विकासन्युज

स्पेनमा मान्छे छाडेर आयो भन्ने घटिया प्रचार गरियो : प्रधानमन्त्री

झापा । प्रधानमन्त्री केपी शर्मा ओलीले झापाको दमक नगरपालिकास्थित मदनडाँगी-ताराबारी-डिपु सडक स्तरोन्नति आयोजनाको आइतबार उद्घाटन गरेका छन् । विश्व बैंकको सहयोगमा नगरपालिकाको गौरवको  आयोजनाका रूपमा रहेको सो सडक नेपालभरका १७ सडकमध्ये छानिएको एक हो ।  ४४ करोड २४ लाख रुपैयाँ लागतमा निर्मित ४.८६ किमी सो सडक समयमै सम्पन्न भएको नमूना आयोजना मानिन्छ । प्रधानमन्त्री ओलीले देशभर विकास निर्माणका लहर ल्याउने क्रममा यो सडक पनि रहेको जनाउँदै मेची महाकालीसम्म थालेका काम सक्ने अभियानमा सरकार रहेको बताए । प्रधानमन्त्री ओलीले दमकको बेलडाँगीमा विशाल रंगशाला निर्माण हुने घोषणा पनि गरे । उनले हरेक क्षेत्रमा सुधार ल्याउने योजनाबमोजिम स्वयंसेवी भावनाका साथ महत्त्वपूर्ण विषयमा नि:शुल्क अनलाइन कक्षा संचालन गरेपछि यस वर्ष एसइइमा नतिजा १३ प्रतिशतले सुधार आएको बताए ।  आफ्नो स्पेन भ्रमण सफल भएको पक्षलाई ओझेल पार्ने गरी केही विरोधी र अराजक तत्वले अरु कुरा  नपाएर स्पेनमा मान्छे छाडेर आयो भनेर झुट र घटिया प्रचार गरेको भन्दै उनले यस्ता कुराहरूको जवाफ दिन आवश्यक नभएको टिप्पणी गरे ।  कार्यक्रममा भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहाल, कोसी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्की, पूर्व मुख्यमन्त्रीहरू शेरधन राई, उद्वव थापालगायत सहभागी थिए ।

मनसुनजन्य विपद् जोखिम न्यूनिकरणका लागि पूर्वसूचना प्रणाली चुस्त पारिएको छ : गृहमन्त्री लेखक

काठमाडौं । गृहमन्त्री रमेश लेखकले मनसुनजन्य विपद् जोखिम न्युनिकरणका लागि पूर्वसूचना प्रणाली चुस्त पारिएको बताएका छन् । आइतबार राष्ट्रिय सभाअन्तर्गतको सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठकमा बोल्दै गृहमन्त्री लेखकले यस्तो बताएका हुन् ।  उनले मनसुनजन्य विपद् जोखिम न्युनिकरण र प्रतिकार्यका लागि समेत आवश्यक गृहकार्य भइरहेको बताए । गृह मन्त्रालय मातहत रहेको विपद् जोखिक न्युनिकरण तथा व्यवस्थापन प्राधिकरणले सरोकारवाला सबैसँग आवश्यक समन्वय र सहकार्य गरिरहेको समेत जानकारी दिए ।  उनले भने, ‘अहिले मनसुनको समय छ । मनसुनको समयमा विभिन्न जोखिमहरु उत्पन्न हुने गर्दछन् । त्यसको जोखिम न्युनिकरणका लागि पूर्वसूचना प्रणालीलाई दुरुस्त गर्ने, विपद् आइसकेपछि प्रतिकार्यका कामहरु गर्नको लागि तयारी गरिरहेका छौं । हामीसँग कानूनले नै विपद् जोखिम न्यूनिकरण तथा व्यवस्थापन प्राधिकरण गठन भएको छ । गृह मन्त्रालय त्यसको सम्पर्क मन्त्रालय हो ।’ यस वर्षको मनसुनमा देशका अधिकांश स्थानहरुमा सरदरभन्दा बढी वर्षा हुने अनुमान गरिएको छ । विपद्का सम्भावित जोखिमयुक्त क्षेत्रमा खोज तथा उद्धार र सामग्रीको भण्डारण, डोजर, स्काभेटर लगायतका हेभी इक्यूपमेन्ट तयारी अवस्थामा रहेको समेत बताइएको छ । 

नबिल र ग्लोबलको प्रतिस्पर्धा, ५४ अर्ब रुपैयाँ नाफा गर्दा ३ बैंक करोड क्लबमा सीमित

काठमाडौं । वाणिज्य बैंकहरुले ११ महिनामा ५४ अर्ब रुपैयाँ भन्दा बढी नाफा आर्जन गरेका छन् । नेपाल राष्ट्र बैंकको तथ्याङ्क अनुसार चालु आर्थिक वर्ष २०८१/८२ को जेठ मसान्तसम्ममा २० वटा वाणिज्य बैंकले ५४ अर्ब ८ करोड ४३ लाख रुपैयाँ खुद नाफा आर्जन गरेका हुन् ।  ११ महिनामा सबैभन्दा धेरै नाफा नबिल बैंकले गरेको छ । नबिलले ६ अर्ब ४० करोड रुपैयाँ नाफा आर्जन गरेको राष्ट्र बैंकले जनाएको छ । यस्तै, ग्लोबल आइएमई बैंकले ६ अर्ब ३ करोड ६४ लाख रुपैयाँ नाफा गरेर दोस्रो स्थानमा रहेको छ ।  नेपाल इन्भेष्टमेन्ट मेगा बैंक (एनआईमबि)ले ५ अर्ब ६८ करोड ८१ लाख रुपैयाँ, एभरेष्ट बैंकले ४ अर्ब २४ करोड रुपैयाँ, नेपाल बैंकले ३ अर्ब ७ करोड रुपैयाँ, एनएमबि बैंकले ३ अर्ब ३ करोड रुपैयाँ खुद नाफा आर्जन गरेका छन् ।  यस्तै, जेठसम्ममा प्राइम बैंकले २ अर्ब ९० करोड रुपैयाँ, स्ट्याण्डर्ड चार्टर्ड बैंकले २ अर्ब ७२ करोड रुपैयाँ, लक्ष्मी सनराइज बैंकले २ अर्ब ५७ करोड रुपैयाँ, प्रभु बैंकले २ अर्ब ३१ करोड रुपैयाँ, सिद्धार्थ बैंकले २ अर्ब २१ करोड रुपैयाँ नाफा आर्जन गरेका छन् ।  यस्तै, राष्ट्रिय वाणिज्य बैंकले २ अर्ब २० करोड रुपैयाँ, सानिमा बैंकले २ अर्ब १५ करोड रुपैयाँ, कृषि विकास बैंकले १ अर्ब ८१ करोड रुपैयाँ, नेपाल एसबिआई बैंकले १ अर्ब ५४ करोड रुपैयाँ, माछापच्छ«े बैंकले १ अर्ब ५० करोड रुपैयाँ, सिटिजन्स बैंकले १ अर्ब ४१ करोड रुपैयाँ खुद नाफा गरेको राष्ट्र बैंकले जनाएको छ ।  राष्ट्र बैंकका अनुसार हिमालयन बैंकले ९० करोड ५३ लाख रुपैयाँ, एनआईसी एशिया बैंकले ८२ करोड ९७ लाख रुपैयाँ र कुमारी बैंकले ४८ करोड १९ लाख रुपैयाँ नाफा गरेका हुन् ।

नवराज सुवेदीको प्रतिक्रिया : अध्यक्ष लिङदेनको स्वेच्छाचारिता रोक्न निर्वाचन आयोग गुहारेँ

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को अनुशासन समितिबाट हटाइएपछि वरिष्ठ नेता नवराज सुवेदीले निर्वाचन आयोगमा उजुरी दिएका छन् ।  अध्यक्ष राजेन्द्र लिङदेनले असार २५ गते नेता सुवेदी पार्टी सदस्य नरहेको निष्कर्ष निकाल्दै अनुशासन समिति अध्यक्षबाट हटाएर रोशन कार्कीलाई अध्यक्ष पदमा मनोनित गरेका थिए ।  सोही निर्णयका विरुद्ध पार्टीका पूर्वअध्यक्ष प्रकाशचन्द्र लोहनी र महामन्त्रीद्वय धवल समशेर जबरा र कुन्ती शाहीसहित आइतबार उनी निर्वाचन आयोग पुगेका हुन् । आयोगमा उजुरी दिएपछि सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै नेता सुवेदीले पार्टीको निर्णयबिना अध्यक्षको स्वेच्छाचारिताले आफूलाई अनुशासन समितिबाट हटाएको कारण उजुरी दिन पुगेको प्रतिक्रिया दिए ।  उनले अध्यक्ष लिङदेनले प्राकृतिक न्यायको विरुद्धमा निर्णय गरेको पनि आरोप लगाए । पार्टीभित्र भइरहेको षड्यन्त्र नहोस् र निष्पक्ष न्यायका लागि आयोगमा उजुरी दिएको दोहो¥याउँदै उहाँले थप प्रतिक्रिया पछि दिने जानकारी दिए ।  उनले भने, ‘अध्यक्षको स्वेच्छाचारिताले मलाई अनुशासन समितिबाट हटाइएको हो । केन्द्रीय समितिको बैठकबाट कुनै निर्णय भएको छैन । त्यसकारण म निर्वाचन गर्न आएको हो । पार्टीभित्र अन्याय भइरहेकोले त्यसको खिलापमा मैले आवाज उठाएको हो । पार्टीभित्र यस्तो षड्यन्त्र नहोस् भनेर म उजुरी गर्न आएको ।’ राजसंस्था पुनःस्थापनको आफूहरुको आन्दोलन जारी रहेको पनि दाबी गर्नुभयो । पार्टीभित्र कुनै गुट नहुन् भन्ने पक्षमा आफू रहेको पनि उनको भनाइ छ । 

स्पेसएक्सले एक्सएआईमा दुई अर्ब अमेरिकी डलर लगानी गर्ने

काठमाडौं । एलन मस्कको स्पेसएक्सले आफ्नो आर्टिफिसियल इन्टेलिजेन्स कम्पनी एक्सएआईमा दुई अर्ब अमेरिकी डलर लगानी गर्न सहमत भएको कम्पनीनिकट लगानीकर्तालाई उद्धृत गर्दै वाल स्ट्रिट जर्नलले शनिबार जनाएको छ । मोर्गन स्टेनलीले गत महिना घोषणा गरेको एक्सएआईको पाँच अर्ब डलरको ‘इक्विटी फन्ड’ जम्मा गर्ने एक हिस्साका रुपमा यो लगानी गरिएको रिपोर्टमा उल्लेख छ । यो स्पेसएक्सको एक्सएआईमा पहिलो ज्ञात लगानी हो र अर्को कम्पनीमा यसको सबैभन्दा ठूलो लगानी  हो । मस्कले एआई सञ्चालनलाई प्रोत्साहन गर्न आफ्नो व्यापार साम्राज्यलाई बारम्बार परिचालन गरेका छन् । मस्को लगानीको एक्स एआई (एक अग्रणी एआई अनुसन्धान र परिनियोजन कम्पनी च्याटजीपीटी प्लेटफर्म सिर्जना गर्नका लागि प्रसिद्ध) ओपनएआईसँग प्रतिस्पर्धा गरिरहेको छ ।     यस वर्षको सुरुमा उनले एआई अनुसन्धान प्रयोगशाला एक्सएआर्ईलाई सामाजिक सञ्जाल प्लेटफर्म एक्समा एकीकृत गरी ग्रोकको पहुँच बढाउने प्रयासलाई अघि बढाएका थिए । यो सहकार्यले नयाँ कम्पनीको मूल्य ११३ अर्ब डलर पुगेको रिपोर्टमा उल्लेख छ । मस्कले ग्रोकलाई ‘विश्वको सबैभन्दा स्मार्ट एआई’ को संज्ञा दिएका छन् । यसले स्पेसएक्सको उपग्रह इन्टरनेट सेवा, स्टारलिङ्कको लागि ग्राहक–समर्थन सुविधाहरूलाई सहयोग गर्छ । एआई च्याटबोट ग्रोक ४ को बुधबारको रिलीजको क्रममा, मस्कले टेस्लाको ‘अप्टिमस फ्लीट’ जस्तै ‘ह्युमनोइड रोबोट’हरूमा ‘ग्रोक एम्बेड’ गर्ने आफ्नो संकेत प्रकट गरेका छन् ।  मस्कका प्रतिनिधिले भविष्यमा स्पेसएक्स र एक्सएआईबीच थप व्यावसायिक साझेदारी हुने बताएका छन् ।   

ओम मेगाश्रीले जडान गर्‍यो ३५० किलोवाटको सौर्य विद्युत्, हरितगृह ग्यास घटाउँदै

काठमाडौं । ओम मेगाश्री फर्मास्युटिकल्स लिमिटेडले भरतपुर महानगरपालिका–२९, जुगेडीस्थित उद्योग परिसरमा ३५०.३५ किलोवाट क्षमताको सौर्य ऊर्जा प्रणाली जडान गरेको छ । ऊर्जा आत्मनिर्भरता र वातावरणमैत्री औद्योगिक उत्पादनतर्फको यो कदमले कम्पनीलाई यस क्षेत्रमा उदाहरणीय बनाएको छ । ‘स्वास्थ्य र राष्ट्रका लागि एक सङ्कल्प’ भन्ने मूल मन्त्रका साथ अघि बढेको कम्पनीले सौर्य ऊर्जा प्रयोगमार्फत उद्योगको सञ्चालन खर्च घटाउने, उत्पादन लागत कम गर्ने र त्यसको प्रत्यक्ष लाभ मुनाफा प्रवाहमार्फत लगानीकर्तासम्म पुर्‍याउने लक्ष्य लिएको जनाएको छ । नेपाल धितोपत्र बोर्ड (सेबोन) बाट आईपीओ निष्कासनको अनुमति प्राप्त गरिसकेको कम्पनीले ६३७ वटा प्यानल प्रयोग गरी सौर्य प्रणाली जडान गरेको हो । यस प्रणालीले विशेषगरी पिक आवर (उच्च माग हुने समय) मा नवीकरणीय ऊर्जाबाट औद्योगिक गतिविधि सञ्चालन गर्न मद्दत पुर्‍याउनेछ । कम्पनीले नेपाल विद्युत् प्राधिकरणसँगको समझदारीमा अतिरिक्त विद्युत् बिक्री गरी आम्दानीको नयाँ स्रोत सिर्जना गर्ने योजना पनि अघि सारेको छ । हरितगृह ग्यास उत्सर्जनमा कमी ल्याउने यस कदमले ओम मेगाश्रीलाई वातावरणमैत्री तथा दीगो औद्योगिक मोडलका रूपमा उभ्याएको छ । कम्पनीले निजी क्षेत्रको सामाजिक उत्तरदायित्व निर्वाह गर्दै वातावरण, अर्थतन्त्र र नीतिगत व्यवस्थाबीच सन्तुलन कायम गर्दै 'हरित उत्पादन, उच्च मुनाफा' भन्ने अवधारणालाई व्यवहारमा उतारिरहेको जनाएको छ ।

जलवायु परिवर्तनबारे गुफाडाँडामा अन्तरक्रिया

काठमाडौं । जलवायु परिवर्तनको असर न्यूनीकरण गर्ने उद्देश्यले सम्पादक समाज नेपालले शनिबार सिन्धुपाल्चोकको गुफाडाँडामा पदयात्रा तथा अन्तरक्रिया कार्यक्रम आयोजना गरेको छ । कार्यक्रममा विभिन्न सञ्चारमाध्यमका करिब सयजना पत्रकारको सहभागिता रहेको थियो । कार्यक्रममा मेलम्ची नगरपालिकाका नगरप्रमुख आइतमान तामाङले गुफाडाँडाको प्रवर्द्धनमा स्थानीय सरकार अग्रसर भएको जानकारी दिए । उनले गुफाडाँडाको हरियाली, शान्त वातावरण र हिमशृङ्खलाको दृश्यावलोकनलाई प्राकृतिक सम्पदाको अद्वितीय संयोजनका रूपमा उल्लेख गरे । मेलम्ची–९ का वडाध्यक्ष किरणदीप खड्काले गुफाडाँडालाई जलवायु अध्ययन केन्द्र बनाउने लक्ष्यसहित प्रमुख पर्यटकीय गन्तव्यको रूपमा विकास गर्ने योजना सुनाए । उनले स्थानीय स्रोतसाधनमा आधारित होमस्टे प्रवर्द्धनको आवश्यकता पनि औँल्याए । सम्पादक समाजका महासचिव श्याम डोटेलले गुफाडाँडा क्षेत्रमा जलवायु परिवर्तनको असर बढ्दो रहेको भन्दै त्यसको न्यूनीकरण तथा स्थानीय उत्पादन र परिकारहरूको पहिचान निर्माणमा पत्रकारहरूको भूमिका महत्वपूर्ण रहेको बताए । पत्रकार महासङ्घ सिन्धुपाल्चोकका अध्यक्ष ध्रुव दङ्गालले क्षेत्रको विकास र समृद्धिका लागि पत्रकारहरूको सदैव साथ रहने प्रतिबद्धता जनाए । पदयात्रामा सम्पादक समाज नेपालका संस्थापक किरण वैद्य, गोरखापत्र दैनिकका प्रधान सम्पादक जुनारबाबु बस्नेत, वरिष्ठ पत्रकार तीर्थ कोइराला, महासचिव श्याम डोटेल लगायत पत्रकारहरूको सक्रिय सहभागिता रहेको थियो । पदयात्राका क्रममा शङ्खरापुर नगरपालिकाका नगरप्रमुख रमेश स्थापितले पत्रकार टोलीलाई एक समारोहकाबीच स्वागत तथा सत्कार गरेका थिए ।

नुवाकोटको मध्यताँदी जलविद्युत आयोजनामा प्रभु बैंकले ७१ करोड लगानी गर्ने

काठमाडौं । नुवाकोटको ताँदी खोलामा निर्माणाधीन ५.५ मेगावाट क्षमताको मध्यताँदी जलविद्युत आयोजनाका लागि आवश्यक लगानी जुटेको छ । 'दुप्चेश्वर महादेव हाइड्रो कम्पनीले प्रवर्द्धन गरिएको यस आयोजनाको कुल लागत १ अर्ब १० करोड रुपैयाँ अनुमान गरिएको छ । उक्तमध्ये ७१ करोड ४४ लाख रुपैयाँ लगानी प्रभु बैंकले गर्ने भएको हो । शुक्रबार काठमाडौंमा आयोजना गरिएको लगानी सम्झौतापत्रमा आयोजनाका तर्फबाट अध्यक्ष अनिल जोशी र प्रभु बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक शेरचनको उपस्थितिमा परियोजना प्रमुख (प्रोजेक्ट हेड) दीपेश पोखरेलले हस्ताक्षर गरेका थिए । सम्झौता अनुसार आयोजनामा प्रभु बैंकको ६५ प्रतिशत र निर्माण कम्पनीको ३५ प्रतिशत लगानी रहनेछ । दुप्चेश्वर गाउँपालिका–६ मा आयोजना निर्माण कार्य सुरु भइसकेको प्राविधिक सल्लाहकार इञ्जिनियर सरोज खनालले जानकारी दिए । अहिले आयोजनामा सडक, आवास गृह लगायतको पूर्वाधार निर्माण कार्य भइरहेको छ ।  १५ महिनाभित्र आयोजना निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको छ । आयोजनाबाट उत्पादित विद्युत् ६ किलोमिटर लामो प्रशारण लाइनमार्फत नुवाकोटको समुद्रटार सवस्टेशनमा पुर्‍याइनेछ र त्यहाँबाट राष्ट्रिय प्रशारण प्रणालीमा जोडिनेछ ।