बालेनले भने- प्रिय जेनजी, तपाईहरूको योगदान र बलिदानबाट देशले परिवर्तन पाएको छ
काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले जेनजीको योगदान र बलिदानबाट देशले परिवर्तन पाएको बताएका छन् । जेनजीसहिदप्रति श्रद्धाञ्जलीको फोटो राख्दै उनले जेनजीको योगदान र बलिदानबाट देशले परिवर्तन पाएको बताएका हुन् । ‘प्रिय जेनजी, तपाईंहरूको योगदान र बलिदानबाट देशले परिवर्तन पाएको छ,’ उनले लेखेका छन् । वीर सहिदहरुप्रति श्रद्धाञ्जली व्यक्त गर्दै योगदान अमूल्य रहेको उनको भनाइ छ । ‘तपाईंहरूको योगदान अमूल्य छ, जसले सधैं भावी पुस्तालाई देश प्रेम र कर्तव्य बोधको मार्गदर्शन गर्नेछ । ताईहरूप्रति असिम सम्मान ।’ उनले घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना समेत व्यक्त गरे ।
प्रतिनिधिसभा विघटन गर्ने निर्णयमा माओवादीको असहमति
काठमाडौं । नेकपा माओवादी केन्द्रले प्रतिनिधिसभा विघटन गर्ने निर्णयमा गम्भीर असहमति रहेको जनाएको छ । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको नेतृत्वमा बसेको केन्द्रीय पदाधिकारीहरूको आकस्मिक बैठकले यस्तो निर्णय गरेको हो । बैठकमा अध्यक्ष प्रचण्डले प्रतिनिधिसभा विघटन गर्ने निर्णयमा गम्भीर असहमति रहेको बताए । वर्तमान परिस्थितिलाई विश्लेषण गर्दै मुलुकको संवैधानिक व्यवस्था विपरीत संसद् विघटन गर्ने निर्णय भएको भन्दै त्यसप्रति गम्भीर असहमति भएको निर्णय माओवादी केन्द्रले जनाएको छ ।
प्रधानमन्त्री कार्कीले सम्हालिन् सबै मन्त्रालय, ६ महिनाभित्र निर्वाचन गर्नुपर्ने
काठमाडौं । नवनियुक्त सुशीला कार्कीले सबै मन्त्रालय आफूले नै सम्हालेकी छन् । शुक्रबार प्रधानमन्त्रीको सपथपछि उनले सबै मन्त्रालय सम्हाल्ने भएकी हुन् । अब आगामी ६ महिनाभित्र प्रतिनिधिसभाको नयाँ निर्वाचन हुने भएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले आगामी ६ महिनाभित्र प्रतिनिधिसभाको नयाँ निर्वाचन गर्नेगरी पूर्वप्रधानन्यायाधीश कार्कीलाई प्रधानमन्त्रीमा नियुक्त गरेका हुन् ।
प्रधानमन्त्री सुशीला कार्कीले लिइन् सपथ, राष्ट्रपतिले भने : देश सफल होस्, जनता बाँचुन्
काठमाडौं । अन्तरिम सरकारको प्रधानमन्त्री सुशीला कार्कीले सपथ लिएकी छन् । राष्ट्रपति रामचन्द्र पौडेलले उनलाई सपथ ग्रहण गराएका हुन् । शितलनिवासमा भएको सपथ ग्रहण कार्यक्रममा उपराष्ट्रपति, प्रधानन्यायाशीध लगायतको सहभागिता छ । शुक्रबार कार्कीलाई प्रधानमन्त्रीको शपथ दिलाएपछि राष्ट्रपति पौडेलले देश सफल होस् र जनता बचाउनुहोस् भन्दै शुभकामना व्यक्त गरे । शुभकामना दिँदै राष्ट्रपति पौडेलले भने, ‘बधाई छ । धेरै-धेरै शुभकामना । कार्यकाल सफल होस् । देश सफल होस्, जनता बचाउनुस् ।’ जवाफमा कार्कीले थप केही नभनी धन्यवाद भनिन् ।
संसद् विघटनतर्फको अग्रसरता विडम्बनापूर्ण, खबरदारी गरौंः शंकर पोखरेल
काठमाडौं । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले संसद् विघटनतर्फको अग्रसरता विडम्बनापूर्ण रहेको बताएका छन् । अन्तरिम सरकारको प्रधानमन्त्री सुशीला कार्की नियुक्त र संसद विघटन गर्ने सहमति पछि सबैलाई खबरदारी गर्न आग्रह गरे । हालको राजनीतिक परिस्थितिबारे चिन्ता व्यक्त गर्दै संसद् विघटनतर्फ अग्रसर हुनु विडम्बनापूर्ण विषय भएको उनको भनाइ छ । ‘विगतमा बहुमतको प्रधानमन्त्रीले संसद् विघटन गर्दा त्यसलाई असंवैधानिक भन्दै मुद्दा हाल्ने र फैसला सुनाउनेहरू अहिले स्वयं विघटनतर्फ अग्रसर हुनु विडम्बनापूर्ण विषय हो। त्यसैले सतर्क रहौं, खबरदारी गरौं,’ पोखरेलको अपील छ ।
नेपाल बारले भन्यो : सुशीला कार्कीको नियुक्ति असंबैधानिक
काठमाडौं । नेपाल बार एसोशिएसनले पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई प्रधानमन्त्रीमा नियुक्त गर्नु असंवैधानिक भएको प्रतिक्रिया दिएको छ । नेपाल बारले उनको नियुक्ति नेपालको संविधान २०७२ विपरीत भएको बताएको हो । बारका अध्यक्ष वरिष्ठ अधिवक्ता डा. विजय प्रकाश मिश्रले नेपालको संविधानले पूर्वप्रधानन्यायाधीशलाई संवैधानिक आयोग बाहेक अन्यत्र नियुक्ति नगर्ने स्पष्ट व्यवस्था गरेको भएपनि अहिलेको नियुक्ति गैरकानूनी भएको बताएका हुन् । नेपालको संविधानले प्रधानमन्त्री बन्न प्रतिनिधि सभा सदस्य हुनै पर्ने बाध्यकारी व्यवस्था गरेको मिश्रले बताए । उक्त बाध्यकारी प्रावधान न विपरीत भएको नियुक्तिलाई कुनै पनि हालतमा संवैधानिक मान्न नसकिने अध्यक्ष मिश्रले बताए । यस्तै, प्रतिनिधि सभा विघटन वरिष्ठ अधिवक्ता टिकाराम भट्टराईले पनि यो नियुक्ति असंवैधानिक भएको बताए । विकासन्युजलाई प्रतिक्रिया दिँदै भट्टराईले नयाँ सरकारको पहिलो काम नै असंवैधानिक भएको तर्क दिए । जेनजी आन्दोलनपछि गठित सरकारले प्रतिनिधिसभा विघटन गरेर असंवैधानिक बाटो रोजेको वरिष्ठ अधिवक्ता भट्टराईको धारणा छ ।
सुशीला कार्कीको एकपछि अर्को रेकर्ड, पहिलो महिला प्रधानन्यायधीशपछि प्रधानमन्त्रीमा पनि इतिहास
काठमाडौं । पूर्वप्रधानन्यायाधीश सुशीला कार्की अन्तरिम सरकारको प्रधानमन्त्रीमा नियुक्त भएकी छन् । उनलाई राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्री नियुक्त गरेका हुन् । उनको शपथ ग्रहण आजै बेलुका ९ बजे हुने तय भएको छ । त्यसपछि संसद विघटन हुने बताइएको छ । कार्की पहिलो महिला प्रधानमन्त्री बनेकी छन् । विराटनगरमा जन्मिएकी ७३ वर्षीया कार्कीको जन्म वि.सं २००९ जेठ २५ गते शङ्खरपुर–३ विराटनगरमा भएको हो । उनले महेन्द्र मोरङ कलेज विराटनगरबाट २०२८ मा बिए र वनारस हिन्दु विश्वविद्यालयबाट २०३१ मा राजनीतिशास्त्रमा एमए गरेकी छिन् । २०३४ सालमा त्रिभुवन विश्वविद्यालयबाट कानुनमा स्नातक गरेपछि कानूनी क्षेत्रमा उनको यात्रा अघि बढेको हो । अधिवक्ता भएर कार्कीले २०३५ चैत १६ गतेदेखि काम सुरु गरेकी थिइन् । उनले तीन वर्ष (२०४२–२०४६) महेन्द्र बहुमुखी क्याम्पस धरानमा अध्यापनसमेत गरिन् । वि.सं २०४५ देखि २०४७ सम्म कार्की तत्कालीन कोसी अञ्चल बारको अध्यक्षको जिम्मेवारी लिँदै २०५९ देखि २०६१ सालसम्म विराटनगर पुनरावेदन बारको अध्यक्ष बनिन् । त्यस्तै, २०६१ पुस ५ गते वरिष्ठ अधिवक्ता बनेकी उनी २०६५ माघ ९ गते सर्वोच्च अदालतको अस्थायी न्यायाधीशमा नियुक्त भएकी थिइन् । त्यसपछि उनी २०६७ मङ्सिर २ गते सर्वोच्च अदालतको स्थायी न्यायाधीश बन्न पुगिन् । कार्कीले तीन दशकभन्दा लामो समयमा वकालत गरेपछि उनी न्यायाधीशका रूपमा सिधै सर्वोच्च अदालत प्रवेश गरेकी थिइन् । उनले प्रधानन्यायाधीशका रूपमा एउटा गर्विलो छवि निर्माण गरेकी छन् । उनी २०७३ मा प्रधानन्यायाधीशमा नियुक्त भएकी थिइन् ।