फुटबल महानायक रोबर्टो कार्लोस एनएसएल क्वालिफायरमा वैशाख ६ गते नेपाल आउने
काठमाडौं । फुटबलका विश्व चर्चित डिफेन्डर र ब्राजिलका लिजेन्ड खेलाडी रोबर्टो कार्लोस वैशाख ६ गते नेपाल सुपर लिग (एनएसएल) को क्वालिफायर खेलमा विशेष अतिथिको रूपमा सहभागी हुने पक्का भएको छ । एनएसएलले वैशाख ६ मा आयोजना गर्न लागेको रोमाञ्चक क्वालिफायर खेलमा कार्लोसको उपस्थिति तय भएपछि नेपाली खेलप्रेमीहरूमा विशेष उत्साह थपिएको छ । ललितपुर सिटी एफसी र धनगढी एफसीबीच हुने उक्त खेल गत सिजनको फाइनलको पुनरावृत्ति हुनेछ । ललितपुर उपाधि रक्षा गर्ने लक्ष्यमा मैदान उत्रनेछ भने धनगढी पहिलो उपाधिको खोजीमा हुनेछ । रोबर्टो कार्लोस आफ्नो तीव्र फ्रिकिक, अद्वितीय गतिशीलता र विश्वस्तरीय डिफेन्स क्षमताका कारण विश्व फुटबलमा उच्च सम्मानित छन् । उनले रियल म्याड्रिड र ब्राजिल राष्ट्रिय टिमको तर्फबाट खेलेर फिफा विश्वकप, चार ला लिगा उपाधि र थुप्रै अन्तर्राष्ट्रिय सफलता हासिल गरेका छन् । कार्लोस वैशाख ५ गते नेपाल आउने छन् । सोही दिन उनले गाला डिनर, भेटघाट तथा अन्तरक्रिया कार्यक्रममा समेत सहभागिता जनाउने कार्यक्रम रहेको छ । एनएसएलमा कार्लोसको उपस्थितिले नेपाली फुटबललाई अन्तर्राष्ट्रिय स्तरमा उजागर गर्न थप सहयोग पुग्ने विश्वास गरिएको छ । एनएसएलको यो सिजन कार्लोसको आगमन, रोमाञ्चक खेलहरू र देशभरका शीर्ष खेलाडीहरूको सहभागितासहित अहिलेसम्मकै भव्य सिजन बन्ने अपेक्षा गरिएको छ । प्रशंसकहरूले खेल हेर्नको लागि खल्ती एपमार्फत टिकट खरिद गर्न सक्नेछन् ।
एकैदिन ३ हजार ६ सय रुपैयाँ बढ्यो सुनको भाउ, मूल्य २ लाख नजिक
काठमाडौं । नेपाली बजारमा सुनको मूल्य २ लाख रुपैयाँ नजिक पुगेको छ । बिहीबार सुनको मूल्य साढे ३ हजार रुपैयाँ बढेसँगै सुनको मूल्यले २ लाख रुपैयाँ नजिक पुगेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य आज ३ हजार ६ सय रुपैयाँ बढेर तोलामा १ लाख ९० हजार ६ सय रुपैयाँ पुगेको छ । जबकी सुनको मूल्य तोलामा १ लाख ८७ हजार रुपैयाँमा कारोबार भएको थियो । यस्तै बिहीबार चाँदीको मूल्य पनि बढेको छ । बिहीबार चाँदीको मूल्य ५ रुपैयाँ बढेर तोलामा १ हजार ९६० रुपैयाँ पुगेको हो । बुधबार १ हजार ९५५ रुपैयाँमा कारोबार भएको थियो । चीन लगायत देशले अमेरिकी डलरमाथिको आफ्नो निर्भरता कम गर्न धमाधम सुनको मात्रा बढाइरहेका छन् । पछिल्लो समय चीनले आफ्नो सुन सञ्चिति बढाइरहेको छ । जसकारण पनि सुनको मूल्यमा वृद्धि भइरहेको सुनचाँदी व्यवसायीहरू बताउँछन् ।
प्रभु बैंक र कृषि बजार व्यवस्थापन समितिबीच डिजिटल कारोबारका लागि सम्झौता
काठमाडौं । प्रभु बैंक लिमिटेड र पोखरा महानगरपालिका–९ शान्तिबन वाटिकास्थित कृषि बजार व्यवस्थापन समितिबीच व्यवसायिक साझेदारी सम्झौता सम्पन्न भएको छ । वैशाख १ गते आयोजित कार्यक्रममा उक्त सम्झौतामा हस्ताक्षर गरिएको हो । सम्झौताअनुसार कास्की तथा अन्य क्षेत्रका कृषि उपजको विक्री–वितरण भइरहेको स्टलमार्फत हुने दैनिक आर्थिक कारोबारलाई डिजिटल माध्यममा रूपान्तरण गरिनेछ । बैंकिङ पहुँच विस्तार र कारोबारमा सहजता ल्याउने उद्देश्यले प्रभु बैंक र समितिबीच यो सहकार्य भएको हो । सम्झौता पत्रमा समितिका अध्यक्ष नवराज दुवाडी र प्रभु बैंकका गण्डकी प्रदेश प्रमुख राजु रानाले हस्ताक्षर गरेका थिए । अध्यक्ष दुवाडीले बैंकप्रति आभार व्यक्त गर्दै सम्झौताले फलफूल तथा तरकारी बजारमा दैनिक कारोबार अझ सहज र प्रभावकारी हुने विश्वास व्यक्त गरे । बैंकका प्रदेश प्रमुख राजु रानाले डिजिटल सेवा र नगद रहित कारोबारलाई प्रवर्द्धन गर्न सम्झौता महत्त्वपूर्ण हुने बताए । सम्झौताअनुसार बैंकले समितिअन्तर्गतका व्यवसायीलाई क्युआर कोड, डिजिटल भुक्तानी सेवा तथा इन्टरनेट सुविधा उपलब्ध गराउनेछ । साथै, व्यवसाय विस्तारको लागि बैंकको नियमनअनुसार आवश्यक कर्जा सुविधा पनि उपलब्ध गराइनेछ ।
२६ वर्षपछि 'आयोडिनयुक्त नुन ऐन' कार्यान्वयनमा, स्वास्थ्य समस्या समाधानतर्फ बाटो खुल्यो
काठमाडौं । प्रकाशन भएको २६ वर्षपछि बल्ल 'आयोडिनयुक्त नुन उत्पादन तथा बिक्री वितरण ऐन, २०५५' कार्यान्वयनमा आएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले मन्त्रिपरिषदमा पेश गरेको प्रस्ताव वैशाख २ गतेको बैठकबाट पारित भएसँगै ऐन कार्यान्वयनमा आएको हो । यससँगै बालबालिकामा अत्यधिक आयोडिन सेवनबाट देखिएको स्वास्थ्य समस्या समाधानका लागि कानुनी आधार तयार भएको छ । ऐन कार्यान्वयनमा आएसँगै अब यस सम्बन्धी मापदण्ड परिमार्जन गर्न र निर्देशिका बनाउने बाटो खुलेको छ । यो ऐन २०५५ माघ १ गते राजपत्रमा प्रकाशन भएको थियो। तर, ऐन लागू गर्न आवश्यक 'कार्यान्वयन मिति' तोकिएको सूचना राजपत्रमा प्रकाशित नहुँदा अहिलेसम्म कानुनी रूपमा लागु भएको थिएन । अब भने २०८२ साउन १ गतेबाट लागू हुने गरी राजपत्रमा सूचना प्रकाशित गर्ने मन्त्रिपरिषदको निर्णय भएको छ । स्वास्थ्य सेवा विभागअन्तर्गत पोषण शाखाका प्रमुख लिलाविक्रम थापाका अनुसार, विगतमा बनेको मापदण्डले बालबालिकामा आवश्यकताभन्दा बढी आयोडिन पुग्दा गम्भीर स्वास्थ्य समस्या देखिएको थियो । सन् २०१६ मा मन्त्रालयले गरेको सर्वेक्षण अनुसार, ६ देखि ९ वर्षका बालबालिकाको पिसाबमा ३०० माइक्रोग्राम प्रतिलिटर हुनुपर्नेमा औसत ३१४ माइक्रोग्राम भेटिएको थियो । यसबाट उच्च रक्तचाप, थाइरोइडजस्ता समस्या देखिएको चिकित्सकहरू बताउँछन् । मन्त्रालयका प्रवक्ता डा। प्रकाश बुढाथोकीका अनुसार, ऐन कार्यान्वयनमा नआएकाले मापदण्ड परिमार्जन गर्न, नियमन गर्न तथा समस्याको समाधान गर्न अप्ठ्यारो भएको थियो । अब भने स्वास्थ्य, कृषि र अन्य सम्बन्धित निकायहरू मिलेर आवश्यक कानुनी र व्यावहारिक काम गर्न सक्ने अवस्था आएको छ ।
उत्पादन कर्णालीमा, व्यापार काठमाडौंमा
काठमाडौं । कर्णालीसहित देशका विभिन्न भूभागका जैविक उत्पादन यहाँ उपलब्ध भएको छ । जैविक कृषि उपजको प्रयोग र प्रवद्र्धनमा केन्द्रित काठमाडौंको बूढानीलकण्ठ नगरपालिकाअन्तर्गत कपनमा ‘मौलिक बजार’ सञ्चालनमा आएको छ । देशका ७५३ वटै पालिकाबाट सङ्कलन गरिएका जैविक उत्पादनलाई उपभोक्तासम्म पुर्याउने उद्देश्यले सञ्चालनमा आएको बजारमा जुम्लाको मार्सी चामल, हुम्लाको सिमी, मुगुको कोदो, डोल्पाका जडिबुटीलगायत खाद्यान्न पाइन्छ । कर्णालीका किसानलाई खेतीमा प्रोत्साहन गर्ने उद्देश्यले बजार सुरु गरिएको हो । एक स्थानीयय तह, एक उत्पादनको अवधारणा अनुसार कृषि उपजलाई ब्राण्डिङ गरेर बजार सञ्चालन भएको त्यसका सञ्चालक सुमन दाहालले बताए । 'कर्णालीका उत्पादन मात्र नभएर मुलुकका सातवटै प्रदेशमा उत्पादन हुने कृषिसामग्री, हर्बल कस्मेटिक्स, मसला, अदुवा लसुन पेष्ट, हस्तकलाका सामान र मौलिक पहिचान भएका वस्तुको प्रवर्द्धन गर्नु बजारको उद्देश्य हो,' दीर्घकालीन रूपमा मुलुकको कृषि र ग्रामीण विकासमा योगदान पुर्याउने लक्ष्य सुनाउँदै उनले भने ।
नाडेप लघुवित्तको गत वर्षको मुनाफाबाट लाभांश नदिने
काठमाडौं । नाडेप लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीहरूलाई लाभांश वितरण नगर्ने निर्णय गरेको छ । वैशाख ३ गते बसेको सञ्चालक समितिको बैठकले लाभांश वितरण नगर्ने निर्णय गर्दै सो सम्बन्धी वित्तीय विवरण नेपाल राष्ट्र बैंकमा पठाउने तयारी गरेको लघुवित्तले जनाएको छ ।
धौलागिरिमा ३ वटा लामा झोलुङ्गे पुल निर्माण सुरु
म्याग्दी । धौलागिरि गाउँपालिकामा तीन वटा लामा झोलुङ्गे पुल निर्माण सुरु भएको छ । स्थानीय पूर्वाधार विकास आयोजनामार्फत धौलागिरि गाउँपालिका–३ मुना, ४ बगर र ६ मराङमा पुल निर्माण सुरु भएको हो । धौलागिरि गाउँपालिका–३ मुना र दर जोड्ने ३५५ मिटर र वडा नं ६ को खाउरीवाङ–धाइरिबोट जोड्ने ३६५ मिटर लामो झोलुङ्गे पुल निर्माणका लागि रामकृष्ण कन्ट्रक्सनसँग चार करोड ७० लाख ३६ हजार दुई सय ५० रुपैयाँमा ठेक्का सम्झौता भएको आयोजनाले जनाएको छ । पुलको भौतिक प्रगति ५० प्रतिशत भएको छ । आयोजनाका इञ्जिनियर मनिष अधिकारीले धौलागिरि गाउँपालिका–४ बगर तातोपानी कुण्ड जाने बाटोमा म्याग्दी नदी माथि २५० मिटर लामो झोलुङ्गे पुल निर्माणका लागि चालु आर्थिक वर्षमा ६० लाख रुपैयाँ बजेट विनियोजन भएको योजना कार्यान्वयनका लागि ठेक्का प्रक्रियामा रहेको जानकारी दिए ।
चितवनमा सेवा विस्तार गर्दै ब्रेनब्रिज एजुकेसन, विद्यार्थीलाई छात्रवृत्ति दिने
काठमाडौं । काठमाडौंको मध्यबानेश्वरमा स्थापित ब्रेनब्रिज एजुकेसनले चितवनमा शाखा विस्तार गर्दै सेवा सुरु गर्ने भएको छ । विदेशमा अध्ययन गर्न चाहने विद्यार्थीलाई सही परामर्श र सहजीकरण प्रदान गर्दै आएको संस्थाले अब चितवनका विद्यार्थीलाई लक्षित गर्दै शाखा सञ्चालनमा ल्याएको हो । संस्थाकी अध्यक्ष अर्चना दवाडीका अनुसार चितवनमा विद्यार्थीले उच्च शिक्षाका लागि उपयुक्त गन्तव्य छनोट गर्न सहज होस् भन्ने उद्देश्यले शाखा विस्तार गरिएको हो । 'हामीले काठमाडौंमा जसरी विद्यार्थीलाई परामर्श दिइरहेका छौं, त्यसैगरी चितवनमा पनि उनीहरूको अध्ययन सपना पूरा गर्न सहजीकरण गरिनेछ,' अध्यक्ष दवाडीले बताइन् । उनका अनुसार चितवनमा पनि निःशुल्क भाषा शिक्षण कार्यक्रमहरू सञ्चालन गरिनेछ । आइइएलटिएस, पिटिइ, डिस्याट र ड्युलिङ्गो जस्ता तयारी कक्षाहरू काठमाडौंमा जस्तै निःशुल्क उपलब्ध हुनेछन्, जसबाट विद्यार्थीले आर्थिक बोझ नबोकी अध्ययनका लागि तयारी गर्न सक्नेछन् । अष्ट्रेलिया, युके, अमेरिका, क्यानडा, फ्रान्स, जर्मनी, इटाली, न्यूजिल्याण्ड, आयरल्याण्ड लगायतका देशमा अध्ययन गर्न चाहने विद्यार्थीलाई परामर्श दिँदै आएको ब्रेनब्रिजले चितवनबाट सेवा दिन पाउँदा खुसी व्यक्त गरेको छ। त्यस्तै, संस्थाले चितवनमा प्लस टु तथा ब्याचलर्स तहमा अध्ययनरत विद्यार्थीलाई लक्षित गर्दै प्रत्येक वर्ष करिब १०० जनालाई छात्रवृत्ति उपलब्ध गराउने योजना पनि ल्याएको छ । यसका लागि केही समयपछि आवेदन खुला गरिनेछ । ब्रेनब्रिजले यो चितवनमा अहिलेसम्मकै ठूलो छात्रवृत्ति योजना भएको दाबी गरेको छ । 'यस छात्रवृत्तिबाट चितवनका विभिन्न शिक्षण संस्थामा अध्ययनरत विद्यार्थीहरू लाभान्वित हुनेछन्,' अध्यक्ष दवाडीले भनिन्, 'हामी देशका अन्य शहरहरूमा पनि शाखा विस्तार गर्दैछौं, र हरेक ठाउँमा विद्यार्थीका लागि समान अवसर सुनिश्चित गरिनेछ ।'