विकासन्युज

रुसी सेनाले विदेशी कपडा लगाउन नपाउने

काठमाडौं । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले सोमबार सन् २०२६ देखि देशको सशस्त्र सेनाका लागि विदेशी निर्मित कपडा र सम्बन्धित उपकरण खरिदमा प्रतिबन्ध लगाउने आदेशमा हस्ताक्षर गरेका छन् । ‍आदेशअनुसार सन् २०२६ जनवरी १ देखि रुसी सशस्त्र बलका लागि सबै बर्दी र अन्य कपडा वस्तुहरू रुसी कम्पनीहरूले उत्पादन गर्नुपर्नेछ भने उत्पादन सुविधाहरू देशभित्र अवस्थित छन् । सन् २०२७ सम्ममा कपडा र बुनेको सामग्रीहरू घरेलु रूपमा निर्माण गरिनु पर्ने आदेशमा उल्लेख छ ।   यो उपायको उद्देश्य सेनाको आवश्यकताका लागि विदेशी निर्मित कपडा र सामग्रीको खरिदलाई पूर्ण रूपमा बहिष्कार गर्नु रहेको आदेशमा भनिएको छ । सैन्य कपडा, बर्दी, प्रतीक चिह्न, भित्री वस्त्र, ओछ्यान, विशेष कपडा, जुत्ता, उपकरण र सेनेटरी वस्तुहरू समावेश छन् । त्यस्ता आपूर्तिहरू रुसी राज्य रक्षा आदेश प्रणाली मार्फत खरिद गरिन्छ ।  

फर्जी ‘नेप्से एआई’ एप डाउनलोड गर्दा ‘२८ लाख ६१ हजार’ रुपैयाँ गायब

काठमाडौं । हरि शर्मा (नाम परिवर्तित)ले सामाजिक सञ्जाल फेसबुक चलाइरहेका थिए । उनको मोबाइलमा एउटा विज्ञापन आयो- सेयर बजारको विश्लेषण अब नेप्से एआई एपबाटै गर्न सकिन्छ । पुँजी बजारमा सेयर कारोबार गरिरहने उनलाई सेयर विश्लेषण गर्ने एप भेटेपछि दङ्ग परे । एपबाटै सेयर विश्लेषणसम्बन्धी जानकारी पाउने भएपछि उनी एप डाउनलोड गरेर इन्स्टल गर्छन् ।  तर, एप चलाउन नपाउँदै छाँगाबाट खसे झैं हुन्छन् । एप इन्स्टल गरेपश्चात उक्त एपमा रिमोट सेसन खुल्नासाथ जोन डोइको मोबाइल स्क्रीन ब्लाङ्क भयो । केही समयपछि उनको मोबाइलमा रहेका विभिन्न बैंक खाताबाट २८ लाख ६१ हजार रुपैयाँ गायब भयो । साथै, जोन डोइको मोबाइलमा रहेका सबै डाटा तथा एप समेत मेटियो । लगत्तै उनले नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोमा घटनाको विवरण जानकारी गराए ।  केही दिनयता सामाजिक सञ्जाल फेसबुक, इन्स्टाग्राम, टिकटकलगायतमा ‘नेप्से एआई’ नामको एप डाउनलोड गराउन प्रेरित गर्ने भ्रामक सूचना तथा विज्ञापनहरू आइरहेका छन् । फर्जी एपमार्फत सेयर बजारको विश्लेषण गरी ‘अत्यधिक नाफा’ दिने भनी झुक्याएर ठगी गर्ने गिरोह सक्रिय रहेकाले सजग रहन नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले आग्रह गरेको छ । सीआईबीका अनुसार यो एप इन्स्टल गरेपछि प्रयोगकर्ताको मोबाइलमा रिमोट सेसन खोलिन्छ र त्यसपछि बैंक खातामा रहेका सबै रकम एकछिनमै चोरी गरी अन्यत्र ट्रान्सफर गरिन्छ । साथै पीडितको डिजिटल उपकरणको सम्पूर्ण डेटासमेत मेटाइने तथा प्रमाण नष्ट गरिने घटनासमेत यसमा जोडिएको सीआईबीले जनाएको छ ।  यस्ता खालका दर्जनौं ठूला घटना र उजुरीहरू परेको सीआईबीले जनाएको छ । जसले नेपाली नागरिकलाई ठूलो आर्थिक जोखिममा पारेको सीआईबीका प्रवक्ता एवं सूचना अधिकारी समेत रहेका प्रहरी निरीक्षक युवराज खड्काले बताए ।  सीआईबीले नागरिकहरूलाई यस्ता क्रियाकलापबाट बच्नका लागि विभिन्न सावधानीहरू अपनाउन अनुरोध गरेको छ । सीआईबीले आफ्नो पासवर्डहरू नियमित रूपमा परिवर्तन गर्न, सामाजिक सञ्जालमा आएका अपरिचित लिंक वा एपलाई डाउनलोड नगर्न, टु फ्याक्टर अथेन्टिकेसन प्रयोग गर्न, अनधिकृत व्यक्तिहरुलाई एनीडेस्क, टीमभ्यूअरजस्ता रिमोट एक्सेस एप मार्फत आफ्नो मोबाइल वा कम्प्युटरको पहुँच नदिन र एप डाउनलोड गर्दा केवल आधिकारिक एप स्टोरहरू (गुगल प्ले स्टोर, एप्पल एप स्टोर) बाट मात्र डाउनलोड गर्न अनुरोध गरेको छ । 

अभौतिक सांस्कृतिक सम्पदा सम्बन्धी विधेयक राष्ट्रिय सभामा पेश

काठमाडौं । राष्ट्रिय सभामा अभौतिक सम्पदाको संरक्षण गर्न सम्बन्धित व्यवस्था गर्न तयार गरिएको अभौतिक सांस्कृतिक सम्पदा संरक्षणसम्बन्धी विधेयक, २०८१ पेश गरिएको छ । मंगलबार संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्री पाण्डेले उक्त विधेयक राष्ट्रिय सभामा पेश गरे । विधेयक प्रस्तुत गर्दै मन्त्री पाण्डेले भने, 'नेपाल अभौतिक सांस्कृतिक सम्पदा संरक्षणसम्बन्धी महासन्धि, २००३ को पक्ष राष्ट्र भइसकेको अवस्थामा, महासन्धिको पक्ष राष्ट्रको हैसियतले उक्त सन्धिको कार्यान्वयन गर्नका लागि यो विधेयक ल्याइएको हो ।' उनका अनुसार संवैधानिक व्यवस्थालाई मूर्तरूपमा कार्यान्वयन गर्न, सांस्कृतिक सम्पदाको संरक्षण तथा व्यवस्थापनसम्बन्धी कानुन बनाउन आवश्यक छ । त्यसैले अभौतिक सांस्कृतिक सम्पदा संरक्षणसम्बन्धी ऐनको तर्जुमा गर्नु बाञ्छनीय भएकाले विधेयक पेश गरिएको हो । विधेयकमाथि दुई जना राष्ट्रिय सभा सदस्यहरूले विरोधको सूचना दर्ता गरे पनि मन्त्री पाण्डेको प्रष्टिकरणपछि ती सूचनाहरू फिर्ता लिएका थिए ।  

२६ अंकले घट्यो नेप्से, सीटी होटलको सेयर मूल्यमा सकारात्मक सर्किट

काठमाडौं । मंगलबार सेयर बजारमा दोहोरो अंकको गिरावट आएको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक २६ अंकले बढेर २७९६ बिन्दुमा झरेको छ ।  आज २४ कम्पनीको सेयर मूल्य बढ्दा २२५ कम्पनीको मूल्य घटेको छ । मंगलबार ३२३ कम्पनीको १ करोड कित्ता सेयर किनबेच हुँदा ६ अर्ब ९१ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । जसमध्ये सबैभन्दा धेरै कारोबार नेपाल रिइन्स्योरेन्स कम्पनीको भएको छ । नेपाल रिइन्स्योरेन्सको २६ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । साथै, लुम्बिनी बिकास बैंकको २० करोड, हिमालयन रिइन्स्योरेन्सको २३ करोड, बुटवल पावर कम्पनीको १९ करोड र शिवम् सिमेन्टको २० करोड रुपैयाँ बराबरको कारोबार भएको छ । होटल तथा पर्यटन समूह १.३२ प्रतिशतले बढेको छ भने अरु सबै समूहको उपसूचक घटेको छ । बैंकिङ ०.९४, विकास बैंक ०.७६, वित्त १.५३, जलविद्युत् १.२६, लगानी ०.६६, जीवन बीमा १.०६ र उत्पादन तथा प्रशोधन समूह १ प्रतिशतले घटेको छ । लघुवित्त १.४९, म्युचुअल फन्ड ०.२४, निर्जीवन बिमा ०.८१, व्यापार ०.८६ र अन्य समूह ०.६२ प्रतिशतले घटेको छ । आज सीटी होटलको सेयर मूल्य १० प्रतिशतले बढेर सकारात्मक सर्किट लागेको छ । सिक्लेस हाइड्रोपावर लिमिटेडको सेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ ।

बजार हिस्सा घटेपनि १२.७९ प्रतिशत बढ्यो यति एयरलाइन्सको व्यापार

काठमाडौं । यति एयरलाइन्स लिमिटेडले ९ महिनामा ४ अर्ब रुपैयाँभन्दा बढीको कारोबार गरेको छ । कम्पनीले आर्थिक वर्ष २०२५/२६ को ९ महिनामा ४ अर्ब ११ करोड ७० लाख रुपैयाँ बराबरको कारोबार गरेको जनाएको छ। कम्पनीले सन् २०२४ मा ४ अर्ब २५ करोड ८० लाख रुपैयाँ बराबरको कारोबार गरेको थियो । अघिल्लो वर्ष सन् २०२३ मा एयरलाइन्स कम्पनीले ३ अर्ब ७५ करोड ५० लाख रुपैयाँ बराबरको कारोबार गरेको थियो । कम्पनीले अघिल्लो वर्षको तुलनामा गत वर्ष १२.७९ प्रतिशत अर्थात् ४८ करोड ३० लाख रुपैयाँ बढीको कारोबार गरेको हो। यति एयरलाइन्सका अनुसार सन् २०२२ मा ३ अर्ब ९२ करोड रुपैयाँ र सन् २०२१ मा १ अर्ब ३९ करोड ६० लाख रुपैयाँ बराबरको कारोबार गरेको थियो ।  सन् २००२ मा स्थापित यति एयरलाइन्स नेपालको सबैभन्दा पुरानो घरेलु एयरलाइन्समध्ये एक हो । कम्पनीसँग ७२ सिट क्षमताका ७ वटा एटीआर विमान सञ्चालनमा रहेका छन् । जसमध्ये ६ वटा खरिद गरिएका हुन् भने एउटा भाडामा लिइएको कम्पनीले जनाएको छ । कम्पनीले घरेलु हवाई उद्योगमा १७ प्रतिशत हिस्सा ओगटेको दाबी गरेको छ । अघिल्लो वर्षको तुलनामा गत वर्ष कम्पनीको बजार हिस्सा घटेको देखिएको छ । सन् २०२३ जनवरी १५ मा कम्पनीको नाइनएन–एएनसी विमान पोखरा अन्तर्राष्ट्रिय विमानस्थल नजिकै दुर्घटनाग्रस्त भएपछि बजार हिस्सा घटेको कम्पनीले जनाएको छ । यसअघि सन् २०२३ मा कम्पनीको बजार हिस्सा २१ प्रतिशत थियो ।  कम्पनीमा एशियन लाइफ इन्स्योरेन्सको मुख्य सेयर स्वामित्व रहेको छ । कम्पनीमा एशियन लाइफको ४६.८२ प्रतिशत, ल्हाक्पा सोनाम शेर्पाको २५.०३ प्रतिशत र चन्दा शेर्पाको २०.०६ सेयर स्वामित्व रहेको छ । कम्पनीको अध्यक्ष समेत रहेका ल्हाक्पा सोनाम शेर्पासँग पर्यटन क्षेत्रमा ५० वर्षभन्दा बढीको अनुभवसहित यति एयरलाइन्सको नेतृत्व गरिरहेका छन् । साथै कम्पनीमा चन्दा शेर्पा प्रबन्ध निर्देशक, नोर्बु छिरिङ शेर्पालाई उपप्रबन्ध निर्देशक र चार्टर्ड एकाउन्टेन्ट सुभास सापकोटा प्रमुख कार्यकारी अधिकृत (सीईओ) रहेका छन् । कम्पनीले विभिन्न बैंक तथा वित्तीय संस्थाबाट ६ अर्ब ३६ करोड १६ लाख रुपैयाँ र २७.१९ मिलियन अमेरिकी डलर ऋण लिएको छ । इन्फोमेरिक्स क्रेडिट रेटिङ नेपालले २ अर्ब ९५ करोड ८३ लाख रुपैयाँ र ७.१९ मिलियन अमेरिकी डलरका दीर्घकालीन ऋणका लागि त्रिपल बी माइनस रेटिङ प्रदान गरेको छ ।  यस्तै, ७५ करोड ७३ लाख रुपैयाँ अल्पकालीन ऋणका लागि ए ३ रेटिङ र २ अर्ब ६४ करोड ६० लाख रुपैयाँ अल्पकालीन तथा दीर्घकालीन ऋणका लागि त्रिपल बी माइनस रेटिङ प्रदान गरेको छ ।

जीवन बीमकको ४३ प्रतिशत व्यवसाय बागमती प्रदेशमा, सबैभन्दा न्यून कर्णालीमा

काठमाडौं । जीवन बीमा कम्पनीहरूको व्यवसाय सहरकेन्द्रित हुँदै गएको छ । यस्तो तथ्यांकले नै देखाउँछ । गत आर्थिक वर्षमा जीवन बीमा व्यवसायको आधा हिस्सा बागमती प्रदेशले ओगटेको पाइएको छ । नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको तथ्यांकअनुसार गत आव २०८१/८२ मा सञ्चालनमा रहेका १४ वटा जीवन बीमा कम्पनी र ३ वटा लघु जीवन बीमा कम्पनीले १ खर्ब ८२ अर्ब २७ करोड ३३ लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेका छन् ।  जसमध्ये बागमती प्रदेशमा मात्रै बीमा कम्पनीहरूले ८० अर्ब ३ करोड ४९ लाख रुपैयाँ बीमाशुल्क संकलन गरेका छन् । यो कुल व्यवसायको ४३.९१ प्रतिशत हिस्सा हो । बीमा कम्पनीहरूले दोस्रो धेरै व्यापार लुम्बिनी प्रदेशबाट गरेका छन् । गत आवमा कम्पनीहरूले लुम्बिनी प्रदेशबाट २८ अर्ब ७१ करोड ३ लाख रुपैयाँ बीमाशुल्क संकलन गरेका छन् । जुन बीमा कम्पनीहरूको कुल व्यवसायको १५.७५ प्रतिशत हिस्सा हो । कम्पनीहरूले तेस्रो धेरै व्यापार कोशी प्रदेशमा गरेका छन् । कम्पनीहरूको कुल व्यवसायको १२.२५ प्रतिशत हिस्सा कोसी प्रदेशमा देखिन्छ । समीक्षा वर्षमा कम्पनीहरूले कोशी प्रदेशबाट २२ अर्ब ३२ करोड ७४ लाख रुपैयाँ बीमाशुल्क संकलन गरेका छन् ।  समीक्षा वर्षमा कम्पनीहरूले गण्डकी प्रदेशबाट १८ अर्ब ४५ करोड ११ लाख रुपैयाँ, मधेश प्रदेशबाट १६ अर्ब ३१ करोड ४५ लाख रुपैयाँ, सुदूरपश्चिम प्रदेशबाट ११ अर्ब १८ करोड ७५ लाख रुपैयाँ कुल बीमा शुल्क संकलन गरेको छ । जीवन बीमकको कुल व्यापारमा गण्डकीको हिस्सा १०.१२ प्रतिशत, मधेश प्रदेशको ८.९५ प्रतिशत र सुदूरपश्चिमको ६.१४ प्रतिशत रहेको छ । बीमा कम्पनीहरूको सबैभन्दा न्यून व्यापार कर्णाली प्रदेशबाट भएको छ ।  तथ्यांकअनुसार कुल व्यापारमा कर्णालीको हिस्सा २.८८ प्रतिशत हिस्सा रहेको छ । गत आवमा बीमा कम्पनीहरूले गण्डकी प्रदेशबाट ५ अर्ब २४ करोड ७३ लाख रुपैयाँ बीमाशुल्क संकलन गरेका छन् ।  

दोस्रो डिजिटल फ्रेमवर्क यही वर्षदेखि लागू हुन्छ : सञ्चारमन्त्री गुरुङ

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले चालु आर्थिक वर्षदेखि दोस्रो डिजिटल फ्रेमवर्क लागू हुने बताएका छन् । मंगलबार सिंहदरबारमा बसेको विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठकमा बोल्दै उनले यस्तो बताएका हुन् ।  त्यसको लागि डिएनएफ अन्तिम चरणमा पुर्याएको मन्त्री गुरुङको दाबी छ । २०७६ सालमा बनेको डिएनएफ धेरै अपूरो रहेको उनको भनाइ छ । मन्त्री गुरुङले डिएनएफ बनाउन विश्व बैंकले ५८ करोड रुपैयाँ दिने भनेर सम्झौता गरेको भएपनि ५८ पैसा समेत प्राप्त हुन नसकेको बताए । विश्व बैंकका प्रतिनिधिहरुसँग सम्पर्क गर्दा सम्पर्कमा नआएको बताए । सात महिनासम्म पनि विश्व बैंक सम्पर्कमा नआएपछि मन्त्रालयले पहल गरेको बताए । मन्त्रालयमा छलफल सकिसकेको र मन्त्रीपरिषद्बाट पास भएपछि चालु वर्षबाटै लागू हुने जानकारी दिए ।  मन्त्री गुरुङले भने, ‘दोस्रो डिजिटल फ्रेमवर्क नेपाल चालु आर्थिक वर्षदेखि लागू हुन्छ । डिएनएफ अन्तिम चरणमा पुर्याएका छौँ । २०७६ सालमा बनेको डिएनएफ पहिलो चरणमा बनेको थियो । यो धेरै अपूरो थियो । आइटी क्षेत्र त दिनदिनै यति धेरै फास्ट चेन्ज भइरहेको छ । यो वर्ष बनाएको पनि अर्को वर्ष संशोधन गर्नुपर्ने, सुधार गर्नुपर्ने हुन्छ । हाम्रो मन्त्रालयको छलफल सकिसकेको छ । क्याबिनेटबाट पास भएपछि यही वर्षबाट लागू हुन्छ ।’ मन्त्री गुरुङले नेपाल एआईको क्षेत्रमा धेरै पछि परेको बताए । चालु आ.व.मा फाइभजी काठमाडौं र पोखरा उपत्यकामा शुरु गर्ने बताए । यसले एआईको प्रयोगलाई समेत प्रभावकारी बनाउने जिकिर गरे । 

चिलीमा ७ करोड ४० लाख वर्ष पुरानो स्तनपायी जीवाश्म फेला

काठमाडौं । वैज्ञानिकहरूले चिलीको प्याटागोनियामा डायनासोरको समयमा बाँचेको साना मुसाको आकारको स्तनपायीको जीवाश्म फेला पारेका छन् । ‘येउथेरियम प्रेसर’को तौल ३० देखि ४० ग्राम (लगभग एक औंस) को थियो र माथिल्लो क्रिटेसियस कालमा करिब सात करोड ४० लाख पहिले बस्थे । यो दक्षिण अमेरिकाको यस क्षेत्रमा फेला परेको सबैभन्दा सानो स्तनपायी हो, जुन युगमा यो गोन्डवाना भनेर चिनिने महाद्वीपीय भू–भागको हिस्सा थियो । चिली विश्वविद्यालय र चिलीको मिलेनियम न्युक्लियस अनुसन्धान केन्द्रका प्रारम्भिक स्तनपायीहरूमा वैज्ञानिकहरूको टोलीको नेतृत्व गर्ने हान्स पुशेलले भने, ‘जीवाश्ममा एउटा दाँतसहितको बङ्गाराको सानो टुक्रा र अन्य दुई दाँतका मुकुट र जरा छन् ।’ यो खोज यस महिना बेलायती वैज्ञानिक पत्रिका प्रोसिडिङ्स अफ द रोयल सोसाइटी बी मा प्रकाशित भएको थियो। अनुसन्धानकर्ताहरूले सान्टियागोबाट करिब तीन हजार किलोमिटर ९एक हजार आठ सय ६४ माइल० दक्षिणमा चिलीको म्यागालेन्स क्षेत्रको रियो डे लास लास चिनस उपत्यकामा यो जीवाश्म फेला पारेका हुन् । उनीहरूका अनुसार सानो मुसासँग मिल्दोजुल्दो भए पनि ‘येउथेरियम प्रेसर’ एक स्तनपायी थियो जसले प्लेटिपस जस्तै अण्डा दिएको हुनुपर्छ वा यसको बच्चालाई कङ्गारू वा ओपोसम जस्ता थैलीमा बोकेको हुनुपर्छ । यसको दाँतको आकारले यसको खानामा सम्भवतः अपेक्षाकृत कडा तरकारीहरू थिए भन्ने देखाउँछ । आफूसँग सहअस्तित्व भएका डायनासोरहरू जस्तै यो सानो स्तनपायी पनि क्रिटेसियस कालको अन्त्यमा करिब छ करोड ६० लाख वर्ष पहिले अकस्मात् लोप भयो ।