाहरण दिँदै ठाकुरले भने, ‘हामीले पढाइराख्दा परीक्षाको लागि पढाउँछौं, अब यो कुरा हट्नुपर्छ । कुनै विद्यार्थीले ५०, ६०, ७० प्रतिशत ल्याउँछ भने ठीक छ तर त्यो विद्यार्थीले सीप सिकिरहेको छैन भने ठीक छैन ।’ उनी प्रतिशतभन्दा सीप महत्त्वपूर्ण रहेको बताउँछन् । सीप भन्नेबित्तिकै जहिले पनि ब्लुकलर स्किलको मात्र कुरा आउँछ । तर बिजेनस पढिरहेका विद्यार्थीलाई पनि सीप चाहिन्छ, कम्युनिकेसन स्कल आवश्यक पर्छ । रिसर्च गर्नेदेखि लिएर लेख्ने, डाटा राख्नुका साथै एआईको पनि सीप चाहिन्छ । यो सबै कुरा विद्यार्थीलाई दिन सक्नुपर्ने ठाकुरको भनाइ छ । उनी भन्छन्, ‘हुन सक्छ यो कुरा पाठ्यक्रममा छैन तर, किताबमा सिकेका कुरालाई विद्यार्थीले प्रयोग गर्न पाउनु पर्यो । यसको टुल भनेको सीप हो ।’ शिक्षामा धेरै कुरा गर्न बाँकी नेपालमा अझै शिक्षा क्षेत्रमा धेरै कुरा गर्न बाँकी छ । नेपालमा शिक्षा दिइए पनि सीपसँग जोडिएको छैन । सीपलाई शिक्षासँग र शिक्षालाई रोजगारसँग जोड्न नसक्दा विभिन्न समस्या आइरहेका छन् । यो कामका लागि इम्बार्कको स्थापना गरिएको निर्देशक ठाकुर बताउँछन् । यसका लागि विद्यार्थी, अभिभावक र उद्योगको साथको आवश्यकता रहेको उनको भनाइ छ । नेपालमा अहिले रोजगार पनि सिर्जना भइरहेको छ । ‘विद्यार्थी कक्षामा बसिराख्दा सकरात्मक सोच हुनुपर्छ, क्लासमा पढिराख्दा परीक्षाको लागि होइन, मैले कामका लागि पढ्दैछु भन्ने मानसिकता हुनुपर्यो, ‘ उनी भन्छन्, ‘हामीले यहीअनुसार शिक्षा दिने योजना गरेका छौं ।’ चुनौती अहिले हरेक क्षेत्रको व्यवसायमा उत्तिकै चुनौती छ । अझ शैक्षिक व्यवसायका कुरा गर्दा सित्तिमित्ति लगानी गर्ने आँट राख्न छोडिसकेको अवस्था छ । ठाकुरले विद्यार्थीले नेपालमा सोचेजस्तो शिक्षा र रोजगार नपाउँदा देश छोडिरहेका बताउँछन् । उनी अब नेपालमै पढ्न र गर्न सकिन्छ भन्ने अवसर बनाउनु पर्ने बताउँदै इम्बार्क कलेज यसको सुरुवात रहेको उल्लेख गर्छन् । कुनै पनि व्यवसाय गर्दा रिस्क हुन्छ । त्यो रिस्कलाई क्याल्कुलेट गरेर बढ्नुपर्ने हुन्छ । उनी शिक्षा भन्नेबित्तिकै पूर्ण व्यवसाय नभएको भन्दै सामाजिक दायित्वको हिसाबले पनि हेर्नुपर्ने बताउँछन् । ‘चुनौती छ, थाहा छ । यो थाहा पाएर नै बजारमा आएका हौं, चुनाैतीमै भएको बेला विद्यार्थीलाई के पस्कन सक्छौं भनेर यो क्षेत्रमा लागेका हाैं । अब हामीले दुई किसिमको शिक्षामा काम गर्नुपर्छ,’ उनी भन्छन्, ‘एउटा विद्यार्थीलाई फाप्ने शिक्षा हुनुपर्यो, अर्को मार्केटलाई फाप्ने शिक्षा हुनुपर्यो । यो दुई कुराको बीचमा हामीले बिजनेश गर्न सक्यौं भने अहिलेको जुन अवस्था छ यसमा हामीले काम गर्न सक्छौं ।’ सम्बन्धित सामग्री : शिक्षा क्षेत्रमा शेखर गोल्छाको प्रवेश, माघदेखि सञ्चालन हुँदैछ इम्बार्क कलेज
महालक्ष्मी विकास बैंकद्वारा सामाजिक उत्तरदायित्वका कार्यक्रम सम्पन्न
काठमाडौं । महालक्ष्मी विकास बैंकले वित्तीय साक्षरता, शिक्षा, स्वास्थ्य, दैवी प्रकोप व्यवस्थापन, वातावरण संरक्षण, सांस्कृतिक प्रबद्र्धन, पूर्वाधार निर्माण/सुधार, दिगो विकास लक्ष्य, मानव सेवा तथा परोपकार कार्य जस्ता विभिन्न क्षेत्रहरुमा संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत कार्यक्रम सञ्चालन गर्ने निति अनुरुप बैंकले विभिन्न कार्यक्रमहरु सम्पन्न गरेको छ । सोही अन्तर्गत बैंकको पालुङ शाखाद्धारा थाहा नगरपालिका–११, देउराली, मकवानपुरमा रहेकाे श्री कालिदेवी प्राथमिक विद्मालयमा अध्ययनरत ८३ जना विधार्थीहरु मध्ये ५५ जना विपन्न वर्गका विधार्थीहरुमा न्यानो कपडाको अभावमा जाडो मौसममा विभिन्न स्वास्थ्य समस्याहरु देखिएको र पठनपाठनमा समेत प्रत्यक्ष रुपमा असर पर्न गएकोले यस बैंकको पालुङ शाखाद्वारा पुस २७ गते एक कार्यत्रमकाबीच ५५ थान पोलार ज्याकेट वितरण गरिएको छ । साथै सर्वोदय परियोजना नामक गैहृ सरकारी संस्थासँगको समन्वयमा दृष्टिविहिन कलाकारहरुको असाधारण प्रतिभालाई उजागर गर्दै समावेशिता, विविधता र सिर्जनशिलतालाई प्रबद्र्धन गर्न आयोजित ‘अदृश्य मोतीहरु’ नामक कार्यक्रम सञ्चालन गर्नको निमित्त बैंकले आर्थिक सहयोग गरेको छ । यस कार्यबाट अपाङ्गता भएका व्यक्तिहरुको प्रतिभा प्रस्तुत गर्न तथा समाजमा आफ्नो उपस्थिति देखाउन सहयोग पुग्ने साथै समावेशी समाज निर्माण गर्न सहयोग पुग्ने विश्वास बैंकले लिएको छ । बैंकले गर्दै आएका यस्ता संस्थागत सामाजिक उत्तरदायित्व कार्यहरुबाट समग्र आर्थिक तथा सामाजिक विकासमा टेवा पुग्ने विश्वास बैंकले लिएको छ । बैंकले हालै ग्राहकहरुलाई अत्याधुनिक, सुरक्षित तथा सहज डिजिटल बैंकिङ सुविधा उपलब्ध गराउने बैंकको निति बमोजिम मोबाइल एप्लिकेसनलाई परिष्कृत गर्दै ‘महालक्ष्मी स्मार्ट साथी’ सञ्चालनमा ल्याएको छ ।
ट्रम्पले सोमबार राष्ट्रपतिको शपथ लिने
अमेरिका । संयुक्त राज्य अमेरिकाका ४७औँ राष्ट्रपतिका रुपमा डोनाल्ड ट्रम्पले स्थानीय समयअनुसार सोमबार बिहान पद तथा गोपनीयताको शपथ लिँदै छन् । उनी गत नोभेम्बर ५ मा सम्पन्न निर्वाचनबाट राष्ट्रपति पदमा निर्वाचित भएका थिए । अमेरिकामा निर्वाचित राष्ट्रपतिले जनवरी २० देखि सत्ता सम्हाल्ने प्रचलन छ । शपथ समारोहपश्चात् सत्ता हस्तान्तरणको प्रक्रिया सुरु हुनेछ । लाखौँ नागरिक सहभागी भएर गरिने शपथ ग्रहण कार्यक्रमलाई यसपटक प्रतिकूल मौसमका कारण बन्द कोठाभित्र गरिने जनाइएको छ । सन् २०१६ मा व्यापारिक पृष्ठभूमिका साथ अमेरिकाको राष्ट्रपति निर्वाचित भएका ट्रम्पले सन् २०२४ मा आप्रवासनसम्बन्धी नीतिको व्यापक सुधारको वाचासहित दोस्रोपटक राष्ट्रपति पदमा निर्वाचित भएका हुन् । उनले जलवायु परिवर्तन, आप्रवासन, स्वास्थ्य समस्या, विदेशी उत्पादनमाथिको कर वृद्धिलगायतका नीति लागू गर्ने उल्लेख गरिसकेका छन् । ट्रम्पको शपथ ग्रहणसँगै उपराष्ट्रपतिमा जेडी भ्यान्स, विदेशमन्त्रीमा मार्को रुवियोले कार्यभार सम्हाल्ने छन् । लामो समयदेखि अमेरिकामा बस्दै आएका कानुन व्यवसायी खगेन्द्र जिसी चुनावको बेला ट्रम्पले प्रतिबद्धता जनाएका विषयमै राष्ट्रपतिको ध्यान केन्द्रित हुने बताउँछन् । ‘अमेरिकाको अर्थतन्त्र राम्रै चलिरहेको थियो, रोजगारी पनि सृजना भइरहेको थियो, तर बढ्दो आप्रवासनको समस्या समाधानका लागि नागरिकले मतदान गरेको पाइएको छ, आगामी दिनमा पनि सोहीअनुसार नीति आउने अपेक्षा गर्न सकिन्छ ।’ सामूहिक निकाला राष्ट्रपति ट्रम्पले चुनावी अभियानका क्रममा भनेको ‘मास डिर्पोटेसन’को अर्थ प्रक्रियाअनुसार एकैपटक धेरैजनालाई अमेरिकाबाट सम्बन्धित देश पठाउने भन्ने हो । गत अक्टोबर २७ मा न्यूयोर्कमा आयोजित र्यालीलाई सम्बोधन गर्दै ट्रम्पले भनेका थिए , ‘मैले सत्ता सम्हालेको पहिलो दिनमै देश निष्कासनको कार्यक्रम ल्याउने छु, जसले अपराध गर्नेहरुलाई अमेरिकाबाट बाहिर पठाउनेछ ।’ अमेरिकाको एक अनुसन्धान कम्पनी पाओ रिसर्चका अनुसार अमेरिकामा सन् २०२२ मा कूल तीन करोड ६९ लाख आप्रवासीसँग बसोबासको अनुमति छ । त्यसमध्ये दुई करोड ३४ लाखले नागरिकता लिइसकेका छन् । त्यसैगरी एक करोड १५ लाख आप्रवासीले स्थायी बसोबासको सुविधा (ग्रीनकार्ड) प्राप्त गरेका छन् । साथै २० लाखले अस्थायी बसोबासको सुविधा (विभिन्न वर्गका भिसा) प्राप्त गरेका छन् । अमेरिकामा करिब एक करोड १० लाख आप्रवासीसँग यहाँ बस्नका लागि वैधानिक अधिकार नभएको अनुमान छ । त्यसमध्ये करिब पाँच लाख आप्रवासीहरु अमेरिकाका विभिन्न न्यायिक एकाइमा आपराधिक क्रियाकलापमा संलग्न भएर सजाय पाएको तथ्याङ्क छ । यिनीहरुलाई देश निकाला गर्ने पहिलो प्राथमिकता रहनसक्ने धेरैको अनुमान छ । यसको तथ्याङ्क र जानकारी सरकारी निकाय युएस इमिग्रेशन एण्ड कस्टम इन्फोर्समेन्ट (आइस)ले राखेको हुन्छ । सोही निकायले देश निकालाका लागि गिरफ्तार, हिरासतमा राख्ने र निकालाको व्यवस्था मिलाउने गर्छ । यो विषयमा ट्रम्प प्रशासनले कार्यभार सम्हालेको पहिलो दिन नै कार्यकारी अधिकार प्रयोग गरेर सम्वोधन गर्न सक्ने धेरैको अनुमान छ । अमेरिकाका विभिन्न एकाइमा आप्रवासनका लागि बसोबास गर्न निवेदन दिएका छन् । तर निवेदन स्वीकृत नभए उनीहरु पनि देश निकालको सूचीमा पर्न सक्नेछन् । कानून व्यवसायी जिसी पनि आपराधिक पृष्ठभूमि भएका र पहिला नै अदालतले निवेदन स्वीकृत नगरेर देश छोडेर जान आदेश दिइसकेका व्यक्तिलाई पठाउने कार्यक्रम आउनसक्ने आकलन गर्छन् । नेपालीहरुको हकमा विगतमा अदालतले निवेदन अस्वीकृत गरेर देश छाड्न आदेश दिए पनि अमेरिका नछोडी बसेका केही हजारको सङ्ख्यामा देश निकालाको सूचीमा पर्नसक्ने उनको अनुमान छ । वैदेशिक सम्बन्ध निर्वाचित राष्ट्रपति ट्रम्पले इरायल र हमासबीचको युद्ध अन्त्य गर्ने, रुसले–युक्रेनबीचको आक्रमणलाई वार्तामार्फत अन्त्य गर्ने पनि बताएका छन् । यद्यपि उनको शपथ ग्रहणअघि नै इजरायल र हमासबीच युद्धविराममा सहमति भए आइतबारदेखि सम्झौता कार्यान्वयनमा आइसकेको छ । अब शपथ ग्रहणपश्चात् रुस–युक्रेनबीचको समस्याले कस्तो रुप लिन्छ त्यो हेर्न बाँकी छ । अमेरिकाले विश्वव्यापी रुपमा ठूलो धनराशि खर्च गर्दै आएको छ । तर नागरिकले तिरेको कर परिचालनसम्बन्धी उनले नयाँ नीति बनाइ कार्यान्वयन गर्ने प्रतिबद्धता जनाएका छन् । यससम्बन्धमा पनि उनको नयाँ नीति कस्तो हुन्छ धेरैको पर्खाइका विषय बनेको छ । यदि सोहीअनुसार नयाँ नीति आएमा अमेरिकाको सहयोगी निकायहरुले सञ्चालन गर्ने विभिन्न विकास तथा मानवअधिकारसम्बन्धी कार्यक्रमहरु प्रभावित हुनसक्ने आकलन गर्न सकिन्छ । अमेरिकासँग व्यापार गरिरहेका केही मुलुकको हकमा वस्तु आयातमा २५ प्रतिशतले कर लागू गर्ने योजनाले भने उनीहरुलाई अमेरिकी बजारमा टिक्न चुनौतीपूर्ण हुने देखिन्छ । साथै स्वास्थ्य क्षेत्रमा पनि प्रभाव पर्ने देखिएको छ । विश्वव्यापी रुपमा अमेरिका स्वास्थ्य क्षेत्रमा धेरै रकम खर्च गर्नेमध्येको देशमा पर्छ । अमेरिकाले विश्वव्यापी मानव स्वास्थ्यसँग सम्बन्धित कार्यक्रममा वार्षिक करिव १० अर्ब डलर खर्च गर्दै आएको छ । यसमा पनि ट्रम्प प्रशासनले अनुदारवादी सोच राख्ने सम्भावना रहेको बुझाइ छ । अमेरिकामा ५० वर्षदेखि बस्दै आएका फर्मासिष्ट डा श्याम कार्कीले भने, ‘अमेरिकाले विश्वभरिका मानिसहरुलाई स्वास्थ्य क्षेत्रमा विभिन्न कार्यक्रममार्फत सहयोग गर्दै आएको छ । खर्च कटौती गरेको खण्डमा त्यसको असर नेपालजस्ता मुलुकलाई पनि पर्नसक्छ, स्वास्थ्यभन्दा पनि आप्रवासी र करसम्बन्धी विषय राष्ट्रपति ट्रम्पको प्रशासनको प्राथमिकतामा पर्ने सम्भावना छ ।’ कार्कीले ‘टेम्पोरेरी प्रोक्टेटेड स्टाटस’बाट लाभ लिएका करिब दस हजार नेपाली आप्रवासीहरुको वैधानिक बसोबासको सुविधा अन्त्य हुनसक्ने बताउँछन् । अमेरिकामा व्यवसाय सञ्चालन गर्दै आएका तीर्थराज पाण्डेय ट्रम्पको पुनरागमनसँगै लगानीका अवसर सृजना हुने सम्भावना देख्छन् । उनले भने, ‘राष्ट्रपतिका रुपमा ट्रम्पलाई यहाँको पुँजीबजारले स्वागत गर्ने अपेक्षा छ, लगानीकर्ताको मनोबल बढाउन राष्ट्रपतिमा निर्वाचित भएपछि उहाँ न्यूयोर्क स्टक एक्सचेञ्जको भ्रमण पनि गर्नुभएको थियो ।’ रासस
बैंक सबल र प्रभावकारी भएमात्रै नागरिकको विश्वास जित्न सकिन्छ : अर्थमन्त्री
काठमाडौं । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले बैंकहरुलाई आफूले लिएका उद्देश्यहरु हाँसिल गर्नेकुरालाई पहिलो प्राथमिकतामा राखेर काम गर्न आग्रह गरेका छन् । सोमबार काठमाडौंमा कृषि विकास बैंकको ५८ औं वार्षिकोत्सवको अवसरमा आयोजित एक कार्यक्रममा बोल्दै उनले यस्तो आग्रह गरेका हुन् । बैंकको क्षमता विकास, बैंकको सामथ्र्य विकास, बैंकको प्रतिष्ठा र इज्जतलाई पहिलो प्राथमिकतामा राखेर काम गर्नुपर्ने जानकारी दिए । उनले बैंक सबल र प्रभावकारी भएमात्रै बैंकका कर्मचारीहरुको इज्जत माथि उठ्ने र बैंकले नागरिकको विश्वास जित्ने बताए । उनले बैंकका कर्मचारीहरुले पहिलो प्राथमिकता बैंकको उन्नति र प्रगतिलाई दिएर काम गर्न आवश्यक रहेको जानकारी दिए । ‘बैंक सबल भयो, प्रभावकारी भयो, बैंकको इज्जत माथि उठ्यो भने समस्त कर्मचारीको इज्जत माथि उठ्छ । त्यसमा हरेकले सेभिङ गर्न पाउँछ, बैंकको प्रतिष्ठा कमजोर भयो, बैंकको पर्फमेन्स कमजोर भयो भने त्यसको अपजस सबैलाई बाँडिन पुग्छ,’ उनले भने । उपप्रधानमन्त्री पौडेलले व्यवस्थापन र कर्मचारीका बीचमा राम्रो सम्बन्ध नहुँदा कतिपय संस्थाहरुले अपेक्षित प्रगति गर्न नसकेको बताए । बैंकको डिपोजिटको अनुपात चिन्ताको विषय रहेको जानकारी दिए ।
अर्थमन्त्री र गभर्नरको एकैस्वर- ‘अर्थतन्त्र ठीकठाक छ’
काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले अर्थतन्त्र ठीकठाक रहेको धारणा राखेका छन् । कृषि विकास बैंकको ५८ औं वार्षिकोत्सवको अवसरमा अयोजित कार्यक्रमलाई बोल्दै उनले अर्थतन्त्र सुधार हुँदै गएको धारणा राखेका हुन् । यद्यपि, बैंकको ऋण नतिर्नु भन्ने अराजक गतिविधिको कारण अर्थतन्त्र केही स्लोडाउन भएको उनको भनाइ छ । उनका अनुसार बैंकिङ प्रणालीमा अराजकताको असरले दीर्घकालसम्म अर्थतन्त्रलाई असर पर्छ । अराजकताका यस्ता विषयहरू सधैं नरहने उनले बताए । गभर्नर अधिकारीले पछिल्लो समय बाढी-पहिरोका कारण निकै ठूलो असर परे पनि राष्ट्र बैंक वाह्य क्षेत्रको अर्थतन्त्र सबल रहेको बताए । उनले बैंकिङ प्रणालीमा तरलता राम्रो रहेको र बैंकहरु वेल क्यापिटलाइज रहेको दाबी गरे । ‘हामी वाह्य क्षेत्रमा सबल छौ, खाद्य, पेय पदार्थतिरको मुद्रास्फिति केही बढेको छ । तर पनि नेपाल राष्ट्र बैंकले राखेको लक्ष्यमै छ, बैंकिङ सिस्टममा तरलता राम्रो छ । बैंकहरू वेल क्यापिटलाइज छन् । अलिकति स्ट्रेस नाफा र रिकोभरीमा छ,’ उनले भने । यस्तै, अर्थमन्त्री विष्णुप्रसाद पौडेलले पनि अर्थतन्त्र सकारात्मक दिशामा रहेको धारणा राखे । उनले कार्यक्रममा बैंकहरूलाई आफूले लिएका उद्देश्यहरू हासिल गर्ने कुरालाई पहिलो प्राथमिकतामा राखेर काम गर्न आग्रह गरे । उनले बैंकको क्षमता विकास, बैंकको सामर्थ्य विकास, बैंकको प्रतिष्ठा र इज्जतलाई पहिलो प्राथमिकतामा राखेर काम गर्नुपर्ने धारणा राखे । उनले बैंक सबल र प्रभावकारी भएमात्रै बैंकका कर्मचारीहरूको इज्जत माथि उठ्ने र बैंकले नागरिकको विश्वास जित्ने बताए । उनले बैंकका कर्मचारीहरूले पहिलो प्राथमिकता बैंकको उन्नति र प्रगतिलाई दिएर काम गर्न आवश्यक रहेको धारणा राखे । ‘कर्मचारीको सबैभन्दा पहिलो प्राथमिकता बैंकको क्षमता, बैंकको सामर्थ्य, बैंकको प्रतिष्ठा र इज्जतलाई पहिलो कार्यसूची बनाउनु पर्दछ । बैंक सबल भयो, प्रभावकारी भयो, बैंकको इज्जत माथि उठ्यो भने समस्त कर्मचारीको इज्जत माथि उठ्छ । त्यसमा हरेकले सेभिङ गर्न पाउँछ, बैंकको प्रतिष्ठा कमजोर भयो, बैंकको पर्फमेन्स कमजोर भयो भने त्यसको अपजस सबैलाई बाँडिन पुग्छ,’ उनले भने । उपप्रधानमन्त्री पौडेलले व्यवस्थापन र कर्मचारीका बीचमा राम्रो सम्बन्ध नहुँदा कतिपय संस्थाहरूले अपेक्षित प्रगति गर्न नसकेको बताए । उनले बैंकको निक्षेपको अनुपात चिन्ताको विषय रहेको धारणा राखे ।
बैतडी र डडेल्धुरा जोड्न सुर्नया नदीमा मोटरेबल पुल बन्ने, करिब साढे २८ करोड बजेट लाग्ने अनुमान
काठमाडौं । बैतडी र डडेल्धुरा जोड्न सुर्नया नदीमा मोटरेबल पुल बन्ने भएको छ । बैतडीको कोल्तडी र डडेल्धुराको राडिल जोड्नका लागि उक्त नदीमाथि मोटरेबल पुल बन्न लागेको बैतडीको शिवनाथ गाउँपालिकाले जनाएको हो । गाउँपालिकाका अध्यक्ष कर्ण साउँदका अनुसार सहरी विकास मन्त्रालयमार्फत उक्त पुल निर्माणका लागि अर्थ मन्त्रालयले सहमति दिएको र ठेक्का प्रक्रियामार्फत पुल निर्माणको काम अघि बढाइनेछ । अध्यक्ष साउँदले बहुवर्षीय ठेक्काअन्तर्गत पुल निर्माणका लागि २८ करोड ४८ लाख लागत लाग्ने अनुमान गरिएको छ । जुन २०८४ सालसम्म उक्त पुल बनाइ सक्ने लक्ष्यसहित बजेट विनियोजन भएको जानकारी दिए । उनले भने, ‘गत पुस महिनाको २९ गते सहरी विकास मन्त्रालयमार्फत उक्त पुल निर्माणका लागि अर्थमन्त्रालयले सहमति दिएका थियो । उक्त सहमति भएको फाइल हाम्रो पालिकामा पुगेको छ । अब ठेक्कामार्फत पुलको निर्माण कार्य अगाडि बढाइनेछ । ’ यो पुल सहरी विकास मन्त्रालयअन्तर्गतको स्थानीय पूर्वाधार विकास विभागले बनाउने सहमति भएको अध्यक्ष साउँदले बताए । हाल दुबै जिल्लाबाट उक्त नदी किनारसम्म सडक पुगिसकेको उनको भनाइ छ । सुर्नया नदीमा उक्त पुल निर्माण भएमा बैतडी र डडेल्धुरा दुबै जिल्लाका नागरिकलाई सहज हुनेछ । कोल्तडी-राडिल मोटरेबल पुल निर्माण भएमा बैतडीको मेलौली नगरपालिका, शिवनाथ गाउँपालिका र पञ्चेश्वर गाउँपालिकाका नागरिक लाभान्वित हुने बताइएको छ। त्यस्तै, डडेल्धुराको भागेश्वरलगायत अन्य क्षेत्रका नागरिक पनि उक्त पुलबाट लाभान्वित हुने जनाइएको छ ।
बैंकको ऋण नतिर्न उक्साउने अराजक गतिविधिका कारण अर्थतन्त्रमा केही स्लो डाउन छ : गभर्नर अधिकारी
काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले अर्थतन्त्रका सूचकहरु समग्रमा राम्रो रहेको बताएका छन् । सोमबार काठमाडौंमा कृषि विकास बैंकको ५८ औं वार्षिकोत्सवको अवसरमा अयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले पछिल्लो समय बाढी, पहिरोका कारण निकै ठूलो असर परेपनि राष्ट्र बैंक वाह्य क्षेत्रमा सबल रहेको बताए । बैंकिङ प्रणालीमा तरलता राम्रो रहेको र बैंकहरु वेल क्यापिटलाइज रहेको दाबी गरे । बैंकको ऋण नतिर्न उक्साउने अराजक गतिविधिको कारणले अर्थतन्त्रमा केही स्लो डाउन भएको जानकारी दिए । ‘अर्थतन्त्रमा अलिकति स्लो डाउन भएको असर हामी देख्छौँ । एक खालको अराजक गतिविधि हुने र बैंकको ऋण नतिर्न उक्साउने अराजक गतिविधिको असर पनि धेरै ठाउँमा छ । यसको बाबजुद बैंकका साथीहरु आफ्नो ठाउँमा ग्रासरुटमा खट्नुभएको छ,’ उनले भने । गभर्नर अधिकारीले बैंकिङ प्रणालीमा अराजकताको असरले दीर्घकालसम्म अर्थतन्त्रलाई असर पार्ने बताए । अराजकताका यस्ता विषयहरु सधैँ नरहने जानकारी दिए ।
नेटाले ८१८ मिलियन अमेरिकी डलर लगानी प्राप्त गर्यो, अन्तर्राष्ट्रिय बिक्री दोब्बर गर्ने लक्ष्य
काठमाडौं । चिनियाँ कार निर्माता नेटा कम्पनीले ६ अर्ब युआन (८१८.८ मिलियन अमेरिकी डलर) लगानी प्राप्त गरेको छ । यो बाह्य लगानीका कारण कम्पनीले पहिले रोकिएका उत्पादन पुनः सुरु गरेको छ । २०२५ मा बिक्रीलाई दोब्बर पार्दै नेटा मुख्य रूपमा अन्तर्राष्ट्रिय बजारमा केन्द्रित हुने जनाइएकाे छ । नेटाको घरेलु बिक्री २०२४ को अन्त्यतिर घटेको देखिएको थियो । चाइना ईभी डाटा ट्र्याकरका अनुसार नेटाले जनवरीदेखि डिसेम्बरसम्म ६१ हजार ५९२ युनिट बिक्री गरेको थियो, जसमा ४०.२ प्रतिशतको वार्षिक गिरावट देखिएको थियो । यद्यपि नेटाका अध्यक्ष फाङ युनझोउले २०२५ मा सकल नाफा सकारात्मक हुने र कम्पनी २०२६ सम्म नाफामा आउने दाबी गरेका छन् । डुन्यूजको रिपोर्टअनुसार नेटाले करिब ६ अर्ब युआन लगानी प्राप्त गरेको छ । रिपोर्टका अनुसार राज्य-स्वामित्वका सम्पत्ति र विश्वकै सबैभन्दा ठूलो ब्याट्री उत्पादक सीएटीएलले यो लगानीमा सहभागिता जनाएकाे छ । २०२३ को जनवरीमा नेटा सीएटीएलको बेडरक च्यासिस प्रयोग गर्न सम्झौता गर्ने पहिलो कम्पनी बनेको थियो । नेटाको एल क्रसओभर सीएटीएल को फ्रीभोय ब्याट्री (सोडियम मिसिएको) प्रयोग गर्ने पहिलो मोडेलहरूमध्ये एक हो । यसले नेटा र सीएटीएलबीच लामो साझेदारी रहेको देखाउँछ । कम्पनीका एक कर्मचारीका अनुसार कम्पनीले सञ्चालन सुनिश्चित गर्न आन्तरिक समायोजन पूरा गरिसकेको छ । अटोमोबाइल उत्पादन र बिक्रीपछिका पार्ट्स आपूर्ति कायम राख्न कम्पनीको मुख्य ध्यान केन्द्रित छ । हाल नेटाले चीनभित्र डिलरशिप नेटवर्कमा ध्यान केन्द्रित गरिरहेको छ । नेटाको अन्तर्राष्ट्रिय बजारमा ध्यान २०२५ जनवरी १७ मा नेटाले दोस्रो अन्तर्राष्ट्रिय डिलर र लगानीकर्ता सम्मेलन आयोजना गरेको थियो । २०२५ मा कम्पनीले अन्तर्राष्ट्रिय बजारमा ध्यान केन्द्रित गर्दै बिक्री दोब्बर पार्ने लक्ष्य राखेको छ । हाल नेटाले दक्षिणपूर्व एशिया तथा मध्य र दक्षिण अमेरिकाका करिब ४० देशहरूमा १८० भन्दा बढी बिक्री च्यानल विस्तार गरेको छ ।