विद्युत आपूर्तिका सम्बन्धमा उद्योग संगठन मोरङको ध्यानाकर्षण
काठमाडौं । उद्योगमा दैनिक १२ घण्टा लोडसेडिङ हुने भएपछि उद्योग संगठन मोरङले आपत्ति जनाएको छ । नेपाल विद्युत प्राधिकरणले भारतबाट आयात हुने विद्युत आपूर्तिमा भएको कटौतीको कारण १२ घण्टासम्म लोडसेडिङ हुने जानकारी गराएसँगै उद्योग संगठन मोरङले ध्यानाकर्षण भएको विज्ञप्ति जारी गरेको छ । प्राधिकरणले भारतबाट आयात हुँदै आएको विद्युत बेलुका ६ बजेदेखि बिहान ६ बजेसम्म पूर्ण रूपमा कटौती गर्ने (सोलार विद्युत मात्र उपलब्ध गराउने) भन्दै लोडसेडिङ हुने जानकारी गराएको हो । उद्योग संगठन मोरङले गत पुस महिनादेखि नै अघोषित रूपमा दैनिक ४–६ घण्टा विद्युत आपूर्तिको समस्या झेलिरहेको भन्दै यस समस्याको समाधान खोज्न आग्रह गरेको छ । ‘विगत पाँच सात वर्षदेखि नै हरेक वर्ष सुख्खायाममा विद्युत आपूर्ति अवरुद्ध हुँदा संगठनले सशक्त आवाज उठाइरहेको र सम्बद्ध पक्षबाट ट्रान्समिसन लाइन निर्माण भइसकेकोले चाँडै यस प्रकारको विद्युत आपूर्तिमा अवरोध नहुने आश्वासन दिइरहेको थियो,’ संगटनले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘तर हाल भारतबाट आयात कटौती भइ विद्युत आपूर्ति अवरुद्ध हुने जस्तो कुराले उद्योगी व्यवसायीहरूलाई आश्चर्यचकित मात्र नबनाइ विद्युत आपूर्तिको दीर्घकालीन व्यवस्थापन गरी समस्या समाधानका लागि कुनै ठोस पहल र प्रयास नभएकोमा चिन्तित समेत तुल्याएको छ ।’ उद्योगीहरूले ६ देखि १२ घण्टासम्म विद्युत आपूर्ति पूर्ण रूपमा बन्द गर्ने विषयले आफूहरू अन्योलमा परेको बताएका छन् । ‘बजारमा कहिले तरलता अभाव, कहिले ब्याज वृद्धि, आर्थिक संकुचन एवं कहिले झ्याप्प कसिलो त कहिले खुकुलो गर्ने नीतिगत अस्थिरताको चपेटामा परेको नेपालको औद्योगिक क्षेत्र हाल आएर पर्याप्त भनिएको विद्युत जस्तो आधारभूत तथा संवेदनशिल स्रोतको उपलब्धतामा समेत आयातमा आश्रित हुनु पर्ने अवस्थाले अन्योलता बढेको छ,’ विज्ञप्तिमा भनिएको छ । आफ्नै मुलुकमा प्रचुर मात्रामा रहेको जलस्रोतको धनी देश हुँदाहुँदै पनि दीर्घकालीन सोच, आत्मनिर्भरता प्रतिको ठोस कार्य नगर्दा औद्योगिक क्षेत्र प्रताडित बनेको उनीहरुको भनाइ छ । विद्युत आपूर्तिमा सुख्खायाममा हरेक वर्ष नै यो तहको विकराल समस्या थाहा हुँदाहुँदै पनि ठोस योजना नबनाइएको गुनासो व्यवसायीहरूको छ ।
यस्तो छ बुधबारका लागि विदेशी मुद्राको विनिमयदर
काठमाडौं । नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार आज अमेरिकी डलर एकको खरिददर १३८ रूपैयाँ २२ पैसा र बिक्रीदर १३९ रूपैयाँ ८२ पैसा कायम भएको छ । युरोपियन युरो एकको खरिददर १५१ रूपैयाँ १२ पैसा र बिक्रीदर १५१ रूपैयाँ ७८ पैसा, युके पाउन्ड स्टर्लिङ एकको खरिददर १७९ रूपैयाँ ४९ पैसा र बिक्रीदर १८० रूपैयाँ २७ पैसा, स्विस फ्र्याङ्क एकको खरिददर १५७ रूपैयाँ १७ पैसा र बिक्रीदर १५७ रूपैयाँ ८५ पैसा कायम गरिएको छ । अष्ट्रेलियन डलर एकको खरिददर ८८ रूपैयाँ ०५ पैसा र बिक्रीदर ८८ रूपैयाँ ४३ , क्यानेडियन डलर एकको खरिददर ९६ रूपैयाँ ७५ पैसा र बिक्रीदर ९७ रूपैयाँ १७ पैसा, सिङ्गापुर डलर एकको खरिददर १०३ रूपैयाँ ८० पैसा र बिक्रीदर १०४ रूपैयाँ २५ पैसा निर्धारण गरिएको छ । यस्तै, जापानी येन १० को खरिददर नौ रूपैयाँ २३ पैसा र बिक्रीदर नौ रूपैयाँ २८ पैसा, चिनियाँ युआन एकको खरिददर १९ रूपैयाँ १३ पैसा र बिक्रीदर १९ रूपैयाँ २१ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३६ रूपैयाँ ८५ पैसा र बिक्रीदर ३७ रूपैयाँ ०१ पैसा, कतारी रियाल एकको खरिददर ३७ रूपैयाँ ९२ पैसा र बिक्रीदर ३८ रूपैयाँ ०८ पैसा कायम भएको छ । केन्द्रीय बैङ्कका अनुसार थाई भाट एकको खरिददर चार रूपैयाँ १२ पैसा र बिक्रीदर चार रूपैयाँ १३ पैसा, युएई दिराम एकको खरिददर ३७ रूपैयाँ ६३ पैसा र बिक्रीदर ३७ रूपैयाँ ८० पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३१ रूपैयाँ १० पैसा र बिक्रीदर ३१ रूपैयाँ २३ पैसा, साउथ कोरियन वन १०० को खरिददर नौ रूपैयाँ ५२ पैसा र बिक्रीदर नौ रूपैयाँ ५६ पैसा, स्विडिस क्रोनर एकको खरिददर १३ रूपैयाँ ७२ पैसा र बिक्रीदर १३ रूपैयाँ ७८ पैसा र डेनिस क्रोनर एकको खरिददर २० रूपैयाँ २६ पैसा र बिक्रीदर २० रूपैयाँ ३४ पैसा तोकिएको छ । राष्ट्र बैङ्कले हङकङ डलर एकको खरिददर १७ रूपैयाँ ७९ पैसा र बिक्रीदर १७ रूपैयाँ ८७ पैसा, कुवेती दिनार एकको खरिददर ४४८ रूपैयाँ ८१ पैसा र बिक्रीदर ४५० रूपैयाँ ७६ पैसा, बहराइन दिनार एकको खरिददर ३६६ रूपैयाँ ६४ पैसा र बिक्रीदर ३६८ रूपैयाँ २३ पैसा, ओमनी रियाल एकको खरिददर ३५९ रूपैयाँ ०४ पैसा र बिक्रीदर ३६० रूपैयाँ ५९ पैसा रहेको छ । भारतीय रूपैयाँ १०० को खरिददर १६० रूपैयाँ र बिक्रीदर १६० रूपैयाँ १५ पैसा तोकेको जनाएको छ । राष्ट्र बैङ्कले यो विनिमयदरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैङ्कले तोक्ने विनिमयदर भने फरक हुनसक्ने र अद्यावधिक विनिमयदर केन्द्रीय बैङ्कको ‘वेबसाइट’मा उपलब्ध हुने जनाइएको छ ।
ग्रीन डेभलपमेन्ट बैंक मर्जरमा जाने, लाभांश घोषणा गरेको ३ महिनापछि डाक्यो सेयरधनी भेला
काठमाडौं । लाभांश घोषणा गरेको ३ महिनापछि ग्रीन डेभलपमेन्ट बैंकले वार्षिक साधारण सभा बोलाएको छ । बैंकको सञ्चालक समितिको चैत ५ गते बसेको बैठकले १२औं वार्षिक साधारण सभा चैत २७ गते होटल पिस प्यालेस हरिशंकर रोड बागलुङमा बिहान ११ बजे बोलाएको छ । बैंकको सभाले गत आर्थिक वर्ष २०८०/८१ को नाफाबाट सेयरधनीहरूलाई चुक्ता पुँजी ५३ करोड ८७ लाख २२ हजार रुपैयाँको ५.७५ प्रतिशतका दरले ३ करोड ९ लाख ७६ हजार रुपैयाँ बोनस सेयर र कर प्रयोजनार्थ ०.३० प्रतिशतका दरले १६ लाख ३० हजार रुपैयाँ नगद गरी कुल ६.०५ प्रतिशत लाभांश प्रस्ताव पारित गर्नेछ । उक्त लाभांश गत पुस २ गते बसेको बैंक सञ्चालक समितिको बैठकले प्रस्ताव गरेको हो । तर, लाभांश घोषणा गरेको ३ महिनापछि बैंकले साधारण सभा आह्वान गरेको हो । बैंकको सभाले बोनस सेयर वितरणपश्चात् कायम हुने चुक्ता पुँजी ५६ करोड ९६ लाख ९८ हजार रुपैयाँको १ः१.१०७१ ले हुन आउने ६३ करोड ७ लाख १३ हजार रुपैयाँ हकप्रद सेयर जारी गर्ने प्रस्ताव पारित गर्नेछ । कुनै बैंक तथा वित्तीय संस्थासँग मर्जर तथा एक्विजिशनका लागि संस्थाको पहिचान गर्ने, सम्झौतापत्रमा हस्ताक्षर गरी अन्य आवश्यक सम्पूर्ण कार्यहरु गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्नेछ । यस्तै बैंकको सभाले गत वर्षको सञ्चालक समितिको प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदन र चालु आर्थिक वर्ष २०८१/८२ को लागि बाह्य लेखापरिक्षक नियुक्त गर्ने र निजको पारिश्रमिक तोक्ने, सर्वसाधारण सेयरधनीहरूको तर्फबाट सञ्चालक समितिमा प्रतिनिधित्व गर्ने २ जनाको निर्वाचन गर्ने र सञ्चालकहरुको मासिक पत्रपत्रिका तथा टेलिफोन सुविधा रकम वृद्धी गर्नेछ । लाभांश तथा सभा प्रयोजनार्थ बैंकले चैत १५ गते एक दिन बुक क्लोज गर्ने निर्णय गरेको छ । त्यसैले चैत १४ गतेसम्म नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा कारोबार भई कायम सेयरधनीहरूले साधारण सभामा सहभागी भएर लाभांश प्राप्त गर्न सक्नेछन् ।
सेयर बेचेर ५ कम्पनीका संस्थापक सेयरधनी बाहिरिँदै, मूल्य १ सय रुपैयाँ
काठमाडौं । विभिन्न पाँच कम्पनीको संस्थापक सेयर बिक्रीमा राखिएको छ । प्रोग्रेशिभ फाइनान्स, आईजीआई प्रुडेन्सियल इन्स्योरेन्स, कुमारी बैंक, सिटिजन्स बैंक र प्रभु महालक्ष्मी लाइफका संस्थापक सेयरधनीहरूले आफ्नो स्वामित्वको सेयर बिक्रीमा राखेका हुन् । प्रोग्रेशिभ फाइनान्सका केही संस्थापक सेयरधनीहरूले १ लाख ८१ हजार ८३८ कित्ता सेयर बिक्रीमा राखेका छन् । फाइनान्सको सेयरमा विद्यमान संस्थापक सेयरधनीहरूले मात्रै आवेदन दिन पाउने छन् । खरिद गर्न इच्छुक लगानीकर्ताहरूले ३५ दिनभित्र आवेदन दिनुपर्नेछ । यदि उक्त अवधिभित्र खरिदका लागि बोलापत्र पेस नगरेमा सर्वसाधारण लगानीकर्ताहरूलाई बिक्री खुला गरिने कम्पनीले जनाएको छ । यस्तै, आईजीआई प्रुडेन्सियल इन्स्योरेन्सको संस्थापक समूहको ८० हजार कित्ता सेयर बिक्रीमा राखिएको छ । कम्पनीको उक्त सेयरको मूल्य प्रतिकित्ता २०५ रुपैयाँ तोकिएको छ । सो मूल्यका आधारमा कम्पनीको १ करोड ६४ लाख रुपैयाँ बराबरको सेयर बिक्रीमा राखिएको हो । कम्पनीको सेयर खरिद गर्न इच्छुक लगानीकर्ताले चैत १२ गतेसम्म आजेदन दिन सक्नेछन् । कम्पनीको सेयर बिक्री प्रबन्धकमा प्रभु क्यापिटल रहेको छ । यस्तै, कुमारी बैंकका विभिन्न संस्थापक सेयरधनीहरूले ४ लाख ८७ हजार १२ कित्ता सेयर बिक्रीमा राखेका छन् । बैंकको सेयरमा विद्यमान संस्थापक सेयरधनीहरूले मात्रै आवेदन दिन पाउने छन् । खरिद गर्न इच्छुक लगानीकर्ताहरूले ३५ दिनभित्र आवेदन दिनुपर्नेछ । यदि उक्त अवधिभित्र खरिदका लागि बोलापत्र पेस नगरेमा सर्वसाधारण लगानीकर्ताहरूलाई बिक्री खुला गरिनेछ । यस्तै, सिटिजन्स बैंकका संस्थापक सेयरधनीले आफ्नो स्वामित्वको ४० हजार कित्ता सेयर बिक्रीमा राखेका छन् । बैंकको उक्त सेयरको मूल्य प्रतिकित्ता १ सय रुपैयाँ तोकिएको छ । खरिद गर्न इच्छुक लगानीकर्ताले ७ दिनभित्र बोलपत्र आवेदन पेस गर्नुपर्नेछ । यस्तै, प्रभु महालक्ष्मी लाइफका विभिन्न ५ जना संस्थापक सेयरधनीहरूले २ लाख ७४ हजार २०१ कित्ता सेयर बिक्रीमा राखेका हुन् । कम्पनीका संस्थापक सेयरधनी शैलेश श्रेष्ठले १२ हजार ७८ कित्ता, सनराइज होल्डिङ्स प्रालिले १८ हजार ३४८ कित्ता, अनिल प्रसाद श्रेष्ठले २ हजार १९६ कित्ता, सैला श्रेष्ठले १ लाख २० हजार ७८० कित्ता र सुयोग श्रेष्ठले १ लाख २० हजार ७९९ कित्ता सेयर बिक्रीमा राखेका हुन् । । खरिद गर्न इच्छुक लगानीकर्ताले ७ दिनभित्र बोलपत्र आवेदन पेस गर्नुपर्नेछ ।
गण्डकी, कर्णाली र सुदूरपश्चिममा आंशिक बदली रहने, एक/दुई स्थानमा हल्का वर्षा
काठमाडौं । हाल देशमा पश्चिमी वायुका साथै स्थानीय वायुको समेत आंशिक प्रभाव रहेको छ भने हाल देशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सफा रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । विभागका अनुसार आज दिउँसो गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू-भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भागमा आंशिक बदलीदेखि मौसम सफा रहने छ । गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू-भागका एक/दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा तथा उच्च पहाडी तथा हिमाली भू-भागका एक/दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ । यस्तै, आज राति गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भागमा मौसम सफा रहने छ । गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका एक/दुई स्थानमा हल्का हिमपातको सम्भावना छ । आगामी २४ घण्टामा गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू-भागका एक/दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा तथा उच्च पहाडी तथा हिमाली भू-भागका एक/दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेकाले दैनिक जनजीवन, स्वास्थ्य, सडक तथा हवाई यातायातमा आंशिक प्रभाव पर्न सक्ने हुँदा त्यसबाट हुनसक्ने असरबाट बच्न आवश्यक सतर्कता अपनाउन विभागको अनुरोध छ ।
ट्रम्प-पुटिनबीच २ घण्टा बढी टेलिफोन वार्ता, ३० दिनको युद्धविराममा सहमति
काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र रूसी राष्ट्रपति भ्लादिमिर पुटिनबीच युक्रेन युद्धबारे २ घण्टाभन्दा बढी टेलिफोन वार्ता भएको छ। वार्तामा ३० दिनका लागि युक्रेनको ऊर्जा तथा पूर्वाधारमाथि आक्रमण रोक्ने सहमति भएको ह्वाइट हाउसले जनाएको छ। यो सम्झौताले शान्ति स्थापनाको पहिलो चरणको संकेत गरे पनि युक्रेनले यस योजनामा साथ दिन्छ वा दिँदैन भन्ने अझै स्पष्ट भएको छैन। पुटिनले शान्ति वार्ताका लागि युक्रेनलाई विदेशी सैन्य सहायता पूर्ण रूपमा रोक्नुपर्ने शर्त अघि सारेका छन् । जबकि युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले पुटिनको प्रस्तावलाई ‘मात्रै कुरा गर्ने’ प्रयास भएको बताए । ट्रम्पले रूससँग ‘केही सम्पत्ति बाँडफाँट’को विषयमा कुराकानी भइरहेको संकेत गरेपछि युरोपेली राष्ट्रहरू चिन्तित भएका छन् । वार्तापछि ट्रम्पले आफ्नो सामाजिक सञ्जालमा वार्ता ुमहत्वपूर्ण चरणमा पुगेकोु बताए । तर, अझै धेरै विषयहरू टुंग्याउन बाँकी रहेको उल्लेख गरे । उता, पुटिनले आफ्नो सेना युक्रेनी भूभागमा निरन्तर अघि बढिरहेको दाबी गर्दै नेटो सेनालाई कुनै पनि हालतमा युक्रेनमा तैनाथ हुन नदिने अडान दोर्याए । अमेरिका-युक्रेन विभाजन ह्वाइट हाउसमा ट्रम्पको पुनरागमनपछि युक्रेनमा अमेरिकी नीतिमा पूर्ण परिवर्तन आएको छ। अमेरिकी राष्ट्रपति ट्रम्पले गत महिना पुटिनसँग कुरा गरेको घोषणा गरेर विश्वलाई चकित पारेका थिए । यसले रुसी सेनाले युक्रेनमा आक्रमण जारी राखेसम्म रुसी राष्ट्रपतिलाई अलग्याउने पश्चिमी प्रयासहरूलाई तोडेको थियो। त्यसयता उनले रुसी राष्ट्रपतिसँग ‘धेरै पटक’ कुरा गरेका छन् । पुटिनका लागि उहाँले विगतमा बारम्बार प्रशंसा व्यक्त गर्नुभएको थियो । यद्यपि कुनै पनि वार्ताको औपचारिक रूपमा घोषणा गरिएको थिएन । ट्रम्पका विशेष दूत स्टिभ विटकफले संयुक्त युद्धविराम योजनाको विवरण प्रस्तुत गर्न गत बिहीबार मस्कोमा पुटिनसँग ३ घण्टा बैठक गरेका थिए । उक्त योजनाले युद्धमा ३० दिनको विरामको परिकल्पना गर्दछ। तर, वासिङ्टनको मस्कोसँगको सम्बन्ध सुधार हुँदा युक्रेनसँगको सम्बन्ध निकै जटिल बनेको छ। ट्रम्पको युक्रेनी राष्ट्रपति भोलोदिमर जेलेन्स्कीसँग फेब्रुअरी २८ मा ओभल अफिसमा विवाद भएको थियो । उक्त विवादका कारण संयुक्त राज्य अमेरिकाले किएभलाई दिने अर्बौं डलरको सैन्य सहयोग अस्थायी रूपमा निलम्बन गर्न पुग्यो । जेलेन्स्की पछि युद्धविराम योजना र संयुक्त राज्य अमेरिकालाई युक्रेनको दुर्लभ खनिज भण्डारमा प्राथमिकताको पहुँच दिने सम्झौता दुवैमा सहमत हुन बाध्य भए ।
मुआब्जा दिने सहमतिपछि जलविद्युत् आयोजना पुनःसञ्चालनमा, ३५ दिनभित्र उपलब्ध गराउने
काठमाडौं । खोटाङको केपिलासगढी गाउँपालिकाका स्थानीयवासीले मुआब्जा माग गर्दै अवरुद्ध गराएको माथिल्लो रावाखोला जलविद्युत् आयोजना पुनः सञ्चालनमा आएको छ । निजी तथा सार्वजनिक सम्पत्ति संरक्षण सङ्घर्ष समितिको नेतृत्वमा स्थानीयवासीले जलविद्युत् आयोजना बन्द गराएपछि केपिलासगढी गाउँपालिकाका प्रमुख समिर राईको पहलमा मङ्गलबार बसेको सर्वपक्षीय भेलाले ३५ दिनभित्र जग्गाधनीलाई मुआब्जा उपलब्ध गराउने सहमति गरेसँगै अवरुद्ध जलविद्युत् आयोजना पुनः सञ्चालनमा ल्याइएको हो । लामो समयदेखि मुआब्जा नपाएको भन्दै चरणबद्ध आन्दोलनमा उत्रिएका स्थानीयवासीले सुङ्देल र दिप्सुङको सिमानामा रहेको रावाखोलाबाट उत्पादन गरिएको ३ मेगावाट क्षमताको माथिल्लो रावाखोला जलविद्युत् आयोजनाको ड्याम (बाँध)बाट यही चैत ४ गते सोमबार दिउँसो खोलातर्फ पानी फर्काएर विद्युत् उत्पादन बन्द गराएका खिए । राष्ट्रिय प्रशारण लाइनमा जडान गरिएको जलविद्युत् आयोजनाले जग्गाधनीलाई मुआब्जा नदिएपछि स्थानीयवासीले आयोजना नै बन्द गराएको हो । सर्वपक्षीय भेलामा जग्गाधनी र जलविद्युत् आयोजना सञ्चालकबीच भएको सहमति कार्यान्वयनका लागि स्थानीय रत्नबहादुर राईको संयोजकत्वमा ७ सदस्यीय समन्वय समितिसमेत गठन गरिएको गाउँपालिका प्रमुख राईले जानकारी दिए । रावाखोलामा रावा इनर्जी डेभलभमेन्ट कम्पनी लिमिटेड, हलेसी ऊर्जा कम्पनी लिमिटेड र लोवर मीड रावाखोला हाइड्रोइलोक्ट्रिक प्रोजेक्ट (आयोजना)ले फरक–फरक ३ वटा ठाउँमा जलविद्युत् आयोजना सञ्चालन गरेको छ । केपिलासगढी गाउँपालिका–४ बाक्सिला, सोही गाउँपालिकाको वडा नं ६ दिप्सुङ र वडा नं. ७ सुङ्देलका स्थानीयले रावाखोलामा जलविद्युत् आयोजना सञ्चालन गर्ने ३ वटा जलविद्युत् कम्पनीबाट मुआव्जा नपाएको गुनासो गर्दै आएका छन् । जलविद्युत् आयोजनाको ट्रान्समिसन र पाइपलाइन विस्तारका क्रममा प्रयोग गरिएको जग्गाको मुआब्जा तथा क्षतिपूर्ति स्थानीयवासीले नपाएपछि चरणवद्ध आन्दोलन सुरु गरिएको सङ्घर्ष समितिका संयोजक माइतीराज राईले बताएका छन् । ‘रावाखोलामा सञ्चालित ३ वटै जलविद्युत् आयोजनाको कम्पनीले जग्गाधनीहरुलाई क्षतिपूर्ति दिएका छैनन् । जनता ठगीमा परेको विषयमा स्थानीय सरकारलाई जानकारी गराएका थियौँ । अहिलेसम्म कुनै सुनुवाइ भएको थिएन । सर्वपक्षीय भेलामा ३५ दिनभित्र मुआब्जा उपलब्ध गराउने सहमति भएपछि पुनःसञ्चालनका लागि सहमत भएका हौँ,’ उनले भने । निर्माणाधीन अवस्थामा रहेको हलेसी ऊर्जा कम्पनी लिमिटेड जलविद्युत् आयोजनाको ट्रान्समिसनलाइनले बाक्सिलाका ३८ जनासहित ४९ जनाको जग्गा प्रयोग गरेको छ । यस्तै, पाइपलाइन विस्तारका क्रममा सुङ्देलका २४ जना, बाक्सिलाका २ जना र दिप्सुङका १ जनाको गरी ३८ कित्ता जग्गा प्रयोग गरिएको छ । रावा इनर्जी डेभलपमेन्ट प्रालिले विद्युतको काम सम्पन्न भएपछि मुआब्जा दिने भन्दै ट्रान्समिसनको काम गरेको तर, हालसम्म मुआब्जा नदिएको जग्गा धनीको गुनासो छ । रावा इनर्जी डेभलपमेन्ट प्रालिले विद्युत्को काम सकिएपछि सबै जग्गाधनीलाई क्षतिपूर्ति दिने र क्षति पुगेको जग्गा कम्पनीको नाममा सार्ने गरी पाइपलाइनको काम सुरु गरेको थियो । तर, हालसम्म सो सहमति कार्यान्वयन नभएको सङ्घर्ष समितिका संयोजक राईले बताए । रावा इनर्जी डेभलपमेन्ट प्रालिले खोलामा १० प्रतिशत पानी नछाडेको सङ्घर्ष समितिले जनाएको छ । २.५ मेगावाट विद्युत् उत्पादनको तयारी गरेको हलेसी ऊर्जा कम्पनी लिमिटेडले सर्वोच्चको आदेश विपरीत कृष्णमायाँ खत्रीको जग्गामा पाइपलाइनको काम गरिरहेको पाइएको छ । निर्माणाधीन हलेसी ऊर्जा कम्पनी लिमिटेडले विद्युत् उत्पादनको प्रक्रिया पूरा नगरी छ कित्तामा रहेको ३८४ रोपनी सरकारी जग्गा प्रयोग गरेको सङ्घर्ष समितिले जनाएको छ । हलेसी ऊर्जाले सुङ्देलमा जलाशय र बाक्सिलामा पावर हाउस बनाएर विद्युत् उत्पादन गर्ने तयारी गरेको छ । सङ्घर्ष समितिले गत फागुन २७ गते जग्गाधनीलाई मुआब्जा तथा क्षतिपूर्ति दिनका लागि रावा इनर्जी डेभलपमेन्ट प्रालि र हलेसी ऊर्जा कम्पनी लिमिटेडको ध्यानाकर्षण गराएको थियो । गाउँपालिकाका सात वटै वडाका वडाध्यक्ष, राजनीतिक दलका प्रतिनिधि, जग्गाधनीसहित बसेको सर्वपक्षीय बैठकको निर्णयअनुसार सङ्घर्ष समितिले हाइड्रोपावर कम्पनीसँग जग्गाधनीका तर्फबाट माग राखेको हो ।
अत्याधुनिक प्रणालीमार्फत काठमाडौंका १५ वटा पानी पोखरीको व्यवस्थापन
काठमाडौं । आयोजना कार्यान्वयन निर्देशनालयले काठमाडौं उपत्यकाका विभिन्न स्थानमा रहेका १५ वटा पानीपोखरीको व्यवस्थापन अत्याधुनिक प्रणालीमार्फत गर्ने व्यवस्था गरेको छ । काठमाडौं उपत्यकाका अग्ला र होचा स्थानमा रहेका पानीपोखरीबाट प्रवाह हुने मेलम्चीको पानी समानुपातिक किसिमले वितरण गर्नका लागि निर्देशनालयले विच्छ्याएका नयाँ वितरण सञ्जालका पाइपलाइनको सञ्चालन समेत सोही प्रणालीमार्फत गर्ने व्यवस्था मिलाइएको छ । सोही व्यवस्थाअनुसार काठमाडौं उपत्यका खानेपानी लिमिटेडको पानीपोखरीस्थित शाखा कार्यालयमा निर्माण गरिएको नियन्त्रण कक्षबाट अत्याधुनिक प्रणालीमार्फत पानीपोखरीको व्यवस्थापन र वितरण सञ्जालको सञ्चालन गर्न थालिएको हो । अत्याधुनिक प्रणालीमार्फत मेलम्चीको पानीको आपूर्तिसम्बन्धी विवरणसहितको प्रत्यक्ष जानकारी लिमिटेडको केन्द्रीय कार्यालय, त्रिपुरेश्वरबाट समेत लिन सकिने व्यवस्था गरिएको जनाइएको छ । अत्याधुनिक प्रणालीमार्फत उपत्यकाका १५ वटै पानीपाखरीमा पानीको धमिलोपना र क्लोरिन कन्टेन्ट परीक्षण गरी गुणस्तर मापन गर्ने व्यवस्था गरिएको छ । यस्तै, नमूनाका रूपमा चःमती र अनामनगर क्षेत्रका उपभोक्ताका घरमा जडान गरिएका धारामा स्वचालित विद्युतीय मिटर जडान समेत गरिएको आयोजनाका उपनिर्देशक एवम् प्रवक्ता चन्द्रकुमार श्रेष्ठले जानकारी दिए ।