विकासन्युज

सुदूरपश्चिममा वार्षिक तीन लाख ५५ हजार मेट्रिकटन दूध उत्पादन

सुदूरपश्चिम । सुदूरपश्चिम प्रदेशमा दूधको उपलब्धता बढेर प्रतिव्यक्ति वार्षिक १२० देखि १३० लिटरसम्म पुगेको छ । दूध उत्पादनमा व्यवसायीकरण भएसँगै यसको उपलब्धता बढेको हो । करिब डेढ दशक अघिसम्म दूधको उपलब्धता योभन्दा कम थियो । भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका सचिव शङ्कर साहले भने, 'पहिले घरायसी प्रयोजनका लागि मात्रै दूध उत्पादन हुँदै आएको थियो, पछिल्ला वर्षमा व्यावसायिक रूपमा उत्पादन भइरहँदा उपलब्धता दर पनि बढेको हो ।' उनका अनुसार प्रदेशमा करिब ६० देखि ७० हजार किसान दूध उत्पादनमा संलग्न रहेकामा यो व्यवसायबाट १० देखि १२ हजारले प्रत्यक्ष रोजगारी पाएका छन् । प्रदेशका सबै नौ जिल्लामा गरी १० लाख गाई र पाँच लाख भैँसीपालन भइरहेको मन्त्रालयले जनाएको छ । पालिएका गाईभैँसीबाट वार्षिक तीन लाख ५५ हजार मेट्रिकटन दूध उत्पादन भइरहेको सचिव साहले जानकारी दिए । नेपालमा प्रतिव्यक्ति वार्षिक ९२ लिटर दूध उपलब्धता हुनुपर्ने मानसिक रहेपनि देशको औसत उपलब्धता ९० लिटर मात्र रहेको मन्त्रालयका सचिव साहले बताए । 'प्रदेश दूधको उपभोगमा पनि आगाडि छ । यहाँ दूधको उपभोगमा आगाडि देखिनुमा घरेलु उपभोग प्रमुख हो । अधिकांश परिवारमा दूधबाट घरमै घ्यू, दही, मोही र अन्य परिकार बनाउने चलन छ', उनले भने । यहाँको दूध र दुग्ध परिकारलाई ‘ब्रान्डिङ’ गरेर बजारमा लैजान सकिएमा सुदूरपश्चिमले दुग्धजन्य उत्पादनका लागि पहिचान बनाउन सक्ने कृषि प्राविधिकको भनाइ छ । घ्यू, दही, छुर्पी, पनिरलगायत परिकारलाई स्थानीय स्वाद र संस्कृतिसँग जोडेर प्रवर्द्धन गर्न सकिएमा प्रदेशको आर्थिक रुपान्तरणमा टेवा पुग्ने मन्त्रालयका सचिव साहले विश्वास व्यक्त गरे । प्रदेशलाई परम्परागत रूपमा कृषि र पशुपालनमा निर्भर क्षेत्रका रूपमा लिने गरिएको बताउँदै उनले पहाडी भूगोल, ग्रामीण जीवनशैली र परम्परागत खाद्य संस्कृतिले यहाँको दुग्ध उत्पादनलाई देशका अन्य प्रदेशभन्दा फरक र विशिष्ट बनाएको उल्लेख गरे । भौगोलिक कठिनाइ, सीमित पूर्वाधार र बजार पहुँचको समस्या हुँदाहुँदै पनि यो उत्पादन परिमाणलाई प्रदेशको ठूलो उपलब्धि मानिएको नेपाल डेरी एसोसिएसनका केन्द्रीय उपाध्यक्ष कर्णबहादुर हमालले बताए । दूध उत्पादन पहिलेभन्दा बढ्दै गए पनि व्यवस्थित बजारीकरणमा समस्या रहेको उनको भनाइ छ । उनले भने, 'प्रदेशभरि ३३ वटा डेरी उद्योग सञ्चालनमा आइसकेका छन्, उत्पादित केही परिमाणको दूध पूर्व चितवन र भक्तपुरसम्म पुग्ने गरेको छ ।' दूध प्रशोधन उद्योग, पाउडर प्लान्ट, चिस्यान प्रविधि (कोल्ड चेन) नहुनु, सहज ढुवानीको समस्या, मूल्य निर्धारणको अस्पष्टतालगायत कारणले सहज व्यवस्थापनमा समस्या हुँदै आएको हमालले बताए । रासस

पृथ्वीनारायणले बनाएको यो देश फेरि नयाँ पुस्ताले समृद्ध बनाउनुपर्छ : चन्द्र भण्डारी

काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य चन्द्र भण्डारीले आज राजा पृथ्वीनारायण शाहले नेपाल निर्माण गरेको दिन भएको बताएका छन् ।  पार्टीको विशेष महाधिवेशनलाई सम्बोधन गर्दै उनले देश विचारले चल्ने दावी गरे । भण्डारीले हरेक आन्दोलनको नेता भएको कांग्रेसले त्यो इतिहास अहिले कायम गर्न नसकेको गुनासो गर्दै भने, ‘अब हामीले त्यो इतिहास जोगाउनुपर्छ ।’  अब नयाँ पुस्ता नै देशको नेता हुनुपर्ने आग्रह उनको छ । ‘तपाईंहरूजस्तै युवा पृथ्वीनारायणले बनाएको यो देश फेरि नयाँ पुस्ताले समृद्ध बनाउनुपर्छ,’ उनले भने ।

नेपाली कांग्रेसको विशेष महाधिवेशनमा नाम दर्ता प्रक्रिया जारी, ४९.३४ प्रतिशतले गरे नाम दर्ता

काठमाडौं । नेपाली कांग्रेसको विशेष महाधिवेशनमा अहिलेसम्म कुल उम्मेदवारमध्ये ४९.३४ प्रतिशत महाधिवेशन प्रतिनिधिले नाम दर्ता गराएका छन् ।  नेता रामप्रसाद अधिकारीले महाधिवेशनस्थलमा नाम दर्ता गर्ने प्रक्रिया निरन्तर जारी रहेको जानकारी दिए । नाम दर्ता प्रक्रिया बिहानैदेखि सभ्य र व्यवस्थित रूपमा सञ्चालन भइरहेको उनको भनाइ छ । कांग्रेसको चौधौं महाधिवेशनमा ४ हजार ७ सय ४३ महाधिवेशन प्रतिनिधिहरू रहेका थिए । विशेष महाधिवेशनमा चौधौं महाधिवेशनका प्रतिनिधिहरू नै प्रतिनिधि रहेका छन् ।

प्रचण्डले गरे रुकुम पूर्वबाट उम्मेदवारी दिने घोषणा

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले २१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचनमा रुकुम पूर्वबाट उम्मेदवारी दिने घोषणा गरेका छन् । शनिबार रुकुमपश्चिम पुगेका प्रचण्डले आफ्ना पूर्वसहकर्मी तथा प्रभावशाली नेता जनार्दन शर्माको गृहजिल्लामा आयोजित आमसभामालाई सम्बोधन गर्दै आफू रुकुम–पूर्ववाट निर्वाचन लड्ने बताएका हुन् ।  दाहालले आफू लुम्बिनी प्रदेशको एकमात्रै निर्वाचन क्षेत्र रहेको पूर्वी–रुकुमवाट निर्वाचनमा प्रतिष्पर्धा गर्ने बताउँदै अव बारम्बार रुकुम आइरहने दावी गरे । तत्कालीन नेपाल कम्युनिष्ट पार्टी माओवादीका लुम्बिनी प्रदेश अध्यक्ष सुदर्शन बलालका अनुसार पार्टी संयोजक दाहाल रुकुम–पूर्वबाट निर्वाचन लड्ने निश्चित भएको छ । हरेक निर्वाचनमा निर्वाचन क्षेत्र परिवर्तन गर्दै लगातार जित हासिल गर्दै आएका प्रचण्डको यो निर्णयले रुकुम-पूर्वको राजनीतिक माहोल थप तताएको छ । दाहाल २०६४ चैत्र २८ मा सम्पन्न पहिलो संविधानसभा निर्वाचनमा काठमाडौं निर्वाचन क्षेत्र नम्बर १० र रोल्पाबाट प्रतिस्पर्धा गरेका थिए । उक्त निर्वाचनमा दाहालले दुवै निर्वाचन क्षेत्रबाट विजय हासिल गरेका थिए । २०७० को दोस्रो संविधानसभा निर्वाचनमा दाहाल काठमाडौं १० र सिराहा- ५ बाट प्रतिस्पर्धा गरेका थिए । उक्त निर्वाचनमा दाहालले सिराहाबाट निर्वाचन जित्दा काठमाडौंबाट पराजय भोगेका थिए ।  २०७२ मा संविधान सभाले संविधान जारी गरेपछि भएको २०७४ को आम निर्वाचनमा चितवनबाट निर्वाचन जितेका थिए भने २०७९ मा गोरखाबाट विजय हासिल गरेका थिए ।

विशेष महाधिवेशन : दिउँसोसम्म एक हजार ३२७ सहभागीद्वारा नाम दर्ता

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्रीद्वयको अगुवाइमा आइतबारदेखि काठमाडौंको भृकुटीमण्डपमा भइरहेको विशेष महाधिवेशनमा भाग लिन आउने महाधिवेशन प्रतिनिधिहरूको नाम दर्ता निरन्तर चलिरहेको छ । कांग्रेसको विशेष महाधिवेशन पक्षधर समूहको आयोजनामा  हुन लागेको दुई दिने महाधिवेशनको पहिलो दिन आज आठ वटा ‘स्टल’बाट नाम दर्ता प्रक्रिया सुरु भइरहेको छ । बिहान ९ बजेदेखि सुरु भएको नाम दर्तामा दिउँसो १ः३० बजेसम्म एक हजार ३२७ प्रतिनिधिले नाम दर्ता गरेको विशेष महाधिवेशन जिल्ला क्षेत्र, ‘फोकल पर्सन’ समन्वय समितिका संयोजक युवराज पाण्डेयले जानकारी दिए ।  कांग्रेसले कर्णाली र सुदूरपश्चिमका लागि एक स्टल, विदेशस्थित जनसम्पर्क समिति, भ्रातृ संस्था र शुभेच्छुक संस्थाका लागि एक स्टल, उपत्यकाभित्रका काठमाडौं, भक्तपुर र ललितपुरका लागि एक स्टल र बाँकी पाँच प्रदेशका लागि छुट्टाछुट्टै स्टलको व्यवस्था गरेको जनाएको छ । कांग्रेसमा देशभर चार हजार ७४३ महाधिवेशन प्रतिनिधि रहेका छन् । विशेष महाधिवेशनको उद्घाटन सुरु हुनुअघि सहभागीले काठमाडौंका विभिन्न छ स्थानबाट जुलुस निकालेका थिए । विशेष महाधिवेशनको केहीबेर अगाडि भृकुटीमण्डमा उद्घाटनसमेत भएको छ ।  संयोजक पाण्डेयका अनुसार विशेष महाधिवेशनको उद्घाटनसत्रपछि भृकुटीमण्डपको सभाहलमा बन्दसत्र सञ्चालन हुनेछ ।  

विनोद चौधरी पनि पुगे विशेष महाधिवेशन स्थल

काठमाडौं । नेपाली कांग्रेसको संस्थापन पक्षमा रहेका नेता तथा व्यवसायी विनोद चौधरी पनि विशेष महाधिवेशनमा पुगेका छन् ।  पार्टीमा लामो समयदेखि सभापति शेरबहादुर देउवाका निकट रहेका चौधरी आइतबारदेखि सुरु भएको विशेष महाधिवेशनमा पुगेका हुन् । चौधरी पूर्वी नवलपरासीबाट निर्वाचित प्रतिनिधि सभा सदस्य हुन् ।

इतिहासको ब्याज खाएर भविष्य चल्दैन : गोपालमान श्रेष्ठ

काठमाडौं । नेपाली कांग्रेसका पूर्वउपसभापति गोपालमान श्रेष्ठले इतिहासको ब्याज खाएर कांग्रेसको भविष्य नचल्ने बताएका छन् ।  श्रेष्ठले कांग्रेसले इतिहासमा अत्यन्तै ठूला काम गरेको र ठूला आन्दोलनको नेतृत्व गरेको दाबीसमेत गरे । इतिहासमा गरेका क्रान्तिका ती कार्यको ब्याज खाएर बाँच्ने दिनको अन्त्य भएको श्रेष्ठको दावी छ । पार्टीको दोस्रो विशेष महाधिवेशनलाई सम्वोधन गर्दै उनले आजको दिनले कांग्रेसलाई सच्याउने आशा गरेका छन् ।

पेट्रोल पम्पमा अर्बको कारोबार, निजी र सुरक्षा निकायको दबदबा

काठमाडौं । नेपालको इन्धन बजारमा निजी तथा सुरक्षा निकायद्वारा सञ्चालित पेट्रोल पम्पहरूको दबदबा देखिएको छ । गत आर्थिक वर्ष २०८१/०८२ को तथ्याङ्कअनुसार मुलुकका विभिन्न पेट्रोल पम्पहरूले अर्बौं रुपैयाँको कारोबार गरेका छन् । नेपाल आयल निगमको बिक्री तथ्याङ्कअनुसार धादिङको एक पेट्रोल पम्पले देशभरका पम्पहरूलाई उछिन्दै पहिलो स्थान सुरक्षित गरेको निगमका प्रवक्ता मनोज ठाकुरले जानकारी दिए । निगमको तथ्याङ्कअनुसार बिक्री रकमका आधारमा धादिङको भैरवी इन्टरप्राइजेज सबैभन्दा अगाडि छ । यसले गत वर्ष १ अर्ब ५९ करोड रुपैयाँभन्दा बढीको कारोबार गरेको छ । दोस्रो स्थानमा चितवनको नारायणगढस्थित कैलाश आयल डिष्ट्रिब्युटर्स प्रालि रहेको छ, जसले १ अर्ब ४५ करोड रुपैयाँको कारोबार गरेको छ । यस्तै, सुरक्षा निकायद्वारा सञ्चालित पम्पहरू पनि उच्च कारोबार गर्ने सूचीमा परेका छन् ।  काठमाडौंको समाखुसीस्थित प्रहरी वेलफेयर फन्ड १ अर्ब ४१ करोडको कारोबारसहित तेस्रो र भद्रकालीस्थित नेपाली सेनाको रिपुमर्दिनी पेट्रोल स्टेशन १ अर्ब २९ करोडको कारोबारसहित चौंथो स्थानमा रहेका छन् । सहकारी क्षेत्रबाट साझा सेवा पुल्चोकले १ अर्ब २५ करोडको व्यापार गर्दै आफ्नो सशक्त उपस्थिति जनाएको छ । नेपालको पेट्रोलियम व्यवसायमा निजी क्षेत्रसँगै नेपाल प्रहरी, नेपाली सेना र साझा सेवा जस्ता संस्थाहरूको भूमिका प्रभावकारी देखिएको छ । अर्विन्द एम्पोरियम, भक्तपुर फ्युल सेन्टर र साझा पेट्रोल पम्पहरूले पनि ९३ करोडदेखि ९९ करोड रुपैयाँसम्मको कारोबार गर्दै अर्बको क्लबमा पुग्ने जमर्को गरेका छन् ।  निगमका अनुसार पम्पहरूले पेट्रोल बिक्रीमा ६ प्रतिशत र डिजेल बिक्रीमा ४.९ प्रतिशत कमिशन प्राप्त गर्छन् । यसै कमिशनबाट ढुवानी, बीमा, वर्किङ लस र अन्य खर्च कटाएर पम्पहरूले खुद नाफा निकाल्ने गर्छन् । गत आवमा सबैभन्दा बढी नाफा कमाउनेमा पनि धादिङको भैरबी इन्टरप्राइजेज नै अगाडि छ । जसले ९ करोड २६ लाख ४२ हजार रुपैयाँ नाफा आर्जन गरेको छ । निगमले भने गत आर्थिक वर्षमा १३ अर्ब ६४  करोड रुपैयाँ खुद नाफा आर्जन गर्न सफल भएको छ । कुन पम्पको नाफा कति ? जोखिम बढेपछि पेट्रोल पम्पमा निगमको कडाइ, ३७ मध्ये २ वटामात्रै छनोट