विकासन्युज

विशेषज्ञ आयुर्वेद चिकित्सक समाजमा नयाँ नेतृत्व, सभापतिमा डा.पुनेश्वर केशरी

काठमाडौं । विशेषज्ञ आयुर्वेद चिकित्सक समाज नेपालको तेस्रो राष्ट्रिय अधिवेशनले दुईवर्षे कार्यकालका लागि डा.पुनेश्वर केशरीको नेतृत्वमा नयाँ कार्यसमिति निर्विरोध निर्वाचित गरेको छ । राजधानीमा शुक्रबारदेखि सुरु भएको समाजको अधिवेशनले नयाँ नेतृत्व निर्विरोध निर्वाचित गरेको सभापति केशरीले जानकारी दिए । कार्यसमितिको उपसभापतिमा डा.निर्मल भुसाल, सचिवमा डा. निश्चल गुप्ता, कोषाध्यक्षमा डा.मदन भण्डारी निर्विरोध निर्वाचित भएका हुन् । यसैगरी समाजको सदस्यहरुमा डा. काजल झा, डा.विशुनदयालप्रसाद पटेल, डा.साधना पराजुली र डा.प्रशन्न नेपाल निर्वाचित भएका छन्। अधिवेशनको शुक्रबार विदुषी योगमाया हिमालयन आयुर्वेद विश्वविद्यालय परिषद्का अध्यक्ष डा.अर्जुन कार्कीले उद्घाटन गरेका थिए । समाजको स्थापना वि.सं २०६५ मा भएको हो । हाल नेपालमा आयुर्वेदका १८७ जना विशेषज्ञ चिकित्सक छन् । आयुर्वेदका विशेषज्ञ चिकित्सकलाई एलोपेथिकभन्दा फरक व्यवहार गरिएपछि तिनलाई उपयुक्त काम गर्ने अवसर दिने उद्देश्यले समाजको स्थापना भएको संस्थापक अध्यक्ष डा. देवकला भण्डारीले जानकारी दिइन् । करिब एक दशकसम्म भने समाज निष्क्रिय रहेकाले केशरीको संयोजकत्वमा तदर्थ समिति गठन गरी तेस्रो अधिवेशनबाट समाजलाई निरन्तरता दिइएको जनाइएको छ । समाजले नेपालमा आयुर्वेदको प्रवर्द्धनका लागि सरोकार भएका निकायसँग सहकार्य गरी काम गर्ने सभापति केशरीरले बताए । 

नेपाल टेलिकमको खुद नाफा ५७ प्रतिशतले घट्यो, प्रतिसेयर आम्दानी १४ रुपैयाँ ८२ पैसामा सीमित

काठमाडौं । नेपाल टेलिकम लिमिटेडले गत आर्थिक वर्ष २०८०/८१ को चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । विवरणअनुसार कम्पनीको सञ्चालन आम्दानी स्थिर रहेपनि वित्तीय आम्दानी घटेपछि खुद नाफा उल्लेख्य रूपमा घटेको देखिएको छ । अघिल्लो आर्थिक वर्षको चौथो त्रैमाससम्ममा ३४ अर्ब ५६ करोड रुपैयाँ सञ्चालन आम्दानी गरेको कम्पनीले चालु वर्ष सोही अवधिसम्म ३४ अर्ब ५३ करोड रुपैयाँ मात्र आम्दानी गरेको छ । वित्तीय आम्दानी ६ अर्ब ७८ करोड रुपैयाँबाट घटेर ३ अर्ब ७० करोड रुपैयाँमा झरेपछि कुल आम्दानी पनि ४२ अर्ब ११ करोड रुपैयाँबाट घटेर ३८ अर्ब ७३ करोड रुपैयाँमा सीमित भएको हो । यसैगरी, चालु कर खर्च ११ करोड रुपैयाँबाट बढेर ४ अर्ब ७८ करोड ४४ लाख रुपैयाँ पुगेपछि कम्पनीको खुद नाफा ६ अर्ब २३ करोड ५५ लाख रुपैयाँबाट घटेर २ अर्ब ६६ करोड ८१ लाख रुपैयाँमा झरेको छ । नाफा घटेसँगै कम्पनीको प्रतिसेयर आम्दानी अघिल्लो वर्षको ३४ रुपैयाँ ६४ पैसाबाट घटेर १४ रुपैयाँ ८२ पैसामा पुगेको छ । आर्थिक वर्षको अन्त्यसम्ममा कम्पनीको प्रतिसेयर नेटवर्थ ४९५ रुपैयाँ ३३ पैसा र मूल्य-आम्दानी अनुपात ५९.१८ गुणा रहेको छ । हाल १८ अर्ब रुपैयाँ चुक्ता पूँजी भएको नेपाल टेलिकमको जगेडा कोषमा भने ७१ अर्ब १५ करोड रुपैयाँ सञ्चित छ ।

दर्ता भएर सञ्चालनमा नरहेका विद्यालयको अनुमति खारेजी गरिने

काठमाडौं । काठमाडौं  महानगरपालिकाले आफ्नो मातहतमा दर्ता भएका तर सञ्चालनमा नरहेका संस्थागत विद्यालयहरूको अनुमति खारेजीको तयारी थालेको छ ।  कामपा शिक्षा विभागले यस्ता विद्यालयहरूको स्थलगत अनुगमन गरी खारेजीको लागि थप प्रक्रियामा जाने तयारी गरेको कामपाले जानकारी दिएको छ । वैकल्पिक विद्यालयहरू महिला ज्योति, जायना र जेम्स नमूनालाई स्थानान्तरण अनुमति दिइएको कामपाको उपप्रमुख सुनिता डङ्गोलले जानकारी दिइन् ।   उनका अनुसार २५ वटा विद्यालयको नाम परिवर्तनको लागि अनुमति दिइएको छ । सामुदायिक तथा संस्थागत विद्यालयहरूको कक्षा र विषय थप, नाम र स्थान परिवर्तन, स्वामित्व परिवर्तन, सञ्चालनमा नरहेका विद्यालयहरूको अनुमति खारेजी, वैकल्पिक विद्यालय स्थानान्तरणजस्ता विषय कामपाको शिक्षा समितिमा छलफलको क्रममा रहेको उनले जानकारी दिइन् । रानीदेवी माध्यमिक विद्यालय, रानीबारीलाई शैक्षिक सत्र २०८२ देखि कक्षा १० सञ्चालन गर्न अनुमति दिइएको छ । पशुपति मित्र, गीतामाता, जनकल्याण, जनपथ र नेपाल आदर्श माध्यमिक विद्यालयलाई प्राविधिक धारमा कक्षा १२ मा सिभिल र कम्प्युटर इञ्जिनियरिङ विषय थप गर्न अनुमति प्रदान गरिएको छ ।  संस्थागत विद्यालयहरूको कक्षा र विषय थपका लागि १२ वटा विद्यालयलाई अनुमति दिने तयारी पनि कामपाले गरेको छ ।  त्यस्तै नाम परिवर्तनका लागि कागजात पेस गरेका २१ वटा विद्यालयलाई अनुमति दिइएको छ । संस्थागत विद्यालयको स्थानान्तरणको लागि आवश्यक मापदण्ड तयार गरी आगामी शिक्षा समितिको बैठकमा पेस गर्न कामपा शिक्षा तथा स्वास्थ्य समितिलाई जिम्मेवारी दिइएको छ ।  आर्थिक वर्ष २०८२ र ८३ को शिक्षा क्षेत्रको बजेट र बुक फ्रि फ्राइडे कार्यक्रमको उपयोगिता, सान्दर्भिकता र परिमार्जनका लागि शिक्षा तथा स्वास्थ्य समितिमार्फत १५ दिनभित्र प्रतिवेदन पेस गर्ने तयारी कामपाको छ ।   सामुदायिक विद्यालयको शैक्षिक सुधारका लागि डा सुरजराज काफ्लेको संयोजकत्वमा कार्यदल गठन गरिएको छ । कार्यदलले विद्यालय सञ्चालनको मापदण्ड, सामाजिक र स्रोत नक्साङ्कन, भौतिक संरचना, शैक्षिक गुणस्तर र दीर्घकालीन शिक्षा योजनाका लागि सुझावसहितको प्रतिवेदन पेस गर्नेछ प्रारम्भिक बाल विकासको अभिलेखीकरण  विधान दर्ताका लागि शिक्षा विभागले अध्ययन गरी कार्य गर्ने कामपाले जनाएको छ ।  

दीपल एस-०५ र ई-भोल्ट फ्लाइङ कार : काँधबाट उडानसम्मको नेपाली अटो यात्रा

काठमाडौं । लगभग एक शताब्दीअघि नेपालमा पहिलो मोटर गाडीलाई मानिसहरूले काँधमा बोकेर भीमफेदीको उकालो चढाउँदै काठमाडौं भित्र्याएका थिए । त्यो एउटा युगको सुरुवात थियो । बिहीबार काठमाडौंको पाँचतारे होटल सोल्टीमा सयौं गाडीप्रेमीहरूको भीडबीच जब अत्याधुनिक विद्युतीय गाडी ‘दीपल एस-०५’ सार्वजनिक हुँदै थियो, त्यही बेला इतिहासले अनौठो तरिकाले आफूलाई दोहोर्याइरहेको थियो । भविष्यको सवारी मानिएको ‘फ्लाइङ कार’ (उड्ने कार) लाई पहिरोले बाटो छेकेपछि तातोपानी नाकामा मानिसहरूले काँधमै बोकेर नेपाल भित्र्याउँदै थिए ।  यो दृश्य केवल एउटा संयोग थिएन, यो नेपालको अटोमोबाइल यात्राको प्रतिक थियो, जहाँ विगतको संघर्ष, वर्तमानको क्रान्ति र भविष्यको सपना एकैसाथ जीवन्त भइरहेका थिए । यी दुवै घटनाको केन्द्रमा थिए नेपालको अग्रणी अटोमोबाइल समूह एमएडब्लु वृद्धि र विश्वविख्यात चिनियाँ अटोमोबाइल निर्माता चाङ्गान अटो ।  सोल्टी होटलको भव्य समारोहमा एउटा गाडी सार्वजनिक गर्ने कार्यक्रम मात्र थिएन ।  यो १६३ वर्ष पुरानो इन्जिनियरिङ विरासत बोकेको चाङ्गान र ६० वर्षदेखि नेपाली उपभोक्ताको विश्वास जितेको एमएडब्लु ग्रुपबीचको साझेदारीको उत्सव थियो ।  ‘आज राति हामी केवल एउटा गाडी लन्च गरिरहेका छैनौं,’ एमएडब्लु वृद्धिका अध्यक्ष विष्णु अग्रवालले भने, ‘हामी नवीनता, साझेदारी र नेपालमा यातायातको स्वच्छ, स्मार्ट र थप रोमाञ्चक भविष्यको साझा दृष्टिकोणको उत्सव मनाइरहेका छौं ।’  यो साझेदारीको जग निकै बलियो छ । करिब ५० अर्ब अमेरिकी डलर राजस्व भएको चाङ्गान चीनको तेस्रो ठूलो र त्यहाँको केन्द्रीय सरकारद्वारा लगानी गरिएका १०० कम्पनीमध्ये एक हो । अर्कोतर्फ सन् १९६४ मा मोरङको एउटा सानो इन्जिन वर्कशपबाट यात्रा सुरु गरेको एमएडब्लु आज नेपालको सबैभन्दा ठूलो अटोमोटिभ समूह बनेको छ ।  अग्रवालका अनुसार गत वर्ष मात्र ग्रुपले ३२ हजार ५ सयभन्दा बढी दुई-पाङ्ग्रे, १२ सयभन्दा बढी कार र ५ सय ५० भन्दा बढी हेभी इक्विपमेन्ट बिक्री गरेको थियो । जुन नेपाली बजारमा यसको गहिरो पकड र विश्वासको प्रमाण हो ।  ‘लक्जरी, स्टाइल, टेक पर्फेक्टेड’ नारालाई सार्थक तुल्याउँदै दीपल एस ०५ ले नेपाली विद्युतीय गाडी बजारमा नयाँ तरंग ल्याएको छ । यसका विशेषताहरू साँच्चै क्रान्तिकारी छन् । गोल्डेन शिल्ड ब्याट्री २.०ः सीएटीएल द्वारा निर्मित यो ब्याट्रीले ५ हजार साइकलको जीवन प्रदान गर्छ, जुन नेपालमा उपलब्धमध्ये सबैभन्दा लामो हो ।  यसमा रिमोट इन एन्ड आउट यसको अर्थ साँघुरो ठाउँमा पार्किङ गर्दा चाबीकै बटनले गाडीलाई अगाडि÷पछाडि सार्न सकिने सुविधा रहेको छ । अग्मेन्टेड रियालिटी हेड–अप डिस्प्लेले चालकको दृष्टिपथमै नेभिगेसन देखाउँछ । जसले ड्राइभिङलाई सुरक्षित बनाउँछ । कम्पनीका अनुसार आरामदायी ‘क्वीन को–पाइलट’ सिट र गाडी बाहिर उभिएका व्यक्तिसँग कुरा गर्न मिल्ने बाहिरी स्पिकर जस्ता नवीन विशेषताहरूले यसलाई अरूभन्दा फरक बनाएको छ । जर्मनीमा ‘आइएफ डिजाइन अवार्ड २०२५’ जितेको यस एसयूभीमा एडीएएस २.५ सुइट अन्तर्गत १९ वटा उन्नत सुरक्षा सुविधा छन् । जबकि यस सेगमेन्टमा सामान्यतया ६ वटा मात्र हुन्छन् । कम्पनीले दीपल एस–०५ दुई भेरियन्टमा सार्वजनिक गरेको हो । जसको लाइट भेरियन्टको मूल्य ४८ लाख ९९ हजार र म्याक्स भेरियन्टको मूल्य ५४ लाख ९९ हजार रुपैयाँ तोकेर बिक्री सुरू गरेको छ । नेपालको ईभी क्रान्ति र दीपलको भूमिका नेपाल विश्वमै विद्युतीय गाडी अपनाउने अग्रणी देशहरूमध्ये एक हो । विष्णु अग्रवालले भने, ‘गत वर्ष देशमा बिक्री भएका सबै नयाँ कारहरूमध्ये ७६ प्रतिशत विद्युतीय थिए । ९० प्रतिशत भन्दा बढी बिजुली हरित जलविद्युतबाट आउने हुँदा यहाँ ईभी गाडी राख्नु वातावरण र तपाईंको वालेट दुवैका लागि स्मार्ट छ ।’  दीपलले एक वर्षभन्दा कम अवधिमा नेपालमा ९५० भन्दा बढी एस–०७ बिक्री गरिसकेको छ । एमएडब्लु वृद्धिले देशभर ८ वटा दीपल शोरुम र १२५ भन्दा बढी चार्जिङ स्टेसनको सञ्जाल विस्तार गरिसकेको छ । जसले नेपालको ईभी इकोसिस्टमलाई बलियो बनाउन महत्त्वपूर्ण भूमिका खेलेको छ । काँधमा बोकियो फ्लाइङ कार जतिबेला एस-०५ ले काठमाडौंमा वाहवाही बटुलिरहेको थियो । त्यति नै बेला दीपलको अर्को आश्चर्य ‘ई-भोल्ट’ फ्लाइङ कारले तातोपानी नाकामा सबैको ध्यान खिचिरहेको थियो । आगामी नाडा अटो शो २०२५ को मुख्य आकर्षण बन्न आइपुगेको यो कार पहिरोले बाटो अवरुद्ध हुँदा मानिसले बोकेरै ल्याउनु पर्यो ।  राणाकालमा बाटो नभएर र आज बाटो भएर पनि अवरुद्ध हुँदा दुवै पटक पहिलो सवारीले मानिसकै काँधको सहारा लिनु एउटा अविस्मरणीय घटना बनेको छ । ‘भर्टिकल टेकअफ एण्ड ल्याण्डिङ’ फिचर भएको यो कार हेलिकप्टर जस्तै सिधै उड्न र अवतरण गर्न सक्छ । चाङ्गान ग्रुपले यस प्रविधिमा आगामी ५ वर्षमा २० अर्ब युवान लगानी गर्ने घोषणा गरिसकेको छ ।  के छन् विशेषता ? यो कार चांगानले विकास गरेको इलेक्ट्रीक ‘भर्टिकल टेकअफ एण्ड ल्याण्डिङ’ फिचर भएको अत्याधुनिक सवारी हो । यसको अर्थ यो कारलाई उडान भर्न र अवतरण गर्नका लागि रनवे आवश्यक पर्दैन । हेलिकप्टर जस्तै सिधै उड्न र अवतरण गर्न सक्छ । यसमा ‘लो अल्टिच्युड फ्लाइट म्यानेजमेन्ट टेक्नलोजी’ प्रयोग गरिएको छ । जसले कम उचाइमा सुरक्षित उडान सुनिश्चित गर्दछ । साथै कारमा दीपल ब्राण्डका अन्य विद्युतीय गाडीमा पाइने अत्याधुनिक फिचरहरू पनि समावेश गरिएको छ ।  नाडा अटो शोको मुख्य प्रायोजक रहेको एमएडब्लू वृद्धिले  यो कार  प्रदर्शनीमा राख्न लागेको हो । नेपालमा पहिलो पटक प्रदर्शनी हुन लागेको यो उड्ने कार हेर्न मानिसहरू निकै उत्सुक देखिएका छन् ।  नेपालको विद्युतीय क्रान्तिमा चिनियाँ समर्थन नेपाल विश्वमै विद्युतीय गाडी अपनाउने अग्रणी देश बन्दैछ । यो यात्रामा चिनियाँ प्रविधि र लगानीको महत्त्वपूर्ण भूमिका रहेको कार्यक्रमका प्रमुख अतिथि नेपालका लागि चिनियाँ राजदूत छेन सोङले बताए । ‘नेपालले सामना गरिरहेका हरेक चुनौतीमा चीनले साथ दिँदै आएको छ,’ उनले भने, ‘चिनियाँ प्रविधि अँगालेर एमएडब्लु ग्रुपले आफ्नो र नेपालको भविष्य सुरक्षित गरिरहेको छ ।’ दीपल एस-०५ को आगमन र ई-भोल्ट फ्लाइङ कारको प्रवेशले नेपाली अटोमोबाइल बजारमा नयाँ मापदण्ड स्थापित गरेको छ । यो केवल दुई उत्पादनको विषय मात्रै होइन, यो चीनको प्राविधिक शक्ति र नेपालको स्थानीय बजारप्रतिको गहिरो समझदारीको उत्कृष्ट उदाहरण भएको अधिकांशको बुझाइ छ ।  जसरी ब्रान्डको नाम ‘दीपल’ (गहिरो नीलो) ले असीमित सम्भावनालाई जनाउँछ । त्यसरी नै यी उत्पादनहरूले नेपालको हरित र समृद्ध भविष्यतर्फको यात्रामा एक मार्गदर्शक प्रकाश बन्ने वाचा कम्पनीको छ ।    

भदौमा थप घट्यो बैंकको ब्याजदर, १३ बैंकले स्थिर राख्दा संस्थागतको २.७५ प्रतिशतमा झर्याे

काठमाडौं । वाणिज्य बैंकहरुको भदौमा पनि ब्याजदर घटेको छ । भदौ १ गतेदेखि लागू हुने गरी बैंकहरुले मुद्दती निक्षेपमा ब्याजदर घटाएका हुन् ।  भदौ महिनाका लागि बैंकहरुको मुद्दती निक्षेपमा औसत व्यक्तिगततर्फ ०.२० प्रतिशत घटेर औसत ५.५८ प्रपतशतमा झरेको छ । जबकी साउनमा औसत ब्याजदर व्यक्तिगततर्फ ५.७५ प्रतिशत ब्याजदर थियो ।  यस्तै, मुद्दती निक्षेपमा भदौमा संस्थागततर्फ औसत ०.१५ प्रतिशत घटेर ३.९६ प्रतिशतमा झरेको छ । यसअघि साउनमा संस्थागततर्फ औसत ४.११ प्रतिशत ब्याजदर थियो ।  भदौ महिनाका लागि विभिन्न ७ वटा बैंकले ब्याजदर घटाएका छन् भने अधिकांश बैंकले ब्याजदर स्थिर राखेका छन् । कृषि विकास बैंक, एभरेष्ट बैंक, कुमारी बैंक, नेपाल एसबिआई बैंक, स्ट्याण्डर्ड चार्टर्ड बैंक, सिद्धार्थ बैंक र सानिमा बैंकले ब्याजदर घटाएका छन् ।  कृषि विकास बैंकले मुद्दती निक्षेपमा व्यक्तिगततर्फ ०.२० प्रतिशत घटाएर ५.२० प्रतिशत र संस्थागततर्फ ०.६५ प्रतिशत घटाएर २.८५ प्रतिशत ब्याजदर निर्धारण गरेको छ ।  एभरेष्ट बैंकले मुद्दती निक्षेपमा ०.५० प्रतिशत घटाएर व्यक्तिगततर्फ ५.७५ प्रतिशत र संस्थागततर्फ ४.७५ प्रतिशत ब्याजदर तोकेको छ ।  कुमारी बैंकले मुद्दती निक्षेपमा व्यक्तिगततर्फ ०.४० प्रतिशत घटाएर ५.२१ प्रतिशत ब्याजदर तोकेको छ ।  नेपाल एसबिआई बैंकले मुद्दती निक्षेपमा ०.१० प्रतिशत घटाएर व्यक्तिगततर्फ ५.२५ प्रतिशत र संस्थागततर्फ ४.२५ प्रतिशत ब्याजदर निर्धारण गरेको छ ।  स्ट्याण्डर्ड चार्टर्ड बैंकले मुद्दती निक्षेपमा व्यक्तिगततर्फ १.१० प्रतिशत घटाएर ५.१३ प्रतिशत र संस्थागततर्फ ०.२५ प्रतिशत घटाएर २.७५ प्रतिशत ब्याजदर निर्धारण गरेको छ । सिद्धार्थ बैंकले मुद्दती निक्षेपमा व्यक्तिगततर्फ ०.३० प्रतिशत घटाएर ५.५० प्रतिशत र संस्थागततर्फ ०.७५ प्रतिशत घटाएर ४ प्रतिशत ब्याजदर निर्धारण गरेको छ । सानिमा बैंकले मुद्दती निक्षेपमा व्यक्तिगततर्फ ०.४३ प्रतिशत घटाएर ५.७५ प्रतिशत र संस्थागततर्फ ०.२५ प्रतिशत घटाएर ३.७५ प्रतिशत ब्याजदर निर्धारण गरेको छ । नेपाल बैंक, लक्ष्मी सनराइज बैंक, ग्लोबल आइएमई बैंक, प्राइम बैंक, सिटिजन्स बैंक, प्रभु बैंक, माछापुच्छ्रे बैंक, एनएमबि बैंक, हिमालयन बैंक, नबिल बैंक, राष्ट्रिय वाणिज्य बैंक, नेपाल इन्भेष्टमेन्ट मेगा (एनआईएमबि), एनआईसी एशिया बैंकले भने ब्याजदर स्थिर राखेका छन् ।

बीपी राजमार्ग : थप १५ दिन राति सवारी सञ्चालनमा रोक

काभ्रेपलाञ्चोक । बीपी राजमार्गमा भदौ १ गतेदेखि थप १५ दिन सवारी सञ्चालनमा रोक लगाइएको छ । जोखिमका कारण गत असार ७ गतेदेखि राति सवारी सञ्चालनमा रोक लगाउँदै आइएकोमा भदौ १५ गतेसम्म १२ घण्टा रोक लगाइएको जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोकले जनाएको छ । जिल्ला सुरक्षा समितिको शुक्रबार सम्पन्न बैठकले उक्त राजमार्गमा साँझ ५ः०० देखि बिहान ५ः०० बजेसम्म राजमार्गमा यात्रुवाहक तथा निजी सवारी सञ्चालनमा रोक लगाउने निर्णय गरेको हो । कार्यालयले उक्त राजमार्गअन्तर्गत जिल्लाको काभ्रेभञ्ज्याङदेखि सिन्धुली–सीमा नेपालथोकसम्म थप १५ दिन रोक लगाइएको जनाएको छ । कार्यालयले उक्त निर्णय गर्दै सूचनामार्फत मनसुन सक्रिय रहेको अवस्थामा बिपी राजमार्गमा बाढीपहिरोको सम्भावित जोखिम रहेकाले विपद्जन्य घटना हुनसक्ने भएकाले जोखिम न्यूनीकरणका लागि राजमार्गको उल्लेखित क्षेत्रमा सवारी सञ्चालनमा रोक लगाइएकाले सतर्कता अपनाउन सार्वजनिक अनुरोधसमेत गरेको छ । सहायक प्रमुख जिल्ला अधिकारी सुदर्शन श्रेष्ठले मनसुनको समयमा बिपी राजमार्गमा उच्च जोखिमका कारण रातको समयमा निजी तथा सार्वजनिक सवारीसाधन सञ्चालनमा रोक लगाइएको जानकारी दिए । उनका अनुसार काभ्रेपलाञ्चोकको काभ्रेभञ्ज्याङदेखि सिन्धुलीको खुर्कोट खण्डका विभिन्न स्थानमा जोखिम भएकाले यातायात सञ्चालनमा रोक लगाइएको हो । काठमाडौँबाट जाने सवारीलाई जिल्लाको काभ्रेभञ्ज्याङ र काठमाडौँतर्फ आउने सवारीलाई सिन्धुलीको सिमाना नेपालथोकमै रोकिने छ । मनसुनजन्य विपद्बाट हुनसक्ने जोखिमलाई मध्यनजर गर्दै यसअघि काभे्रपलाञ्चोक, सिन्धुली र रामेछाप जिल्लाको सुरक्षा समितिका पदाधिकारीको अन्तरजिल्ला समन्वय समितिको बैठकले गत असार ७ गतेदेखि बिपी राजमार्गमा साँझ ६ः३० बजेदेखि बिहान ५ः०० बजेसम्म करिब दश घण्टा १५ दिन तथा थप असार मसान्तसम्म र साउन महिनाभर साँझ ५ः०० देखि बिहान ५ः०० बजेसम्म सडक सञ्चालनमा रोक लगाइएको थियो । गतसाल असोजको बाढीपहिरोले बिपी राजमार्गअन्तर्गत काभ्रेपलाञ्चोकको चौकीडाँडादेखि सिन्धुलीको वर्षेखोलासम्मको आठ किलोमिटर सडकखण्डमा सडकनै बगाएका कारण खोलामा कतै एकतर्फ, कतै दुईतर्फी यातायात सञ्चालन हुनेगरी अस्थायी सडक सञ्चालनमा ल्याइएको छ । बाढीपहिरोले राजमार्गको कूल १६० किमीमध्ये तेस्रो खण्डअन्तर्गत सिन्धुलीको खुर्कोटदेखि नेपालथोकसम्म ३४ किमी र चौथोखण्ड नेपालथोकदेखि काभ्रेपलाञ्चोकको धुलिखेलसम्म ५० किमी गरी ८४ किमी सडकको विभिन्न स्थानमा बढी क्षति पुर्‍याएको थियो । कार्यालयले क्षतिग्रस्त राजमार्ग स्थायी निर्माणका लागि चार खण्डमा ठेक्काको प्रक्रियामा समेत अघि बढाइरहेको छ । पूर्वी नेपाल जोड्ने छोटो दूरीका रूपमा रहेको उक्त राजमार्गबाट दैनिक हजारौँ यातायातका साधन आवतजावत हुने गर्छ । रासस

एसइईमा उत्कृष्ट अंक ल्याउने ८६ विद्यार्थीलाई ललितपुर महानगरको सम्मानसहित पुरस्कार

ललितपुर । ललितपुर महानगरले २०८१ सालको माध्यमिक शिक्षा परीक्षा (एसइई)मा उत्कृष्ट अंक ल्याउने सामुदायिक र संस्थागत विद्यालयका ८६ जना विद्यार्थीलाई सम्मान सहित पुरस्कृत गरेको छ ।  महानगरले २२ वटा संस्थागतका ७८ जना र ६ वटा सामुदायिक विद्यालय ८ जना गरी ८६ विद्यार्थीलाई सम्मानसहित पुरस्कृत गरेको हो । सामुदायिक विद्यालय तर्फ ३ दशमलव ९५ भन्दा माथि ल्याउने र संस्थागत तर्फ ४ जिपिए ल्याउने विद्यार्थी र विद्यालयलाई सम्मान सहित पुरस्कृत गरेको हो । महानगरले शुक्रबार एक औपचारिक कार्यक्रम आयोजना गरी सामुदायिक र संस्थागत विद्यार्थीका विद्यार्थीलाई जनही दुईलाख हस्तान्तरण गरेको हो । यसैगरी सामुदायिक विद्यालय प्रत्येकलाई ४ लाख दिएको छ । संस्थागत तर्फ धापाखेलको जेम्स स्कुलका १६ जना विद्यार्थीले ४ जिपीए ल्याएका छन् । सामुदायिक तर्फ बुङमतीको आर्दश सौल युवक माध्यमिक विद्यालयका ३ जना विद्यार्थीमध्ये एक जनाले ४ जिपिए र दुई जनाले ९ दशमलव ९६ जिपिए ल्याएका छन् ।  ललितपुर महानगरपालिकामा शैक्षिक सत्र २०८१ को एसइइ परीक्षामा ९१ दशमलव ५१ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन् । सामुदायिक विद्यालय तर्फ भने ८१ दशमलव ०५ प्रतिशत र संस्थागत तर्फ ९४ दशमलव ९० प्रतिशत उत्तीर्ण भएका छन् ।  महानगर प्रमुख चिरीबाबु महर्जनले एसइईमा उत्कृष्ट अंक ल्याउने विद्यार्थी संस्थाले महानगर शिक्षाको हब भएको पुष्टि गरेको बताए । उनले भने, ‘यो विद्यार्थी र विद्यालयलाई प्रेरणा र हौसला हो ।’ कोरोनाका कारण विद्यालयको खस्किएको शैक्षिक गुणस्तर उकास्न गरेको निर्णय विद्यार्थी र विद्यालयका लागि हौसला बनेको प्रष्ट पारे । महर्जनले महानगरले गरेका असल अभ्यासमध्ये यो पुरस्कार र सम्मान एक भएको बताउँदै मोफसलका पालिकाहरुले पनि यो अभ्यासलाई अनुसरण गरेको बताए ।  उपप्रमुख मञ्जली शाक्य बज्राचार्यले पुरस्कृत विद्यालय र विद्यार्थीलाई बधाई दिदैं जीवनका अझैं ठूल्ठूला परीक्षा पास गर्न तयार रहन सुझाव दिइन् ।  प्रमुख प्रशासकीय अधिकृत रेखा दास श्रेष्ठ विद्यार्थी, विद्यालय र अभिभावकको मिहेनतका कारण सफलता प्राप्त भएका बताइन् । सफल विद्यार्थीलाई शुभकामना दिदैं जीवनमा आइपर्न सक्ने सबै खालका चुनौतीसँग लड्न सक्ने क्षमता विकास गर्नु अहिलेको आवश्यकता भएको बताइन् ।  महानगरका प्रवक्ता एवम् सामाजिक विकास समितिका संयोजक राजु महर्जनले शैक्षिक गुणस्तर सुधारका लागि कोरोना लगत्तै महानगरले  सुरु गरेको सम्मान र पुरस्कारले विद्यार्थी र विद्यालयलाई प्रेरित गरेको बताए । उक्त सम्मान र प्रेरणालाई पुष्टि गर्ने आधारमध्ये एक विद्यार्थीले एसइईमा प्राप्त गरेको जिपिए भएको प्रष्ट पारे ।  जिल्ला समन्वय समितिका सभापति ऋषिदेव फुँयालले महानगरले संस्कृति संरक्षण, हरियाली प्रवद्र्धनसँगसँगै शिक्षा क्षेत्रमा गरेको यो असल अभ्यास भएको बताए ।  ललितपुरका प्रमुख जिल्ला अधिकारी रमेश ढकालले विद्यार्थीलाई थप उपलब्धिका लागि शुभकामना दिदैं सकारात्मक सोचसहित जिम्मेवार र इमान्दार बन्न अनुरोध गरे । कार्यक्रममा पुरस्कृत विद्यार्थी र अभिभावकले मन्तव्य राखेका थिए ।

काम गर्ने कर्मचारीलाई टाढा राखेर सरकारले समृद्धि खोज्न सक्दैन : ऊर्जामन्त्री खड्का

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिंचाईमन्त्री दीपक खड्काले काम गर्ने कर्मचारीलाई टाढा राखेर सरकारले समृद्धि खोज्न नसक्ने बताएका छन् ।  नेपाल विद्युत प्राधिकरणको ४० औँ वार्षिकोत्सवका अवसरमा शुक्रबार  प्राधिकरणमा कार्यरत कर्मचारीलाई दिर्घसेवा पदक, अवकाश पदक र अमर विद्युतकर्मीलाई सम्मान कार्यक्रममा बोल्दै उनले काम गर्ने ज्यालादारी कर्मचारीलाई टाढा राखेर सरकारले समृद्धि खोज्न नसक्ने बताएका हुन् ।  'विद्युत क्षेत्रको विकासका लागि ज्यालादारी कर्मचारीले धेरै काम गरेका छन्, ज्यालादारी कर्मचारीले राखेको माग सम्बोधन गर्न प्राधिकरण सञ्चालक समिति लागेको छ,'– उनले भने । श्रमको सम्मान गर्न सञ्चालक समिति लागेको उनको भनाई थियो । उनले विगतमा भएका निर्णयलाई क्रमशः कार्यान्वयन गर्दै लगिने स्पष्ट पारे ।  ऊर्जामन्त्री खड्काले सरकारले सबैभन्दा चाँडो मुलुकलाई समृद्ध बनाउने क्षेत्रका रुपमा उर्जा क्षेत्रलाई देखेकाले यसको विकासका लागि सबैको साथ र सहयोग आवश्यक रहेको बताए । उनले सरकारले सन् २०३५ सम्म २८ हजार ५०० मेगावाट विद्युत उत्पादन गर्ने लक्ष्य लिएकाले यसलाई पुरा गर्न विद्युत प्राधिकरणको महत्वपूर्ण भूमिका रहेको उल्लेख गरे ।  मन्त्री खड्काले छिमेकी मुलुक भारतसँगै बङ्गलादेशमा समेत विद्युत विक्री सुरु गरिएको बताउँदै आगामी दिनमा यसलाई झन् फराकिलो बनाउँदै अगाडि बढ्ने उल्लेख गरे । छिमेकी मुलुकबाट विद्युत आयत घटाउँदै निर्यातलाई बढाउँदै लगिएको उनको भनाई थियो ।  उनले गरिब तथा विपन्न नागरिकलाई समृद्ध बनाउन नसकेसम्म मुलुकको विकास हुन नसक्ने भन्दै गरिबका लागि विना धितो जलविद्युतको सेयरमा ऋण उपलब्ध गराउन सरकार लागेको बताए । नेपालसँग भएको स्रोत साधनको उच्च प्रयोग गर्दै सरकार अगाडि बढ्न खोजेको मन्त्री खड्काको भनाई थियो ।  ऊर्जामन्त्री खड्काले बुढीगण्डकी, अप्पर अरुण, तमोर, पञ्चेश्वर, दुधकोशी, पश्चिम सेतीलगायतका ठूला जलविद्युत आयोजनालाई सरकारले चाँडो अगाडि बढाउन खोजेको उल्लेख गरे । उनले प्राधिकरण स्थापनाको ४० वर्षमा पनि उर्जालाई सुरक्षित र भरपर्दो रुपमा विकास गर्न नसकिएको बताए ।  मन्त्री खड्काले उद्योगले प्रयोग गरेको बिजुलीको पैसा टिओडी मिटरका आधारमा असुल गर्ने काम नेपाल विद्युत प्राधिकरणको भएको भन्दै डेडिकेटेड र ट्रंकलाईनको विषयमा अल्मलिएर बस्ने कुनै ठाउँ नभएको उल्लेख गरे ।  कार्यक्रममा उर्जा सचिव सुरेश आचार्य, नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले प्राधिकरणलाई यस स्थानसम्म ल्याउन अहोरात्र खट्नुहुने कर्मचारीलाई धन्यवाद दिँदै आगामी दिनमा पनि साथ र सहयोग पाउने विश्वास व्यक्त गरे ।  कार्यक्रममा ऊर्जामन्त्री खड्काले प्राधिकरणमा २० वर्ष निरन्तर काम गरेका ५९४ कर्मचारीलाई दिर्घसेवा पदक, २९३ अवकाशप्राप्त कर्मचारीलाई अवकाश पदक र अमर विद्युतकर्मीका परिवारलाई सम्मान गरेका थिए ।