गोरखामा यामाहाको नयाँ थ्रीएस शोरुम उद्घाटन, नयाँ एफजेट र एमटी भेरियन्ट सार्वजनिक
काठमाडौं । यामाहा नेपालले गोरखा–०६ मा अवस्थित नयाँ थ्रीएस फ्यासिलिटी (सेल्स, सर्भिस र स्पेयर पार्ट्स) चन्दा सप्लायर्सको औपचारिक शुभारम्भ गरेको छ । नयाँ शो–रुमको उद्घाटन प्रमुख अतिथि गोरखा नगरपालिकाका प्रमुख कृष्णबहादुर राना मगर, उपप्रमुख मसलीमाया थोकर र प्रमुख जिल्ला अधिकारी रामु राज कडरियाले संयुक्त रूपमा गरेका हुन् । कार्यक्रममा विशेष अतिथिका रूपमा एमएडब्ल्यूराइड्सका कार्यकारी निर्देशक तथा प्रमुख कार्यकारी अधिकारी दीपक कुमार अग्रवाल पनि उपस्थित थिए । अत्याधुनिक पूर्वाधार र अनुभवी टोलीसहित चन्दा सप्लायर्सले एकै छानामुनि बिक्री परामर्श, भरपर्दो बिक्रीपछिको सेवा र जेनुइन स्पेयर पार्ट्स उपलब्ध गराउने सुविधा प्रदान गरेको छ । उद्घाटन समारोहकै अवसरमा यामाहा नेपालले आफ्ना लोकप्रिय एफजेट र एमटी श्रृंखलाका नयाँ भेरियन्ट सार्वजनिक गर्यो । यी मोडलहरूले ताजा डिजाइन र आधुनिक फिचरमार्फत नेपाली राइडरहरूलाई लक्षित गर्दै यामाहाको पोर्टफोलियोलाई अझ सशक्त बनाएको कम्पनीले जनाएको छ । कार्यक्रममा बोल्दै एमएडब्ल्यूराइड्सका कार्यकारी निर्देशक दीपक कुमार अग्रवालले गोरखामा नयाँ शो–रुम सुरु हुनु यामाहाका उच्च प्रदर्शनयुक्त उत्पादन र उत्कृष्ट सेवालाई ग्राहकसम्म अझ नजिक ल्याउने महत्त्वपूर्ण कदम भएको बताए । उनले नयाँ मोडलहरूले गोरखा तथा आसपासका ग्राहकलाई स्टाइल, प्रदर्शन र भरोसाको संयोजनसहित थप विकल्प उपलब्ध गराउने उल्लेख गरे । त्यसैगरी, चन्दा सप्लायर्सका कार्यकारी निर्देशक चन्दन बाबु खत्रीले यामाहा दुईपांग्रे सवारीसाधन बिक्री मात्र नभई दीर्घकालीन विश्वास कायम गर्ने उद्देश्यसहित भरपर्दो बिक्रीपछिको सेवा प्रदान गर्ने प्रतिबद्धता व्यक्त गरे । यस नयाँ शोरुम र नयाँ एफजेट तथा एमटी भेरियन्टको लन्चसँगै यामाहा नेपालले आफ्नो फैलिँदो डिलर सञ्जाललाई अझ सबल बनाएको छ । अब गोरखा तथा आसपासका क्षेत्रका ग्राहकहरूले यामाहाका सम्पूर्ण मोटरसाइकल, स्कुटर, विज्ञ सर्भिस र स्पेयर पार्ट्स सहजै पाउनेछन् । एमएडब्ल्यूराइड्स अन्तर्गत यामाहा नेपालले आफ्नो नवीन इन्जिनियरिङ, भरपर्दो प्रदर्शन र ग्राहक सन्तुष्तिप्रतिको प्रतिबद्धताका कारण नेपालको सबैभन्दा विश्वासिलो दुईपांग्रे ब्रान्डको रुपमा अग्रस्थान कायम राख्दै आएको जनाएको छ ।
नेचुरल स्प्रिट्सले आईपीओ जारी गर्ने, बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटल
काठमाडौं । नेचुरल स्प्रिट्स नेपालले आईपीओ जारी गर्ने भएको छ । कम्पनीले जारी पूँजीको २० प्रतिशत अर्थात १५ लाख कित्ता साधारण सेयर सर्वसाधारणलाई बिक्री गर्न लागेको हो । कम्पनीले निष्काशन प्रक्रियाका लागि बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटललाई नियुक्त गरेको छ । नेचुरल स्प्रिट्सको तर्फबाट अध्यक्ष असिम सिटौला र मुक्तिनाथ क्यापिटलको तर्फबाट प्रमुख कार्यकारी अधिकृत कबिन्द्रध्वज जोशीले सम्झौतापत्रमा हस्ताक्षर गरे । नेचुरल स्प्रिट्स नेपाल लिमिटेड विसं २०७१ मङ्सिर १४ गते (डिसेम्बर १४, २०१४) मा स्थापना भएको नेपालकै छिटो वृद्धि भइरहेको मदिरा उत्पादन कम्पनी हो । कम्पनीको उत्पादन कक्ष धादिङ जिल्लाको गल्छी गाउँपालिकामा अवस्थित छ भने यसको केन्द्रीय कार्यालय काठमाडौंको हाँडीगाउँमा रहेको छ । यस कम्पनीले सन् २०२१ (वि.सं. २०७७) मा पहिलोपटक उत्पादन सुरु गरेको थियो। २० रोपनी क्षेत्रफलमा फैलिएको उत्पादन कक्षमा दुईवटा अर्ध–स्वचालित बोटलिङ लाइन, सातवटा ११ हजार लिटर क्षमताका ब्लेन्डिङ ट्याङ्क तथा पाँचवटा २५ हजार लिटर क्षमताका एक्स्ट्रा न्यूट्रल अल्कोहल ट्याङ्कहरू रहेका छन् । कम्पनीको वार्षिक उत्पादन क्षमता १ करोड २० लाख लिटर रहेको छ । हाल यस कम्पनीले सरंगी ह्विस्की ४० अप र सेतो बाघ भोड्का ३० अप नामक दुई प्रमुख उत्पादन बजारमा उपलब्ध गराइरहेको छ, जसको वार्षिक उत्पादन १ लाख ३४ हजार २९८ लिटर रहेको छ ।
भदौ २२ गते आइतबार खग्रास चन्द्रग्रहण
काठमाडौं । भाद्र शुक्ल पूर्णिमाका दिन यही भदौ २२ गते आइतबार खग्रास (पूरै ढाकिने) चन्द्रग्रहण लाग्ने नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ । ग्रहणले भदौ २२ गते राति १० बजेर ११ मिनेटमा स्पर्श गर्ने समितिले स्वीकृति दिएको पात्रो (पञ्चाङ्ग) मा उल्लेख छ । राति ११ः५६ मा चन्द्रग्रहणको मध्य हुनेछ । राति ०१ः४१ बजे ग्रहण सकिने समितिका पूर्वअध्यक्ष प्रा श्रीकृष्ण अधिकारीले जानकारी दिए । साढे तीन घण्टा काठमाडौंबाट चन्द्रग्रहण देखिने पनि उनले सुनाए । यो ग्रहण विसं २०८२ को पहिलो ग्रहण हो । यसै वर्ष आगामी फाल्गुन शुक्ल पूर्णिमामा पनि खण्डग्रास चन्द्रग्रहण लाग्ने समितिले जनाएको छ । ग्रहणमा बालबालिका, वृद्धवृद्धा र बिरामीबाहेकलाई शास्त्रीय रूपमा भोजन निषेध गरिएको पनि उनले सुनाए । भदौ २२ गते आइतबार दिउँसो १३ः११ बजेपछि बाल, वृद्ध र आतुर बाहेकले भोजन गर्नु हुँदैन । चन्द्रग्रहण पूर्णिमा र सूर्यग्रहण औँसी तिथिमा लाग्ने गर्छ ।
एनआरएन इन्फ्रास्ट्रक्चरका सीईओ हेमन्त बस्यालले दिए राजीनामा
काठमाडौं । एनआरएन इन्फ्रास्ट्रक्चर एन्ड डेभलपमेन्ट लिमिटेडका प्रमुख कार्यकारी (सीईओ) हेमन्त बस्यालले राजीनामा दिएका छन् । भदौ १५ गते बसेको कम्पनी सञ्चालक समितिको बैठकले बस्यालको राजीनामा स्वीकृत गरेको छ । साथै कम्पनीले निमित्त प्रमुख कार्यकारी अधिकृतमा कम्पनी सचिव प्रताप अधिकारीलाई नियुक्त गरेको छ ।
प्रधानमन्त्री ओली र कम्बोडियाका प्रधानमन्त्री महानेटबीच भेटवार्ता
थियानजिन । शाङ्घाई सहयोग सङ्गठन (एससिओ) प्लस को शिखर सम्मेलनका क्रममा चीनको थियानजिनमा रहनुभएका प्रधानमन्त्री केपी शर्मा ओली र कम्बोडिया अधिराज्यका प्रधानमन्त्री डा सोमदेक मोहा बोरभोर तिपाहदे हुन महानेटबीचसँग दुईपक्षीय भेटवार्ता भएको छ । भेटका अवसरमा दुई देशबीचको सम्बन्ध, व्यापार र लगानीका क्षेत्रहरुको विस्तारलगायत विषयमा छलफल भएको थियो । भेटका अवसरमा दुई देशबीचको आपसी सम्बन्धका विविध पक्षमा कुराकानी भएको थियो । उनीहरूबीच उच्चस्तरीय भ्रमणको आदानप्रदान गर्ने विषयमा पनि छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । भेटमा पूर्वउपप्रधानमन्त्री एवं प्रतिनिधिसभाका सदस्य पूर्णबहादुर खड्का, शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्त, संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डे, पूर्वमन्त्री एवम् प्रधानमन्त्रीको आर्थिक तथा विकास सल्लाहकार डा युवराज खतिवडा, पूर्वमन्त्री एवम् प्रतिनिधिसभाका सदस्य छविलाल विश्वकर्मा, परराष्ट्र मन्त्रालयका सचिव अमृतबहादुर राईलगायत सहभागी थिए ।
‘शीतयुद्ध मानसिकता’ अस्वीकार, चिनियाँ राष्ट्रपति सीको एआईमा सहकार्य गर्न आह्वान
तियानजिन, चीन । चिनियाँ राष्ट्रपति सी जिनपिङले सोमबार शाङ्घाई सहयोग संगठन (एससीओ) का सदस्य राष्ट्रहरूलाई कृत्रिम बौद्धिकता (एआई) क्षेत्रमा सहकार्य गर्न आह्वान गरेका छन् । उनले भनेका छन्, ‘शीतयुद्ध मानसिकता’लाई अस्वीकार गर्नुपर्छ । आजसम्मकै ठूलो भनिएको एससीओ शिखर सम्मेलनमा सी बोलिरहेका थिए, जसमा रुसी राष्ट्रपति भ्लादिमिर पुटिन, भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसहित २० भन्दा बढी विदेशी नेताहरू तियानजिनमा सहभागी भएका थिए। चीनले आफूलाई वैश्विक शान्तिदूतको रूपमा प्रस्तुत गर्ने प्रयास गरिरहेको बेला बैठक भएको हो । यता अमेरिका–चीनबीचको निरन्तर व्यापारिक तनाव, युक्रेनमा रुसी युद्ध र इजरायल–हमास द्वन्द्वको पृष्ठभूमि छ । सीले चीनले एससीओका अन्य मुलुकहरूमा ८४ अर्ब डलर लगानी गरिसकेको उल्लेख गर्दै बेइजिङको ‘लुबान’ व्यावसायिक शिक्षा कार्यक्रममा १० हजार विद्यार्थीलाई सहभागी गराउने प्रतिबद्धता व्यक्त गरे । उनले भने, ‘यस शिखर सम्मेलनले गुणस्तरीय विकास र सहकार्यको नयाँ चरण सुरु गर्ने अवसर प्रदान गरेको छ ।’ आफ्नो सम्बोधन अघि सीले मोदी र पुटिनसँगै अन्य एससीओ सदस्यहरूसँग समूह तस्बिरमा भाग लिएका थिए । यसै हप्तामा सी र पुटिनबीच द्विपक्षीय भेट हुने अपेक्षा गरिएको छ । पुटिन दोस्रो विश्वयुद्ध समाप्त भएको ८० वर्षको अवसरमा बेइजिङमा आयोजना हुने सैनिक परेडमा सहभागी हुन चीनमै बस्ने कार्यक्रम छ । सप्ताहन्तमा सीले कम्तीमा १० जना विदेशी नेताहरूसँग भेट गरेका थिए, जसमा टर्कीका राष्ट्रपति रेचेप तैयप एर्दोगान र क्याम्बोडियाका प्रधानमन्त्री हुन मानेटसमेत छन् । शनिबार उनले मोदीसँग भेट्दा दुबै पक्षले प्रतिस्पर्धी नभई साझेदार बन्नुपर्नेमा जोड दिएका थिए । भारतको परराष्ट्र मन्त्रालयले भेटपछि विज्ञप्ति जारी गर्दै भन्यो, ‘आपसी सम्मान, आपसी हित र आपसी संवेदनशीलताको आधारमा भारत र चीनबीचको स्थिर सम्बन्ध र सहकार्य दुवै देशका २.८ अर्ब जनताको प्रगति र विकासका लागि अत्यावश्यक छ ।’ यद्यपि एससीओ शिखर सम्मेलनले तत्काल तनाव कम गर्ने ब्रेकथ्रू ल्याउने वा नल्याउने अनिश्चित भए पनि विश्लेषकहरूले भने चीन–भारत सम्बन्ध सुधारले बेइजिङको प्रभाव बलियो बनाउन सक्ने बताएका छन् । ‘भारतसँगको सम्बन्ध सुधार ठूलो कुरा हो । यसले भारतलाई औद्योगिकीकरण र उत्पादन वृद्धि गर्न आवश्यक बौद्धिक सम्पत्तिमा पहुँच दिन्छ,’ जियोम्याक्रो स्ट्राटेजी बीसीए एसेसका प्रमुख रणनीतिकार मार्को पापिकले इमेलमार्फत भने । ‘तर दीर्घकालीन रूपमा अमेरिकाले चीनलाई समस्या सृजकको रूपमा चित्रित गर्ने प्रचार युद्ध हार्दै गएको छ । यसले बहुध्रुवीय विश्वलाई अझ मजबुत बनाइरहेको छ,’ उनले थपे । ‘चीनले आर्थिक सहकार्य र शान्तिका लागि ‘पहल’ लिएको छ,’ सेन्टर फर चाइना एण्ड ग्लोबलाइजेशनका संस्थापक तथा अध्यक्ष हेन्री हुयाओ वाङले भने । उनले चीन–भारत सम्बन्ध पुनःस्थापना गर्ने प्रयासको प्रशंसा गर्दै भारत–पाकिस्तानले पनि त्यस्तै गर्नुपर्ने बताए । ‘अमेरिकी राष्ट्रपति ट्रम्प धेरै शान्ति ल्याउने प्रयासमा छन्, तर चीनको सहयोग भए हामीले पनि त्यस्तै गर्न सक्छौं,’ वाङले सोमबार सीएनबीसीको द चाइना कननेक्शन कार्यक्रममा भने। ‘चीनले रुससँगको राम्रो सम्बन्धको फाइदा उठाएर युक्रेन युद्धबारे सम्झौता गराउन सहयोग गर्न सक्छ,’ उनले थपे । साथै एससीओ वा चीन–भारत जस्ता सदस्यहरूले सुरक्षा ग्यारेन्टरको भूमिका खेल्न सक्ने उनले जोड दिए । एससीओ शिखर सम्मेलनले चीनलाई धेरै देशहरूसँग सम्बन्ध सुधार्ने बाटो खोल्न सक्ने सम्भावना रहेको पापिकले बताए । दुई दिने बैठकको अन्त्यमा संयुक्त विज्ञप्ति जारी हुने अपेक्षा गरिएको छ । चीनका शीर्ष कूटनीतिज्ञ वाङ यीले सोमबार बेलुकी पत्रकार सम्मेलन गर्ने कार्यक्रम छ । भारतको त्रिदेशीय सन्तुलन : शुल्क, तेल र असजिलो हस्तमिलन
लक्ष्मी इलेक्ट्रोटेकको वार्षिक व्हर्लपूर पार्टनर्स मिट सम्पन्न
काठमाडौं । लक्ष्मी समूहको सहायक कम्पनी, लक्ष्मी इलेक्ट्रोटेकले काठमाडौंको बेस्ट वेस्टर्न प्लस होटलमा आफ्नो वार्षिक व्हर्लपूल पार्टनर्स मिट कार्यक्रम आयोजना गरेको छ । कार्यक्रममा नेपालभरिबाट २०० भन्दा बढी डिलरहरू सहभागी थिए । कार्यक्रम लक्ष्मी समूहका अध्यक्ष गणेशबहादुर श्रेष्ठ र भारतको व्हर्लपूल लिमिटेडका निर्देशककी अकाउन्ट तथा अन्तर्राष्ट्रिय व्यवसाय, हिमांशु जैनले संयुक्त रूपमा सञ्चालन गरिन् । कार्यक्रमका क्रममा व्हर्लपूलले आफ्नो नवीनतम सिंगल डोर तथा डबल डोर फ्रिज, साथै वाशिङ मेशिनहरूको प्रस्तुति गरेको थियो । अध्यक्ष श्रेष्ठले डिलर नेटवर्कको प्रशंसा गरेका थिए । त्यस्तै, हिमांशु जैनले नेपालप्रतिको प्रतिबद्धता व्यक्त गर्दै विश्वव्यापी नवप्रवर्तनहरू लक्ष्मी इलेक्ट्रोटेकसँगको साझेदारीमार्फत प्रस्तुत गर्न उत्साहित रहेको बताए । लक्ष्मी इलेक्ट्रोटेक नेपालमा उच्च गुणस्तरका अन्तर्राष्ट्रिय घरेलु उपकरण ब्रान्डहरूको प्रमुख विक्रेता हो । व्हर्लपूल विश्वभर होम एप्लायन्स उद्योगमा अग्रणी कम्पनी हो ।
लक्ष्मी विद्यापदले गर्यो तीन उत्कृष्ट विद्यार्थी सम्मान
काठमाडौं । लक्ष्मी ग्रुपद्वारा स्थापित र पोखरा उद्योग वाणिज्य संघद्वारा सञ्चालित लक्ष्मी विद्या पदकबाट यस वर्ष तीन जना उत्कृष्ट विद्यार्थीलाई सम्मान गरिएको छ । संघको ७१ औं साधारणसभा अवसरमा कास्कीका विभिन्न क्याम्पसका विद्यार्थीलाई पदक प्रदान गरिएको हो । यसपटक लक्ष्मी विद्या पदक २०८१ बाट एमबीएसतर्फ पृथ्वीनारायण क्याम्पसकी दीपा तिवारी, बीबीएतर्फ ला ग्रान्डी इन्टरनेसनल कलेजकी प्रमिशा सापकोटा र बीबीएसतर्फ पृथ्वीनारायण क्याम्पसका विजय सुवेदी सम्मानित भएका छन् । व्यवस्थापन संकायअन्तर्गत स्नातकोत्तर तह (एमबीएस) र स्नातक तह (बीबीए र बीबीएस) मा सर्वाधिक अंक ल्याउने विद्यार्थीलाई हरेक वर्ष पदक प्रदान गरिँदै आएको छ । उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष एवं लक्ष्मी ग्रुपका कार्यकारी निर्देशक अन्जन श्रेष्ठ, पोखरा उद्योग वाणिज्य संघ अध्यक्ष गोकर्ण कार्की र लक्ष्मी ग्रुपका अर्का कार्यकारी निर्देशक सुनील श्रेष्ठले विजयी विद्यार्थीलाई ताम्रपत्र, दोसल्ला, पदक र नगद पुरस्कारसहित सम्मान गरेका हुन् । यसअन्तर्गत स्नातकोत्तर विद्यार्थीलाई २५ हजार रुपैयाँ र स्नातक तहका विद्यार्थीलाई १५ हजार रुपैयाँ नगद प्रदान गरिएको संघका महासचिव शोभा गौतमले जानकारी दिइन् ।