विकासन्युज

आरबिबि फोकस ४० मा आवेदन दिने समय लम्बियो

काठमाडौं । आबिबि मर्चेन्ट बैंकिङ्गको आरबिबि फोकस ४० मा आवेदन दिने समय लम्बिएको छ । भदौ १८ गतेदेखि बिक्री खुला गरेको आरबिबि म्युचुअल फण्ड अन्तर्गत सञ्चालन हुने १ अर्ब रुपैयाँको आरबिबि फोकस ४० मा अब असोज १ गतेसम्म आवेदन सकिने भएको छ । कम्पनीले प्रतिइकाई १० रुपैयाँ अंकित मूल्य दरका १० करोड इकाई बिक्री खुला गरेको हो । जसमध्ये न्यूनतम १ करोड ४० लाख इकाई तथा १४ प्रतिशत इकाई कोष प्रबद्र्धक राष्ट्रिय वाणिज्य बैंक, १० लाख इकाई वा १ प्रतिशत इकाई योजना व्यवस्थापक आरबिबि मर्चेन्ट बैंकिङ्गलाई छुट्याई बाँकी रहेको ८ करोड ५० लाख इकाई सर्वसाधारण लगानीकर्ताहरुका लागि बिक्री खुला गरेको हो ।  कम्पनीको उक्त योजनामा लगानीकर्ताहरुले न्यूनतम १ सयदेखि १ करोड इकाईसम्म आवेदन दिन सक्नेछन् ।  नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त गरेका सम्पूर्ण सीआस्बा सदस्य बैंक तथा वित्तीय संस्थाबाट सीआस्बा प्रणाली मार्फत आवेदन दिन सक्नेछन् ।

एन्फालाई जग्गा दिएपछि उद्योग मन्त्रालयको जग्गा विवादमा, बहुउद्देश्यीय परियोजना निर्माण गर्नुपर्ने

काठमाडौं । सूर्यविनायक नगरपालिकाले जगातीस्थित भक्तपुर इँटा तथा टायल उद्योग रहेको उद्योग मन्त्रालयको २५० रोपनी जग्गामा बहुउद्देश्यीय परियोजना निर्माण गर्नुपर्ने स्थानीयले माग गरेका छन् । उक्त जग्गामा अन्तर्राष्ट्रिय मापदण्ड अनुसारको अत्याधुनिक रङ्गशाला निर्माण प्रक्रिया अगाडि बढाइएको सहमतिपत्रसम्बन्धी स्थानीयले असहमति जनाउँदै यहाँ बहुउद्देश्यीय परियोजना निर्माण गर्नुपर्ने माग गरेका हुन् । सूर्यविनायक नगरपालिका-८ जगातीमा स्थानीयको बृहत भेलाले स्थानीयसँग कुनै सरोकार नराखी नगरपालिकाले एकलौटी रूपमा निर्णय गरेर एन्फालाई जग्गा उपलब्ध गराउने सन्दर्भमा गरेको सिफारिसमा असहमति जनाएका हुन् । प्रधानमन्त्री केपी शर्मा ओलीको पहल र अखिल नेपाल फुटबल सङ्घ (एन्फा)को प्रस्तावमा नगरपालिकाले रङ्गशाला निर्माणको प्रक्रिया अगाडि बढाउन सैद्धान्तिक सहमति दिएसँगै उक्त जग्गामा रङ्गशाला निर्माण हुने विषय चर्चामा आएको छ । सङ्घीय सरकार अन्तर्गत उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको नाममा रहेको २५० रोपनी जग्गामा चिनियाँ सरकारद्वारा निर्मित चाइनिज इँटा तथा टायल कारखाना सरकारले निजीकरण गरेपछि विगत २० वर्षदेखि भक्तपुर इँटा तथा टायल कारखाना सञ्चालन हुँदै आएको थियो । मन्त्रालयले कारखानालाई इँटा तथा टायल उद्योग सञ्चालनका लागि सम्झौता नवीकरण नगरे बन्द हुने जनाएपछि उक्त जग्गामा विभिन्न निकायले बहुउद्देश्यीय परियोजनासहित संरचना निर्माणका लागि माग गर्दै आएका छन् । उक्त जग्गामा नेपाल कम्युनिष्ट पार्टी (एमाले) का पोलिटब्युरो सदस्य एवं पूर्वउद्योगमन्त्री महेश बस्नेतले भक्तपुर जिल्ला प्रशासन कार्यालय, प्रहरी कार्यालयलगायत सम्पूर्ण सरकारी कार्यालय एउटै ठाउँमा राख्नुपर्ने प्रस्ताव आफू मन्त्री हुँदा अगाडि बढाएको बताए । त्यसपछि सहिद धर्मभक्त मानव अङ्ग प्रत्यारोपण केन्द्रले पनि उक्त जग्गामा अस्पताल भवन बनाउन माग गरेको थियो भने नेपाल मजदुर किसान पार्टी र भक्तपुर नगरपालिकाले ख्वपः विश्व विद्यालयको भवन निर्माणका लागि सो जग्गा माग गर्दै आएको छ । यसबारे नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले केही दिन अघि प्रतिनिधिसभामा उक्त जग्गा ख्वपः विश्व विद्यालय निर्माणका लागि उपलब्ध गराउन माग गरे । यता स्थानीयवासीले भने मानव बस्तीको बीचमा रङ्गशाला बनाउँदा समस्या आउने भन्दै बहुउद्देश्यीय भवनसहितको संरचना बनाउन माग गरेका छन् । शनिबार बहुउद्देश्यीय परियोजना निर्माण समन्वय समितिद्वारा आयोजित छलफलमा समितिका अध्यक्ष नविन प्रजापतिले स्थानीयसँग समन्वय, सहकार्यबिना कुनै सुझाव नलिई रङ्गशालाका लागि प्रस्ताव अगाडि बढाइनु दुःखद भएको भन्दै स्थानीयसँग समन्वय गर्न सरोकार भएका निकायलाई आग्रह गरे । उनले विगत पाँच वर्षदेखि यस जग्गामा बहुउद्देश्यीय बृहत् परियोजना निर्माणका लागि विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तयार गरी प्रधानमन्त्री केपी शर्मा ओली, नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल, उद्योग मन्त्रालयका मन्त्री र मन्त्रालयमा पत्र बुझाइ सकिएको जनाउँदै अहिले रङ्गशाला निर्माणको विषयले स्थानीयलाई तरङ्गित बनाएको बताए ।  अध्यक्ष प्रजापतिले भने, ‘हामी रङ्गशालाको विरोधी होइनौँ, तर स्थानीयवासीसँग सरोकार राख्नुपर्छ भन्ने हो । रङ्गशाला अलिभित्रको जग्गामा पनि बनाउन सकिन्छ । यहाँ भारतको गान्धी पार्कमा जस्तो संरचना निर्माण माग गर्दै आएका छौँ । त्यसलाई बेवास्ता गर्नु हुँदैन ।’ समन्वय समितिले जमिनको सतहभन्दा मुनीको भागमा तीनतले ‘अण्डरग्राउण्ड पार्किङ्ग’सहितको पूर्वबाट आउने सम्पूर्ण यातायातका साधनका लागि बसपार्क निर्माण गर्नुपर्ने, इभी सवारीका लागि ठूलो चार्जिङ्ग स्टेसन बनाउनु पर्ने, अन्तर्राष्ट्रियस्तरको सभाहल निर्माण गरिनुपर्ने, अन्तर्राष्ट्रियस्तरको व्यावसायिक प्रदर्शनीस्थल निर्माण गरिनु पर्ने, सूर्यविनायक नगर अस्पतालको क्षमता वृद्धि गरी ट्रमा सेन्टर बनाइनु पर्ने, भक्तपुरका सम्पूर्ण सरकारी कार्यालय यहाँ राखिनुपर्ने, भारतको नयाँ दिल्लीस्थित गान्धी चोकको पालिका बजार जस्तै व्यवस्थित बजार बनाइनु पर्ने, व्यवस्थित होटल तथा लज, पौडी पोखरीलगायत संरचना एउटै ठाउँमा निर्माण गरिनुपर्ने माग राखेको छ । शनिबारको छलफलमा जगाती आदर्श टोल विकास संस्था, सिपाडोल बृहत् खानेपानी उपभोक्ता उपसमिति–१, डाँगाचा टोल सुधार समाज, सिम्रिक टोल सुधार समिति, चोलिङग गणेश टोल सुधार समिति, तौडोल छाप खानेपानी उपभोक्ता समिति, डाँगाचा खानेपानी तथा सरसफाइ उपभोक्ता समितिले संयुक्त रूपमा ती माग राखेका छन् । छलफलमा डाँगाचा उपभोक्ता समितिका अध्यक्ष प्रेमबहादुर माक, सिपाडोल बृहत् खानेपानी उपभोक्ता उपसमिति-१ का अध्यक्ष तुलसीनारायण लाखेमरु, स्थानीय सिद्धिराम लगायतले समितिले प्रस्ताव गरेको डिपिआरलाई सम्बोधन गर्दै अगाडि बढेमा रङ्गशाला निर्माणमा स्थानीयले सहयोग गर्ने बताए । यसअघि सूर्यविनायक नगरपालिकाका प्रमुख वासुदेव थापाले एन्फाका महासचिव किरण राईलाई उक्त जग्गामा रङ्गशाला निर्माणका लागि औपचारिक रूपमा प्रस्ताव हस्तान्तरण गरिसकेका छन् । 

ऋण मिनाहा माओवादीको प्राथमिकता छ : अध्यक्ष दाहाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) ले समाजवादको दिशामा अघि बढ्न उद्योगी तथा व्यवसायीको योगदान अपरिहार्य रहेको बताएका छन् ।  नेपाल उद्योग व्यापार महासङ्घले पोखरामा आयोजना गरेको ‘समाजवाद उन्मुख अर्थतन्त्रमा नेपाली उद्योगी-व्यवसायीको भूमिका’ विषयक प्रशिक्षण तथा महासङ्घ केन्द्रीय समितिको आठौँ बैठक उद्घाटन गर्दै उनले समाजवाद स्थापनामा सबैले योगदान गर्नुपर्ने बताए । अध्यक्ष दाहालले भने, ‘हामी समाजवाद स्थापनाका लागि अघि बढेका छौँ । सुशासन, सामाजिक न्याय र समृद्धिको मार्ग हुँदै समाजवादमा पुग्ने हो । यसमा तपाई उद्योगी व्यवसायीको योगदान धेरै महत्त्वपूर्ण हुन्छ ।’ अध्यक्ष दाहालले नेपाललाई आत्मनिर्भर र स्वाधीन अर्थतन्त्रको बाटोमा अघि बढाउन माओवादी केन्द्रले स्पष्ट कार्ययोजना अघि सारेको बताए । माओवादी आन्दोलन मध्यम वर्गको पक्षमा रहेको र ऋण मिनाहा, सहकारी सुधार र तल्लो वर्गको उत्थान पार्टीको प्राथमिकता भएको उनले धारणा राखे । अध्यक्ष दाहालले पछिल्लो समय माओवादी घटक, इमानदार कम्युनिष्टबीच एकता र सहकार्य बढ्दै गएको बताए । 

सामाजिक सञ्जाल सूचीकरणमार्फत नियमन गर्ने कार्यमा क्यान महासङ्घकाे समर्थन

काठमाडौं । सूचना प्रविधिको क्षेत्रको अग्रणी संस्था कम्प्युटर एसोसिएसन नेपाल महासङ्घ (क्यान महासङ्घ)ले सामाजिक सञ्जाललाई सूचीकरणमार्फत नियमन गर्ने सरकारको मूल उद्देश्यप्रति समर्थन जनाएको छ । महासङ्घले कानुनी दायरामा ल्याउने पहल सकारात्मक भए पनि निष्क्रिय बनाउने कार्यका कारण ल्याउन सक्ने असरप्रति सचेत रहन आग्रह गरेको छ । नेपालमा सूचीकरण नभएकै कारण अपराध, गलत सूचना र व्यक्तिगत सुरक्षासम्बन्धी समस्यामा औपचारिक सम्पर्क कार्यालय नहुनु चुनौती भएको महासङ्घले जनाएको छ । ‘सामाजिक सञ्जाल दर्ता प्रक्रियामा ल्याउने सरकारको निर्णयलाई हामी सकारात्मक रूपमा लिन्छौं । यसले प्रयोगकर्ताको सुरक्षामा टेवा पुग्नेछ, साइबर अपराध नियन्त्रण र राजस्व वृद्धिमा योगदान गर्नेछ । तर फेसबुक, एक्स, युट्युब जस्ता महत्त्वपूर्ण प्लेटफर्महरू एकैपटक बन्द गर्दा शिक्षा, व्यवसाय, सञ्चार र आमनागरिकको दैनिकीमा गम्भीर असर पर्न सक्छ,’ महासङ्घकी अध्यक्ष सुनैना घिमिरे पाण्डेले भनिन् ।  यो घटनाले नेपाल विश्वसँग डिजिटल रूपमा पछाडि पर्न सक्ने जोखिम पनि उत्तिकै रहेको भन्दै अध्यक्ष पाण्डेले यस्तो कदमलाई चरणबद्ध रूपमा अघि बढाउँदै सरोकारवालासँग पर्याप्त छलफल गरेर व्यावहारिक समाधान ल्याउनुपर्नेमा जोड दिइन् । महासङ्घका अनुसार नेपालमा करिब ७० प्रतिशत साना तथा मझौला व्यवसाय सामाजिक सञ्जालमार्फत बजार विस्तार र ग्राहक सम्पर्कमा निर्भर छन् । त्यस्तै, सामाजिक सञ्जालमार्फत कन्टेन्ट राखेर आयआर्जन गर्ने ठूलो सङ्ख्यामा प्रयोगकर्ता रहेका कारण प्रतिबन्धले रोजगारी गुम्ने र व्यवसाय धराशायी हुने खतरा देखिएको छ । वैदेशिक रोजगारीमा रहेका नेपालीले परिवारसँग सम्पर्क गर्ने प्रमुख माध्यम रोकिँदा सामाजिक सम्बन्ध र मानसिक स्वास्थ्यमा नकारात्मक असर पर्ने पनि महासङ्घले जनाएको छ । अध्यक्ष पाण्डेले सामाजिक सञ्जाल निष्क्रिय गराउने कार्यलाई अन्तिम समाधानका रूपमा नलिई नियमनलाई दीर्घकालीन रणनीति बनाउनुपर्नेमा जोड दिए । महासङ्घले स्पष्ट कानुनी ढाँचा तयार पार्दै नेपालमा सम्पर्क विन्दु अनिवार्य गर्ने र लगानी मैत्री वातावरण निर्माण गर्न सकेमात्र यो समस्याको दीर्घकालीन समाधान सम्भव हुने उल्लेख गरेको छ । क्यान महासङ्घका महासचिव चन्द्र विलास भुर्तेलले सामाजिक सञ्जाल बन्द भएमा भिपीएन र ओपन डिएनएसको प्रयोग अत्यधिक बढ्ने र यसले साइबर सुरक्षामा गम्भीर जोखिम निम्त्याउने धारणा राखे । महासङ्घले अन्तर्राष्ट्रिय अभ्यासलाई आधार बनाउँदै नेपालले पनि व्यवस्थित र व्यावहारिक कानुनी संरचना बनाउनुपर्नेमा जोड दिएको छ । सन्तुलित नियमनमार्फतमात्र सामाजिक सञ्जाललाई व्यवस्थित र सुरक्षित बनाउन सकिनेमा क्यान महासङ्घले जोड दिएको छ । यस विषयमा जिम्मेवार निजी क्षेत्रको हैसियतमा सरकारसँग प्राविधिक अध्ययनमा सहयोग गर्ने, अन्तर्राष्ट्रिय अभ्यास साझा गर्ने र सरोकारवालासँग निरन्तर संवाद गर्ने प्रतिबद्धता समेत महासङ्घले जनाएको छ ।

१ करोड लगानीमा साबुन उद्योग सञ्चालन, ५० लाख रुपैयाँ आम्दानी

काठमाडौं । १ करोड रुपैयाँ लगानीमा बागलुङमा साबुन उद्योग सञ्चालनमा आएको छ । काठे खोला गाउँपालिका-७ रेशका तीर्थ गौतम र तारा शर्माले पछिल्लो दुई वर्षदेखि कालिका साबुन उत्पादन गर्दै आएका हुन् । उनीहरू दुवै स्नातकोत्तर उत्तीर्ण हुन् । उनीहरुलाई समकालीन साथीहरू विदेशिँदा तिमीहरू पनि विदेश जाऊ भनेर सल्लाह दिनेहरू नभेटिएका होइनन् । परिवारकै सदस्यले पनि विदेश जानुको विकल्प देखिँदैन भन्थे । तर, तीर्थ र ताराले विदेशको विकल्प रोज्ने होइन, नेपालमै उद्यमी बन्ने सपना देखे । यतिबेला उनीहरू दुई वर्षको छोरासँगै आफ्नो उद्योगलाई हुर्काइरहेका छन् । स्वदेशमै स्वरोजगार सृजना गरेका तीर्थ र ताराको उद्योगमा अहिले ६ जनाले रोजगारी पाएका छन् । बागलुङ बजारको हल्लन चोक नजिकै रहेको टिएण्डटी म्यानुफ्याक्चरिङ उद्योगबाट तीर्थ र ताराले भाँडा र कपडा धुने साबुन उत्पादन गरेर बागलुङको गलकोट, बुर्तिबाङ, कुश्मिसेरा, बरेङ र म्याग्दी र पर्वत जिल्लाका मुख्य सहरमा बिक्री गर्दै आएका छन् । विसं २०७८ मा पर्यटन तथा उद्योग कार्यालय र बागलुङ नगरपालिकामा उद्योग दर्ता गरेका तीर्थ र ताराले २०८० सालबाट साबुन उत्पादन गरेर बिक्री गर्न थालेका हुन् । ५० लाख रुपैयाँ लगानी गरेर सुरु गरेको उद्योगमा १ करोड रुपैयाँभन्दा बढी लगानी पुगेको छ । निकट भविष्यमा सरफ, हार्पिक र कुलिनसमेत उत्पादन गर्ने लक्ष्य रहेको ताराले बताए । ‘अहिले विदेश जाने लहर चलेको छ, तर हामीहरूले यही नै केही गर्नुपर्छ भन्ने सोच बनायौँ र साबुन उद्योग सुरु गरेका हौं, नयाँ कामको सुरुआत आफैँबाट थालनी गर्नुपर्छ भन्ने मान्यता राख्छौँ, यहाँ साबुन उद्योग सञ्चालन हुँदा गाउँ ठाउँकै स्थानीयले नै रोजगार पाउँछन्,’ उनले भनिन् ।  साबुन उत्पादनका लागि अधिकांश कच्चा पदार्थ भारत र केही काठमाडौंबाट खरिद गर्ने तीर्थले बताए ।  आफूहरूले वार्षिक ५० लाख रुपैयाँ बराबरको कारोबार गर्ने उनको भनाइ छ । २ सय ग्रामको कपडा धुने कालिका साबुनलाई ५० रुपैयाँमा बिक्री गर्दै आएको उनी बताउँछन् । उत्पादनमा मात्र नभएर उत्पादित साबुनको गुणस्तरमा समेत ध्यान दिने गरेको उनको भनाइ छ । 

कोशी र कर्णालीमा भारी वर्षा, निम्न चापीय क्षेत्रको प्रभाव पूर्वी नेपालमा

काठमाडौं । हाल मनसुनको न्यूनचापीय रेखा पूर्वमा सरदर स्थान र पश्चिममा सरदरभन्दा दक्षिणतिर अवस्थित रहेको छ । सिक्किम आसपासको निम्न चापीय क्षेत्रको प्रभाव नेपालको पूर्वी भू-भागमा पर्ने देखिएको जल तथा मौसम विज्ञान विभाग पूर्वानमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार आज दिउँसो देशका पहाडी भागमा साधारणतया बदली रहि बाँकी भागमा आंशिक बदली रहनेछ । देशका पहाडी भागका केही स्थान र बाँकी भागका केही स्थानमा मध्यम वर्षाको सम्भावना छ । कोशी र कर्णाली प्रदेशका पहाडी भागका एक/दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ ।  त्यसैगरी, आज राति कोशी र मधेस प्रदेशलगायत देशका पहाडी भागमा साधारणतया बदली र बाँकी भागमा आंशिक बदली रहनेछ । कोशीलगायत बागमती र गण्डकी प्रदेशका पहाडी भागका केही स्थान र बाँकी पहाड र तराई भागका केही स्थानमा मध्यम वर्षाको सम्भावना रहेको छ । कोशी प्रदेशका तराई भागका एक/दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ । महाशाखाले वर्षाका पहिरो तथा गेग्रान बहावको जोखिम रहेको, ठूला तथा साना नदीनाला र खोलाहरूमा पानीको सतह बढ्न सक्ने तथा यातायात क्षेत्र प्रभावित हुनसक्ने प्रक्षेपण गर्दै सबैलाई सतर्क रहन तथा पूर्वतयारी गर्न अनुरोध गरेको छ ।

गँड्यौलाबाट मनग्गे आम्दानी, प्रतिकिलो २५ रुपैयाँका दरले बिक्री

काठमाडौं । कञ्चनपुरको भीमदत्त नगरपालिका-१२ का उत्तम सुनारले गँड्यौलाको मल उत्पादन गरेर मनग्गे आम्दानी गर्न थालेका छन् । सुदूरपश्चिम विश्वविद्यालयमा बिबिएस तेस्रो वर्षमा अध्ययनरत सुनारले इन्टरनेटको माध्यमबाट सिकेर गँड्यौला मल उत्पादन गर्न लागेका हुन् ।  ‘अध्ययन गर्दागर्दै केही गरेर आम्दानी गर्ने सोच आयो, त्यसपछि इन्टरनेटमा के गर्दा ठिक होला भनेर खोज्न थाले,’ उनले भने, ‘गँड्यौला मल उत्पादनबाट कम लगानीमा बढी आम्दानी गर्न सकिने थाहा पाएपछि यसतर्फ लागे ।’ सुनारले २ वर्षअघि ४ लाख रुपैयाँ लगानीमा चार ब्याडबाट मल उत्पादन सुरु गरेको बताए । उनले चार ब्याडबाट राम्रो आम्दानी भएपछि मल उत्पादन थप गरेर २५ ब्याडमा विस्तार गरेका छन् ।  ‘माग धेरै आउन थालेपछि मल उत्पादन बढाएको छु, तर पनि बजारको माग धान्न सकिएको छैन,’ उनले भने, ‘किसानले रासायनिक मलको विकल्पमा गँड्यौला मल प्रयोग गर्न थालेपछि यसको माग धेरै आउने गरेको छ ।’ उनले उत्पादन गरेको मल कैलालीसम्म बिक्री हुने गरेको बताए । पछिल्लो समय तरकारी खेती, बगर खेती, बेमौसमी खेती गर्ने किसानले मलको माग गर्ने गरेको उनको भनाइ छ ।  ‘सुरुआतमा करिब ४ लाख रुपैयाँ लगानी गरेको थिएँ, त्योभन्दा बढी आम्दानी गरिसकेको छु,’ उनले भने, ‘एक महिनामा मात्र १ लाख ५० हजार रुपैयाँको मल बिक्री गरेको छु, यसरी बिक्री भयो भने वर्षमा ७ लाख रुपैयाँसम्म आम्दानी हुन्छ ।’ सुनारले तीन महिनामा ४८ क्विन्टल बढी मल बिक्री गरेको बताए । गँड्यौला मल प्रतिकिलो २५ रुपैयाँका दरले बिक्री हुने गरेको छ ।  ‘बजारको मागअनुसार उत्पादन गर्न सकिएको छैन, मलका लागि जिल्लाबाट समेत माग आउने गरेको छ । मल उत्पादन थप गर्ने योजना बनाएको छु,’ उनले भने ।   गँड्यौला मलको प्रयोगले उत्पादन राम्रो हुने भएपछि पछिल्लो समय किसानले खेतीमा गँड्यौला मल प्रयोग गर्ने गरेका छन् । उक्त मलले माटोको उर्वराशक्ति बढाउनुका साथै कम लागतमा उत्पादनमा वृद्धि र मानवीय स्वास्थ्य तथा वातावरणीय सुधारका निम्ति पनि यो उत्तम छ ।  पछिल्लो समय किसानले रासायनिक मलको विकल्पका रुपमा यो मल प्रयोग गर्ने गरेका छन् । गँड्यौला मलमा एन्टिबायोटिक, भिटामिन, हर्मोन प्राप्त हुने भएकाले अरू मलभन्दा यो बढी गुणस्तरीय मानिन्छ । यस मलमा सामान्य माटोमा पाइने नाइट्रोजनभन्दा पाँच गुणा, फस्फोरसभन्दा सात गुणा र पोटासभन्दा ११ गुणा बढी मात्रामा पाइने कारण खेती बालीका लागि बहु उपयोगी मानिएको छ । 

भाडा पुर्ताल सम्झौतासम्म नियमित, सकिएपछि विमान बिग्रिएको त कहिले मौसम खराब

काठमाडौं । इलाम जिल्लाको पर्यटन र अर्थतन्त्रसँग प्रत्यक्ष जोडिएको इलामको फाल्गुनन्द-सुकिलुम्बा विमानस्थल सुनसान बनेको छ । आर्थिक वर्ष २०८१/८२ मा ३३ उडान भरेको यो विमानस्थल अहिले जहाज उडानको पर्खाइमा छ । इलाम नगरपालिका-९ स्थित यो विमानस्थलमा उडान नियमित रुपमा गर्न जिल्ला वासीले माग गरेका छन् । विसं २०७५ जेठ २१ गते तारा एयरको ट्वीनअटर जहाजले पहिलो परीक्षण उडान सफल गरेको थियो । यहाँका जनताले नियमित रुपमा जहाज उडानको आश गरेका थिए । त्यसपछि नेपाल एयरलाइन्सले पनि २०७८ माघ २६ गते सफल परीक्षण उडान गरेको थियो । नियमित उडान नहुँदा इलामसहित पूर्वी पहाडी क्षेत्रका नागरिक अझै पनि झापा वा विराटनगर धाउन बाध्य छन् । यस विमानस्थलबाट गत जेठ यता कुनै पनि उडान हुन सकेको छैन । सुरुआतमा तारा एयरको जहाजले बुधबार र शनिबार गरी सातामा दुईपटक उडान भरेको थियो । नगरपालिकाले इलामबाट काठमाडौं फर्कँदा जहाजको सिट खाली भए त्यसको भाडा पुर्ताल गर्ने सम्झौता गरेको थियो । सो सम्झौता सकिएपछि पुनः नगरपालिकाले नेपाल एयरलाइन्ससँग सम्झौता गरी २०७९ साल माघ १ गतेदेखि सोही तालिकामा इलाम-काठमाडौं उडान गरेको थियो । तर त्यसपछिका वर्षमा नगरपालिकाले कुनै एयरलाइन्ससँग सम्झौता नगरेको प्रमुख प्रशासकीय अधिकृत गणेश कुमार खड्काले बताए । ‘पहिला केही वर्ष नगरपालिकाले केही रकम व्यहोर्ने गरी तारा एयर र नेपाल एयरलाइन्ससँग सम्झौता गरी उडान हुँदै आएको रहेछ,’ प्रमुख प्रशासकीय अधिकृत खड्काले भने, ‘अहिले त्यस्तो कुनै सम्झौता छैन, हामीले कुनै दायित्व ब्यहोर्नुपर्ने छैन ।’ नगरपालिकासँगको सम्झौता सकिएपछि पनि नेपाल एयरलाइन्सले सातामा शनिबार एक दिन उडान भर्दै आएको थियो । तर एयरलाइन्सले मौसमका कारण २०८२ जेठ १४ गतेदेखि उडान भर्न नसकेको विमानस्थल इलामका स्टेसन इन्चार्ज दिनेश सुन्दासले बताए। तीन महिना यता सो विमानस्थल सुनसान बनेको छ । इलाम नगरपालिका-९ का वडाध्यक्ष गोपाल चौहानले विमानस्थल नियमित सञ्चालन गर्नुपर्नेमा आफूहरू लागिपरेको बताए ।  ‘नगर कार्यपालिकाको बैठकमा पटकपटक कुरा उठाएर विमानस्थल सञ्चालनका लागि पहल भइरहेको छ । तर कहिले विमान बिग्रिएको त कहिले मौसमको कारण देखाउँदै विमानस्थल नियमित सञ्चालनको दीर्घकालीन समाधान हुन सकिरहेको छैन,’ उनले भने ।  ३२८ रोपनी क्षेत्रमा निर्माण भएको विमानस्थलका लागि २०५८ सालमा प्रक्रिया सुरु भएको थियो । विमानस्थलको ६७० मिटर लम्बाइ र २० मिटर चौडाइको धावन मार्ग कालोपत्र भएको छ । तर स्थायी टर्मिनल भवन, पक्की पहुँच मार्ग, सुरक्षित तार बारलगायत संरचना अझै अधुरै छन् । स्थानीयबाट करिब ४ करोड रुपैयाँसहित अहिलेसम्म विमानस्थलका लागि २८ करोड रुपैयाँ बढी खर्च भएको नेपाल नागरिक उड्डयन प्राधिकरणले जनाएको छ ।  विमानस्थल निर्माण हुने भएपछि स्थानीयले प्रतिव्यक्ति एकदेखि ४२ रोपनीसम्म जग्गा दिएका थिए । विसं २०६७ चैत १३ गते तत्कालीन प्रधानमन्त्री झलनाथ खनालले शिलान्यास गरेको विमानस्थलको २०७८ साल फागुन १ गते खनालले नै उद्घाटन गरेका थिए ।