विकासन्युज

सांसद कोष होइन, सांसदलाई अधिकार सम्पन्न बनाउनुपर्छः विनोद चौधरी

काठमाडौं । नेपाली कांग्रेसका सांसद विनोदकुमार चौधरीले सांसदहरूलाई अधिकार सम्पन्न बनाइदिनुपर्ने बताएका छन् । शुक्रवार बसेको प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले सांसदलाई कोष नभइ आफ्नो क्षेत्रका अधुरा परियोजनाहरूलाई पूरा गर्न अधिकार सम्पन्न बनाउनु महत्त्वपूर्ण रहेको दोहोर्‍याए ।  चौधरीले भने, ‘सांसद कोषको कुरा हुने गर्छ, सांसदलाई फण्ड होइन, अधिकार सम्पन्न बनाउने हो । कुनै सांसदले आफ्नो क्षेत्रका अधुरा प्रोजेक्टहरूलाई पुरा गर्न सांसदलाई अधिकार सम्पन्न बनाइनुपर्छ ।’ उनले निर्वाचन क्षेत्रमा ट्याङ्की बनेको १० वर्ष पुग्दा पनि पाइपको अभावले जनताले पानी खान नपाएको बताउँदै यस्ता कैयौं उदाहरणहरू रहेको जिकिर गरे । सांसद चौधरीले कुनै निर्वाचित सांसदले आफ्नो क्षेत्रमा भएका विकास निर्माणका योजनाहरूलाई मूल्याङ्कन, अनुगमन र बजेट अभावको खण्डमा संवद्ध मन्त्रालयले हात बलियो नपारिइदिए शृङ्खलावद्ध ढङ्गबाट विकासको प्रक्रिया अगाडि बढ्न नसक्ने धारणा राखे ।   उनले रोजगारीको लागि दैनिक तीन हजारको सङ्ख्यामा नेपालीहरू विदेशीएको तर्फ चिन्ता व्यक्त गर्दै सरकारको गम्भीर ध्यानाकर्षणसमेत गराए । 

एन्फा साधारणसभामा पूर्वअध्यक्ष गणेश थापालाई प्रवेशमा रोक, धुलिखेलमा विवाद

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) को साधारण सभामा पूर्वअध्यक्ष गणेश थापालाई प्रवेशमा रोक लगाइएपछि शुक्रवार धुलिखेलमा विवाद उत्पन्न भएको छ ।  थापालाई साधारण सभास्थलको गेटमै सुरक्षाकर्मीले रोकेपछि केही समय वातावरण तनावपूर्ण बनेको हो । यद्यपि भित्र साधारणसभा भने सञ्चालन भइरहेको छ ।  साधारण सभाको उद्घाटन राष्ट्रिय खेलकुद परिषद्का अध्यक्ष टंकलाल घिसिङले गरे । एन्फाले प्रवेश पास नभएको भन्दै थापालाई रोक लगाएको बताएको छ ।  उल्लेख्य संख्यामा सुरक्षाकर्मीहरू पनि घटनास्थलमा खटाइएको छ । थापाले भने आफू उच्च अदालत पाटनको आदेशअनुसार सभामा सहभागी भएको बताए । उनले अदालतको आदेश मान्दिनँ भन्न वा साधारण सभामा प्रवेश दिन एन्फालाई आग्रह गरे । उनले भने, ‘कि अदालतको निर्णय मान्दिनँ भन्नुपर्‍यो कि साधारणसभामा प्रवेश दिनुपर्‍यो, नत्र रोकेर राख्न मिल्छ ? हिजो अन्तरिम आदेश दियो, मलाई र गौरव थापालाई साधारण सभामा नरोक्नु भनेर । एन्फाको तर्फबाट मेरो खारेजी गर्न अध्यक्षजी स्वयं आउनुभयो । बहस भयो तर खारेजी भएन तर अहिले उहाँहरू छिर्न दिनुहुन्न ।’ थापाले एन्फाले आफूलाई रोक्न सक्ने सङ्केत पाएपछि उच्च अदालत पाटनमा रिट दायर गरेका थिए । वैशाख २१ मा न्यायाधीश सुदर्शनदेव भट्टको इजलासले थापाको पक्षमा अन्तरिम आदेश दिएको थियो । सो आदेशअनुसार उनी साधारणसभामा सहभागी हुन पुगेका थिए ।  तर एन्फाका प्रवक्ता सुरेश साहले अदालतको आदेशबारे औपचारिक जानकारी नआएको जिकिर गरे । उनले भने, ‘अफिसियल्ली हिसाबले निर्णय भन्नुभएको छ । त्यो सचिवालयलाई थाहा होला, हामीलाई थाहा छैन । हामीले बुझ्नुपर्ने कुरा के हो भने, एन्फामा अहिले २५-३० वटा मुद्दा छन् । कुन आदेश सचिवालयमा आयो/आएन भन्ने जानकारी सचिवालयबाट आउनुपर्छ ।’ सन् २०१५ अप्रिल १६ मा फिफाले भ्रष्टाचार र आचारसंहिता उल्लंघनको आरोपमा थापालाई १० वर्षका लागि निलम्बन गरेको थियो ।  सो निलम्बन सन् २०२५ अप्रिल १५ मा सकिएको थियो । प्रतिबन्ध फुकुवा भएपछि थापा फुटबल गतिविधिमा सक्रिय हुन थालेका छन् ।

झापामा थपिए ७ सय ७६ घरेलु उद्योग, ९ महिनामा सवा २ करोड राजस्व सङ्कलन

झापा । झापा जिल्लामा चालु आर्थिक वर्षको नौ महिनामा ७७६ नयाँ घरेलु तथा साना उद्योग दर्ता भएका छन् ।  घरेलु तथा साना उद्योग कार्यालयका सूचना अधिकारी जानकी भट्टराईका अनुसार उक्त अवधिमा उद्योगतर्फ ४३१ र वाणिज्यतर्फ ३४५ नयाँ घरेलु तथा साना उद्योग दर्ता भएका हुन् ।  सोही अवधिमा उद्योगतर्फ एक हजार १६८ र वाणिज्यतर्फ एक हजार २७३ उद्योग नवीकरण भएका छन् । जिल्लामा चालु आवको नौ महिनामा उद्योगतर्फ ३९४ र वाणिज्यतर्फ १२८ गरी ५२२ उद्योग खारेज हुँदा २३ उद्योगको ठाउँसारी तथा १३० उद्योगले व्यवसाय विस्तार गरेका छन् ।  सूचना अधिकारी भट्टराईले झापामा उद्योग बन्द गर्ने भन्दा नयाँ थपिनेको सङ्ख्या बढ्दै गएको जानकारी दिइन् ।  घरेलु तथा साना उद्योग कार्यालयले चालु आवको नौ महिनामा २ करोड २१ लाख ८८ हजार ९५० राजस्व सङ्कलन गरेको छ ।   

सरकारमा केही समस्या छैन, गभर्नर नियुक्त छिट्टै हुन्छ : देउवा

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सरकारमा केही समस्या नभएको दाबी गर्दै नेपाल राष्ट्र बैंकको गभर्नर नियुक्त छिट्टै हुने बताएका छन् । शुक्रबार देउवा निवास बूढानीलकण्ठमा बसेको कांग्रेस पदाधिकारी बैठकमा उनले यस्तो बताएका हुन् ।  बैठकमा सहभागी एक पदाधिकारीले बाहिर हल्ला भएजस्तो सरकार कुनै समस्या नरहेको सभापति देउवाले उल्लेख बताए ।  पछिल्लो समय गभर्नर नियुक्तिको विषयलाई लिएर सरकारको चौतर्फी आलोचना हुँदै आइरहेको छ । कांग्रेस र एमालेबीचमा सहमति हुन नसक्दा गभर्नर नियुक्त हुन नसकेको हो । एमालेले गर्दा गभर्नर नियुक्त हुन नसकेको हल्लालाई देउवाले बारम्बार खण्डन गर्दै आइरहेका छन् । साथै बैठकमा टीआरसी र शिक्षा विधेयकमा पनि छलफल भएको कांग्रेस प्रवक्ता डा. प्रकाशशरण महतले जानकारी दिए । 

सिटिजन्स बैंक र म्यानेजमेन्ट एसोसिएसन अफ नेपालबीच सम्झौता

काठमाडौं । सिटिजन्स बैंक र म्यानेजमेन्ट एसोसिएसन अफ नेपाल (एमएएन)बीच नेपालमा व्यवस्थापन संकायअन्तर्गत एमबिएमा उत्कृष्टता हासिल गर्ने विद्यार्थीलाई सम्मान गर्ने र प्रोत्साहन दिने उद्देश्यले ‘एमएएन–सिटिजन्स एस्पायरिङ अवार्ड’ स्थापना गर्ने सहमति भएको छ । बिहीबार एमएएनको कार्यालयमा आयोजित एक कार्यक्रमबिच सहमतिपत्रमा बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत गणेशराज पोखरेल र एमएएनका अध्यक्ष मोहनराज ओझाले हस्ताक्षर गरेका हुन् । यो पुरस्कार पूर्वाञ्चल विश्वविद्यालयअन्तर्गत एमबिएमा उत्कृष्टता प्रदर्शन गरेका विद्यार्थीलाई हरेक वर्ष प्रदान गरिने बताइएको छ । पुरस्कारको रकम ५१ हजार रुपैयाँ हुनेछ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड यस पुरस्कारको प्रायोजक हुने र वार्षिक रूपमा पुरस्कारको लागि आवश्यक रकम उपलब्ध गराउने बताइएको छ । सिटिजन्स बैंक, पूर्वाञ्चल विश्वविद्यालय र म्यानेजमेन्ट एसोसिएसन अफ नेपालका पदाधिकारीको समिति गठन गरी उत्कृष्ट विद्यार्थीको चयन गरिनेछ । पुरस्कार हरेक वर्ष माघ महिनामा एमएएनको म्यानेजमेन्ट कन्भेन्सनको अवसरमा प्रदान गरिने बताइएको छ ।

डा. सुधन लम्सालले पाए वर्ल्ड बुक अफ रेकर्डबाट ‘इमिनेन्स अवार्ड’

काठमाडौं । वर्ल्ड बुक अफ रेकर्डले नेपालका डा. सुधन लम्साललाई 'इमिनेन्स अवार्ड' प्रदान गरेको छ । कजाकिस्तानको अल्माटीमा आयोजित विशेष समारोहमा सो अवार्ड प्रदान गर्दै लम्साललाई सम्मान गरेको हो । उनलाई यो सम्मान ज्ञान प्रवर्द्धन, आलोचनात्मक सोचको विकास, र समग्र व्यक्तित्व विकासमा पुर्याएको उल्लेखनीय योगदानको आधारमा प्रदान गरिएको हो । उक्त समारोहमा विभिन्न राष्ट्रका विशिष्ट प्रतिनिधिहरूको उपस्थिति रहेको थियो । जसले कार्यक्रमको अन्तर्राष्ट्रिय महत्वलाई झल्काउने गर्दछ । लण्डन, बेलायतमा मुख्यालय रहेको वर्ल्ड बुक अफ रेकड्र्सले विश्वभर असाधारण उपलब्धी हासिल गरेका व्यक्तित्वहरूलाई सम्मान गर्दै आएको छ । 'इमिनेन्स अवार्ड' उत्कृष्टता प्रदर्शन गर्दै समाजमा सकारात्मक प्रभाव पार्न सफल व्यक्तिहरूलाई प्रदान गरिन्छ । विश्वस्तरको प्रतिष्ठित व्यक्तित्वहरुले पाउने सम्मान नेपालबाट आफुलाई पदान गरेकोमा उनले खुशी व्यक्त गरे । नेपालको शिक्षाक्षेत्र तथा युवा विकासमा रहेको अग्रणी भूमिकालाई अन्तर्राष्ट्रिय स्तरमा उजागर गर्न पाउनु नै गर्वको कुरा रहेको उनी बताउँछन् । जापान, इजिप्ट, दुवै, टर्की, सिंगापुर, मलेसिया, थाइल्याण्ड, चीन, काजकिस्तान लगायतका देशहरुमा गएर उनले थुप्रै तालिम र कार्यशालाहरू सञ्चालन गरिसकेका छन्, जसमा शिक्षा, कर्पोरेट, र अन्तर्राष्ट्रिय संस्थाहरू समावेश छन् । लम्साल एक प्रतिष्ठित कार्यक्रम, तालिम र संचार निर्देशक पनि हुन् । उनले इमोशनल इंटेलिजेन्स, एप्रिसिएटिव इन्क्वायरी, पर्सनालिटी डेवलपमेन्ट, क्यारियर काउन्सिलिङ, र जीवनको दृष्टिकोण व्यवस्थापनसम्बन्धी युवा प्रोत्साहन कार्यक्रमहरू गर्दै आएका छन् । उनी विभिन्न प्रवृत्तिका कार्यक्रमहरू डिजाइन गर्दै सामुदायिक विद्यालय र नेतृत्व प्रशिक्षण कार्यशालाहरू, जसले आधुनिक शिक्षा प्रणालीलाई प्रवर्द्धन गर्दै युवा सशक्तिकरणको लागि नयाँ दृष्टिकोण ल्याउनको लागि काम गर्दैछन् । डा. लम्सालको उपलब्धि समर्पण, सृजनशीलता र उत्कृष्टताको प्रेरणादायी प्रतीक बन्न पुगेको छ ।

महालक्ष्मी विकास बैंककाे ‘स्क्यान टु क्यास’ सेवा सुरु, डिजिटल भुक्तानीमा नयाँ आयाम

काठमाडौं । महालक्ष्मी विकास बैंक लिमिटेडले नेपालमा पहिलो पटक विकास बैंकको हैसियतमा ‘स्क्यान टु क्यास’ सेवा सुरु गरेको छ । फोन पेको सहकार्यमा सञ्चालनमा ल्याइएको यस सुविधामार्फत ग्राहकहरूले कुनै पनि बैंकको मोबाइल बैंकिङ्ग एप प्रयोग गरेर टेलर काउन्टरमा क्यूआर स्क्यान गरेर नगद निकाल्न सक्ने छन् । सेवाको प्रारम्भिक चरणमा दरबारमार्ग र थापाथली शाखाबाट सुरू गरिएको यो सेवा छिट्टै देशभरका शाखाहरूमा विस्तार गरिने बैंकले जनाएको छ । यस सुविधाले परम्परागत चेक वा एटीएम कार्ड प्रयोगको झन्झट हटाउने र नगद झिक्ने प्रक्रियालाई अझ सहज र डिजिटल बनाउने विश्वास बैंकले लिएको छ । डिजिटल बैंकिङ्गमा अग्रसर महालक्ष्मी विकास बैंकले यसअघि नेपाल क्लियरिङ हाउस लिमिटेडको सहकार्यमा अलिपे प्लस नेटवर्कमार्फत क्रस(बोर्डर क्यूआर भुक्तानी सेवा पनि सुरु गरिसकेको छ । यस सेवामार्फत चीन, सिंगापुर, दक्षिण कोरिया लगायतबाट आएका पर्यटकहरूले नेपालमा नेपालपे क्यूआर स्क्यान गरी आफ्नै देशको डिजिटल वालेटमार्फत सजिलै भुक्तानी गर्न सक्ने छन् । ग्राहक अनुभवलाई थप सहज बनाउन बैंकले 'महालक्ष्मी स्मार्ट साथी' मोबाइल एप्लिकेसन पनि सार्वजनिक गरिसकेको छ । जसले डिजिटल बैंकिङ्ग सेवामा नयाँ परिष्कार ल्याएको छ ।

औद्योगिक विकास र रोजगारीमा टेवा : कपिलवस्तुमा एसियन थाई फुड्सको दोस्रो युनिट

काठमाडौं । एसियन थाई फुड्सले लुम्बिनी प्रदेशको कपिलवस्तु नगरपालिका–६, गोबरी रामनगरमा दोस्रो उत्पादन युनिट सञ्चालनमा ल्याएको छ । बुधवार आयोजित विशेष समारोहमा जाजु ग्रुपका अध्यक्ष तथा कम्पनीका प्रबन्ध निर्देशक महेश जाजुले वैदिक विधिअनुसार पूजा गर्दै उक्त युनिटको औपचारिक शुभारम्भ गरे । यसअघि मोरङको विराटनगरमा पहिलो युनिट स्थापना गरिसकेको कम्पनीले दुई दशकको सफल अनुभवलाई आधार बनाएर कपिलवस्तुमा दोस्रो युनिट स्थापना गरेको हो । नयाँ युनिटबाट ‘प्रीति’, ‘टुपीएम’, ‘रमपम’ लगायतका लोकप्रिय चाउचाउ ब्रान्डका उत्पादन सुरु गरिने छ । साथै, केही नयाँ ब्रान्ड पनि उत्पादनमा ल्याउने योजना कम्पनीले सार्वजनिक गरेको छ । उत्पादन सामग्री भारतसहित तेस्रो मुलुकमा निर्यात गरिनेछ । सुरुआती चरणमा चाउचाउ उत्पादन केन्द्रित भए पनि आगामी दिनमा अन्य स्न्याक्स उत्पादन लाइनहरू थप्ने तयारी कम्पनीको रहेको छ । करिब अढाई बिघा क्षेत्रफलमा फैलिएको यस युनिटले लुम्बिनी प्रदेशमा रोजगारी सिर्जना र औद्योगिक विकासमा महत्वपूर्ण योगदान पुर्‍याउने अपेक्षा गरिएको छ ।