राप्रपाका नेता तथा सांसद दीपक बोहराको निधन
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का वरिष्ठ नेता तथा पूर्वमन्त्री दीपक बोहराको ६१ वर्षको उमेरमा निधन भएको छ। उनी पोस्ट कोभिड समस्याबाट पीडित थिए । लामो समयदेखि स्वास्थ्य समस्याबाट संघर्ष गरिरहेका बोहराको काठमाडौंको ओम अस्पतालमा उपचारको क्रममा निधन भएको उनका स्वकीय सचिव तारामणि चन्दले जानकारी दिए । रुपन्देही क्षेत्र नम्बर–३ बाट निर्वाचित सांसद बोहरा कोरोना महामारीको दोस्रो लहर (२०७७ जेठ) मा संक्रमित भएका थिए। संक्रमण निको भएपछिको चार–पाँच महिनामा उनको स्वरमा परिवर्तन देखिएको थियो । थप उपचारका लागि दिल्ली पुगेका उनले पोस्ट कोभिडका कारण घाँटीमा समस्या भएको चिकित्सकहरूबाट थाहा पाएका थिए । स्वास्थ्य अवस्था गम्भीर बनेपछि उनी अमेरिका पुगेर स्पीच थेरापी गर्दै आएका थिए । तर, स्वास्थ्य समस्या झन् जटिल बनेपछि उनलाई घाँटीको क्यान्सर भएको पुष्टि भएको थियो । बोहराले स्वास्थ्य समस्याका कारण निर्वाचन अभियानमा पनि भाषण गर्न सकेनन् । तर, जनताको साथ पाउँदै उनी नबोली नै सांसद निर्वाचित भएका थिए । संसदमा पनि उनले प्रत्यक्ष बोल्न सकेनन्, आफ्ना विचार पार्टीकै अन्य सांसदमार्फत व्यक्त गर्ने गर्थे ।
बिपी राजमार्ग : पहिरो प्रभावित क्षेत्रमा वैकल्पिक सडक निर्माण गरिँदै
धुलिखेल । गत असोजको दोस्रो साताको बाढीपहिरोका कारण क्षतिग्रस्त बिपी राजमार्गमा अहिले तत्कालका लागि खोलाको बगरैबगर बनाएको वैकल्पिक बाटोमा सवारीसाधन सञ्चालन भइरहेको छ । काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिका- ५ चौकीडाँडाबाट सिन्धुलीको सिमाना बर्खेखोलासम्म अहिले त्यसरी वैकल्पिक सडक बनाएर खोलाको बगरैबगर सवारी सञ्चालन हुँदै आएको छ । काठमाडौँबाट पूर्वीतराई जाने छोटो दूरीको यात्रा बिपी राजमार्ग सबैको छनोटको गन्तव्य हो । तर बर्खायाम नजिकिएसँगै ती सडकमा सवारी सञ्चालन गर्न सकिने अवस्था नभएका कारण सडक डिभिजन भक्तपुर त्यसको विकल्पमा आउँदो बर्खायामलाई मध्यनजर गर्दै खोलाको सहतभन्दा माथि उठाएर वैकल्पिक सडक निर्माण गर्ने क्रममा छ । जसअन्तर्गत चौकीडाँडास्थित धेरै क्षतिग्रस्त बनेको खण्डमा खोलाको सतहदेखि माथि उठाएर वैकल्पिक बाटो निर्माणको काम भइरहेको छ । कार्यालयले दीर्घकालीन पक्की सडक निर्माण गर्न ठेक्का आह्वान गरेको भए पनि ‘विड ओपनिङ’ गर्ने, मूल्याङ्कन हुने र ठेकेदार फिल्डमा आउने प्रक्रिया नै बाँकी रहेकाले अहिले तत्कालका लागि वैकल्पिक सडक बनाउने क्रममा रहेको सडक डिभिजन कार्यालय भक्तपुरका इन्जिनियर दुर्गाप्रसादले बताए । खोलाको उचाइ पनि बढेको र अहिले बगरमा नै गाडी गुडाइरहेको कारण बर्खामा असर हुने भएकाले खोलाको धार परिवर्तन गर्ने र सडकको उचाइलाई खोला सहतभन्दा माथि उठाएर भित्ताबाट चल्नेगरी काम भइरहेको छ । त्यसका लागि अहिले चौकीडाँडा खण्डमा तीव्रगतिमा काम भइरहेको छ । बाढीले काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिकाको चौकीडाँडाबाट सिन्धुलीको सिमानासम्ममा करिब आठ किलोमिटर सडक बगाएको थियो । ‘तत्कालका लागि बगाएको सडक ग्राभेल गर्ने, सफा गर्ने र कतिपय स्थानमा खोलाबगर भएर चल्ने गरी बाटो बनाएका छौँ,’ उनले भने,’अहिले जहाँजहाँ खोलाको सतह भएर बाटो बनाइएको छ, ती ठाउँमा खोलाको धार परिवर्तन गर्ने र भएको सतहभन्दा माथि उठाएर बाटो बनाउने क्रममा छौँ ।’ भक्तपुर सडक डिभिजनका कर्मचारी चन्द्रबहादुर लामाका अनुसार अहिलेसम्ममा मङ्गलटार नजिकैको बोक्सेकुना र चिउरीबासमा काम सम्पन्न भइसकेको तथा माम्ती, डालाबेँसी, नार्के, गिम्दीबेँसी, चार सयबेँसी र कटुञ्जे घुम्तीमा काम गर्न बाँकी छ । अहिले चौकीडाँडामा काम भइरहेकामा केही दिनमा नै सो खण्ड सम्पन्न हुनेछ । सो कार्य सम्पन्न गर्न अहिले सडक डिभिजन कार्यालयबाट दुई इन्जिनियर, एक सबइन्जिनियरसहित ३० जना अपरेटर निरन्तर काममा छन् । आगामी वैशाखभित्र ती सबै काम सम्पन्न गर्ने लक्ष्यका साथ काम भइरहेको कार्यालयले जनाएको छ । त्यसरी सडक बनाएको खण्डमा बर्खायाममा पनि बिपी राजमार्गमा सवारीसाधन सञ्चालन हुने आशामा यात्री छन् । रासस
त्रिभुवन विमानस्थल अब दैनिक १८ घण्टा खुल्ने, सुरक्षा र उडान क्षमतामा सुधार
काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल (टीआईए) आजदेखि दैनिक १८ घण्टा सञ्चालनमा आउने भएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) ले सोमबारदेखि विमानस्थलको सञ्चालन अवधि बढाउने निर्णय गरेको हो । गत कात्तिक २३ गतेदेखि विमानस्थलको सञ्चालन अवधि घटाएर दैनिक १४ घण्टा मात्र राखिएको थियो । तर, अब नयाँ व्यवस्था अनुसार बिहान ६ बजे खोलिने विमानस्थल राति १२ बजे बन्द हुने छ । यसअघि सञ्चालन अवधि बिहान ८ बजेदेखि बेलुकी १० बजेसम्म मात्र थियो । विमानस्थल कार्यालयका अनुसार धावनमार्गसँग जोड्ने लिंक वे निर्माण कार्य सम्पन्न भएसँगै अन्तर्राष्ट्रिय नागरिक उड्डयन संस्था (आईकाओ) को मापदण्डअनुसार विमानस्थल सञ्चालन गर्न सकिने अवस्था बनेको हो । विमानस्थल प्रमुख जगन्नाथ निरौलाका अनुसार स्तरोन्नति कार्य आंशिक रूपमा सम्पन्न भएसँगै सुरक्षा तथा उडान क्षमतामा सुधार आएको छ । यसले गर्दा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय उडानको संख्या बढ्ने अपेक्षा गरिएको छ । हालको नयाँ समय तालिका भने कात्तिक २३ अघिको भन्दा केही छोटो छ । स्तरोन्नति अघि विमानस्थल राति २:३० बजेसम्म सञ्चालनमा रहन्थ्यो भने बिहान ६ बजेभन्दा अघि नै खुल्थ्यो । तर, नयाँ व्यवस्थाअनुसार रातिको २ घण्टा तथा बिहानको १ घण्टा सञ्चालन अवधि घटाइएको छ । नागरिक उड्डयन प्राधिकरणका अनुसार अब यही समय तालिका स्थायी रूपमा कायम रहने सम्भावना छ । नयाँ सञ्चालन अवधिले हवाई यातायातको सुचारुता बढाउने विश्वास गरिएको छ ।
नेपालको आफ्नै कार्ड ‘नेपाल पे’ सार्वजनिक, यस्ता छन् फाइदा
काठमाडौं । नेपाल क्लियरिङ हाउस लिमिटेड (एनसिएचएल) ले सोमबार राजधानीमा आयोजित एक कार्यक्रममा ‘नेपाल–पे’ नामक भुक्तानी कार्ड सार्वजनिक गरेको छ । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले उक्त कार्डको औपचारिक उद्घाटन गरेका हुन् । नेपालको आफ्नै भुक्तानी कार्ड भन्ने नारासहित सुरू गरिएको यो सेवा अन्तर्गत नेपालीहरूले अब अन्तर्राष्ट्रिय कार्ड प्रदायकहरूमा निर्भर हुन नपर्ने एनसिएचएलले जनाएको छ । यसले डिजिटल कारोबारलाई स्वदेशमै सहज, सुरक्षित र किफायती बनाउने विश्वास गरिएको छ । सुरुवाती चरणमा सिटिजन्स बैंक, गुडविल फाइनान्स, हिमालयन बैंक, माछापुच्छ्रे बैंक, मुक्तिनाथ विकास बैंक, एनएमबी बैंक, प्रभु बैंक, सांग्रिला डेभलपमेन्ट बैंक र सिद्धार्थ बैंक मार्फत यो कार्ड जारी गरिनेछ । क्रमशः अन्य बैंक तथा वित्तीय संस्थाहरूले पनि सेवा उपलब्ध गराउनेछन् । नेपाल–पे कार्डका विभिन्न फाइदाहरू रहेका छन् । नेपालमै विकसित भएकाले सबै कारोबारको विवरण नेपालमै रहनेछ । भिसा वा मास्टरकार्डजस्ता विदेशी कार्ड प्रयोग गर्दा लाग्ने अतिरिक्त शुल्क जोगिनेछ । डाटा देशमै रहने भएकाले व्यक्तिगत तथा वित्तीय जानकारी सुरक्षित हुनेछ । यसका साथै, डेबिट, क्रेडिट, प्रिपेड, भर्चुअल कार्ड क्रमशः जारी गरिनेछन् । भविष्यमा नेपाल–पे कार्डलाई अन्तर्राष्ट्रिय स्तरमा प्रयोग गर्न मिल्ने बनाउने तयारी भइरहेको छ । नेपाल–पे कार्डको पहिलो प्रतिलिपि हिमालयन बैंकले गभर्नर महाप्रसाद अधिकारीलाई प्रदान गर्यो भने, पहिलो पिओएस कारोबार माछापुच्छ्रे बैंकमार्फत सम्पन्न गरिएको थियो । गभर्नर अधिकारीका अनुसार यो नयाँ प्रणालीले नेपालको आर्थिक स्वायत्तता बढाउनेछ । उनले भने, ‘अहिले विदेशी कार्ड प्रयोग गर्दा नेपालबाट ठूलो रकम बाहिरिन्छ। अब स्वदेशी कार्ड सञ्चालन भएपछि त्यो रकम जोगिनुका साथै डिजिटल कारोबारलाई सुलभ बनाउनेछ ।’ नेपाल राष्ट्र बैंकले स्वदेशी भुक्तानी प्रणाली विकास गर्ने रणनीति अनुरूप नेपाल–पे कार्ड सार्वजनिक गरेको हो । एनसिएचएलले बैंक, वित्तीय संस्था तथा भुक्तानी सेवा प्रदायकहरूसँग सहकार्य गर्दै कार्डलाई अझ प्रभावकारी बनाउन प्रयास गरिरहेको जनाएको छ । नेपाल–पे कार्डको आगमनले डिजिटल कारोबारको नयाँ युग सुरू गर्ने विश्वास गरिएको छ ।
रवि लामिछानेले सभामुखसँग किन भेट्दै छन् ?
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने सहितका सांसदहरू आज सभामुख देवराज घिमिरेसँग भेटवार्ता गर्ने भएका छन् । सभामुखसँग भेटघाटका लागि रास्वपाका नेताहरू संसद भवन पुग्ने कार्यक्रम तय भएको छ । सहकारी ठगी मुद्दामा संलग्न भएको आरोप लागेपछि रवि लामिछाने सांसद पदबाट निलम्बित भएका थिए । सोही कारण केही समय पार्टी नेतृत्वबाट निस्क्रिय रहेका उनी सोमबारदेखि पुनः सक्रिय राजनीतिमा फर्किएका छन् । रास्वपाले लामिछानेको निलम्बनका विषयमा लगातार आवाज उठाउँदै आएको छ । सभामुखसँगको आजको भेटवार्तामा यही मुद्दा प्रमुख विषय रहने बताइएको छ ।
लघुचलचित्र ‘दृश्य’ निर्माण सम्पन्न, पोष्टर सार्वजनिक
काठमाडौं । ऐना आर्टस् र आश्री इमिग्रेशनको सहकार्यमा निर्माण गरिएको लघुचलचित्र ‘दृश्य’ (द लाईट अफ आई) को निर्माण कार्य सम्पन्न भएको छ । निर्माण टिमले चलचित्रको आधिकारिक पोष्टर सार्वजनिक गर्दै यसको पहिलो झलक दर्शकमाझ प्रस्तुत गरेको छ । पोस्टरमा एउटा आँखाभित्र दुई पात्र देख्न सकिन्छ – एउटा दृष्टिविहीन व्यक्ति र अर्को सामान्य मानिस । यसले बाहिरी आँखाले देखिने संसार र हृदयले अनुभूति गर्ने दुनियाँबीचको अन्तर झल्काउने संकेत गरेको छ । पोष्टर रसिकराजले तयार गरेका हुन् । ‘दृश्य’को निर्माण नितु घिमिरे को प्रस्तुति र रामेश्वर भट्टराई को प्रमुख निर्माण संयोजनमा भएको हो । आश्री इमिग्रेशन, आश्री इन्भेष्टमेन्ट, र आश्री ट्राभल्सका सञ्चालकसमेत रहेका भट्टराई कथावस्तु मन परेकाले लघुचलचित्र निर्माणमा संलग्न भएको बताउँछन् । चलचित्रमा नारायणराज चौलागाईं, सुवास प्रसाद गजुरेल, राकेश श्रेष्ठ, आरुष मगर, युनिसा कार्की, बिदुर प्रसाद सिग्देल, सन्तोष सुवेदी, नरेन भट्टराई, रमेश बज्राचार्य लगायतका कलाकारको अभिनय छ । संगीतकार सन्तोष श्रेष्ठको संगीत रहेको चलचित्रमा बाँसुरी वादन नगेन्द्र राई ले गरेका छन् । सिनेमाटोग्राफी नारायण जिसी, सम्पादन तथा रंग संयोजन अनिल कुमार महर्जन, सहायक निर्देशन करण साउद, र कला निर्देशन सुमित राई ले गरेका छन् । मुख्य पात्र नारायणराज चौलागाईं (नारायण काइँलो) ले चलचित्रको भूमिकाका लागि ६ महिनासम्म तयारी गरेका थिए । गजलकार तथा गीतकारसमेत रहेका चौलागाईंले यसै चलचित्रमार्फत् डेब्यु गरेका हुन् । निर्माण व्यवस्थापन सुरेन्द्र क्षेत्री को जिम्मामा रहेको छ । क्षेत्रीले सबैको अथक प्रयासले चलचित्र उत्कृष्ट बनाउन गरिएको प्रयास दर्शकमाझ प्रभाव पार्ने विश्वास व्यक्त गरे । लेखन तथा निर्देशन मोहन अभिलाषी ले गरेका छन् । अभिलाषीका अनुसार चलचित्रले बाहिरी आँखाले देखिने भौतिक संसार र हृदयको आँखाले महसुस गरिने आन्तरिक संसारबीचको भिन्नता चित्रण गर्नेछ । चलचित्रलाई विभिन्न अन्तर्राष्ट्रिय चलचित्र महोत्सवहरूमा सहभागी गराइने योजना छ । त्यसपछि, ‘दृश्य’लाई विभिन्न ओटीटी प्लेटफर्ममार्फत् सार्वजनिक गरिने निर्देशक अभिलाषीले बताए । यसअघि ‘घुर्रा’, ‘भाउ’, ‘पाउलो’, र ‘द स्कूल वाल’ जस्ता चलचित्र बनाएर अन्तर्राष्ट्रिय महोत्सवहरूमा सफल भएका निर्देशक अभिलाषी नयाँ चलचित्र निर्माणको तयारीमा रहेका छन् ।
फोटोन माउन्टेन ईभी सार्वजनिक, विद्युतीय पिकअप बजारमा नयाँ युगको सुरुवात
काठमाडौं । फोटोन मोटरले फोटोन माउन्टेन ईभी विद्युतीय पिकअपको नेपालमा आधिकारिक रूपमा सुरुवात गरेको छ । नेपालका विविध भूभाग र चुनौतीपूर्ण सडकहरूलाई ध्यानमा राखी डिजाइन गरिएको यो इलेक्ट्रिक पिकअप देशको दिगोपन लक्ष्यमा टेवा पुर्याउने अपेक्षा गरिएको छ । नेपाल सरकारले विद्युतीय सवारीसाधनको प्रवर्द्धनलाई उच्च प्राथमिकता दिइरहेको अवस्थामा फोटोन माउन्टेन ईभी को लन्चले इन्धन निर्भरता घटाउन र कार्बन उत्सर्जन न्यून गर्न महत्त्वपूर्ण योगदान पुर्याउनेछ । फोटोन मोटरले उच्च सुरक्षा, दक्षता र प्रदर्शन मापदण्ड पालना गर्ने अत्याधुनिक विद्युतीय सवारीसाधनमार्फत नेपाललाई स्वच्छ ऊर्जा समाधानमा अघि बढाउन प्रतिबद्धता जनाएको छ । फोटोन मोटरका सीईओ तुषार गुप्ताले नेपालका लागि विशेष डिजाइन गरिएको माउन्टेन ईभी को सुरुवातले यातायात क्षेत्रमा नयाँ क्रान्ति ल्याउने बताए । उनले भने, ‘नेपालको विकसित हुँदै गरेको यातायात क्षेत्रलाई उन्नत कार्यसम्पादन, दिगोपन र विश्वसनीयता आवश्यक छ । फोटोन माउन्टेन ईभी इन्जिनियरिङ उत्कृष्टता र वातावरणीय जिम्मेवारीको उत्कृष्ट उदाहरण हो । नेपालको भौगोलिक चुनौतीहरूको सामना गर्न तयार पारिएको यो मोडेलले टिकाउ, कुशल र पर्यावरणमैत्री यातायात समाधान प्रदान गर्नेछ ।’ फोटोन माउन्टेन ईभीले बलियो, टिकाउ र वातावरणमैत्री विकल्प प्रदान गर्दै नेपालको पिकअप ट्रक बजारमा नयाँ युगको सुरुवात गर्नेछ । व्यवसाय, फ्लीट अपरेटर तथा दिगो यातायात समाधान खोज्ने प्रयोगकर्ताहरूका लागि यो भरपर्दो र किफायती विकल्प बन्ने अपेक्षा गरिएको छ । नेपालको सडक संरचना र जलवायुअनुसार विशेष रूपमा डिजाइन गरिएको फोटोन माउन्टेन ईभीले विद्युतीय सवारीसाधनको बजार विस्तार गर्न योगदान दिने विश्वास गरिएको छ ।
फलफूलको भाउ आकासियो, तरकारीको मूल्य कति छ ?
काठमाडौं । कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार तरकारी र फलफूलको अधिकतम थोक मूल्य निर्धारण गरिएको हो । गोलभेँडा ठूलो (नेपाली) प्रतिकिलो रु ५०, गोलभेँडा ठूलो (भारतीय) प्रतिकिलो रु ५०, गोलभेँडा सानो (लोकल) प्रतिकिलो रु २०, गोलभेँडा सानो (तराई) प्रतिकिलो रु २५, आलु रातो प्रतिकिलो रु ३४, आलु रातो (भारतीय) प्रतिकिलो रु ४०, प्याज सुकेको (भारतीय) प्रतिकिलो रु ५०, गाजर (लोकल) प्रतिकिलो रु ३५, गाजर (तराई) प्रतिकिलो रु ३५, बन्दा (लोकल) प्रतिकिलो रु १५, बन्दा (तराई) प्रतिकिलो रु १५, बन्दा (नरिवल) प्रतिकिलो रु १५, काउली (स्थानीय) प्रतिकिलो रु ४०, स्थानीय काउली (ज्यापु) प्रतिकिलो रु ५०, मूला रातो प्रतिकिलो रु ५०, मूला सेतो (लोकल) प्रतिकिलो रु १५, सेतो मूला (हाइब्रिड) प्रतिकिलो रु २०, भन्टा लाम्चो प्रतिकिलो रु ३० तथा भन्टा डल्लो प्रतिकिलो रु ५०, तने बोडीको मूल्य प्रतिकिलो रु ६० कायम गरिएको छ । यसैगरी, मटरकोसा प्रतिकिलो रु ७०, घिउ सिमी (लोकल) प्रतिकिलो रु ७०, घिउ सिमी (हाइब्रिड) प्रतिकिलो रु ७०, घिउ सिमी (राजमा) प्रतिकिलो रु १००, टाटे सिमी प्रतिकिलो रु ७०, तितो करेला प्रतिकिलो रु १००, लौका प्रतिकिलो रु ५०, परबर (तराई) प्रतिकिलो रु ९०, घिरौला प्रतिकिलो रु ७०, झिगुनी प्रतिकिलो रु ८०, फर्सी पाकेको प्रतिकिलो रु ५०, फर्सी हरियो (लाम्चो) प्रतिकिलो रु २५, हरियो फर्सी (डल्लो) प्रतिकिलो रु २५, भिण्डी प्रतिकिलो रु ११० कायम गरिएको छ । यस्तै, सखरखण्ड प्रतिकिलो ७०, बरेला प्रतिकिलो रु ५०, पिँडालु प्रतिकिलो रु ९०, स्कूस प्रतिकिलो रु ४०, रायो साग प्रतिकिलो रु ७०, पालुङ्गो साग प्रतिकिलो ८०, चमसुरको साग रु १००, तोरीको साग प्रतिकिलो रु ६०, मेथीको साग प्रतिकिलो रु ९०, प्याज हरियो प्रतिकिलो रु ५०, बकुला प्रतिकिलो रु ६०, तरुल प्रतिकिलो रु १२०, च्याउ (कन्य) प्रतिकिलो रु १५०, च्याउ (डल्ले) प्रतिकिलो रु ३३० तथा कुरिलो प्रतिकिलो रु ६०० निर्धारण गरिएको छ । निगुरो प्रतिकेजी रु १००, ब्रोकाउली प्रतिकिलो रु ५०, चुकुन्दर प्रतिकिलो रु ६०, सजीवन प्रतिकिलो रु २००, कोइरालो प्रतिकिलो रु १८०, रातो बन्दा प्रतिकिलो रु ५०, जिरीको साग प्रतिकिलो रु ६०, ग्याठकोभी प्रतिकिलो रु ६०, सेलरी प्रतिकिलो रु १२०, पार्सले प्रतिकिलो रु २५०, सौफको साग प्रतिकिलो रु ७०, पुदिना प्रतिकिलो रु २५०, गान्टे मूला प्रतिकिलो रु ७०, इमली प्रतिकिलो रु १७०, तामा प्रतिकिलो रु १००, तोफु प्रतिकिलो रु १२० र गुन्द्रुक प्रतिकिलो रु ३५० तोकेकोे छ । समितिले स्याउ (झोले) प्रतिकिलो रु २५०, स्याउ (फूजी) प्रतिकिलो रु ३५०, केरा (दर्जन) रु १६०, कागती प्रतिकिलो रु २५०, अनार प्रतिकिलो रु ३५०, अङ्गुर (हरियो) प्रतिकिलो रु २००, अङ्गुर (कालो) प्रतिकिलो रु २५०, भारतीय सुन्तला रु २५०, तरबुजा हरियो प्रतिकिलो रु ७०, मौसम प्रतिकिलो रु २००, जुनार प्रतिकिलो रु २००, भुइँकटहर प्रतिगोटा रु २००, काँक्रो (लोकल) प्रतिकिलो रु ६०, काँक्रो (हाइब्रिड) प्रतिकिलो रु ३०, रुख कटहर प्रतिकिलो रु १००, नासपाती (चाइनिज) प्रतिकिलो रु २६०, मेवा (नेपाली) प्रतिकिलो रु ५०, मेवा (भारतीय) प्रतिकिलो रु १२०, अम्बा प्रतिकिलो रु १२०, लप्सी प्रतिकिलो रु १००, स्ट्रबेरी (भुइँऐसेलु) रु २५०, किबी प्रतिकिलो रु ४५० तथा आभोकाडो प्रतिकिलो रु ६५०, अमलाको मूल्य प्रतिकिलो रु ८० निर्धारण गरिएको छ । यसैगरी, अदुवा प्रतिकिलो रु १२०, खुर्सानी सुकेको प्रतिकिलो रु ४००, खुर्सानी हरियो प्रतिकिलो रु ६०, खुर्सानी हरियो (बुलेट) प्रतिकिलो रु १००, खुर्सानी हरियो (माछे) प्रतिकिलो रु ९०, खुर्सानी हरियो (अकबरे) प्रतिकिलो २५०, भेडे खुर्सानी प्रतिकिलो रु १२०, लसुन हरियो प्रतिकिलो रु ७०, हरियो धनिया प्रतिकिलो रु २००, लसुन सुकेको चाइनिज प्रतिकिलो रु ३२०, लसुन सुकेको नेपाली प्रतिकिलो रु ३००, छ्यापी सुकेको प्रतिकिलो रु १६०, छ्यापी हरियो प्रतिकिलो रु ८०, ताजा माछा (रहु) प्रतिकिलो रु ३२०, ताजा माछा (बचुवा) प्रतिकिलो रु २६०, ताजा माछा (छडी) प्रतिकिलो रु २४०, राजा च्याउ प्रतिकिलो रु ३०० र सिताके च्याउको मूल्य प्रतिकिलो रु १००० तोकेको छ ।