चिनियाँ अर्थतन्त्रमा दबाब बढ्दैः खुद्रा बिक्री, लगानी र रोजगारी निराशाजनक
काठमाडौं । अगस्ट महिनामा चीनको अर्थतन्त्रको मन्दी अझै गहिरिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् । प्रमुख आर्थिक सूचकाङ्कहरूले अपेक्षाभन्दा कमजोर प्रदर्शन गरे । आन्तरिक माग सुस्त रह्यो र औद्योगिक क्षमता नाघ्ने अवस्थाविरुद्धको बेइजिङको अभियानले उत्पादन घटायो । राष्ट्रिय तथ्याङ्क ब्यूरोका अनुसार अगस्टमा खुद्रा बिक्री वार्षिक आधारमा ३.४ प्रतिशत बढ्यो, जुन रोयटर्स सर्वेक्षणमा विश्लेषकहरूले अनुमान गरेको ३.९ प्रतिशतभन्दा कम हो र जुलाईको ३.७ प्रतिशत वृद्धिदरभन्दा सुस्त छ । एलएसईजीका तथ्याङ्कअनुसार औद्योगिक उत्पादनको वृद्धिदर पनि जुलाईको ५.७ प्रतिशतबाट घटेर अगस्टमा ५.२ प्रतिशतमात्र भयो, जुन अगस्ट २०२४ पछि सबैभन्दा न्यून हो । अर्थशास्त्रीहरूले भने यो दर जुलाईकै जस्तै रहने अपेक्षा गरेका थिए । स्थिर सम्पत्ति लगानी (फिक्स एसेट इन्भेस्टमेन्ट) वर्षको सुरुदेखि अगस्टसम्म जम्मा ०.५ प्रतिशतमात्र बढ्यो, जुन जनवरीदेखि जुलाईसम्मको १.६ प्रतिशत वृद्धिदरभन्दा तीव्र सुस्त हो र अर्थशास्त्रीहरूको १.४ प्रतिशत वृद्धिको अपेक्षाभन्दा पनि तल हो । यस अवधिमा रियल इस्टेट लगानी १२.९ प्रतिशत घटेको छ । उत्पादन र युटिलिटी क्षेत्रमा (बिजुली, इन्धन र पानी आपूर्ति) लगानी क्रमशः ५.१ प्रतिशत र १८.८ प्रतिशत बढेको देखियो । कन्फरेन्स बोर्डको चीन सेन्टरका प्रमुख अर्थशास्त्री युहान झाङका अनुसार स्थिर सम्पत्ति लगानी प्रायः राज्य स्वामित्वका उद्यमहरूले धानेका छन्, जबकि निजी क्षेत्रको लगानी घटेको छ । उनले भने, ‘उत्पादन क्षेत्रमा लगानी ’सामान्य र असमान’ देखिएको छ, मुख्यतया पूर्वाधार, उच्च प्रविधि र औद्योगिक उन्नतिमा राज्यको नीतिगत लगानीका कारण । तर, रियल इस्टेट गतिविधि कमजोर नै छ ।’ अगस्टमा चीनको सर्वेक्षण–आधारित सहरी बेरोजगारी दर ५.३ प्रतिशत पुगेको छ, जुन जुलाईको ५.२ प्रतिशतभन्दा केही बढी हो । तथ्याङ्क ब्यूरोले यसलाई स्नातक सिजनका कारण भएको बतायो । ‘हामीलाई थाहा छ कि बाह्य वातावरणमा अझै धेरै अनिश्चितता र अस्थिरता छन्, र राष्ट्रिय अर्थतन्त्र बहुविध जोखिम र चुनौतीहरूको सामना गरिरहेको छ,’ तथ्याङ्क ब्यूरोले जारी गरेको विज्ञप्तिमा भनिएको छ । ‘हामीले पूर्ण रूपमा म्याक्रो नीतिहरू लागू गर्नुपर्छ, रोजगारी, व्यवसाय र बजारको विश्वास स्थिर राख्नमा ध्यान दिनुपर्छ, सुधार र खुलापन र नवप्रवर्तनलाई गहिरो बनाउनुपर्छ, जसले स्थिर र स्वस्थ आर्थिक विकासलाई प्रोत्साहन दिनेछ ।’ अगस्टमा मोटर गाडी बाहेक खुद्रा बिक्री वार्षिक आधारमा ३.७ प्रतिशत बढ्यो । ग्रामीण क्षेत्रमा खपत वृद्धि सहरी क्षेत्रमा भन्दा छिटो रह्यो, ग्रामीण खपत वार्षिक ४.६ प्रतिशत बढेको देखियो । वक्तव्यपछि पत्रकार सम्मेलनमा एनबीएसका प्रवक्ता फु लिङहुईले उपभोक्ता मुद्रास्फीति टर्निङ पोइन्टमा पुगेको हो कि होइन भन्न गाह्रो रहेको बताए । तर उनले उपभोक्ता मूल्यहरू अस्थिर रहने अपेक्षा गरे । अगस्टमा चीनको उपभोक्ता मूल्य सूचकाङ्क वार्षिक ०.४ प्रतिशत घट्यो, जुन अपेक्षाभन्दा बढी हो र उत्पादक मूल्यहरूमा डिफ्लेशन लगातार तेस्रो वर्ष कायम रह्यो। फुले आयातजन्य मुद्रास्फीतिबारे अनिश्चितता रहेको स्वीकार गरे – जहाँ आयातित वस्तुहरूको मूल्य युआन कमजोर हुनु, विश्वव्यापी वस्तु मूल्य बढ्नु वा बढी भन्सार दरका कारण बढ्न सक्छ । उनले ‘एन्टी–इनभोलुसन’ नीतिहरूको उल्लेख गरे जसले अनावश्यक प्रतिस्पर्धा र मूल्य युद्धलाई नियन्त्रण गर्ने प्रयास गर्छ र यसले अन्ततः उपभोक्ता मूल्यहरूमा असर गर्नेछ । सबैभन्दा बढी वृद्धि भएका वस्तुहरूमा सुन, चाँदी र गहनाका बिक्री १६.८ प्रतिशत बढे, खेलकुद तथा मनोरञ्जन सामग्रीको बिक्री १६.९ प्रतिशत र फर्निचरको बिक्री १८.६ प्रतिशत बढ्यो । सबैभन्दा कमजोर खपत पेट्रोलियम, र तमाखु तथा मदिरा सम्बन्धी उत्पादनहरूमा देखियो । सेवा खपत भने बढ्दो छ, विशेष गरी यात्रा, मनोरञ्जन र यातायातमा जसले खपत बिस्तारै सेवातर्फ सर्ने संकेत गर्छ। गोल्डम्यान साक्सका चीन अर्थशास्त्री लिसेङ वाङका अनुसार खुद्रा बिक्रीमा मन्दी मुख्यतया घरेलु उपकरण र इलेक्ट्रोनिक्सको कमजोर मागका कारण हो किनकि बेइजिङको उपभोक्ता वस्तु एक्सचेन्ज अनुदानको प्रभाव मन्द हुँदै गएको छ । वाङले भने, ‘सेप्टेम्बरदेखि खपत वृद्धि अझै सुस्त हुने अपेक्षा गरिएको छ र लक्षित तथा क्रमिक सहजता आवश्यक रहनेछ ।’ चीनको सीएसआई ३०० सूचकाङ्क तथ्याङ्क सार्वजनिक भएपछि करिब १ प्रतिशत बढ्यो। पिनपोइन्ट एसेट म्यानेजमेन्टका अध्यक्ष तथा प्रमुख अर्थशास्त्री झीवेई झाङले भने, ‘यो मन्दी बजारका लागि आश्चर्यजनक होइन ।’ किनकि लगानीकर्ताहरूले तेस्रो त्रैमासिकमा वृद्धि सुस्त हुने अपेक्षा पहिले नै गरेका थिए । ‘बेइजिङले ५ प्रतिशत वृद्धि लक्ष्य छुट्ने खतरा देखे मात्र ठूलो प्रोत्साहन प्याकेज ल्याउने सम्भावना छ, अन्यथा हालको राजस्व नीति सानो स्तरमा मात्र सहयोगी हुनेछ,’उनले थपे । गोह चेंग लियाङको निर्णयले विश्व चकित, ६ नाति–नातिनी एकै रातमा अर्बपति
मेरो घर जलाइयो, सम्पत्ति खरानी बनाइयो तर हाम्रो यात्रा रोकिने छैन : गोकर्ण विष्ट
काठमाडौं । नेकपा (एमाले) सचिव गोकर्ण विष्टले हालै भएको घटनापछि आफ्नो भावनात्मक विचार सार्वजनिक गरेका छन् । निजी निवासमा आगजनी र सार्वजनिक सम्पत्ति ध्वस्त भएपछि उनले एक विज्ञप्ति जारी गर्दै प्रतिक्रिया दिएका हुन् । विष्टले भनेका छन्, 'यतिबेला हामी विगतको समीक्षा गर्दै आगामी यात्रा तय गर्ने र घटनाका पीडितलाई सहयोग तथा ध्वस्त संरचनाको पुनर्निर्माणमा जोड दिने घडीमा छौं । यतिबेला मैले शोषण, दमन, अन्याय, अत्याचार र विभेदको अन्त्य गर्दै गरिबीबाट जनतालाई मुक्त गर्ने र सशक्त राष्ट्रको रूपमा नेपाललाई माथि उठाउने उद्देश्यका साथ निर्माण भएको हाम्रो पार्टीको यात्रासँगै आफ्नै राजनीतिक यात्रा पनि सम्झिरहेको छु ।' जीवनभर सामाजिक काममै समर्पित रहेको उल्लेख गर्दै उनले भनेका छन्, 'जे सकेँ, देश र जनताकै लागि सोचेँ र हरसम्भव प्रयास गरेँ । तर यतिबेला मेरो घर पनि जलाइएको छ। सयौं व्यक्तिको निजी सम्पत्ति र सार्वजनिक सम्पत्ति नष्ट गरिएको छ । देशका ऐतिहासिक र महत्वपूर्ण दस्तावेज खरानी बनाइएको छ । यो कसले र किन गर्यो ? छिट्टै समयले बाहिर ल्याउने नै छ ।' विष्टले आफू इमानदार र मेहनती रहेको दाबी गर्दै थपेका छन्, 'म मेहनत र इमानदारीतामा विश्वास गर्दछु । मेरो राजनीतिक र सामाजिक यात्राको सन्दर्भमा समाजमा उठ्ने जुनसुकै प्रश्नको कसिमासमेत उभिन तयार छु ।' अचानकका घटनाले निराशा ल्याउन खोजे पनि विष्टले पार्टी र कार्यकर्तालाई दृढ सन्देश दिएका छन् । उनले भने, 'कमरेडहरू, अचानकका घटनाले सबैकुरा सकिए जस्तो र आगामी यात्रा पनि रोकिए जस्तो लाग्न सक्छ। तर हाम्रो यात्रा रोकिने छैन । इतिहासका अनेक प्रतिकूलतामा हाम्रो पार्टी नेकपा (एमाले) अझ बलियो भएर उठ्ने छ । यस पटक पनि हामी पार्टीलाई नयाँ जीवन दिनेछौं र अझ बलियो भएर उठ्नेछौं ।' उनको भनाइमा अहिलेको चुनौतीबाट पार्टीलाई पुनः एकजुट बनाउन, जनभावना अनुसार सच्चिन र नयाँ ऊर्जा सिर्जना गर्न जोड दिइएको छ । विष्टले भने, 'एकता, सामूहिकता, आत्मविश्वास र नयाँ ऊर्जा नै हाम्रो शक्ति हो। समयको माग र जनभावना अनुसार सच्चिनेछौं । थप बलियो भएर उठ्नेछौं ।'
संसद् सचिवालयद्वारा प्रदर्शन क्रममा घर लगिएका सामान फिर्ता गर्न आग्रह
काठमाडौं । सङ्घीय संसद् सचिवालय यही भदौ २४ गते भएको जेनजी प्रदर्शनका क्रममा संसद् भवनबाट लगिएको सामान फिर्ता गर्न अनुरोध गरेको छ । सङ्घीय संसद् सचिवालय (आन्तरिक सेवा तथा योजना शाखा) ले आइतबार सूचना जारी गरी सङ्घीय संसद् सचिवालयको स्वामित्वमा रहेका टेबल, कुर्सी, कम्प्युटर, प्रिन्टर, स्क्यानर, क्यामेर, टेलिभिजन, मोनिटर, माइक, मिक्स्चर, स्पिकर, फोटोकपी मेसिन, विद्युतीय उपकरणलगायतका सामान अनधिकृत व्यक्तिले लगेको भन्ने बुझिएको उल्लेख गर्दै ती सामान फिर्ता गर्न आग्रह गरेको हो । सचिवालयले भनेको छ, 'उल्लिखित मालसामान लगेको भिडिओ भएमा उपलब्ध गराई सहयोग गरिदिनुहुन हार्दिक आह्वान गरिन्छ, भिडिओ/सूचना दिने व्यक्तिको परिचय गोप्य राखिने छ ।'
ओली निवास बालकोटमा जले २० लाखका पुस्तक
काठमाडौं । तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको निजी निवास बालकोटमा भएको आगजनीमा करिब २० लाख रुपैयाँ बराबरका पुस्तक जलेर नष्ट भएका छन् । लामो समयदेखि ओलीको सचिवालयमा कार्यरत एक सहयोगीका अनुसार आगलागी अतिथि भवनतर्फ फैलिँदा त्यहाँ रहेको सम्पूर्ण पुस्तकालय ध्वस्त भएको हो । 'अत्यन्तै दुर्लभ पुस्तकहरूसमेत जलेर खरानी भएका छन्,' ती सहयोगीले विकास न्यूजसँग भने । उनका अनुसार पुस्तकालयमा विभिन्न मित्रहरूले उपहार दिएका तथा ओलीले आफैं किनेका संग्रहसमेत रहेका थिए । जलेर नष्ट भएका पुस्तकको मूल्य २० लाख रुपैयाँभन्दा धेरै मूल्यका पुस्तकहरू थिए । भवनसँगै जलेका ती पुस्तक अहिले खरानीको थुप्रोमा परिणत भएका छन् ।
जनजीवन सामान्य बनेसँगै बजारमा चहलपहल बढ्दै
काठमाडौं । अन्तरिम सरकार गठनसँगै काठमाडौं उपत्यकाको जनजीवन सामान्य बनेको छ । काठमाडौं उपत्यकाका विभिन्न स्थानमा आम नागरिकहरू आवश्यक सामान किन्न, कार्यालय जान शुरु गरेका छन् । अन्तरिम सरकारको प्रधानमन्त्री सुशीला कार्की बनेकी छ । मन्त्रीपरिषद् विस्तार हुन अझै सकेको छ । सोमबार मन्त्रीपरिषद् विस्तार गर्ने तयारी छ । सोमवार अर्थमन्त्रीमा रामेश्वर खनाल, उर्जामन्त्रीमा कुलमान घिसिङ र गृहमन्त्रीमा ओमप्रकाश अर्यालको शपथ ग्रहण हुने बताइएको छ । यद्यपि जेनजी समूहका अगुवा सुदन गुरुङ समूहले प्रधानमन्त्री सुशीला कार्कीले जेनजीसँग वार्ता नै नगरी मन्त्रीपरिषद् विस्तार गरेको भन्दै प्रधानमन्त्री कार्कीको राजीनामा माग गर्दै आइतबार राति बालुवाटारमा प्रदर्शन गरेका थिए । जेनजी समूहले सरकारले आफूहरूका माग पूरा नगरे पुनः सरकार ढाल्ने र सडकमा आन्दोलन जारी राख्ने चेतावनी दिएका छन् । यद्यपि चाडवाडको समय रहेकाले उपत्यकामा चहल पहल बढेको छ । अब गाउँ फर्किने चटारो पनि शुरु भएको छ । जसकारण पनि सामानहरु किन्न आम नागरिकहरुको उपस्थिति बजारमा उल्लेख्य छ ।
कार्की क्याविनेटमा रामेश्वर, ओमप्रकाश र कुलमानको इन्ट्री, १३ सदस्यीय मन्त्रिमण्डल बनाउने तयारी
काठमाडौं । अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्की नेतृत्वको सरकारमा सहभागी भएका मन्त्रीहरूको शपथग्रहण सोमबार हुने भएको छ । सोमबार शपथ लिने तीन मन्त्रीलाई राष्ट्रपति रामचन्द्र पौडेलले शपथ गराउने कार्यक्रम तय भएको छ । अर्थमन्त्री रामेश्वर खनाल, गृहमन्त्री ओमप्रकाश अर्याल र ऊर्जामन्त्री कुलमान घिसिङलाई राष्ट्रपति पौडेलले शपथ गराउन लागेका हुन् । नवनियुक्त मन्त्रीहरूको शपथग्रहण समारोह आज बिहान ११ बजे हुने राष्ट्रपति कार्यालयका प्रवक्ता प्रदीप कोइरालाले बताएका छन् । अन्य मन्त्रीहरूको भने अझै टुंगो लागेको छैन भन्ने जानकारी प्रधानमन्त्री कार्की निकट स्रोतले दिएको छ । 'नवनियुक्त प्रधानमन्त्री कार्कीले विज्ञहरूलाई आफ्नो क्याबिनेटमा समेट्न चाहेकी छन् । तर कार्कीले चाहेजस्ता धेरै विज्ञहरूले मन्त्री बन्न रुचि देखाएका छैनन्,' स्रोतले भने । संघीय मामिला तथा सामान्य प्रशासन, स्वास्थ्य, शिक्षा, शहरी विकास तथा पूर्वाधार मन्त्रालयमा विषयविज्ञलाई नियुक्त गर्ने प्रधानमन्त्रीको चाहना रहेको छ । यस्तै अन्य मन्त्रालयमा पनि राजनीतिक दलमा नरहेका र दाग नलागेका व्यक्तिहरूलाई प्रधानमन्त्रीले खोजिरहेकी एक नवनियुक्त मन्त्रीले जानकारी दिएका छन् । स्राेतका अनुसार, कार्की क्याबिनेटलाई ९ देखि १३ सदस्यीय बनाउने तयारी भइरहेको छ ।
जेनजी आन्दोलनका शहीद धिरजका परिवारलाई भेट्दै पौडेलले भने - शहीदको बलिदान खेर जान दिने छैन
काठमाडौं । नेपाली कांग्रेसका नेता प्रदीप पौडेलले जेनजी आन्दोलनका क्रममा शहादत प्राप्त गरेका धिरज श्रेष्ठका परिवारलाई भेटेका छन् । आन्दोलनका क्रममा ज्यान गुमाएका श्रेष्ठका परिवार निवासमा पुगेका नेता पौडेलले परिवारलाई समवेदना प्रकट गर्दै घटनाप्रति दुःख प्रकट गरे । उनले आफूले जेन जी आन्दोलनका माग पूरा गराउन सरकारमा रहँदा प्रयत्न गरेको भए पनि सफल नभए पछि राजीनामा दिएको बताए । नेता पौडेलले दुःखद् घटनाको निष्पक्ष छानविनका पक्षमा आफू रहेको भन्दै भ्रष्टाचारविरुद्ध सुशासनका पक्षमा धिरजजस्ता जेनजी युवाहरुले पाएको सहादतको मूल्यांकन हुने बताए । ‘धिरजबाबु र उनीजस्ता शहीदहरुको बलिदान खेर जान दिने छैन,’ उनले भने ।
पर्सामा क्षतिको आँकलन गरिँदै, नेपाल टेलिकमको तीन करोड बराबरको नोक्सानी
काठमाडौं । गतहप्ताको आन्दोलनबाट वीरगन्जको घण्टाघरस्थित नेपाल टेलिकम वीरगन्जको कार्यालयमा तोडफोड र आगजनीबाट तीन करोड बराबरको क्षति भएको छ । यही भदौ २४ गतेको आन्दोलनको भीडको सबैभन्दा पहिलो निशानामा टेलिकम परेको थियो। नेपाल टेलिकम वीरगन्जका प्रमुख पङ्कज साहले अराजक समूहको भीडले टेलिकमको कम्प्युटर, प्रिन्टर्सलगायतका अन्य महत्त्वपूर्ण उपकरणमा करिब तीन करोड मूल्य बराबरको सामानको क्षति भएको जानकारी दिए । ‘प्रदर्शनकारीले घण्टाघरस्थित दुवै टेलिकमका कार्यालयमा आगजनी गरेका छन्,’ उनले भने, ‘आगजनीबाट महसुल काउन्टरमा धेरै क्षति भएको छ।’ पर्साका प्रमुख जिल्ला अधिकारी तोयनारायण सुवेदीले सरकारी कार्यालयमा भएको तोडफोड र क्षतिको पारदर्शी ढङ्गले मुचुल्का तयार पार्नका लागि निर्देशन दिएको छ । ‘जेनजी समूहको आन्दोलनको क्रममा यहाँका विभिन्न सरकारी कार्यालयका भवन तथा सवारीसाधनमा अपूरणीय क्षति भएका छन्,’उनले भने, ‘कार्यालयमा भएका क्षतिको मुचुल्का वा विवरण तयार पर्दा पारदर्शीता र यथार्थपरक बनाउनको लागि निर्देश गरेको छु । मुचुल्का तयार पर्दा श्रव्य दृश्य र अन्य व्यवस्थित खालको तयार पार्न आग्रह गरेको छु ।’ यहाँको वीरगन्ज महानगर, आन्तरिक राजस्व कार्यालय लगायतमा धेरै क्षति भएको छ । रासस