माथिल्लो त्रिशूली-१ जलविद्युत आयोजनाबाट प्रभावित गाउँपालिकालाई एम्बुलेन्स प्रदान
रसुवा । रसुवा जिल्लामा निर्माणाधीन २१६ मेगावाट क्षमताको माथिल्लो त्रिशूली–१ जलविद्युत आयोजनाले आयोजना प्रभावित आमाछोदिङमो गाउँपालिकालाई अत्याधुनिक सुविधा सम्पन्न एम्बुलेन्स प्रदान गरेको छ । यो एम्बुलेन्स विपद्, दुर्घटना तथा गम्भीर प्रकृतिका रोगबाट प्रभावित बिरामीहरूलाई उद्धार गर्नका लागि प्रदान गरिएको हो । आयोजनाको सामुदायिक सहयोग कार्यक्रम अन्तर्गत प्रदान गरिएको एम्बुलेन्स आमाछोदिङमो गाउँपालिका–१, हाकुस्थित हाकु हेल्थ पोस्टले सञ्चालन गर्नेछ । आयोजनाले प्रभावित अर्को उत्तरगया गाउँपालिकालाई पनि छिट्टै एम्बुलेन्स प्रदान गर्ने योजना बनाएको छ । हाकु हेल्थ पोस्टबाट सञ्चालन गरिने यस एम्बुलेन्सले दुर्गम क्षेत्रका बिरामी तथा दुर्घटनामा घाइते भएकाहरूलाई समयमै अस्पताल पुर्याउन मद्दत गर्ने अपेक्षा गरिएको छ । नेपाल वाटर एण्ड इनर्जी डेभलपमेन्ट कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सीइओ) बायोङ सु मिन ले चैत्र १८ गते सोमबार आयोजित कार्यक्रममा एम्बुलेन्सको चाबी गाउँपालिका अध्यक्ष बुचुङ तामाङलाई हस्तान्तरण गरे । एम्बुलेन्स हस्तान्तरण कार्यक्रममा गाउँपालिकाका वडाध्यक्षहरू, स्वास्थ्य केन्द्र प्रमुख, आदिवासी जनजाति परिषद्का पदाधिकारीहरू तथा स्थानीय बासिन्दाहरूको उपस्थित थियो । एम्बुलेन्स हस्तान्तरण कार्यक्रममा बोल्दै कम्पनीका सीइओ बायोङ सु मिन ले आयोजनाले प्रभावित क्षेत्रका बिरामी तथा दुर्घटनाका घाइतेहरूलाई अस्पताल पुर्याउनुअघि नै आकस्मिक स्वास्थ्य सेवा प्रदान गर्नका लागि स्रोतसाधन सम्पन्न एम्बुलेन्स उपलब्ध गराएको बताए ।
‘कुलमान सरकारप्रति प्रतिबद्ध नभएरै हटायौं, सरकार फेरिँदा अन्य नियुक्ति पनि खारेज हुने व्यवस्था गरौं’
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले कुलमान घिसिङलाई बर्खास्त गर्नु सामान्य विषय भएको बताएका छन् । उनले एकजना कर्मचारीको विषयमा प्रश्न उठेको बताउँदै यसले सदन अबरुद्ध हुुनु विडम्बना रहेको धारणा राखे । सोमबार राष्ट्रिय सभामा उठेका प्रश्नको जवाफ दिँदै उनले राष्ट्रसेबक कर्मचारीहरुको गुण/दोष टिप्पणी गर्ने स्थल गरिमामय संसद नभएको उनले धारणा राखे । ‘राम्रो काम गर्नेलाई पुरस्कृत गर्ने र दोषीलाई कारबाही गर्ने बिधि पनि यसै सदनले निर्धारण गरेको छ, कुनै पनि कर्मचारीबाट सरकारप्रति, विभागीय मन्त्रीप्रति, देशको हितप्रति प्रतिबद्धता देखिएन, लोयल्टी देखिएन भने कारबाहीको विषय बन्छ,’ उनले भने ।अहिले यो विषय सम्मानित अदालतमा विचाराधीन रहेकोले धेरै टीप्पणी गर्न नमिल्ने उनको भनाइ छ । पूर्णपाठः सम्माननीय अध्यक्ष महोदय, म भोलि थाइल्याण्ड सरकारको निमन्त्रणामा भोलिबाट औपचारिक भ्रमणका लागि त्यता प्रस्थान गर्दैछुु । कुटनीतिक सम्बन्ध स्थापना भएको ६५ सम्म एकपटक धेरै अघि थाइल्याण्डका प्रधानमन्त्रीज्यूूको नेपाल भ्रमण भएको रहेछ । तर हाम्रो तर्फबाट यी ६५ वर्षहरुमा एउटा पनि औपचारिक भ्रमण भएको रहेनछ । त्यसकारण यस पटक औपचारिक भ्रमणका लागि थाइल्याण्ड जाँदैछुु । हामी नेपालीहरुको निकट छिमेकी बाहेकका देशहरुको भ्रमणमा गेटवेएको रुपमा रहेको बैंककमा अहिलेसम्म औपचारिक भ्रमण नभएको सन्दर्भमा यो भ्रमण आफैँमा अर्थपूर्ण छ र महत्वपूर्ण छ भन्ने म ठान्छुु । भोलि १९ गते (अप्रिल १) मेरो भ्रमण टोली बैंककतर्फ प्रस्थान गर्नेछ । २० गते हाम्रो औपचारिक भ्रमण सुरु हुन्छ । भ्रमणको क्रममा महामहिम प्रधानमन्त्रीसँग द्विपक्षीय वार्ता हुन्छ । यसपटक पर्यटन र सँस्कृतिको सन्दर्भमा २ वटा समझदारी पत्रमा हस्ताक्षर पनि हुन्छ । दुई प्रधानमन्त्रीको उपस्थितिमा गैरसरकारी क्षेत्रबीच ६ वटा समझदारी पत्रमा हस्ताक्षर हुनेछ । द्विपक्षीय वार्तापछि थाइल्याण्डका प्रधानमन्त्रीसँगै मैले संयुक्त प्रेस ब्रिफिङमा भाग लिनेछु । थाइल्याण्डका नरेशसँगको भेटपछि एकदिने औपचारिक भ्रमण समाप्त हुनेछ । र, यो एउटा औपचारिक भ्रमणको आदान प्रदानको नयाँ सुरुवात हो । हाम्रो तर्फबाट यो विल्कूलै सुरुवात हो । २१ गते (३ अप्रिल) विहान थाइल्याण्डका प्रतिष्ठित व्यावासायीहरुसँग मेरो भेटघाट र छलफल हुनेछ । दिउँसो एशियन इन्स्टीच्युट अफ टेक्नोलोजीमा मैले सम्बोधन गर्नेछु । साँझ हुने बिमस्टेक शिखर सम्मेलनका नेताहरुलाई दिइने औपचारिक डिनरमा सहभागि भइने छ । समयको चाप छ, अधिकांश सदस्य देशका नेताहरु २१ गते मात्र बैंकक आइपुग्ने तालिका छ । तर पनि शिखर सम्मेलन लगत्तै बाँकी मुलुकका नेताहरुसँग सम्भव भएसम्म साइडलाइन वार्ताको योजना गरिएको छ । २२ गते हामी बिमेस्टक शिखर सम्मेलनमा सहभागी हुनेछौं । विहान मेरिटाइम ट्रान्स्पोर्ट कोअपरेशन अग्रिमेन्टमा हुने हस्ताक्षर समारोहमा सहभागि हुनेछु । दिउसो शिखर सम्मेलनलाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ । साँझ दुतावासमा हुने कार्यक्रमसँगै हाम्रो भ्रमणका कार्यक्रम सकिने छन् । २३ गते हामी स्वदेश फर्किने छौं । अध्यक्ष महोदयगत चैत १५ गते २ वटा रानीतिक कार्यक्रमहरुबारे प्रशासनलाई जानकारी गराइएको थियो । दुबै कार्यक्रम शान्तिपूर्ण र संवैधानिक दायराभित्रको हुने भनिएको थियो । शान्ति, सुव्यवस्था कायम राख्दै विरोध– आलोचनाको संवैधानिक अधिकार सुनिश्चित गर्न सरकारले हुनसक्ने अवाञ्छित घटनाप्रति आयोजकहरुलाई सचेत गराएको थियो । यस सम्मानित सदनमा राम्रो उपस्थिति रहेका दलहरुको मूल नेतृत्वमा ‘सामाजवादी मोर्चा’ले काठमाडौंको प्रदर्शनी मार्गमा भव्य सभा ग¥यो । आफ्नो धारणा सार्वजनिक ग¥यो । सरकारलाई खवरदारी ग¥यो । संविधान र व्यवस्थाप्रति आफ्नो प्रतिवद्धता जनायो । शालीन जुलुससहित भएको त्यस कार्यक्रमका आयोजकहरुलाई धन्यवाद ज्ञापन गर्दछु । हाम्रो संघीय लोकतान्त्रिक गणतन्त्रलाई सुदृढ गर्ने बिधि यस्तै हो भन्ने पनि म ठान्दछु । काठमाडौंको तीनकुनेमा अर्को सभाको लागि स्थान दिइएको थियो । त्यस कार्यक्रममा आयोजक को हुन् भन्नेमा केही आशंका र द्विविधा समेत थियो । को हो, को हो जस्तो, जो आयोजक हो, उ घरै बस्छ, बाहिर निस्किंदैन । उचालेका, तिखारेका मान्छेहरु सडकमा देखिन्छन् । त्यस्तो अवस्था थियो । त्यस कार्यक्रमका उद्देश्य जे बताइँदै थियो, त्यसमाथि नै आशंकाका आधार थिए । द्विविधा यस अर्थमा थियो, त्यसका आयोजक मध्ये केही नाम यस संदमै उपस्थित दलका नेताहरुको पनि थियो । तर, तीनकुनेका आयोजकहरुले पहिले प्रशासनलाई जानकारी गराए अनुसार सभा गरेनन्, उत्तेजक प्रदर्शन र अराजनीतिक नारा सहित भीड सलबलाउन थाल्यो । सभा वा मन्तव्य हैन, प्रदर्शनको कथित “जनकमाण्डर” आफैंले हाँकेको गाडी प्रहरीमाथि नै चढाउनेगरी निषेधित क्षेत्र तोड्न दौडाइयो । भीड नियन्त्रण गर्न प्रशासनले गरेको प्रयासका विरुद्ध प्रहरीको बन्दुक खोस्ने, गुण्डागर्दी र कुटपिट गर्ने, प्रहरीमाथि ढुंगामुुढा गर्ने, आक्रमण गर्ने, लुटपाट र आगजनी गर्नेजस्ता बारदात सुरु गरिए । हुँदा हुँदा निजी व्यक्तिको घर, सार्वजनिक भवन, सञ्चार गृह, पार्टी कार्यालय, औषधि कारखाना र सवारीका साधनमाथि ढुंगामुढा गर्ने, तोडफोड गर्ने, आगजनी गर्ने र डिपार्टमेण्टल स्टोरहरु लुटपाट गर्ने जस्ता आपराधिक घटना सुरु गरियो । निजी व्यक्तिको घरमा आगजनी मात्रै गरिएन मानिसलाई भित्रै थुनेर बाहिरबाट ताला लगाई जिउँदै डढाउने हिंस्रक, आतातायी कार्य भयो । अन्तर्राष्ट्रिय विमानस्थलमा आगजनी गर्ने र प्रज्ज्वलनशील पदार्थमा आगो लगाई बिस्फोट गराउने आतङ्ककारी काम समेत त्यस्ता प्रयासहरु भयो । प्रहरीका सवारी साधन मात्रै हैन, आगो निभाउन आएका दमकलमाथि समेत आक्रमण गरियो । यी सबै निन्दनीय र खेदजनक कार्य हुन् । यस्ता घटनामा संलग्नहरुमाथि जोसुकै होउन्, जुनसुकै कभरमा किन नहोउन्, कडा प्रशासनिक कार्वाही हुन्छ । घटनाको विस्तृत बिवरण उपयुक्त समयमा गृहमन्त्रीज्यूले सदनसमक्ष राख्नु हुने छ । घटनामा संलग्नहरुमाथि छानबीन सुरु भएको छ । यसका योजनाकार को हुन् र को को संलग्न छन् ? सरकारले यस सन्दर्भमा निष्पक्ष र निर्भीक छानबिन र अनुसन्धान गरिरहेको छ । यस घटनको पृष्ठभूमिमा करिव १ वर्ष अघिदेखिको घटनालाई अध्ययन गर्नु आवश्यक छ । सरकार, व्यवस्था र संविधानप्रति अनास्था, घृणा र भ्रम फैलाउन एउटा तत्व त्यसै बेलादेखि क्रियाशील थियो । मौका खोजीरहेको थियो । धर्म, सँस्कृति, परम्पराजस्ता संबेदनशील विषयमा अनावश्यक टिप्पणी गरी साम्प्रदायिक सद्भाव विथोल्ने र खास समुदायमाथि आक्रमणमा उक्साउने काम गर्दै थियो । ऋण तिर्न पर्दैन भन्दै ऋणिहरुको भावनात्मक संवेदना माथि खेल्ने र बैंक वित्तीय संस्था ध्वस्त पार्ने खेतीमा त्यो तत्व सक्रिय थियो । यसैबीच पूर्व राजा ज्ञानेन्द्र शाहले गत फागुन ७ गते आफू ‘अघि बढ्ने, साथ देउ’ भन्दै बक्तव्यवाजी गर्नुभयो । त्यसको लगत्तै ठाउँठाउँमा स्वागत कार्यक्रम राख्दै जनमत भड्काउने काम सुरु गरियो । फागुन २५ गते कथित ‘स्वागत–सवारी’ आयोजना गरियो । र, चैत १४ गते समाज विथोल्न लागिपरेका एकजना अवाञ्छित व्यक्तिलाई आफ्नै निवासमा डाकेर कथित “जनकमाण्डर” तोक्नु भयो र हिंसात्मक वारदातका लागि खटाउनु भयो । प्रारम्भिक अध्ययनमा यी सबै घटनाले स्पष्ट पार्छ, पूर्वराजा ज्ञानेन्द्र शाहले संविधानसभाको ऐतिहासिक निर्णयपछि भएको सम्झौताको उल्लंघन गर्नुभएको छ । त्यतिखेर नागरिकको हैसियतमा शान्त जीवन विताउने, नागरिकको कानुनी र संवैधानिक अधिकार प्रयोग गरी व्यापार व्यावसाय सञ्चालन गर्ने, पूर्व राष्ट्रप्रमुखको हैसियतमा सरकारले सुरक्षाको प्रबन्ध गर्ने र उहाँलाई नागार्जुन दरबार प्रयोग गर्न र उहाँको मातालाई प्रयोग गरिरहेको नारायणहिटी दरबार परिसरको भवन प्रयोग गर्न दिने सहमति भएको हो । हाल राष्ट्रियसभाका माननीय सदस्य एवम् तत्कालीन गृहमन्त्री श्री कृष्णप्रसाद सिटौलाले सरकारको तर्फबाट संवाद÷व्यवस्थापन गर्नु भएको थियो । आपराधिक घटनमा संलग्न कसैले पनि उन्मुक्ति पाउँदैन, पाउनु हुन्न । यसमा पूर्व राजा शाहले पनि उन्मुक्ति पाउनु हुन्न । फेरि राजा बन्छु, व्यवस्था मास्छु भन्नेले यी सबै शृङ्खलाबद्ध घटनामा आफ्नो धारणा सार्वजनिक गर्नुपर्दैन ? मानिसलाई मर्नलाई दुरुत्साहन गर्ने जनकमाण्डर, इतिहासले कुनामा फ्याँकेका व्यक्ति अभियानका संयोजक, धनजनको क्षति र लुटापाट शासक बन्ने मनसुवा बोक्ने व्यक्ति सिरकभित्र चुपचाप कसरी बस्न सक्छ ? यी सबै घटनाको मुल जिम्मेवार उहाँ हो, ज्ञानेन्द्र शाह हो, उहाँले लिनु पर्छ । बाँकी छानबिन र कारबाहीको सिलसिला अगाडि बढिहरको छ, म जानकारी गराउँछुु । ताजुवको कुरा के छ भने, दुनियाँका अगाडि सांसद भएपछि कहिले कहिले आफैँ मन्त्री, उपप्रधानमन्त्री भएर संविधान मान्छुु भन्ने सपथ लिएर, इश्वरका नाममा सपथ लिएर, देश र जनताका नाममा सपथ लिएर आफैँले गरेको प्रतिज्ञा, आफैँले खाएको कसम पालना गर्नु पर्दैन ? सपथ पालना गर्नु पर्दैन ? यो संविधानप्रति बफादार छुु, यो संविधान पालना गर्छु भन्ने सपथ पालना गर्नु पर्दैन ? कि त्यो एउटा तमासा मात्रै हो ? कि त्यो एउता छद्म अवसरको खोजी मात्रै हो ? त्यसो भएर संसद संविधानको विरोध गर्ने थलो होइन भन्ने कुरा म स्पष्ट पार्न चाहन्छुु । संसद लोकतन्त्रको विरोध गर्ने थलो होइन भन्ने म स्मरण गराउन चाहन्छुु । संसद संविधानसभा जसले लोकतान्त्रिक प्रणालीलाई व्यवस्थित ग¥यो, गणतन्त्र घोषणा ग¥यो, राजतन्त्रलाई विदा ग¥यो, त्यो गरिमामय संसदमा आएर फेरि राजतन्त्रलाई बिउत्याउँछुु भन्ने कुरा, लोकतान्त्रिक गणतन्त्रात्मक प्रणालीको विरोध गर्ने कुरा, संघीय लोकतन्त्रको विरोध गर्ने कुरा, गणतन्त्रको विरोध गर्ने कुरा यो संसदमा संविधानसम्मत हुँदैन र असंवैधानिक क्रियाकलाप गर्ने थलो संसद हुन सक्दैन, म स्पष्ट पार्न चाहन्छुु । सम्माननीय अध्यक्षज्यूू, केही दिनयता संसद अबरुद्ध छ । सुशासन र त्यसमा कम्प्रमाइज भएका विषयमा प्रश्न उठ्नु स्वभाविक छ । सरकारका कामकारबाहीप्रति प्रश्न उठाउने वा समर्थन गर्ने स्थल नै यो सम्मानित सदन हो । तर अहिले विषय सामान्य छ, एकजना कर्मचारीको विषयमा प्रश्न उठेको छ । सदन अबरुद्ध छ, महत्वपूर्ण संसदीय कार्यमा बाधा पुगेको छ । राष्ट्रसेबक कर्मचारीहरुको गुण÷दोष टिप्पणी गर्ने स्थल चाहिँ यो गरिमामय संसद हो भन्ने मलाई लाग्दैन । त्यसको प्रक्रिया छ । राम्रो काम गर्नेलाई पुरस्कृत गर्ने र दोषीलाई कारबाही गर्ने बिधि पनि यसै सदनले निर्धारण गरेको छ । यत्ति चाहिँ भनौं, सामान्यतः कुनै पनि कर्मचारीबाट सरकारप्रति, विभागीय मन्त्रीप्रति, देशको हितप्रति प्रतिबद्धता देखिएन, लोयल्टी देखिएन भने कारबाहीको विषय बन्छ । विभागीय मन्त्रीको ठहर वा मन्त्रिपरिषद्ले गरेको कारबाही ठीक छ÷छैन भन्ने कुराको निरुपण गर्ने पनि विभिन्न निकायहरु छन्, ठाउँहरु छन् । त्यसको पनि परीक्षण होला । हुने ठाउँमै होला । त्यस्तो अवस्थामा सरुवा गर्ने, जगेडामा राख्ने, स्पष्टिकरण माग्ने, नसिहत वा चेतावनी दिने वा पदमुक्त गर्ने सम्मका काम सरकारले गर्छ, यो मामुली कुरा हो । अहिले पनि भएको छ, अहिले पनि भएको छ । चित्त नबुभ्mने पक्षले कानुनी उपचारको हक राख्छ, त्यो पनि हुने गरेको छ । भइरहेको छ । अहिले यस विषय सम्मानित अदालतमा विचाराधीन छ । यसमा थप चर्चा परिचर्चा गर्न विधिसम्मत हुन्न भन्ने यस सम्मानित सदनलाई जानकारी नै छ । त्यसैले यस विषयमा थप बहस नगरौं, सम्बन्धित निकायहरुलाई आफ्नो काम गर्न दिउँ । राम्रो काम गरेका व्यक्तिको पनि अनावश्यक चर्चा परिर्चा हुँदा उपयुक्त निष्कर्ष आउन पाउँदैन । व्यक्ति÷व्यक्तिको नियुक्तिका विषयमा वा कुनै कारबाहीका विषयमा संसदले त्यसमा हात हाल्न थाल्यो भने, त्यसलाई आफ्नो विषय बनाउन थाल्यो भने, कानुन निर्माण गर्नु पर्ने आफ्नो दायित्वबाट कर्मचारीको नियुक्ती, सरुवा वा प्रमोशन वा नैसियत वा सम्मान पुरस्कार यी विषयहरुमा संसदले हात हाल्न थाल्यो भने संसदका काम कारबाही चाहिँ छुुट्छन् । जस्तो अहिले छुुटिराखेका छन् । यस्तो नहोस् भन्ने म आग्रह गर्न चाहन्छुु । व्यक्तिव्यक्तिका विषय वा अन्य कारबाहीमा यो गरिमामय सदन विभाजित पनि हुनुुुहुँदैन र हुनुु जरुरी पनि छैन । बरु अबदेखि यस्तो गर्दा हुन्छ होला, लोकसेवाबाट नियुक्ति हुने बाहेक अन्य प्रकृयाबाट सरकारले गर्ने नियुक्ति गरेका व्यक्तिहरु सरकार फेरिंदा स्वतः पदमुक्त हुने बिधि अपनाय हुन्छ, त्यो गरौं । सल्लाहकारदेखि, महान्यायधिवक्ता र राष्ट्रिय योजना आयोगसम्म त अहिले पनि प्रधानमन्त्री फेरिदा स्वतः फेरिने हामीले व्यवस्था नै गरेका छौं । खासगरी लोकसेवाले नियुक्त गरेका बाहेक अरु त्यही विधिमा जाऔं । यसमा सल्लाह गरौं । विशेषगरी प्रतिपक्षका माननीयज्यूहरुलाई अनुरोध गर्दछु, अहिलेको विषम परिस्थितिलाई मनन गरौं । यो सामान्य अवस्था होइन । यस्तो असामान्य अवस्थामा यस्ता कुराहरुमा अल्झिएर, एउटा कर्मचारीको विषयलाई लिएर यहाँ व्यवस्थामाथि हमला भइराखेको छ, यहाँ सुशासनमाथि यत्रो धज्जी उडाइएको छ । शान्ति सुुव्यवस्था माथि धज्जी उडाइएको छ । मान्छेका निजी घर, पार्टीका कार्यालय तोड्फोड आगजनी गरिएको छ, निजी व्यवसायमाथि हमला भएको छ । लुटपाट भएको छ । यस्तो अवस्था छ । प्रहरी हाम्रो दाजुुभाइ होइन ? उसमाथि के जस्तो सुकै आक्रमण गरे हुन्छ ? गाडी लगेर किचिदिए, पेलिदिए हुन्छ ? त्यस्तोसम्मको अराजकता देशमा सिर्जना गर्न खोजिएको छ, प्रतिगमनका लागि । यति बेला हामी एकजुट भएर जनतालाई जगाएर व्यवस्था र संविधानको रक्षा गरेर यिनलाई सफल बनाएर अगाडि जानुु पर्नेमा, हामी ससाना निहुँहरुमा अल्झिरहेका छौं । न अल्झिऔं भन्ने म आग्रह गर्न चाहन्छु । हामीले सदनको यो अबरोध अन्त्य गरेर, एकतावद्ध भएर हामीले लडेर ल्याएको संघीय लोकतान्त्रिक गणतन्त्रलाई सुदृढ गरौं, हामी आफैंले बनाएको संविधानलाई समृद्ध बनाऔं । मेरो आग्रह छ । जहाँसम्म कानुन निर्माणको प्रश्न छ, अध्यादेश छ वटामध्ये एउटा हामीले पेश गरेनौं । छ वटामध्ये समयभित्रै पाँचवटा दुवै सदनहरुबाट स्वीकृत भइसकेका छन् । अध्यादेशको सम्बन्धमा संविधानको धारा ११४(२)ले व्यवस्था गरेको छ । त्यसअनुसार नै हुने कुरा छर्लंग छ भन्ने म ठान्छुु । त्यसो भएर म आग्रह गर्न चाहन्छुु कि यसलाई कहाँ पु¥याउँछौं त हामीले ? यसर्थ म आज प्रतिपक्षको भावनाको कदर र सम्मान गर्दैै यस सदनमा अहिलेको परिस्थिति, अहिलेका गतिविधि, मेरो थाइल्याण्डको भ्रमण र बिमिस्टेकको शिखर सम्मेलनदेखि लिएर अहिले हाम्रो बीचमा चलिरहेको सानामसिना कुराहरुमा जहाँ हामी एउटा इगोको जस्तो विषय बनाएर अल्झिरहेका छौं । यसलाई इगोको विषय नबनाऔं र सदन सुचारु गरौं, म आग्रह पनि गर्न चाहन्छुु ।
राप्रपा अध्यक्ष लिङदेनको प्रश्न : काँग्रेस-एमाले भजन कीर्तन गाउँदै सत्तामा आइपुगेको हो ?
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेन नेपाली काँग्रेस-नेकपा एमालेहरु सत्तामा भजन कीर्तन गाउँदै र मादल बजाउँदै आइपुगेको हो ? भन्दै प्रश्न गरेका छन् । प्रतिनिधि सभाको सोमबारको बैठकमा बोल्दै उनले यस्तो प्रश्न गरे । उनले चैत १५ गते भएको राजावादी समूहको आन्दोलनमा आन्दोलनकारीले मात्र नभई राज्यपक्षबाट समेत ज्यादति गरिएको आरोप लगाए । अहिले सत्तामा रहेका दलहरु समेत तोडफोड र मान्छे मारेर सत्तामा पुगेको टिप्पणी गरे । उनले सरकारले राजावादी आन्दोलन बिथोल्नको लागि घरको छतमा बसेर म्याद गुज्रेका अश्रुग्याँस फालेको आरोप लगाए । उनले भने, ‘चैत १५ गते आन्दोलनकारीले मात्रै ज्यादति गरेको हो ? त्यो नियन्त्रण गर्ने दायित्व सरकारको होइन ? तपाई कांग्रेस–एमाले भन्नेहरु आज यो सत्तामा भजन कीर्तन गाउँदै मादल बजाउँदै आइपुगेको हो ? तपाईहरु तोडफोड नगरि आएको हो ? मान्छे नमारी आएको हो ? त्यसकारण म भन्छु, सविन महर्जनलाई हिँडिराखेको बेला गोलि किन हानियो ? छतमा बसेर किन म्याद सक्केको अश्रुग्याँस बर्साइयो ? किन माथिबाट गोलि हानियो ? त्यसको जवाफ चाहिन्छ ।’ उनले न्यायिक छानविन आयोग गठन गरि दोषिलाई कारबाही गर्न सरकारको ध्यानाकर्षण गराएका छन् ।
‘ज्ञानेन्द्र शाहलाई दिइएको सेवा सुविधा कटौती गर्नुपर्छ’
काठमाडौं । नेकपा (एमाले) का सांसद योगेशकुमार भट्टराईले पूर्वराजा ज्ञानेन्द्र शाहले राज्यसँग गरेको सम्झौता भंग गरेको आरोप लगाएका छन् । उनले ज्ञानेन्द्र शाहलाई दिइएको सेवा सुविधा पुनरवलोकन गर्नुपर्ने बताएका छन् । सोमबारको प्रतिनिधि सभाको बैठकमा बोल्दै, सांसद भट्टराईले पूर्वराजा शाहले निर्मल निवासबाट केही व्यक्तिलाई माला लगाएर जनताको घर जलाउन पठाएको गम्भीर आरोप लगाए । सांसद भट्टराईले पूर्वराजा शाहले तीनकुने घटनामा उक्साउने भूमिका खेलेको दाबी गर्दै भने – ‘पूर्वराजालाई पूर्वराष्ट्राध्यक्षका रूपमा राज्यले सेवा सुविधा दिएको हो, तर अब त्यो सम्झौता भंग भएको छ । सरकारले जवाफ दिनुपर्छ, सम्झौता भंग भएपछि ती सेवासुविधा कायम रहन्छन् कि रहँदैनन् ?’ उनले शाहले केही व्यक्तिहरूलाई जनकमाण्डर बनाएर हिंसात्मक गतिविधिमा संलग्न गराएको आरोप समेत लगाए । सांसद भट्टराईले पृथ्वीनारायण शाह र बहादुर शाहबाहेकका राजाले राष्ट्र जोगाउन नसकेको टिप्पणी गर्दै, नेपालको भूभाग संकुचित हुनुको दोष पुराना राजाहरूलाई दिए । ‘नेपालको सीमाना कहिल्यै फराकिलो भएन, बरु खुम्चिँदै गयो । यसको जिम्मेवार को ?’, उनले भने । उनले पूर्वराजा शाहको भूमिका विवादित भएकाले, सरकारले सेवा सुविधा निरन्तरता दिने कि नदिने विषयमा तत्काल निर्णय लिनुपर्ने माग गरे ।
तीनकुने घरभित्रको त्यो ‘अन्तिम आवर’ : म बल्लतल्ल बाँचे, सुरेश दाई अस्ताए
हातका औंला काँपिरहेका छन् । क्यामेराको सटर थिच्ने यी औंला आज किबोर्ड थिच्न मानिरहेका छैनन् । तर, कतिपय भिडियो र तस्बिरमा कैद हुन नसकेका विषयलाई शब्दजालले सहयोग गरिदिँदा रहेछन् । मैले कतै पढेको थिएँ, ‘हजारौं शब्द एउटै तस्बिरले बोल्छ ।’ तर, म त्यही तस्बिर खिच्ने मान्छे आज कनिकुथी शब्द खेलाएर सन्देश दिँदैछु । उसो त आन्दोलन मलाई झर्को लाग्छ । सकेसम्म देश शान्त रहोस्, हामी सबै सुखी र खुसी रहूँ भन्ने मनोकांक्षा सबैको हुन्छ । तर, सबैको आकांक्षा, चाहना र मनसाय कहाँ एउटै हुँदो रहेछ र ! विगतमा विभिन्न उश्रृङ्खल गतिविधि गरेर जनतालाई भड्काउँदै आएका विवादित मेडिकल व्यवसायी दुर्गा प्रसाईंको नेतृत्वमा काठमाडौंको तीनकुनेमा राजावादी समर्थकको प्रदर्शन हुने खबर सुनियो । आन्दोलन नहोस् भन्ने चाहना भएपनि हामी फोटो/भिडियो पत्रकारको काम त्यहाँ पुग्नै पर्ने । समाचार त फोनबाट सोधेर पनि लेख्न सकिन्छ होला तर फोटो र भिडियोका लागि भने फिल्डमा दगुर्नै पर्ने । यही बाध्यता, विवशता र आफ्नो कामप्रतिको धर्म र इमानदारिताले पनि म १५ गते हुने गणतन्त्रवादी अर्थात् समाजवादी मोर्चा नेपाल र राजावादीले गर्ने प्रदर्शनको रिपोर्टिङका लागि १४ गतेदेखि नै खटिएँ । १४ गते राति ११ बजे प्रदर्शनी मार्गमा पुगेर विकासन्यूजको फेसबुक पेजबाट त्यहाँको तयारीको विषयमा प्रत्यक्ष प्रसारण गरें । धमाधम स्टेज निर्माणको काम हुँदै थियो । ठाउँ-ठाउँमा माइक राखिँदै थिए । गणतन्त्रवादीको प्रदर्शन १५ गते भव्य र सभ्यका साथ हुन सक्ने आँकलन मैले त्यतिखरै गरें । मञ्च व्यवस्थापन तथा अन्य तयारी गरिरहेकाहरुसँग कुराकानी गर्दा महसुस गरेको कुरा थियो त्यो । प्रदर्शनी मार्गको तयारीको अवस्थामा अपडेट सकाएपछि तीनकुनैतर्फ लागें । साथमा सहकर्मी महेश पौडेल पनि हुनुहुन्थ्यो । हामीबीच भोलि अर्थात् १५ गते हुने राजावादी र गणतन्त्रवादीहरूको प्रदर्शन कस्तो होला ? भन्ने कुरा बाटोमा चलिरह्यो । हामी तीनकुने पुग्यौं । पत्रकारिता पढेको र गरिरहेको हिसाबले पनि मलाई कुनै पनि समूह वा व्यक्तिप्रति पूर्वाग्रही हुनु हुँदैन । समाचार सामग्रीहरू सन्तुलित हुनुपर्छ भन्ने थोरबहुत ज्ञान छ । यही विषयलाई महसुस गर्दै हामी प्रदर्शनी मार्गको लाइभ सकेर तीनकुने पुगेका थियौं । तीनकुनेमा पनि राजावादीले धमधाम तयारी गर्दै थिए । त्यहाँ पुगेर पनि साढे ११ बजे लाइभ गरें । प्रदर्शनी मार्गजस्तै मैले त्यहाँ पनि तयारी गरिरहेकाहरूसँग कुराकानी गरें । भोलिको राजावादीको प्रदर्शन उश्रृङ्खल बन्न सक्ने आँकलन मैले त्यतिखेरै गरें । १५ गतेको प्रदर्शनीका लागि तोकिएको कमाण्डर दुर्गा प्रसाईंले नेतृत्व गर्ने जत्थाले के-कतिसम्म र कस्तो हर्कत देखाउँछन् भन्ने कुरा जोकोहीले पनि सहजै पूर्वानुमान लगाउन सक्छन् । मैले पनि त्यहाँ कुराकानी गर्दा त्यस्तै महसुस गरें । मैले १५ गते हुने गणतन्त्रवादी र राजावादीहरूको प्रदर्शनीमध्ये राजावादीको प्रदर्शन रोजें । केही चुनौतीपूर्ण र सकसपूर्ण हुने भएपनि फोटो पत्रकारका लागि मुडभेड र आन्दोलन तस्बिर खिच्न उद्देलित नै गर्छ । यो मेरो भोगाइ हो । स्टेजमा बोलिरहेका नेताहरूका तस्बिर खिच्नुभन्दा सडकमा उफ्रिन सक्ने राजावादीको तस्बिर र भिडियोहरू चर्चामा आउन सक्ने आत्मबोध गर्दै म तीनकुनेतर्फ लागें । सहकर्मी बटुराज गिरी गणतन्त्रवादीको प्रदर्शनीको कभरेज गर्न गए । फोटो पत्रकारिता यस्तो काम हो जति गरेपनि जस्तो गरे पनि आत्मसन्तुष्टि नहुने । तस्बिरको तिर्खा लागिरहने । भइरहेको कामलाई थप गरौं भन्ने चाहना हुने । एउटा फोटो खिचिसकेपछि अर्को राम्रो फोटो आउँछ कि भनेर थप लालायित बनिहाल्ने । यही चाहना र लोभले कामको शिलशिलामा सँगसँगै फिल्डमा भेटिरहने फोटो पत्रकार दाई सुरेश रजकको काम गर्दागर्दै ज्यान गयो । यो विषयमा एकछिन पछि कुरा गर्छु । चैत १५ गते बिहान ११ बजे नै सुरु हुने भनिएको राजावादीको प्रदर्शन साढे ११ बजिसकेको थियो सुरु हुने छाँटकाट थिएन । साढे ११ बजेसम्म सीमित प्रदर्शनकारी मात्रै तीनकुने आइपुगेका थिए । केही समयपछि एउटा समूह चाबहिल र अर्को समूह कोटेश्वरबाट र्याली निकाल्दै तीनकुनेमा आइपुग्यो । तीनकुनेमा हुने भनिएको प्रदर्शन फिल्ड नै वेवास्ता गर्दै बानेश्वरतर्फ लम्कियो । सञ्चारकर्मीहरूले प्रदर्शनकारीहरूसँग कुराकानी गर्न थाल्यौं । उनीहरु भन्दै थिए, ‘मिडियामा बोलेर केही हुँदैन, जाऔं बानेश्वरमा सुरक्षाकर्मीले लगाएको बार भत्काऔं ।’ उनीहरूको रफ्तार बढ्दै गयो । १४ गते राति राजावादीको आन्दोलन अराजक बन्न सक्छ भन्ने जुन आँकलन मैले गरेको थिएँ, त्यहाँको हाउभाउले पनि त्यस्तै देखाउँदै थियो । शान्तिनगरको गेटमा सुरक्षाकर्मीले बार लगाएका थिए । पहिलो घेरामा प्रहरी र दोस्रो घेरामा सशस्त्र प्रहरी तैनाथ थिए । राजावादी उग्र बन्दै गए । जसरी पनि त्यो बार भत्काउने होडमा उनीहरू थिए । सुरक्षाकर्मीले यो प्रदर्शनले उग्ररूप लिन सक्ने अनुमान गरेका हुन सक्छन्, त्यतिबेलै प्रहार भयो, ‘अश्रुग्यास’ । त्यही अश्रुग्यास अभिशाप बन्यो । राजावादी थप उग्र बने । सरकारले आफ्नो कार्यक्रम भाँड्न खोजेको आरोप लगाए । निरन्तर अश्रुग्यास प्रहार भएपछि राजावादीका समर्थक तितरबितर बने । आन्दोलन साम्य बन्यो । अब राजावादी समर्थक छिन्नभिन्न भएको र घर लागिसकेको अनुमान सुरक्षाकर्मीले लगाए । तैनाथ भएका सुरक्षाकर्मी केही घटे । तर, त्यति नै बेला त्यो प्रदर्शनका कमाण्डर दुर्गा प्रसाईंसँगै रविन्द्र मिश्र, धबलशमशेर राणा लगायत नेताहरू तीनकुनेमा प्रवेश गरे । तितरबितर भइसकेका समर्थकलाई कार्यक्रमस्थलमा आउन उनीहरूले निर्देशन दिए । नडराएर अगाडि बढ्न ढाडस दिए । नेताहरूको त्यो ढाडसपछि आन्दोलनकारीहरू थप उत्साहित बने । अनि सुरु भयो ढुङ्गामुढाको वर्षा । प्रदर्शनकारीले ढुङ्गामुढा हान्ने र सुरक्षाकर्मीले अश्रुग्यास प्रहार गर्ने शिलशिला निरन्तर चलिरह्यो । हामी ती गतिविधिलाई निरन्तर क्यामेरामा कैद गरिरह्यौं । प्रदर्शन थप उग्र बन्दै थियो । केहीले यही घरबाट हो अश्रुग्यास प्रहार भएको भन्दै त्यस घरतर्फ ढुङ्गामुढा गर्न थाले । अहिले सामाजिक सञ्जालमा जुन घरको तस्बिर र भिडियोहरू भाइरल भइरहेका छन्, त्यही घर राजावादीका समर्थकको टार्गेटमा पर्यो । त्यो घरमा निरन्तर ढुङ्गामुढा बर्सिए । केहीले एमालेका नेता महेश बस्नेतको घर भने । केहीले ठूलो व्यवसायीको घर भने एक कान दुई कान हुँदै सिसाको त्यो घर ओडारजस्तो बन्यो । प्रदर्शनकारीले घरको सटर तोडेरभित्र पसे । माथिबाट सामान खसालेर तल फ्याँक्न थाले । सुरक्षाकर्मी त्यहाँ गएर प्रर्दशनकारीलाई तह लगाउने साहस गरिरहेको थिएन । सुरक्षाकर्मी नै घाइते भइसकेका थिए । केहीको बन्दुक पनि प्रदर्शनकारीले खोसिसकेका थिए । सुरक्षाकर्मी टुलुटुलु हेर्न बाहेकको विकल्प रोज्न सकिरहेका थिएनन् । भित्रको सामान निरन्तर तल खसालिँदै थियो । माथिबाट सामान खसालेको र तलको भीड देखाउने लोभले मसहित फोटो पत्रकार स्वर्गीय सुरेश रजक र अन्य दुई जना फोटो पत्रकार त्यही ढुङ्गा बर्सिरहेको घरभित्र छिर्यौं । भित्रको माहोल शब्दले बताइनसक्नु थियो । सीमित मोमेन्टहरू क्यामेरामा कैद भएका छन् । तर, धेरै हर्कतहरू स्मृतिमा छचल्किरहेका छन् । घरभित्र छिरेका केही प्रदर्शनकारीहरूले केहीले खल्ती त केही झोला भरिरहेका भिडियो तपाईंहरूले हेरिसक्नु भएको छ । ती भिडियो र तस्बिरहरू अहिले सामाजिक सञ्जालमा भाइरल नै छन् । मैले पनि मेरो क्यामेरामा एकजनाले कोठाबाट ल्यापटप लिएर बाहिरिँदै गएको भिडियो कैद गरें । मानवनता देखाउँदै ती व्यक्तिलाई यस्तो काम नगर्न सुझाव दिएँ । अहँ, तर त्यतिधेरै भित्र छिरेका प्रर्दशनकारीकासामु हामी दुई/तीन जना पत्रकारको केही चलेन । म खिच्दै थिएँ । प्रदर्शनकारी आएर भिडियो डिलिट गर्न धम्की दिए । क्यामेरा फुटाइदिने चेतावनी दिए । त्यतिखेरै एक जना फोटो पत्रकार म नजिक आएर उनीहरूलाई उल्टै हप्काए । हाम्रो काम यही हो, तिमीहरू के गर्न सक्छौ भनेर आक्रोश पोखेपछि हतास हुँदै हतार–हतारमा उनीहरू सामान बोक्दै बाहिर लागे । त्यतिबेलासम्म अरू पत्रकार घर बाहिर पुगिसकेका थिए । म भिडियो खिच्दै थिएँ । एभिन्यूजका स्व. सुरेश रजक पनि तोडिएको झ्यालबाट बाहिरिको भिडियो खिच्दै थिए । प्रदर्शनकारीहरूले माथि सिभिल प्रहरी छ भनिरहेका थिए । म छतमा जाने बाटोको खोजीमा लागें । छत जाने बाटो बन्द थियो । च्यानल गेटमा ताला लागेको थियो । जुन अहिले भित्र कोठामा सामान चोरिरहेको दृश्य तपाईंहरूले देखिरहनु भएको छ, त्यहाँभित्र जाने ढोक्का बन्द थियो, झ्याल फुट्टाएर उनीहरू भित्र पसेका थिए । स्व. सुरेश त्यहीँ नजिक थिए । उनले कसैलाई फोनमा भन्दै थिए- ‘दाई मेरो भाइबर एड गर्नुहोस्, म एकदमै खतरा ठाउँमा छु ।’ उनी बोलिरहेको भिडियो मसँग पनि छ । त्यसपछि उहाँ म भिडियो खिच्दै गरेको ठाउँबाट अगाडि जानुभयो । बाहिरबाट प्रदर्शनकारीको ढुङ्गा प्रहार रोकिएको थिएन । म अब बाहिर जाने योजनामा थिएँ । अन्तिम पटक माथिबाट बाहिरको भिडियो लिने सोंच बनाएँ । छेउमै पुगेर बाहिरको भिडियो खिच्दै थिएँ । मेरो पछाडि आल्मुनियमको बार खसेर म फर्किने बाटो बन्द भयो । म त्यसबाट सहजै बाहिर निस्किने अवस्था थिएन । मैले त्यहाँ चोरिहेका आन्दोलनकारीलाई मद्दत माँगें । उनीहरू आएनन् । केही टाढा रहेका एक जना परिचय नभएका हातमा क्यामेरा भिडेका साथी म कहाँ आएर आल्मुनियम उठाउने प्रयास गरें, आल्मुनियम फोड्ने कोसिस गरें । अहँ, उनले सकेनन् । केही समयपछि एक/दुई जना मिलेर आल्मुनियम हटाएर म त्यहाँबाट निस्किएँ । घरमा आगो दन्किसकेको थियो । हामी माथि एक्सक्लुसिभ फुटेज र तस्बिरको लोभमा थियौं । सुरेशजी भिडियो खिच्नमै व्यस्त थिए । केही मिनेट आल्मुनियमले सताएको मलाई त्यहाँ बस्न कत्तिभर पनि मन लागेन । सडकबाट केहीले तल झर आगो माथि पुगिसक्यो भनेको आवाज मेरो कानमा ठोक्कियो । म हतार-हतारमा तल झर्दै थिएँ । अगाडि तिनै स्व. सुरेश रजक थिए । मैले उनलाई हतास–हतासमा भनें, ‘दाई आगो नजिकै आइसक्यो रे ! झरौं तल ।’ उनले जवाफमा मसँग भने, ‘म खिच्दैछु ।’ म तल झर्दै गर्दा एउटा कोठामा अर्का प्रदर्शनकारी ल्यापटप चोर्दै थिए । मैले उनको भिडियो खिँचें । उनलाई त्यो ल्यापटप त्यहीँ राख्न आग्रह गरें । उनी सडकमा फाल्ने भन्दै बाहिर दौडिएँ । म पनि उनलाई पछ्याउँदै बाहिरिएँ । आगोको मुस्लो थियो । क्यामराको लेन्सले उनलाई थप कैद गर्न सकेन । त्यतिसम्म बाहिरबाट भित्र जान सक्ने अवस्था थिएन । ढुङ्गामुढा निरन्तर बर्सिरहेका थिए । आगोले अराजक रूप लिँदै थियो । धुवाँको मुस्लोले मान्छेहरूलाई नदेख्ने अवस्था बनिरहेको थियो । मलाई थाहा थियो, माथि पत्रकार सुरेश रजक छन् । म नजिकै रहेका प्रहरीकहाँ गएर भित्र एक जना पत्रकार रहेको सुनाएँ । ती प्रहरी अधिकारीले वाकीटकीमा कुरा गरेजस्तो गरेर उभिएको ठाउँबाट उता सरे । फेरि आए उताबाट आएर ती प्रहरीले मलाई सोधे– माथि कति जना छन् ? मैले भने ‘एक जना ।’ त्यहीबेलै एभिन्यूजकै अर्का पत्रकारले आफ्नो सहकर्मी माथि नै रहेको प्रहरीलाई सुनाए । मैले भर्खर फोन गरेको उहाँले माथि नै छु भन्नु भएको छ, उहाँको उद्धार गर्नु परेको भन्दै ती पत्रकारले प्रहरीसँग बिन्ती बिसाउँदै थिए । अहँ, प्रहरीले वाकीटकीमा बोल्ने बाहेकको काम गर्न सकेन । आगो दन्किदै थियो । साइरन बजाउँदै दमकल आयो । अब पत्रकार सुरेशको उद्धार हुने झिनो आशा पलायो । तर, प्रदर्शनकारीले दमकललाई बस्न दिएनन्, आगो निभाउन दिएनन् । दमकलमाथि नै उनीहरूले ढुङ्गामुढा गरे । विडम्बना, पत्रकार सुरेश रजकले भित्रै ज्यान गुमाउनु पर्यो । दिनभरको थकित ज्यानलाई बिसाउन साँझ ७ बजे बागबजारमा रहेको कार्यालयमा आइपुगें । दिनभरको आफूले भोगेको र देखेको अनुभूतिहरू सम्पादक सरलाई सुनाएँ । उहाँले त्यतिबेलै ब्लग लेख्न सुझाउनु दिनुुभयो । मैले आँट गरिनँ । क्यामेराको बटन थिच्ने बानी परेको म ल्यापटपको किबोर्ड थिच्न उत्साह आएन । तर, आज तीन दिनपछि कनिकुथी मनको बह पोखें । अहिले पनि लागिरहेको छ, यदि मैले तल झरौं भनेको बेला सुरेश दाईले सँगै आइदिएको भए उनको ज्यान बच्थ्यो कि ! उच्च शिक्षाका लागि हुम्लाबाट काठमाडौं आइयो बाध्यताबस् पत्रकारिता पेसामा छिरेको म अहिले यही पेसा आदत बन्यो । धेरैले भन्छन्, ‘आफ्नो ज्यानलाई चुनौतीमा राखेर काम नगर ।’ तर, काम गर्ने बेला ज्यानको प्रवाह नहुँदो रहेछ । सुरेश दाईले पनि एउटा एक्सक्लुसिभ फुटेजको लोभमा आफ्नो ज्यानलाई आगोमा जलाए । हार्दिक श्रद्धाञ्जली सुरेश दाई !
अमेरिकाको नयाँ कर नीति सबै देशमा लागू हुने ट्रम्पको घोषणा
काठमाडौं । अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकासँग व्यापार असन्तुलन भएका केही देशमात्र नभई सबै देशमा नयाँ कर नीति लागू गरिने बताएका छन् । ट्रम्प प्रशासनले व्यापार असन्तुलनलाई सुधार गर्न अप्रिल २ देखि पारस्परिक कर नीति लागू गर्ने तयारी गरिरहेको छ । उनले एयर फोर्स वनमा पत्रकारहरूसँग कुरा गर्दै, यो नीति सबै देशमा लागु हुने स्पष्ट पारे । ‘मैले १० वा १५ वटा देशको मात्र कुरा भइरहेको भन्ने हल्ला सुनेको छु। तर त्यस्तो होइन। कर नीति सबै देशमा लागू हुनेछ,’ ट्रम्पले भने । ट्रम्पले स्टिल र एल्युमिनियमको आयातमा कर वृद्धि गरिसकेका छन् भने, चीनबाट आयात हुने सामानमा समेत अतिरिक्त कर लगाइसकेका छन् । अप्रिल ३ देखि विदेशी कारहरूको आयातमा पनि अतिरिक्त कर लाग्नेछ । उनका व्यापार सल्लाहकार पिटर नाभारोका अनुसार, यस कर नीतिबाट वार्षिक १०० अर्ब डलर उठ्ने अपेक्षा गरिएको छ । उनले १० वर्षमा करिब ६ ट्रिलियन डलर संकलन हुने दाबी गरे । विश्लेषकहरूका अनुसार ट्रम्पको व्यापक कर वृद्धिको नीतिले मुद्रास्फीति बढाउने र विश्वव्यापी मन्दी निम्त्याउने खतरा रहेको छ । ट्रम्प प्रशासनको नयाँ कर नीतिले अन्तर्राष्ट्रिय व्यापार युद्धको सम्भावना बढाएको अर्थशास्त्रीहरू बताउँछन् । यद्यपि, ट्रम्पले सरकारी राजस्व वृद्धि गर्ने र अमेरिकी उद्योगलाई पुनर्जीवित गर्ने तरिकाको रूपमा यस नीति लागू गर्न लागिएको दाबी गरेका छन् ।
कुलमान घिसिङलाई हटाएर सरकारले गल्ती गर्यो : काँग्रेस महामन्त्री शर्मा
काठमाडौं । नेपाली काँग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई हटाएर सरकारले गल्ती गरेको बताएका छन् । सोमबार प्रतिनिधि सभाको बैठकमा बोल्दै महामन्त्री शर्माले, घिसिङलाई बाँकी कार्यकाल पूरा गर्न दिनुपर्नेमा सरकारले अनावश्यक रूपमा हटाएको टिप्पणी गरे । उनले अदालतमा विचाराधीन मुद्दामा प्रधानमन्त्री केपी शर्मा ओलीले सदनमा जवाफ दिनु अनुचित भएको भन्दै प्रश्न उठाए । ‘सभामुख महोदय, कुलमान घिसिङलाई बाँकी समय काम गर्न दिनुपथ्र्यो । हामी पनि सत्तारूढको कित्ताबाट भनिरहेका छौं । सरकारले हटाएर गल्ती गर्यो, ‘ उनले भने । महामन्त्री शर्माले प्रतिपक्षी दलले यस विषयमा समय माग्नु र सभामुखले समय दिनु समेत गलत भएको बताए । साथै, लोकतान्त्रिक प्रणालीमा अदालतको फैसला नै सर्वोपरी हुने भएकाले यस विषयलाई अदालतले टुंग्याउनुपर्ने धारणा व्यक्त गरे । फरक सन्दर्भमा बोल्दै शर्माले तीनकुने घटनामा भएको धनजनको क्षतिप्रति सबै दुःखी भए पनि निर्मल निवासले कुनै प्रतिक्रिया नजनाएको आरोप लगाए । ‘गणतन्त्रको विकल्प राजतन्त्र हुन सक्दैन । जनताका निराशा समाधान गर्दै जानुपर्छ, तर त्यसको समाधान राजतन्त्र होइन, ‘ उनले भने । उनले लोकतान्त्रिक व्यवस्थाले नै जनताको समस्या हल गर्ने दिशामा जानुपर्छ भन्दै, गणतन्त्र सुदृढ गर्न सबै राजनीतिक दलले जिम्मेवारी बहन गर्नुपर्ने बताए ।
आजदेखि टरिगाउँ विमानस्थलमा हवाई सेवा सुरु
तुलसीपुर । आजदेखि दाङको तुलसीपुर–१२ स्थित टरिगाउँ विमानस्थलमा तीन महिनापछि हवाई सेवा सुरु भएको छ । अब प्रत्येक सोमबार उडान हुने नेपाल एयरलाइन्सका स्टेसन इञ्चार्ज बलबहादुर सुनारले जानकारी दिए । उनले यात्रुको मागअनुसार उडान थप गर्न पनि सकिने बताए । विमानस्थलमा हवाई सेवा पटक–पटक अवरुद्ध हुँदै आएको छ । यस पटक गत पुस २ गतेदेखि हवाई सेवा अवरुद्ध भएको थियो । उक्त विमानस्थलमा नियमित हवाई सेवा नहुँदा यात्रु नेपालगञ्ज वा भैरहवा जानुपर्ने बाध्यता छ । विमानस्थलको धावनमार्ग सानो हुँदा ठूला जहाज बस्न सकेका छैनन् । अहिले १९ सिटे जहाज मात्रै सञ्चालन हुँदा पनि अनियमित हुने हुँदा यात्रु भैरहवा वा नेपालगञ्ज जानुपर्ने अवस्था रहेको छ । हाल विमानस्थलको धावनमार्ग ७५० मिटर रहेको छ । उक्त धावनमार्ग विस्तार गर्नुपर्ने आवाज पटक–पटक उठ्ने गरेको छ ।