विकासन्युज

भाडा पुर्ताल सम्झौतासम्म नियमित, सकिएपछि विमान बिग्रिएको त कहिले मौसम खराब

काठमाडौं । इलाम जिल्लाको पर्यटन र अर्थतन्त्रसँग प्रत्यक्ष जोडिएको इलामको फाल्गुनन्द-सुकिलुम्बा विमानस्थल सुनसान बनेको छ । आर्थिक वर्ष २०८१/८२ मा ३३ उडान भरेको यो विमानस्थल अहिले जहाज उडानको पर्खाइमा छ । इलाम नगरपालिका-९ स्थित यो विमानस्थलमा उडान नियमित रुपमा गर्न जिल्ला वासीले माग गरेका छन् । विसं २०७५ जेठ २१ गते तारा एयरको ट्वीनअटर जहाजले पहिलो परीक्षण उडान सफल गरेको थियो । यहाँका जनताले नियमित रुपमा जहाज उडानको आश गरेका थिए । त्यसपछि नेपाल एयरलाइन्सले पनि २०७८ माघ २६ गते सफल परीक्षण उडान गरेको थियो । नियमित उडान नहुँदा इलामसहित पूर्वी पहाडी क्षेत्रका नागरिक अझै पनि झापा वा विराटनगर धाउन बाध्य छन् । यस विमानस्थलबाट गत जेठ यता कुनै पनि उडान हुन सकेको छैन । सुरुआतमा तारा एयरको जहाजले बुधबार र शनिबार गरी सातामा दुईपटक उडान भरेको थियो । नगरपालिकाले इलामबाट काठमाडौं फर्कँदा जहाजको सिट खाली भए त्यसको भाडा पुर्ताल गर्ने सम्झौता गरेको थियो । सो सम्झौता सकिएपछि पुनः नगरपालिकाले नेपाल एयरलाइन्ससँग सम्झौता गरी २०७९ साल माघ १ गतेदेखि सोही तालिकामा इलाम-काठमाडौं उडान गरेको थियो । तर त्यसपछिका वर्षमा नगरपालिकाले कुनै एयरलाइन्ससँग सम्झौता नगरेको प्रमुख प्रशासकीय अधिकृत गणेश कुमार खड्काले बताए । ‘पहिला केही वर्ष नगरपालिकाले केही रकम व्यहोर्ने गरी तारा एयर र नेपाल एयरलाइन्ससँग सम्झौता गरी उडान हुँदै आएको रहेछ,’ प्रमुख प्रशासकीय अधिकृत खड्काले भने, ‘अहिले त्यस्तो कुनै सम्झौता छैन, हामीले कुनै दायित्व ब्यहोर्नुपर्ने छैन ।’ नगरपालिकासँगको सम्झौता सकिएपछि पनि नेपाल एयरलाइन्सले सातामा शनिबार एक दिन उडान भर्दै आएको थियो । तर एयरलाइन्सले मौसमका कारण २०८२ जेठ १४ गतेदेखि उडान भर्न नसकेको विमानस्थल इलामका स्टेसन इन्चार्ज दिनेश सुन्दासले बताए। तीन महिना यता सो विमानस्थल सुनसान बनेको छ । इलाम नगरपालिका-९ का वडाध्यक्ष गोपाल चौहानले विमानस्थल नियमित सञ्चालन गर्नुपर्नेमा आफूहरू लागिपरेको बताए ।  ‘नगर कार्यपालिकाको बैठकमा पटकपटक कुरा उठाएर विमानस्थल सञ्चालनका लागि पहल भइरहेको छ । तर कहिले विमान बिग्रिएको त कहिले मौसमको कारण देखाउँदै विमानस्थल नियमित सञ्चालनको दीर्घकालीन समाधान हुन सकिरहेको छैन,’ उनले भने ।  ३२८ रोपनी क्षेत्रमा निर्माण भएको विमानस्थलका लागि २०५८ सालमा प्रक्रिया सुरु भएको थियो । विमानस्थलको ६७० मिटर लम्बाइ र २० मिटर चौडाइको धावन मार्ग कालोपत्र भएको छ । तर स्थायी टर्मिनल भवन, पक्की पहुँच मार्ग, सुरक्षित तार बारलगायत संरचना अझै अधुरै छन् । स्थानीयबाट करिब ४ करोड रुपैयाँसहित अहिलेसम्म विमानस्थलका लागि २८ करोड रुपैयाँ बढी खर्च भएको नेपाल नागरिक उड्डयन प्राधिकरणले जनाएको छ ।  विमानस्थल निर्माण हुने भएपछि स्थानीयले प्रतिव्यक्ति एकदेखि ४२ रोपनीसम्म जग्गा दिएका थिए । विसं २०६७ चैत १३ गते तत्कालीन प्रधानमन्त्री झलनाथ खनालले शिलान्यास गरेको विमानस्थलको २०७८ साल फागुन १ गते खनालले नै उद्घाटन गरेका थिए । 

तेल्या इँटा बिछ्याए पछि पाटन दरबार क्षेत्र थप आकर्षक, लागत डेढ करोड रुपैयाँ

काठमाडौं । विश्व सम्पदाको सूचीमा सूचीकृत ऐतिहासिक पाटन दरबार क्षेत्र झनै आकर्षक र सौन्दर्य पूर्ण बनेको छ । ललितपुर महानगरपालिकाले यस क्षेत्रमा पुरानो चाइनिज इँटा हटाएर रैथाने तेल्या इँटा बिछ्याए पछि सम्पदाको मौलिकता झल्किने गरी सुन्दर र सफा देखिएको छ । महानगरपालिकाले करिब १ करोड ५२ लाख रुपैयाँ लागतमा पुरानो चाइनिज इँटा हटाएर स्थानीयस्तरमै उत्पादित रैथाने ‘तेल्या’ इँटा बिछ्याउने कार्य सम्पन्न गरेको हो । यो इँटा मल्लकालदेखि प्रयोग हुँदै आएको परम्परागत प्रकारको इँटा हो, जुन बलियो, टिकाउ र सौन्दर्य पूर्ण मानिन्छ । ललितपुर महानगरपालिकाका प्रमुख चिरी बाबु महर्जनका अनुसार तेल्या इँटा रैथाने इँटा हो, यो निकै चम्किलो र बलियो हुन्छ । पुरानो इँटा काम नलाग्ने भएकाले सम्पदा संरक्षणका लागि नयाँ तेल्या इँटा बिछ्याएका उनले बताए । नगर प्रमुख महर्जनका अनुसार तत्कालीन राजा वीरेन्द्र शाहको राज्याभिषेकको समयमा चाइनिज इँटा बिछ्याइएको थियो, जुन समयसँगै जीर्ण भइसकेको थियो । त्यही इँटा हटाएर अहिले तेल्या इँटा राखिएको छ, जसले पानी जम्न नदिने र सफा देखिन्छ । इँटा राखिएपछि सम्पदा क्षेत्रको सतह पनि करिब चार इञ्च अग्लो भएको छ । स्थानीय उपेन्द्रकुमार श्रेष्ठले महानगरपालिकाले अत्यन्त सकारात्मक काम गरेको प्रतिक्रिया दिए ।  ‘पुरानो इँटाका कारण पाटन दरबार क्षेत्र फोहर देखिन्थ्यो । अहिले त निकै चम्किलो र सफा देखिन्छ । सफा गर्न पनि सजिलो छ, पानी जम्ने समस्या पनि छैन । निकै राम्रो काम भएको छ,’ उनले भने । महानगरले यस किसिमका कार्यमार्फत ऐतिहासिक सम्पदाको संरक्षणसँगै पर्यटकीय आकर्षण बढाउने प्रयास गरेको देखिन्छ । दरबार क्षेत्रको मर्मत र पुनर्निर्माणलाई निरन्तरता दिइरहेको महानगरले भविष्यमा पनि यस क्षेत्रको मौलिकता जोगाउने प्रतिबद्धता जनाएको छ । 

६ हजार ३८ मिटर उचाइको चुलु सुदूरपूर्व हिमाल आरोहणका लागि खुला

काठमाडौं । सरकारले चुलु सुदूरपूर्व (चुली) हिमाल आरोहणका लागि खुला गरेको छ । दामोदर हिमशृङखला अन्तर्गत पर्ने सो हिमाल आरोहणका लागि खुला गरिएको सूचना नेपाल राजपत्रमा प्रकाशित गरिएको छ । सो हिमालको कुल उचाइ ६ हजार ३८ मिटर रहेको छ । सो हिमाल आरोहणका लागि जोमसोम, कागबेनी, झार्कोट, मुक्तिनाथ, थोराङला, लेडर हुँदै आधार शिविरतर्फ जान सकिनेछ । यस्तै, चामे, सिपाङ, हुम्डे, मनाङ लेडर हुँदै आधार शिवरसम्म पुग्न सकिनेछ । अन्नपूर्ण संरक्षण क्षेत्रभित्र पर्ने सो हिमाल गण्डकी प्रदेशको मनाङ जिल्लामा अवस्थित छ । डिस्याङ गाउँपालिका-५ र नार्पाभूमि गाउँपालिका–३ मा रहेको हिमालचुली पर्वतारोहणका लागि खुला गरिएको छ । चुलु सुदूरपूर्वको नामले परिचित सो हिमालको आरोहणमा प्रायः गरेर ‘अन्नपूर्ण सर्किट ट्रेकसँग जोडिन्छ । चुलु पूर्व हिमाल मनाङ उपत्यकाभन्दा माथि रहेको छ । जहाँ अन्नपूर्ण दोस्रो, अन्नपूर्ण तेस्रो र अन्नपूर्ण चौथो, गङ्गापूर्ण, हिमनदी, धवलागिरि, तिलिचो र मनास्लुको मनमोहक दृश्यहरूसमेत हेर्न सकिन्छ । नेपाल पर्वतारोहण सङ्घले सो हिमाल आरोहणका लागि व्यवस्थापन गर्दै आएको छ । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले यही भदौ १२ गते रापजत्रमा सूचना प्रकाशित गरी चुलु सुदूरपूर्व हिमाल आरोहणका लागि अनुमति दिइएको जनाएको छ । आरोहीहरूका अनुसार चुलु सुदूरपूर्व चुचुरोलाई नेपालका अन्य चुचुराका तुलनामा सजिलो मानिन्छ ।

नेपालमै एकै व्यक्तिमा तेस्रोपटक मिर्गौला प्रत्यारोपण

भक्तपुर । सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र, भक्तपुरले एकै व्यक्तिमा तेस्रोपटक सफलतापूर्वक मिर्गौला प्रत्यारोपण गरेको छ ।  शनिबार आयोजित पत्रकार सम्मेलनमा केन्द्रका कार्यकारी निर्देशक डा पुकारचन्द्र श्रेष्ठले नेपालमै पहिलोपटक एकै व्यक्तिमा तेस्रो पटक सफलतापूर्वक मिर्गौला प्रत्यारोपण गरेर इतिहास रच्ने काम भएको बताए । तेस्रोपटक  प्रत्यारोपण निकै जटिल रहने भए पनि सफल भएकाले अब मिर्गौला प्रत्यारोपणका लागि नेपालमै सम्भव छ भन्ने उदाहरण स्थापित भएको उनले बताए । यही भदौ ९ गते सुदूरपश्चिम प्रदेशका पूर्वमन्त्री तथा माननीय लक्ष्मणकिशोर चौधरीको तेस्रोपटक मिर्गौला प्रत्यारोपण सम्पन्न गरी उनलाई आज ‘डिस्चार्ज’ गरिएको डा श्रेष्ठले जानकारी दिए । 'सामान्यतया मिर्गौला प्रत्यारोपण एकपटक सफल भएपछि लामो समयसम्म प्रत्यारोपित मिर्गौलाले काम गर्ने गर्दछ, तर इम्युनोलोजिकल अस्वीकार, सङ्क्रमण, क्रोनिक अलोग्राफ्ट, नेफ्रोप्याथीलगायत विविध समस्याले मिर्गौला असफल हुन सक्ने सम्भावना रहन्छ । यस्तो अवस्थामा दोस्रो प्रत्यारोपण गरिन्छ, तर तेस्रोपटक प्रत्यारोपण गर्नुपर्ने अवस्था भने अत्यन्तै दुर्लभ हुन्छ', उनले भने,'प्राविधिक जटिलता, औषधीय चुनौती तथा दाता पाउन कठिनाइ हुने र जोखिम झनै बढी हुने हुँदा तेस्रो प्रत्यारोपण संसारमै सीमित मात्रामा हुने गरेको छ । मैले बेलायतमा यस्तो जोखिमपूर्ण प्रत्यारोपण गरेको अनुभव भएकाले नेपालमा  सम्भव भएको हो । अब हामी जटिल प्रत्यारोपणका लागि सक्षम छौँ ।' चौधरीको पहिलो मिर्गौला प्रत्यारोपण भारतको लखनऊमा गरिएको थियो भने विसं २०७२ मा दोस्रो र हाल तेस्रो प्रत्यारोपण सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा डा पुकारचन्द्र श्रेष्ठकै नेतृत्वमा गरिएको हो । चौधरीको तेस्रो प्रत्यारोपण ‘पेयर एक्सचेन्ज’ प्रणालीअन्तर्गत गैरनातेदारबीच अङ्ग साटासाट गरी गरिएको उनले जानकारी दिए । नेपालमा एकै व्यक्तिमा दोस्रोपटक मिर्गौला प्रत्यारोपण वीर अस्पतलमा डा श्रेष्ठकै नेतृत्वमा सन् २०१० मै सुरु भएको र तेस्रो प्रत्यारोपण भने अत्यन्तै दुर्लभ उपलब्धि भएको केन्द्रले जनाएको छ । प्रत्यारोपण केन्द्रले स्थापनाको १३ वर्षमा एक हजार ५०२ जनाको सफल मिर्गौला प्रत्यारोपण तथा ३५ जनामा कलेजो प्रत्यारोपण सम्पन्न गरिसकेको जनाएको छ । रासस

रविन्द्र ढाँट बने रोहिणी इन्टरनेसनल एजुकेसन सर्भिसेजका ब्रान्ड एम्बास्डर

काठमाडौं । नेपाली मिक्स्ड मार्शल आर्ट्स (एमएमए) फाइटर रविन्द्र ढाँट रोहिणी इन्टरनेसनल एजुकेसन सर्भिसेजको ब्रान्ड एम्बास्डरमा नियुक्त भएका छन् । १७ वर्षअगाडि स्थापना भएको रोहिणी इन्टरनेसनलले आफ्नो सफलतायात्रामा ढाँटलाई एम्बास्डरको रूपमा प्रस्तुत गर्दै नयाँ अध्याय सुरू गरेको हो । नेपाल शैक्षिक परामर्श संघ (इक्यान) अध्यक्ष शेषराज भट्टराईले रोहिणीलाई इतिहास बोकेको संस्था भन्दै ढाँटलाई एम्बास्डर बनाउनु गर्वको विषय भएको बताए । उनले ढाँटको प्रशंसा गर्दै भने, 'देशले यस्तो व्यक्तित्व पाउनु सौभाग्य हो, उनले नेपालको खेल क्षेत्रमा ठूलो योगदान दिएका छन् ।' त्यस्तै, रोहिणी इन्टरनेसनल एजुकेसन सर्भिसेजका म्यानेजिङ डाइरेक्टर श्याम भण्डारीले ढाँटको समावेशीले संस्थाको गरिमा बढ्ने विश्वास व्यक्त गरे । उनले भने, 'ढाँटले मेहनत र समर्पणबाट सफलता हासिल गरेका छन् । यसले युवालाई प्रेरणा दिनेछ ।' ब्रान्ड एम्बास्डर नियुक्त भएपछि रविन्द्र ढाँटले रोहिणी परिवारलाई धन्यवाद दिदैँ यो जिम्मेवारीलाई प्रचारभन्दा बढी सहयोगको रूपमा लिने बताएका छन् । 'जीवनमा अझ धेरै गर्न बाँकी छ, आगामी बाटो सहज हुने विश्वास छ,' उनले भने । इक्यानका पूर्वअध्यक्ष राजेन्द्र बरालले ढाँटको योगदानलाई ऐतिहासिक ठहर गर्दै भने, 'बैतडीबाट काठमाडौं  आएर उनले नयाँ इतिहास रचेका छन् । भारतमा घाइते भएर पनि देश चिनाएका ढाँटलाई रोहिणीले एम्बास्डर बनाउनु गौरवको विषय हो ।' रोहिणी इन्टरनेसनलका मार्केटिङ डाइरेक्टर दया थापाले एम्बास्डर नियुक्तीलाई कसैलाई सहयोग गर्ने उद्देश्यसँग जोडिएको बताए । उनले भने, 'रोहिनीले समय–समयमा विभिन्न क्षेत्रमा सहयोग गर्दै आएको छ । ढाँटलाई पनि निरन्तर साथ दिनेछ ।' रोहिणी इन्टरनेसनल एजुकेसन सर्भिसेज काठमाडौंस्थित एक अग्रणी विदेश अध्ययन सल्लाहकार संस्था हो । विशेषगरी न्यूजिल्यान्डमा अध्ययन गर्न चाहने विद्यार्थीका लागि विशेषज्ञ मार्गदर्शन प्रदान गर्दै आएको छ । संस्थाले अंग्रेजी तयारी कक्षा, आईईएलटिएस तयारी कक्षा तथा अन्य शैक्षिक परामर्श सेवा पनि प्रदान गर्दै आएको छ ।  

पल्सर स्पोर्ट्स अवार्ड २०८१ को चार विधाका मनोनयन सार्वजनिक

काठमाडौं । नेपाली खेलकुदको प्रतिष्ठित एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड अन्तर्गत वर्ष २०८१ को पुरुष, महिला, युवा खेलाडी र प्रशिक्षक गरी चार विधाका मनोनयन सार्वजनिक भएका छन् । नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) को खेलाडी छनोट समितिले शनिबार एक कार्यक्रम आयोजना गर्दै २२ औं संस्करण अवार्डको चार विधाका मनोनयन सार्वजनिक गरेको हो ।  वर्ष पुरुष खेलाडी, महिला, युवा र प्रशिक्षकमा समान पाँच उत्कृष्ट मनोनयन समावेश गरिएको छनोट समितिले जनाएको छ । वर्ष पुरुषमा क्रिकेटका दीपेन्द्रसिंह ऐरी, कुशल भुर्तेल, उसुका विजय सिन्जाली, टेबल टेनिसका स्यान्टु श्रेष्ठ र खो खोका जनक चन्द मनोनयनमा परे । महिलातर्पmको मनोनयनमा करातेकी एरिका गुरुङ, फुटबलकी रेखा पौडेल, करातेकी एलिसा रास्कोटी मगर, खो खोकी मानमति धामी र भलिबलकी सलिना श्रेष्ठ परेका छन् । मञ्चका सचिव अनिल मल्ल ठकुरीको संयोजकत्वमा रहेको पाँच सदस्यीय छनोट समितिले खेलाडी र प्रशिक्षकको छनोट गरेको हो । उक्त समितिमा निरञ्जन राजवंशी, हिमेशरत्न बज्राचार्य र विराट रायमाझी छन् । वर्ष २०८१ मा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगितामा भएका उत्कृष्ट प्रदर्शनका आधारमा मनोनयनमा समावेश गरिएको छ । वर्ष युवा खेलाडीको मनोनयनमा एथ्लेटिक्सका अजय विक, करातेकी अञ्जली महर्जन, क्रिकेटकी पूजा महतो, बक्सिङकी स्वस्तिका र फुटबलका समीर तामाङ परेका छन् । वर्ष प्रशिक्षकमा पारा तेक्वान्दोका कविराज नेगी लामा, करातेका कुशल श्रेष्ठ, बक्सिङका दीपक महर्जन, क्रिकेटका महेश रिजाल र खो खोका लक्ष्मीनारायण वैद्य मनोनयन परेका छन् ।  यसपल्ट अवार्ड राजधानी बाहिर पोखरामा आगामी भदौ २९ गते पोखरा इभेन्टस सेन्टरमा हुनेछ । सोही दिन नै चारै विधाको विजेता घोषणा गरिनेछ । पत्रकार सम्मेलनमा खेलाडी छनोट समितिका संयोजक ठकुरीले वर्ष २०८१ मा नेपाली खेलाडीले ऐतिहासिक सफलतासँगै धेरै राम्रो नतिजा पाएकाले मनोनयनमा गर्न कठिन भएको बताए । साथै उनले एक वर्षभर नेपाली खेलकुदले पाएका सफलतालाई दस्तावेजका रूपमा राखिएको र त्यसले छनोट गर्न सहज भएको बताए । मनोनयन सार्वजनिक कार्यक्रममा छनोट समितिका सदस्य प्रजीत शाक्यले नेपाली खेलकुदले लामो समयदेखि प्रतीक्षा गर्ने कार्यक्रमका रूपमा अवार्ड रहेको बताए । मञ्चका पूर्वअध्यक्ष एवम् एआइपिएस एसियाका कोषाध्यक्ष निरञ्जन राजवंशीले एआइपिएसका अध्यक्ष जियानी मिर्लो अवार्ड हेर्न आउने जानकारी दिए । यस संस्करणको पिपल्स च्वाइस विधाको मनोनयन यसअघि नै सार्वजनिक भइसकेको छ । पिपल्स च्वाइस विधाको मनोनयनमा विजय सिन्जाली (उसु), पूजा महतो (क्रिकेट), हिमाल सुनारी (भलिबल), रेखा पौडेल (फुटबल) र इभाना थापा (टेबल टेनिस) छन् । उनीहरूको भोटिङका लागि प्रचारप्रसार तीव्र भइरहेको छ । डिजिटल वालेट खल्ती बाइ आइएमईबाट भोटिङ, नेपाल खेलकुद पत्रकार मञ्चको र मुख्य प्रायोजक गोल्छा ग्रुपको आधिकारिक फेसबुक पेजबाट भोटिङ जारी छ । नेपाल ओलम्पिक कमिटीमा आबद्ध खेल संघका प्रमुख प्रशिक्षक र मञ्चका सदस्यहरूले दिएको मत पनि यस विधाको विजेता छनोटको आधार हुनेछ । स्पोट्र्स अवार्डका अन्य विधा पारा एथलिट सम्मान, स्पेसल अवार्ड, लाइफटाइम एचिभमेन्ट अवार्ड र एसियन स्पोट्र्स जर्नालिस्ट अवार्डको घोषणा कार्यक्रमकै दिनमा नै घोषणा गरिनेछ । वर्ष पुरुष, महिला, युवा र प्रशिक्षक विधाको विजेताले पल्सर मोटरबाइक पाउनेछन् । पिपल्स च्वाइस विधाको विजेतालाई पल्सर मोटरबाइक प्रदान गरिनेछ । अन्य विधाका विजेताले जनही एक लाख रुपैयाँ र गिफ्ट ह्याम्पर पाउने मञ्चले जनाएको छ । यस वर्ष पनि एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्डको मुख्य प्रायोजकको रूपमा गोल्छा गु्रपको बजाज पल्सर मोटरसाइकल छ । नेपाल खेलकुद पत्रकार मञ्च र गोल्छा गु्रपबीच अवार्डकै लागि सहकार्य भएको यो १७औं वर्ष हो । अवार्डको प्रवद्र्धकमा पोखरा महानगरपालिका  छ । अन्य सहयोगीहरूमा खल्ती, नासा सेक्युरिटिज, केल्मी नेपाल, यति एयरलाइन्स, मझेरी रिसोर्ट एण्ड स्पा, म्याजेस्टिक, प्लाजा गु्रप अफ होटल्स, इमेजिङ, राष्ट्रिय खेलकुद परिषद् (राखेप), वागमती खेलकुद विकास परिषद्, सूर्य नेपाल, होटल रोयल सिंगी, नेपाल टुरिजम बोर्ड, स्विफ्ट होलिडेज, रारा चाउचाउ र नेपाल ओलम्पिक कमिटी (एनओसी) छन् । 

अबदेखि भेरी अस्पतालमा ‘अल्टेप्लेज इन्जेक्सन’ निःशुल्क

नेपालगञ्ज । नेपालगञ्जस्थित भेरी अस्पतालमा अबदेखि मस्तिष्कघातका बिरामीलाई अल्टेप्लेज इन्जेक्सन निःशुल्क प्रदान गरिने भएको छ ।  सो इन्जेक्सनले बिरामीलाई पक्षघात हुनबाट जोगाउने अस्पतालका प्रमुख कन्सल्टेन्ट फिजिसियन तथा मेडिसिन विभाग प्रमुख डा राजन पाण्डेले जानकारी दिए । उनले पक्षघातका लक्षण देखिएर अस्पतालमा भर्ना हुने बिरामीलाई निश्चित समयभित्र अल्टेप्लेज इन्जेक्सन दिएमा बिरामी पुरानै अवस्थामा फर्किन सम्भावना रहने बताए।  ‘मस्तिष्कघातको लक्षण देखिएको साढे चार घण्टाभित्रै बिरामीलाई अस्पताल पुर्‍याउनसके इन्जेक्सनको सहयोगले बिरामी निको हुने सम्भावना हुन्छ’, डा पाण्डेले भने ।  एक ‘भायल’को करिब एक लाख पर्ने पर्ने सो इन्जेक्सन खरिद गर्ने हैसियत हरेक नागरिकको नभएकाले भेरी अस्पतालमा निःशुल्क दिँदा यसबाट सिमान्तकृत र विपन्न परिवार लाभान्वित हुने विश्वास गरिएको छ ।  पहिलो चरणमा भेरी अस्पतालमा २० भायल अल्टेप्लेज इन्जेक्सन प्राप्त भएको अस्पतालका प्रमुख मेडिकल सुपरिन्टेन्डेन्ट डा निराजन सुवेदीले बताए। सो परिमाणले सात बिरामीको उपचार गर्न सकिन्छ ।   भरतपुर, काठमाडौंलगायत सरकारी अस्पतालमा अल्टेप्लेज इन्जेक्सन निःशुल्क पाइए पनि भेरी अस्पतालमा हालसम्म उपलब्ध थिएन । हालै प्रमुख मेडिकल सुपरिन्टेन्डेन्ट डा सुवेदी, मेडिसिन विभाग प्रमुख डा. पाण्डेलगायतको पहलमा यहाँ पनि निःशुल्क उपलब्ध गराइने भएको हो ।  अस्पतालको यो पहलले नेपालगञ्जमात्र नभई बाँके, बर्दिया, दाङ, सुर्खेत, दैलेखसहित आसपासका जिल्लाका मस्तिष्कघातका बिरामीलाई राहत पुग्ने अपेक्षा गरिएको छ । स्वास्थ्य मन्त्रालयले हालैमात्र मस्तिष्कघातका बिरामीको उपचार र व्यवस्थापनका लागि नयाँ कार्यविधि जारी गरेको छ । यस कार्यविधिको मुख्य उद्देश्य मस्तिष्कघात भएका बिरामीलाई छिटो, गुणस्तरीय उपचार प्रदान गर्नु हो । कार्यविधिले उपचारसँगै सचेतनाको पाटोलाई सुनिश्चित गरेको छ । रासस

सर्वसाधारण भन्छन्- ‘सामाजिक सञ्जाल नेपालमा सूचिकृत हुनुपर्छ, सरकारले पनि पहल गर्नुपर्‍यो’

काठमाडौं । सरकारले नेपालमा सूचिकरण नभएका फेसबुक, एक्ससहितका दर्जनौँ बढी सामाजिक सञ्जालमाथि प्रतिबन्ध लगाएको छ । ति सामाजिक सञ्जालहरु हाल नेपालमा बन्द हुँदैछन् । सरकारको यो निर्णयलाई केहीले सर्मथन गरेका छन् भने केही अभिव्यक्ति स्वतन्त्रतामाथिको बन्देज भनेर विरोध गरिरहेका छन् ।  सरकारको निर्णयको समर्थन गर्नेहरुले सामाजिक सञ्जाल नेपालमा सूचिकृत हुन जरुरी रहेको बताएका छन् । उनीहरुले सरकारलाई पनि समाजिक सञ्जाल सधैँ बन्द जाने बाटोमा नभई यसलाई सूचिकृत गर्नको लागि पहल गर्न सुझाव दिएका छन् । विद्यार्थीको पढाई, साना व्यवसायीहरुको व्यापार लगायतमा केही समस्या देखिएकोले उनीहरुले सामाजिक सञ्जाललाई नेपालमा सूचिकरण गरेर सञ्चालन ल्याउने वातावरण निर्माण गर्न आग्रह गरेका हुन् ।  गत बिहीबार सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले मन्त्रिस्तरीय निर्णय गरी नेपालमा सूचीकरण नभएका फेसबुकसहितका सामाजिक सन्जाल बन्द गर्ने निर्णय गरेको हो । सोहीअनुसार नेपाल दूरसञ्चार प्राधिकरणले नेपालमा सूचिकरण नभएका सामाजिक सञ्जाललाई निष्क्रिय गर्न ईन्टरनेट सेवा प्रदायक कम्पनीहरुलाई निर्देशन दिएको थियो ।