काठमाडौं । नेकपा (एमाले) का सांसद योगेशकुमार भट्टराईले पूर्वराजा ज्ञानेन्द्र शाहले राज्यसँग गरेको सम्झौता भंग गरेको आरोप लगाएका छन् । उनले ज्ञानेन्द्र शाहलाई दिइएको सेवा सुविधा पुनरवलोकन गर्नुपर्ने बताएका छन् ।
सोमबारको प्रतिनिधि सभाको बैठकमा बोल्दै, सांसद भट्टराईले पूर्वराजा शाहले निर्मल निवासबाट केही व्यक्तिलाई माला लगाएर जनताको घर जलाउन पठाएको गम्भीर आरोप लगाए ।
सांसद भट्टराईले पूर्वराजा शाहले तीनकुने घटनामा उक्साउने भूमिका खेलेको दाबी गर्दै भने – ‘पूर्वराजालाई पूर्वराष्ट्राध्यक्षका रूपमा राज्यले सेवा सुविधा दिएको हो, तर अब त्यो सम्झौता भंग भएको छ । सरकारले जवाफ दिनुपर्छ, सम्झौता भंग भएपछि ती सेवासुविधा कायम रहन्छन् कि रहँदैनन् ?’
उनले शाहले केही व्यक्तिहरूलाई जनकमाण्डर बनाएर हिंसात्मक गतिविधिमा संलग्न गराएको आरोप समेत लगाए ।
सांसद भट्टराईले पृथ्वीनारायण शाह र बहादुर शाहबाहेकका राजाले राष्ट्र जोगाउन नसकेको टिप्पणी गर्दै, नेपालको भूभाग संकुचित हुनुको दोष पुराना राजाहरूलाई दिए ।
‘नेपालको सीमाना कहिल्यै फराकिलो भएन, बरु खुम्चिँदै गयो । यसको जिम्मेवार को ?’, उनले भने ।
उनले पूर्वराजा शाहको भूमिका विवादित भएकाले, सरकारले सेवा सुविधा निरन्तरता दिने कि नदिने विषयमा तत्काल निर्णय लिनुपर्ने माग गरे ।