शिक्षा विधेयक प्रतिवेदनमाथि अध्ययन गर्दै सांसदहरू
काठमाडौं । शिक्षा विधेयकको प्रतिवेदन सांसदलाई वितरण गरिएको छ । सिंह दरबारमा सोमबार बसेको बैठकले विधेयकमाथि छलफल गरी प्रतिनिधिसभा अन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिमा पेश गरेपछि समितिले सांसदहरूलाई अध्ययनको लागि वितरण गरेको हो । विधेयकलाई प्राविधिक रुपमा मिलाउने जिम्मेवारी पाएको समिति सचिवालयले आफ्नो काम सकेर समितिलाई बुझाएको थियो । प्रतिवेदन अध्ययनका लागि समिति सदस्यहरूलाई दुई दिनको समय दिइएको छ । विधेयक माथि समितिमा भएका विभिन्न छलफल र सहमतिको भाषा लगायतका विषयलाई कानूनी एवं प्राविधिक रुपमा मिलाउन गत २२ साउनको बैठकको निर्णय अनुसार सचिवालयलाई जिम्मेवारी दिइएको थियो । अब भाद्र पाँच गते समितिको बैठक बोलाइएको छ । सो बैठकमा आआफ्ना राय सहित सांसदहरुलाई उपस्थित हुन समिति सभापति अम्मर बहादुर थापाले निर्देश दिएका छन् ।
नाडा अटो शोको उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले भने - पछाडि परेकाले अरूभन्दा छिटो दौडनुपर्छ
काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल विकासको दौडमा पछाडि परेकोले अब अरूभन्दा छिटो दौडनुपर्ने बेला आएको बताएका छन् । मंगलबार काठमाडौंमा आयोजित नाडा अटो शो २०२५ को १७औं संस्करणको उद्घाटन समारोहलाई सम्बोधन गर्दै उनले देशको समग्र विकासका लागि सबै क्षेत्रले तीव्र गतिमा काम गर्नुपर्नेमा जोड दिए । उनले संयुक्त अरब इमिरेट्स (युएई) का प्रधानमन्त्रीको पुस्तक 'माई भिजन' मा उल्लेखित सिंह र हरिणको कथा सुनाउँदै विकासको गति बढाउनुपर्ने आवश्यकता औंल्याए । उनले भने, 'जंगलमा सिंहले सबैभन्दा छिटो कुद्ने हरिणभन्दा छिटो कुद्न सकेन भने भोकै मर्छ, र हरिणले सबैभन्दा छिटो कुद्ने सिंहभन्दा छिटो कुद्न सकेन भने मारिन्छ । बाँच्नका लागि सबैले छिटो दौडनैपर्छ । हामी विकासमा पहिल्यै पछाडि छुटिसकेका छौं, त्यसैले हामीले अरूभन्दा छिटो दौडनुपर्छ ।' उनले युवा उद्यमी, व्यवसायी, कर्मचारी र विद्यार्थीहरूलाई नयाँ सोच र ऊर्जाका साथ अगाडि बढ्न आग्रह गरे ।प्रविधिको विकास तीव्र गतिमा भइरहेको उल्लेख गर्दै उनले सन् १९३९ मा अमेरिकी राष्ट्रपति रुजवेल्टले पहिलो पटक टेलिभिजनको उद्घाटन गर्दा त्यो असम्भव जस्तो लागे पनि आज सामान्य भइसकेको प्रसङ्ग जोडे। उनले भने, 'नेपालमा २०४२ सालमा ब्ल्याक एण्ड ह्वाइट टेलिभिजन आउँदा ठूलो कुरा थियो, आज हामी स्मार्ट युगमा छौं । हाम्रा स्कुले विद्यार्थीहरूले मोटरसाइकल र स्याटलाइट बनाइरहेका छन्, यो खुसीको कुरा हो ।' नाडाले युवा नेतृत्व पाएकोमा प्रशंसा गर्दै अध्यक्षलाई ऊर्जावान् र भिजनरीको संज्ञा दिए । उनले भने, 'अब युवाहरूको समय आएको छ र युवाहरूले गर्न सक्छन् भन्ने विश्वास छ ।' यस्तै कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र ढकालले पछिल्लो समय सरकारले लिएका नीतिगत सुधारका कारण अर्थतन्त्रमा उत्साह थपिएको बताए । उनले सरकारले हालै लागू गरेको युरो सिक्स मापदण्डका कारण व्यवसायीहरूलाई परेको समस्या समाधानका लागि केही समय दिन सरकारसँग आग्रह गरे । समारोहको उद्घाटन प्रधानमन्त्रीले रोबोटिक्स एसोसिएसन अफ नेपालको सहयोगमा आईओटी-बेस्ड प्रविधिबाट पानसमा बत्ती बालेर गरेका थिए । कार्यक्रममा नाडाको मुखपत्र नाडा अटो न्युज को ५०औं अंकको पनि विमोचन गरिएको थियो ।
बुद्ध, यति र श्रीको साढे २१ अर्बको व्यापार, कुन कम्पनीले कति कमाए ?
काठमाडौं । उडड्यन क्षेत्रका मुख्य प्रतिस्पर्धी हवाई कम्पनी हुन्- बुद्ध एयर, यति एयर र श्री एयरलाइन्स । आन्तरिक हवाई उडड्यनमा यी क्षेत्रमा यी तीनवटै कम्पनीले अधिकांश हिस्सा ओगटेका छन् । यी तीन एयरलाइन्स कम्पनीले एक वर्षमा साढे २१ अर्ब रुपैयाँ बराबरको कारोबार गरेका छन् । बुद्ध एयर, यति एयरलाइन्स र श्री एयरलाइन्सले आर्थिक वर्ष २०८०/८१ (सन् २०२४) मा २१ अर्ब ५५ करोड ६० लाख रुपैयाँ बराबरको कारोबार गरेका हुन् । गत वर्ष सबैभन्दा धेरै कारोबार बुद्ध एयरले गरेको छ । कम्पनीले १३ अर्ब २२ करोड ६० लाख रुपैयाँ बराबरको कारोबार गरेको हो । यस्तै, यति एयरलाइन्सले ४ अर्ब २५ करोड ८० लाख रुपैयाँ र श्री एयरले ४ अर्ब ७ करोड २० लाख रुपैयाँ बराबरको कारोबार गरेको तथ्याङ्क छ । पछिल्लो तथ्याङ्कअनुसार भने गत आर्थिक वर्ष यी तीनै कम्पनीले १४ अर्ब १० करोड ८० लाख रुपैयाँ बराबरको कारोबार गरेका छन् । साथै यी तीन कम्पनीको नेपाली हवाई क्षेत्रमा ९३ प्रतिशत बजार हिस्सा ओगटेका छन् । बुद्ध एयर बुद्ध एयरले नेपालको आन्तरिक हवाई उडानमा ६० प्रतिशत बजार हिस्सा ओगटेको दाबी गरेको छ । सन् १९९६ मा स्थापित बुद्ध एयरले १८ सिटे जहाजबाट उडान सुरु गरेको थियो । नेपालको आन्तरिक हवाई सेवा क्षेत्रमा जहाज संख्या, लगानी, बजार हिस्सालगायतम बुद्ध एयर अग्रणी कम्पनी हो । कम्पनीले सन् २०२३ मा १२ अर्ब १६ करोड ९० लाख रुपैयाँ, सन् २०२२ मा १० अर्ब ९ करोड ८० लाख रुपैयाँ, सन् २०२१ मा ३ अर्ब ३३ करोड ६० लाख रुपैयाँ बराबरको आम्दानी गरेको थियो । यस्तै, सन् २०२० मा ४ अर्ब ९४ करोड २० लाख रुपैयाँ, सन् २०१९ मा ६ अर्ब ८० करोड ८० लाख रुपैयाँ, सन् २०१८ मा ६ अर्ब ८ करोड रुपैयाँको आम्दानी गरेको थियो । यस्तै, कम्पनीले सन् २०१७ मा ५ अर्ब ७९ करोड ४० लाख रुपैयाँ, सन् २०१६ मा ४ अर्ब २५ करोड ६० लाख रुपैयाँको सञ्चालन आम्दानी गरेको थियो । कम्पनीले विभिन्न बैंक तथा वित्तीय संस्थाबाट कुल ३ अर्ब ८ करोड ९१ लाख रुपैयाँ र १८.७४ मिलियन अमेरिकी डलर ऋण लिएको छ । कम्पनीका अनुसार ८७ करोड रुपैयाँ अल्पकालीन ऋण, ८२ करोड ९९ लाख रुपैयाँ ओभरड्राफ्ट र ८ करोड रुपैयाँ बैंक ग्यारेन्टी लिएको छ । बुद्ध एयरले काठमाडौं, पोखरा, विराटनगर, भैरहवा, नेपालगञ्ज, धनगढी, जनकपुर, भद्रपुरलगायत देशका प्रमुख सहरहरूमा दैनिक उडान गर्दै आएको छ । यसका साथै कम्पनीले हिमाल दर्शन उडान तथा पोखराबाट अन्नपूर्ण क्षेत्रका विशेष उडान पनि सञ्चालन गर्दै आएको छ, जसले आन्तरिक तथा बाह्य पर्यटकहरूलाई आकर्षित गरिरहेको छ । कम्पनीको अध्यक्ष वीरेन्द्र बस्नेत हुन् । यति एयरलाइन्स सन् २००२ मा स्थापित यति एयरलाइन्स नेपालको पुरानो घरेलु एयरलाइन्समध्ये एक हो । कम्पनीमा एशियन लाइफ इन्स्योरेन्सको मुख्य सेयर स्वामित्व रहेको छ । कम्पनीमा एशियन लाइफको ४६.८२ प्रतिशत, ल्हाक्पा सोनाम शेर्पाको २५.०३ प्रतिशत र चन्दा शेर्पाको २०.०६ सेयर स्वामित्व रहेको छ । कम्पनीको अध्यक्ष समेत रहेका ल्हाक्पा सोनाम शेर्पासँग पर्यटन क्षेत्रमा ५० वर्षभन्दा बढीको अनुभवसहित यति एयरलाइन्सको नेतृत्व गरिरहेका छन् । साथै कम्पनीमा चन्दा शेर्पा प्रबन्ध निर्देशक, नोर्बु छिरिङ शेर्पालाई उपप्रबन्ध निर्देशक र चार्टर्ड एकाउन्टेन्ट सुभास सापकोटा प्रमुख कार्यकारी अधिकृत (सीईओ) रहेका छन् । यति एयरलाइन्सले गत आर्थिक वर्ष २०८१/८२ (सन् २०२५) को ९ महिनामा ४ अर्ब ११ करोड ७० लाख रुपैयाँ बराबरको कारोबार गरेको जनाएको छ । कम्पनीले सन् २०२४ मा ४ अर्ब २५ करोड ८० लाख रुपैयाँ, सन् २०२३ मा ३ अर्ब ७५ करोड ५० लाख रुपैयाँ, सन् २०२२ मा ३ अर्ब ९२ करोड रुपैयाँ र सन् २०२१ मा १ अर्ब ३९ करोड ६० लाख रुपैयाँ बराबरको कारोबार गरेको थियो । कम्पनीसँग ७२ सिट क्षमताका ७ वटा एटीआर विमान सञ्चालनमा रहेका छन् । जसमध्ये ६ वटा खरिद गरिएका हुन् भने एउटा भाडामा लिइएको कम्पनीले जनाएको छ । कम्पनीले घरेलु हवाई उद्योगमा १७ प्रतिशत हिस्सा ओगटेको दाबी गरेको छ । अघिल्लो वर्षको तुलनामा गत वर्ष कम्पनीको बजार हिस्सा घटेको देखिएको छ । सन् २०२३ जनवरी १५ मा कम्पनीको नाइनएन–एएनसी विमान पोखरा अन्तर्राष्ट्रिय विमानस्थल नजिकै दुर्घटनाग्रस्त भएपछि बजार हिस्सा घटेको कम्पनीले जनाएको छ । यसअघि सन् २०२३ मा कम्पनीको बजार हिस्सा २१ प्रतिशत थियो । कम्पनीले विभिन्न बैंक तथा वित्तीय संस्थाबाट ६ अर्ब ३६ करोड १६ लाख रुपैयाँ र २७.१९ मिलियन अमेरिकी डलर ऋण लिएको छ । श्री एयरलाइन्स एयर अनन्याको नाममा सन् १९९९ मा स्थापित कम्पनीले पछि नम परिवर्तन गर्दै श्री एयरलाइन्स बनेको हो । साढे दुई दशकदेखि नेपाली हवाई क्षेत्रमा सञ्चालनमा रहेको यस कम्पनीका मुख्य लगानीकर्ता सुधीर मित्तल हुन् । यसका संस्थापक अध्यक्ष भने बनवारीलाल मित्तल (स्वर्गीय) हुन् । मित्तलको यस कम्पनीमा ९९.८९ प्रतिशत सेयर लगानी छ । कार्यकारी अध्यक्ष मित्तलसँग उड्डयन क्षेत्रमा डेढ दशक भन्दा बढी अनुभव छ । श्री एयरलाइन्सले आन्तरिक हवाइ क्षेत्रमा १६ प्रतिशत (जुलाई २०२४) हिस्सा ओगट्दै तेस्रो स्थानमा रहेको छ । गत आव २०८१/८२ (सन् २०२५) को ६ महिनामा २ अर्ब ५७ करोड ४० लाख रुपैयाँ बराबरको कारोबार गरेको जनाएको छ । कम्पनीले सन् २०२४ मा ४ अर्ब ७ करोड २० लाख रुपैयाँ, सन् २०२३ मा ४ अर्ब २६ करोड ४० लाख रुपैयाँ, सन् २०२२ मा ३ अर्ब ४५ करोड ९० लाख रुपैयाँ र सन् २०२१ मा १ अर्ब ३८ करोड ३० लाख रुपैयाँ बराबरको कारोबार गरेको थियो । कम्पनीले १० वटा बम्बार्डियर विमानहरू सञ्चालन गरिरहेको छ । जसमा फिक्स्ड–विङ खण्डमा ३ जेट र ७ टर्बो प्रोप्स (भाडामा २ टर्बो प्रोप्स सहित) समावेश छन् । साथै, रोटर खण्डमा ६ वटा एमआई–८ हेलिकप्टर र दुई एयरबस सञ्चालनमा रहेको कम्पनीले जनाएको छ । कम्पनीको नेपालगञ्ज र धनगढीमा बलियो उपस्थिति छ । साथै तीन नयाँ टर्बो प्रोप्स विमान थपिएसँगै कम्पनीले पोखरा, सुर्खेत लगायत क्षेत्रमा पनि उडान विस्तार गरेको छ । यसले कम्पनीको बजार हिस्सा बढ्नुका साथै आम्दानी समेत वृद्धि हुने कम्पनीको बुझाइ छ ।
वार्षिक बिक्रीको ४० प्रतिशत सवारी नाडा अटो शोबाट
काठमाडौं । नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपाल (नाडा) का अध्यक्ष करण चौधरीले नेपालको अटोमोबाइल क्षेत्रले देशको अर्थतन्त्र र रोजगारीमा महत्त्वपूर्ण योगदान पुर्याएको बताएका छन् । मंगलबारदेखि काठमाडौंको भृकुटीमण्डपमा सुरु भएको १७ औं संस्करणको नाडा अटो शोको उद्घाटन समारोहलाई सम्बोधन गर्दै अध्यक्ष चौधरीले यो क्षेत्रले १० लाखभन्दा बढीलाई प्रत्यक्ष रोजगारी दिएको र ३ हजारभन्दा बढी व्यवसायीलाई संगठित गरेको दाबी गरे । उनले नाडा अटो शो केवल सवारीसाधनको प्रदर्शनी नभई समग्र अटोमोबाइल क्षेत्रको एक प्रमुख व्यावसायिक थलो भएको बताए । ‘नेपालमा वार्षिक बिक्री हुने कुल गाडीमध्ये करिब ४० प्रतिशत यही थलोबाट बुकिङ हुने गरेको छ,’ उनले भने, ‘यसले हाम्रो रोजगार र राजस्वमा ठूलो सहयोग पुर्याउँछ ।’ अध्यक्ष चौधरीले युवा शक्ति पलायन देशको प्रमुख चुनौती भएको उल्लेख गर्दै नाडाले सीप विकास र रोजगारी सिर्जनामार्फत यसलाई रोक्न पहल गरिरहेको बताए । ‘हामी सीप पनि दिन्छौं, रोजगार पनि दिन्छौं,’ उनले भने, ‘युवालाई देशमै अवसर छ भन्ने विश्वास दिलाउन हामी सरकारसँग सहकार्य गर्न तयार छौं ।’ सम्बोधनका क्रममा उनले सरकारले ल्याएको पछिल्लो बजेटको खुलेर प्रशंसा गरे । उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेललाई धन्यवाद दिँदै अध्यक्ष चौधरीले भने, ‘यो मेरो नाडाको दश वर्षे कार्यकाल, एक दशकमा मैले नदेखेको बजेट हो । यो स्वागतयोग्य छ र हामीले हर्षोल्लासका साथ मनाउनुपर्छ ।’ उनले सरकारका सकारात्मक कदमलाई प्रोत्साहन गर्नुपर्ने र आलोचना मात्र गर्ने परिपाटीबाट माथि उठेर सहकार्य गर्नुपर्नेमा जोड दिए । यस वर्षको अटो शोमा नयाँ आकर्षणहरू थपिएको जानकारी दिँदै चौधरीले पहिलो पटक ह्युमोनोइड रोबोट र दक्षिण एसियामै पहिलो पटक 'भर्टिकल फ्लाइङ ट्याक्सी ' सार्वजनिक गरिएको बताए । साथै ‘मेड इन नेपाल’ पविलियनमार्फत टायर, ब्याट्री, लुब्रिकेन्ट्स जस्ता स्वदेशमै उत्पादित पार्टपुर्जालाई प्रोत्साहन गरिएको उनको भनाइ थियो । सवारी खरिदमा फाइनान्सिङको समस्या रहेको स्वीकार्दै उनले आगामी मौद्रिक नीतिको समीक्षाबाट यसको समाधान निस्कनेमा आफू आशावादी रहेको बताए । उनले नाडाले उपभोक्ता, व्यवसायी र सरकार सबैको हितमा काम गर्न सधैं तयार रहेको प्रतिबद्धता व्यक्त गरे । कार्यक्रमको उद्घाटन प्रधानमन्त्री केपी शर्मा ओलीले गरेका हुन् ।
निजी मेडिकल कलेजमा बढाइएको सिट संख्याप्रति स्वास्थ्यकर्मीको आपत्ति
काठमाडौं । निजी मेडिकल कलेजमा एमबीबीएस र बिडिएस कार्यक्रमका लागि सिट संख्या बढाउने चिकित्सा शिक्षा आयोगको चिकित्सकहरूले आपत्ती जनाएका छन् । स्वास्थ्यकर्मीका लागि सुरक्षित कार्यस्थल संघर्ष समितिले तत्काल निर्णयलाई खारेज गर्न माग गरेको छ । अधिकांश कलेजहरूको क्षमता सय सिट भन्दा बढी नभएको भए पनि सय भन्दा बढी सिट दिने निर्णय गरेको भन्दै यसले शिक्षा गुणस्तर घटाउने समितिले जारी गरेको विज्ञप्तिमा आयोगले चेतावनी दिएको छ । जहाँ भनिएको छ, ‘सिट वृद्धि फगत व्यापारीहरूको नाफा बढाउने खेल बाहेक अरु केही हुन सक्दैन। यसमा चिकित्सा शिक्षा आयोगका अध्यक्ष तथा उपाध्यक्ष लगायत सम्पूर्ण पदाधिकारीहरू मुख्य दोषी देखिन्छन्। यस्तो दीर्घकालिक रुपमा चिकित्सा शिक्षालाई ध्वस्त बनाउने निर्णयलाई समेत आयोगका पदाधिकारीहरू स्वयम् नै ऐतिहासिक निर्णय भन्दै हिँड्नु खेदजनक छ ।’ माथेमा प्रतिवेदनले नेपालको सन्दर्भमाप्रति कलेज प्रतिवर्ष एक सय भन्दा बढी सिट नबढाउन स्पष्ट सिफारिस गरिसकेको छ । तर चिकित्सा शिक्षा आयोगले यसको विपरित सिट वृद्धि गरेको छ । यस्तो निर्णयले समग्र चिकित्सा शिक्षाको गुणस्तर खस्काउने, भविष्यमा बेरोजगार डाक्टरहरूको संख्या बढाउने, चिकित्सकमाथि श्रमशोषण बढाउने र अझै बढी सङ्ख्यामा चिकित्सकहरूलाई विदेशिन बाध्य पार्ने गम्भीर खतरा देखिने समितिको ठम्याइ छ । समितिले निहित स्वार्थका लागि व्यापारीहरूको अथाह नाफालाई बढाउन, नेपाली स्वास्थ्य सेवा र स्वास्थ्य शिक्षालाई दूरगामी नकारात्मक असर पार्ने निर्णयहरू द्रुत गतिमा गर्दै जाने कार्य शङ्कास्पद भएको भन्दै निन्दा गरेको छ । निजी मेडिकल कलेज सञ्चालकको फाइदाका लागि गरिएको यो अन्यायपूर्ण निर्णय गम्भीर परिस्थितिको सामान गर्नुपर्ने चेतावनी दिएको छ । समितिले आवश्यक परे सडक आन्दोलनमा उत्रने चेतावनी समेत दिएको छ । समितिले मेडिकल कलेजहरूको सिट वृद्धि गर्ने निर्णय खारेज गरी, आवश्यक अध्ययन, दीर्घकालीन योजना र राष्ट्रिय हितलाई ध्यानमा राखेर मात्र नीति बनाउन सरकार र सम्बन्धित निकायलाई आग्रह गरेको छ ।
ललितपुरको सातदोबाटोमा एमजीको डिलरशिप सुरु
काठमाडौं । ललितपुरको सातदोबाटोमा एमजीले नयाँ अधिकृत डिलरशिप सुरु गरेको छ । विश्वव्यापी एमजी मापदण्डअनुसार तयार गरिएको उक्त सुविधा ग्राहकलाई अन्तर्राष्ट्रिय स्तरको बिक्री तथा सेवा अनुभव प्रदान गर्ने उद्देश्यले सञ्चालनमा ल्याइएको हो । यस नयाँ डिलरशिप सञ्चालनको जिम्मा पीआर सप्लायर्सलाई दिइएको छ । प्यारामाउन्ट मोटर्सका निर्देशक निकुञ्ज अग्रवालको आतिथ्यमा भएको उद्घाटन कार्यक्रममा एमजीको उपस्थिति ललितपुरमा औपचारिक रूपमा विस्तार भएको जनाइएको छ । भदौ २ गतेदेखि ग्राहकले सातदोबाटोस्थित नयाँ शोरुममा गएर एमजीका प्रिमियम गाडी अवलोकन गर्ने, विशेषज्ञसँग सल्लाह लिनेदेखि प्रत्यक्ष रूपमा बुकिङ वा खरिद गर्न सक्ने सुविधा पाउनेछन् । कम्पनीले ललितपुर र वरपरका ग्राहकलाई सहज, व्यक्तिगत र आधुनिक कार खरिद अनुभव दिलाउने लक्ष्य राखेको जनाएको छ । उद्घाटन कार्यक्रममा बोल्दै निर्देशक अग्रवालले नयाँ डिलरशिपलाई पूर्ण एमजी अनुभवको प्रवेशद्वारका रूपमा उल्लेख गरे । उनले भने, 'यो केवल शोरुम मात्र होइन, विश्वस्तरीय डिजाइन, तालिमप्राप्त कर्मचारी र विस्तृत उत्पादन सूचीसहितको अनुभव हो । हामी ललितपुरका ग्राहकलाई शैली, प्रदर्शन र नवीनताको अद्वितीय संयोजन अनुभव गर्न स्वागत गर्दछौं ।'
बीवाईडी र साओमीसँगको भिडन्तमा टेस्लाको नयाँ हतियार ‘मोडेल वाई एल’
काठमाडौं । विद्युतीय कार निर्माता कम्पनी टेस्लाले आफ्नो नयाँ मोडेल वाई एल चीनमा छिट्टै आउने घोषणा गरेको छ । कम्पनीले सोमबार चिनियाँ सामाजिक सञ्जाल ‘वेइबो’मार्फत उक्त जानकारी दिँदै यसअघि नै चीनमा यो नयाँ मोडेल ल्याउने योजना बनाइसकेको जनाएको हो । मोडेल वाई एल कम्पनीको सबैभन्दा बढी बिक्री हुने मोडेल वाईको लामो ह्वीलबेस भएको ६ सिटे गाडी हो । टेस्लाले वेइबोमा सो नयाँ मोडेलको भिडियो पनि सार्वजनिक गरेको छ । चीनमा प्रतिस्पर्धा बढ्दै गएको अवस्थामा टेस्लाले आफ्नो उत्पादन लाइनअपलाई ताजा पार्दैछ । हालै साओमीले ल्याएको वाईयू सेभेन मोडेलसँगै प्रतिस्पर्धा झनै तीव्र भएको छ । माेडेल वाई एल एलन मस्कको टेस्लाले जुलाई महिनामा चीनमै बनेका आफ्ना इलेक्ट्रिक सवारीसाधनको बिक्रीमा ८.४ प्रतिशत गिरावट दर्ता गरेको थियो । चीनका प्रतिस्पर्धी कम्पनीहरूले सस्तो मूल्यमा इभी उपलब्ध गराइरहेको अवस्थामा मूल्ययुद्धका कारण गाडी निर्माता, आपूर्तिकर्ता र डिलरहरूमाथि दबाब बढ्दै गएको छ । यसबाहेक लामो दूरी तय गर्ने र पछाडिबाट चल्ने (रियर–ह्वील ड्राइभ) मोडेल ३ पनि चाँडै चीनको बजारमा आउँदैछ । यसबारेको विवरण चीनको उद्योग मन्त्रालयको वेबसाइटमा जुलाई महिनामा प्रकाशित भएको थियो । चीन अहिले विश्वकै सबैभन्दा ठूलो इलेक्ट्रिक सवारीसाधनको बजार हो । सरकारी प्रोत्साहन, चार्जिङ स्टेसनको तीव्र विस्तार र स्थानीय कम्पनीहरूको आक्रामक रणनीतिले गर्दा विदेशी कम्पनीहरू दबाबमा परेका छन् । बीवाईडी, निओ, एक्सपेङ्ग जस्ता चिनियाँ ब्रान्डहरूले मूल्य तथा प्राविधिक सुविधामा प्रयोगकर्तालाई आकर्षित गरिरहेका छन् । मोडेल वाई एल सन् २०२३ मा मात्र चीनमा करिब ८५ लाखभन्दा बढी इलेक्ट्रिक कार बिक्री भएका थिए, जुन विश्वकै कुल बिक्रीको आधाभन्दा बढी हो । यसले चीनलाई इभी प्रविधिको ‘केन्द्र’ बनाइदिएको छ । टेस्लाजस्ता विदेशी कम्पनीहरूले चीनलाई आफ्नो प्रमुख बजारका रूपमा हेरे पनि अब उनीहरूलाई स्थानीय प्रतिद्वन्द्वीहरूसँग लगातार मूल्य र गुणस्तरको प्रतिस्पर्धा गर्नुपर्ने अवस्था आएको छ । विशेषज्ञहरूको भनाइमा टेस्लाले ल्याउन लागेको मोडेल वाई एलले परिवारिक ग्राहकलाई लक्षित गरेको छ । चीनमा ठूलो साइजका बहु–सिट कारप्रति माग बढिरहेको छ, जसले गर्दा नयाँ भेरियन्टले कम्पनीको बिक्रीमा केही हदसम्म पुनः सुधार ल्याउन सक्ने अपेक्षा गरिएको छ । तर, बजार विश्लेषकहरूले भने टेस्लालाई केवल नयाँ मोडेल ल्याएर मात्र दीर्घकालीन सफलता पाउन कठिन हुने बताइरहेका छन् । मूल्ययुद्ध, ब्याट्री प्रविधिमा भएको तीव्र विकास र स्थानीय कम्पनीहरूको सस्तो उत्पादनले गर्दा कम्पनीले अझ गहिरो रणनीति अवलम्बन गर्नुपर्ने देखिन्छ । ईभी सपना साकार पार्न भिनफास्ट संस्थापकको १.५ अर्ब डलरको लगानी
हेटौँडा-काठमाडौं सडक पूर्ण रूपमा सञ्चालनमा
बागमती । हेटौँडा–काठमाडौं जोड्ने हेटौँडा–भिमफेदी–सिस्नेरी–काठमाडौं सडक सञ्चालनमा आएको छ । उक्त सडक खण्डअन्तर्गत मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–३ ज्यामिरेमा खसेको सुक्खा पहिरो पन्छाएपछि मंगलबार बिहानदेखि सडक पूर्ण रूपमा सञ्चालनमा आएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक श्यामु अर्यालले जानकारी दिए । सडकमा माथिबाट पहिरो खस्दा उक्त सडक शनिबारदेखि अवरुद्ध भएको थियो । अवरुद्ध सडकबाट पहिरो हटाइएपछि सडक सञ्चालनमा आएको प्रहरी नायब उपरीक्षक अर्यालले बताए ।