विकासन्युज

जेलबाट भागेका कैदी पक्राउ गर्दै रौतहट प्रहरी

चन्द्रपुर । मङ्गलबार राति गौर कारागारबाट फरार रहेका कैदीलाई जिल्ला प्रहरी कार्यालय रौतहटले धमाधम पक्राउ गरिरहेको छ । कारागार भत्काएर भागेका १३ जना कैदीलाई बुधबार बिहान सीमा क्षेत्रबाट पक्राउ गरिएको प्रमुख जिल्ला अधिकारी विनोद खड्काले जानकारी दिए । उहाँका अनुसार एक सय ९१ कैदी रहेको सो कारागारभित्र अहिले ६१ जना छन् ।  प्रजिअ खडकाले अन्य कैदीहरूको पनि खोजीकार्य भइरहेको बताए । उनका अनुसार अहिले जिल्लाको सहरी क्षेत्रमा नेपाली सेना खटेपछि वातावरण शान्त बनेको छ ।  मङ्गलबार जेनजीका प्रदर्शनकारीले चन्द्रपुर नगरपालिका, इलाका प्रहरी कार्यालय, डिभिजन सडक कार्यालय, डिभिजन वन कार्यालय, जिल्ला ट्राफिक प्रहरी कार्यालयको भवन आगलागी गरेर पूर्ण रुपमा क्षति पुर्याएका प्रजिअ खड्काले जानकारी दिए ।  चन्द्रनिगाहपुरमा प्रदर्शनकारीले रौतहट घर भएका सङ्घीय सांसद देवप्रसाद तिमलसिना, रौतहट घर भएका प्रदेशसभा सदस्य युवराज भट्टराई, नगरप्रमुख सञ्जयकुमार काफ्ले, रौतहटका सहायक प्रमुख जिल्ला अधिकारी किरणनिधि तिवारी, नेपाल कम्युनिष्ट पार्टी ९एमाले० चन्द्रपुर नगर कमिटी कार्यालयको घरमा समेत आगो लगाएका छन् । त्यस्तै गौर नगरपालिकाको कार्यालय, एमाले, नेपाली कांग्रेसलगायत दलका कार्यालयमा समेत आगजनी गरेका थिए । रासस  

बग्गीखाना ध्वस्त, सबै कागजात जले (फोटो फिचर)

काठमाडौं । जेनजी आन्दोलनको क्रममा उपत्यका ट्राफिक प्रहरी कार्यालय बग्गीखाना जलेर ध्वस्त भएको छ । मंगलबार प्रदर्शनका क्रममा बग्गीखानमा ट्राफिक प्रहरी कार्यालय भवनलगायत विभिन्न  सवारीसाधनहरूमा आगजनी गरेसँगै ठूलो क्षति पुगेको छ ।  यस्तै, कार्यालयमा रहेका सबै कागजातहरु जलेर ध्वस्त भएका छन् । आन्दोलनमा प्रदर्शनकारीले सार्वजनिक सम्पत्तिमा व्यापक क्षति पुर्याएका छन् ।

भाटभटेनीका १२ वटा स्टोर ध्वस्त, ९ वटामा लुटपाट

काठमाडौं । जेनजीका नाममा भदौ २४ गते अराजकबादीले गरेको आगलागीबाट भाटभटेनी सुपरमार्केट्सका १२ वटा स्टोर ध्वस्त भएका छन् । घण्टौसम्म आगो निभाउने कार्य नभएकाले यी भवनहरू पुनर्निर्माण गर्नुपर्ने गरी नष्ट भएको बताइएको छ ।  कम्पनीका प्रमुख सञ्चालन अधिकृत पानु पौडेलका अनुसार थप ९ वटा भाटभटेनी सुपरमार्केट्स स्टोरमा लुटपाट भएका छन् । ७ वटा स्टोर भने सुरक्षित रहेका छन् ।  उक्त घटनामा अर्बौ रुपैयाँ बराबर नोक्सान भएको प्रारम्भिक अनुमान छ । तोडफोड, आगलागी र लुटपाटबाट हुने क्षतिको पूर्ण विवरण संकलन कार्य भइरहेको पौडेलले बताए । भाटभटेनी सुपरमार्केट्स नेपालको सबैभन्दा ठूलो रिटेलर हो । जेनजी पुस्ताको सपिङ डेस्टिनेसन बनेको भाटभटेनीमाथि जेनजीकै नाममा अराजकवादीहरुले तोडफोड, लुटपाट र आगजनी गरेको हो । 

सार्वजनिक स्थलमा फैलिएको फोहर उठाउँदै ‘जेनजी’

काठमाडौं । परिवर्तनका विभिन्न एजेण्डा लिएर प्रदर्शनमा उत्रिएका ‘जेनजी’ले यही भदौ २३ र २४ गते सङ्घीय राजधानी काठमाडौंसहित देशका विभिन्न स्थानमा तोडफोड र आगजनी गरे । सार्वजनिक, सरकारी र व्यक्तिगत भौतिक संरचनामा नराम्ररी क्षति पुग्यो । प्रदर्शनका क्रममा ठूलो जनधनको क्षति भयो । सयौँ घाइते विभिन्न अस्पतालमा उपचाररत छन् । आज विगत दुई दिनभन्दा अलिक फरक देखियो । प्रदर्शनमा उत्रिएका जेनजी आज कुचो, खरेटो, बेल्चालगायत उपकरण लिएर सरसफाइमा उत्रिएका छन् । उनीहरू हुलकाहुल सरसफाइ अभियानमा सक्रिय छन् । उनीहरु बुधबार बिहानैदेखि क्षति पुगेका र भग्नावशेष क्षेत्रमा समूहगत रूपमा सरसफाइ गरिरहेका भेटिए । केन्द्रीय प्रशासनिक केन्द्र सिंदरबार वरिपरि उल्लेख्य सङ्ख्याका जेनजी सरसफाइ गरिरहेका छन् । सिंहदरबारको चारवटै तर्फका गेट, सर्वोच्च अदालत परिसर, माइतीघर मण्डला, बबरमहल, पुतलीसडक, थापाथलीलगायत क्षेत्रमा जेनजीले सरसफाइ गरिरहेका छन् । सरसफाइ गर्नेलाई केही स्वयंसेवीले पिउने पानी वितरण गरिरहेका छन् । माइतीघर मण्डलासँगैको सरकारी वकिलको कार्यालय परिसरमा सरसफाइ गरिरहेका जेनजी दानसिंह धामीले विभिन्न समूहमा जेनजीले सडकदेखि टोलटोलसम्म सरसफाइ अभियान चलाइएको बताए । उनका अनुसार सिंहदरबार परिसरमा मात्र चारभन्दा बढी समूहमा सरसफाइ भइरहेको छ । यस्तै केशव सिलवाल, केपी खनाललगायत जेनजीले सरसफाइ अभियानको नेतृत्व गरिरहेका छन् । काठमाडौँ महानगरपालिकाको फोहर बोक्ने गाडीसहित सरसफाइबाट सङ्कलित फोहर सङ्कलन गरिरहेका छन् । सडक, सडक किनार र सार्वजनिक निकायका गेट आसपस छरिएका प्लास्टिक, कागज, पानीका बोतललगायत फोहर उनीहरूले उठाइरहेका छन् । साथै उनीहरुले सडकमा जलाइएका गाडी, मोटरसाइकलका टायर, फलामे उपकरण आदि पन्छाइरहेका छन् । सर्वोच्च अदालत परिससरमा सरसफाइ गर्दै गरेका खगेन्द्र रोकायाले सिंहदरबार परिसरमा आफ्नो समूहले सरसफाइ गरिरहेको बताए । जेनजीले आन्दोलन, तोडफोड र आगजनीका क्रममा भएका फोहरको सरसफाइ गरेका हुन् । जेनजीले नयाँ बानेश्वर, मीनभवनलगायत क्षेत्रको सडकमा पनि सरसफाइ गरेका छन् । रासस

भाटभटेनी सुपरमार्केट लुटपाटमा संलग्न ४ जना पक्राउ

काठमाडौं । देशैभर नेपाली सेनालगायत अन्य सुरक्षा निकाय परिचालन भएपछि बुधबार बिहान १०ः०० बजेदेखि दिउँसो १ः०० बजेसम्म महाराजगस्थित भाटभटेनी सुपर मार्केट लुटपाटमा संलग्न चार जना पक्राउ परेका छन् । त्यसैगरी डिल्लीबजार–नारायणथान क्षेत्रमा शङ्कास्पद गतिविधिमा संलग्न व्यक्तिहरूले सुरक्षा फौजलाई देखेपछि छाडेर भागेको नेपाली रु दुई लाख ३२ हजार ५०० र  दुई हजार ५०० डलर बरामद गरिएको सेनाले आज जनाएको छ । सेनाले विज्ञप्तिमार्फत सुरक्षाकर्मीबाट लुटिएका थप हतियार एक नालसहित हालसम्म जम्मा ३२ नाल बरामद भएको जनाएको छ । साथै डडेलधुरास्थित जिल्ला कारागारबाट निस्केर भागेका कैदीबन्दीमध्ये २६ जनालाई नियन्त्रणमा लिइएको तथा काठमाडौं डिल्लीबजारस्थित सदर कारागारबाट भाग्ने प्रयास गरेका कैदीबन्दीलाई रोकिएको छ ।  

दनदनी जलिरहेको छ हिलटन, अझै नियन्त्रणमा आएन (फोटोफिचर)

काठमाडौं । जेनजी आन्दोलनकारीहरुले पाँच तारे होटल हिलटनमा आगजनी गरेका छन् । काठमाडौंको नक्सालस्थित होटल हिलटनमा न्दोलनकारीहरुले मंगलबार आगजनी गरेका हुन् ।  आन्दोलनकारीहरुले मंगलबार लगाएकाे आगो २४ घण्टा बित्दा पनि नियन्त्रणमा आउन सकेको छैन । अहिले पनि होटल हिलटनमा दनदनी आगो लागिरहेको विकासन्युजका संवाददाताले जानकारी दिए ।  नेपाली सेनाले सुरक्षा दिइरहेको उक्त होटलमा के कति क्षति भएकाे छ एकिन तथ्याङ्क आउन सकेको छैन ।   ८ अर्ब ३५ करोड रुपैयाँमा बनेको हिलटन २०८१ साउनबाट सञ्चालनमा आएको हो । उक्त होटलका मुख्य लगानीकर्ता शंकर ग्रुपका प्रबन्ध निर्देशक शाहिल अग्रवाल हुन् । हिल्टन संसारको सबैभन्दा ठूलो होटल चेनमध्ये पर्छ ।   

टेलिकमले भ्वाइस कल र इन्टरनेट सेवा तीन दिन नि:शुल्क दिने

काठमाडौं । नेपाल टेलिकमले ग्राहकलाई तीन दिनका लागि नि:शुल्क डेटा र भ्वाइस कल सेवा उपलब्ध गराएको छ । टेलिकमका प्रवक्ता रवीन्द्र मानन्धरका अनुसार यो सुविधा हिजो रातिदेखि नै सक्रिय गरिएको हो । विषम परिस्थितिलाई ध्यानमा राख्दै स्वदेश तथा विदेशमा रहेका आफन्तसँग सम्पर्क सहज बनाउनका लागि यो पहल गरिएको उनले बताए । ग्राहकहरूले निशुल्क डेटा सेवा लिन  स्टार १४१५ स्टार ८ स्टार ३ ह्याज डायल गर्नुपर्नेछ भने भ्वाइस कल सुविधा लिन स्टार १४१५ स्टार ८ स्टार ७ ह्याज डायल गर्न सकिने टेलिकमले जनाएको छ । यससम्बन्धी जानकारी सबै ग्राहकलाई एसएमएसमार्फत पठाइसकिएको पनि प्रवक्ताले जानकारी दिए । निशुल्क उपलब्ध गराइएको डेटा १ एमबीपीएस क्षमताको हुनेछ भने भ्वाइस कल सुविधा नेपाल टेलिकमको नेटवर्कभित्र (अननेट) मात्र प्रयोग गर्न सकिने व्यवस्था गरिएको छ।

जेनजी आन्दोलनको नाममा अराजकता, थापाथलीका विभिन्न शोरुममा तोडफोड र आगजनी, अर्बौंको क्षति

काठमाडौं । जेनजीको नाममा भएको आन्दोलनका क्रममा थापाथली क्षेत्रका विभिन्न कम्पनीका गाडीका शोरुमहरूमा व्यापक तोडफोडसँगै आगजनी गरिएको छ । जबकी कुनै पनि राजनीतिक दल वा विवादमा संलग्न नरहेका निजी कम्पनी तथा ब्राण्डहरूका शोरुममा आक्रमण गरिएको हो ।  प्रदर्शनकारीहरूले शोरुमको सिसा फुटाएरभित्र प्रवेश गरी बिक्रीका लागि राखिएका नयाँ गाडीहरूको सिसा र संरचना निर्ममतापूर्वक नष्ट गरेको कम्पनीहरुले बताएका छन् । सामाजिक सञ्जालमा सार्वजनिक गरिएका  भिडियोहरूमा शोरुमहरु तोडफोड गरेको देख्न सकिन्छ ।  यसैगरी केही प्रदर्शनकारीहरूले शोरुमको कार्यालयभित्र पसेर फर्निचर, कागजात, कम्प्युटर आदि जलाउने, लुटपाट गर्ने र आगजनी गर्ने कार्यमा समेत संलग्न भएको बताइएको छ ।  निजी सम्पत्तिमा गरिएको यस्तो व्यापक क्षतिले आन्दोलन अराजक लुटपाट र हिंसात्मक मोडमा प्रवेश गरेको संकेत दिएको छ ।  थापाथली क्षेत्रमा रहेको सिजी, हुण्डाई, महिन्द्रा, टाटालगायतका अन्तर्राष्ट्रिय ब्राण्डका शोरुमहरू पूर्ण रूपमा क्षतिग्रस्त छन् । यो घटनापछि थापाथली क्षेत्र अहिले उजाड र त्रासित देखिएको छ । व्यवसायीहरू आक्रोशित भएका छन् भने प्रतिक्रिया दिन नसक्ने अवस्थामा छन् ।  प्राप्त जानकारीअनुसार सुजुकी ब्रान्डका ११ वटा सवारीसाधनमा क्षति पुगेको छ । महिन्द्राका ३ वटा गाडी क्षतिग्रस्त भएका छन् भने १ वटा गाडीमा आगजनी गरिएको छ । सिप्रदी ट्रेडिङ (टाटा) का ४ वटा सवारीसाधनमा क्षति पुगेको छ । सिजी मोटर्स अन्तर्गतका १४ वटा गाडीमा क्षति पुगेको छ । यस्तै, हुण्डाई शोरूमको मुख्य गेटमा तोडफोड गरिएको छ । जेनजी आन्दोलनको नाममा मंगलबार गाडीका शोरुमहरू मात्र होइन, अर्बौं रुपैयाँ लगानीमा स्थापना गरिएका ठूला होटल, सुपरमार्केट, टेलिकम कम्पनी, विद्यालयहरूमा समेत आक्रमण गरिएको छ । यसले देशको पहिल्यै कमजोर रहेको व्यवसायिक वातावरणलाई थप अस्थिर बनाएको छ ।