विकासन्युज

अटोमोबाइल क्षेत्रलाई सामान्य अवस्थामा फर्काउन र आवश्यक सहजीकरण गर्न नाडाको आह्वान

काठमाडौं । नाडा अटोमोबाइल्स एशोसिएसन अफ नेपाल (नाडा) ले हालै देशभर भएका आन्दोलन र प्रदर्शनहरूले मुलुकको सामाजिक तथा आर्थिक क्षेत्रमा गहिरो प्रभाव पारेको भन्दै चिन्ता व्यक्त गरेको छ । नाडाले आइतबार विज्ञप्ति जारी गर्दै आन्दोलनका क्रममा ज्यान गुमाउन बाध्य भएकाप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारप्रति गहिरो समवेदना प्रकट गरेको छ ।  साथै घाइते भएका सम्पूर्ण नागरिकहरूको शीघ्र स्वास्थ्य लाभको कामना गर्दै संस्थाले देशमा शान्ति र स्थायित्वको वातावरण कायम गर्न सबै पक्षलाई जिम्मेवार भूमिका निर्वाह गर्न आग्रह गरेको छ । संघले अटोमोबाइल उद्योगलाई देशको उद्योग, व्यापार र रोजगारीको महत्त्वपूर्ण आधारशिला ठहराउँदै हालका घटनाक्रमले यस क्षेत्रमा प्रत्यक्ष असर पारेको र कर्मचारी, ग्राहक र संरचनाको सुरक्षाप्रति समेत चिन्ता बढाएको जनाएको छ ।  ‘देशको वर्तमान अवस्थाले उपभोक्ता विश्वासमा नकारात्मक असर पारेको छ र दीर्घकालीन रुपमा लगानी र रोजगारीमा चुनौती थपिएको छ,’ विज्ञप्तिमा उल्लेख छ। नाडाले हरेक जटिल समस्याको समाधान शान्तिपूर्ण संवाद र सहमतिबाट खोज्न सकिने विश्वास व्यक्त गर्दै सरकारलाई व्यवसायिक समुदायको सुरक्षालाई सर्वोच्च प्राथमिकतामा राख्न, अटोमोबाइल क्षेत्रलाई सामान्य अवस्थामा फर्काउन र आवश्यक सहजीकरण गर्न आह्वान गरेको छ । संस्थाले सदस्य कम्पनीहरूको हित र उपभोक्ताको विश्वास सुरक्षित राख्न निरन्तर खटिने प्रतिबद्धता व्यक्त गर्दै मुलुकलाई स्थायित्वतर्फ अघि बढाउन सबै सरोकारवालालाई सकारात्मक संवाद र जिम्मेवार नेतृत्वको आग्रह गरेको छ । नाडाले नयाँ सरकारले आउँदो ६ महिनाभित्र आम निर्वाचन सम्पन्न गर्ने जिम्मेवारी सफलतापूर्वक पूरा गरोस् भन्ने शुभकामनासमेत व्यक्त गरेको छ ।

निजी क्षेत्रको मनोबल नगिर्ने गरी आर्थिक स्थायित्वलाई प्राथमिकतामा राख्न महासंघको अपील

काठमाडौं । भ्रष्टाचार निवारण, सुशासनको प्रत्याभूति, सामाजिक सञ्जालको निर्वाध सञ्चालन लगायतका माग सहित ‘जेनजी’ पुस्ताद्वारा राजधानी लगायतका अन्य प्रमुख शहरहरुमा गरिएको प्रदर्शनमा प्रहरी दमन हुँदा ठूलो मानवीय क्षति भएको प्रति नेपाल निर्माण महासंघले गहिरो दुःख व्यक्त गरेको छ ।  महासंघका महासचिव रोशन दाहालले आइतबार विज्ञप्ति जारी गर्दै मृतकहरुप्रति हार्दिक श्रद्धाञ्जली सहित मृतआत्माको चिर शान्तिको कामना र शोकाकुल परिवारजनमा गहिरो समवेदना प्रकट गरेका छन् ।  साथै महासंघले देशव्यापी प्रदर्शनमा घाइते भएका समस्त प्रदर्शनकारी, सुरक्षाकर्मीहरु र सर्वसाधारणको शिघ्र स्वास्थ्य लाभको कामना गरेको छ ।  ‘आन्दोलनका क्रममा जेन्जी पुस्ताको माग विपरित सार्वजनिक तथा निजी सम्पत्ति सहित ऐतिहासिक धरोहरहरूमा भएको व्यापक आक्रमण, आगजनी, तोडफोड तथा लुटपाटका घटनाबाट महासंघ अत्यन्त दुःखित एवं मर्माहत भएको छ’ महासंघको विज्ञप्तिमा उल्लेख छ ।  निजी क्षेत्रको मनोबल गिर्ने गरी जो कोहीबाट भएको त्यस्ता ध्वंसात्मक गतिविधिको महासंघले कडा शब्दमा भर्त्सना एवं निन्दा गरेको छ । राष्ट्रिय अर्थतन्त्रमा दिर्घकालीन रुपमा गम्भीर असर पर्ने गरी भएका त्यस्ता हिंसात्मक गतिविधिहरूले नेपालको पूर्वाधार लगायतका क्षेत्रमा लगानी गरेका स्वदेश तथा विदेशका तमाम उद्योगी व्यवसायीहरू सहितको समग्र निजी क्षेत्र त्रसित रहेको महासंघको निचोड छ । ती आक्रमण, आगजनी, तोडफोड तथा लुटपाटमा संलग्नलाई तत्काल कानून अनुसार कार्बाही गर्न जोडदार माग गर्दै महासंघले आन्दोलनका क्रममा निर्माणधीन संरचनाहरूमा भएको क्षतिको सम्बन्धित निर्माण कम्पनीलाई सम्झौता बमोजिम राहत तथा सुविधा दिन आग्रह गरेको छ ।  साथै अहिलेको विषम परिस्थितिमा निजी क्षेत्रलाई सुरक्षित वातावरणमा व्यवसाय सञ्चालन गर्नु दिनु राज्यको पहिलो दायित्व भएकाले त्यसतर्फ अविलम्ब पहलकदमी लिन महासंघले अपील गरेको छ ।  मुलुकमा हाल अन्तरिम सरकार गठन भइसकेको अवस्थामा जेनजी पुस्ताको चाहना अनुरुप देशमा सुशासन कायम गर्न र भ्रष्टाचार अन्त्यका लागि तत्काल आवश्यक पहल गर्न महासंघले सरकारको ध्यानाकर्षण गराएको छ । पूर्वाधार विकास तथा पुर्ननिर्माण कार्यलाई तीव्रता दिने कार्यमा सहज हुने व्यवहारिक ऐन कानून एवं नीतिगत व्यवस्था गरी जवाफदेहिता सहितको समय सापेक्ष ऐन, कानून एवं नीतिगत व्यवस्था कार्यान्वयनमा ल्याउन महासंघले माग गरेको छ । राष्ट्रले भोगिरहेको यस अकल्पनीय क्षति पश्चातको पुर्ननिर्माणमा सहयोग गर्न महासंघ अझ प्रतिबद्ध भएर लाग्न दृढ रहेको विज्ञप्तिमा उल्लेख छ ।  नागरिकले आधारभूत सेवा पाउन वा उद्योग/व्यवसाय सञ्चालन गर्न ‘अवैध’ बाटो अपनाउनुपर्ने विद्यमान विकराल प्रणालीको अन्त्य गरी ‘सम्बन्ध वा पैसा विना केही हुँदैन’ भन्ने मानसिकताको अन्त्य गर्दै भ्रष्टाचारमा संलग्नलाई कडा कार्वाही गरी निर्माण उद्योगमा व्याप्त तमाम विसङ्गती अन्त्यका लागि महासंघले नवगठित सरकार समक्ष माग राखेको छ । पूँजीगत खर्चमा वृद्धि गरी अर्थतन्त्र चलायमान बनाउन र संकटग्रस्त अवस्थामा रहेको निर्माण उद्योग सहित सिङ्गो निजी क्षेत्रको मनोबल नगिर्ने गरी आर्थिक स्थायित्वलाई उच्च प्राथमिकतामा राखेर अविलम्ब ठोस आर्थिक रणनीति सहित अघि बढ्न महासंघ पनि नवगठित सरकार समक्ष महासंघले अपील गरेको छ ।    

एकैसाथ डेङ्गी र सापुको जोखिम, कसरी जोगिने ?

गण्डकी । पछिल्लो समय गण्डकी प्रदेशका विभिन्न जिल्लामा डेङ्गी र ‘सिजनल हाइपर एक्युट प्यानयुभाइटिस’ (सापु)को सङ्क्रमण देखिएको छ । प्रदेशको स्वास्थ्य मन्त्रालयको पछिल्लो आँकडाअनुसार गत पुसयता प्रदेशका ११ वटै जिल्लामा गरी नौ सय ६४ जनामा डेङ्गीको सङ्क्रमण पुष्टि भएको हो । सबैभन्दा बढी कास्कीमा ५०३ र सबैभन्दा कम मुस्ताङ र मनाङमा एक/एक जनामा उक्त रोग देखिएको प्रदेशस्थित स्वास्थ्य मन्त्रालयले जनाएको छ । यस्तै गत सातादेखि सापुको सङ्क्रमण देखिन सुरु गरेको छ । पोखरास्थित हिमालय आँखा अस्पतालमा सूचना अधिकारी कुमार गर्बुजाका अनुसार बागलुङको ढोरपाटन नगरपालिकाका दुई, कास्कीको रुपा र माछापुच्छ्रे गाउँपालिकाका एक/एक र लमजुङका एक गरी हालसम्म पाँच जना बिरामी अस्पताल भर्ना भई उपचार सेवा लिएका छन् । दुई जना निको भएर घर फर्केका जनाउँदै उनले तीन जना उपचारकै क्रममा रहेका बताए । आगामी कात्तिक/मङ्सिरसम्म डेङ्गी र सापुको सङ्क्रमण फैलने जोखिम उच्च रहने भएकाले चिकित्सकले सावधानी अपनाउन सुझाव दिएका छन् । दुवै रोगको सङ्क्रमण वर्षायामपछि बढी देखिने गरेको छ । हिमालय आँखा अस्पतालका मेडिकल निर्देशक डा बबिता गुरुङले सेतो पुतलीको संसर्गबाट लाग्ने सापुका कारण आँखाको दृष्टि गुम्नसक्ने भएकाले विशेष सावधानी अपनाउनुपर्ने बताए । 'यो रोग लागेको ४८ घण्टादेखि ७२ घण्टासम्म उपचार नभएमा आँखाको दृष्टि नै गुम्न सक्छ', उनले भने । अस्पताल भर्ना भएकामध्ये आँखामा गम्भीर असर पुगेका तीन जनाको शल्यक्रिया गरिएको डा गुरुङले जानकारी दिए । उनका अनुसार हालसम्म सापू रोग लाग्नुको मुख्य कारण सेतो पुतलीलाई मानिएको छ । अन्य जीवाणु र विषाणुका कारणले पनि यसको सङ्क्रमण हुने गरेको पाइएको उनको भनाइ छ । अस्पतालले सापुबाट जोगिन सेतो पुतलीको संसर्गबाट टाढै रहन, धेरै उज्यालो सेता बत्ती नबाल्न, साँझ र रातिमा घरको झ्यालढोका बन्द गर्न, बत्ती निभाएर झुलभित्र मात्र सुत्न, साँझपख बालबालिकालाई घर बाहिर जान नदिन सर्वसाधारणमा आग्रह गरेको छ । सापुको सङ्क्रमण भएमा एक्कासी एउटा आँखा मात्र रातो हुनु, चिप्रा लाग्नु, उज्यालोमा हेर्न नसक्नु, आँखामा सामान्य दुखाइ हुनु, आँखाको नानी सेतो हुँदै जानु, दृष्टि कमजोर हुनुलगायत लक्षण देखिने डा गुरुङले बताए । 'समयमै उपचार भएमा यो रोग पूर्ण रूपमा निको हुन्छ, शङ्कास्पद लक्षण देखिएमा तुरुन्त अस्पताल गई जाँच र उपचार सुरु गर्नुपर्छ', उनले भने, 'उपचार ढिलो भएमा दृष्टि गुम्ने, आँखा सुक्ने खतरा हुन्छ ।' असोजदेखि मङ्सिरसम्म सापूको सङ्क्रमण बढी देखिने गरेको डा गुरुङले जानकारी दिए । पहिलोपटक सन् १९७५ मा पोखराको नारायणटारमा सापु रोग भेटिएको थियो । नेत्ररोग विशेषज्ञ डा मदन उपाध्यायले यो रोग पत्ता लगाएका थिए । नेपालको मध्यपहाडी क्षेत्रमा यो रोगको सङ्क्रमण बढी देखिने गरेको छ । 'दुई वर्षको अन्तरमा यो रोगको सङ्क्रमण देखिन्छ, सन् २०२३ पछि अहिले आएर बिरामी भेटिएका हुन्', डा गुरुङले भने, 'सन् २०२१ मा पनि धेरै जनामा यो रोग देखिएको थियो ।' सापू लाग्नुको यकीन कारण अझै पत्ता नलागेको उल्लेख गर्दै उनले बिरामीको रगतबाट वंशाणुगत अध्ययन गर्ने तयारी भइरहेको जानकारी दिए । अहिलेसम्मको अध्ययनले बत्तीमा झुम्मिने कालो धर्सा भएको सेतो पुतलीको रौँ र झुस आँखामा पुग्दा सापुको सङ्क्रमण हुने गरेको पत्ता लगेको उनको भनाइ छ । जटिल अवस्थाका बिरामीलाई आँखाभित्र औषधिको सुइँ लगाएर शल्यक्रियामार्फत उपचार गर्ने गरिएको उनले बताए । सापूको सङ्क्रमण समुदायमा फैलन नदिन स्वास्थ्यमा सजगता अपनाउनुपर्नेमा डा गुरुङले जोड दिए । सापुका बिरामीको हिमालय आँखा अस्पतालले निःशुल्क जाँच तथा उपचार गर्दै आएको छ । शल्यक्रियासहितका सबै सेवा निःशुल्क भइरहेको अस्पतालले जनाएको छ । पछिल्लो समय सापुसँगै डेङ्गीको सङ्क्रमणको पनि उच्च जोखिम रहेको धवलागिरि अस्पतालका चिकित्सक प्रभात सिंहले बताए । वर्षा रोकिएपछि घमाइला दिनमा यी रोगको सङ्क्रमण छिटो फैलने हुनाले सर्तकता अपनाउनुपर्नेमा उनले जोड दिए । लामखुट्टको टोकाइबाट बच्नु डेङ्गी सङ्क्रमणबाट जोगिने उत्तम उपाय भएको उनको भनाइ छ । डेङ्गीबाट बच्न घर, कार्यालय र सार्वजनिकस्थलमा रहेका खाल्डाखुल्डी, पुराना टायर, ड्रम, भाँडाकुँडा आदिमा पानी जम्मा हुन नदिने र त्यस्ता स्थान भेटिएमा नष्ट गर्नुपर्ने चिकित्सक सिंहले सुझाव दिए । डेङ्गी सङ्क्रमणपछि बान्ता भइरहने, नाकबाट रगत आउने, कालो दिसा हुने, थकान लाग्नेलगायत लक्षण देखिए अस्पतालको विशेष निगरानीमा उपचार गर्नुपर्ने उनले बताए । अधिकांश डेङ्गीका बिरामी सामान्य उपचार र हेरचाहपछि निको हुने गरे पनि कतिपयमा भने यसले जटिलता ल्याउने गरेको चिकित्सक सिंहले उल्लेख गरे । डेङ्गीबाट ज्यान जोखिममासमेत पर्नसक्ने भएकाले सामान्य रोग हो भन्ने लापरबाही नर्गन उनले सर्वसाधारणलाई आग्रह गरे । डेङ्गी हुँदा शरीरलाई प्रशस्त झोलिलो पदार्थ र आरामको जरुरी हुने पोखरा महानगरपालिकाका स्वास्थ्य महाशाखाका जनस्वास्थ्य निरीक्षक राजेन्द्र रेग्मीले बताए । डेङ्गी सङ्क्रमणका बेला आफूखुसी औषधि सेवन गर्न नहुने उनको भनाइ छ । जनस्वास्थ्य निरीक्षक रेग्मीका अनुसार ‘एडिस एजिप्टाई’ जातको पोथी लामखुट्टेको टोकाइबाट डेङ्गी सर्दछ । 'चार प्रकारका भाइरसबाट मानिसमा डेङ्गी हुन्छ । उक्त लामखुट्टले जम्मा भएको सफा पानीमा फुल पार्ने र लार्भा जन्माउने गर्दछ । यो लामखुट्टेले दिनमा मात्र टोक्ने हुँदा दिउँसोको समयमा बढी सावधानी अपनाउनुपर्छ', उनले भने । गत वर्षको तुलनामा यो वर्ष सङ्क्रमण दर कम देखिएपनि जोखिम भने अझै कायम रहेको जनस्वास्थ्य निरीक्षक रेग्मीले बताए । पोखरा गत वर्ष डेङ्गीको ‘हटस्पट’ बनेको थियो । उक्त वर्ष पोखरा महानगरपालिकामा मात्र आठ हजार ६०० जनाभन्दा बढीमा डेङ्गी सङ्क्रमण भएको थियो । डेङ्गी सङ्क्रमणबाट पोखरामा तीन जनाको मृत्यु भएको थियो । रासस

बीमक र पुनर्बीमकसँग प्राधिकरणको छलफल, दाबी भुक्तानी छिटो गर्नेबारे छलफल

काठमाडौं । नेपाल बीमा प्राधिकरणले हालै आन्दोलनका क्रममा भएका भौतिक तथा अन्य क्षतिबाट बीमा क्षेत्रमा परेको प्रभावका सम्बन्धमा आइतरबार छलफल गरेको छ। प्राधिकरको केन्द्रीय कार्यालय, कुपण्डोलमा निर्जीवन बीमा कम्पनी र पुनर्बीमा कम्पनीहरूका प्रमुख कार्यकारी अधिकृतहरूसँग छलफल भएको हो । छलफलमा निर्जीवन बीमा कम्पनीका प्रमुख कार्यकारी अधिकृतहरूले आन्दोलनका क्रममा भएका भौतिक तथा अन्य क्षतिको बीमा दाबीमध्ये सानो दाबी रकम बीमकले तत्कालै भुक्तानी गर्नसक्ने, त्यसभन्दा माथिको बीमा दाबी भुक्तानीको हकमा नियम बमोजिम पुनर्बीमकले पेश्की स्वरूप अग्रिम रूपमा रकम दिनुपर्ने र तरलता व्यवस्थापनमा पुनर्बीमकले सहजीकरण गर्नुपर्ने विचार व्यक्त गरे । साथै उनीहरूले आन्दोलनका क्रममा पूर्णरूपमा क्षति भएका भौतिक सम्पत्तिको बीमा दाबी भुक्तानीका सन्दर्भमा विशेष परिस्थितिका कारण सर्भे प्रतिवेदन प्राप्त गर्न नसकिने र वडा कार्यालय तथा प्रहरी कार्यालयहरू क्षतिग्रस्त भएका कारण सिफारिश समेत प्राप्त गर्न कठिन हुने भएकाले न्यूनतम कागजातका आधारमा दाबी भुक्तानीको व्यवस्था गर्नुपर्ने लगायतका धारणा राखेका थिए । यसैगरी, पुनर्बीमा कम्पनीका प्रमुख कार्यकारी अधिकृतहरूले बीमकले पुनर्बीमाका लागि प्रस्ताव गर्दा तथ्याङ्क विश्वसनीय हुनुपर्ने, दाबी भुक्तानीका सन्दर्भमा गर्न सकिने सहयोग गर्न पुनर्बीमकहरू तयार रहेको लगायतका धारणा राखे । छलफलमा नेपाल बीमा प्राधिकरण कार्यकारी निर्देशक सुशीलदेव सुवेदीले हालको गैरप्राकृतिक विपदमा भएका क्षतिको बीमा दाबी भुक्तानीलाई सरल एवं सहज बनाउन प्राधिकरणले बीमा नियमावली, २०८१ मा भएको व्यवस्था अनुरूप बीमा दाबी भुक्तानी सम्बन्धी सङ्क्षिप्त कार्यविधि बनाई लागू गर्न सक्ने व्यवस्था भएकाले सो सम्बन्धमा तीन दिनभित्र राय–सुझावहरू दिन बीमक तथा पुनर्बीमकका प्रमुख कार्यकारी अधिकृतहरूलाई अनुरोध गरे । कार्यकारी निर्देशक सुवेदीले बीमा गरेपछि बीमा दाबी पाइन्छ भन्नेमा सर्वसाधारण आश्वस्त हुनेगरी काम गर्न र बीमा दाबी सम्बन्धी तथ्याङ्क सङ्कलन तथा दाबी भुक्तानीमा सहजीकरण गर्न फोकल पर्सन तोकेर सार्वजनिक रूपमा जानकारी दिन बीमकहरूलाई निर्देशन दिए । कार्यकारी निर्देशक सुवेदीले बीमकहरूले आफूले बीमा गरेका भौतिक तथा अन्य सम्पत्तिमा भएको क्षतिका बारेमा जानकारी पाएमा त्यसका बारेमा यथाशिघ्र बीमितलाई जानकारी दिएर दाबी भुक्तानी प्रक्रिया अगाडि बढाउनका लागि पहल गर्न समेत निर्देशन दिए । कार्यक्रममा नेपाल बीमा प्राधिकरणका निर्देशक निर्मल अधिकारी तथा निर्देशक शाम्भराज लामिछाने र निर्जीवन बीमा कम्पनी र पुनर्बीमा कम्पनीका प्रमुख कार्यकारी अधिकृतहरूको सहभागिता रहेको थियो । बीमा सर्भेयर संघ, नेपालसँग छलफल यसैगरी, नेपाल बीमा प्राधिकरणले हालको गैरप्राकृतिक विपद्को अवस्थामा बीमा दाबी भुक्तानीलाई छिटोछरितो बनाउने सम्बन्धमा बीमा सर्भेयरको भूमिकाका सम्बन्धमा आजै बीमा सर्भेयर संघ, नेपालसँग छलफल गरेको छ । छलफलमा बीमा सर्भेयर संघका पदाधिकारीहरूले हालको विषम अवस्थालाई ध्यानमा राखी न्यूनतम कागजातका आधारका सर्भे प्रतिवेदन बुझाउने व्यवस्था गर्नुपर्ने, सर्भेयरहरूले समानुपातिरूपमा काम पाउनुपर्ने, क्षति भएका स्थानमा बीमा सर्भेयरले सहजै प्रवेश पाउने व्यवस्था गर्नुपर्ने, सर्भेयरहरूलाई बढी जिम्मेवार बनाउनुपर्ने लगायतका धारणा राखेका थिए । त्यस अवसरमा नेपाल बीमा प्राधिकरणका कार्यकारी निर्देशक सुशील देव सुवेदीले बीमा नियमावली, २०८१ मा गम्भीर प्रकृतिको विपद्को समयमा प्राधिकरणले दाबी भुक्तानी सम्बन्धी सङ्क्षिप्त कार्यविधि लागू गर्ने व्यवस्था भए बमोजिम प्राधिकरणले सङ्क्षिप्त कार्यविधि लागू गर्ने तयारी गरिरहेको उल्लेख गर्दै त्यस सम्बन्धमा तीन दिनभित्र राय–सुझाव दिन सर्भेयर संघका पदाधिकाहरुलाई आग्रह गरे । कार्यकारी निर्देशक सुवेदीले बीमा सर्भेयरले आफूले प्राप्त गरेको इजाजतपत्रका आधारमा हालको अवस्थामा पनि सहजै काम गर्न सक्ने स्पष्ट गरे । कार्यक्रममा नेपाल बीमा प्राधिकरणका निर्देशक पूजन ढुङ्गेल अधिकारी, निर्देशक निर्मल अधिकारी तथा निर्देशक शाम्भराज लामिछाने र बीमा सर्भेयर संघ, नेपालका पदाधिकारीहरूको सहभागिता रहेको थियो ।

जेनजी प्रदशर्नले क्षतिग्रस्त बैंकका शाखा अवलोकन गर्न पुगे गभर्नर पौडेल, यस्तो छ अवस्था {तस्बिर}

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर प्रा.डा. विश्वनाथ पौडेलले क्षतिग्रस्त बैंकका शाखाको अवलोकन गरेका छन् । जेनजी आन्दोलनकर्ताहरुले क्षति गरेका बैंकका शाखामा पुगेर गभर्नर पौडेलले स्थलगत अवलोकन गरेका हुन् ।  जेनजी आन्दोलनकर्ताहरुले भदौ २४ गते राष्ट्रिय वाणिज्य बैंकको बानेश्वर शाखामा तोडफोड र आगजनी गरेका थिए । बैंकमा तोडफोड र आगजनीसँगै नगद रकम समेत लुटपाट गरेको बैंकले जनाएको छ ।  आइतबार गभर्नर पौडेल र बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) देवेन्द्र रमण खनालले अवलोकन गरेको राष्ट्र बैंकले जनाएको छ । नयाँ बानेश्वर शाखाको अवलोकन गरी त्यहाँ भएको क्षतिको अवस्थाबारे जानकारी लिएको राष्ट्र बैंकले जनाएको छ ।  राष्ट्रिय वाणिज्य बैंकका सूचना अधिकारी तथा उप-कार्यकारी अधिकृत पवन रेग्मीका अनुसार बानेश्वर शाखामा नगद पनि चोरी भएको छ । कति रकम चोरी भएको छ त्यो संकलन भइरहेको उनले बताए । 

लगानी अनुकूल नीति तथा वातावरण बनाउन सरकारलाई सिबिफिनको आग्रह

काठमाडौं । जेनजीको नेतृत्वमा भएको आन्दोलन अन्तरिम सरकार गठनसँगै शान्तिपूर्ण अवतरणमा पुगेकोप्रति बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) ले स्वागत गरेको छ। परिसंघले विज्ञप्ति जारी गरी देश इतिहासकै कठिन घडीलाई पार गरेर सामान्यतर्फ उन्मुख हुन थालेको जनाएकाे छ । साथै आन्दोलनका क्रममा ज्यान गुमाएका युवाहरू र सुरक्षाकर्मीप्रति श्रद्धाञ्जली व्यक्त गरेको छ । त्यसैगरी, घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ । सिबिफिनले आन्दोलनका क्रममा सार्वजनिक, सरकारी र निजी सम्पत्तिमा भएको अपूरणीय क्षतिप्रति गहिरो दुःख प्रकट गरेकाे छ । परिसंघले आन्दोलनलाई 'सुशासनयुक्त नवनेपाल निर्माणको प्रस्थान विन्दु'का रूपमा व्याख्या गर्दै नवगठित सरकारसँग सहकार्य गरी शान्त, सुशासित र समुन्नत राष्ट्र निर्माणमा हातेमालो गर्ने प्रतिबद्धता जनाएको छ। त्यस्तै, आक्रमण र क्षतिबाट प्रभावित निजी क्षेत्रमा आशा, ऊर्जा र उत्साह थप्ने गरी लगानी अनुकूल नीति तथा वातावरण बनाउन सरकारलाई आग्रह गरिएको छ। सिबिफिनले बैंक तथा वित्तीय क्षेत्रमा क्षति पुर्‍याउने तत्वहरूप्रति सचेत रहँदै बैंकिङ सेवाहरूलाई सहज सञ्चालन गर्न सबै पक्षसँग सहयोग मागेको विज्ञप्तिमा उल्लेख छ ।

सिंहदरबार फर्किए कर्मचारी, कामको अन्यौलता कायमै

काठमाडौं । सिंहदरबारभित्रका विभिन्न मन्त्रालय र निकायका कर्मचारी कार्यालय फर्किए पनि के काम, कहाँ बसेर गर्ने भन्ने अन्यौलता देखिएको छ । कार्यालय समयमा कर्मचारीको उपस्थिति देखिए पनि अहिलेको अवस्थामा कसरी अघि बढ्ने भनेर माथिल्लो निकायको स्पष्ट निर्देशन आइनसकेको अवस्थामा अन्यौलता देखिएको हो । प्रष्ट कार्ययोजना र तत्कालीन प्राथमिकता तय नहुँदा केही कर्मचारीहरू हाजिर गरेर घर फर्किएका छन् भने केही मन्त्रालय परिसरबाहिर समूह बनाएर गफ गरिरहेका भेटिन्छन् । कम क्षति भएका मन्त्रालय तथा निकायका कर्मचारी तत्काल सेवामा खटिनसक्ने अवस्था भए पनि नेतृत्व र निर्देशन अभावमा काम रोकिएको हो । जेनजी प्रदर्शनका क्रममा आगजनी र तोडफोडबाट प्रभावित गृह, सङ्घीय मामिला तथा सामान्य प्रशासन, ऊर्जा जलस्रोत तथा सिँचाइलगायत मन्त्रालयका कर्मचारीहरूले आज अस्थायी रूपमा रजिस्टर वा हाजिरी कापीमार्फत उपस्थिति जनाएका छन् । आज मध्याह्न करिब १२ः०० बजेतिर ऊर्जा सचिव सरिता दवाडीको कार्यकक्षमा अब कसरी अघि बढ्ने भनेर माथिल्लो तहका कर्मचारीको अनौपचारिक बैठक बसिरहेको थियो । आगजनी र तोडफोडबाट क्षतिग्रस्त अन्य केही कोठामा पनि कर्मचारीको उपस्थिति देखिन्थ्यो तर कागजात र महत्त्वपूर्ण सामग्रीको सुरक्षामा भने मन्त्रालयको चासो देखिएन । ऊर्जा मन्त्रालयमा विद्युत् र इन्टरनेट सेवा पूर्ण रूपमा अवरुद्ध भएका छन् । मन्त्रालयका सूचना अधिकारी राजु महर्जनका अनुसार अहिले क्षतिको विवरण सङ्कलन, मुचुल्का तयार पार्ने र अभिलेख राख्ने प्रारम्भिक तयारी भइरहेको छ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयमा तुलनात्मक रूपमा कम क्षति देखिए पनि अहिलेको अवस्थामा के काम गर्ने र कसरी अघि बढ्ने भन्नेबारे कर्मचारीलाई स्पष्ट निर्देशन छैन । 'हाल क्षतिको विवरण सङ्कलन र त्यसको अभिलेख बनाउने काम भइरहेको छ । त्यसबाहेक अन्य काम मन्त्री वा सरकारको प्रष्ट निर्देशनपछि मात्र अघि बढ्छ', मन्त्रालयका सहसचिव डा हरिबहादुर केसीले भने । त्यस्तै, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा सचिवस्तरीय बैठक बसेर सार्वजनिक यातायात सञ्चालनबारे छलफल भए पनि अन्य नियमित सेवा प्रवाहमा गतिशीलता देखिएन । अब कसरी अघि बढ्नेबारे अर्थ मन्त्रालयको भने तुलनात्मक रूपमा सक्रियता देखिएको छ । बजेट महाशाखाभित्रको एउटा शाखा प्रभावित भए पनि मन्त्रालयको काम सञ्चालनमा आइसकेको प्रवक्ता टङ्कप्रसाद पाण्डेयले जानकारी दिए । उनका अनुसार अहिले अर्थ मन्त्रालयको उच्च व्यवस्थापन समूहको बैठक बस्ने तयारी भइरहेको छ । 'अब पुनर्निर्माण र आगामी निर्वाचनका लागि आवश्यक खर्च व्यवस्थापनमा बढी जोड गर्नुपर्छ भनेर आन्तरिक छलफल तथा तयारी सुरु भइसकेका छन् । यसका लागि अहिलेको बजेटमा के व्यवस्था गर्न सकिन्छ, सोको छलफल र विश्लेषण भइरहेको छ । राजस्व स्रोत व्यवस्थापन गर्ने र खर्च कटौतीबारे छलफल भइरहेको छ', पाण्डेयले भने । जेनजी प्रदर्शनका क्रममा देशभर भएको क्षतिको विवरण यकीन गर्ने र त्यसको लागत तयार पार्ने विषयमा राष्ट्रिय योजना आयोगले पनि आन्तरिक तयारी थालेको छ । आयोगका सहप्रवक्ता डा दिवाकर लुइँटेलका अनुसार आयोगले ‘पोस्ट डिजास्टर निड एसिसमेन्ट’ का लागि आन्तरिक छलफल थालेको हो । जलेर नष्ट भएका भग्नावशेषको अगाडि उभिएर हेरिरहेका भेटिए स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका कर्मचारी । भवन जलेपछि कामको अन्यौलतामा रहेका कर्मचारीहरू अहिले हातले हाजिरी गरिरहेका छन् । केही कर्मचारी क्षतिको विवरण सङ्कलनमा खटिएका थिए । पूर्ण रूपमा क्षति भएको स्वास्थ्य मन्त्रालयले नेपाल स्वास्थ्य अनुसन्धान परिषद्को नयाँ भवनबाट काम थाल्ने तयारी गरिरहेको स्वास्थ्य सचिव डा विकास देवकोटाले जानकारी दिए । यसरी मन्त्रालयका संरचना क्षतिग्रस्त, विद्युत् तथा इन्टरनेट जस्ता आधारभूत सुविधा विच्छेद र प्रष्ट निर्देशन नहुँदा नियमित काम अघि बढ्न सकेका छैनन् । उच्च तहबाट अबको नीति र त्यसको कार्यान्वयनका लागि स्पष्ट निर्देशन आउन ढिलाइ हुँदा कर्मचारीमा के काम गर्ने भन्ने अन्यौलता बढेको हो । सिंहदरबारभित्रको यो अवस्था केबल आगजनी र तोडफोडको क्षति मात्र होइन, समग्र प्रशासनिक संयन्त्रको कमजोर तयारी र सङ्कट व्यवस्थापन क्षमताको पनि सूचक हो । स्थायी सरकार मानिने प्रशासनिक संरचनामा देखिएको यस्तो अन्यौलतले सङ्कट व्यवस्थापन क्षमतामाथिसमेत प्रश्न उठाउँछ । क्षतिको पूर्ण मूल्याङ्कन र पुनर्निर्माण कति छिटो सम्भव हुन्छ ?, सामान्य नागरिकलाई प्रभाव पार्ने प्रशासनिक सेवा कति दिन ठप्प रहन्छ ?, आगामी निर्वाचनका लागि आवश्यक पूर्वाधार र बजेट समयमै जुट्छ ? लगायत प्रश्नको जवाफ अझै स्पष्ट छैन । राज्य सञ्चालनलाई पुनःगतिमा ल्याउन तत्काल उच्च तहको निर्णय, स्पष्ट प्राथमिकता र प्रभावकारी सङ्कट व्यवस्थापन रणनीति अपरिहार्य देखिन्छ । तर क्षतिग्रस्त कोठाहरूमा कुनै सुरक्षा व्यवस्था नहुँदा बाह्य व्यक्तिलेसमेत सजिलै प्रवेश गर्नसक्ने अवस्था देखिनु प्रशासनिक संवेदनशीलता र सुरक्षात्मक कमजोरीको सङ्केत हो । रासस

कुलमान भन्छन्- मन्त्री बन्ने चर्चा देखिरहेको छु, मलाई कुनै वास्ता छैन

काठमाडौं । अन्तरिम सरकारको प्रधानमन्त्री सुशीला कार्कीको मन्त्रिपरिषदमा विभिन्न व्यक्तिको नाम चर्चामा छ । जेनजी आन्दोलन पश्चात् प्रधानमन्त्री बनेकी कार्की मन्त्रिपरिषद गठनको तयारीमा छिन् । मन्त्रिपरिषद गठनको तयारीमा रहेका बेला सामाजिक अभियन्तादेखि विभिन्न क्षेत्रका विज्ञ व्यक्तिहरू मन्त्री बन्ने चर्चा चलिरहेको छ । प्रधानमन्त्री कार्कीको मन्त्रिपरिषदमा नेपाल विद्युत प्राधिकरणका पूर्व प्रबन्ध निर्देशक कुलमान घिसिङ पनि मन्त्री बन्ने चर्चा छ । लोडसेडिङ अन्त्य गरेर वाहवाही पाएका घिसिङ जनताले रुचाएका व्यक्ति पनि हुन् । त्यसैले उनलाई मन्त्री बनाउनुपर्ने माग एकथरीको छ । तर, घिसिङले भने आफूलाई मन्त्री बन्न कुनै प्रस्ताव नआएको बताए । मन्त्री बन्ने चर्चा सञ्चारमाध्यमबाट देखेको भएपनि आफूलाई वास्ता नभएको उनको भनाइ छ । ‘मन्त्री बन्ने चर्चा मिडियामा देखिरहेको छु । तर, मलाई कुनै प्रस्ताव पनि आएको छैन । मलाई वास्ता पनि छैन,’ उनले विकासन्युजसँग भने ।