स्वास्थ्यमन्त्री प्रदीप पौडेलले दिए राजीनामा
काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले पदबाट राजीनामा दिएका छन् । हालैका राजनीतिक तथा सामाजिक घटनाक्रमले सरकारमा बस्ने परिस्थिति नरहेको भन्दै उनले राजीनामा दिएको घोषणा गरेका हुन् । यसअघि कृषि तथा पशुपन्छी विकास मन्त्री रामनाथ अधिकारीले पनि राजीनामा दिने घोषणा गरिसकेका छन् ।
माधव नेपालको घरमा पनि आगजनी
काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधव नेपालको कोटेश्वरस्थित निवासमा आगजनी र ढुंगामुढा प्रहार भएको छ । मंगलबार दिउँसो जेनजीहरूले नेपाल निवासमा आगजनी र ढुंगामुढा प्रहार गरेका हुन् । जेनजीहरूले सोमबार गरेको प्रदर्शनको क्रममा १९ जनाले ज्यान गुमाएका थिए । आज बिहानबाट प्रदर्शन झनै चर्को बन्दै गइरहेको छ ।
कांग्रेस महामन्त्रीद्वयद्वारा मार्ग प्रशस्त गर्न प्रधानमन्त्रीलाई आग्रह
काठमाडौं । प्रमुख सत्ता साझेदार दल नेपाली कांग्रेसका महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माले प्रधानमन्त्री केपी शर्मा ओलीलाई राजीनामा दिएर राष्ट्रिय सहमतिका लागि मार्ग प्रशस्त गर्न आग्रह गरेका छन् । उनीहरुले आज संयुक्त विज्ञप्तिमार्फत पार्टीबाट प्रतिनिधित्व गर्ने मन्त्रीहरुलाई सरकारबाट फिर्ता आउन आग्रह गर्दै प्रधानमन्त्री ओलीलाई समेत राजीनामा दिएर ‘नवीन राष्ट्रीय सहमति’का लागि मार्ग प्रशस्त गर्न आग्रह गरेका हुन् । 'सरकार सही ढङ्गले चलेन, सच्चिनुपर्छ भनेर पार्टी बैठकमा, संसदमा र सार्वजनिक स्थलमा पटक पटक आग्रह गयौँ । तर न सरकार सच्चियो न प्रधानमन्त्रीको शैली । अन्ततः प्रधानमन्त्रीकै व्यवहारका कारण नागरिक पङ्क्तिमा असन्तुष्टि थप बढ्दै गयो । सामाजिक सञ्जाल खोल, भ्रष्टाचार नियन्त्रण गर, सुशासन कायम गर जस्ता न्यायोचित माग बोकेर सडकमा निक्लिएका ‘जेनजी पुस्ता’ माथिको दमन निन्दनीय छ,' विज्ञप्तिमा उल्लेख छ । महामन्त्रीद्वय थापा र शर्माले सरकार गठनका क्रममा गरिएको सात बुँदे समझदारीको औचित्य समाप्त भएको उल्लेख गर्दै पार्टीका मन्त्रीहरू फिर्ता बोलाउन सभापति शेरबहादुर देउवालाई आग्रह गर्दै अविलम्ब निर्णय गर्नुपर्ने र अन्यथा अन्य प्रक्रियाबाट निर्णय गरेर कदम चाल्न बाध्य हुने बताएका छन् । ‘जेनजी पुस्ता’को न्यायोचित माग पूरा गर्न जोड गरिरहेको अवगत गराउँदै आन्दोलनका कार्यक्रमलाई संयम र शान्तिपूर्ण बनाउन सबल भुमिकाका लागि समेत महामन्त्रीद्वय थापा र शर्माले अपील गरेका छन् । सबै राजनीतिक दललाई बिद्यमान स्थितिमा खुला संवादमार्फत संयमतापूर्वक समाधानको पहलमा ऐक्यवद्धताका लागि समेत उनीहरुले अपील गरेका छन् ।
धनगढीमा पनि नेताहरूको घर र कार्यालयमा आगजनी
काठमाडौं । जेनजी आन्दोलनका कारण धनगढी पनि तनावग्रस्त बनेको छ । जेनजीहरुले धनगढीमा कांग्रेस र एमालेको पार्टी कार्यालयमा आगो लगाएका छन् । उनीहरुले कञ्चनपुरमा निवर्तमान गृहमन्त्री रमेश लेखकको घरमा समेत आगो लगाएका छन् । यस्तै मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय, परराष्ट्रमन्त्री आरजु राणाको घरमा पनि आगजनी भएको छ । यस्तै, कैलालीको लम्किचुहा नगरपालिका कार्यालयमा पनि तोडफोड गरेका छन् । जेनजीहरूले सोमबार गरेको प्रदर्शनको क्रममा १९ जनाले ज्यान गुमाएका थिए । आज बिहानबाट प्रदर्शन झनै चर्को बन्दै गइरहेको छ ।
६० जना लेखक र संस्कृतिकर्मीद्वारा प्रधानमन्त्री ओलीको राजीनामा माग
काठमाडौं । ६० जना लेखक र संस्कृतिकर्मीहरूले प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा माग गरेका छन् । ‘जेनजी’ आन्दोलनमा समर्थन जनाउँदै उनीहरूले सरकारले प्रदर्शनकारीमाथि गरेको दमनप्रति चर्को आलोचना गरेका छन् । संयुक्त विज्ञप्ति जारी गर्दै उनीहरूले प्रधानमन्त्री ओलीलाई तुरुन्तै पदत्याग गर्न आग्रह गरेका छन् । साथै, सर्वपक्षीय संवादमार्फत आन्दोलनकारीका माग पूरा गर्ने पहल लिन जिम्मेवार राजनीतिक दल र राज्यका निकायलाई समेत आव्हान गरेका छन् ।
के प्रधानमन्त्री ओलीले आजै राजीनामा दिँदैछन् ?
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिने तयारी गरेको बुझिएको छ । देशभर जेनजीको आन्दोलन चर्किएपछि उनले पदबाट राजीनामा दिने तयारी गरेको चर्चा बढेको हो । प्रधानमन्त्री ओलीको निवास बालकोटमा पनि आगलागी भएको छ । उनले आजै साँझ ६ बजे सर्वदलीय बैठक बोलाएका छन् ।
हिल्टन होटलमा आगजनी
काठमाडौं । राजधानीको नक्सालस्थित हिल्टन होटलमा आगजनी भएको छ । मंगलबार दिउँसो जेनजीहरूले आगजनी गरेका हुन् । जेनजीहरूले सोमबार गरेको प्रदर्शनको क्रममा १९ जनाले ज्यान गुमाएका थिए । आज बिहानबाट प्रदर्शन झनै चर्को बन्दै गइरहेको छ ।
थाइल्यान्डका पूर्वप्रधानमन्त्री थाक्सिनलाई एक वर्ष जेल सजाय, अदालतको फैसला स्वीकार
काठमाडौं । थाइल्यान्डको सर्वोच्च अदालतले मङ्गलबार पूर्वप्रधानमन्त्री थाक्सिन सिनावात्रालाई भ्रष्टाचार र शक्तिको दुरुपयोगको आरोपमा अघिल्लो सजायअनुसार एक वर्षको जेल सजाय भोग्नुपर्ने निर्णय सुनाएको छ । एक न्यायाधीशका अनुसार थाक्सिनको सजायको कार्यान्वयन ठीकसँग भएको थिएन, त्यसैले बैङ्ककको प्रहरी अस्पतालमा गरिएको नजरबन्दलाई जेल सजायको रूपमा गणना गरिएको थिएन । एक दशकभन्दा बढी समय स्व–निर्वासनमा बिताएपछि थाइल्यान्ड फर्केका थाक्सिन जेलमा एक दिनभन्दा कम समय बिताएपछि स्वास्थ्य कारण देखाएर अस्पतालमा भर्ना भएका छन् । उनको आठ वर्षको सजायलाई राजा महा भाजिरालोङ्गकोर्नले एक वर्षमा कम गरिदिए र अस्पतालमा छ महिना बिताएपछि उनी प्यारोलमा मुक्त भए । सो घटनाले उनलाई विशेष सुविधा दिइएको हो कि होइन भन्ने प्रश्न उठ्यो, साथै उनी साँच्चै बिरामी थिए किन थिएनन् भन्ने विषयमा पनि शङ्का प्रकट भयो । अदालती कार्यवाहीपछि थाक्सिनलाई बैङ्कक रिमान्ड जेल पठाइयो । फैसलापछि उनको टोलीले सामाजिक सञ्जालमा सेयर गरेको सन्देशमा थाक्सिनले अदालतको निर्णय स्वीकार गरेको जनाउँदै लेखेका छन्, 'म भविष्यप्रति ध्यान दिन चाहन्छु, चाहे कानूनी कार्यवाही होस् वा मसँग सम्बन्धित द्वन्द्वहरू । आजदेखि, म स्वतन्त्र भए पनि, देश र जनताको हितका लागि विचारको स्वतन्त्रता राख्छु ।' फैसला आउनुअघि थाक्सिन आफ्ना दुई छोराछोरी, पिन्टोङ्टा सिनावात्रा र पूर्वप्रधानमन्त्री पेटोङटार्न सिनावात्रासहित अदालत पुगेका थिए। गत महिना अदालतले पेटोङटार्नलाई कम्बोडियाली सिनेट अध्यक्षसँगको राजनीतिक सम्झौतासम्बन्धी फोन कललाई नैतिक उल्लङ्घन मानेर पदबाट हटाएको थियो । फैसलापछि पेटोङटार्नले राजाले थाक्सिनको सजाय कम गरिदिएकोमा धन्यवाद दिँदै भने, 'म बुबाको बारेमा चिन्तित छु, तर गर्व पनि छ कि उहाँले देशका लागि धेरै ऐतिहासिक क्षण सिर्जना गर्नुभएको छ । यो कठिन समय हो, तर हामी अझै राम्रो भावनामा छौँ।' थाक्सिन सन् २००१ देखि २००६ मा सैन्य कूले उनलाई अपदस्थ नगरेसम्म प्रधानमन्त्री थिए । उनको निष्कासनपछि थाइल्यान्डमा करिब दुई दशक लामो राजनीतिक ध्रुवीकरण सुरु भयो, जसले उनका समर्थकलाई सहरी बासिन्दा, उत्साही राजावादी र सेना समर्थकहरूसँग आमनेसामने बनायो । सन् २००८ मा थाक्सिन आरोपहरूको सामना गर्न थाइल्यान्ड फर्किए तर जमानत छोडेर फेरि विदेशतिर लागे र एक दशकभन्दा बढी समय निर्वासनमा रहे । कार्यालय छाडेपछि उनले राजनीतिक उद्देश्यले प्रेरित भएको भन्दै थुप्रै मुद्दा र आपराधिक अभियोगको सामना गरे । गत महिना, एक आपराधिक अदालतले उनलाई शाही मानहानि (लेज–माजेस्टे) आरोपबाट निर्दोष ठहर गरेको थियो । उक्त आरोपमा दोषी ठहर भएको भए उनलाई १५ वर्षको जेल सजाय हुन सक्थ्यो ।