विकासन्युज

जडीबुटीखेती गरेर वार्षिक सातलाखसम्म आम्दानी लिँदै वडाध्यक्ष शेर्पा

भोजपुर । भोजपुरको षडानन्द नगरपालिका- १० साम्पाङका वडाध्यक्ष प्रेमदोर्ची शेर्पा व्यावसायिक जडीबुटी खेतीमा उदाहरणीय छन् । उनले जनप्रतिनिधि भएर जनताको सेवासँगै जडीबुटीखेती गर्दै आएका छन् । थोरै समय दिएर पनि जडीबुटीको बिक्रीबाट वार्षिक रु पाँचदेखि सात लाखसम्म आम्दानी गर्दै आएको शेर्पाले बताए । आफ्नो बहुउद्देश्यीय जडीबुटी नर्सरी केन्द्रमा अहिले पनि ६० ड्याङमा विभिन्न जातका जडीबुटीको बिरुवा रहेको उनको भनाइ छ । आफ्नो घर भएको स्थान तीनतलेमा २२ वर्ष अघिबाट चिराईतो, सतुवा, लोठसल्ला, सेतक चिनी, सिमखुदोलगायतको खेती गरिरहेको वडाध्यक्ष शेर्पाले बताए । जनताको सेवा पश्चात बचेको समयलाई जडीबुटी खेतीमा लगाउने गरेको उनको भनाइ छ । 'जनताको सेवाबाट बेचेको समयलाई जडीबुटी खेतीमा लगाउने गर्छु' वडाध्यक्ष शेर्पाले भने, 'जडीबुटीबाट राम्रो आम्दानी गरिरहेको छु । गत वर्षबाट १२ मन (एक मनमा ४० केजी) चिराइतो बेचेँ । अन्यबालीको तुलनामा जडीबुटीबाट दोब्बरको हारहारीमा आम्दानी लिन सकिन्छ ।' आर्थिक रुपमा सक्षम बन्नको लागि राजनीतिसँगै कृषि उद्यममा जोडिएको वडाध्यक्ष शेर्पाले बताए । फर्मबाट सतुवाको बिरुवा, चिराइतोको बोट बीउ, पात, ढुट्टोलगायत बिक्री गर्दै आएको उनको भनाइ छ । तीनतले क्षेत्रमा जडीबुटीको लागि उपयुक्त भूगोल रहेकोले राम्रो आम्दानी लिन सहज भएको उनको भनाइ छ । 'उत्पादन भएको जडीबुटी बिक्रीको लागि समस्या छैन' उनले भने, 'जडीबुटी खरिदको लागि घरमा नै ठेकेदार आउछन् । हाम्रो क्षेत्रका प्रायः सबै स्थानीयले जडीबुटीको खेती गरिरहेका छन् । औषत यहाँका एक किसानले वार्षिक रुपमा रु दुई लाखदेखि दश लाखसम्मको जडीबुटी बिक्री गर्दछन् ।' पराम्परात बालीभन्दा जडीबुटी खेतीबाट राम्रो आम्दानी हुने शेर्पाले अनुभव सुनाए । रु दश हजारको अन्यबाली उत्पादन हुने जमिनमा जडीबुटी खेतीबाट रु ५० हजारसम्म आम्दनी लिन सकिने उनको भनाइ छ । आफूले सिकेको सीपलाई जडीबुटीमा लागेका नवआगन्तुकलाई बाँड्ने गरेको उनको भनाइ छ । वडाको तर्फबाट पनि जडीबुटी खेतीमा लाग्नेहरुको लागि प्रोत्साहनको कार्यक्रम सञ्चालन गरिरहेको उनको भनाइ छ । आफ्नो फर्ममा उत्पादन भएको जडीबुटीको बिरुवा बाह्य जिल्लामासमेत निर्यात हुने गरेको शेर्पाले जानकारी दिए । 'मसँग जडीबुटी खेतीसम्बन्धी राम्रो ज्ञान छ' उनले भने, 'आफूले सिकेको सीपलाई स्थानीयलाई पनि बाड्ने गरेको छु । म जनप्रतिनिधि भएपछि हाम्रो क्षेत्रलाई जडीबुटीको पकेट क्षेत्र घोषणा गर्न सफल भएका छौँ ।' आफूले पहिलाबाट नै कृषि कर्म गरिरहेकाले जनप्रतिनिधि भएपछि पनि यसलाई निरन्तरता दिइरहेको उनको भनाइ छ । राजनीति सेवा भएकाले आर्थिक रुपमा सबल बन्नको लागि पेसा, व्यवसायमा लाग्न आवश्यक रहेको उनले बताए । रासस

जलविद्युत् कम्पनीहरूको सहयोगमा रघुगङ्गाका सडक स्तरोन्नति, १० करोडभन्दा बढी लगानी

म्याग्दी । म्याग्दीको रघुगङ्गा गाउँपालिकामा जलविद्युत् आयोजनाको सहयोगमा सडक स्तरोन्नति थालिएको छ । रघुगङ्गामा निर्माणाधीन र निर्माणको अन्तिम चरणमा रहेका पाँच जलविद्युत् आयोजनाको लगानीमा सडक स्तरोन्नति थालिएको हो । गाउँपालिकाका अध्यक्ष भवबहादुर भण्डारीले पालिकाको केन्द्र मौवाफाँट जोड्ने सडक कालोपत्र र मौवाफाँटदेखि झिँ, पाखापानी, दग्नाम, चिमखोला र कुइनेमङ्गले जोड्ने सडकको अप्ठ्यारो ठाउँमा ढलान गर्न थालिएको जानकारी दिए । गाउँपालिकाको संयोजनमा गत फागुन र चैत महिनामा भएको राजनीतिक दल, सरोकारवाला र जनप्रतिनिधि समेतको छलफलमा जलविद्युत् आयोजनाले जनाएको पहुँच मार्गको रुपमा प्रयोग गरेको सडक स्तरोन्नति गर्ने प्रतिबद्धता कार्यान्वयन गर्न थालेका उनले बताए । आयोजनाहरुले प्रयोग गरेको सडक स्तरोन्नतिमा बेवास्ता, सामाजिक उत्तरदायित्वको रकम र खर्चको विवरण सार्वजनिक नगरेपछि जनप्रतिनिधि र स्थानीयवासीले आन्दोलन गरेका थिए । रघुगङ्गामा ३५ दशमलव पाँच मेगावाट क्षमताको चिमखोला– राहुघाट–मङ्गले र २१ दशमलव तीन मेगावाट क्षमताको ठूलो खोला जलविद्युत् आयोजना निर्माण सकिएको छ । ४० मेगावाट क्षमताको राहुघाट, २२ दशमलव पाँच मेगावाटको ठूलोखोला ‘ए’ र ४८ दशमलव पाँच मेगावाट क्षमताको अपर राहुघाट जलविद्युत् आयोजना निर्माणको अन्तिम चरणमा छन् । अध्यक्ष भण्डारीका अनुसार अपर राहुघाट र चिमखोला–मङ्गले–राहुघाटको प्रवद्र्धक तुँदी पावरले मौवाफाँट–दग्नाम खण्डमा रु एक करोड ५० लाख खर्चेर विभिन्न ठाउँमा ढलान गरेको छ । 'तुदी पावरले थप रु २५÷२५ लाखमा मौवाफाँट हुँदै झिँ र पाखापानी जोड्ने सडक स्तरोन्नतिको तयारी गरेको छ,' गाउँपालिकाका अध्यक्ष भण्डारीले भने 'तुदी पवार, ठूलोखोला र माथिल्लो ठूलोखोला (ए)को रु ६७ लाख सहयोगमा दवाङ र अजिङ्गर भिरको साँघुरो सडक फराकिलो पारेर ढलान हुदैछ ।' चिमखोला– मङ्गले– राहुघाट, ठूलोखोला र माथिल्लो ठूलोखोला जलविद्युत् आयोजनाको प्रवद्र्धक कम्पनीले रु ८० लाख खर्चेर रघुगङ्गा गाउँपालिका–७ चिमखोला गाउँको फेदी भएर बग्ने बगरखोलाको कटान र बाढी नियन्त्रणका लागि करिब एक सय ५० मिटर दुरीमा तटबन्ध गरेका छन् । बगरखोलामा आउने बाढीले कटान गरेर करिब दुई सय घरपरिवारको बसोबास रहेको चिमखोला गाउँ, रघुगङ्गा गाउँपालिका–७ र ८ नम्बर वडा जोड्ने सडक जोखिममा परेको थियो । नेपाल विद्युत् प्राधिकरणको सहायक कम्पनी रघुगङ्गा हाइड्रोपावरले रु दश करोड खर्चेर बेनी–जोमसोम सडकको घुमाउने तालदेखि पिप्ले–मौवाफाँट–बुक्ल–बाँधस्थल खण्डको सडक स्तरोन्नति थालेको अध्यक्ष भण्डारीले बताए । सिभिल ठेकेदार जयप्रकाश एसोसियट्सले रघुगङ्गा हाइड्रोपावरसँग गरेको सम्झौता अनुसार ११ किलोमिटर पहुँचमार्ग सहायक ठेकेदार परिचालन गरेर ग्राभेल गर्न पूर्वाधार निर्माण थालेको हो । यस अन्तर्गत पिप्लेको हमालचोकदेखि रघुगङ्गा मावि मुनिसम्मको सडक पनि स्तरोन्नति हुने अध्यक्ष भण्डारीले बताए । ग्राभेल गरेपछि घुमाउने तालदेखि मौवाफाँटसम्म रघुगङ्गा हाइड्रोपावरको ८० र अन्य चार वटा जलविद्युत् आयोजनाको २० प्रतिशत लगानीमा कालोपत्र गर्ने सहमति भएको गाउँपालिकाले जनाएको छ । रासस

दार्चुला–गोकुेलेश्वर सडक : तेर्छालेक रनेबास क्षेत्र अवरुद्ध

खलङ्गा । पहिराले दार्चुला–गोकुेलेश्वर सडक अन्तर्गत तेर्छालेक रनेबास क्षेत्र अवरुद्ध भएको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार मुख्य सडकमार्ग आजविहानदेखि अवरुद्ध भएपछि लामो तथा छोटो दूरीका सवारी साधन आवतजावतमा समस्या भएको छ । निरन्तर ढुङ्गा र लेदो बगेको कारण अवरुद्ध सडक खुलाउन उपकरण परिचालनमा समस्या भएको छ । गोकुलेश्वरबाट उपकरण पठाइएको तर निरन्तर ढुङ्गा र लेदो बगेको कारण खुलाउन समस्या भएको प्रमुख जिल्ला अधिकारी अनिल पौडेलले जानकारी दिए । जिल्ला सदरमुकाम खलङ्गाबाट बाहिरिने र भित्रिने सवारीसाधन उक्त क्षेत्रमा जाममा परेका छन् ।

नेपाल इन्स्योरेन्सको हकप्रद सेयरमा आवेदन दिने आज अन्तिम

काठमाडौं । नेपाल इन्स्योरेन्स कम्पनीको हकप्रद सेयरमा आवेदन दिने समय आज अन्तिम दिन रहेको छ । साउन ६ गतेदेखि बिक्री खुला गरेको कम्पनीको हकप्रद सेयरमा लगानीकर्ताहरुले आजसम्म आवेदन दिन सक्नेछन् । कम्पनीले हाल कायम चुक्ता पुँजी १ अर्ब ८९ करोड ८ लाख ७८ हजार रुपैयाँको ३४.७८ प्रतिशत अर्थात् १० कित्ता सेयर बराबर नयाँ ३.४७ कित्ता सेयर अनुपातमा हकप्रद सेयर बिक्री गरेको हो । कम्पनीले ६५ करोड ७६ लाख ९६ हजार ७६६ रुपैयाँको प्रतिकित्ता १ सय रुपैयाँ अंकित मूल्य दरका ६५ लाख ७६ हजार ९६७ कित्ता हकप्रद सेयर जारी गरेको हो । हकप्रद सेयर बिक्री गरी बाँडफाँटपश्चात् कम्पनीको चुक्ता पुँजी २ अर्ब ५४ करोड ८५ लाख ७४ हजार रुपैयाँ पुग्नेछ । ​​​​हकप्रद सेयर निष्काशन प्रयोजनार्थ कम्पनीले गत जेठ ३० गते बुकक्लोज गरेको थियो । त्यसैले जेठ २९ गतेसम्म नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा कारोबार भइ कायम सेयरधनीहरूले कम्पनीको सेयरमा आवेदन दिन पाउने छन् । कम्पनीको हकप्रद सेयर निष्काशन तथा बिक्री प्रबन्धक एनआईएमबि एस क्यापिटल रहेको छ । कम्पनीको सेयरमा बिक्री प्रबन्धकको केन्द्रिय कार्यालय लाजिम्पाटसँगै शाखा कार्यालय पोखरा, ट्राफिक चोक बुटवल, आदर्शनगर विरगन्ज, गोल्छाचोक विराटनगर शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन् ।  साथै सीआस्वा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था र मेरो सेयर अनलाइनबाट पनि आवेदन दिन सकिनेछ । इन्फोमेरिक्स क्रेडिट रेटिङ्ग नेपालले इन्स्योरेन्स कम्पनीलाई आईआरएन सिंगल ए माइनस इस्यूअर रेटिङ्ग प्रदान गरेको छ । यसले समयमा वित्तीय दायित्व बहन गर्ने क्षमता पर्याप्त मात्रामा सुरक्षित संकेत गर्दछ ।

आम्दानीभन्दा खर्च बढी हुँदा होटलको नाफामा गिरावट, कुन होटलको अवस्था कस्तो छ ?

काठमाडौं । होटल तथा पर्यटन क्षेत्रको नाफा सामान्य घटेको छ । पुँजी बजारमा सूचीकृत विभिन्न ६ वटा होटलहरूको गत आर्थिक वर्ष २०८१/८२ मा खुद नाफा ०.९१ प्रतिशत अर्थात् १ करोड १५ लाख २४ हजार रुपैयाँ घटेर १ अर्ब २४ करोड ६४ लाख २६ हजार रुपैयाँ गरेका हुन् । अघिल्लो वर्ष यी ६ वटा होटलहरूले १ अर्ब २५ करोड ७९ लाख ५० हजार रुपैयाँ नाफा गरेका थिए । नेपाल स्टक एक्चसेञ्ज (नेप्से)मा सोल्टी होटल, तारागाउँ रिजेन्सी, ओरियण्टेल होटल्स, चन्द्रागिरि हिल्स, कालिन्चोक दर्शन र सिटी होटल सूचीकृत छन् । जसमध्ये सिटी होटल नोक्सानीमा छ भने ओरियण्टेल होटल र तारागाउँ रिजेन्सी होटलको नाफा घटेको छ । हवाईमार्गबाट यात्रा गर्ने पर्यटकहरूको आगमन संख्यामा वृद्धि भएतापनि स्थल मार्ग प्रयोग गरी नेपाल भ्रमणमा आउने पर्यटकहरूको संख्यामा खासै सुधार नभएकाले व्यवसायमा वृद्धि हुन नसकेको को होटल कम्पनीका सञ्चालकहरू बताउँछन् । साथै, केही अन्तराष्ट्रिय घटनाक्रम तथा विवादहरुको प्रत्यक्ष असर पर्यटकहरूको आवागमनमा परेको उनीहरुको भनाइ छ । अप्रत्याशित रुपमा राष्ट्रिय तथा अन्तराष्ट्रिय घटनाहरूको कारणले पर्यटन उद्योगमा ठूलो असर पर्ने गरेको छ । सोबाट होटलको आयआर्जनमा प्रभाव पार्ने गरेको बताइएको छ । यस्तै, बैंक तथा वित्तीय संस्थाबाट ऋण लिएका होटललाई कर्जाको किस्ता तथा ब्याज भुक्तानीले असर परिरहेको जनाएका छन् । चन्द्रागगिरि हिल्सको गत वर्ष २०८१/८२ मा खुद नाफा ५.४६ प्रतिशत बढेर २१ करोड ८ लाख ९५ हजार रुपैयाँ आर्जन गरेको छ । अघिल्लो वर्ष कम्पनीले १९ करोड ९९ लाख ७४ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । समीक्षा वर्षमा कम्पनीको सञ्चालन आम्दानी ९.७६ प्रतिशत घटेर ९० करोड २४ लाख १६ हजार रुपैयाँमा सीमित भएको छ । अघिल्लो वर्ष कम्पनीले १ अर्ब १ लाख १५ हजार रुपैयाँ सञ्चालन आम्दानी गरेको थियो । गत वर्ष कम्पनीको अन्य आम्दानी १८.२७ प्रतिशत घटेर ३ करोड ४ लाख ३२ हजार र कुल आम्दानी १०.७६ प्रतिशत घटेर ७८ करोड २४ लाख ८३ हजार रुपैयाँ गरेको छ ।  समीक्षा वर्षमा कम्पनीको वित्तीय खर्च बिक्री लागत २.६९ प्रतिशत घटेर ११ करोड ९९ लाख रुपैयाँ, कर्मचारी खर्च १.५७ प्रतिशत बढेर १७ करोड ३१ लाख रुपैयाँ, प्रशासन खर्च ९.५२ प्रतिशत घटेर १० करोड ७ लाख ७३ हजार रुपैयाँ, वित्तीय खर्च ३४.६८ प्रतिशत घटेर १५ करोड ६५ लाख १२ हजार रुपैयाँ र कुल खर्च २.८१ प्रतिशत घटेर २७ करोड ३८ लाख ७४ हजार रुपैयाँ गरेको छ ।  १ अर्ब ५३ करोड ४० लाख ९१ हजार रुपैयाँ चुक्ता पुँजी रहेको यस कम्पनीको जगेडा कोष ११ करोड ६८ लाख ४ हजार रुपैयाँ रहेको छ । कम्पनीको प्रतिसेयर आम्दानी १३.७५ रुपैयाँ, प्रतिसेयर नेटवर्थ १०७.६१ रुपैयाँ र मूल्य आम्दानी अनुपात ६९.५४ गुणा रहेको छ । कालिञ्चोक दर्शनको गत वर्ष खुद नाफा ४७.०८ प्रतिशत बढेर २ करोड ७८ लाख २ हजार रुपैयाँ गरेको छ । अघिल्लो वर्ष कम्पनीले १ करोड ८९ लाख २ हजार रुपैयाँ नाफा गरेको थियो ।  गत वर्ष कम्पनीको आम्दानी ३४.६९ प्रतिशत बढेर ७ करोड ९३ लाख ५५ हजार रुपैयाँ, सञ्चालन आम्दानी ३५.६५ प्रतिशत बढेर ७ करोड ६३ लाख ६१ हजार रुपैयाँ, अन्य आम्दानी ११८ प्रतिशत बढेर १२ लाख ९०५ हजार रुपैयाँ गरेको छ ।  गत वर्ष कम्पनीको कर्मचारी खर्च ३६.०७ प्रतिशत बढेर १ करोड ३३ लाख ९७ हजार रुपैयाँ, अन्य खर्च २६.३४ प्रतिशत बढेर १ करोड ११ लाख ४५ हजार रुपैयाँ र वित्तीय खर्च २६.२४ प्रतिशत बढेर ९२ लाख ४४ हजार रुपैयाँ गरेको छ ।  ६० करोड रुपैयाँ चुक्ता पुँजी रहेको यस कम्पनीको जगेडा कोष ३ करोड १६ लाख ५३ हजार रुपैयाँ रहेको छ । कम्पनीको प्रतिसेयर आम्दानी १.५८ रुपैयाँ, प्रतिसेयर नेटवर्थ १०५.४१ रुपैयाँ र मूल्य आम्दानी अनुपात २४४.५१ गुणा छ ।  सोल्टी होटलको गत वर्ष खुद नाफा ११.७७ प्रतिशत बढेर ६७ करोड ७ लाख ९ हजार रुपैयाँ आर्जन गरेको छ । अघिल्लो वर्ष कम्पनीले ६० करोड ४२ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । समीक्षा वर्षमा कम्पनीको कुल आम्दानी १०.८७ प्रतिशत बढेर २ अर्ब ७७ करोड ८९ हजार रुपैयाँ र कुल खर्च ११.११ प्रतिशत बढेर १ अर्ब ९४ करोड १६ लाख १४ हजार रुपैयाँ गरेको छ ।  अघिल्लो वर्ष कम्पनीले २ अर्ब ४९ करोड ८४ लाख १८ हजार रुपैयाँ कुल आम्दानी गरेर १ अर्ब ७४ करोड ७४ लाख ६८ हजार रुपैयाँ कुल खर्च गरेको थियो ।  गत वर्ष कम्पनीको कर्मचारी खर्च १२.३८ प्रतिशत बढेर ६३ करोड २३ लाख २१ हजार रुपैयाँ, प्रशासन खर्च १४.१९ प्रतिशत बढेर ३८ करोड ५८ लाख १४ हजार रुपैयाँ र वित्तीय खर्च ७.०७ प्रतिशत बढेर ३८ लाख ५७ हजार रुपैयाँ गरेको छ । कम्पनीको चुक्ता पुँजी १० प्रतिशत बढेर १ अर्ब २ करोड १८ लाख ६२ हजार रुपैयाँ र सञ्चित नाफा २१.९१ प्रतिशत बढेर १ अर्ब ७५ करोड २९ लाख ७४ हजार रुपैयाँ पुगेको छ । नाफा बढेसँगै कम्पनीको प्रतिसेयर आम्दानी १.५४ रुपैयाँ बढेर ६.५६ रुपैयाँ पुगेको छ । बैंकको प्रतिसेयर नेटवर्थ २७.१५ रुपैयाँ र मूल्य आम्दानी अनुपात ८८ गुणा रहेको छ ।  ओरियण्टल होटल्सको गत वर्ष खुद नाफा ८३.४२ प्रतिशत घटेर २ करोड ५ लाख ५२ हजार रुपैयाँ आर्जन गरेको छ । अघिल्लो वर्ष कम्पनीले १२ करोड ३९ लाख ८८ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । समीक्षा वर्षमा कम्पनीको सञ्चान आम्दानी ९.१९ प्रतिशत घटेर १ अर्ब ४ करोड ९३ लाख ४३ हजार रुपैयाँ, अन्य आम्दानी ५६.९१ प्रतिशत घटेर २ करोड ६३ लाख ४५ हजार रुपैयाँ र कुल नाफा ११.५९ प्रतिशत घटेर १ अर्ब ७ करोड ५६ लाख ८८ हजार रुपैयाँ गरेको छ ।  गत वर्ष कम्पनीको प्रशासन खर्च ७.२८ प्रतिशत घटेर १४ करोड ७८ लाख ३८ हजार रुपैयाँ, वित्तीय खर्च १.८२ प्रतिशत घटेर ९ करोड ७८ लाख ८७ हजार रुपैयाँ र कुल खर्च २.७९ प्रतिशत घटेर ९३ करोड ९९ लाख ५० हजार रुपैयाँ गरेको छ । कम्पनीको चुक्ता पुँजी ४.९९ प्रतिशत १ अर्ब १८ करोड ४४ लाख ९४ हजार रुपैयाँ र जगेडा कोष १.०८ प्रतिशत घटेर २ अर्ब ७१ करोड ७८ लाख ४ हजार रुपैयाँ छ । कम्पनीको प्रतिसेयर आम्दानी १.२५ रुपैयाँ, प्रतिसेयर नेटवर्थ ३२८.२१ रुपैयाँ र मूल्य आम्दानी अनुपात ७०२ गुणा छ ।  तारागाउँ रिजेन्सी होटल्सको गत वर्ष खुद नाफा ०.५४ प्रतिशत घटेर ५१ करोड ५४ लाख ३३ हजार रुपैयाँ आर्जन गरेको छ । अघिल्लो वर्ष कम्पनीले ५१ करोड ८२ लाख ६८ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।  समीक्षा वर्षमा कम्पनीको सञ्चालन आम्दानी १.६८ प्रतिशत बढेर १ अर्ब ५२ करोड १६ लाख ४९ हजार रुपैयाँ, अन्य आम्दानी ११.४१ प्रतिशत घटेर २१ करोड ४३ लाख ७ हजार रुपैयाँ र कुल आम्दानी ०.१३ प्रतिशत घटेर १ अर्ब ७३ करोड ५९ लाख ५६ हजार रुपैयाँ गरेको छ ।  यस्तै, गत वर्ष कम्पनीको प्रशासनिक खर्च ९.२३ प्रतिशत बढेर २४ करोड ७२ लाख ९० हजार रुपैयाँ गरेको छ ।  समीक्षा अवधिमा कम्पनीको चुक्ता पुँजी १ अर्ब ९६ करोड २१ लाख २० हजार रुपैयाँ र जगेडा कोष ३२.२५ प्रतिशत बढेर १ अर्ब २० करोड ९६ लाख ८६ हजार रुपैयाँ छ । कम्पनीको प्रतिसेयर आम्दानी २६.२७ रुपैयाँ, प्रतिसेयर नेटवर्थ १६१.६५ रुपैयाँ र मूल्य आम्दानी अनुपात ३६.०२ गुणा छ ।  सिटि होटल गत वर्ष १९ करोड ८९ लाख ६५ हजार रुपैयाँ नोक्सानीमा छ । अघिल्लो वर्ष कम्पनीले २० करोड ३२ लाख २४ हजार रुपैयाँ नोक्सानी बेहोरेको थियो । कम्पनीको सञ्चालन आम्दानी ३.४४ प्रतिशत घटेर ४८ करोड ६८ लाख ४८ हजार रुपैयाँ, अन्य आम्दानी ५४.६४ प्रतिशत घटेर ३ करोड ५४ लाख ६६ हजार रुपैयाँ र कुल आम्दानी १०.३२ प्रतिशत घटेर ५२ करोड २३ लाख १५ हजार रुपैयाँ गरेको छ ।  समीक्षा अवधिमा कम्पनीको कर्मचारी खर्च ४.५१ प्रतिशत बढेर १० करोड ६९ लाख १० हजार रुपैयाँ, प्रशासन खर्च १.९० प्रतिशत बढेर १२ करोड ८४ लाख ८३ हजार रुपैयाँ र कुल खर्च १.४६ प्रतिशत घटेर ३७ करोड २० लाख रुपैयाँ गरेको छ ।  १ अर्ब ६७ करोड ४० लाख रुपैयाँ चुक्ता पुँजी रहेको कम्पनीको अन्य इक्विटी ३२ करोड ९ लाख ६ हजार रुपैयाँ ऋणात्मक छ । कम्पनीको प्रतिसेयर आम्दानी ६.२७ रुपैयाँ ऋणात्मक छ । यस्तै, कम्पनीको प्रतिसेयर नेटवर्थ ८०.८३ रुपैयाँ र मूल्य आम्दानी अनुपात ७३.५० गुणा छ । 

एनआईसी एशिया इक्विटी लिंक्ड इन्भेष्टमेन्ट स्किममा आवेदन दिने समय लम्बियो

काठमाडौं । एनआईसी एशिया क्यापिटलको इक्विटी लिंक्ड इन्भेष्टमेन्ट स्किममा आवेदन दिने समय लम्बिएको छ । साउन २९ गतेदेखि बिक्री खुला गरेको एनआईसी एशिया इक्विटी लिंक्ड इन्भेष्टमेन्ट स्किममा अब भदौ १२ गतेसम्म आवेदन दिन सकिनेछ ।  क्यापिटलले ५० करोड रुपैयाँको प्रतिइकाई १० रुपैयाँका दरले ५ करोड इकाई बिक्री गरेको हो । क्यापिटलले १० करोड इकाईमध्ये बीज पुँजीबापट कुल निष्काशन गरिने इकाईको १५ प्रतिशत अर्थात १५ करोड रुपैयाँ बराबरको १ करोड ५० लाख इकाई योजना व्यवस्थापकलाई सुरक्षित राखि बाँकी ८ करोड ५० लाख इकाईमध्ये ५ करोड इकाई सर्वसाधरणलाई बिक्री गरेको हो ।  कम्पनीको उक्त योजनामा न्यूनतम १०० इकाईका लागि आवेदन दिनु पर्नेछ भने अधिकतममा १ करोड इकाईसम्म आवेदन दिन पाउने व्यवस्था रहेको छ । योजनाको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक एनआईसी एशिया क्यापिटल लिमिटेड रहेको छ। लगानीकर्ताले धितोपत्र बोर्डबाट आश्वा अनुमति लिएका सम्पूर्ण बैंक तथा वित्तीय संस्था तथा मेरो सेयर वेब तथा एपबाट पनि आवेदन दिन सक्नेछन् ।

सडक कालोपत्र नहुँदा वर्षौदेखि सास्ती, १० प्रतिशत मात्रै प्रगति

काठमाडौं । ९ वर्षदेखि कालोपत्र नहुँदा मध्यपहाडी लोक मार्गको बागलुङ खण्डमा सवारी साधनले सास्ती व्यहोर्दै आउनु परेको छ । बिहुँ-घोडाबाधे खण्डको १३ किलोमिटरमध्ये ६ किलोमिटर सडकको दुरावस्थाका कारण सवारी फसेर यात्रुहरूले सास्ती खेप्ने गरेका छन् । हिउँदमा धुलाम्मे र बर्खा लागेपछि हिलाम्मे सडकमा सवारीसाधन वार पार गर्नै समस्या हुने गरेको छ । बागलुङ बजारदेखि घोडाबाधेसम्मको २५ किलोमिटर सडक कालोपत्रका लागि दुई खण्डमा विभाजन गरेर ९ वर्षअघि ठेक्का लगाइएको थियो  । जसमध्ये बिहुँ घोडाबाँधेको १३ किमिमध्ये ६ किलोमिटर सडक अझै कालोपत्र भएको छैन । ८ वर्षमा कालोपत्र नभएपछि ठेक्का तोडिएको थियो । ठेक्का तोडेर पुनः ठेक्का लगाएको काम एक वर्षमा जम्मा १० प्रतिशत मात्रै प्रगति भएको छ । चितवनबाट सामग्री ढुवानीका लागि गलकोटतर्फ आएको मिनि ट्रक बिहुँमा फसेर समस्या भएको चालक रमण शर्माले दुःखेसो गरे । ट्रक मात्रै हैन दर्जनौं कार तथा जिप सडकमा फस्ने गरेका छन् । लोकमार्गको १४० किमिमध्ये अन्यत्र कालोपत्र भइसकेको छ । बिहुँ खण्डको समस्या समाधान नहुँदा पनि सरोकारवाला निकाय मौन रहेको गुनासो स्थानीयवासीको छ । नयाँ ठेक्का लागेपछि सडक चौडा पारेकाले यसपटक सडक बढी हिलाम्मे भएको मध्यपहाडी पुष्पलाल लोकमार्ग आयोजना कार्यालय पर्वतका इञ्जिनियर कल्पना मिश्रले बताए ।  ‘पुन ठेक्का लगाएको एक वर्ष भयो, २१ करोड रुपैयाँको ठेक्कामा जम्मा १० प्रतिशत काम सम्पन्न भएको छ, अहिले पूर्वाधारको काम गरिरहेको र वर्खा लागेकाले सडक हिलाम्मे छ,’ मिश्रले भने, ‘निर्माण व्यवसायीलाई बर्खामा सवारीसाधन फस्न सक्ने पहिरो पन्छाउन पर्ने भएकाले डोजरसहित तयारी अवस्थामा राखिएको छ ।’  बिहुँ-घोडाबाधे खण्डको अघिल्लो ठेक्का तोडेर २०८१ सालको असार २१ गते दुई वर्षमा बाँकी पूर्वाधार र कालोपत्र सम्पन्न गर्ने गरी तामाङ/रिजाल भगवती जेभीसँग २१ करोड ४९ लाख रुपैयाँमा पुन ठेक्का सम्झौता गरिएको थियो ।

सडक निर्माणमा भ्रष्टाचार, काम थोरै रकम बढी

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुगु जिल्लाको सोरु गाउँपालिकाको सडक निर्माणमा वास्तविक कामभन्दा बढी मूल्याङ्कन गरी रकम हिनामिना गरेको अभियोगमा तत्कालीन प्रमुख प्रशासकीय अधिकृतसहितका अधिकारीहरू विरुद्ध मुद्दा दायर गरेको छ । सोरु गाउँपालिका-१ अन्तर्गत जवलधारा पीसीसी सडक निर्माण योजनाको लागि मुख्यमन्त्री रोजगार कार्यक्रमको अनुदान रकम ३६ लाख ४० हजार रुपैयाँ प्राप्त भएको थियो । योजना सम्झौता बमोजिम जनश्रमदान ३ लाख ७३ हजार ४३९ हजार रुपैयाँ गरी सडक निर्माणको कूल लागत ४० लाख १३ हजार ४३९ रुपैयाँ तय गरिएको थियो । त्यसमा तोकिए बमोजिम काम नगरी बढी काम गरेको देखाएर ७ लाख ६ हजार ७९९ रुपैयाँ बराबर भ्रष्टाचार गरेको पाइएको आयोगले जनाएको छ । आयोगले तत्कालीन प्रमुख प्रशासकीय अधिकृत वीरेन्द्र मल्ल, इञ्जिनियर प्रकाश आचार्य र सव-इञ्जिनियर जगत बहादुर मल्ल विरुद्ध ७ लाख ६ हजार ७९९ रुपैयाँ बराबरको बिगो दाबी गर्दै मुद्दा दायर गरेको हो । सोरु गाउँपालिकाका लेखापाल जेठबहादुर बुढा र योजना शाखा प्रमुख नवीन बुमी, जवलधारा पीसीसी सडक निर्माण योजनाको श्रम कार्यदल उपभोक्ता समितिका अध्यक्ष चक्र बहादुर छन्त्याल, सह-संयोजक विष्णु छन्त्याल, कोषाध्यक्ष घोसीसरा शाही र सचिव मुकुन्दे दमाई विरुद्ध समान बिगो माग दाबी गरिएको छ । अनुगमन समितिका संयोजक दलवीर सार्की, सदस्य पुने शाही र वडा नं १ का तत्कालीन वडाध्यक्ष मिसिन्द्र शाही विरुद्ध कैद र जरिवानाको माग दाबी गरिएको आयोगका प्रवक्ता राजेन्द्रकुमार पौडेलले जानकारी दिए ।