विकासन्युज

धरती र जीवन दुवैमा शान्ति छाओस् : प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले हरिशयनी एकादशीको शुभकामना व्यक्त गरेका छन् ।  प्रधानमन्त्री ओलीले आइतबार सामाजिक सञ्जालमार्फत धरती र जीवन दुवैमा शान्ति छाओस् भन्ने कामना व्यक्त गर्दै हरिशयनी एकादशीको शुभकामना दिएका हुन् ।  'आज हरिशयनी एकादशी, तुलसी रोपण गर्ने दिन । आजको दिन शरीरलाई विषादीमुक्त गर्ने, मनसुद्दी गर्ने र वातावरणीय सन्तुलन कायम राख्ने प्रतीकात्मक दिन पनि हो । कम भोजन, ध्यान र उपवासले मानिसलाई शान्त मनोभावमा राख्ने पनि परम्परागत विश्वास रही आएको छ', प्रधानमन्त्रीले लेखेका छन् ।   आज आषाढ शुक्ल एकादशीका दिन भएकाले घरघरमा तुलसीको बिरुवा सार्ने गरिन्छ ।   

रिलायबल नेपाल लाइफको सीईओमा पुनः लोहनी नियुक्त

काठमाडौं । रिलायबल नेपाल लाइफ इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा नारायण बाबु लोहनी पुनः नियुक्त भएका छन् ।  कम्पनी सञ्चालक समितिको बिहीबार बसेको बैठकले लोहनीलाई चार वर्षका लागि पुनः सीईओ बनाउने निर्णय गरेको हो ।  लोहनीको कार्यकाल आगामी साउन १८ देखि लागू हुने कम्पनीले जनाएको छ।

अधिक तरलता कायमै, ४५ अर्ब निक्षेप खिच्दै राष्ट्र बैंक

काठमाडौं । अधिक तरलता भएपछि राष्ट्र बैंकले आइतबार ४५ अर्ब निक्षेप खिच्दैछ । निक्षेप संकलन उपकरण बोलकबोलमार्फत राष्ट्र बैंकले निक्षेप खिच्न लागेको हो ।  अहिले कुल निक्षेप ७० खर्ब भन्दा बढी पुगेको छ । केन्द्रीय बैंकले वित्तीय प्रणालीको अधिक तरलता र ब्याजदर व्यस्थापनका लागि निक्षेप संकलन उपकरण र स्थायी निक्षेप सुविधा मार्फत तरलता खिच्दै आएको छ । खासगरी केन्द्रिय बैंकको खुला बजार कारोबार सम्बन्धी कार्यविधि अनुसार वित्तीय बजारमा दीर्घकालीन प्रकृतिको अधिक तरलता स्थिति देखिए त्यसको व्यवस्थापन गरी बजार ब्याजदर व्यवस्थित गर्न कारोबार सञ्चालन समितिले आवश्यकता अनुसार कुनै पनि दिन संरचनात्मक खुला बजार कारोबार अन्तर्गत बढीमा ६ महिना अवधिको दीर्घकालीन निक्षेप संकलन उपकरण प्रयोग गर्न सक्ने व्यवस्था छ । यही व्यवस्था टेकेर केन्द्रीय बैंकले पटकपटक निक्षेप संकलन उकरण प्रयोग गर्दै आएको छ । बोलकबोलमा राष्ट्र बैंकबाट इजाजतप्राप्त ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थामात्र सहभागी हुन पाउनेछन् । दीर्घकालीन निक्षेप संकलन रकम बाँडफाँट गर्दा काउन्टर पार्टीहरूले बोल गरेका ब्याजदरअनुसार सबैभन्दा कम दर बोल गर्ने रकम प्राथमिकता क्रममा राखी आह्वान गरेको रकमसम्म क्रमशः बाँडफाँट गरिने छ । निक्षेप चुलिँदा आज अनलाइन खरिद प्रणालीमार्फत बोलकबोल गर्न लागिको छ र ब्याजदर बोलकबोलको माध्यमबाट निर्धारण हुने छ भने आज बोलकबोल हुने निक्षेप संकलन उपकरणको सावाँ तथा ब्याज  २०८२ भदौ १ गते भुक्तानी हुने राष्ट्र बैंकले जानकारी दिएको छ । बोल गर्न सकिने रकम न्युनतम १० करोड रुपैयाँ र अधिकतम ५ करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने गरी कुल आह्वान रकमसम्म हुनेछ ।   

अरु देशको भन्दा त्रिभुवन विमानस्थल साँघुरो छ, यात्रु छिटो आइपुग्छन्, सामान आउन ढिलो हुन्छ : मन्त्री पाण्डे

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रिप्रसाद पाण्डेले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको क्षेत्र साँघुरो भएको बताएका छन् । विमानस्थलको क्षेत्र साँघुरो हुँदा विमानस्थल, टर्मिनल भवन नजिक नजिक रहेकाले मानिसहरु छिटै टर्मिनल भवनमाआइपुग्ने र लगेज ल्याउन धेरै समय लागेको जस्तो देखिने गरेको बताएका हुन् ।  उनले अरु देशमा जहाँजबाट उत्रिएर आउन नै समय लाग्ने र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सानो हुँदा तुरुन्तै आइहाल्ने कारण धेरै समय कुर्नुपरेको जस्तो देखिएको बताए । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको क्षमता ४५ लाख यात्रुलाई ओहोरदोहोर गराउने रहेको तर यस वर्ष ९५ लाख यात्रुहरु ओहोरदोहोर गराइसकेको बताए । छरितो र प्रभावकारी बनाउने कुरामा सरकार गम्भीर रहेको जानकारी दिए ।  मन्त्री पाण्डेले भने, ‘हाम्रो एयरपोर्ट, हाम्रो टर्मिनल सबै साँघुरो अवस्थामा छ । नजिक नजिक छ । अरु देशका र हाम्रो के फरक होला भनेर हेरेको अरु देशमा एउटा मान्छे एउटा प्लेनबाट उत्रिएर लगेज लिने ठाउँसम्म आइपुग्न नै निकै समय लाग्छ । हाम्रो जोडिएको छ नजिकै छ, मान्छे तुरुन्तै आइपुग्छ । एउटा हाम्रो स्पेसको सीमाको कारण हो । यसले ४५ लाख यात्रुलाई ओहोरदोहोर गराउने क्षमता राख्छ हाम्रो एयरपोर्ट टिआइएले । तर यस पटक ९५ लाख यात्रुहरु ओहोरदोहोर गरेका छन् ।’ मन्त्री पाण्डेले मान सरोवर जाने पर्यटकहरुका लागि चिनियाँ दुतातावासले भेरिफिकेसन गर्ने भनेर पूर्वसूचना बिनै नयाँ नियम ल्याइएका कारण समस्या आएको जानकारी दिए । चिनियाँ दुतावाससँग यसबारेमा सरकारले ध्यानाकर्षण गराएको बताए । 

नेताहरूको रगतमै भ्रष्टाचार छ : सांसद कार्की

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीकी सांसद रोशन कार्कीले नेताहरूको रगतमा नै भ्रष्टाचार रहेको बताएकी छन् । आइतबार बिहान सिंहदरबारमा बसेको प्रतिनिधि सभाअन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा बोल्दै उनले यस्तो बताएकी हुन् ।  उनले उड्दै नउड्ने जहाँज किन्ने र चल्दै नचल्ने विमानस्थल बनाउने स्थिति नेपालमा जारी रहेको बताइन् । यो सबैको कारण भ्रष्टाचार रहेको बताइन् । भ्रष्टाचार र राजनीतिक नियुक्तिमा नेताहरु व्याप्त भइसकेको बताइन् । जहाँज चढ्दा आफ्ना भगवानहरु पुकार्दै चढ्न नपर्ने, सुरक्षित गन्तव्यमा पुग्छौँ भन्ने विश्वासका साथ चढ्न पाउने र नातागोताले पनि आफ्ना मान्छे सुरक्षितसाथ गन्तव्यमा पुग्छन् भन्ने विश्वास गर्नसक्ने स्थिति बनाउन जोड दिइन् ।  सांसद कार्कीले भनिन्, ‘हामी कस्तो स्थितिमा छौँ भने प्लेन किन्छौँ उड्दै नउड्ने, एयरपोर्ट बनाउँछौँ चल्दै नचल्ने । यसको कारण के हो त भन्दा भ्रष्टाचार हो । यो विधेयकले अन्तर्राष्ट्रिय मापदण्ड पूरा गरोस् । सुरक्षित गन्तव्यमा पुग्छौँ भन्ने विश्वास होस् । हाम्रा नातागोतालाई पनि आफ्ना मान्छे सुरक्षितसाथ गन्तव्यमा पुग्छन् भन्ने विश्वास गर्न सकुन् ।’ समितिमा आज नेपाल हवाई सेवा प्राधिकरण विधेयक, २०८१ माथि संशोधनकर्ताहरूसँग छलफल भएको हो ।   

राहुघाट नदी कटान रोक्न ‘कम्पोजिट’ प्रविधिको पर्खाल, ५० घरपरिवार र सडक संरक्षित

म्याग्दी । राहुघाट नदी कटानको जोखिममा रहेको म्याग्दीको बेनी नगरपालिका–९ गलेश्वर, रघुगङ्गा गाउँपालिका–३ राहुघाट, कालीगण्डकी करिडोरको सडक र मोटरेबल पुल संरक्षण गर्न तटबन्ध निर्माण भएको छ । राष्ट्रिय गौरवको कालीगण्डकी करिडोर, बेनी–जोमसोम–कोरला सडक योजनाले सडक, पुल र बस्ती संरक्षणका लागि तीन करोड ३९ लाख ८६ हजार ८२३ को लागतमा नदी किनारमा ‘कम्पोजिट’ प्रविधिको पर्खाल निर्माण गरेको हो । पर्खाल निर्माणपछि सडक, मोटरेबल पुल, गलेश्वर र राहुघाटको बस्तीमा बाढी र कटानको जोखिम न्यूनीकरण भएको बेनी नगरपालिका–९ का वडाध्यक्ष चक्र केसीले बताए । राहुघाटको कटानका कारण गलेश्वर, राहुघाटका करिब ५० घरपरिवार, एक सय मिटर सडक र मोटरेबल पुल जोखिममा परेको थियो । राहुघाट नदी किनारमा राहुघाट बस्तीतर्फ ५० मिटर ‘पलम पर्खाल’ र गलेश्वरतर्फ ८५ मिटर ‘कम्पोजिट’ पर्खाल निर्माण भएको योजना कार्यालयले जनाएको छ । गत फागुनदेखि सुरु भएको योजना निर्धारित समयमै सम्पन्न भएको हो । नदीमा आउने बाढीलाई नियन्त्रण गर्न चार मिटर चौडाइ भएको तीनतीन मिटर अग्लो कङ्क्रिट र त्यसमाथि छ तहमा ग्याविन पर्खाल निर्माण भएको छ । रु चार करोड ७२ लाख ३७ हजार ४६४ लागत अनुमान गरिएको योजना निर्माणका लागि गत फागुन १३ गते महाप्रभु–विआरटी साय जेभीसँग ठेक्का सम्झौता भएको थियो । निर्माण कम्पनीका प्रतिनिधि शिव जिसीले रातको समयमा पनि मजदुर र उपकरण परिचालन गरेर नदीमा पानीको सतह बढ्नुअघि नै तटबन्ध गरेको बताए । बेनी–गलेश्वर सडकअन्तर्गत गलेश्वरमा पनि नदी कटानबाट सडकलाई जोगाउन तटबन्धन निर्माण भएको बेनी–जोमसोम–कोरला सडक योजनाका इञ्जिनियर बिष्णु चापागाईँले बताए । रासस

सय हेक्टरमा धानको बीउ उत्पादन गर्दै सहकारी, सय किसान सहभागी

टीकापुर । करिब दुई दशकअघिबाट धानको बीउ उत्पादन सुरु गरेको जानकी गाउँपालिका–४ मुनुवास्थित बिजवृद्धि कृषि सहकारीले यस वर्ष सय हेक्टरमा धानको बीउखेती गरेको छ । सहकारीमा आबद्ध जानकी गाउँपालिकाका वडा नं ४ र ७ का करिब सय बढी किसानले धानको बीउखेती गरेका छन् । उत्पादनका दृष्टिकोणले उर्वर जमिन र सिँचाइको राम्रो प्रबन्ध भएका कारण किसान धान बीउ उत्पादनमा लागेका हुन् । गत वर्ष सहकारीले तीन हजार ५०० क्विन्टल धानको बीउ उत्पादन गरेको थियो । यसैगरी गहुँ तीन हजार क्विन्टल, तोरी ६० क्विन्टल र मकैको बीउ १२ क्विन्टल किसानबाट खरिद गरिएको सहकारीले जनाएको छ । यसरी खरिद गर्दा सहकारीले किसानलाई बजार भाउभन्दा प्रतिक्विन्टल रु तीन सय बढी मूल्य दिने गरेको छ । सुरुमा ४५ जना किसानबाट सुरु गरिएको सहकारीले पछिल्लो समय बीउ उत्पादनमा ठूलो योगदान दिँदै आएको छ । यहाँ उत्पादन भएको बीउ कैलालीका विभिन्न पालिकामा बिक्री हुने गरेको छ । यसबाहेक बर्दिया, बाँके, सुर्खेत, दाङ, कञ्चनपुर, दैलेख, सर्लाही, सप्तरी, सिराहाका किसानले लैजाने गरेका छन् । एकपटक बीउ लैजाने किसानले अर्कोपटक खोजीखोजी आउने गरेको सहकारीका पूर्वअध्यक्ष कमलबहादुर कठरियाले बताए । 'सुरुआतको दिनमा बीउ उत्पादनमा धेरैलाई चासो थिएन, अहिले धेरै किसान बीउ उत्पादनमा लागेका छन्', उनले भने, 'हामीले बीउ उत्पादन गर्दा मेहेनत गरयौँ, अहिले बीउको माग धेरै छ ।' रानी जमरा कुलरिया सिँचाइ आयोजना आएपछि कृषि कार्यक्रममार्फत सहकारीलाई ठूलो सहयोग भएको भन्दै कठरियाले बीउ गे्रडिङ र भण्डारणको समस्या छैन भने । सहकारीले गत वर्ष सय हेक्टरमा धान बीउखेती गरेको थियो भने एक सय १५ हेक्टरमा गहुँको बीउ उत्पादन गरेको थियो । दश हेक्टरमा तोरीको बीउ, दुई हेक्टरमा मकै र करिब एक हेक्टरमा मसुरोको बीउखेती गरिएको थियो । विसं २०५७ बाट समूहमार्फत तरकारी खेती गर्दै आएको समूहलाई २०६२ सालमा सहकारीमा विस्तार गरी बीउ उत्पादन थालेको हो । किसानको सक्रियताले विभिन्न सङ्घसंस्थाको सहयोगमा बीउ उत्पादनमा लागेको सहकारीलाई रानी जमरा कुलरिया सिँचाइ आयोजना कृषितर्फले ठूलो साथ दियो । सहकारीका विजय बडायकले स्थानीय जातका बीउ प्रयोग गर्दै आएका किसानलाई उत्पादन बढी लिन फाइदा होस् भनी सहकारीमार्फत बीउ उत्पादन थालेको बताए । सहकारीका व्यवस्थापक गोविन्दराज रावतका अनुसार सहकारीसँग हाल चास सय आठ मेट्रिक टन भण्डारण क्षमताका गोदाम रहेको छ । सहकारीले धेरै बालीका बीउ उत्पादन गर्दै आएको र विभिन्न जिल्लामा पठाउने गरिएको छ । सहकारीको सहयोगमा यहाँका किसानले धान, गहुँ, मकै, मसुरो, तोरी, मासलगायत बालीका बीउ उत्पादन गर्ने गरेका छन् । सिँचाइ आयोजनाले भण्डारण भवन, विभिन्न मेसिन र ग्रेडिङ मेसिन उपलब्ध गराएपछि सहयोग भएको छ । किसान लविता कठरियाले तीन बिघा जमिनमा धान तथा गहुँको बीउ उत्पादन गर्दै आएको बताए । विगतमा खेती गर्दा खासै उत्पादन नलिने किसानले सहकारीमै बीउ र मल पाउनुका साथै सहकारीले नै उत्पादन किनिदिने भएपछि खेती गर्न हौसला मिलेको उनको भनाइ छ । विगतमा मुनुवाका किसान घरकै भकारीमा भण्डारण गरिएको बीउ प्रयोग गर्थे भने कतिपय किसान बीउका लागि अन्यत्र भौतारिन बाध्य थिए । गाउँमै ग्रेडिङ गरिएको गुणस्तरीय बीउ पाउन थालेपछि उनीहरूको सहकारीप्रति आकर्षण बढ्दै गएको छ । उसो सहकारीले आफ्ना सदस्यलाई बीउलगायत अन्य सहुलियत दिँदै आएको छ । सहकारीको सदस्य बन्न बीउ उत्पादन गर्ने किसान हुनैपर्ने नियम छ । पैतालीस जना किसानले सुरु गरेको मुनुवा बिजवृद्धि सहकारीमा हाल एक सय नौ जना सेयरसदस्य छन् । सिँचाइ आयोजना कृषि कार्यक्रम कार्यान्वयन एकाइले कृषि उत्पादन वृद्धिका लागि किसान तथा सहकारीलाई सघाइरहेको छ । आयोजनाका प्रमुख भरत कँडेलले मुनुवा बिजवृद्धि कृषि सहकारी संस्था बीउ उत्पादनमा अग्रणी संस्थाका रूपमा काम गरिरहेको र आयोजनाको यस्ता संस्थालाई सधैँ साथ रहने बताए । 'सहकारीले बीउ उत्पादनमा खेलेको भूमिका सराहनीय छ, बिजवृद्धिमा राम्रो काम गरेको छ', उनले भने, 'समयअनुसार किसानलाई अझै आधुनिकीकरण बनाउनमा हाम्रो प्रयास हुन्छ । हामीले सहकारीमार्फत किसानलाई लाभ होस् भनी सहकारीलाई आवश्यक प्रविधि, भण्डारणका लागि भवन निर्माणमा सघाएका छौंँ, यो सहयोग निरन्तर हुन्छ ।' सिँचाइ आयोजना कृषि कार्यक्रम कार्यान्वयन एकाइको सहयोगमा टीकापुर र जानकीका दर्जनबढी सहकारीले बीउ उत्पादनको काम गरिरहेका छन् । किसानले उत्पादन गरेको बीउ सहकारीमार्फत बिक्री वितरण गर्ने गरिएको छ । बीजवृद्धिले बीउ उत्पादनमा सफलता पाएपछि यस क्षेत्रका अन्य सहकारीले पनि बीउ उत्पादनमा चासो दिन थालेका छन् । रासस

ह्युमपाइप राखेर खुलाइयो अवरुद्ध नाला-भक्तपुर सडकखण्ड

काभ्रेपलाञ्चोक । अवरुद्ध नाला-भक्तपुर सडकखण्डमा आज बिहानदेखि यातायात सञ्चालनमा ल्याइएको छ । काभ्रेको बनेपा नगरपालिका वडा नं ४ र १ को सीमास्थलमा रहेको पुल शुक्रबार राति भाँचिएपछि सो सडकमा यातायात अवरुद्ध भएको थियो । भाँचिएको पुल अस्थायी रूपमा सञ्चालनमा ल्याइएपछि यातायात सञ्चालन भएका हुन् । गए राति छवटा ठुल्ठूला ह्युमपाइप राखेर अस्थायी रूपमा पुल निर्माण गरेपछि आज बिहानदेखि यातायात सञ्चालनमा ल्याइएको जिल्ला ट्राफिक कार्यालय बनेपाले जनाएको छ । कार्यालय प्रमुख प्रहरी निरीक्षक सुनिल धाँजुका अनुसार बनेपा नगरपालिका कार्यालय तथा सडक विभागको समन्वयमा रातभरमा अस्थायी रूपमा पुल सञ्चालनमा ल्याइएको हो । यहाँको नाला र भक्तपुरको च्यामासिङ सडकखण्डअन्तर्गत पर्ने उक्त सडक राजधानी काठमाडौँको पूर्वीनाका आवतजावत गर्ने वैकल्पिक मार्गका रूपमा प्रयोग हुँदै आएको थियो । उक्त पुल २०३७ सालमा निर्माण भएको जनाइएको छ । स्थानीयका अनुसार शनिबार राति मालवाहक गाडी पुल पार गरेलगत्तै ४५ वर्षअघि निर्मित उक्त पुल भाँचिएको थियो । पुल भाँचिएपछि अवरुद्ध उक्त वैकल्पिक सडकखण्डमा राजधानी जाने र राधजानीबाट मध्यपूर्वतर्फ बाहिरिने सवारीलाई पूर्णतः रोक लगाइएको थियो । हाल अरनिको राजमार्गअन्तर्गत भक्तपुरको सूर्यविनायकबाट काभ्रेपलाञ्चोक धुलिखेलसम्मको सडक विस्तार भइरहेकाले विगत दुई वर्षदेखि राजमार्गमा गुड्ने अधिकांश सवारी नाला–च्यामासिङ सडकखण्ड प्रयोग गर्दै आइरहेका हुन् ।