गर्मीले उत्पादन कम हुने भएपछि अण्डाको मूल्य बढ्यो, प्रतिक्रेट ४५० रुपैयाँ पुग्यो
काठमाडौं । पछिल्लो समय निरन्तर घटेको अण्डाको मूल्य विस्तारै उकालो लाग्न थालेको छ । लागत मूल्यसमेत पाउन नसक्दा चिन्तित बनेका किसानले अण्डाको मूल्य बढ्न थालेपछि केही राहत महसुस गरेका छन् । गत वर्ष प्रतिक्रेट (३० गोटा) को ५२५ रुपैयाँसम्म पुगेको अण्डाको मूल्य घटेर ३५० रुपैयाँमा पुगेको थियो । अहिले मूल्यमा वृद्धि भएर ४५० रुपैयाँ पुगेको छ । नेपाल लेयर्स कुखुरापालक सङ्घका अध्यक्ष विनोद पोखरेलका अनुसार आजबाट लागू हुनेगरी ठूलो अण्डाको समर्थन फार्म मूल्य प्रतिक्रेट (३० वटाको) ४३० रुपैयाँ, मध्यमको ३८० रुपैयाँ र ‘एक्सएल’को ४५० रुपैयाँ कायम गरिएको छ । यसअघि ठूलो अण्डाको मूल्य ३५० रुपैयाँमा झरेको थियो । सङ्घको शनिबार सम्पन्न छलफलले अण्डाको मूल्य बढाउने निर्णय गरेको उनले जानकारी दिए । एक्सएल अण्डा फार्म मूल्य प्रतिपेटी (७ क्रेट) ३ हजार १४० रुपैयाँ, ठूलो अण्डा ३ हजार रुपैयाँ र मझौलाको २ हजार ६५० रुपैयाँ कायम गरिएको छ । योसँगै किसानलाई केही राहत मिल्ने उनले बताए। नेपालमा अण्डाको लागत मूल्य प्रतिगोटा १६.५६ रुपैयाँ पर्न आउँछ । अण्डाको मूल्य उच्च हुँदा ठूलो अण्डा प्रतिपेटी ३ हजार ६७५ रुपैयाँसम्म पुगेको थियो । सो समयमा किसानले उत्पादन मूल्य पाएको भए पनि पछिल्ला दिनमा अण्डाको मूल्य घट्दा किसानले लागत मूल्यसमेत पाउन गाह्रो हुने गरेको पोखरेलको भनाइ छ । ‘गर्मीका कारण अण्डा उत्पादन कम हुनु र बजारमा माग बढ्नुले अण्डाको मूल्य बढेको हो,’ उनले भने । उच्च गर्मीका कारण कुखुरामा विभिन्न खालका रोग देखिँदा उत्पादन निकै घटेको छ । सङ्घका सचिव मदन पोखरेलका अनुसार अण्डा उत्पादन गर्ने कुखुरा घटेको र माग बढेको छ । ‘अहिलेको अवस्थालाई हेर्दा अण्डाको मूल्य क्रमशः बढ्ने देखिन्छ,’ उनले भने, ‘अण्डाको मूल्य बढेपछि किसान उत्साहित बनेका छन् । अहिले दैनिक ३० लाख गोटा हाराहारी अण्डा उत्पादन हुँदै आएको छ ।’ नेपालमा कुखुरापालक किसानले लागत मूल्य नपाएपछि धेरै विस्थापित भएका छन् ।
सरकार परिवर्तनका हल्ला चलेपछि ओली र देउवाबीच भेटवार्ता
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच भेटवार्ता भएको छ । बालुवाटारस्थित प्रधानमन्त्री निवासमा भएको भेटवार्तामा सत्ता सहकार्यलाई अझ प्रभावकारी र सुदृढ गर्ने विषयमा छलफल भएको उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले जानकारी दिए । नेताहरूले सरकार परिवर्तनका बारेमा चलाइएका हल्ला गलत र निराधार भएको बताएको पनि उनले जानकारी दिए । सो अवसरमा उपप्रधानमन्त्री एवं अर्थमन्त्री पौडेल र गृहमन्त्री रमेश लेखक पनि सहभागी थिए ।
बङ्गालको खाडीबाट भित्रिरहेको जलवाष्पयुक्त हावाको प्रभावले तापक्रम वृद्धि
काठमाडौं । हाल देशमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव रहेको छ । यसका साथै बङ्गालको खाडीबाट भित्रि रहेको जलवाष्पयुक्त हावाको समेत प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार आज दिउँसो कोशी र मधेस प्रदेशलगायत देशका पहाडी भू-भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू-भागमा मौसम सफादेखि आंशिक बदली रहने छ । मधेस प्रदेशलगायत देशका पहाडी भागका केही स्थानमा तथा बाँकी भागका एक/दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ । देशको हिमाली भागका केही स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना छ । त्यसैगरी, आज राति कोशी प्रदेशलगायत देशका पहाडी भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भागमा मौसम सफादेखि आंशिक बदली रहने छ । कोशी र मधेस प्रदेशलगायत गण्डकी प्रदेशका पहाडी भागका केही स्थानमा तथा बागमती र कर्णाली प्रदेशको पहाडी भागका एक/दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । कोशी, गण्डकी र कर्णाली प्रदेशका हिमाली भागका एक/दुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना छ ।
अबको एक सातामा दर्ता नभए ‘मेटा’लाई नेपालमा प्रतिबन्ध लगाउने
काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले चलचित्र क्षेत्रको सुधार तथा आधुनिकीकरणका लागि तयार पारिएको नयाँ ‘चलचित्र ऐन’ चाँडै ल्याइने बताएका छन् । उनले आजको राष्ट्रिय सभामा ऐन पेस गर्ने बताए । नेपाली चलचित्र वितरक तथा प्रदर्शकहरूको छाता संस्था नेपाल चलचित्र सङ्घको ५०औँ वार्षिक साधारणसभामा मन्त्री गुरुङले २०२६ सालमै बनेको ‘चलचित्र ऐन’ परिमार्जन भएर आएपछि चलचित्रकर्मीले सामना गरिरहेको अवरोध हट्ने बताए । उनले भने, ‘नयाँ चलचित्र ऐन टेबल गर्दैछु । म आफू सञ्चार मन्त्रालयमा आएपछि पुरानो नीति र कानुनले दिएको कठिनाइलाई राम्रोसँग बुझेर परिमार्जन गर्न लागिरहेको छु । रेडियो नेपाल, नेपाल टेलिभिजन, हुलाक, रासस, सबै सञ्चार क्षेत्रसँग जोडिएका संस्थाहरूको नीति पुरानो पञ्चायतकालको छ । कानुन पनि पञ्चायतकै छ । यसमा हामीले काम गर्नुपर्ने छ, गरिरहेका छौँ ।’ मन्त्री गुरुङले अबको एक सातामा नेपालको कानुनअनुसार दर्ता नभए ‘मेटा’लाई नेपालमा प्रतिबन्ध लगाउने बताए । मेटाले नेपालको कुल गार्हस्थ्य उत्पादन (जिडिपी)भन्दा आफ्नो आम्दानी धेरै भएको उल्लेख गरेको बताउँदै मुलुकको स्वाधीनता पैसामा जोड्न नसकिने उनको भनाइ छ । ‘मेटा भन्ने बित्तिकै फेसबुक होला, म्यासेन्जर, ह्वाट्सएप, इन्ट्राग्राम होला, चलिरहेका छन् । तर, उनीहरूले नेपालको कानुन मान्दिनँ भन्न मिल्दैन, हाम्रो कानुनअनुसार दर्ता भई सञ्चालन हुनुपर्छ । यहाँ हामीसँग दर्ता हुनुपर्दैन, कर तिर्नुपर्दैन ? त्यसका कारणले फैलने गलत कुरा हामीले नियन्त्रण गर्नुपर्दैन ? उनीहरूको कन्टेनले हाम्रो राष्ट्रिय स्वाधीनताका विरुद्धमा बोल्यो भने समाजमा ठूलो प्रभाव पर्न सक्छ । त्यसैले तिनीहरूको नियमन हुनुपर्छ,’ मन्त्री गुरुङले भने ।
पोखरामा ३ खानेपानी आयोजना एकसाथ निर्माण हुँदै, लागत १ अर्ब २९ करोड रुपैयाँ
काठमाडौं । कास्कीको पोखरा महानगरपालिका-११, २१ र ३३ मा तीन ठूला खानेपानी आयोजना निर्माण हुने भएका छन् । पोखरा-११ मा जलवायु अनुकूलित वृहत् आयोजनाअन्तर्गत काँहुधरहरा खानेपानी आयोजना, पोखरा-२१ र ३३ लाई समेट्ने गरी केन्द्रीय खानेपानी आयोजनाअन्तर्गत वृहत् भरतपोखरी-निर्मलपोखरी-कृष्ती खानेपानी आयोजना र मट्टीखान खानेपानी आयोजना निर्माणका लागि प्रक्रिया अगाडि बढेको हो । आयोजना निर्माण, सञ्चालन र कार्यान्वयन गर्न सङ्घीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना पोखराका आयोजना प्रमुख पदमबहादुर कुँवर क्षेत्री, पोखरा महानगरपालिका प्रमुख प्रशासकीय अधिकृत शिवराज चौलागाईँ र तीनवटै खानेपानी आयोजनाका अध्यक्षले बिहीबार त्रिपक्षीय समझदारी गरेका थिए । लागत साझेदारीमा बन्ने ती आयोजनामार्फत काहुँडाँडा, कृष्ती, भरतपोखरी, निर्मलपोखरी, मट्टीखानलगायत क्षेत्रमा खानेपानीको सहज सेवा पुग्ने छ । बृहत् भरतपोखरी-निर्मलपोखरी-कृस्ती खानेपानी आयोजना निर्माणका लागि ५१ करोड ७७ लाख ७६ हजार रुपैयाँ कुल लागतमध्ये पहिलो चरणमा अर्थ मन्त्रालयबाट २८ करोड ४९ लाख ९१ हजार रुपैयाँ स्रोत सुनिश्चित भई कार्यान्वयनको चरणमा रहेको जनाइएको छ । काँहुधरहरा खानेपानी आयोजनाका लागि ४९ करोड १७ लाख रुपैयाँ मध्ये २१ करोड ६ लाख २४ हजार रुपैयाँ र मट्टीखान खानेपानी आयोजनाको २८ करोड ५४ लाख ६५ हजार रुपैयाँमध्ये १९ करोड ७६ लाख ४१ हजार रुपैयाँ अर्थ मन्त्रालयले स्रोत सुनिश्चित गरेको छ । समझदारीअनुसार स्रोत सुनिश्चित भई कार्यान्वयनमा गइसकेपछि चालु आवमा पोखरा महानगरपालिकाले कुल लागतको १० प्रतिशत रकम बेहोर्ने छ । तीनवटै परियोजनाको कुल लागत १ अर्ब २९ करोड ४९ लाख ५८ हजार रुपैयाँ लाग्ने अनुमान छ । परियोजनाको कुल लागतको ९० प्रतिशत सङ्घीय खानेपानी तथा ढल व्यवस्थापन आयोजनाले खर्च गर्ने जनाइएको छ । वृहत् भरतपोखरी-निर्मलपोखरी-कृस्ती खानेपानी आयोजनाअन्तर्गत पोखरेल थोकमा निर्माणाधीन अत्याधुनिक पानी प्रशोधन केन्द्रमा पानी सङ्कलन तथा प्रशोधन गरी १७ किमी सिमलेससहित ३५ किमी पाइपमार्फत उपभोक्ताको घरघरमा पानी पुर्याइने आयोजना प्रमुख क्षेत्रीले बताए। उक्त आयोजनाबाट करिब २४ सय घरपरिवार लाभान्वित हुने उपभोक्ता समितिका अध्यक्ष दाताराम आचार्यले जानकारी दिए । उक्त आयोजनामा २ सय, १ सय, ७५, ५० र २० घन मिटरका ११ पानी ट्याङ्की निर्माण हुनेछन् । यस्तै काँहुधरहरा खानेपानी आयोजनामा काँहुमा प्रशोधन केन्द्र निर्माण गरी १७ किमी पाइप लाइनमार्फत उपभोक्ताको घरघरमा पानी पुर्याइने छ । करिब १ हजार ५०० घरपरिवार लाभान्वित हुने यो आयोजनाअन्तर्गत तीन सय घनमिटरको १/१ सय घनमिटरका २ वटा ट्याङ्की निर्माण गरिने छ । मट्टीखान खानेपानी आयोजनाअन्तर्गत सेतीखोलाबाट पानी पम्पिङ गरी स्याङ्जाको फेदीखोला गाउँपालिकाको नुवाकोटमा पानी सङ्कलन गरी मट्टीखान क्षेत्रमा वितरण गरिने छ । यस आयोजनामा ३५ किमी पानीको पाइप लाइन विस्तार हुने छ । विभिन्न ठाउँमा १५० र ३५ घनमिटर क्षमताका ८ वटा पानी ट्याङ्कीमार्फत आयोजनाले १ हजार २०० घरपरिवारलाई पानी वितरण गर्ने छ । चालु आर्थिक वर्षबाटै योजना सञ्चालन गर्नेगरी सङ्घीय खानेपानी तथा ढल व्यवस्थापन आयोजनाले गत फागुनमा बोलपत्रसमेत आह्वान गरिसकेको छ । तीनवटै आयोजना सम्पन्न भएपछि पाँच हजार घरपरिवार प्रत्यक्ष रूपमा लाभान्वित हुने जनाइएको छ । आयोजना कार्यान्वयन भएको मितिले ३० महिनाभित्र सम्पन्न गर्ने लक्ष्य लिइएको छ । ‘एक घर, एक धारा’ लक्ष्यअनुसार यी आयोजना निर्माण हुन लागेका हुन् । पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले नगरवासीलाई आधारभूत खानेपानीको उपलब्धताका लागि महानगर लागिपरेको बताए । महानगर क्षेत्रमा सङ्घ, प्रदेश र महानगरस्तरीय विभिन्न आयोजना सञ्चालन भइरहेको उहाँले भनाइ छ । ‘पोखरा महानगरपालिकाको भूगोल विविधतायुक्त छ, यहाँ समथर मैदानदेखि अग्ला पहाडी भेग छन्, सबै स्थानमा खानेपानीको सहज उपलब्धता हुन नसकिरहेका बेला यी आयोजना सञ्चालन गर्ने चरणमा हामी आइपुगेका छौँ,’ उनले भने, ‘ठूलो लगानीका आयोजनामा जनसहभागिता जुटाउन निकै कठिन छ, तसर्थ नागरिकको संवैधानिक अधिकारको प्रत्याभूतिका लागि पनि यसको दायित्व महानगरपालिकाले लिनुपर्छ भन्ने मान्यताका साथ हामीले प्रतिबद्धतासहित अग्रसरता लिएका छौँ ।’ ‘जी टु जी’ अवधारणामा उपभोक्ताको तर्फबाट बेहोर्नुपर्ने १० प्रतिशत जनसहभागिताबापतको रकम महानगरपालिकाले सङ्घीय खानेपानी तथा ढल व्यवस्थापन आयोजनालाई उपलब्ध गराउने महानगर प्रमुख आचार्यले बताए ।
मध्यपहाडी राजमार्गमा ८० मिटर लामो ‘आर्क ब्रिज’ निर्माण गरिँदै, लागत साढे ९ करोड रुपैयाँ
काठमाडौं । पुष्पलाल मध्यपहाडी राजमार्ग आयोजनाअन्तर्गत पर्वत खण्डमा पर्ने सुन्दरे खोलामा मोटरेबल पुल निर्माण सुरु भएको छ । राजमार्गको पर्वत खण्ड कालोपत्र गरी सम्पन्न भएको २ वर्षपछि पुल निर्माण सुरु भएको हो । पर्वतको कुश्मा नगरपालिका-८ चुवामा पर्ने सुन्दरे खोलामा पहिलोपटक ‘आर्क ब्रिज’ निर्माण सुरु भएको पुष्पलाल मध्यपहाडी लोकमार्ग आयोजना कार्यालयका इञ्जिनियर कल्पना मिश्रले जानकारी दिए । उनका अनुसार विगत ३ महिनादेखि पुल निर्माण सुरु गरिएको हो । ८० मिटर लामो उक्त पुलको चौडाइ ११ मिटर हुने भएको छ । डबल स्पानको उक्त पुल सामान्य पुलभन्दा लामो भएकाले २ वटा स्पान बनाएर निर्माण गर्न थालिएको हो । पुल निर्माणका लागि २०७९ भदौमा लुम्बिनी/प्राकृतिक जेभी काठमाडौंसँग सम्झौता भएको थियो । यो निर्माण कम्पनीसँग पर्वत र बागलुङको गरी एकैपटक ५ पुल निर्माणका लागि सम्झौता भएको भए पनि हालसम्म पर्वत खण्डको तमादी खोलामा मात्र पुल निर्माण सम्पन्न भएको छ । दोस्रो पुल निर्माण सुन्दरे खोलामा सुरु भएको पुष्पलाल मध्यपहाडी लोकमार्ग आयोजनाका इञ्जिनियर मिश्रले जानकारी दिए । इञ्जिनियर मिश्रका अनुसार ९ करोड ५० लाख रुपैयाँको लागतमा निर्माण हुने सो पुलको निर्माण अवधि आगामी भदौसम्म छ । निर्धारित समयमै पुल निर्माण सम्पन्न गर्न निर्माण व्यवसायीलाई पर्याप्त मजदुर र उपकरण परिचालन गर्न भनिएको छ । हालसम्म पुलको एकतर्फका पिलरको काम सम्पन्न गरी अर्कातर्फको भागमा काम भइरहेको छ । समग्रमा अहिलेसम्म १० प्रतिशत जति प्रगति भएको छ । उक्त खोलामा पुल निर्माण नहुँदा २ वर्षअघि बाढीले बगाएर २ जनाको ज्यान गएको थियो । हिउँद याममा सहज रूपमा यातायात सञ्चालन हुने भए पनि वर्षायाममा भने जोखिमपूर्ण यात्रा गर्न बाध्य हुनुपरेको छ । यो सडक हुँदै बागलुङ, म्याग्दी, मुस्ताङका साथै रुकुमका लागि सवारीसाधन आवतजावत गर्दछन् । अत्यधिक सङ्ख्यामा र उच्च भार वहन क्षमताका सवारीसाधन सो राजमार्गमा सञ्चालन हुने भएकाले आर्क प्रविधिको पुल निर्माण गर्न लागिएको हो । यो पुल अन्य मोटरेबलभन्दा बलियो, टिकाउ उच्च भार वहन क्षमताका साथै कम मात्रामा मर्मत गरे हुने खालको रहेको इञ्जिनियर मिश्रको भनाइ छ । पर्वतमा अझै २ पुल निर्माणको काम बाँकी छ । मोदी गाउँपालिकाको पाती खोला र मोदी खोलामा २ वटा पुल निर्माण गरिने भएको हो । कार्यालय प्रमुख शम्भु आचार्यका अनुसार मोदी खोलामा ६२ मिटर र पाती खोलामा हाल भइरहेको पुलको दुवैतर्फ ५२/५२ मिटर लामो २ वटा पुल निर्माण हुनेछन् । उक्त पुलको डिजाइन स्वीकृतिमा ढिलाइ भएकाले निर्माणले गति लिन नसकेको उनले बताए । उक्त निर्माण कम्पनीले बागलुङको काठे खोलामा पनि मोटरेबल पुल निर्माण गर्न लागेकाले सबै मोटरेबल पुलको लागत ४४ करोड १५ लाख रुपैयाँ रहेको कार्यालयले जनाएको छ । मध्यपहाडी लोकमार्गअन्तर्गत पोखरा-कुश्मा सडकको २ वर्ष पहिला नै २ लेनको सडक स्तरोन्नति भइसकेको छ । सडक दुई लेनको बने पनि पुरानो संरचनामा बनेका सिङ्गल लेनका पुलले सवारीको चाप धान्न गाह्रो भएकाले नयाँ पुल थप गर्ने योजना रहेको कार्यालयले जनाएको छ ।
आज आमाको मुख हेर्ने पर्व मनाइँदै, जीवन दिने आमाको महत्व हजार गुणा बढी
काठमाडौं । प्रत्येक वर्ष वैशाख कृष्ण पक्ष औँसीका दिनमा जन्म दाता आमालाई सम्मान गरी मनाइने आमाको मुख हेर्ने पर्व आज देशभर आमालाई मीठा-मीठा खानेकुरा खान दिई श्रद्धा भक्ति साथ मनाइँदै छ । शास्त्रमा उपाध्याय (पण्डित), आचार्य र पिताभन्दा पनि ठूली मानिएकी आमाप्रति श्रद्धा, भक्ति, सम्मान र आदर गर्ने तथा उहाँबाट शुभाशीर्वाद थाप्ने दिनका रूपमा यो पर्वलाई लिइने शास्त्रीय परम्परा छ । छोराछोरीले आज बिहानै उठी नुहाएर आफ्नी आमालाई राम्रा राम्रा लुगा लगाउने र मीठा मीठा-तागतिला खानेकुरा खान दिई आशीर्वाद थाप्ने चलन छ । आमा नभएकाहरु भने आमालाई तर्पण र पिण्ड तथा पुरोहितलाई सिदा दानसहित भोजन गराई दिवङ्गत आमा र उनले गरेका महान् एवं कष्टकर काम सम्झने गर्दछन् । सनातन वैदिक शास्त्रमा प्रत्येक नरनारीले जीवनमा देव ऋण, मनुष्य ऋण र पितृ ऋण तिर्नै पर्छ भनिएको छ । वैदिक सनातन धर्मग्रन्थमा ‘जननी जन्मभूमिश्च स्वर्गादपि गरियसी’ अर्थात् जन्म दिने आमा र जन्मभूमि स्वर्गभन्दा पनि ठूला एवं प्यार हुन् भनी आमा र जन्मभूमिको महत्व दर्साइएको धर्मशास्त्रविद् एवं नेपाल पञ्चाङ्ग निर्णायक समितिका सदस्य प्रा डा देवमणि भट्टराई बताउँछन् । सन्तानलाई नौ महिनासम्म गर्भमा धारण गरी जीवन दिने भएकाले आमाको महत्व अरुभन्दा बढी छ । बाबुभन्दा आमाको महत्व हजार गुणा बढी हुने भनी शास्त्रीय ग्रन्थमा उल्लेख गरिएको उनले बताए । यस्तो महत्व भएकाले जीवित आमालाई मीठो खान र राम्रो लगाउन दिएर सम्मान गरी खुसी बनाइन्छ । दिवङ्गत आमाका नाममा श्रद्धा भक्ति साथ तर्पण, पिण्डदान र सिदा दान गरिन्छ । वैशाख कृष्ण औँसीका दिन दिवङ्गत आमाले आश गर्ने भएकाले तर्पण, पिण्डदान र सिदा दानसहित श्राद्ध गरे खुसी भई आशीर्वाद दिने शास्त्रीय मान्यता रहेको धर्मशास्त्रविद् भट्टराईले बताए । यस अवसरमा चन्द्रागिरि नगरपालिकास्थित मातातीर्थमा आज मेला लाग्ने गर्छ । मातातीर्थमा मेलाको सम्पूर्ण तयारी पूरा भएको नगरप्रमुख घनश्याम गिरीले जानकारी दिए । यस वर्ष गुरु अस्त भएकाले र विश्वका केही देशमा सूर्य ग्रहण देखिने भएकाले आमाको मुख हेर्न नहुने भनी गरिएको प्रचार सही नभएको समितिले जनाएको छ ।
महाकाली ४ लेन पुलसँगै बनेको ‘भाइरल रोड’
काठमाडौं । महेन्द्रनगरस्थित महाकाली नदीमा बनेको चार लेनको पक्की पुल पर्यटकको रोजाइमा परेको छ । महाकालीपारिको बस्ती दोधारा चाँदनी जोड्ने यो पुलसँगै महाकाली नदी किनारमा बनेको ८ किलोमिटर सडक पर्यटकका लागि आकर्षणको केन्द्र बनेको छ । पुलसँगै बनेको सडक ‘भाइरल रोड’ले परिचित छ । अहिले महेन्द्रनगर पुग्ने आगन्तुकहरू तस्बिर खिच्न र भिडियो बनाउन महाकाली चार लेन पुल पुग्ने गरेका छन् । पुल अवलोकनका लागि यहाँ आन्तरिक तथा बाह्य पर्यटकको सङ्ख्या दिनप्रतिदिन बढ्दै गएको छ । पुल अवलोकन गर्न आएका शुक्लाफाँटा नगरपालिका-१ का मदन रानाले सामाजिक सञ्जालबाट महाकाली पुलबारे थाहा पाएपछि परिवारसहित यहाँ घुम्न आएको बताए । ‘फेसबुक र टिकटकमा धेरैले यहाँको फोटो/भिडिओ राखेको देखेर मलाई पनि आउन मन लाग्यो,’ उनले भने, ‘साँझका बेला यहाँ घुम्न अत्यन्त रमाइलो ठाउँ रहेछ ।’ पछिल्लो समय यहाँ फोटो र भिडियो बनाउनेको भीड लाग्ने गर्छ । स्थानीयका अनुसार यहाँ छिमेकी मुलुक भारतबाट पनि पर्यटक आउने गरेका छन् । पुलमा आन्तरिक तथा बाह्य पर्यटकको घुइँचो लाग्ने गरेको स्थानीयवासी अमिर तिरुवा बताउँछन् । ‘यहाँ महेन्द्रनगर, भारतीय सीमावर्ती सहर र बाहिरी जिल्लाबाट पनि मानिस आउने गरेका छन् । पछिल्लो समय दोधारा चाँदनी झोलुङ्गे पुल जाने पर्यटक पनि यहाँ पुग्ने गरेका छन्,’ उनले भने । यहाँ विभिन्न म्युजिक भिडियोसमेत छायाङ्कनका हुने गरेको उनको भनाइ छ । पुलबाट महाकाली नदी, दोधारा चाँदनी झोलुङ्गे पुल, शारदा ब्यारेजको अवलोकन गर्न सकिन्छ । साँझका बेला सूर्यास्तको सुन्दर दृश्यलाई पृष्ठभूमिमा राखेर पुलबाट तस्बिर कैद गर्न सकिने भएकाले पनि साँझको समय फोटो खिच्नेको भीड नै लाग्ने गरेको छ । विसं २०७४ देखि निर्माण सुरु भएको पुल निर्माण सम्पन्न भएर सञ्चालनमा आए पनि पुलसँगै बन्ने अन्य संरचना निर्माणाधीन अवस्थामा छन् । पुललाई पर्यटकीय गन्तव्यका रूपमा विकास गर्न महाकाली पुल आयोजना कार्यालय महेन्द्रनगरले पुलसँगै चारवटा पोखरी निर्माण गर्न लागेको छ । त्यसकै छेउछाउमा ५ हजार बिरुवा रोप्ने योजना छ । महाकाली नदीमा पुल निर्माण गरिरहेको कुमार सिएफइसी जेभीका इञ्जिनियर किशोरराज पाण्डेयले पुलसँगै महाकाली नदी किनारमा पर्यटकलाई आकर्षित गर्न टापुसहितका चारवटा पोखरी निर्माण हुन लागेको जानकारी दिए । ‘पुलको वारिपारि चारवटा पोखरी निर्माण हुन्छन्, त्यसमा टापु पनि छ, पर्यटकले बोटिङ गरेर त्यो टापुमा जान सक्छन् । पोखरीसँगै हरियाली बनाउन ५ हजार बिरुवा रोप्छौँ, यसले पर्यटक आकर्षित हुनेछन्,’ उनले भने । पछिल्लो समय पुल अवलोकनका लागि दैनिक २/३ सय जना पुग्ने गरेको उनको भनाइ छ । महाकाली पुल आयोजना कार्यालयका अनुसार पुलको उत्तरपट्टि एक वर्ग किलोमिटरभन्दा ठूला २३ तथा दक्षिणतर्फ ०.३ वर्गकिलोमिटरका २ गरी ४ वटा पोखरी निर्माण हुँदैछन् । अहिले पोखरीका लागि बाँध बाँध्ने काम निर्माणाधीन अवस्थामा छ ।