विकासन्युज

निजी क्षेत्र र सरकारबीच सहकार्य गरेर अघि बढ्नु पर्छ : अध्यक्ष ढकाल

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले सरकारले कानूनहरुमा सुधार गरेर लगानीमैत्री वातावरण सिर्जना गर्न खोज्नु आवश्यक रहेको बताएका छन् । ललितपुर उद्योग वाणिज्य संघको ५८ औं स्थापना दिवसको अवसरमा बोल्दै उनले सरकारले कानून संशोधन गरेर लगानीको वातावरण सिर्जना गरेको बताउँदै अब कार्यविधिहरु ल्याउन ढिला गर्न नहुने बताए । उनले निजी क्षेत्रले राखेका मागहरु कानून संशोधन गरेर सरकारले सम्बोधन गरेकोमा धन्यवाद दिए । सरकारले कानून परिवर्तन गरेर आन्तरिक र वाह्य लगानीको वातावरण सिर्जना गरेको बताए । निजी क्षेत्र र सरकारबीच एक अर्काबीच दोषारोपण गर्ने परिपाटी हुन नहुने बताउँदै उनले निजी क्षेत्र र सरकारबीच सहकार्य गरेर अघि बढ्नु जरुरीमा जोड दिए । ‘हामीले राखेका धेरै मागहरु सरकारले कानून संशोधन गरेर सम्बोधन गरेको छ । कानून परिवर्तन गरेर आन्तरीक, बाह्य लगानीको वातावरण सिर्जना गर्ने काम सरकारले गरेको छ । यो माग धेरै पहिलादेखि निजी क्षेत्रले गरेको थियो, ’ उनले भने । स्रोतलाई एकै ठाउँमा राखेर उपयोग गर्नसके राम्रो प्रतिफल आउनसक्ने उनको भनाइ छ ।

मुद्दा फैसलामा प्राधिकरणको सुस्तता, एक हजारभन्दा बढी मुद्दाको लागेन किनारा

काठमाडौं । बीमा क्षेत्रको नियामक निकाय नेपाल बीमा प्राधिकरणमा बीमा कम्पनीले दिने सुविधामा असन्तुष्टि जनाउँदै उजुरी दिने बीमितको संख्या वार्षिक रूपमा बढ्दै गएको छ । प्राधिकरणको तथ्यांकअनुसार पछिल्लो ६ आर्थिक वर्ष अर्थात आव २०७५/७६ देखि आव २०८०/८१ सम्ममा १ हजार ८०४ कुल उजुरी दर्ता भएको छ । प्राधिकरणले समयमै उजुरीको सम्बोधन नगर्दा वार्षिक उजुरीको संख्यासमेत बढ्दै गएको हो । ६ आर्थिक वर्षमा प्राधिकरणमा बीमितले दिने उजुरीको संख्या १३३ प्रतिशतले बढेको तथ्यांकमा देखिन्छ । तथ्यांकअनुसार आव २०७५/७६ मा १८७ उजुरी दर्ता भएकोमा आव २०८०/८१ मा उजुरी दर्ताको संख्या बढेर ४३७ वटा पुगेको छ । दर्ता भएका कुल उजुरीमध्ये ७२० वटा मुद्दाको फैसला भएको छ भने १ हजार ८४ मुद्दाको अझै फैसला हुन बाँकी छ । कुन वर्ष कति उजुरी परे ? आव २०८०/८१ प्राधिकरणमा जम्मा उजुरी संख्या ४३७ वटा रहेको थियो, जसमध्ये उक्त आवमा मात्रै २४४ वटा नयाँ उजुरी दर्ता भएको देखिन्छ । २४४ वटा उजुरीमध्ये पनि १५९ वटा निवेदन केन्द्रीय कार्यालय र ८५ वटा प्रादेशिक कार्यालयमा दर्ता भएका उजुरी हुन् । पहिलेको वर्षको बाँकी निवेदन १९२ वटा थियो । यसरी कुल उजुरीमध्ये १५० वटा मुद्दाको फैसला भइसकेको छ । १५० वटा मुद्दामध्ये १०१ वटा फैसलाबाट र ४९ वटा मध्यस्थताबाट सहमति भएकोे हो । २८७ मुद्दा भने हेर्न बाँकी रहेको र त्यो मुद्दा चालु आव २०८१/८२ मा सरेको प्राधिकरणले जनाएको छ । आव २०७५/७६ मा बीमा प्राधिकरणमा १८७ वटा निवेदन दर्ता भएको देखिन्छ । जसमध्ये ८३ वटा मुद्दा पुरानो निवेदन, ४ वटा पुनरावेदनबाट आएको र बाँकी एक सय निवेदन सोही वर्षमा दर्ता भएको थियो । प्राधिकरणमा बीमितले दर्ता गरेका कुल उजुरीमध्ये ८५ वटाको मात्रै फैसला भएको छ । १०१ उजुरीको भने उक्त वर्षमा फैसला हुन सकेनन् । आव २०७६/७७ मा १८७ वटा कुल निवेदनमध्ये १२६ नयाँ निवेदन दर्ता भएको देखिन्छ भने १०१ वटा निवेदन पुरानो निवदेन हो । उक्त आवमा कुल उजुरीमध्ये ९१ वटा उजुरीको फैसला भएको थियो । १३५ वटा उजुरीको सो वर्ष फैसला हुन सकेन । त्यस्तै, आव २०७७/७८ मा दर्ता भएको कुल २७३ उजुरीमध्ये ९३ उजुरीको फैसला भएको छ । आव २०७८/७९ मा दर्ता भएको ३३८ उजुरीमध्ये १५२ र आव २०७९/८० मा ३४१ उजुरीमध्ये १४९ वटा उजुरीको फैसला भएको प्राधिकरणको तथ्यांक छ । प्राधिकरणमा दर्ता भएको दर्ता उजुरीसम्बन्धी विवरण निर्जीवन बीमाविरुद्ध उजुरी धेरै फैसला हुन नसकेर हरेक वर्ष थाँती रहँदै आएका धेरैजसो उजुरीहरू निर्जीवन बीमा कम्पनीसँग सम्बन्धित रहेका छन् । बीमा दाबी भुक्तानीमा बीमकले समयमै भुक्तानी नगर्ने, कम भुक्तानी दिने गरेपछि बीमितले कम्पनीविरुद्ध उजुरी दिने गरेको पाइएको छ । प्राधिकरणका सूचना अधिकारी निर्मल अधिकारी समयमै दाबी भुक्तानी भएन भन्दै बढीजसो उजुरी आउने गरेको बताउँछन् । ‘समयमै दाबी भुक्तानी भएन भन्दै उजुरी आउने गरेको छ । साथै भुक्तानी भएतापनि दाबीभन्दा कम भुक्तानी दियो भनेर पनि गुनासो आउने गरेको छ,’ उनले भने । यसबाहेक सर्भेयरले झुठो विवरण दिएको, अभिकर्ताले सुरुमा बीमा गरेपछि डबल रकम फिर्ता हुन्छ भनेर गरेपछि पाउने बेला पाइएनन भनेर पनि उजुरी आउने गरेको उनले बताए । प्राधिकरणका सूचना अधिकारी अधिकारीले प्राधिकरणमा आउने उजुरीहरूलाई सकेसम्म छिट्टै नै सम्बोधन हुने गरी काम गर्दै आएको बताए । उनले भने, ‘प्राधिकरणमा उजुरीको संख्या बढ्दै गएसँगै हामीले पनि उजुरीउपर कारबाही प्रक्रियालाई तीव्रता दिँदै आएका छौं । पुरानो उजुरी फैसलामा केही ढिलाइ भएपनि यसमा छिटो हुने गरी काम गर्ने हाम्रो प्रयास जारी छ ।’ प्राधिकरणमै इजलास सञ्चालन हुँदै प्राधिकरणमा उजुरीको चाप बढ्दै गएसँगै त्यसलाई थप व्यवस्थित बनाउने भन्दै प्राधिकरणले आगामी वैशाख १ गतेदेखि इजलास सुरु गर्ने भएको छ । प्राधिकरणमा यो सेवा सुरु भएसँगै बीमितले छिटो र प्रभावकारी रूपमा सेवा पाउने विश्वास प्राधिकरणले लिएको छ । इजलाश सञ्चालनको लागि आवश्यक तयारीसमेत प्राधिकरणले गर्दैछ । प्राधिकरणको केन्द्रीय कार्यालय भवनमा बीमा दाबी सम्बन्धी उजूरीहरूको सुनुवाई गर्ने प्रयोजनका लागि इजलाश सञ्चालन गरिने प्राधिकरणका सूचना अधिकारी अधिकारीले जानकारी दिए । यसअघि बैठक कक्षमा सञ्चालक समितिको बैठकलाई इजलाशकै रूपमा सञ्चालन गर्दै मुद्दाको छिनोफानो हुँदै आएको थियो । प्राधिकरण सञ्चालक समितिको बैठकले प्राधिकरणमा दायर भएका बीमा दाबी उजुरीहरूको हकमा साप्ताहिक तथा अन्य पेशी सूची र निर्णयहरू प्राधिकरणको वेबसाइटमार्फत प्रकाशन गर्न समेत व्यवस्थापनलाई निर्देशन दिने निर्णय गरेको छ । प्राधिकरणका अनुसार यो निर्णय भएसँगै अब बीमितले अनलाइनबाटै आफ्नो मुद्दाको पालो कहिले आउनेछ भनेर सहजै पत्ता लगाउन सक्नेछन् ।

राष्ट्रिय वाणिज्य बैंकको नयाँ अभियान सार्वजनिक, आईफोन १६ जित्ने मौका

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकले ‘टपअप र फोनपे डाइरेक्ट गरौं बम्पर उपहार जितौं’ भन्ने अभियान सार्वजनिक गरेको छ । यस अभियानअन्तर्गत ग्राहकहरूले आकर्षक उपहारहरू जित्ने अवसर पाउनुका साथै बम्पर उपहार आईफोन १६ प्राप्त गर्न सक्नेछन् । यस अभियानको मुख्य उद्देश्य राष्ट्रिय वाणिज्य बैंकको ग्राहकहरूलाई डिजिटल कारोबार गर्न प्रेरित गर्नु हाे । बैंकले मोबाइल टपअप र फोनपे डाइरेक्ट कारोबारलाई प्रवर्द्धन गर्दै डिजिटल बैंकिङलाई सहज र सजिलो बनाउन चाहन्छ । यस अभियानमा सहभागी हुन ग्राहकहरूले आरबीबी डिजिटल संसार मोबाइल बैंकिङ एपमार्फत कम्तीमा १०० को मोबाइल टपअप र कम्तीमा ५०० को फोनपे डाइरेक्ट कारोबार गर्नुपर्ने बैंकले जनाएको छ । यी कारोबार पूरा गर्ने ग्राहकहरू साप्ताहिक तथा बम्पर उपहारका लागि योग्य बन्न सक्छन् । यस अभियान अन्तर्गत हरेक हप्ता १०० जना भाग्यशाली विजेताले १०० को मोबाइल टपअप प्राप्त गर्नेछन् । त्यसैगरी अभियानको अन्त्यमा एक भाग्यशाली ग्राहकलाई नयाँ आईफोन १६ प्रदान गरिनेछ । यो अभियान चैत्र १ गते देखि चैत्र ३१ गते सम्म सञ्चालन हुने बैंकले जनाएको छ ।

भावनामा बगेर दोहोरो नागरिकता दिनु हुँदैन : सञ्चारमन्त्री

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले नेपालले भावनामा बगेर दोहोरो नागरिकतालाई स्वीकार नगरेको बताएका छन् । सोमबार प्रतिनिधि सभामा ‘सुशासन प्रवद्र्धन तथा सार्वजनिक सेवा प्रवाह सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक –२०८१’ माथि भएको छलफलमा सांसदहरुले राखेको सुझावका विषयमा जवाफ दिँदै उनले यस्तो बताएका हुन् । उनले गैरआवासीय नेपालीलाई नेपाली नागरिकभन्दा फरक तर सहुलियत नागरिकता दिने व्यवस्था गरेको बताए । नेपाली नागरिकता त्याग गर्न नचाहने गैरआवासीय नेपाली मुलका व्यक्तिलाई मात्रै गैरआवासीय नेपाली नागरिकता दिने व्यवस्था गरिएको उनको भनाइ छ । ‘भावनामा नडुबीकन नेपालले अहिलेसम्म दोहोरो नागरिकताको प्रावधानलाई स्वीकारेको छैन नेपाल राज्यले । त्यसकारण हामीले के नबुझौ भने गैरआवासीय नागरिकता प्राप्त व्यक्ति भनेर किन भन्नु परेको ? यो कुरा तपाई हामी यहाँ बसेका सबै माननीय न्यूहरु हुनुहुन्छ, उहाँहरुले प्राप्त गरेको नागरिकता हामीले प्राप्त गरेको जस्तो जनरल होइन, ’ उनले भने । सञ्चारमन्त्री गुरुङले विदेशमा बसेको नेपाली मुलका नेपाली नागरिकलाई दुई वर्षका लागि भिसा सहुलियत दिने व्यवस्था गरिएको बताए ।

ग्लोबल मनी विकको अवसरमा वित्तीय साक्षरता कार्यक्रमको आयोजना

काठमाडौं । ग्लोबल मनी विक, २०२५ को १३ औं श्रृङ्खला सोमबारदेखि सुरु भएको छ । बालबालिका र युवामा वित्तीय साक्षरता अभिवृद्धि गर्ने उद्देश्यका साथ अग्रनाइजेशन अफ इकोनमिक कोपरेशन एण्ड डेभलपमेन्ट को संयोजनमा हरेक वर्ष मार्च १७ देखि २३ सम्म ‘ग्लोबल मनी विक’ मनाउने गरिएको छ । ‘थिङ्क बिफोर फलो, वाइज मनी टुमरो’ भन्ने नाराका साथ ग्लोबल मनी विक, २०२५ को पहिलो दिन आज नेपाल राष्ट्र बैंक, नेपाल धितोपत्र बोर्डका साथै बीमा प्राधिकरणले वित्तीय साक्षरतासम्बन्धी प्रभातफेरि कार्यक्रम आयोजना गरिएको छ । कार्यक्रममा नेपाल बीमा प्राधिकरणका कार्यकारी निर्देशक सुशीलदेव सुवेदीले पैसाको महत्त्व, बचत र सदुपयोग लगायतका विषयमा आमरूपमा जानकारी दिनका लागि गाउँगाउँमा वित्तीय साक्षरता फैलाउनु आवश्यक रहेको र त्यसका लागि सहकार्य गर्न प्राधिकरण तयार रहेको बताए । कार्यकारी निर्देशक सुवेदीले ग्लोबल मनी विक, २०२५ मनाउने क्रममा नेपाल बीमा प्राधिकरणको केन्द्रीय कार्यालय र प्रादेशिक कार्यालयहरूबाट विद्यालयस्तरमा वित्तीय साक्षरता सम्बन्धी कार्यक्रमहरू आयोजना गर्नेे र विद्युतीय माध्यमबाट पनि वित्तीय साक्षरता सम्बन्धी जानकारीमूलक कार्यक्रमहरू सञ्चालन गर्ने जानकारी दिए । कार्यक्रममा नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक तुलसी प्रसाद घिमिरे, नेपाल धितोपत्र बोर्डका कार्यकारी निर्देशक डा. नवराज अधिकारी लगायतका वक्ताहरूको पैसाको महत्त्व, बचत, सदुपयोग, सही लगानी र ठगी नियन्त्रण लगायतका बारेमा बालबालिका तथा युवालाई सुरुदेखि नै जानकारी दिनुपर्ने बताए । समाजमा हरेकस्तरमा वित्तीय साक्षरता तथा ज्ञान अभिवृद्धिका लागि सम्वद्ध सबै निकायहरूबीच सहकार्यको आवश्यकता उनीहरुले औंल्याएका थिए । कार्यक्रममा नेपाल राष्ट्र बैंक, नेपाल बीमा प्राधिकरण र नेपाल धितोपत्र बोर्डका पदाधिकारी तथा कर्मचारीहरूका साथै नेपाल स्टक एक्सचेञ्ज, नेपाल स्टक ब्रोकर्स एसोसिएसन लगायत वित्तीय क्षेत्रका विभिन्न संस्थाका पदाधिकारी तथा कर्मचारीहरूको सहभागिता रहेको थियो ।

ट्रिप टर्बाको प्ले स्टोरमा १ लाख डाउनलोड पुरा, विशेष अफर र गिभअवे घोषणा

ललितपुर । ट्रिप टर्बोले आफ्नो मोबाइल एप्लिकेशनले गुगल प्ले स्टोरमा १ लाखभन्दा बढी डाउनलोड पार गरेको घोषणा गरेको छ । २०८१ भदौ १६ मा आधिकारिक रूपमा लन्च भएको यो एपले मात्र पाँच महिनामा यो उपलब्धि हासिल गरेको हो । यस महत्त्वपूर्ण उपलब्धिको उत्सवस्वरूप ट्रिप टर्बोले ‘ट्रिप टर्बाे हन्ड्रेड के अफर’ क्याम्पेन सुरु गरेको छ, जसमा भाग्यशाली विजेताहरूले रोमाञ्चक गिभअवेहरू जित्न सक्छन् । ट्रिप टर्बाेका अनुसार दुई भाग्यशाली विजेताका लागि दुईवटा निःशुल्क एकतर्फी आन्तरिक उडान पाउनेछन् । एक भाग्यशाली ग्राहकका लागि पोखरामा रु. ११ हजार बराबरको हट एयर बेलुन राइड गर्न सक्नेछन् । यसैगरी, उप्स नेपालबाट दुईवटा गिफ्ट कार्ड (प्रत्येक ५ हजार रुपैयाँको) पाइने कम्पनीले जनाएकाे छ । त्यस्तै, आन्तरिक उडान र विभिन्न एड्भेन्चर एक्टिभिटीहरूमा एक लाखभन्दा बढी बराबरको छुट र प्रोमो कोड पनि पाइने जनाइएकाे छ । ट्रिप टर्बोका संस्थापक शिखर प्रसाईंले एक लाख डाउनलाेड पुगेकाेमा खुसी व्यक्त गर्दै ग्राहकलाई उत्कृष्ट सेवा दिने प्रतिबद्धता जनाए । याे अफर २०८१ चैत्र २ देखि चैत १८ (२०२५ मार्च १५ – मार्च ३१) सम्म सञ्चालन हुनेछ । यस अवधिमा ट्रिप टर्बो एप वा वेबसाइटमार्फत कुनै पनि उडान, बस वा एक्टिभिटी बुक गर्ने ग्राहकहरू स्वतः गिभअवेमा समावेश हुनेछन् । ट्रिप टर्बो प्रयोगकर्ताहरूका लागि विशेष अफर नियमित प्रयोगकर्ताहरूका लागि २० हजार ट्रिप टर्बोको लोयल्टी पोइन्टस् प्रयोग गरी कुनै पनि आन्तरिक उडानमा ५०० रुपैयाँ छुट पाउने प्रोमो कोड प्राप्त गर्न सकिन्छ । यो अफर सीमित संख्यामा मात्र उपलब्ध हुनेछ । पहिलो पटक उडान बुक गर्ने ग्राहकहरूका लागि प्रोमो कोड प्रयोग गरी पहिलो उडान बुकिङमा २०० रुपैयाँ छुट प्राप्त गर्न सकिन्छ । सबै प्रयोगकर्ताहरूका लागि अफर अवधिभर प्रत्येक उडान बुकिङमा प्रोमो कोड प्रयोग गरी १५० रुपैयाँ छुट पाउन सकिन्छ । पहिलो पटक बस टिकट काट्ने यात्रुहरूले प्रोमो कोड प्रयोग गरी पहिलो बस टिकटमा ५० रुपैयाँ छुट पाउन सक्नेछन् । एड्भेन्चर गतिविधिमा डिस्काउन्ट रोमाञ्चक गतिविधिहरूमा ५० प्रतिशत वा ६ हजारसम्मको छुट पाउन सकिनेछ, साथै प्रोमो कोड प्रयोग गरी थप बचत गर्न सकिन्छ । लोकप्रिय एक्टिभिटीहरूमा १ हजार ४५० सम्मको छुट छ । यसमा प्याराग्लाइडिङ, बन्जी, स्काइ साइकलिङ, क्यानोनिङ, स्विङ, हट एयर बेलुन, र एटिभी (क्वाड बाइक) टूर रहेका छन् । यससँगै ट्रिप टर्बोका नियमित ग्राहकहरूका लागि ५ हजार ट्रिप टर्बाेकाे काेइन्स प्रयोग गरेर १ हजार ४०० सम्मको विशेष छुट प्राप्त गर्न सकिनेछ । यो छुट हाईग्राउन्ड एड्भेन्चर्स (पोखरा) को शावर बन्जी, हट एयर बेलुन (पोखरा), द क्लिफ (कुश्मा, पर्वत) को बन्जी, द बन्जी नेपाल (पोखरा) को बन्जी, हाईग्राउन्ड एड्भेन्चर्स (पोखरा) को एटीभी (क्वाड बाइक) टुर, र एडभान्स प्याराग्लाइडिङ (पोखरा) को प्याराग्लाइडिङमा उपलब्ध छ । यो अफर २०८१ चैत १८ (मार्च ३१, २०२५) सम्म मान्य हुनेछ । ट्रिप टर्बो नेपालको सबैभन्दा ठूलो अनलाइन ट्राभल मार्केटप्लेस हो । सन् २०२१ मा स्थापना भएको ट्रिप टर्बोले आधिकारिक रूपमा सन् २०२४ को सेप्टेम्बरमा ट्राभल मेला क्यामपेनमार्फत आफ्नो मोबाइल एप लन्च गरेको थियो । एन्ड्रोइड, आईओएस, र वेबमा उपलब्ध ट्रिप टर्बोले आन्तरिक तथा अन्तर्राष्ट्रिय उडान टिकट, बस टिकट, २००+ इनडोर र आउटडोर एक्टिभिटीहरू र ओभरनाइट स्टे सेवा प्रदान गर्दछ ।

‘एनसेल फर बिजनेस बाह्रखरी गल्फ तथा आर्थिक परिसंवाद’ चैत्र २३ मा हुने

काठमाडौं । ‘एनसेल फर बिजनेस बाह्रखरी गल्फ तथा आर्थिक परिसंवाद’ चैत्र २३ गते काठमाडौंमा हुने भएको छ । सोमबार काठमाडौंमा बाह्रखरी मिडियाले पत्रकार सम्मेलन गरेर यसबारेमा जानकारी गराएको हो । चैत्र २३ गते काठमाडौंको गोकर्ण फरेस्ट रिसोर्टको गल्फ कोर्समा प्रतियोगिता हुने बताइएको छ । व्यावसायिक र आर्थिक क्षेत्रका अग्रणीलाई गल्फ खेलमा प्रष्स्पिर्धा गराउँदै देशको आर्थिक अभिवृद्धिका लागि वैचारिक बहसमा संलग्न गराउने उद्देश्यका साथ बाह्रखरी मिडियाले वार्षिक रूपमा आयोजना गर्दै आएको ‘कर्पोरेट गल्फ’ प्रतियोगिता यस वर्ष आठौं संस्करणमा प्रवेश गरेको जनाएको छ । गल्फ खेललाई समृद्धहरूको मनोरञ्जनको माध्यम मात्र नबनाएर यस खेलमा बढीभन्दा बढी व्यावसायिक व्यक्तित्वको प्रतिनिधित्व बढाउने र सोही समूहले देशका राजनीतिक, सामाजिक र नीतिगत नेतृत्व तहमा रहेकाहरूसँग अर्थतन्त्रको चिन्तन गर्ने ‘एनसेल फर बिजनेस बाह्रखरी गल्फ तथा इकोनोमिक सिम्पोजियम’ चैत २३ गते काठमाडौंको गोकर्ण फरेस्ट रिसोर्टमा सम्पन्न हुने जानकारी आयोजकले दिएको छ । कार्यक्रममा स्वदेशी तथा विदेशी गरी करिव १ सय २० जना कर्पोरेट गल्फरको सहभागिता रहने बताइएको छ । भारत, अमेरिका, चीन, सिंगापुर, श्रीलंकाका गल्फरले पनि प्रतियोगितामा सहभागिता जनाउनेछन् । साथै नेपालस्थित विदेशी नियोगका प्रतिनिधि पनि गल्फ प्रतियोगितामा सहभागी हुने आयोजकको भनाइ छ । काठमाडौंसहित पोखरा, धरान, चितवन, बुटवल, नेपालगञ्जलगायत क्षेत्रका कर्पोरेट गल्फर, न्यायाधीश र केही सरकारी उच्च अधिकारीले पनि प्रतियोगितामा सहभागिता जनाउने पनि आयोजकको विश्वास छ । कर्पोरेट गल्फ प्रतियोगिताको उद्घाटन बिहान ८ बजे हुने र गल्फ प्रतियोगितालगत्तै प्रधानमन्त्री केपी शर्मा ओलीले ‘आर्थिक परिसंवाद’मा विशेष सम्बोधन गर्ने कार्यक्रम तय भएको बताइएको छ ।

भ्रष्टाचारीको सम्पती छानविन गरी राष्ट्रियकरण गरौँ : जनार्दन शर्मा

काठमाडौं । नेकपा (माओवादी केन्द्र) का उपमहासचिव जनार्दन शर्माले मुलुकमा सुशासन स्थापित गर्न सामाजिक र सांस्कृति अभियान सञ्चालन गर्नुपर्ने बताएका छन् । सुशासन प्रवद्र्धन तथा सार्वजनिक सेवा प्रवाह सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक –२०८१ माथि छलफलमा भाग लिदै उनले यस्तो बताएका हु्न् । उनले सुशासनको लागि नेतृत्वले जनताको विश्वास जित्नु पर्ने बताए । भ्रष्टाचारमा सम्लग्न भएका राजनीतिक नेतृत्वको सम्पती छानविन गरेर राष्ट्रियकरण गर्नुपर्ने बताए । संवैधानिक आयोगहरुले गर्ने काम कारबाही पारदर्शी हुनेपर्ने उनको भनाइ छ । उनले भने, ‘सुशासनयुक्त छैन आजको हाम्रो अभ्यास, कुसाशनतिर नै बढी गएको छ । त्यसकारण सुशासनका लागि पहिला हामीले जनताको विश्वास आर्जन गर्नु जरुरी छ । हाम्रा संवैधानिक आयोगहरुले गर्ने कामहरु जनताका लागि पारिदर्शिता होउन्, जनताले स्वीकार गर्ने होउन् ।’ उपमहासचिव शर्माले नेतृत्वलाई खबरदारी गर्दै जनताको निर्देशनमा चल्नसक्ने साशन प्रणाली र संस्कारको आवश्यक भएको बताए । कानुनमा भएका दोहोरो अर्थ लाग्ने विषयलाई संशोधन गर्नुपर्ने उनको भनाइ छ ।