एमसिए–नेपालअन्तर्गत विद्युत् प्रसारणलाइन निर्माणमा सम्झौता
काठमाडौं । मिलेनियम च्यालेन्ज एकाउण्ट (एमसिए) नेपालले नेपाल र संयुक्त राज्य अमेरिका सरकारको संयुक्त लगानीमा सञ्चालित ‘कम्प्याक्ट’को विद्युत् प्रसारण आयोजनालाई अगाडि बढाउने क्रममा दुई प्रमुख सम्झौतामा हस्ताक्षर गरिएको छ । एमसिए–नेपालले प्रतिस्पर्धात्मक अन्तरराष्ट्रिय बोलपत्र प्रक्रियाबाट आज एक समारोहबीच रातमाटे–नयाँ दमौली प्रसारणलाइनको निर्माण सम्झौता एञ्जेलिक स्किपर संयुक्त उपक्रमसँग र नयाँ दमौली–नयाँ बुटवल प्रसारणलाइन निर्माण सम्झौता वाइबा–सलासर संयुक्त उपक्रमसँग गरेको हो । संयुक्त लागत १५ दशमलव ४५ करोड अमेरिकी डलर रहेका यी सम्झौताअन्तर्गत १८० किमी लामो ४०० केभी प्रसारणलाइनको डिजाइन, स्थापना, परीक्षण, सञ्चालन लगायत काम गरिनेछ । अर्थ मन्त्रालय, नेपाल विद्युत् प्राधिकरण, एमसिसीका कार्यवाहक उपाध्यक्ष, एमसिसी आवासीय राष्ट्रिय नियोगका प्रतिनिधि, अमेरिकी दूतावासका अधिकारीहरूको समुपस्थितिमा एमसिए–नेपालका कार्यकारी निर्देशक खड्गबहादुर विष्ट र उक्त दुई कम्पनीका प्रतिनिधिले सम्झौतामा हस्ताक्षर गरेका छन् । 'यी सम्झौतामा हस्ताक्षर गरी एमसिसीले पारस्परिक प्राथमिकता र नेपालको विकास लक्ष्यमा संयुक्त राज्य अमेरिकाको सहयोगलाई पुनः पुष्टि गरेको छ', एमसिसीका कार्यवाहक उपाध्यक्ष जोन विङ्गलले भने, 'नेपालमा बिजुलीको उपलब्धता र विश्वसनीयतामा सुधार गर्नुका साथै क्षेत्रीय विद्युत् व्यापार र अन्तरआवद्धता अभिवृद्धि गर्न नेपाली समकक्षीसँगको सहकार्य र समन्वयमा काम गर्न पाउँदा गौरवान्वित भएका छौँ ।' अर्थ मन्त्रालयका सचिव तथा एमसिए–नेपाल सञ्चालक समितिका अध्यक्ष घनश्याम उपाध्यायले प्रसारणलाइन र सवस्टेसन निर्माणसम्बन्धी नेपाल सरकारको योजनालाई कार्यान्वयन गर्न अमेरिकी सरकारबाट प्राप्त आर्थिक सहयोगको सराहना गर्दै यस कार्यक्रमका लागि सरकारी सहयोग निरन्तर रहने बताए । 'आज भएको निर्माण सम्झौता एउटा उपलब्धि मात्र नभई नेपालको विकास र समृद्धिप्रति अमेरिकाको स्थायी प्रतिबद्धताको मूर्त प्रतिक हो', नेपालस्थित अमेरिकी दूतावासका नियोग उपप्रमुख जेसन मिक्सले भने, 'यस साझेदारीमार्फत हामी विद्युत् प्रसारणलाइन र आर्थिक पूर्वाधार मात्र निर्माण गरिरहेका छैनौँ, नेपालको दीर्घकालीन विकासलाई पनि तीव्र पारिरहेका छौँ । एमसिसी कम्प्याक्ट नेपाल र अमेरिकाबीचको सहकार्यको आधारशीला हो । सम्पूर्ण नेपाली नागरिकलाई लाभान्वित गर्दै सहकार्यबा माध्यमबाट अगाडि बढ्न पाउँदा गर्वको अनुभूति गरिरहेका छौँ ।' एमसिए–नेपालका कार्यकारी निर्देशक विष्टले भने, 'कम्प्याक्टलाई अगाडि बढाउन अमेरिकी सरकारबाट भइरहेको निरन्तर सहयोग र पछिल्लो अनुमतिको हामी सराहना गर्छौँ । आजको यो महत्त्वपूर्ण उपलब्धिमा यस राष्ट्रिय गौरव आयोजनाप्रति नेपाल सरकार र सबै सरोकार भएकाको साझा प्रतिबद्धता प्रतिविम्बित भएको छ । हामी दिगो सहकार्य गर्दै सफल कार्यान्वयनमा केन्द्रित छौँ ।' एमसिसी नेपाल कम्प्याक्ट निजी क्षेत्रको लगानी अभिवृद्धिका लागि सकारात्मक वातावरण निर्माण गर्दै नेपालको दीर्घकालीन आर्थिक विकासका क्षेत्रमा गरिएको ६९ करोड ७० लाख अमेरिकी डलरको ऐतिहासिक लगानी हो । विद्युत् प्रसारण आयोजना र सडक मर्मत आयोजना कार्यान्वयन गरी महत्त्वपूर्ण पूर्वाधार सुदृढीकरण, सीमापार ऊर्जा व्यापार अभिवृद्धि र नेपालको यातायात सञ्जालमा सुधार गरेर अन्तरआवद्धता विस्तार गर्दै आर्थिक वृद्धिमा टेवा पु¥याउन एमसिसी नेपाल कम्प्याक्ट तयार गरिएको हो । अमेरिकी सरकारबाट पछिल्लो समयमा वैदेशिक सहायता समीक्षा सम्पन्न भएपछि दुवै सरकारको साझा प्रतिबद्धताका साथ मिलेनियम च्यालेञ्ज कर्पोरेसन (एमसिसी) नेपाल कम्प्याक्ट पुनः सक्रिय भएको हो । यो उपलब्धिले नेपालमा सञ्चालन भइरहेका रूपान्तरणकारी पूर्वाधार निर्माणसम्बन्धी साझेदारीमध्ये एक एमसिसी नेपाल कम्प्याक्टको सफल कार्यान्वयनप्रति दुवै सरकारको प्रतिबद्धताको पुष्टि गरेको छ । मिलेनियम च्यालेञ्ज कर्पोरेसन (एमसिसी) आर्थिक वृद्धिमार्फत विश्वव्यापी गरिबी घटाउन काम गर्ने स्वतन्त्र अमेरिकी सरकारी निकाय हो । सन् २००४ मा स्थापना गरिएको एमसिसीले सुशासन, भ्रष्टाचार नियन्त्रण, लोकतान्त्रिक अधिकारप्रति सम्मानलगायत महत्त्वपूर्ण मापदण्डहरू पालना गर्ने राष्ट्रहरूलाई समयसीमायुक्त अनुदान र सहायता प्रदान गर्दछ । यसैगरी मिलेनियम च्यालेञ्ज एकाउण्ट नेपाल विकास समिति (एमसिए–नेपाल) नेपाल सरकारले एमसिसी नेपाल कम्प्याक्टअन्तर्गतका आयोजनाहरू कार्यान्वयनका लागि विसं २०७५ वैशाखमा विकास समिति ऐन, २०१३ अन्तर्गत गठन गरिएको सरकारी स्वामित्वको कानूनी निकाय हो । रासस
नेपाल माइक्रोको कुल बीमा शुल्क २७५.४९ प्रतिशतले वृद्धि
काठमाडौं । नेपाल माइक्रो इन्स्योरेन्स कम्पनीले गत आर्थिक वर्ष २०८१/८२ मा १९ करोड ३६ लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको छ । अघिल्लो वर्षमा कम्पनीले ५ करोड १५ लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको थियो । अघिल्लो वर्षको तुलनामा कुल बीमा शुल्क २७५.४९ प्रतिशतले बढेको छ हो । समीक्षा वर्षमा कम्पनीले १६ लाख ५७ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ । कम्पनीले अघिल्लो आवमा २९ लाख ५४ हजार रुपैयाँ नाफा आर्जन गरेको थियो । अघिल्लो वर्षको तुलनामा समीक्षा वर्षमा कम्पनीको नाफामा ४३.९१ प्रतिशतको घटेको छ । कम्पनीको समीक्षा वर्षमा खुद बीमा शुल्क पनि ३१०.३६ प्रतिशतले बढेको छ । कम्पनीले गत आर्थिक वर्षमा ७ करोड ६० लाख रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको छ । अघिल्लो वर्ष यही अवधिमा कम्पनीले १ करोड ८५ लाख रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको थियो । समीक्षा वर्षमा कम्पनीको रिटेन्ड अर्निङ ५७ लाख रुपैयाँले ऋणात्मक रहेको छ । अघिल्लो आवमा कम्पनीको रिटेन्ड अर्निङ ३६ करोड ५७ लाख रुपैयाँ थियो । त्यस्तै कम्पनीको महाविपत्ति कोषमा ४ लाख ३१ हजार रुपैयाँ रहेको छ । अघिल्लो आवमा कम्पनीको महाविपत्ति कोषमा ३६ करोड ५७ लाख रुपैयाँ थियो । समीक्षा वर्षमा कम्पनीको चुक्ता पुँजी ७५ करोड रुपैयाँ रहेको छ । कम्पनीको वार्षिकीकृत ईपीएस घटेर ०.२२ प्रतिशत रहेको छ । कम्पनीको प्रतिशेयर नेटवर्थ ९९.८६ रुपैयाँ रहेको छ ।
बिटक्वाइनको कारोबारमा उच्च वृद्धि
काठमाडौं । अनुकूल अमेरिकी कानून र शेयरबजारमा भएको वृद्धिका कारण बिटक्वाइनले बिहीबार एसियाली शेयर बजार खुल्दासाथ एक लाख २४ हजार अमेरिकी डलरको कारोबार गरेको छ । यसको अघिल्लो जुलाईको रेकर्डभन्दा क्रिप्टोकरेन्सीको कारोबारमा वृद्धि भई बिहीबारको स्टक बजार खुलेको केहि समयमा नै एक लाख २४ हजार ५०० भन्दा बढी कारोबार भएको हो । एस एण्ड पी ५०० इन्डेक्स र विशाल प्रविधि कम्पनी नास्डेक यस हप्ता नयाँ उचाईमा पुगेको छ, जसले क्रिप्टोकरेन्सीको वृद्धिमा योगदान पुर्याएको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको नेतृत्वमा अमेरिकी नियामक परिवर्तनले गर्दा क्रिप्टो क्षेत्रको एक बलियो समर्थक बिटक्वाइनको मूल्यमा वृद्धि भएको हो। यसको मूल्य क्रिप्टोकरेन्सीका ‘ह्वेल’ भनिने ठूला धारकहरूले पनि बढाएका छन् । 'क्रिप्टो बजारले अत्यधिक अनुकूल आधारभूत कुराहरूको अवधिको आनन्द लिइरहेको छ,' एक्सएस डट कमका वरिष्ठ बजार विश्लेषक समर हसनले भने । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले प्रतिबन्धहरू अन्त्य गर्न वार्तालार्ई अघि बढाइरहेका समय कारोबारमा उछाल आएको हो। 'राष्ट्रपति ट्रम्प ‘राष्ट्रिय वित्तीय प्रणालीमा क्रिप्टोकरेन्सीहरूको एकीकरणलाई गति दिन र यस क्षेत्रमा आफ्नो र परिवारको बढ्दो संलग्नतालाई ध्यानमा राख्दै थप प्रतिबन्धहरू हटाउन’ इच्छुक हुन सक्नुहुन्छ,' उनले भने। ट्रम्पको मिडिया ग्रुप र प्रविधि अर्बपति एलन मस्कको स्वामित्वमा रहेको इलेक्ट्रिक कार निर्माता टेस्लालगायतका कम्पनीहरूको ठूलो सङ्ख्या ठूलो परिमाणमा बिटक्वाइन किन्न इच्छुक देखिँदा यसको असर पूँजी बजारमा देखिएको हो । रासस
एनएलजी इन्स्योरेन्सको नाफा १६.११ करोड रुपैयाँ, खुद बीमाशुल्क ४६.६३ प्रतिशतले बढ्यो
काठमाडौं । एनएलजी इन्स्योरेन्स कम्पनीले गत आर्थिक वर्ष २०८१/८२ मा १६ करोड ११ लाख रुपैयाँ नाफा आर्जन गरेको छ । अघिल्लो आवमा कम्पनीले १४ करोड ६९ लाख नाफा आर्जन गरेको थियो । अघिल्लो आवको तुलनामा गत आवमा कम्पनीको नाफा ९.६६ प्रतिशतले बढेको हो । समीक्षा वर्षमा कम्पनीले २ अर्ब ८० करोड रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा कम्पनीले २ अर्ब ४६ करोड रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको थियो । अघिल्लो आवको तुलनामा कम्पनीको कुल बीमा शुल्क आर्जन १३.८९ प्रतिशतले बढेको छ । कम्पनीले गत वर्ष ९३ करोड ९२ लाख रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको छ । जुन अघिल्लो आवको तुलनामा ४६.६३ प्रतिशतले बढेको छ । अघिल्लो आवमा कम्पनीले ६४ करोड ५ लाख रुपैयाँ खुद बीमा शुल्क संकलन गरेको थियो । समिक्षा वर्षमा कम्पनीको रिटेन्ड अर्निङ ५ करोड ७४ लाख रुपैयाँ रहेको छ । कम्पनीको महाविपत्ति कोषमा ८ करोड ५७ लाख रुपैयाँ, स्पेसल रिजर्भमा १ अर्ब ३८ करोड रुपैयाँ र अन्य इक्विटीमा १७ करोड ८८ लाख रुपैयाँ रहेको छ । कम्पनीको शेयर पुँजी २ अर्ब ५६ करोड रुपैयाँ रहेको छ । समीक्षा वर्षमा कम्पनीको प्रति शेयर आम्दानी ६ रुपैयाँ २८ पैसा रहेको छ । मूल्य आम्दानी अनुपात १२४.०२ गुणा रहेको छ । प्रतिशेयर नेटवर्थ १७७ रुपैयाँ ०६ पैसा रहेको छ ।
नेपाली बजारमा जीएमडब्लुको शक्तिशाली ट्यांक सिरिजको धमाकेदार इन्ट्री
काठमाडौं । चिनियाँ अटोमोबाइल ग्रेट वाल मोटर्सले आफ्नो विश्वप्रसिद्ध र शक्तिशाली हाइब्रिड एसयूभी ब्रान्ड ट्यांकलाई नेपाली बजारमा आधिकारिक रूपमा बिक्री सुरु गरेको छ । जीएमडब्लुको नेपालका लागि आधिकारिक बिक्रेता भीजी इम्पेक्सले हालै सम्पन्न नाइमा नेपाल मोबिलिटी एक्स्पोमा सार्वजनिक गरिएका दुई बहुप्रतिक्षित मोडलहरू ट्यांक ३०० र ट्यांक ५०० को बिक्री सुरुवात गरेको हो । यो लन्चसँगै नेपालको प्रिमियम एसयूभी सेगमेन्टमा नयाँ र आक्रामक खेलाडीको प्रवेश भएको छ । जसले पावर, पर्फर्मेन्स र प्रविधिको बेजोड संयोजन प्रस्तुत गरेको छ । दमदार पावर र अतुलनीय पर्फर्मेन्स ट्यांक ३०० हाइब्रिड एसयूभी हो भने ट्यांक ५०० प्लगइन हाइब्रिड हो । २.० लिटर टर्बो पेट्रोल इन्जिन रहेको यी दुवै कारमा ९ स्पीड अटोमेटिक ट्रान्सिमिसन (एचआइ ४ टी) छ । ट्यांक ३०० हाइब्रिडले ३५१ पीएस पावर तथा ६४८ एनएम टर्क दिन्छ । त्यस्तै, प्लगइन हाइब्रिड ट्यांक ५०० ले ४०८ पीएस पिक पावर तथा ७५० एनएम टर्क दिन्छ । मूल्य र मोडलहरू कम्पनीले प्रतिस्पर्धी बजारलाई चुनौती दिँदै आकर्षक मूल्य निर्धारण गरेको छ । जसमा ट्यांक ३०० (५-सिटर एचइभी) को मूल्य १ करोड ५९ लाख ९९ हजार रुपैयाँ तोकिएको छ । यस्तै ट्यांक ५०० (७-सिटर लक्जरी पीएचइभी) को मूल्य २ करोड १५ लाख ९९ हजार रुपैयाँ तोकिएको कम्पनीले जनाएको छ । ट्यांक ३०० एक दमदार ५-सिटर अफ-रोड एसयूभी हो भने ट्यांक ५०० ले ७-सिटको फराकिलो स्पेससहित लक्जरी र पारिवारिक अनुभव प्रदान गर्दछ । कम्पनीका अनुसार सन् २०२१ मा अन्तर्राष्ट्रिय बजारमा डेब्यु गरेको त्ब्ल्प् ब्रान्डले छोटो समयमै विश्वभर ४ लाखभन्दा बढी युनिट बिक्री भई आफ्नो गुणस्तर र विश्वसनीयता प्रमाणित गरिसकेको छ । यसको शक्तिशाली हाइब्रिड प्रविधि, बलियो निर्माण र प्रिमियम विशेषताहरूले यसलाई विश्वव्यापी रूपमा लोकप्रिय बनाएको हो । नेपालको सन्दर्भमा यी एसयूभीहरू शहरको ट्राफिकदेखि लिएर पहाडका कठिन र कच्ची बाटोसम्म, सबै प्रकारका भू–भागका लागि उपयुक्त छन् । ७५० एनएमसम्मको टर्कले उकालो र अफ–रोडमा अतुलनीय शक्ति प्रदान गर्दा हाइब्रिड प्रविधिले शहरी ड्राइभमा इन्धन दक्षता बढाउँछ ।
पूर्वाधार निर्माणमा गहिरो अध्ययनको खाँचो, वैज्ञानिक मोडेल आवश्यक: मन्त्री दाहाल
काठमाडौं । भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालले पूर्वाधार निर्माणअघि विशिष्ट अध्ययन र अनुसन्धानलाई प्राथमिकता दिन आवश्यक रहेको बताएका छन् । नेपाल इन्जिनियरिङ काउन्सिलले बिहीबार काठमाडौंमा आयोजना गरेको ‘इन्जिनियरिङ पेशा र नेपाल इन्जिनियरिङ काउन्सिलको भूमिका’ विषयक कार्यशालामा बोल्दै मन्त्री दाहालले दिगो र सुरक्षित पूर्वाधार निर्माणका लागि भूगोलअनुकूल प्रविधि र विकास मोडेल आवश्यक भएको धारणा राखे । ‘नेपालको भौगोलिक चुनौतीलाई सम्बोधन गर्न सक्ने प्रविधिबारे गहिरो अध्ययन आवश्यक छ,’ मन्त्री दाहालले भने, ‘पूर्वाधार निर्माण दीगो, सुरक्षित र वैज्ञानिक ढंगले अघि बढ्नुपर्छ । ’ उनले आवश्यक नीति तथा कानुन निर्माण र संशोधनका लागि सरकार तयार रहेको पनि स्पष्ट पारे । मन्त्री दाहालले ठूला राजमार्गहरूको विस्तार, आधुनिक सुरुङ निर्माण तथा नेपालको विशिष्ट भौगोलिक बनोटअनुकूल सुरक्षित सडकजस्ता संरचना निर्माणमा नेपाली इन्जिनियरहरूको योगदान उच्च रहेको बताए । उनले नेपाली इन्जिनियरहरूको शिक्षा र क्षमताले अन्तर्राष्ट्रिय मान्यता पाउन थालेको उल्लेख गर्दै यसले पेशा र क्षेत्र दुवैमा उत्साह थपेको धारणा व्यक्त गरे । कार्यक्रममा मन्त्रालयका सचिव केशवकुमार शर्माले नेपाल अहिले पूर्वाधार निर्माणको तीव्र चरणमा रहेको भन्दै अबको चरणमा गुणस्तरीय उपयोगमार्फत आर्थिक समृद्धितर्फ अग्रसर हुन सकिने बताए । उनले नेपालमै उत्पादित इन्जिनियरिङ जनशक्तिबाटै पूर्वाधार क्षेत्रलाई आधुनिक दिशातर्फ लैजान सकिने विश्वास व्यक्त गरे । त्यस्तै, नेपाल इन्जिनियरिङ काउन्सिलका अध्यक्ष पदमबहादुर शाहीले इन्जिनियरिङ क्षेत्रले विकासका विविध आयाम समेट्ने भएकाले यसको योगदानबिना आधुनिक विकास सम्भव नरहेको बताए । काउन्सिलका रजिस्ट्रार ध्रुवराज भट्टराईले कार्यक्रममा इन्जिनियरिङ पेशा र काउन्सिलको भूमिकाका विभिन्न पक्षमा विज्ञहरूसँग व्यापक छलफल भएको जानकारी गराए ।
नवलपुरमा करिब दुई सय नयाँ उद्योग दर्ता, सेवा र कृषि क्षेत्रमा अग्रता
नवलपुर । नवलपरासी (बर्दघाट–सुस्तापूर्व)मा करिब २०० नयाँ उद्योग दर्ता भएका छन् । गत आर्थिक वर्ष २०८१/८२ मा जिल्लामा १९१ नयाँ उद्योग दर्ता भएका पर्यटन तथा उद्योग कार्यालय नवलपुरले जनाएको छ । कार्यालयमा १५ करोड रुपैयाँसम्म पुँजी भएका उद्योग तथा व्यापारिक फर्म दर्ता हुँदै आएका छन् । पर्यटन तथा उद्योग कार्यालय नवलपुरका सूचना अधिकारी खडकबहादुर थापाले जिल्लामा गत आवमा दर्ता भएका उद्योगमध्ये १७४ निजी, सात साझेदारी तथा नौ प्रालि रहेका बताए । उनका अनुसार जिल्लामा गत वर्ष सबैभन्दा धेरै सेवामूलक उद्योग ७९, कृषि तथा वन पैदावारमा आधारित उद्योग ६७, उत्पादनमूलक उद्योग ३८, पर्यटन उद्योग तीन, सूचना तथा प्रविधिमा आधारित उद्योग दुई र निर्माण सम्बन्धी उद्योग एउटा दर्ता भएका छन् । त्यस्तै वाणिज्यतर्फ दर्ता भएका फर्ममध्ये एकलौटी १९८ तथा साझेदारी दुई दर्ता भएका उनको भनाइ छ । वाणिज्यतर्फ नयाँ दर्ता भएका फर्ममा कारोबारका आधारमा वर्गीकरण गर्दा खुद्रा कारोबार गर्ने १९३ तथा थोक कारोबार गर्ने सात रहेका थापाले जानकारी दिए । गत आवमा ८५६ वटा उद्योग नवीकरण हुँदा एक हजार ३४२ वाणिज्य फर्महरु नवीकरण भएका उनको भनाइ छ । त्यस्तै १०६ उद्योगले विभिन्न विषय संशोधन गरेका उल्लेख गर्दै थापाले यो अवधिमा २३८ वाणिज्य फर्महरुले विवरण, पुँजीलगायतका विषय संशोधन गरेका बताए । नयाँ खुल्ने उद्योगको तुलनामा बन्द हुने उद्योगको सङ्ख्या धेरै रहेको कार्यालयको तथ्याङ्कले देखाएको छ । कार्यालयका अनुसार गत आर्थिक वर्षमा उद्योग र वाणिज्यतर्फ गरी ३९१ नयाँ फर्म खुल्दा ४३८ वटा बन्द भएका छन् । थापाले आर्थिक वर्ष २०८१/८२ मा जिल्लामा २०० उद्योगको लगत कट्टा (बन्द) गरिएको जानकारी दिए । त्यस्तै वाणिज्यतर्फ २३८ व्यावसायिक प्रतिष्ठानको लगत कट्टा गरिएको थापाको भनाइ छ । विभिन्न ऋण लिन तथा वैदेशिक रोजगारमा जानका लागि उद्योग खोल्ने गरिएकामा उद्देश्य पूरा भएपछि ती उद्योगको लगत कट्टा गर्न आउनेको सङ्ख्या धेरै रहेको थापाको भनाइ छ । 'विदेश जान तथा ऋण खानका लागि उद्योग तथा व्यवसाय देखाउँदा बैंकले सहज रुपमा ऋण प्रदान गर्ने भएकाले कोभिड अगाडिसम्म नयाँ उद्योग खोल्ने क्रम धेरै थियो', उनले भने, 'नयाँ दर्ता भएका उद्योग तथा व्यवसाय बन्द गर्न पाँच वर्ष कुर्नुपर्ने भएकाले पछिल्लो समय उद्योग बन्द गर्नेको सङ्ख्या धेरै देखिएको हो ।' कार्यालयमा दर्ता भएका उद्योग तथा व्यवसाय बन्द गर्न जसको नाममा कम्पनी स्थापना भएको छ सोही व्यक्ति उपस्थित हुनुपर्ने नियम रहेको थापाको भनाइ छ । जिल्लामा हालसम्म छ हजार ७०३ उद्योग तथा आठ हजार ५०७ वाणिज्य फर्म दर्ता भएका थापाले जानकारी दिए । जिल्लामा नयाँ दर्ता भएका तथा नवीकरण भएका उद्योग तथा वाणिज्य फर्मबाट रु एक करोड ३४ लाख आठ हजार ७६१ राजस्व सङ्कलन भएको थापाले बताए । रासस
सानिमा जिआईसीको नाफा १०.१२ प्रतिशतले वृद्धि, यस्ता छन् अन्य वित्तीय सूचक
काठमाडौं । सानिमा जिआईसी इन्स्योरेन्स कम्पनीले गत आर्थिक वर्ष २०८१/८२ मा ३५ करोड ३ लाख रुपैयाँ नाफा आर्जन गरेको छ । अघिल्लो आवमा कम्पनीले ३१ करोड ८१ लाख नाफा कमाएको थियो । अघिल्लो आवको तुलनामा कम्पनीको नाफा १०.१२ प्रतिशतले वृद्धि भएको हो । कम्पनीले सार्वजनिक गरेको गत आवको चौथो त्रैमासिक वित्तीय विवरणअनुसार कम्पनीले २ अर्ब ५४ करोड ५६ लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको छ । जुन अघिल्लो आवको तुलनामा १.३३ प्रतिशतले बढी हो । अघिल्लो आवमा कम्पनीले २ अर्ब ५१ करोड रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको थियो । त्यस्तै समीक्षा वर्षमा कम्पनीको खुद बीमा शुल्क ८.९८ प्रतिशतले बढेको छ । कम्पनीले अघिल्लो आवमा ७२ करोड २५ लाख रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेकोमा गत आवमा ७८ करोड ७४ लाख रुपैयाँ खुद बीमाशुल्क संकलन गरेको छ । समीक्षा वर्षमा कम्पनीको रिटेन्ड अर्निङ १८ करोड ३२ लाख रुपैयाँ रहेको छ । गत वर्ष कम्पनीको महाविपत्ति कोषमा ४ करोड ६४ लाख रुपैयाँ, स्पेसल रिर्जभमा ७५ करोड ९८ लाख रुपैयाँ र अन्य इक्विटीमा १३ करोड १० लाख रुपैयाँ रहेको छ । त्यस्तै कम्पनीको शेयर पुँजी २ अर्ब १५ करोड रुपैयाँ रहेको छ । गत आवमा कम्पनीको प्रति शेयर आम्दानी १६ रुपैयाँ ३० पैसा रहेको छ । मूल्य आम्दानी अनुपात ३७.४३ गुणा रहेको छ । प्रतिशेयर नेटवर्थ १५२ रुपैयाँ १२ पैसा रहेको छ ।