विकासन्युज

क्वालिटी आयलको कारोबार ५४.३१ प्रतिशत घट्यो, साढे ६ अर्बको व्यापार २ अर्बमा झर्याे

काठमाडौं । क्वालिटी आयल रिफाइनरी प्रालिको आम्दानीमा भारि गिरावट आएको छ । कम्पनीले गत वर्ष (सन् २०२४) मा २ अर्ब ३३ करोड ४० लाख रुपैयाँ सञ्चालन आम्दानी गरेको छ । जुन आम्दानी अघिल्लो वर्षको तुलनामा गत वर्ष ५४.३१ प्रतिशत अर्थात् २ अर्ब ७७ करोड ५० लाख रुपैयाँ घटेको हो ।  अघिल्लो वर्ष (सन् २०२३)मा कम्पनीले ५ अर्ब १० करोड ९० लाख रुपैयाँ आम्दानी गरेको थियो । कच्चा पदार्थको मूल्य अस्थिरता र विदेशी मुद्रामा उतारचढाव हुँदा आम्दानीमा असर परेको कम्पनीले जनाएको छ । कम्पनीको आम्दानी निरन्तर घटिरहेको तथ्याङ्कले देखाएको छ । सन् २०२२ मा कम्पनीले ६ अर्ब ५० करोड ८० लाख रुपैयाँ बराबरको सञ्चालन आम्दानी गरेको थियो । कम्पनीले सन् २०२१ मा २ अर्ब ८० करोड ९० लाख रुपैयाँ, सन् २०२० मा १ अर्ब ८४ करोड ७० लाख रुपैयाँको मात्रै व्यापार गरेको थियो । सन् २००४ मार्चमा स्थापना भएको कम्पनीमा कब्राजी समूहको लगानी रहेको छ । कटहरी इटहरीमा प्लान्ट रहेको यस कम्पनीले अर्जेन्टिना, ब्राजिल, मलेसिया, इन्डोनेसिया लगायत विभिन्न देशहरूबाट लेटर अफ क्रेडिट मार्फत कच्चा पदार्थ आयात गर्दै आएको छ ।  साथै, विदेशबाट कच्चा पदार्थ आयात गरी वनस्पती घ्यू, भटमासको तेल, सन्फ्लावर तेल, पामोलिन, पाल्म, तोरीको दाना लगायत विभिन्न प्रकारका तेलको प्रशोधन गरी बिक्री वितरण गर्दै आएको छ ।  दैनिक ३२० मेट्रिक टन उत्पादन क्षमता रहेतापनि कम्पनीको आम्दानीमा भने प्रत्येक वर्ष घटिरहेको देखिन्छ । तेल तथा वनस्पति घिउ उत्पादक कम्पनीहरुको संख्या बढ्दा प्रतिस्पर्धा बढेकाले व्यवसायमा गिरावट आएको कम्पनीले जनाएको छ ।  कम्पनीका प्रबन्ध निर्देशक घनश्याम काब्रा रहेका छन् भने बिपिन काब्राले कम्पनीमा निर्देशकको भुमिका निर्वाह गर्दै आएका छन् । काब्रासँग खाद्य प्रशोधन र व्यापार क्षेत्रमा लगभग दुई दशकको अनुभव छ ।  कम्पनीले रेटिङ्ग एजेन्सी केयर रेटिङ्स नेपाल लिमिटेडबाट २ अर्ब ७५ करोड बराबरको अल्पकालीन कर्जाका लागि रेटिङ गराएको छ । केयर रेटिङ नेपालले कम्पनीलाई ए–४ प्लस रेटिङ गरेको छ । 

टोकन प्रणालीमार्फत मुख्यमन्त्रीले लिए सेवा

काठमाडौं ।  मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंह आज जिल्ला प्रशासन कार्यालय सप्तरीमा टोकन प्रणालीमार्फत सेवा लिएका छन् । जिल्ला प्रशासन कार्यालय राजविराजबाट उनले नागरिकताको प्रतिलिपि लिएका हुन् । नागरिकताको प्रतिलिपि लिएपछि आजै आमजनता जस्तै लाइनमा बसेर राष्ट्रिय परिचयपत्रसमेत लिएको  मुख्यमन्त्रीका प्रेस सल्लाहकार अवधेशकुमार झाले जानकारी दिए । उनले भने, ‘आमजनताले दैनिक रुपमा यहाँका जिप्रकामा टोकन प्रणाली प्रयोग गरेर लिँदै आएको सेवा जस्तै मुख्यमन्त्रीले पनि आफ्नो सेवा लिनुभएको छ ।’  जिल्ला प्रशासन कार्यालयको सेवाबारे जानकारी लिँदै मुख्यमन्त्रीले आम जनतालाई सहुलियत हुनेगरी सेवा दिन प्रमुख जिल्ला अधिकारी भोला दाहालसँग छलफलसमेत गरे ।      जिल्ला प्रशासन कार्यालयबाट दैनिक रुपमा दिने सेवा नागरिकता, राहदानी, राष्ट्रिय परिचयपत्रलगायत अन्य कामकाजहरु चुस्त तरिकाले दिन निर्देशनसमेत दिए । 

एनआरएनए क्यानडाको युवा संयोजक पदमा इन्जिनियर विवेक धिमालको उम्मेदवारी

काठमाडौं । गैर आवासीय नेपाली संघ (एनआरएनए) क्यानडाको आगामी कार्यकाल (२०२५-२७) का लागि हुने निर्वाचनमा क्यानडाबाट इन्जिनियर विवेक धिमालले युवा संयोजक पदमा उम्मेदवारी दिएका छन् । क्यानडामा सम्पूर्ण युवाहरूलाई प्रतिनिधित्व गरेर आफ्नो उम्मेदवारी दिएको उनले बताए । उनले पारदर्शी, समावेशी र नतिजा मूलक नेतृत्व प्रदान गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । ‘क्यानडामा रहेका सम्पूर्ण युवाको प्रतिनिधित्व गर्ने दृढ इच्छा शक्ति राख्छु, उनले भने, ‘यहाँ रहनुभएका सम्पूर्ण युवाहरूलाई एक आपसमा जोड्ने, सिक्ने, नेतृत्व गर्न प्रेरित गर्ने मेरो प्रतिबद्धता रहने छ ।’ नेपालमा हुँदा देखि नै समाजसेवीमा सक्रिय भएर लागेका धिमालले इन्जिनियरिङ पेशामा छाएको नकारात्मक राजनीतिकरणलाई हटाउनको लागि विशेष भूमिका खेलेका थिए । क्यानडामा पनि इन्जिनियर धिमालले सडक दुर्घटनामा परेका  नेपालीहरुलाई उद्धार तथा सहयोग गर्दै आएका छन् । त्यस्तै उनकै नेतृत्वमा त्यहाँ अध्ययन गर्ने नेपाली विद्यार्थीले कर फाइल छुट पाएका छन् ।  क्यानडामा सबै दाजुभाइ दिदीबहिनी मिलेर नेटवर्किङ कार्यक्रम सेमिनारलगायत सामाजिक गतिविधि विकास गर्नको लागि आफ्नो महत्वपूर्ण भूमिका रहने बताएका छन् । साथै उनले यो भोट भोट मात्रै नभएर नयाँ पुस्ताको लागि नयाँ बाटो खोल्ने अवसर पनि रहेको बताए । एनआरएनए क्यानडाको युवा संयोजक पदमा जितेर सम्पूर्ण नेपालीहरुको मुहार फेर्न रुचाउने धिमालले आफुलाई भोट दिएर जिताउन अनुरोध गरेका छन् ।        

नेपाल एसबिआई बैंकको ऋणपत्रमा लगानीकर्ताको ओइरो, ४ गुणा बढी आवेदन

काठमाडौं । नेपाल एसबिआई बैंक लिमिटेडले निष्काशन गरेको  ‘७ प्रतिशत नेपाल एसबिआई बैंक ऋणपत्र २०९०’ मा लगानीकर्ताहरूको उत्साहजनक सहभागिता देखिएको छ । बैंकले माग गरेको भन्दा चार गुणा बढी आवेदन परेपछि ऋणपत्रको निष्काशन सफलतापूर्वक सम्पन्न भएको छ । बैंकले प्रतिइकाई १ हजार रुपैयाँ अंकित मूल्यका ३० लाख कित्ता अर्थात् कुल ३ अर्ब रुपैयाँ बराबरको ऋणपत्र निष्काशन गरेको थियो । तर, निष्काशन अवधिभित्र १ करोड २० लाख कित्ताभन्दा बढी अर्थात् १२ अर्ब रुपैयाँभन्दा बढीको लागि आवेदन परेको हो । कुल निष्काशनमध्ये १८ लाख कित्ता व्यक्तिगत तवर (प्राइभेट प्लेसमेन्ट) बाट र बाँकी १२ लाख कित्ता सर्वसाधारणका लागि छुट्याइएको थियो । सर्वसाधारणका लागि जारी गरिएकोमध्ये ५ प्रतिशत अर्थात् ६० हजार कित्ता सामूहिक लगानी कोष (म्युचुअल फण्ड) हरूका लागि आरक्षित थियो । १० वर्षे अवधिको यस ऋणपत्रमा लगानीकर्ताले वार्षिक ७ प्रतिशतको आकर्षक ब्याजदर पाउनेछन् । उक्त ऋणपत्र निष्काशनका लागि बैंकले नेपाल धितोपत्र बोर्ड (सेबोन) बाट २०८२ जेठ ७ गते स्वीकृति पाएको थियो ।  निष्काशन तथा बिक्री प्रबन्धकको जिम्मेवारी नबिल इन्भेस्टमेन्ट बैंकिङ्ग लिमिटेडले सफलतापूर्वक निर्वाह गरेको छ । असार ३० गतेदेखि श्रावण १ गतेसम्म खुला रहेको यस निष्काशनमा परेको अत्यधिक आवेदनले नेपाल एसबिआई बैंकको वित्तीय स्वास्थ्य र बजारमा रहेको प्रतिष्ठाप्रति लगानीकर्ताको गहिरो विश्वासलाई पुनः पुष्टि गरेको छ ।

सानिमा बैंकको इ-कम डलर कार्डमा अनलाइनबाटै तत्काल टप-अप सुविधा

काठमाडौं । सानिमा बैंकले आफ्ना ग्राहकहरूका लागि इ-कम भिसा कार्डमा अनलाइनबाटै तत्काल ब्यालेन्स टप-अप गर्ने सुविधा सञ्चालनमा ल्याएको छ । यस नयाँ सुविधासँगै अब ग्राहकहरूले घर वा कार्यालयबाटै जुनसुकै बेला आफ्नो अमेरिकी डलर (USD) इ-कम कार्डमा सजिलै ब्यालेन्स थप गर्न सक्नेछन् । बैंकका अनुसार, यो सुविधा बैंकको ‘सानिमा सजिलो ई-बैंकिङ’ एप वा बैंकको वेबसाइटमा रहेको अनलाइन सेवा अन्तर्गतको ‘eCom (Online Payment) Request’ आइकनमार्फत उपलब्ध छ । टप-अप गर्नका लागि ग्राहकले बैंकमा दर्ता भएको आफ्नो मोबाइल नम्बर वा इमेल ठेगाना, बचत खाता नम्बर र क्याप्चा (captcha) भरेर प्रक्रिया अगाडि बढाउन सक्नेछन् ।  त्यसपछि, ग्राहकको मोबाइल नम्बर वा इमेलमा प्राप्त हुने एक पटकको पासवर्ड (OTP) प्रविष्ट गरेपछि तुरुन्तै कार्डमा ब्यालेन्स टप-अप हुने बैंकले जनाएको छ । यो सुविधाले अन्तर्राष्ट्रिय अनलाइन भुक्तानीका लागि डलर कार्ड प्रयोग गर्ने ग्राहकहरूलाई ठूलो राहत मिल्ने विश्वास बैंकले लिएको छ । सानिमा बैंकले हाल देशका सातै प्रदेशबाट १३४ शाखा कार्यालय र १२७ एटीएम नेटवर्कमार्फत आफ्ना ग्राहकहरूलाई सेवा प्रदान गर्दै आएको छ ।

एनआईसी एशिया बैंक र ओम हस्पिटलबीच सहकार्य: डिजिटल भुक्तानीमा १० प्रतिशत छुट

काठमाडौं । एनआईसी एशिया बैंक र ओम हस्पिटल एण्ड रिसर्च सेन्टर प्रालिबीच विशेष सहकार्य सम्झौता सम्पन्न भएको छ । यस सम्झौता अन्तर्गत बैंकका ग्राहकहरूले ओम हस्पिटलमा स्वास्थ्य उपचार सेवा लिँदा डिजिटल माध्यमबाट भुक्तानी गरेमा १० प्रतिशत छुट पाउने भएका छन् । सम्झौतापत्रमा एनआईसी एशिया बैंकको तर्फबाट डिजिटल पेमेन्ट इकोसिस्टम प्रमुख बिमल लम्साल र ओम हस्पिटलको तर्फबाट प्रमुख कार्यकारी अधिकृत यम बहादुर महतले हस्ताक्षर गरेका हुन् । बैंकका ग्राहकहरूले डेबिट कार्ड, क्रेडिट कार्ड, प्रिपेड कार्ड वा मोबैंक मोबाइल एप प्रयोग गरी भुक्तानी गरेमा यो छुट सुविधा प्राप्त गर्न सक्नेछन् । एनआईसी एशिया बैंकका अनुसार, यस सहकार्यमार्फत ग्राहकहरूले गुणस्तरीय स्वास्थ्य सेवा सरल र सुलभ तरिकाले प्राप्त गर्नुका साथै, डिजिटल भुक्तानी प्रणालीप्रति जनचासो र प्रयोग बढाउन मद्दत पुग्ने विश्वास लिइएको छ । बैंकले देशभरका अस्पताल तथा स्वास्थ्य संस्थाहरूसँग सहकार्य गर्दै डिजिटल भुक्तानी प्रणालीलाई अझ सशक्त बनाउने अभियान सञ्चालन गरिरहेको छ । ओम हस्पिटलसँगको यो सहकार्य पनि त्यसै अभियानको एक महत्वपूर्ण हिस्सा भएको बैंकले जनाएको छ ।

डिशहोमका ग्राहकलाई हाई फ्युचर ग्याजेटमा ५० प्रतिशतसम्मको छुट, ल्यानिज हबसँग गर्‍यो सहकार्य

काठमाडौं । नेपालको अग्रणी इन्टरनेट तथा टिभी सेवा प्रदायक डिशहोमले आफ्ना ग्राहकहरूका लागि एक आकर्षक योजना सार्वजनिक गरेको छ । ल्यानिज हबसँगको सहकार्यमा कम्पनीले विश्वप्रसिद्ध ‘हाई फ्युचर’ ब्रान्डका ग्याजेटहरूमा ५० प्रतिशतसम्मको छुट दिने घोषणा गरेको हो । यो सहकार्यको मुख्य उद्देश्य ग्राहकहरूलाई प्रविधिमैत्री जीवनशैलीमा प्रोत्साहित गर्नु रहेको कम्पनीले जनाएको छ । यो विशेष छुट प्राप्त गर्न ग्राहकहरूले डिशहोमको इन्टरनेट वा टिभी सेवा न्यूनतम ३, ६, १२ वा २४ महिनाका लागि सब्स्क्राइब वा रिचार्ज गर्नुपर्नेछ । यो प्रक्रिया पूरा गरेपछि ग्राहकहरूले आधा मूल्यमा हाई फ्युचरका स्मार्ट ग्याजेटहरू खरिद गर्न पाउनेछन्। कुन ग्याजेटमा कति छुट ? सोनिक एयर एयरबडको बजार मूल्य ३ हजार ४ सय ९९ रहेकोमा अब १ हजार ७ सय ४९ रुपैयाँमै पाउन सकिने छ  । यस्तै, जोन २ स्मार्टवाचको बजार मूल्य ५ हजार ४ सय ९९ रहेकोमा अब २ हजार ७ सय ४९ रुपैयाँ तथा भोकल स्पिकरको बजार मूल्य ८ हजार ९ सय ९९ रहेकोमा अब ४ हजार ४ सय ९९ रुपैयाँमै खरिद गर्न पाउनेछन्। डिशहोमले भनेको छ, ‘ल्यानिज हबसँगको सहकार्यमार्फत हामीले विश्वस्तरीय हाई फ्युचर उत्पादनहरू नेपाली ग्राहकहरूका लागि किफायती मूल्यमा उपलब्ध गराउन पाएका छौं। यो केवल अफर होइन, डिजिटल जीवनशैलीलाई आत्मसात गर्ने एउटा अवसर हो ।’  कम्पनीका अनुसार यो योजना डिशहोमका नयाँ तथा पुराना दुवै ग्राहकका लागि लागू हुनेछ। यसका साथै, खरिदमा थप १५ प्रतिशत छुट पाउनका लागि प्रोमो कोड ‘CHILLFI15’  प्रयोग गर्न सकिने पनि कम्पनीले जनाएको छ । यो अफर आजैदेखि लागू भएको र इच्छुक ग्राहकहरूले डिशहोमको आधिकारिक वेबसाइटमार्फत सिधै अर्डर गर्न सक्नेछन् । यस सहकार्यले ग्राहकको दैनिक जीवनलाई थप स्मार्ट बनाउन मद्दत पुग्ने विश्वास कम्पनीले लिएको छ ।

२९ वर्षको सफल यात्रापछि सगरमाथा लुम्बिनी इन्स्योरेन्स ३०औं वर्षमा

काठमाडौं । सगरमाथा लुम्बिनी इन्स्योरेन्स “सलिको” कम्पनीले आफ्नो २९औं वार्षिकोत्सव भव्य रूपमा सम्पन्न गरेको छ । २९ वर्ष पूरा गरी ३०औं वर्षमा प्रवेश गरेको उपलक्ष्यमा कम्पनीले विविध कार्यक्रमहरू आयोजना गर्दै वार्षिकोत्सव मनाएको हो । वार्षिकोत्सवको अवसरमा कम्पनीले संस्थागत सामाजिक उत्तरदायित्व (सीएसआर ) अन्तर्गत देशका विभिन्न स्थानहरूमा सहयोगमूलक कार्यक्रमहरू सञ्चालन गरेको छ । काठमाडौंमा रक्तदान कार्यक्रम र निःशुल्क दन्त परीक्षण शिविरको आयोजना गरिएको थियो ।  त्यस्तै, गण्डकी, लुम्बिनी र कोशी प्रदेशका कार्यालयहरूले मानव सेवा आश्रममा सहयोग हस्तान्तरण गरेका छन्, भने मधेश प्रदेश कार्यालयले आमाको माया छात्रावासमा बालबालिकालाई भोजन प्रदान गर्ने कार्यक्रम सञ्चालन गरेको छ । २९औं वार्षिकोत्सवको यस सुखद अवसरमा कम्पनीले आफ्ना सम्पूर्ण ग्राहक, शेयरधनी, नियामक निकाय, कर्मचारी तथा शुभचिन्तकहरूप्रति हार्दिक आभार व्यक्त गर्दै आगामी दिनमा अझ गुणस्तरीय सेवा प्रदान गर्ने प्रतिबद्धता जनाएको छ । कार्यक्रममा कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सिइओ) चंकी क्षेत्री, नायब प्रमुख कार्यकारी अधिकृत बरिष्मा साउद आचार्य, नायब महाप्रवन्धक कविराज पौडेल, दाबी विभाग प्रमुख सुवास दिक्षितसहित अन्य कर्मचारीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो । सगरमाथा लुम्बिनी इन्स्योरेन्सले व्यवसायिक प्रतिबद्धतासँगै सामाजिक उत्तरदायित्वलाई पनि सधैं प्राथमिकतामा राख्दै आएको उल्लेखनीय यात्रा निरन्तर अघि बढाइरहेको छ ।