फ्रोजन डेजर्ट उद्योगको विकासमा नयाँ चरणको सुरूवात, आइसक्रिम उत्पादनमा क्रान्ति
काठमाडौं । नेपालमा फ्रोजन डेजर्ट उद्योगको विकासमा नयाँ चरणको सुरूवात गर्ने उद्देश्यले आयोजना गरिएको भव्य कार्याशाला गोष्ठी काठमाडौंमा सम्पन्न भएको छ । सग्तानी ग्रुप, ‘एलएआईईएफ आइसक्रिम मेसिनरी’ र नेपाल–इटाली उद्योग वाणिज्य संघ (एनआईसीसीआई) को सहकार्यमा ‘नेपालमा आइसक्रिम उत्पादनको रूपान्तरण’ शीर्षकमा उक्त गोष्ठी सम्पन्न गरिएको हो । उक्त कार्यक्रममा नेपाल र इटालीका खाद्य उद्योगका विज्ञहरू, उद्यमीहरू र सरोकारवालाहरूको उल्लेखनीय सहभागिता थियो । कार्यक्रममा इटालीका प्रमुख ब्राण्डहरू ‘एलएआईईएफ’, ‘टेक्नोआइस’, ‘प्याकइन्ट’ र ‘कोल्ड कार’ लगायतले उत्पादनदेखि ढुवानीसम्मका अत्याधुनिक, दिगो र प्रभावकारी प्रविधिहरू प्रदर्शन गरेका थिए । यो सहकार्यले नेपालमा फ्रोजन डेजर्ट उद्योगको विकासमा नयाँ चरणको सुरुवात गर्नाका साथै नेपाल–इटालीबीचको औद्योगिक तथा व्यापारिक सम्बन्धलाई थप मजबुत बनाउने विश्वास गरिएको छ ।
सेयर धितोमा ८.१७ प्रतिशत ब्याजदरमै कर्जा दिने एनआईसी एशियाको घोषणा
काठमाडौं । एनआईसी एशिया बैंकले सेयर धितोमा राखेर बेसरेटमा १ प्रतिशत थप ब्याजदरमै कर्जा दिने भएको छ । बैंकले प्रतिष्पर्धी ब्याजदर भन्दै औसत आधार दरमा १ प्रतिशत प्रिमियम थपमा सेयर धितो राखेर प्रवाह गरिने कर्जा दिने घोषणा गरेको हो । हाल बैंकको बेसरेट ७.१७ प्रतिशत रहेकामा बैंकले ८.१७ प्रतिशत ब्याजदरमा कर्जा दिने घोषणा गरेको हो । एनआईसी एशियाले अठोट लोन अगेन्स्ट सेयरको आकर्षक कर्जा योजना सार्वजनिक गरेको छ । ग्राहकको आवश्यकता, बजार तथा समयको मागलाई सम्बोधन गर्दै बैंकले ग्राहक महानुभावमाझ अर्थतन्त्रको एक मुख्य पिलरको रुपमा रहेको सेयरबजारलाई सम्बोधन गर्ने गरी प्रतिष्पर्धी ब्याजदरमा सेयर कर्जा योजना सार्वजनिक गरेको बताएको छ । ग्राहकले नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा सूचीकृत बैंक तथा वित्तीय संस्था, बीमा कम्पनी लगायत अन्य विभिन्न कम्पनीको साधारण सेयर एनआईसी एशिया बैंकमा धितो राखेर १८० दिनको सेयरको औसत बजार मूल्य वा पछिल्लो कारोबार मूल्य मध्ये जुन कम छ, त्यसको ७० प्रतिशतसम्म कर्जा पाउनेछन् । बैंकको योजनाअनुसार न्यूनतम ५० लाख रूपैयाँदेखि अधिकतम १५ करोडसम्मको कर्जा बैंकले दिनेछ । बैंकले सम्पूर्ण आवश्यक कागजात प्राप्त भए पश्चातको ३ कार्यदिन भित्र नै कर्जा उपलब्ध गराउने गरी आन्तरिक व्यवस्थापन गरेको छ ।
फोनपे र सामाजिक सुरक्षा कोषबीच सम्झौता, विदेशबाटै मोबाइल बैंकिङमार्फत् योगदान गर्न सकिने
काठमाडौं । अब विदेशमा रहेका नेपाली श्रमिकले पनि मोबाइल बैंकिङमार्फत सामाजिक सुरक्षा कोषमा सजिलै योगदान गर्न सक्ने भएका छन् । डिजिटल भुक्तानी नेटवर्क फोनपे र सामाजिक सुरक्षा कोषबीच प्रवासी श्रमिकलाई लक्षित गर्दै डिजिटल योगदान प्रणाली सञ्चालनका लागि सम्झौता भएको हो । सम्झौतामा फोनपेका प्रमुख सञ्चालन अधिकृत पारस कुँवर र सामाजिक सुरक्षा कोषका कार्यकारी निर्देशक कविराज अधिकारीले हस्ताक्षर गरे। कार्यक्रमका दौरान दुबै संस्थाका उच्च पदाधिकारीहरूको उपस्थिति थियो । फोनपेका सीओओ कुँवरले भने, 'फोनपे नेटवर्कको व्यापक पहुँचले प्रवासी श्रमिकलाई सामाजिक सुरक्षा कोषमा सजिलो तरिकाले योगदान गर्न सहयोग पुग्नेछ। यसले रेमिट्यान्स औपचारिक च्यानलबाट पठाउने अभ्यासलाई समेत प्रोत्साहन गर्नेछ ।' यो सेवा हालै फोनपे बिल्स प्लेटफर्ममार्फत सञ्चालनमा आएको छ, जसले नेपालका सबै बैंक तथा वित्तीय संस्थाको मोबाइल बैंकिङ एपमार्फत पहुँचयोग्य भएको छ । यस कदमले प्रवासी श्रमिकहरूको समावेशीकरण मात्र होइन, औपचारिक आर्थिक प्रणालीमा पहुँच पनि विस्तार गर्ने अपेक्षा गरिएको छ ।
भक्तपुर क्यान्सर अस्पतालको कार्यकारी निर्देशकमा डा. चालिसे नियुक्त
काठमाडौं । भक्तपुर क्यान्सर अस्पतालको कार्यकारी निर्देशकमा डा. उज्जवल चालिसे नियुक्त भएका छन् । निमित्त निर्देशकका रुपमा अस्पतालमा काम गरिसकेका उनलाई सोमबार बसेको मन्त्रिपरिषद् बैठकले कार्यकारी निर्देशकमा नियुक्त गरेको हो । चालिसे लामो समय देखी भक्तपुर क्यान्सर अस्पतालमा कार्यरत थिए । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको प्रस्तावमा चालिसेलाई मन्त्रिपरिषद्ले कार्यकारी निर्देशकमा नियुक्त गरेको हो । अब उनी चार वर्षसम्म अस्पतालको नेतृत्व गर्नेछन् ।
सारथी लॉजिस्टिक्सको विराटनगर शाखा उद्घाटन, देशभर २५ शहरमा सेवा विस्तार
काठमाडौं । सारथी लॉजिस्टिक्स विराटनगरमा नयाँ शाखाको उद्घाटन गर्दै देशव्यापी सेवा विस्तारको महत्वपूर्ण चरण सुरु गरेको छ । उद्घाटन समारोहमा कम्पनीले विराटनगर र इटहरीबाट देशका २५ भन्दा बढी प्रमुख शहरमा बुकिङ सेवा प्रारम्भ भएको औपचारिक घोषणा गर्यो । कम्पनीले सेवा विस्तार गरेका गन्तव्यहरूमा बर्दिबास, सर्लाही, वीरगञ्ज, हेटौंडा, टाडी (पर्सा), नारायणघाट, कावासोती, बुटवल, भैरहवा, बर्दघाट, परासी, घोराही, तुल्सीपुर, रुकुम, सल्यान, पाल्पा, प्युठान, अर्घाखाँची, चौनौटा, कोहलपुर, नेपालगञ्ज, सुर्खेत, धनगढी, महेन्द्रनगर, काठमाडौं, पोखरा र त्रिशूलीजस्ता मुख्य सहरहरू रहेका छन् । कार्यक्रममा सारथी लॉजिस्टिक्सका अध्यक्ष तथा प्रमुख कार्यकारी अधिकृत राजकुमार न्यौपानेले भने, 'हामी आज विराटनगरजस्तो व्यापारिक केन्द्रमा सेवा विस्तार गर्न पाउँदा गर्वित छौं । हाम्रो लक्ष्य देशभरका सहर तथा गाउँलाई प्रभावकारी रूपमा जोड्ने, किफायती र प्रविधिमैत्री सेवा प्रवाह गर्ने र ग्राहक सन्तुष्टिलाई उच्च प्राथमिकता दिने हो ।' उनले छिट्टै देशका अन्य मुख्य सहरहरूमा पनि सेवा विस्तार गर्ने योजना रहेको जनाए । उद्घाटन कार्यक्रममा स्थानीय उद्योगी, व्यवसायी, साझेदार, विशिष्ट व्यक्ति र शुभेच्छुकहरूको उल्लेखनीय उपस्थिति रहेको थियो । सारथी लॉजिस्टिक्सले पारदर्शिता, भरपर्दो सेवा र राष्ट्रिय गौरवको भावनाका साथ काम गर्ने प्रतिबद्धता व्यक्त गरेको छ ।
नहर छ, पानी छैन
सिरहा । लहान–१० स्थित ग्रामीण चोकबाट उत्तरतर्फ खुट्टी नदीसम्म सहरी क्षेत्रमा फैलिएको खुट्टी सिँचाइ नहरको अवस्था अत्यन्तै दयनीय बनेको छ । प्रदेश सरकारको रु आठ करोड ७२ लाख लगानीमा २०७८ सालमा निर्माण भएको नहर हाल अलपत्र अवस्थामा पुगेको छ । सिँचाइका लागि निर्माण गरिएको नहर अहिले ठाउँठाउँमा जमेको फोहर, झारपात र ढल मिसिएको पानीले दुर्गन्ध फैलाउने अवस्थामा पुगेको छ । स्थानीयवासी तथा खुट्टी नहर सिँचाइ सङ्घर्ष समितिले पटकपटक आवाज उठाउँदा पनि सम्बन्धित निकायले बेवास्ता गर्दै आएको जनाइएको छ । सङ्घर्ष समितिका संयोजक धर्मराज चौधरी, सदस्य हेमन्त यादव, अजय चौधरीलगायतले मधेस प्रदेश सरकारका गृह, सञ्चार तथा कानुनमन्त्री राजकुमार लेखी समक्ष सोमबार गुनासो पोख्दै नगर मर्मत गर्न आग्रह गरेका छन् । उनीहरूले नहर सञ्चालनका लागि छुट्याइएको रु १५ लाख अपार्याप्त रहेको जनाउँदै पुनः ध्यानाकर्षण गराए । मन्त्री लेखीले किसानहरूको समस्या सम्बन्धित मन्त्रालय र विभाग बढी जिम्मेवार रहेको औँल्याउँदै आफूबाट आवश्यक पहल गर्ने प्रतिबद्धता जनाए ।
भेरी नदीमा पानीको सतह बढेकाले सतर्कता अपनाउन आग्रह
काँक्रेविहार । भेरी नदीमा पानीको सतह बढेको जनाउँदै जिल्ला प्रशासन कार्यालय जाजरकोटले सर्तक रहन आग्रह गरेको छ । भेरी नगरपालिका–१ रिम्ना जाजरकोटमा रहेको भेरी रिम्जलमापन केन्द्रमा पानीको वहाब बढेको सूचना आएको प्राप्त भएपछि प्रशासनले तटीय क्षेत्रमा सतर्क रहन भनेको हो । जाजरकोटका प्रमुख जिल्ला अधिकारी मेखबहादुर मङ्ग्रातीले भने, 'जलसतह बढ्दो क्रममा भई खतरा तह आसपास रहेकाले नदी तटीय क्षेत्रमा रहनुहुनेहरूले सतर्कता अपनाइराखौँ, नदीको किनारमा रहेका बस्तीका स्थानीयवासीलाई सर्तक रहन आग्रह गरिएको छ । प्रहरीलाई पनि यसबारे खबर गरिएको छ ।' डोल्पाका प्रमुख जिल्ला अधिकारी रोमबहादुर महतले पनि पानीको सहत केही बढेकाले सर्तक रहन आग्रह गरेको बताए ।
शुभ लक्ष्मी कोषको १६ प्रतिशत लाभांश घोषणा
काठमाडौं । लक्ष्मी सनराईज क्यापिटलले शुभ लक्ष्मी कोष म्युचुअल फण्डको लाभांश घोषणा गरेको छ । क्यापिटलको साउन १२ गते बसेको बैठकले शुभ लक्ष्मी कोषका इकाईधनीहरूलाई गत आर्थिक वर्ष २०८१/८२ को नफाबाट करसहित १६ प्रतिशत प्रतिफल वितरण गर्ने भएको हो । यसअघि अघिल्लो आर्थिक वर्ष २०८०/८१ मा शुभ लक्ष्मी कोषका इकाईधनीहरूलाई करसहित ७.५ प्रतिशत प्रतिफल वितरण गरेको थियो । लक्ष्मी सनराईज बैंक कोष प्रवर्द्धक र लक्ष्मी सनराईज क्यापिटल योजना व्यवस्थापक रहेको लक्ष्मी म्युचुअल फण्ड अन्तर्गत सञ्चालित शुभ लक्ष्मी कोषको गत वर्षको लेखापरीक्षण सम्पन्न भएपछि प्रतिफल वितरण गरेको हो । शुभ लक्ष्मी कोष खुलामुखी योजना हो । साथै प्रतिफल वितरण प्रयोजनार्थ साउन १३ गते बुक क्लोज गर्ने निर्णय गरेको छ । त्यसैले साउन १२ गतेसम्म कायम इकाईधनीहरू मात्रै उक्त प्रतिफल प्राप्त गर्न योग्य हुनेछन् । शुभ लक्ष्मी कोषका इकाईधनीहरूले लाभांश प्राप्त पश्चात् समायोजित मूल्यमा पुनः लगानी योजनामार्फत उक्त रकमले थप इकाईहरु खरिद गर्न सकिने कम्पनीले जनाएको छ । जसका लागि साउन १६ गतेभित्र नाम दर्ता गराउनुपर्नेछ ।