विकासन्युज

बढ्यो सुनको मूल्य, तोलाको कति ?

काठमाडौं । नेपाली बजारमा सोमबारको तुलनामा आज सुनचाँदीको मूल्य बढेको छ । सुनको मूल्य तोलमा १ हजार ५०० र चाँदीमा ५ रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला सुनको मूल्य १ लाख ९८ हजार ७०० निर्धारण भएको छ । त्यति नै परिमाणको चाँदी २ हजार ३६० मा खरिदबिक्री भइरहेको छ ।  सोमबार एक तोला सुन १ लाख ९७ हजार २०० मा किनबेच भएको थियो भने त्यति नै परिमाणको चाँदी २ हजार ३५५ मा किनबेच भएको थियो ।  अन्तरराष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार आज प्रतिऔंस सुन तीन हजार ३७२ अमेरिकी डलरमा कारोबार भइरहेको छ । 

एनआईएमबिका ५ वटा शाखा कार्यालय गाभिए

काठमाडौं । नेपाल इन्भेष्टमेण्ट मेगा बैंक (एनआईएमबि) का विभिन्न शाखा कार्यालय गाभिएका छन् । बैंकका एकै स्थानमा रहेका ५ वटा शाखा कार्यालय गाभिएका हुन् । शाखा कार्यालय एक आपसमा गाभ्न नेपाल राष्ट्र बैंकबाट स्वीकृतीपश्चात् विभिन्न ठाउँमा रहेका ५ वटा शाखा गाभिएका हुन् ।  गाभिने शाखा कार्यालयबाट बैंकिङ कारोबार गरिरहेका ग्राहकहरूले अब उप्रान्त गाभ्ने शाखा कार्यालयबाट कारोबार सुचारू गर्न बैंकले अनुरोध गरेको छ ।  बैंकका अनुसार कास्कीको पोखरा महानगरपालिका-६ गौरीघाट शाखा सेन्टर पोइन्टस्थित लेकसाइड शाखामा गाभिएको छ । यस्तै, पोखरा महानगरपालिका-८ स्थित रत्न चोक शाखा श्रृजना चोक पोखरा-२ शाखामा गाभिएको छ । चितवनको भरतपुर महानगरपालिका-१० स्थित भरतपुर हाइट शाखा हाकिम चोकमा, कैलालीको एलएन चोक शाखा मेनरोड धनगढी शाखामा गाभिएको बैंकले जनाएको छ ।  यस्तै, धनुषाको जनकपुर उपमहानगरपालिका-१ मिल्स एरियास्थित जनकपुर शाखा जनकपुर उपमहानगरपालिका-२ जनक चोकमा रहेको शाखामा गाभिएको बैंकले जनाएको छ ।  यस्तै, बैंकको पोखरा महानगरपालिका-८ सभागृह चोकमा रहेको शाखा १ सय मिटर दक्षिणतर्फ स्थानान्तरण गरिएको बैंकले जनाएको छ ।

हवाइ क्षेत्रमै पहिलो आईपीओ निकाल्दै श्री एयरलाइन्स, यस्ताे छ बिजनेस

काठमाडौं । नेपाली हवाइ क्षेत्रमा तेस्रो ठूलो कम्पनीको रुपमा रहेको श्री एयरलाइन्सले आईपीओ निष्काशन गर्ने भएको छ । सञ्चालक समितिको भदौ ९ गते बसेको बैठकले सर्वसाधारणलाई आईपीओ निष्काशन गर्ने निर्णय गरेको हो ।  साढे दुई दशकदेखि नेपाली हवाइ क्षेत्रमा सञ्चालनमा रहेको श्री एयरलाइन्सले आन्तरिक हवाइ क्षेत्रमा १६ प्रतिशत (जुलाई २०२४) हिस्सा ओगट्दै तेस्रो स्थानमा रहेको छ । यस कम्पनीका मुख्य लगानीकर्ता सुधीर मित्तल हुन् । यसका संस्थापक अध्यक्ष भने बनवारीलाल मित्तल (स्वर्गीय) हुन् । मित्तलको यस कम्पनीमा ९९.८९ प्रतिशत सेयर लगानी छ । कार्यकारी अध्यक्ष मित्तलसँग उड्डयन क्षेत्रमा डेढ दशक भन्दा बढी अनुभव छ । आईपीओ जारी गर्ने प्रस्तावसहित वार्षिक साधारण सभा बोलाएको छ । कम्पनीको वार्षिक साधारण सभा असोज २ गते कम्पनीको रजिष्ट्रर्ड कार्यालयमा बिहान ११ बजे बोलाएको छ ।  सभामा कम्पनी भित्रका यावत गतिविधि एवं आईपीओ निष्काशन गर्ने शिलशिलामा हालसम्म भए गरेका कार्य प्रगतिको समीक्षा एवम् भावी कदमको सम्बन्धमा छलफल गर्नेछ । यस्तै, आईपीओ निष्काशनका लागि आवश्यक प्रबन्ध पत्र र नियमावलीमा शंसोधन गर्न अख्तियारी दिनेछ ।  यस्तै, आर्थिक वर्ष २०८१/८२ को सञ्चालक समितिको प्रतिवेदन, लेखापरीक्षण प्रतिवेदन र आर्थिक वर्ष २०८२/८३ को लागि लेखापरीक्षकको नियुक्ति र पारिश्रमिक निर्धारण गर्नेछ ।  कम्पनीले १० वटा बम्बार्डियर विमानहरू सञ्चालन गरिरहेको छ । जसमा फिक्स्ड-विङ खण्डमा ३ जेट र ७ टर्बो प्रोप्स (भाडामा २ टर्बो प्रोप्स सहित) समावेश छन् । साथै, रोटर खण्डमा ६ वटा एमआई-८ हेलिकप्टर र दुई एयरबस सञ्चालनमा रहेको कम्पनीले जनाएको छ । कम्पनीको नेपालगञ्ज र धनगढीमा बलियो उपस्थिति छ । साथै तीन नयाँ टर्बो प्रोप्स विमान थपिएसँगै कम्पनीले पोखरा, सुर्खेत लगायत क्षेत्रमा पनि उडान विस्तार गरेको छ । यसले कम्पनीको बजार हिस्सा बढ्नुका साथै आम्दानी समेत वृद्धि हुने कम्पनीको बुझाइ छ । गत आव २०८१/८२ (सन् २०२५) को ६ महिनामा २ अर्ब ५७ करोड ४० लाख रुपैयाँ बराबरको कारोबार गरेको जनाएको छ ।  कम्पनीले सन् २०२४ मा ४ अर्ब ७ करोड २० लाख रुपैयाँ, सन् २०२३ मा ४ अर्ब २६ करोड ४० लाख रुपैयाँ, सन् २०२२ मा ३ अर्ब ४५ करोड ९० लाख रुपैयाँ र सन् २०२१ मा १ अर्ब ३८ करोड ३० लाख रुपैयाँ बराबरको कारोबार गरेको थियो ।

पशुपतिनाथमा चारवटै ढोका खुला, बाहिर ४ र भित्र ८ लाइन

काठमाडौं । हरितालिका (तीज) पर्वमा पशुपतिनाथको दर्शन गर्न आउने भक्तजनका लागि मूल मन्दिरका चार ढोका बिहान ३ बजेदेखि खोलिएको पशुपति क्षेत्र विकास कोषले जनाएको छ । तीजका अवसरमा भगवान श्रीपशुपतिनाथको दर्शनार्थी पाल्ने भक्तजन एवं विशेषगरी हिन्दू नारीहरुलाई सहज रुपमा दर्शन गर्न पाउने व्यवस्थाका लागि पशुपतिनाथका चार ढोका बिहान ३ बजेदेखि नै चार ढोका खुला गरिएको कोषका निमित्त सदस्य सचिव सुभासचन्द्र जोशीले जानकारी दिए । चार ढोका खुलासँगै सेवासुविधाका लागि आवश्यकपर्ने सुरक्षा, स्वयंसेवा, चन्दनप्रसादको व्यवस्था, दर्शनमार्गको व्यवस्था एवं सुधार, जुत्ताचप्पल राख्ने ठाउँको व्यवस्था, आकस्मिक स्वास्थ्य सेवा, उपासनासहितको मनोरञ्जनात्मक गीत, भजन कीर्तन, दिपावली, व्रतालुहरुको गौदान गर्ने स्थानको व्यवस्थालगायतका लागि पनि काम भएको उनले बताए । पशुपति क्षेत्रको बाहिरी भागबाट पशुपतिनाथ मन्दिर छिर्ने चार वटा लामको व्यवस्था गरिएको छ । पहिलो लाम गौरीघाट-उमाकुण्ड-दक्षिणामूर्ति-रुद्रगाडेश्वर-वासुकी हुँदै उत्तरढोकाबाट मन्दिर प्राङ्गण प्रवेश गरी पश्चिम मूलढोकाबाट बाहिर निस्किएर कैलाश दक्षिण जुत्ताचप्पल कक्षबाट जुत्ताचप्पल लिई फर्कने व्यवस्था मिलाइएको छ । दोस्रो लाम मित्रपार्क-जयबागेश्वरी-पाँचागणेश-भीमसेनस्थान-भूवनेश्वरी-शङ्कराचार्य मठ दक्षिण हुँदै फलामे पुल पश्चिम सानो ढोकाबाट मन्दिर प्राङ्गण प्रवेश गरी पश्चिम मूलढोका हुँदै बाहिरिने र शङ्कराचार्य मठ दक्षिण जुत्ताचप्पल कक्षबाट जुत्ताचप्पल लिई फर्कने व्यवस्था मिलाइएको छ । तेस्रो लाम पिङ्गलास्थान-चारशिवालय-पञ्चदेवल-बज्रघर-दक्षिण ढोकासम्मको लाइनलाई कोटीलिटेश्वर मन्दिर छेउको सानो ढोकाबाट मन्दिर प्राङ्गण प्रवेश गरी दक्षिण ढोका हुँदै बाहिरिने र पञ्चदेवल पूर्व अस्थायी रुपमा निर्माण गरिएको जुत्ताचप्पल कक्षबाट जुत्ताचप्पल लिई फर्कने व्यवस्था मिलाइएको छ । चौथो लाम  तिलगङ्गा-राम मन्दिर हुँदै वागमती नदी पूर्व किनार हुँदै आर्यघाट नजिकको पुल तरेर श्रीपशुपतिनाथ मन्दिरको पूर्व ढोकाबाट प्रवेश गरी पूर्व ढोकाबाटै बाहिरिने र आर्यघाट नजिकको पुलसँगैको अस्थायी जुत्ताचप्पल कक्षबाट जुत्ताचप्पल लिइ फर्कने व्यवस्था मिलाइएको छ । मूल मन्दिरभित्र भने आठ वटा लामको व्यवस्था गरिएको कोषका निमित्त सदस्य सचिव जोशीले जानकारी दिए ।  दर्शनार्थीहरुले छिटो दर्शन गरी फर्कन सक्नेगरी बिहान ३ बजेदेखि नै  मन्दिरका चारवटै ढोका खोल्ने व्यवस्था मिलाइएको उनले सुनाए । श्रीपशुपतिनाथको मन्दिरमा गरिने श्रीयन्त्र पूजाको समयमा समेत जाली राखी बाहिरबाटै दर्शन गर्नसक्ने गरी व्यवस्था मिलाइएको छ । श्रीपशुपतिनाथको दर्शन गरी फर्कंदा पशुपतिनाथ मन्दिर प्राङ्गणभित्र दर्शनार्थी र अन्य भक्तजनको सुविधाका लागि मन्दिरको चन्दन पश्चिम ढोका बाहिर सानोसदावर्त सत्तल, पञ्चदेवल पूर्वदक्षिण, उमाकुण्ड, दक्षिणामूर्ति, तिलगङ्गा वनकाली, गौशाला, जयवागेश्वरीमासमेत वितरणको व्यवस्था मिलाइएको छ । पर्यटक प्रवेश शुल्क तिरी टिकट लिएका तेस्रो मुलुकका पर्यटकलाई मेला क्षेत्रमा (मन्दिर प्राङ्गणबाहेक) अवलोकन भ्रमण गर्न दिइने कोषका सूचना अधिकारी अनिता भट्टले बताइन् । भक्तजनबाट गौदान, पूर्णपात्रोजस्ता ब्राह्मण प्रयोग गरी गरिने धार्मिक कार्यका लागि भकुण्टोल-वनकाली मार्गको दायाँबायाँ क्षेत्रमा व्यवस्था मिलाइएको पनि उनले सुनाइन् ।  बहुमूल्य गरगहना लगाएर र बालबालिकालाई साथमा लिएर पशुपतिनाथको दर्शनमा नआउन कोषले भक्तजनमा अनुरोध गरेको छ । भगवान श्रीपशुपतिनाथका नित्य दर्शनार्थीहरु बिहान ५ः३० बजेसम्मका लागि मात्र उपर्युक्तानुसारका चार ढोकामध्ये जुनसुकै ढोकाबाट प्रवेश गरी दर्शन गर्नसक्ने व्यवस्था मिलाइएको छ ।  मन्दिर दर्शनका लागि कुनै पनि किसिमको पासको व्यवस्था नगरिएको कोषका कोषाध्यक्ष नारायणप्रसाद सुवेदीले जानकारी दिए । 

वीरगञ्जमा घटेन हैजा सङ्क्रमतिको सङ्ख्या, १७८ जना उपचारपछि घर फर्किए

काठमाडौं । वीरगञ्ज महानगरमा सोमबारसम्म हैजाबाट सङ्क्रमित हुनेको सङ्ख्या ९३ पुगेको छ । महानगरमा हैजा रोकथाम र नियन्त्रणका लागि तीनवटै सरकारले अधिकतम प्रयास जारी राखे पनि हैजा सङ्क्रमतिको सङ्ख्या घटेको छैन ।  आइतबार बेलुकासम्म ७१ जनामा हैजाको सङ्क्रमण पुष्टि भएको थियो । स्वास्थ्य कार्यालय पर्साका जनस्वास्थ्य अधिकृत जयमोद ठाकुरले अहिलेसम्म वीरगञ्जमा ९३ जना हैजाका सङ्क्रमित फेला पारेको जानकारी दिए । उनका अनुसार हालसम्म वीरगञ्जका विभिन्न अस्पतालमा १६६ जना हैजाका बिरामी उपचाररत रहेको र १७८ जना उपचारपछि घर फर्किएका छन् । नारायणी अस्पतालमा  आरडिटी जाँचमा  ३२ जना बिरामीमा कलेरा सङ्क्रण भेटिएको छ । साथै तराई अस्पतालमा ३२ जना, नेशनल मेडिकल कलेजमा १२ जना, भवानी अस्पतालमा, वीरगञ्ज हेल्थ केयर, मङ्गलम प्याथोलोजीमा ३/३ जनामा हैजाको सङ्क्रमण देखिएको छ । अर्ली अर्थो अस्पतालमा भने दुई जना हैजाका बिरामी भेटिएका छन् । त्यस्तैगरी, नारायणी सेन्ट्रल अस्पताल, एड्भान्स मेडिकेयर, नेपाल इन्डो अस्पताल, नीलकण्ठ अस्पताल, नेपाल मेडिसिटी बयोधा अस्पताल, सर्वोत्तम अस्पतालमा पनि हाल एक/एक जना हैजाका बिरामी भेटिएका छन् । अहिलेसम्म अस्पताल आइपुगेका झाडापखाला र हैजाका बिरामीको सङ्ख्या ३४४ रहेको छ । जसमध्ये २७ जना आइसियुमा, ६ जना एचडिसियु र १२२ जनाको जनरल वार्डमा उपचार भइरहेको छ । 

नागरिकताभन्दा राहदानी बनाउने धेरै

काठमाडौं । झापा जिल्लामा नागरिकता प्रमाणपत्रभन्दा राहदानी प्रमाणपत्र लिनेको सङ्ख्या धेरै छ । जिल्ला प्रशासन कार्यालयसहित दमक र गौरीगञ्जको इलाका प्रशासन कार्यालयबाट नागरिकता र राहदानी वितरण हुँदै आएको छ ।  सहायक प्रमुख जिल्ला अधिकारी डोरेन्द्र निरौलाका अनुसार साउनमा झापामा १ हजार २८९ जनालाई नेपाली नागरिकता प्रमाणपत्र वितरण गरिएको छ । जबकि सोही महिनामा २ हजार ३३३ जनालाई राहदानी प्रमाणपत्र वितरण भएको छ । नागरिकतामध्ये वंशजको आधारमा लिनेहरू १ हजार २३० जना छन् भने वैवाहिक अङ्गीकृत ५५ जनाले र गैरआवासीय नागरिकता ४ जनाले लिएको निरौलाले बताए । गत एक वर्षको तथ्याङ्कले समेत नागरिकताको तुलनामा राहदानी लिनेहरू धेरै रहेको देखाउँछ । आर्थिक वर्ष २०८१/८२ मा झापामा २२ हजार ७७७ जनालाई नागरिकता प्रमाणपत्र वितरण गरिएको थियो । सोही आवमा झापाबाट राहदानी प्रमाणपत्र लिनेको सङ्ख्या ३३ हजार २२४ पुगेको सहायक प्रजिअ निरौलाले जानकारी दिए । गत वर्ष नागरिकताको तुलनामा राहदानी लिनेहरू १० हजार ४४७ ले बढी थिए । उक्त आवमा बंशजको आधारमा २२ हजार ४० जनाले, वैवाहिक अङ्गीकृतको आधारमा ६७५ जनाले र गैरआवासीयको आधारमा ६२ जनाले नेपाली नागरिकता प्रमाणपत्र लिएको पाइएको छ । नागरिकता र राहदानीको तुलनामा राष्ट्रिय परिचयपत्रको कार्ड लिनेहरू अझ धेरै छन् । साउनमा झापामा ५ हजार ७६७ जनालाई राष्ट्रिय परिचयपत्रको कार्ड वितरण गरिएको छ । साउन मसान्तसम्म झापामा ३ लाख ६० हजार ७७२ जनाले राष्ट्रिय परिचयपत्रको कार्ड लिइसकेको सहायक प्रजिअ निरौलाले जानकारी दिए ।

आज हरितालिका तीज पूजा आराधना गरी मनाइँदै, पुरुषले पनि लिनुपर्छ व्रत

काठमाडौं । भाद्र शुक्ल तृतीयाका दिनमा मनाइने हरितालिका (तीज) पर्व आज देवादिदेव महादेवको पूजा आराधना गरी मनाइँदैछ । भाद्र शुक्ल तृतीयामा व्रत बसी शिव पार्वतीको पूजा, उपासना गरेमा पारिवारिक सुख, शान्ति र कल्याणको प्राप्ति हुने धार्मिक विश्वास छ ।  सत्य युगमा हिमालय पुत्री पार्वतीले गौरी घाटमा बसी तपस्या गरेर श्री महादेव पति पाउने वरदान पाएको विश्वासमा यो व्रत सुरु भएको पौराणिक मान्यता छ । सोही मान्यताअनुसार वरदान विपरीत पार्वतीका पिता हिमालयले पार्वतीको इच्छा विपरीत विष्णुसित विवाह गरिदिन खोजेपछि साथीहरूलाई आफ्नो समस्या सुनाएको र पार्वती समस्यामा परेको थाहा पाएपछि साथीले हरण गरेर कसैले नदेख्ने ठाउँमा लुकाएर राखिदिए ।  साथीहरूले लुकाएकै ठाउँमा पार्वतीले निराहार व्रत गरी महादेवलाई पतिका रूपमा प्राप्त गरिन् । यसरी पार्वती साथीहरूद्वारा हरण भएको दिन भाद्र शुक्ल तृतीयाको परेकाले त्यही समयदेखि हरितालिका (तीज) को व्रत लिने प्रचलन सुरु भएको धर्म शास्त्रीय मत छ । संस्कृत भाषाका ‘हरित’ र ‘आलिका’ दुईवटा शब्द मिलेर हरितालिका शब्द बनेको छ । जसमा ‘हरित’ शब्दको अर्थ हरण गरिएको र ‘आलिका’ शब्दको अर्थ साथी भन्ने हुन्छ । सत्य युगमा आजैका दिन निराहार व्रत बसी पार्वतीले श्री महादेव स्वामी पाएकीले आजको दिनमा व्रत बस्दा मनोकामना पूरा हुने विश्वास छ, तर यसको अर्थ सबै नारी निराहार व्रत बस्नुपर्छ भन्ने नरहेको धर्मशास्त्रविद् प्रा.डा रामचन्द्र गौतमले सुनाए ।  ‘निराहार, जलाहार र फलाहार गरी तीन किसिमका व्रत छन् । सक्नेले निराहार, नसक्नेले जलाहार र जलाहार पनि नसक्नेले फलाहार व्रत गर्नु उत्तम हुन्छ,’ उनले भने, ‘‘सर्वतः आत्मानं गोपायेत्’ अर्थात् सबैतिरबाट आत्माको रक्षा गर अनि मात्र व्रत गर भन्ने धर्म शास्त्रीय वाक्यलाई पनि विचार गरेर व्रत गर्नु उत्तम हुन्छ ।’ प्रा.डा रामचन्द्र गौतमले स्वास्थ्य ठीक नहुनेले गहुँ वा मकैको रोटी, स्याउ, सुन्तला, केराजस्ता फलाहार गरेर पनि व्रत बस्न सकिने जानकारी दिए । श्रीमान्को दीर्घायुको कामनाका लागि मात्र तीजको व्रत बसिने भनेर गलत प्रचार भइरहेको वाल्मीकि विद्यापीठ धर्मशास्त्र विभागका पूर्व प्रमुख समेत रहनुभएका उनले बताए ।  ‘अटल सौभाग्यको कामना, सन्तान प्राप्ति, अविवाहित केटी एवं केटाहरूले असल वर र बधू प्राप्तिका लागि पनि तीजको व्रत बस्ने शास्त्रीय विधान छ,’ प्राडा गौतमले भने ।  नारीले परिवारको अभिभावकका रूपमा प्रतिनिधित्व गरी व्रत बस्ने भएकाले नसकेका अवस्थामा पुरुषले पनि व्रत बस्ने गरेका छन् । यस अर्थमा हाल केही नारी वादीले उठाएजस्तो विभेदकारी व्रत परम्परा पनि तीज नभएको धर्मशास्त्रविद्को भनाइ छ । समग्रमा मनोकामना पूर्ण गराउने र सम्पूर्ण परिवारको कल्याणका लागि यो व्रतको प्रयोजन रहेकोे धर्म शास्त्रीको मत छ । आत्मावादी र ईश्वरवादी दुवैले यो व्रत लिने गरेका छन् । समग्रमा परिवारको यस लोकमा सुख, शान्ति र पारलौकिक सद्गतिका लागि तीजको व्रतको महत्त्व छ । महिला/पुरुष दुवैले लिनुपर्छ हरितालिका (तीज) व्रत  धर्म शास्त्रीय रूपमा महिला, पुरुष दुवैले हरितालिका (तीज) को व्रत गर्नुपर्ने भए पनि सामाजिक चर्चा भने महिलाले श्रीमान्को दीर्घायुको कामनाका लागि व्रत बस्ने गरेको बुझाइ छ । व्रत गर्ने पुरुषले विधुर हुनु नपर्ने, नारीले अटल सौभाग्य र अविवाहित केटा, केटीले गुण सम्पन्न वर वा वधु पाउने शास्त्रीय वचन रहेको धर्मशास्त्रविद् एवं नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका पूर्वसदस्य अध्यक्ष प्रा डा देवमणि भट्टराई बताउँछन् ।  व्रत सकाम, निष्काम, नित्य, नैमित्तिक, र काम्य गरी पाँच किसिमका छन् । तीजको व्रत नित्य र काम्य दुवै खालको भएको धर्मशास्त्रीय मान्यता छ । तीजको व्रत हिन्दु मात्रका लागि नभई मानव मात्रका लागि भएको कुरा धर्म शास्त्रीय ग्रन्थमा उल्लेख गरिएको पनि धर्मशास्त्रविद् प्रातोयराज नेपालले सुनाए । ‘अकरणे प्रत्यवाय श्रवणात् करणे फल श्रवणाच्च हरितालिका व्रत नित्यं काम्यं च भवति’ भनी धर्मशास्त्रीय ग्रन्थमा उल्लेख गरिएकाले पनि यस व्रतलाई संकुचित अर्थमा लिन नहुने पनि उनले बताए । जसको अर्थ यो व्रत नगर्दा दोष लाग्छ, गरेमा फल प्राप्त हुन्छ, यो व्रत नित्य र नैमित्तिक दुवै हो भन्ने हुन्छ । कालान्तरमा पुरुषले घर बाहिरको काम गर्ने र महिलाले गृह व्यवस्थापनका काम गर्ने प्रचलन बस्न थाल्यो । महिलाले घरलगायत धर्म कर्मका काम गर्न थालेपछि व्रत बस्ने जिम्मेवारी पनि दिइएको बुझिन्छ । प्रायः घरमा धर्म कर्मका काम महिलाले नै गर्छन् । यसैले पनि धेरै जसो महिलाले नै यो व्रत गर्ने गरेका देखिन्छन् । दुई भाग रात हुँदै दर खाइ सक्नुपर्ने यो व्रत सक्नेले निराहार बस्ने भएकाले सोमबार व्रतालुले मीठा मीठा परिकार दरका रूपमा खाई आजको व्रतका लागि पूर्व तयारी गर्छन् । विशेषगरी माइती एवं दाजुभाइले छोरीचेली, दिदी बहिनीलाई बोलाई दर खुवाउने गर्दछन् । दुई भाग रात हुँदै दर खाइ सक्नुपर्ने शास्त्रीय विधान छ । महिलाले वर्ष दिनभर आफूलाई परेका दुःख, पीर, मर्कालाई पोख्ने पर्वका रूपमा समेत उपयोग गर्ने गरेका छन् । तीजको अवसरमा गीतका माध्यमबाट यस्ता मर्कालाई महिलाहरूले सार्वजनिक गर्दछन् । पछिल्लो समय तीजका नाममा उच्छृङ्खलता र तडकभडक आएको छ । एक महिना अघि देखि दर खाने, गरगहना एवं पोशाक प्रदर्शन गर्ने जस्ता गतिविधिले तीजको संस्कृतिलाई विकृति बनाइरहेको धेरैले बताउने गरेका छन् ।  यस्ता गतिविधिले नहुनेलाई खिन्न बनाउने भएकाले पनि विकृति रोकिनुपर्नेमा पनि संस्कृतिविद् एवं धर्मशास्त्रीको जोड छ । एक महिना अघिदेखि नै दर खाने चलन पछिल्लो समय बढ्न थाले पनि भाद्र शुक्ल द्वितीयाको बेलुकीको समय शास्त्रीय रूपमा यसका लागि तोकिएको छ ।  सोमबार दर खाएपछि औपचारिक रूपमा सुरु हुने तीज पर्व ऋषि पञ्चमीसम्म मनाइन्छ । तृतीयाका दिन हरितालिका व्रत, चौथीका दिन, गणेश भगवानको पूजा र पञ्चमीका दिन स्नान गरी अरुन्धतीसहित सप्‍तर्षिको पूजा गरी तीज समापन हुन्छ ।

वैशाखदेखि बन्द रहेको हेटौंडा सिमेन्टको पुनः उत्पादन सुरु

काठमाडौं । हेटौंडा सिमेन्ट उद्योगले आजदेखि पुनः उत्पादन सुरु गरेको छ । उद्योगका मेसिनहरू मर्मत सम्भार सकिएपछि आजदेखि उत्पादन सुरु गरिएको उद्योगका निमित्त महाप्रबन्धक इञ्जिनियर रामबाबु साहले बताए ।  मेसिनमा समस्या देखिएपछि गत वैशाखदेखि उद्योग बन्द भएको थियो । मेसिन मर्मत गरी कोइला व्यवस्थापन भएपछि उत्पादन सुरु गरिएको निमित्त महाप्रबन्धक साहले जानकारी दिए ।  ‘उद्योग चलाउन हामीलाई कोइलाको समस्या थियो । सिमेन्ट उत्पादन गरी बिक्री गरेर भुक्तानी गर्ने सर्तमा करिब एक हजार टन कोइला व्यवस्थापन गरेका छौँ । ‘कोइलाको व्यवस्थापनसँगै हामीले उत्पादन सुरु गरेका छौँ,’ उनले भने । विसं २०३३ मा हेटौंडाको लामसुरेमा स्थापना भएको उक्त उद्योगले विसं २०४३ देखि सिमेन्ट उत्पादन सुरु गरेको थियो । तर आर्थिक समस्यालगायत कारण उद्योग बन्द हुने खुल्ने क्रम चलिरहेको छ । यसअघि गत वैशाख दोस्रो सातादेखि उद्योग सञ्चालन गरी करिब एक लाख बोरा सिमेन्ट उत्पादन गरेको थियो । उद्योगसँग धादिङको जोगीमारा तथा मकवानपुरको ओख्रे, मजुवा र भैँसे गरी चार ठाउँमा चुन ढुङ्गा खानी छ । पुरानो प्रविधि, उपकरण, बजारको अभाव, मूल्य समायोजन नहुनु, दरबन्दी अनुसार कर्मचारी नहुनु, प्रतिस्पर्धात्मक बजारलगायत समस्याका कारण उद्योग सञ्चालन गर्न कठिनाइ भइरहेको निमित्त महाप्रबन्धक साहको भनाइ छ ।