पर्सामा क्षतिको आँकलन गरिँदै, नेपाल टेलिकमको तीन करोड बराबरको नोक्सानी
काठमाडौं । गतहप्ताको आन्दोलनबाट वीरगन्जको घण्टाघरस्थित नेपाल टेलिकम वीरगन्जको कार्यालयमा तोडफोड र आगजनीबाट तीन करोड बराबरको क्षति भएको छ । यही भदौ २४ गतेको आन्दोलनको भीडको सबैभन्दा पहिलो निशानामा टेलिकम परेको थियो। नेपाल टेलिकम वीरगन्जका प्रमुख पङ्कज साहले अराजक समूहको भीडले टेलिकमको कम्प्युटर, प्रिन्टर्सलगायतका अन्य महत्त्वपूर्ण उपकरणमा करिब तीन करोड मूल्य बराबरको सामानको क्षति भएको जानकारी दिए । ‘प्रदर्शनकारीले घण्टाघरस्थित दुवै टेलिकमका कार्यालयमा आगजनी गरेका छन्,’ उनले भने, ‘आगजनीबाट महसुल काउन्टरमा धेरै क्षति भएको छ।’ पर्साका प्रमुख जिल्ला अधिकारी तोयनारायण सुवेदीले सरकारी कार्यालयमा भएको तोडफोड र क्षतिको पारदर्शी ढङ्गले मुचुल्का तयार पार्नका लागि निर्देशन दिएको छ । ‘जेनजी समूहको आन्दोलनको क्रममा यहाँका विभिन्न सरकारी कार्यालयका भवन तथा सवारीसाधनमा अपूरणीय क्षति भएका छन्,’उनले भने, ‘कार्यालयमा भएका क्षतिको मुचुल्का वा विवरण तयार पर्दा पारदर्शीता र यथार्थपरक बनाउनको लागि निर्देश गरेको छु । मुचुल्का तयार पर्दा श्रव्य दृश्य र अन्य व्यवस्थित खालको तयार पार्न आग्रह गरेको छु ।’ यहाँको वीरगन्ज महानगर, आन्तरिक राजस्व कार्यालय लगायतमा धेरै क्षति भएको छ । रासस
हामी फेरि उठ्ने छौं, तपाईंहरूसँगै : एनसेल
काठमाडौं । गत हप्ताको तोडफोडका घटनामा एनसेलको काठमाडौंस्थित मुख्य कार्यालय ‘एनसेल आइकम’ सहित महेन्द्रनगर, धनगढी र पोखरास्थित क्षेत्रीय कार्यालयहरूमा ठूलो क्षति पुगेको एनसेलले जनाएको छ । कम्पनीले जारी गरेको विज्ञप्तिमा यी घटनाले भौतिक सम्पत्तिसँगै कर्मचारीहरूको सुरक्षा र सेवामा निरन्तरतामा समेत गम्भीर असर पारेको उल्लेख गरिएको छ । एनसेलका अनुसार चुनौतीपूर्ण परिस्थितिमा पनि सेवाको सहज पहुँच सुनिश्चित गर्न तीन दिनसम्म निःशुल्क लोकल भ्वाइस कल, एसएमएस र इन्टरनेट सुविधा उपलब्ध गराइएको थियो । कम्पनीले विगत २० वर्षदेखि नेपाली जनसमुदायलाई दूरसञ्चार सेवा निरन्तर उपलब्ध गराउँदै आएको र ग्राहकप्रतिको प्रतिबद्धता अझै अटल रहेको स्पष्ट पारेको छ । नेपाल अन्तरिम सरकारको नेतृत्वमा नयाँ अध्याय प्रारम्भ भएको सन्दर्भमा एनसेलले नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीलाई बधाई ज्ञापन गरेको छ । कम्पनीले युवाको अगुवाइमा भएको आन्दोलनले ल्याएको परिवर्तनलाई स्वागत गर्दै यसले मुलुकमा एकता, शान्ति र समृद्धि ल्याओस् भन्ने आशा व्यक्त गरेको छ । विज्ञप्तिमा भनिएको छ, 'एनसेलले सूचना तथा सञ्चार प्रविधि क्षेत्रमा रुपान्तरण, रोजगारी सिर्जना, आर्थिक वृद्धिलाई गति प्रदान गर्दै डिजिटल नेपाल निर्माणमा योगदान गर्दै आएको छ । आगामी दिनमा पनि देश र जनताको सेवामा अडिग रहन्छौं ।' एनसेलले आन्दोलनका क्रममा ज्यान गुमाएकाप्रति श्रद्धाञ्जली अर्पण गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ ।
हुम्लाका गाउँगाउँमा नेपाल टेलिकमको ‘फोरजी’ सञ्चालनमा
अदानचुली । टेलिफोन तथा इन्टरनेटको समस्या झेलिरहेका जिल्लाको चङ्खेली गाउँपालिकामा चौथो जेनेरसन (फोरजी)सेवा सञ्चालनमा आएको छ । यहाँका गाउँगाउँमा फोरजी सेवा सञ्चालन आएपछि धेरै सहयोग पुर्याएको स्थानीयवासीले बताएका छन् । मेल्छाम स्वास्थ्य चौकीमा कार्यरत स्वथ्यकर्मी हर्क बुढाले फोरजी सेवा सञ्चालनमा आएपछि सहयोग पुर्याएको बताए । नेपाल टेलिकमले विसं २०७३ पुस १७ गतेदेखि काठमाडौँ र पोखराबाट फोरजी सुरुआत गरेको थियो । व्यवसायी दीपक थापाले फोरजी सेवा सञ्चालनमा आएपछि व्यवसाय गर्न सहयोग पु¥याएको बताए। हुम्लाको दक्षिणी क्षेत्र ताँजाकोट, अदानचुली र सर्केगाड गाउँपालिका तथा मुगुको सोरु गाउँपालिकासहित बाजुरा र मुगु आसपासका सबै गाउँमा फोरजी सेवा सञ्चालन भएको नेपाल टेलिकमले जनाएको छ । चङ्खेली गाउँपालिकाका अध्यक्ष प्यारीलाल शाहीले भने, 'हुम्ला जस्तो भौगोलिक रूपमा विकट क्षेत्रमासमेत आधुनिक प्रविधिको पहुँच सुनिश्चित गर्न गाउपालिकाको अथक पहल र निरन्तर प्रयत्नले फेरजी टावर सञ्चालनमा आएको छ । स्थानीयवासीलाई शिक्षा, स्वास्थ्य, सञ्चार तथा रोजगारीका नयाँ अवसरहरूमा पहुँच सुनिश्चित गर्ने विश्वाससमेत लिएको छु ।' उनले फोरजी सेवा विस्तारले गाउँमा विद्युतीय माध्यमबाट शिक्षा, स्वास्थ्य, सामाजिक सेवा र मनोरञ्जन तथा सूचना आदानप्रदानको कामसमेत सहज हुने बताए । चङ्खेली–३ को लामाकाँधमा राखिएको टावरले चङ्खेली गाउँपालिकाका केही बस्ती सर्केगाड र मुगुको सोरु गाउँपालिकाका केही बस्तीमासमेत सेवा पुर्याउने जनाइएको छ । वडा नं ६ को मासीधारमा राखिएको टावर शनिबार सञ्चालनमा आएपछि जिल्लाको तल्लो क्षेत्रका अधिकांश बस्तीमा ‘फोरजी’ सेवा सञ्चालन हुने छ । महतारा चौरमा निर्माणधीन टावर सञ्चालनमा आएपछि तल्लो क्षेत्रका सबै बस्तीमा इन्टरनेट सेवा सुचारु हुनेछ । जिल्ला सदरमुकामबाट निकै दुर्गम गाउँमा फोरजी चल्न थालेपछि अहिले यहाँका स्थानीय निकै खुसी छन् । टावरको निर्माण पूरा भएसँगै यस क्षेत्रका घर घरमा फोरजी चल्न थाले पनि आफूलाई कार्यालयमा काम गर्नसमेत सहज हुने भएको गाउँपालिकाका स्वास्थ्य संयोजक सुरवीर शाहीको भनाइ छ । उनका अनुसार यस अघि इन्टरनेट नहुँदा स्वास्थ्यसम्बन्धी डेटा भर्नासमेत मुस्किल भएको थियो । गाउँमा फोरजीसम्मको सेवा पुर्याउन गाउँपालिकाले लामो समयदेखि प्रयास गरिरहेको थियो । पालिकाले विगत दुई वर्षदेखि टेलिकमको केन्द्रीय कार्यालय काठमाडौंसँग निरन्तर पत्राचार, प्रत्यक्ष भेटघाट र अनुरोध तथा समन्वयपछि गत वर्षदेखि यस क्षेत्रमा टावर निर्माण सुरु भएको हुम्ला चङ्खेली गाउँपालिकाका अध्यक्ष शाहीले बताए । फोरजी सेवा सुरु भएसँगै यहाँका विद्यालय डिजिटल शिक्षा, अनलाइन शिक्षा र स्वास्थ्यमा पनि अनलाइन सेवा सुरु गर्न सकिने छ । रासस
आगजनीपछि हिमालयनको बत्तीसपुतली शाखाको लकर हेड अफिस सारियो, ऋणीलाई हिटी दरबार
काठमाडौं । जेनजी आन्दोलनकर्ताहरुले तोडफोड तथा आगजनी गरेपछि हिमालयन बैंकको बत्तीसपुतली शाखा लकर केन्द्रीय कार्यालयमा स्थानान्तरण गरिएको छ । भदौ २४ गतेको जेनजी आन्दोलनकर्ताहरुले हिमालयन बैंकको बत्तीसपुतली शाखा कार्यालयमा तोडफोड र आगजनी गरेको थियो । बैंकको शाखा कार्यालय क्षतिग्रस्त भएपछि सो शाखामा रहेका सम्पूर्ण लकरहरु केन्द्रीय कार्यालय कमलादीमा स्थानान्तरण गरिएको बैंकले जनाएको छ । बत्तीसपुतली शाखामा खाता खोली लकर सुविधा लिएका ग्राहकहरुलाई आ-आफ्नो लकरको उपभोग केन्द्रीय कार्यालय, कमलादीबाट गर्न बैंकले अनुरोध गरेको छ । साथै, अन्य बैंकिङ कारोबारको हकमा नजिकको कुनै पनि शाखा तथा उक्त शाखाको कर्जा सम्बन्धी सम्पूर्ण कारोबार दरबारमार्गस्थित हिटी दरबार शाखाबाट यथावत रुपमा गर्न सकिने बैंकले जनाएको छ ।
यूनिभर्सल पावरको ९.४७ प्रतिशत लाभांश र १ सय प्रतिशत हकप्रद सेयर घोषणा
काठमाडौं । यूनिभर्सल पावर कम्पनीले लाभांश घोषणा गरेको छ । कम्पनीको भदौ २९ गते बसेको सञ्चालक समितिको बैठकले ९.४७ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । कम्पनीले गत आर्थिक वर्ष २०८१/८२ को नाफाबाट हाल कायम चुक्ता पुँजीको ९ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.४७ प्रतिशत नदग गरी कुल ९.४७ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । प्रस्तावित लाभांश पारित गर्न कम्पनीले असोज २३ गते ललितपुरमा वार्षिक साधारण सभा बिहान १० बजे बोलाएको छ । कम्पनीको सभाले बोनस सेयर वितरणपश्चात १ प्रतिशत अर्थात् १:१ अनुपातमा हकप्रद सेयर निष्काशन गर्ने प्रस्ताव पारित गर्नेछ । कम्पनीको प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, आर्थिक वर्ष २०८२/८३ को लागि लेखापरीक्षक नियुक्त गर्ने, २ जना सञ्चालकको निर्वाचन र स्वतन्त्र सञ्चालकको नियुक्ति अनुमोदन गर्नेछ । लाभांश तथा साधारण सभा प्रयोजनार्थ कम्पनीले असोज ८ गते एक दिनका लागि बुकक्लोज गर्ने निर्णय गरेको छ । त्यसैले असोज ७ गतेसम्म नेपाल स्टक एक्सचेञ्जमा कारोबार भइ कायम सेयरधनीहरूले साधारण सभामा सहभागिता जनाइ लाभांश प्राप्त गर्न सक्नेछन् ।
निष्काशन बन्द गरिएको श्रीनगर एग्रीटेकको आईपीओ भर्न २ दिन समय थपियो
काठमाडौं । श्रीनगर एग्रीटेक इन्डष्ट्रिजको आईपीओमा आवेदन दिने समय २ दिन थपेको छ । भदौ ११ गतेदेखि बिक्री खुला गरेको कम्पनीको आईपीओमा उद्योग प्रभावित क्षेत्रका स्थानीय बासिन्दालाई भदौ २५ गते निष्काशन बन्द गरेको थियो । तर, देशमा उत्पन्न विषम परिस्थितिले गर्दा दरखास्तमा बाधा पुगेको र उद्योग प्रभावित क्षेत्रका स्थानिय बासिन्दाहरुको आग्रहलाई ध्यानमा राख्दै भदौ ३० गते र ३१ गते आवेदन दिने अवधि थप गरेको कम्पनीले जनाएको छ । कम्पनीले जारी पुँजी १ अर्ब ६३ करोड १२ लाख ५० हजार रुपैयाँको २० प्रतिशत अर्थात् ३२ करोड ६२ लाख ५० हजार रुपैयाँको प्रतिकित्ता १ सय रुपैयाँ अंकित मूल्य दरका ३२ लाख ६२ हजार ५ सय कित्ता सेयर बिक्री गरेको हो । जसमध्ये १ प्रतिशत अर्थात् १ लाख ६३ हजार १२५ कित्ता उद्योग प्रभावित क्षेत्र रुपन्देही र पाल्पा जिल्लाका स्थानीय बासिन्दाहरूलाई छुट्याइएको छ । कम्पनीको आईपीओमा न्यूनतम् १० कित्तादेखि अधिकतम १० हजार कित्तासम्म आवेदन दिन सकिनेछ । कम्पनीको आईपीओ निष्काशन तथा बिक्री प्रबन्धक नबिल इम्भेष्टमेन्ट बैंकिङ्ग रहेको छ । उद्योग प्रभावित क्षेत्रका स्थानीय बासिन्दाले नबिल बैंकको तानसेन पाल्पा र फरसाटिकर रुपन्देही, एनएमबि बैंकका तानसेन र फरसाटिकर तथा ग्लोबल आइएमई बैंकका तानसेन शाखाबाट आवेदन दिन सक्नेछन् ।
सागर डिष्टिलरीको आईपीओ बिक्री खुला, कति कित्ता आवेदन दिने ?
काठमाडौं । सागर डिष्टिलरीले आज भदौ ३० गतेदेखि आईपीओ निष्काशन तथा बिक्री खुला गरेको छ । कम्पनीले पहिलो चरणमा वैदेशिक रोजगारीमा रहेका नेपालीलाई सेयर बिक्री गरे पश्चात् अब सर्वसाधारण लगानीकर्ताहरुका लागि आईपीओ बिक्री खुला गरेको हो । कम्पनीले जारी पुँजी ७२ करोड ६० लाख रुपैयाँको २० प्रतिशत अर्थात् १४ करोड ५२ लाख रुपैयाँको प्रतिकित्ता १ सय रुपैयाँ अंकित मूल्य दरका १४ लाख ५२ हजार कित्ता सेयर बिक्री गरेको हो । जसमध्ये पहिलो चरणमा १० प्रतिशत अर्थात् १ करोड ४५ लाख २० हजार रुपैयाँको १ लाख ४५ हजार २ सय कित्ता सेयर नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृति लिई वैदेशिक रोजगारीमा रहेका नेपालीलाई बिक्री गरिसकेको छ । साथै, ५ प्रतिशत अर्थात् ७२ हजार ६०० कित्ता सामूहिक लगानी कोष, ४३ हजार ५६० कित्ता कर्मचारीलाई छुट्याएर बाँकी रहेको ११ लाख ९० हजार ६४० कित्ता सेयर सर्वसाधारण लगानीकर्ताहरुका लागि बिक्री गरेको हो । कम्पनीको आईपीओमा असोज २ गतेसम्म आवेदन दिन सकिनेछ । यदि सो अवधिभित्र पूर्ण आवेदन नपरेमा असोज १३ गतेसम्म लम्बिनेछ । कम्पनीको आईपीओमा लगानीकर्ताहरुले न्यूनतम् १० कित्तादेखि अधिकतम १० हजार कित्तासम्म आवेदन दिन सक्नेछन् । कम्पनीको आईपीओ निष्काशन तथा बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटल रहेको छ । लगानीकर्ताहरुले नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त गरेका सम्पूर्ण सीआस्बा सदस्य बैंक तथा वित्तीय संस्थाबाट सीआस्बा प्रणाली मार्फत आवेदन दिन सक्नेछन् । इन्फोमेरिक्स क्रेडिट रेटिङ्ग नेपालले कम्पनीलाई आईआरएन सिङ्गल बी प्लस रेटिङ्ग प्रदान गरेको छ । यसले कम्पनीको समयमा वित्तीय दायित्व पुरा गर्न सक्ने अवस्थामा उच्च जोखिम रहेको संकेत गर्दछ ।
आज देशभर वर्षा, अरब सागर र बङ्गालको खाडीको जलवाष्पयुक्त हावाको प्रभाव
काठमाडौं । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थान आसपास अवस्थित रहेको छ । अरब सागर तथा बङ्गालको खाडीबाट जलवाष्पयुक्त हावाको समेत प्रभाव रहेको जल तथा मौसम विज्ञान मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार आज देशभर साधारणतया बदली रहनेछ । देशका पहाडी भागका केही तथा तराई भागका केही स्थानमा मध्यम वर्षाको सम्भावना छ । गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका थोरै स्थानमा तथा कोशी र बागमती प्रदेशको एक/दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको महाशाखाले जनाएको छ । साथै गण्डकी र लुम्बिनी प्रदेशको एक/दुई स्थानमा धेरै भारी वर्षाको सम्भावना रहेको छ । त्यसैगरी, आज राति देशभर साधारणतया बदली रहनेछ । लुम्बिनी प्रदेशलगायत देशका पहाडी भू-भागका धेरै तथा तराई भू-भागका केही स्थानमा मध्यम वर्षाको सम्भावना रहेको छ । गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका थोरै स्थानहरूमा तथा कोशी र बागमती प्रदेशको एक/दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ । गण्डकी र लुम्बिनी प्रदेशको एक/दुई स्थानमा धेरै भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।