सुदूरपश्चिममा ६४ उजुरीमाथि विस्तृत अनुसन्धान गर्दै अख्तियार
भीमदत्तनगर । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय कञ्चनपुरले ६४ वटा उजुरीमाथि विस्तृत अनुसन्धान थालेको छ । महेन्द्रनगरमा रहेको अख्तियारको क्षेत्रीय कार्यालयले सुदूरपश्मिचमा विभिन्न उजुरीमाथि छानबिन गरी विस्तृत अनुसन्धान सुरु गरेको हो । आयोगको कञ्चनपुर कार्यालयका सूचना अधिकारी चेतराज भट्टले गत आर्थिक वर्षमा अख्तियार दुरुपयोग तथा अनियमितासम्बन्धी एक हजार ६९६ उजुरी परेको बताए । उनका अनुसार त्यसमा ४८९ उजुरी अघिल्लो आवको जिम्मेवारी सरेर आएका हुन् भने एक हजार १९८ नयाँ दर्ता भएका हुन् । आयोगको महेन्द्रनगरस्थित कार्यालयको तथ्याङ्कअनुसार सबैभन्दा बढी ४०४ उजुरी कैलालीका छन् भने सबैभन्दा कम डडेल्धुराका ११० उजुरी परेका छन् । त्यस्तै दर्ता भएका उजुरीमा कञ्चनपुरका २४६, अछामका २१०, बाजुराका १९५, बझाङका ११७, अछामका २१०, डोटीका १०४, बैतडीका १६१ र दार्चुलाका १४९ उजुरी रहेको कार्यालयको तथ्याङ्क छ । आयोगमा परेका उजुरीमध्ये करिब ५० प्रतिशत उजुरी स्थानीय तहसँग सम्बन्धित रहेको सूचना अधिकारी भट्टको भनाइ छ । त्यस्तैगरि अछाम र बैतडीका १३/१३ उजुरीमाथि विस्तृत अनुसन्धान भइरहेको छ भने बाजुरा, बझाङ र कञ्चनपुरमा समान छ/छ वटा उजुरीउपर विस्तृत अनुसन्धान चलिरहेको आयोगले जनाएको छ । त्यस्तै कैलालीका नौ, दार्चुलाका सात, डोटीका तीन र डडेल्धुराको एक उजुरीमाथि पनि विस्तृत अनुसन्धान हुँदैछ । विस्तृत अनुसन्धानपछि अनियमितता पुष्टि भए आयोगले विशेष अदालतमा मुद्दा दायर गर्नेछ । आयोगमा पर्ने अधिकांश उजुरी आशङ्का, व्यक्तिगत टकरावका कारण पनि आउने गरेको आवश्यक प्रमाण नभेटिँदा आयोगले स्क्रिनिङ्क र प्रारम्भिक अनुसन्धानबाटै फछ्र्योट गर्ने गरेको छ । आयोगले गत आवमा दर्ता भएका उजुरीमध्ये एक हजार २३४ उजुरी फछ्र्योट गरिएको छ । स्क्रिनिङ्गबाट ४८१, प्रारम्भिक छानबिनबाट ७५३ उजुरी फछ्र्योट गरिएको आयोगको कञ्चनपुर कार्यालयले जनाएको छ । साथै आयोगले ७३५ उजुरी तामेलिमा पठाएको छ भने दुई उजुरी सुझावसहित तामेली, २६० उजुरी आवश्यक कारबाहीका लागि सम्बन्धित निकायलाई लेखि पठाएको र १७२ उजुरी अन्यमा गाभिएको छन् । रासस
नाडा अटो शोमा स्काइवेलका १३१ वटा गाडी बुकिङ
काठमाडौं । भर्खरै सम्पन्न भएको नाडा अटो शोमा १३१ वटा स्काईवेलका गाडी बुकिङ भएको छ । नेपालका लागि स्काईवेलको आधिकारिक वितरक जी मोटर्सले यस्तो जानकारी दिएको हो । जी मोटर्सका अनुसार बीई ११ र ईटी ५ मोडल बुकिङ भएका हुन् । गाडी खरिद गर्नेहरूका लागि युरोप टुर, हिराको हार र लक्की ड्रमा रोलेक्स घडीजस्ता अफर राखिएको थियाे । जी मोटर्सका शोरुम नक्साल, राधेराधे भक्तपुर र इटहरीमा रहेका छन भने बिर्तामोड, पोखरा, चितवन र जनकपुरमा डिलर स्थापना भइसकेको छ । आउने दिनमा बुटवल, नेपालगञ्ज र धनगढीमा डिलर स्थापना गर्ने जी मोटर्सले जनाएको छ । स्काइवेलका विद्युतीय सवारी जर्मनी, इजरायल, टर्की र रसियालगायत ५८ भन्दा बढी देशमा बिक्री हुँदै आएको छ ।
करेन्ट पोइन्टको तेस्रो शाखा काठमाडौंको शंखमूलमा विस्तार
काठमाडौं । करेन्ट नुडल्सका उत्पादक यसोदा फुड्स प्रालिले लोकप्रिय आउटलेट ’करेन्ट पोइन्ट’को तेस्रो शाखा काठमाडौंको शंखमूलस्थित बिग मार्ट नजिकै सञ्चालनमा ल्याएको छ। बुटवल र काठमाडौंको अनामनगरमा रहेका आउटलेटले पाएको सफलता र उपभोक्ताको निरन्तर मागलाई ध्यानमा राख्दै, यसोदा फुड्सले हरितालिका तीजको अवसर पारेर नयाँ शाखा सुरु गरेको हो । नयाँ शाखामा करेन्ट नुडल्सका विभिन्न परिकार उपलब्ध हुनेछन् । विशेषगरी नूजा, यम्मी स्लर्प, क्रिस्पी रोल्स, र चिज पकेट जस्ता नयाँ र आकर्षक परिकारको स्वाद लिन सकिने कम्पनीले जनाएको छ । साथै, ग्राहकहरूले आफ्नो रुचिअनुसार मसला र स्वाद रोज्न सक्ने सुविधा पनि पाउनेछन् । उद्घाटन समारोहमा बोल्दै यसोदा फुड्सका अध्यक्ष चुन्न प्रसाद पौडेलले करेन्ट पोइन्टले बुटवल र अनामनगरमा पाएको अपार माया र सफलताले आफूहरूलाई काठमाडौंमा थप विस्तार गर्न प्रेरित गरेको बताए । उनले भने, 'काठमाडौंका नुडल्स पारखी, विशेषगरी पिरो र चट्पटा स्वाद मन पराउनेका लागि शंखमूललाई नयाँ गन्तव्य बनाउन हाम्रो लक्ष्य हो । यो नयाँ यात्राले उपभोक्ताको स्वादलाई अझ उचाइमा पुर्याउने अपेक्षा राखेका छौं ।' त्यस्तै, यसोदा फुड्सका ग्लोबल सिइओ जीपी शाहले करेन्ट पोइन्ट र करेन्ट स्न्याक्सबारे विस्तृत जानकारी प्रस्तुत गरे ।
सानिमा बैंकका ग्राहकलाई चिरायु नेशनल अस्पतालमा छुटको सुविधा
काठमाडौं । सानिमा बैंक लिमिटेडले ग्राहकलाई डिजिटल भुक्तानी प्रयोगमा प्रोत्साहित गर्न चिरायु नेशनल अस्पतालमा छुटको व्यवस्था गरेको छ । उक्त व्यवस्थाअन्तर्गत सानिमा भिसा डेबिटरक्रेडिट कार्ड तथा सानिमा मोबाइल बैंकिङ (क्युआर स्क्यानमार्फत) प्रयोग गरी भुक्तानी गर्दा अस्पतालको वेड र डायग्नोस्टिक शुल्क तथा फार्मेसी बिलमा १० प्रतिशतसम्म छुट प्राप्त गर्न सकिने बैंकले जनाएको छ । बैंकले यसअघि पनि विभिन्न अफर तथा छुटमार्फत ग्राहकलाई डिजिटल भुक्तानीतर्फ आकर्षित गर्दै आएको छ । छुटसम्बन्धी विस्तृत विवरण बैंकको आधिकारिक वेबसाइटमा उपलब्ध छ । सानिमा बैंकले हाल देशका सातै प्रदेशमा १३४ शाखा कार्यालय तथा १२७ एटीएममार्फत सेवा प्रदान गर्दै आएको छ ।
एक वर्षमा २० प्रतिशतले बढ्यो अडानी समूहको ऋण
काठमाडौं । अडानी समूहको भारतीय बैंकहरूमा निर्भरता बढ्दै गइरहेको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन् । भारतका दोस्रो ठूला धनी गौतम अडानीको नेतृत्वमा रहेको यस समूहले अहिले भारतीय बैंक र वित्तीय संस्थाहरूबाट पहिलेभन्दा धेरै ऋण लिएको छ । समूहको करिब आधा ऋण (२.६ लाख करोड भारु) घरेलु बैंक र वित्तीय संस्थाबाट लिएको छ । एक वर्षअघि यो आँकडा ४० प्रतिशत थियो । भारतीय रिजर्ब बैंक (आरबीआई)ले नीतिगत ब्याजदर घटाएपछि भारतमा ऋण लिन सजिलो भएको छ । साथै क्रेडिट रेटिङ राम्रो भएकाले पनि ऋण पाउन सहज भएको छ । पछिल्ला १२ महिनामा जुन २०२५ सम्म अडानी समूहको कुल ऋण २० प्रतिशतले बढेको छ । जुन २०२५ को अन्त्यसम्म अडानी समूहको भारतीय रुपैयाँमा लिएको ऋण ५० प्रतिशत पुगेको छ, जुन डलरमा लिएको ऋणसँग बराबरीमा आएको हो । सरकारी बैंकहरूको अडानी समूहमा एक्सपोजर बढेर १८ प्रतिशत पुगेको छ, जुन गत वर्ष १३ प्रतिशतमात्र थियो । त्यस्तै, एनबीएफसी र वित्तीय संस्थाहरूको एक्सपोजर पनि बढेर २५ प्रतिशत पुगेको छ, जुन एक वर्षअघि १९ प्रतिशत थियो । डलर बन्ड जुन पहिले ३१ प्रतिशत थियो, घटेर २३ प्रतिशतमा झरेको छ । विदेशी बैंकहरूबाट डलरमा लिएको ऋण पनि २८ प्रतिशतबाट घटेर २७ प्रतिशत पुगेको छ । निजी बैंकहरूले भने आफ्नो हिस्सा २ प्रतिशतमा यथावत् राखेका छन् । क्यास रिजर्भ केवल दुई वर्षमै अडानी समूहमा भारतीय बैंकहरूको एक्सपोजर १५ अर्ब डलर (झण्डै १.३ लाख करोड भारु) बढेको छ । यसले देखाउँछ कि यी बैंकहरूले अडानी समूहलाई ऋण दिन कति ठूलो भूमिका खेलेका छन् । अडानी समूहले लगानीकर्ताहरूलाई जानकारी दिएको छ कि उसले बन्दरगाह र ऊर्जा जस्ता क्षेत्रमा दीर्घकालीन सम्झौता गरेर आम्दानी स्थिर राखेको छ । साथै ऋणलाई उद्योगको औसतभन्दा कम राखिएको छ । समूहसँग ६० हजार करोड भारुको नगद (क्यास रिजर्भ) पनि छ, जुन उसको कुल ऋणको चौथाई हो । अडानी एयरपोर्टले बारक्लेस, डीबीएस, फस्र्ट अबु धबी बैंक र एमयूएफजीबाट १५० मिलियन डलरको सिन्डिकेटेड लोन लिएको छ । त्यस्तै, अडानी पोट्र्सले एमयूएफजी बाट १२५ मिलियन डलरको ऋण लिएको छ । एयरपोर्ट युनिटले घरेलु बैंकहरूबाट लिएको ऋणलाई पनि रिफाइनान्स गरिएको छ । यस अवधिमा समूहको नाफा ४० हजार ५६५ करोड भारु रह्यो र पूँजीगत खर्च बढेर १.२६ लाख करोड भारु पुग्यो । लिक्विडिटी र नेट डेट–टु–एबिटा अनुपात २.६ कायम रहँदा ऋण नियन्त्रणमा रह्यो । समूहको ९० प्रतिशतभन्दा बढी आम्दानी एए–रेटिङ वा सोभन्दा उत्कृष्ट सम्पत्तिबाट आएको छ । यस कारण समूहलाई कम ब्याजदरमा ऋण प्राप्त भइरहेको छ र घरेलु तथा विदेशी दुवै पूँजीमा सजिलो पहुँच बनिरहेको छ ।
विद्युत् आपूर्ति व्यवस्थित बनाउन म्याग्दीमा १० करोडको योजना सुरु
म्याग्दी । जिल्लामा विद्युत् वितरण प्रणाली सुदृढीकरण योजना सञ्चालनका लागि नेपाल विद्युत् प्राधिकरणले १० करोड रुपैयाँ बजेट विनियोजन गरेको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइ राज्यमन्त्री खमबहादुर गर्बुजाले विद्युतीय दुर्घटनाको जोखिम घटाउने, विद्युत् आपूर्ति र वितरणलाई व्यवस्थित तथा गुणस्तरीय बनाउनका लागि चालु आर्थिक वर्षमा योजना सुरु हुने जानकारी दिए । 'जोखिमयुक्त ठाउँमा नाङ्गो तार हटाएर एबिसी केबुल राख्ने, ट्रान्सफर्मरको क्षमता बढाउने, फिडर थप्ने र ट्रिपिङ हुन नदिने उपकरण जडान गरिनेछ', उनले भने, 'ट्रिपिङका कारण विद्युत् आपूर्ति अनियमित हुने समस्यालाई हटाउन यो योजनाले मद्दत गर्नेछ ।' मिलनचोक, रातोढुङ्गा र घराप सबस्टेसनमार्फत म्याग्दीमा वितरण हुने केन्द्रीय प्रसारणलाइनको कुनैएक ठाउँमा समस्या हुँदा सबै ठाउँमा विद्युत् आपूर्ति बन्द हुने (ट्रिपिङ) को समस्या भएकाले सो समस्या अन्त्यका लागि उक्त योजना सहयोगी हुने म्याग्दी वितरण केन्द्रका प्रमुख सत्यनारायण गामीले विश्वास व्यक्त गरे । विद्युत् वितरण प्रणाली सुदृढीकरणका लागि जिल्लामा पहिलोपटक पर्याप्त बजेट विनियोजन गरेर योजना भित्र्याइएको राज्यमन्त्री गर्बुजाले बताए । यहाँको राहुघाट र म्याग्दी नदी ‘बेसिन’का जलविद्युत् आयोजनाबाट उत्पादन हुने विद्युत्लाई केन्द्रीय प्रणालीमा आबद्ध गराउन निर्माणाधीन १३२ केभी क्षमताको डाँडाखेत–राहुघाट सबस्टेसन र प्रसारणलाइनलाई पूर्णताः दिन मन्त्रालयबाट पहल भएको उनले उल्लेख गरे । जिल्लाका १४ स्थानका दुई हजार १८३ घरधुरीमा राष्ट्रिय प्रसारणलाइनको विद्युत् सुविधा विस्तारका लागि प्राधिकरणले आर्थिक वर्ष २०८०/८१ देखि २२ करोड रुपैयाँ बजेटको योजना सञ्चालन गरेको प्रमुख गामीले जानकारी दिए । उनका अनुसार ‘उज्यालो म्याग्दी कार्यक्रम’मार्फत धौलागिरि गाउँपालिका–१ गुर्जाबाहेकका बस्तीहरूमा यो वर्ष केन्द्रीय प्रसारणलाइनको विद्युतीकरण गर्ने तयारी भएको छ । उक्त कार्यक्रममार्फत आर्थिक वर्ष २०८१/८२ मा ८७४ र आव २०८०/८१ मा एक हजार ४३८ घरमा विद्युतीकरण भएको गामीले बताए । उनका अनुसार म्याग्दी वितरण केन्द्रअन्तर्गत २३ हजार ८६९ सेवाग्राही छन् । पर्वतको जलजला गाउँपालिकाको मल्लाज, बारीबेनी क्षेत्रमा पनि केन्द्रअन्तर्गतको मिलनचोक सबस्टेसनमार्फत विद्युत् वितरण हुँदै आएको छ ।
वीरगञ्जमा समुदायस्तरमै फैलियो हैजा, अहिलेसम्म ७९ जना सङ्क्रमित फेला
वीरगञ्ज । वीरगञ्ज महानगर क्षेत्रमा समुदायस्तरमा नै हैजाको सङ्क्रमण फैलिए पनि अहिलेसम्म हैजाको स्रोत भने अहिलेसम्म पत्ता लाग्न सकेको छैन । गत शुक्रबारदेखि वीरगञ्जका विभिन्न वडामा हैजाका सङ्क्रमित बिरामी भेटिँदै आइरहेका छन् । स्वास्थ्य कार्यालय पर्साका जनस्वास्थ्य अधिकृत जयमोद ठाकुरले अहिलेसम्म वीरगञ्जमा ७९ जना हैजाका सङ्क्रमित बिरामी फेला पारेको जानकारी दिए । ‘आइतबार बेलुका ८ः०० बजेसम्म हैजाका सङ्क्रमित ७१ जना भेटिएका थिए,’ उनले भने, ‘सोमबार बिहानसम्म थप आठ जना हैजाका सङ्क्रमित भेट्टिएका छन् । हैजाको मुख्य स्रोत अहिलेसम्म पत्ता लागेको छैन,’ उनले भने । ‘विश्व स्वास्थ्य सङ्गठनलगायतका प्रतिनिधिले आइतबारदेखि यहाँका पानीको परीक्षणलगायतका गरिरहनुभएको छ । सम्भवतः आजसम्म हैजाको स्रोतको पहिचान हुने आशा राखेका छौं,’ उनले थपे । नारायणी अस्पताल वीरगञ्जका प्रवक्ता डा. उदयनारायण सिंहले आइतबारसम्म अस्पतालमा ३० जना बिरामी भर्ना भएको जानकारी दिए । ‘नारायणी अस्पतालमा हैजाको उपचारको लागि शय्या र जनशक्ति दुवैको अभाव देखिएको छ,’ उनले भने, ‘अहिलेसम्म कुनै पनि निकायबाट आवश्यक पर्ने सहयोग आइपुगिसकेको छैन । अहिलेसम्म कागजी प्रक्रियामा सहयोग गर्ने भने तापनि वास्तविक रूपमा आवश्यक पर्ने जनशक्ति र अन्य उपचारका सामग्री आइपुगिसकेको छैन ।’ प्रवक्ता सिंहले हैजाको महामारीको साथसाथै अन्य विभिन्न किसिमका बिरामीको चाप पनि थेग्नै नसकिने प्रकृतिको रहेको गुनासो गरे । ‘हामीले यो महामारीबाहेक अन्य खालका विभिन्न महामारीसँग पनि लडिरहेका छौँ । सर्पदंशको बिगबिगी छ । ज्वरो, प्यारालाइसिसलगायत बिरामीको चाप भए पनि जनशक्ति पर्याप्त नहुँदा भने व्यवस्थापन गर्न मुस्किल भइरहेको छ,’ उनले भने, ‘भएका जनशक्तिले अत्यधिक काम गर्न परिरहेको छ । तर अस्पतालमा अहिले आन्तरिक र बाह्य दुवै खालको सहयोग छैन ।’ प्रवक्ता सिंहले वीरगञ्जमा विश्व स्वास्थ्य सङ्गठनका प्रतिनिधि आएर पानीको परीक्षणलगायतका आवश्यक काम गरिरहेकाले पनि सम्भवतः आजै हैजाको स्रोतको प्रारम्भिक रिपोर्ट आउन सक्ने जानकारी दिए । नारायणी अस्पतालमा जाँच गर्दा २६ जना बिरामीमा कलेरा सङ्क्रमित देखिएका छन् । त्यस्तै तराई अस्पतालमा २५ जना, नेशनल मेडिकल कलेजमा नौ जना, भवानी अस्पतालमा तीन जना कलेरा सङ्क्रमित बिरामी भेट्टिएका हुन् । त्यस्तैगरी वीरगञ्ज हेल्थ केयर, अली अर्थो अस्तताल, मङ्गलम प्याथोलोजीमा दुई–दुई जनाको दरले आठ जना हैजा कोलेरा सङ्क्रमित बिरामी भेट्टिएका छन् । थप आठ जना बिरामी सोमबार विहानीको समयमा थपिएको सोको विवरण कुन अस्पतालमा परीक्षण गरिएको खुल्न सकेको छैन ।
सेनाले सम्पन्न गर्यो साढे दुई करोडमा २२ शीघ्र प्रभावी आयोजना
काठमाडौं । नेपाली सेनाले आर्थिक वर्ष २०८१/८२ मा संविधानप्रदत्त जिम्मेवारीका अतिरिक्त कम समयमा न्यूनतम लगानी गरी बढीभन्दा बढी जनसमुदाय प्रत्यक्षरूपमा लाभान्वित गराउने उद्देश्यले विभिन्न २२ वटा शीघ्र प्रभावी आयोजना सम्पन्न गरेको छ । सांस्कृतिक तथा पुरातात्विक महत्त्वका संरचनाको मर्मत सम्भार गरी इतिहास एवं संस्कृतिको संरक्षण र समुदायको आवश्यकतामा प्रत्यक्ष टेवा पुर्याउन दुई करोड ५६ लाखको लागतमा ती आयोजना सम्पन्न गरिएको नेपाली सेनाका सहायकरथी एवम् प्रवक्ता राजाराम बस्नेतले जानकारी दिए । गतवर्ष उपत्यका पृतनाअन्तर्गत एक, पूर्वी, मध्यपूर्वी, मध्य, पश्चिम, मध्य पश्चिम, उत्तर पश्चिम र सुदूरपश्चिम पृतनाअन्तर्गत तीन/तीन वटा शीध्र प्रभावी आयोजना कार्यान्वयनमा ल्याएको थियो । इतिहाससँगै स्थानीय संस्कृतिको जगेर्ना तथा नेपाल एकीकरणको दौरान प्रयोग भएका रणनीतिक एवं ऐतिहासिक महत्वका विभिन्न मठमन्दिर, कोटगढी र दरबारको मर्मत-सम्भार गरिएको छ । सेनाले पुरातत्व विभागसँगको समन्वयबाट परम्परागत निर्माण सामग्रीको प्रयोग गरी बाजुरा स्थित ऐतिहासिक, पुरातात्विक एवं धार्मिक महत्वको बडी मालिका मन्दिर पुनर्निर्माण सम्पन्न गरेको छ । गत वर्ष सेनाले उदयपुरस्थित चौदण्डी गढी, ओखलढुंगाको तलुवागढी, चितवनको उपरदाङ्ग गढी, नुवाकोटको बेलकोट गढी, लमजुङको पुरानकोट, सुर्खेतको बयलकाँडा गढी, डडेलधुराको अमरगढी र पाल्पाको माथागढी तथा गुल्मीको मुसिकोट दरबारको स्तरोन्नति तथा मर्मत-सम्भार गरेको प्रवक्ता बस्नेतले जानकारी दिए । त्यसैगरी सामाजिक मूल्य र मान्यतालाई अक्षुण्ण राखी एकताभाव जागृत गर्ने सांस्कृतिक तथा पर्यटकीय महत्वकाविभिन्न सम्पदाको जगेर्ना गरिएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ । इलामको माई स्थान मन्दिर, रामेछापको तिल्केस्थान गढीमा रहेको देवी मन्दिर, नुवाकोटको बेलकोटगढीस्थित निरञ्जना भगवती मन्दिरको स्तरोन्नति गरिएको छ । चितवनको देवघाटस्थित महेश आश्रममा गौशाला, मुस्ताङस्थित कागबेनीमा श्राद्ध स्थलमा ट्रसघर, पर्वतको कटुवाचौपारीमा पुजारी बस्ने कोठासहितको ट्रसघर निर्माण गरिएको छ । महिला तथा विकट क्षेत्रका छात्र/छात्राको विद्यालय पहुँचमा सहजता पुर्याउने उद्देश्यले छात्रा शौचालय निर्माण गरिएको छ । सेनाले महोत्तरीको सोनम गाउँपालिकास्थित सरस्वती जनता माविमा छात्रालाई लक्षित गरी चार कोठे छात्रा शौचालय तथा दैलेखको दुल्लु नगरपालिका स्थित तीर्थस्थल पञ्चकोशी मावि वेद विद्या आश्रममा अध्ययनरत छात्रका लागि सेड घर निर्माण गरेको छ । यस्तै ‘एक पालिका, एक हेलिप्याड’को नीतिमा सहयोग पुर्याउने लक्ष्यका साथ मुगुको मुगुम कार्मारुङ गाउँपालिकामा हेलिप्याड निर्माण गरिएको छ । यसले जटिल प्रसूति समस्यामा पर्न सक्ने सुत्केरी तथा गर्भवती महिलाको हवाई उद्धार एवं विपद् तथा विभिन्न दुर्घटनाका दौरान आकस्मिक उद्धार कार्यमा समेत सहज बनाउने विश्वास गरिएको छ । डडेलधुरा र डोटीका स्थानीयलाई खानेपानीको सहज पहुँच पुर्याउन पिउने पानी ट्यांकी निर्माण, पाइपलाइन विस्तार तथा धाराको जडान गरिएको छ । पर्यटन तथा पर्यावरणलाई टेवा पुर्याउने उद्देश्यले काठमाडौंको नारायणहिटी सङ्ग्रहालय परिसरमा रहेको झिल पोखरीको मर्मत सम्भारका साथै बाराको कलैया बजारमा नेपालको झन्डा तथा मोनोग्राम निर्माणको कार्य सुरु गरिएको पनि सेनाले जानकारी दिएको छ । गत आवमा सम्पन्न भएका शीघ्र प्रभावी आयोजना सम्बन्धित स्थानीय निकायलाई हस्तान्तरण गरिएको पनि सेनाले जनाएको छ । शीघ्र प्रभावी आयोजनाको कार्यान्वयनबाट स्थानीय जनतामा आफ्नो टोल तथा सहरको विकास निर्माण सरसफाइलगायत सौन्दर्यीकरणमा अपनत्व जागृत गराउनुका साथै जनसमुदायमा राष्ट्रिय एकताको भावना समेत अभिवृद्धि हुने विश्वास लिएको छ । रासस