विकासन्युज

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा यात्रुहरूको भीड

काठमाडौं । आन्दोलनका कारण मङ्गलबार दिउँसोदेखि बन्द भएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल बुधबार साँझदेखि सञ्चालन भएपछि अहिले यात्रुहरूको भीड लागेको छ । विमानस्थल सुरक्षा समितिको बैठकले बन्द गरिएको विमानस्थल बुधबार साँझदेखि पुनः सञ्चालन गर्ने निर्णय गरेपछि विदेश जाने यात्रुहरूको भीड बढेको विमानस्थलका महाप्रबन्धक हंशराज पाण्डेले जानकारी दिए । उनले भने, ‘आन्दोलनका कारण मङ्गलबार दिउँसो ३ः३० बजेदेखि विमानस्थल बन्द गरिएको थियो । बुधबारदेखि पुनः सञ्चालन गरिएपछि यात्रुहरूको भीड बढेको हो ।’ विमानस्थल सञ्चालनमा आएपछि काठमाडौं विमानस्थल प्रशासनले यात्रुहरूलाई आफ्ना टिकट किनेका एजेन्सी वा सम्बन्धित वायुसेवासँग सम्पर्क गरेर मात्रै विमानस्थलमा आउन आग्रह समेत गरेको छ ।

देउकुमारको कृषि फार्ममा ३० लाखको रायोको साग, दैनिक ४/५ क्विन्टल उत्पादन

काठमाडौं । झापाको भद्रपुर नगरपालिका-१ का देउकुमार लिङ्देनको कृषि फार्ममा यतिबेला रायोको साग बिक्रीका लागि तयार भएको छ । उनले यस वर्ष दुई स्थानमा गरी एक बिघा जमिनमा बेमौसमी रायोको साग लगाएका हुन् । ‘दैनिक ४/५ क्विन्टल जति उत्पादन हुन्छ,’ लिङ्देनले भने, ‘बजारमा प्रतिकेजी १ सय रूपैयाँदेखि १२० रूपैयाँसम्ममा बिक्री हुँदै आएको छ । यसपालि मनग्गे आम्दानी होला जस्तो छ ।’ उनले यस सिजनमा मात्र ३० लाख रुपैयाँको साग बिक्री गर्ने लक्ष्य सुनाए । ‘लगानी र खर्च कटाएर १० लाख रुपैयाँ नाफा हुन्छ भन्ने आशा छ,’ लिङ्देनले भने, ‘गत वर्ष १५ कट्ठामा लगाएको साग खेतीबाट १८ लाख रुपैयाँ आम्दानी भएको थियो ।’  वैदेशिक रोजगारीको सिलसिलामा ११ वर्ष मलेसिया बसेर फर्किएका लिङ्देनले स्वदेशमै परिवारसँगै बसेर व्यवसाय गर्ने उद्देश्यले विसं २०७३ मा लिङ्देन कृषि फार्म सुरु गरेका हुन् । त्यसयता उनले बर्सेनि साग बेचेरै उल्लेख्य आर्जन गर्दै आएका छन् ।  लिङ्देनले उत्पादन गरेको साग चन्द्रगढी, भद्रपुर मात्र नभएर र बिर्तामोड नगरपालिकास्थित कृषि थोक बजारमा बिक्री हुँदै आएको छ । उनले १० वटा पोखरीमा माछा पालनसमेत गरिरहेको बताए । सोही माछा पोखरीको डिलमा समेत साग उत्पादन हुँदै आएको छ । मलेसियामा हुँदा साग सब्जी र फूल खेतीमा काम गरेको अनुभवले आफ्नै देशमा केही गर्न सहज भएको लिङ्देनको भनाइ छ ।   भद्रपुर-१ मा भइरहेको व्यावसायिक खेतीमा १८ जनाले रोजगारी पाइरहेका छन् । उनीहरूले फार्ममा साग गोड्ने, मल हाल्ने, टिप्ने र बजार लैजाने कार्यमा सहयोग गर्छन् ।  ‘सुरुमा लाभदायक हुन्छ कि हुँदैन भनेर दुई कट्ठाबाट साग उत्पादन सुरु गरेको थिए । उत्पादन र त्यसको मागसमेत राम्रो भएपछि खेती बढाएर एक बिघामा बिस्तार गरेको हुँ । मौसमीभन्दा बेमौसमी खेतीबाटै फाइदा लिइरहेको छु,’ लिङ्देनले भने ।  कात्तिक(मङ्सिरमा अरूले पनि साग उत्पादन गर्ने र भाउ नहुने हुँदा आफूले सधैँ साउन-भदौ महिनामै बेमौसमी साग उत्पादन गर्दै आएको उनको भनाइ छ । रासस

नेपालीलाई गड्डाचौकीबाट भारत प्रवेशमा पूर्ण रूपमा रोक

काठमाडौं । छिमेकी मुलुक भारतसँग जोडिएको पश्चिमी सीमा नाका गड्डाचौकीबाट भारत प्रवेशमा रोक लगाइएको छ ।  नेपालमा ‘जेनजी’को आन्दोलनपछि भारतीय सीमा सुरक्षा बल (एसएसबी)ले भारतसँग जोडिएका सुदूरपश्चिमका सीमा नाकामा कडाइ गर्नुका साथै नेपालीलाई भारत प्रवेशमा रोक लगाएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक सागर बोहराले जानकारी दिए । ‘हाल भारतबाट फर्किने नेपाली नागरिकलाई नेपाली परिचयपत्र अनिवार्य गरिएको छ । भारततर्फ जानेको हकमा पनि भारतीय आधार कार्ड अनिवार्य गरिएको छ,’ उनले भने, ‘नेपालीलाई भारत प्रवेशमा पूर्ण रूपमा रोक लगाएको छ ।’ यसैगरी बुधबार भारतीय एसएसबीले कारागारबाट भागेर त्यहाँ जान लागेका ४ जनालाई नियन्त्रणमा लिएर नेपाल प्रहरीको जिम्मा लगाएको छ । 

अन्तरिम सरकारको प्रधानमन्त्री शुशीलालाई बनाउने प्रस्तावमा मतभेद, भोली सम्पर्कमा आउन सेनाको आग्रह

काठमाडौं । जेनजीहरुले अन्तरिम सरकारको नेतृत्व शुशीला कार्कीलाई दिने प्रस्ताव गरे पनि केही जेनजीले भने असन्तुष्टि जनाएका छन् ।  जेनजीहरुबीच नै नेतृत्वकर्ताको विषयमा असन्तुष्टि हुँदा नयाँ सरकारको नेतृत्व कसले गर्ने भन्ने विषय पनि पेचिलो बनेको छ । सरकारको नेतृत्वको सन्दर्भमा असन्तुष्टि जनाउँदै केही जेनजीहरूले जंग्गीअड्डाबाहिर नाराबाजी पनि गरिरहोका छन् ।  जेनजीहरुबीच नै कुरा नमिलेपछि सेनाले बिहीबार बिहान सम्पर्कमा आउन आग्रह गरेको छ । जंगीअड्डा बाहिर नेपाली सेनाका प्रतिनिधिले माइकिङ गरेर भोलि बिहान सम्पर्कमा आउन आग्रह गरेका हुन् ।   ‘को को हुनुहुन्छ नेतृत्वकर्ता, कतिजना हुनुहुन्छ, त्यो ग्रुपबाट फोन नम्बर र नामसहित भोलि बिहान सम्पर्क गर्नुहोला,’ सेनाका प्रतिनिधिले माइकिङ गरेर भने । 

कृषि विकास बैंकका कर्मचारीको टाउकोमा लाग्यो गोली

काठमाडौं । जेनजी आन्दोलनका क्रममा मंगलबार कृषि विकास बैंकका कर्मचारीलाई गोली लागेको छ । बैंकको केन्द्रीय कार्यालयमा कार्यरत कर्मचारीको टाउकोमा गोली लागेको कम्पनी सचिव हिमलाल पौड्यालले  जानकारी दिए ।  उनका अनुसार बैंकको केन्द्रीय कार्यालयमा काम गरिरहेको अवस्थामा अज्ञात व्यक्तिले हान्दा बैंकका कर्मचारी अशोक श्रेष्ठको टाउकोमा गोली लागेको हो ।  ‘स्वास्थ्य मन्त्रालयमा आगजनी भइरहेको थियो । त्यही क्रममा गोली प्रहार हुँदा बैंकका सहयोगी कर्मचारी अशोक श्रेष्ठको टाउकोमा गाेली लाग्यो । गोली कसले हानेको हाे स्पष्ट हुन सकेको छैन,’ उनले भने, ‘उहाँ बैंकको कम्पाउन्ड भित्रै हुनुहुन्थ्यो । काम गरिरहेको अवस्थामा गोली लागेको हो ।’  उनका अनुसार हिजो नै अन्नपुर्ण अस्पतालमा लगेर उपचार गरिएको छ । साथै, घाइेते श्रेष्ठको परिवारसहित उपस्थितिमा अप्रेशन गरेर गोली निकालिएको उनले बताए ।  ‘प्रेसर स्टेबल हुन नसकेका कारण चिकित्सकको सल्लाह अनुसार आज अप्रेशन गरियो । र, गोली निकालिएको छ । अहिले उहाँ खतरामुक्त हुनुहुन्छ भनेर चिकित्सकले भन्नु भएको छ,’ उनले भने ।  यस्तै, बैंकको किर्तीपुर शाखामा रहेको एटीएम मेसिन तोडफोड गरिएको उनले बताए । तर, के कति क्षति भएको र पैसाको अवस्था के छ भन्ने स्पष्ट हुन नसकेको उनको भनाइ छ । ‘प्रदर्शनकारीहरुले फुटाउन खोजेका रहेछन्, जेनजी समूहले नै त्यो फुटाएको एटीएम मेसिन बैंकमा आएर बुझाएका छन् । के कति क्षति भएको छ, एकिन छैन,’ उनले भने । उनका अनुसार लहानमा खाद्य संस्थानको डिपो जलाउन खोज्दा बैंकको शाखामा समेत क्षति पुगेको छ भने धनगढी शाखामा गाडीमा क्षति भएको छ ।  ‘लहान शाखामा ढुंगामुडा गरेका छन् । कम्प्युटर र सिसाहरु फुटेको जानकारी आएको छ । खाद्य संस्थाको डिपो जलाउन खोज्दा बैंकको शाखामा क्षति पुगेको छ,’ उनले भने, ‘धनगढीको शाखामा बैंकको गाडीमा क्षति भएको सूचना छ । के कति क्षति भएको भन्ने एकिन तथ्याङ्क आएको छैन ।’  पौडेलका अनुसार बैंकका अन्य कर्मचारीहरु भने सबै सुुरक्षित रहेको जानकारी दिए । साथै बैंकको प्रणाली सूचारु राख्न आईटीका कर्मचारीहरु निरन्तर खटिरहेको उनले बताए । संकटको बेलामा बैंकका कर्मचारीहरु कसरी परिचालन गर्ने र सम्पत्ति कसरी सुरक्षित गर्ने भनेर टिम समेत खडा गरिएको उनको भनाइ छ । 

दाङको तुलसीपुर कारागारबाट भागेका ४० कैदीबन्दी पक्राउ

तुलसीपुर । यहाँको तुलसीपुर कारागारबाट भागेका ४० कैदीबन्दीलाई पक्राउ गरिएको छ । सेनाको सहयोगमा उनीहरूलाई पक्राउ गरिएको कारागार कार्यालय तुलसीपुरका प्रमुख गिरबहादुर सेजुवालले जानकारी दिए । आज र हिजो कारागारबाट कैदीबन्दी भागेका थिए । आज बिहान मात्रै २५३ कैदीबन्दी भागेका थिए । तीमध्ये ४० जनालाई पक्राउ गरिएको हो । आज भागेका मध्ये २१३ र हिजो भागेका १२४ गरी ३३७ जना अझै फरार रहेको उनले बताए ।  भाग्नेहरू सबै पुरुष कैदी हुन् । कारागारमा जम्मा ४६९ कैदीबन्दी थिए । तीमध्ये महिला कैदीहरु भने भागेका छैनन् ।  कैदीहरूले कारागार तोडफोड गरी भागेका थिए । सेनाले  हवाई फायर गर्दागर्दै पनि उनीहरू भाग्न सफल भएका थिए ।   

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल खुल्यो

काठमाडौं । विमानस्थल सुरक्षा समितिको बैठकले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुनः सञ्चालन गर्ने निर्णय गरेको छ । जसअनुसार आज दिउँसो साढे ३ बजेदेखि उडान र अवतरणका लागि तयारी थालिएको छ । यसअघि नागरिक उड्डयन कार्यालयले बुधबार बिहान सूचना जारी गर्दै अर्को जानकारी नभएसम्म विमानस्थल बन्द रहने घोषणा गरेको थियो । काठमाडौं उपत्यकासहित देशभर जारी निषेधाज्ञा, कर्फ्यू आदेश र विध्वंशपछिको विषम परिस्थितिलाई कारण देखाउँदै सो निर्णय गरिएको हो ।  

धादिङ कारागारबाट कैदी भाग्न थालेपछि सेनाले चलायो गोली, १ जनाको मृत्यु, ७ घाइते

काठमाडौं । जिल्ला कारागार धादिङमा कैदीबन्दीहरूले आगजनी गर्दै भाग्ने प्रयास गरेपछि नेपाली सेनाले गोली प्रहार गरेको छ ।  सेनाको गोली लागेर अन्दाजी ७५ वर्षीय एक पुरुषको मृत्यु भएको छ । धादिङ अस्पतालका अनुसार घटनामा घाइते भएका दुई जनाको अवस्था गम्भीर छ भने पाँच जनालाई सामान्य चोटपटक लागेको छ ।  प्रहरीका अनुसार आन्दोलनरत कैदीहरूले कारागार तोडेर भाग्न खोजेपछि नियन्त्रणका लागि नेपाली सेनाले गोली चलाउन बाध्य भएको हो ।  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने जेनजी आन्दोलनको पृष्ठभूमिमा बुधबार नख्खु कारागारबाट रिहा भएपछि देशभरका कैदीबन्दीहरू आन्दोलित बनेका छन् । उनीहरूले ‘रविलाई छाडिएको छ, अब हामीलाई पनि छाड्नुपर्छ’ भन्ने मागसहित जेल तोड्ने प्रयास गरिरहेका छन् ।  धादिङ कारागारका कैदीहरूले पनि रविको रिहाइलाई उदाहरण दिँदै जेल तोड्ने प्रयास गरेका थिए । बुधबार बिहानैदेखि कारागार परिसर तनावग्रस्त बनेको थियो ।  कारागारभित्रै कैदीबन्दीहरूले आगजनी गरेका थिए भने बाहिर पनि भिड जम्मा भई हुलदङ्गा सुरु भएको थियो । यद्यपि, परिसरबाहिर सुरक्षाकर्मीहरू बाक्लो रूपमा तैनाथ थिए। कारागारको छतमा समेत सुरक्षाकर्मीले तुरुन्तै मोर्चा सम्हालेका थिए ।  मंगलबार रातिदेखि नै नेपाली सेनाको ठूलो टोली कारागार सुरक्षार्थ तैनाथ गरिएको थियो । सेनाले अहिले पनि कारागार परिसरको सुरक्षा सम्हालिरहेको छ ।