एमालेमा सचिवालय बैठकको तयारी, अध्यक्ष ओली वन टु वन भेटघाटमा व्यस्त
काठमाडौं । नेकपा एमालेले सचिवालय बैठकको तयारी सुरु गरेको छ । पार्टी अध्यक्ष तथा निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओली सार्वजनिक भएसँगै सचिवालय बैठकको तयारी सुरु भएको एक पदाधिकारीले जानकारी दिए । सचिवालय बैठकको तयारीस्वरूप अध्यक्ष ओलीले पदाधिकारीहरूसँग गहन संवाद सुरु गरेका छन् । उपमहासचिव प्रदीप ज्ञवालीसँग अनौपचारिक रूपमा लामो संवाद गरेका ओलीले पार्टीका अन्य पदाधिकारीहरूसँग पनि संवाद सुरु गरेका छन् । पार्टीका एकजना पदाधिकारीले दिएको जानकारीअनुसार अध्यक्ष ओली सकेसम्म दशैं अगाडि नै सचिवालय बैठक राख्ने सोचमा रहेका छन् । ‘पछिल्लो वस्तुस्थितिबारे पार्टीको धारणा सार्वजनिक गर्न ढिलो भएको भन्ने बुझाइ अध्यक्षज्यूको छ,’ ती पदाधिकारीले भने । अध्यक्ष ओलीले उपमहासचिव ज्ञवालीसँगको लामो परामर्शपछि महासचिव शंकर पोखरेललाई गुण्डुस्थित निवासमा बोलाएका थिए । पछिल्लो समय ओलीले उपमहासचिव ज्ञवालीलाई अलि बढी विश्वास गर्न थालेको बताइएको छ । निर्वतमान प्रधानमन्त्री ओलीले महासचिव पोखरेलसहित वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल र सचिव पद्या अर्याललाई पनि निवासमा बोलाएर संवाद गरेको ती नेताले जानकारी दिए । ओलीले उपाध्यक्ष विष्णु पौडेल र उपमहासचिव पृथ्वीसुब्बा गुरुङलाई पनि निवासमा बोलाएर कुराकानी गरिसकेका छन् । सचिवालयमै अल्पमतमा पर्न सक्ने सम्भावना भएपछि ओलीले सबै पदाधिकारीलाई एक्लाएक्लै भेट्ने रणनीति अख्तियार गरेका हुन् । एमालेका ती पदाधिकारीका अनुसार असोज १२ गतेलाई सचिवालय बैठक आयोजना गर्ने तयारी भइरहेको छ । यदि उक्त दिन बैठक आयोजना गर्न नसकिए दशैं अगाडि बैठक बस्ने सम्भावना अत्यन्त न्यून रहेको उनले जानकारी दिए । भदौ १९ मा पछिल्लो पटक एमालेको सचिवालय बैठक बसेको थियो । भदौ २० देखि २२ सम्म भएको दोस्रो विधान महाधिवेशन पछि एमाले कुनै पनि सार्वजनिक फोरममा संस्थागत रूपमा देखिएको छैन । एमालेमा पार्टी पुनर्गठनको आवाज उठिरहेको बेलामा हुन लागेको सचिवालय बैठकको बेग्लै महत्त्व रहेको राजनीतिक वृत्तमा चर्चा चल्ने गरेको छ । वरिष्ठ उपाध्यक्ष पोखरेलसहित उपाध्यक्षहरू अष्टलक्ष्मी शाक्य, युवराज ज्ञवाली, सुरेन्द्र पाण्डे, सचिवद्वय गोकर्ण विष्ट र योगेश भट्टराईले पार्टी पुनर्गठनको आवाज उठाइरहेका छन्। उपाध्यक्ष गुरु बराल, महासचिव पोखरेल, उपमहासचिव ज्ञवाली, अर्का उपमहासचिव विष्णु रिमाल र सचिव पद्या अर्याल तत्काल पार्टी पुनर्गठन गर्न नहुने पक्षमा छन् । उपाध्यक्ष विष्णु पौडेल र उपमहासचिव गुरुङ पर्ख र हेरको अवस्थामा रहेका छन् । उपाध्यक्ष पौडेल र उपमहासचिव गुरुङ पछिल्लो समय निर्णायक देखिन्छन् । उपाध्यक्ष रामबहादुर थापा निस्क्रिय छन् । सचिव टोपबहादुर रायमाझी निलम्वनको अवस्थामा रहेका छन् । सचिव छविलाल विश्वकर्माले पौडेलको विचार पर्खेर बसेका छन् भने अर्का सचिव रघुवीर महासेठ अहिलेसम्म खुलेका छैनन् ।
सबैले चुनावमा भाग लिन सक्ने वातावरण बनाउन सरकार प्रतिबद्ध : सञ्चारमन्त्री खरेल
काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले आगामी फागुन २१ गते हुने निर्वाचनमा सबैले स्वतन्त्र रूपमा भाग लिन सक्ने वातावरण बनाउन सरकार गम्भीर रहेको बताएका छन् । मंगलबार हेम–सुनिल जोखिमपूर्ण पत्रकारिता पुरस्कार वितरण कार्यक्रममा बोल्दै मन्त्री खरेलले निर्वाचनलाई शान्तिपूर्ण, निष्पक्ष र धाँधलीरहित ढंगले सम्पन्न गराउनु सरकारको मुख्य दायित्व भएको बताए । उनले निर्वाचन आयोगलाई आवश्यक सबै सहयोग र व्यवस्था मिलाउन ढिलाइ नगर्ने आश्वासनसमेत दिए । उनले भने, 'फागुन २१ गते शान्तिपूर्ण, स्वतन्त्र र धाँधलीरहित चुनाव गराउनका लागि वातावरण तयार गर्ने सरकारको जिम्मेवारी हो । सबैलाई चुनावमा सहभागी हुन सक्ने अवसर दिलाउन सरकार अर्जुनदृष्टिले लागिरहेको छ ।' मन्त्री खरेलले जेनजी आन्दोलनका क्रममा भएको सार्वजनिक तथा निजी सम्पत्तिको क्षतिको यथार्थ पत्ता लगाई छानबिन गर्ने र दोषीमाथि कारबाही अघि बढाउने सरकारको प्राथमिकता रहेको स्पष्ट पारे । साथै, उनले आन्दोलनले उठाएको सुशासन, भ्रष्टाचार नियन्त्रण र चुस्तदुरुस्त सार्वजनिक सेवा प्रवाहका मागलाई सम्बोधन गर्दै सरकारले जनताले महशुस गर्ने गरी काम अघि बढाउने बताए । सार्वजनिक सेवामा सुधार ल्याउन र भ्रष्टाचार नियन्त्रणमा प्रभावकारी कदम चाल्न सरकार प्रतिबद्ध रहेको मन्त्री खरेलको भनाइ छ ।
युनिलिभर नेपालको लाभांश घोषणा, प्रतिसेयर १८४२ रुपैयाँ बाँड्ने
काठमाडौं । युनिलिभर नेपालले लाभांश घोषणा गरेको छ । कम्पनीको मंगलबार बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्ष २०८१/८२ सम्मको नाफाबाट प्रतिसेयर १८४२ रुपैयाँ नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । कम्पनीले प्रस्ताव गरेको उक्त लाभांश आगामी वार्षिक साधारण सभाबाट पारित भएपछि सेयरधनीहरुलाई वितरण गरिनेछ । कम्पनीले लाभांश प्रस्ताव पारित गर्न कात्तिक २५ गते ३२औँ वार्षिक साधारण सभा डाकेको कम्पनी सचिव गोविन्द बहादुर शाहीले जानकारी दिए । साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ कम्पनीले कात्तिक ११ गतेदेखि कात्तिक २५ गतेसम्म बुक क्लोज गर्ने निर्णय गरेको छ । बुक क्लोज मितिभन्दा अघिल्लो दिनसम्म कारोबार भइ कायम सेयरधनीहरुले कम्पनीको साधारण सभामा सहभागिता जनाई लाभांश प्राप्त गर्न सक्नेछन् ।
कात्तिक २ देखि काठमाडौं–कोलकाता सिधा उडान भर्दै बुद्ध एयर
काठमाडौं । निजी क्षेत्रको अग्रणी वायुसेवा प्रदायक कम्पनी बुद्ध एयरले अन्तर्राष्ट्रिय तर्फको दोस्रो उडान भारतको पश्चिम बंगालको राजधानी कोलकातामा १९ अक्टोबर (कात्तिक २) बाट पुनः सुरु गर्ने भएको छ । यसअघि बुद्ध एयरले विसं २०७६ को बैशाख २ बाट कोलकाता उडान भरेको थियो । पछि कोभिड महामारीका कारण मंसिर १६ बाट उडान तत्कालको लागि स्थगन गरेको थियो । सुरुमा साताको तीन दिन आइतबार, मंगलबार र बिहीबार उडान सञ्चालन गर्न लागेको कम्पनीले जानकारी दिएको छ । कम्पनीका अनुसार काठमाडौंबाट बिहान ७ बजे र कोलकाताबाट स्थानीय समय ९ः२० बजे उडान हुनेछ । कोलकाता उडान एटीआर–७२ जहाजबाट गर्नेछ । यस रुटको उडान अवधि लगभग एक घण्टा ३५ मिनेटको हुनेछ । यात्रुको समय र पैसाको बचत होस् हेतुले बुद्ध एयरले नेपालबाट भारतका विभिन्न धार्मिक तथा सांस्कृतिक स्थलहरू भ्रमणको लागि आउटबाउन्ड तथा भारतबाट नेपालका विभिन्न स्थानहरूको भ्रमणको लागि इनबाउन्ड होलिडे प्याकेजहरू पनि सञ्चालन गरिरहेको छ । नेपाली यात्रुहरूलाई कोलकाता उडानसँगै जग्गन्नाथपुरी दर्शन, सुन्दरवन, गंगासागरलगायतका भ्रमण प्याकेज सञ्चालनमा आउने छन् । यी प्याकेजहरू बुद्ध एयरको भगिनी संस्था बुद्ध होलिडेजले सञ्चालन गरिरहेको हो । व्यापार, कामकाज वा पारिवारिक भ्रमण जेसुकै भएपनि कोलकाता उडानमार्फत् भारतको पर्यटन बजारलाई नेपाल भित्र्याउने लक्ष्य बुद्ध एयरले लिएको छ । उडान तथा होलिडे प्याकेजमार्फत् भारतीय धार्मिक तथा पर्यटकीय यात्रुलाई नेपाल भित्र्याई पर्यटन प्रवर्द्धनमा टेवा पुर्याउने विश्वास बुद्ध एयरको रहेको छ । बुद्ध एयरले देशका विभिन्न भागमा दिनहुँ ६ दर्जनभन्दा बढी उडान भरिरहेको छ । अन्तर्राष्ट्रियतर्फ बुद्ध एयर भारतको वाराणसीमा साताको सोमबार, बुधबार र शुक्रबार उडान भरिरहेको छ । कोलकाता–काठमाण्डौको सिधा हवाई सेवा सञ्चालन गर्ने बुद्ध एयर एकमात्र नेपाली विमान सेवा कम्पनी हो । अहिले यो रुटमा हवाई उडान गर्नेमा पनि बुद्ध एयर एक मात्र हुने कम्पनीले जानकारी दिएको छ ।
निजी केबलकार पनि अब सरकारको राष्ट्रिय प्राथमिकता प्राप्त आयोजना
काठमाडौं । सरकारले निजी क्षेत्रबाट सञ्चालन हुने केबलकार आयोजनालाई राष्ट्रिय प्राथमिकता प्राप्त आयोजनामा निर्धारण गरेको छ । आइतबार बसेको बैठकले मन्त्रिपरिषदको बैठकले यस्तो निर्णय गरेको हो । राजपत्रमा प्रकाशित सूचना अनुसार सरकारले औद्योगिक ग्राम, औद्योगिक क्षेत्र, विशेष आर्थिक क्षेत्र, सुक्खा बन्दरगाह, पेट्रोलियम पाइपलाइन तथा निजी क्षेत्रबाट सञ्चालन हुने केबलकार आयोजनाहरूलाई राष्ट्रिय प्राथमिकता प्राप्त आयोजना निर्धारण गरेको हो । निजी क्षेत्रबाट सञ्चालन हुने केबलकार आयोजनामा पाल्पाको सत्यवती दर्शन प्रालि, इलामको सानो पाथीभरा केबलकार प्रालि, कास्कीको सिक्लेश अन्नपूर्ण केबलकार प्रालि, मौलाकालीको ड्रिम्स हिल्स प्रालि, अर्घाखाँचीको सुपा देउराली केबलकार प्रालि र सिन्धुपाल्चोकको सूर्य कुण्ड गोसाइँकुण्ड केबलकार प्रालि रहेका छन् । यसैगरी, औद्योगिक ग्राम अन्तर्गत सुनसरीको बराहक्षेत्र औद्योगिक ग्राम र डोटीको जोरायल औद्योगिक ग्राम रहेका छन् । औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेड अन्तर्गतको आयोजनामा झापाको दमक औद्योगिक क्षेत्र, मकवानपुरको मयुरधाप औद्योगिक क्षेत्र, चितवनको शक्तिखोर औद्योगिक क्षेत्र, दाङको लक्ष्मीपुर औद्योगिक क्षेत्र, रुपन्देहीको मोतिपुर औद्योगिक क्षेत्र, बाँकेको नौवस्ता औद्योगिक क्षेत्र र कञ्चनपुरको दैजी औद्योगिक क्षेत्र रहेका छन् । त्यस्तै, सरकारले विशेष आर्थिक क्षेत्र प्राधिकरण अन्तर्गत दुई क्षेत्र तोकेको छ । काभ्रेको पाँचखाल विशेष आर्थिक क्षेत्र र कैलालीको हरैया विशेष आर्थिक क्षेत्र विशेष आर्थिक क्षेत्र प्राधिकरण अन्तर्गत रहेका छन् । नेपाल इन्टरमोडल यातायात विकास समिति अन्तर्गतको आयोजनामा कञ्चनपुरको दोधारा चाँदनी सुक्खा बन्दरगाह र एकीकृत जाँच चौकी रहेका छन् । त्यस्तै, नेपाल आयल निगम अन्तर्गतका आयोजनामा भारतको सिलिगुडीदेखि झापाको चारआलीसम्म पेट्रोलियम पाइपलाइन तथा ग्रिन फिल्ड टर्मिनल निर्माण आयोजना, अमलेखगन्ज देखि चितवनको लोथर सम्म पेट्रोलियम पाइप लाइन विस्तार तथा ग्रिन फिल्ड टर्मिनल निर्माण आयोजना रहेका छन् । हेनूहोस् सूचना :
विद्युत प्राधिकरणका नवनियुक्त प्रमुख मनोज सिलवालले गरे पदभार ग्रहण
काठमाडौं । नेपाल विद्युत प्राधिकरणका नवनियुक्त कार्यकारी निर्दशक मनोज सिलवालले पदभार ग्रहण गरेका छन् । सिलवालले मंगलबार रत्नपार्कस्थित प्राधिकरणका मुख्यालमा पुगेर पदभार ग्रहण गरेका हुन् । आइतबार बसेको मन्त्रिपरिषदको बैठकले प्राधिकरणबाट हितेन्द्रदेव शाक्यलाई हटाएर सिलवाललाई नियुक्त गरेको थियो ।
संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री खनालद्वारा पदभार ग्रहण
काठमाडौं । अर्थमन्त्री एवं संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री रामेश्वर खनालले पदभार ग्रहण गरेका छन् । मंगलबार सिंहदरबारस्थित मन्त्रालयमा उनले संघीय मामिला मन्त्रालयको पदभार ग्रहण गरेका हुन् । सोमबार मन्त्रीपरिषद् विस्तारका क्रममा प्रधानमन्त्री सुशीला कार्कीले मन्त्रीमण्डलमा हेरफेर समेत गरेका थिए । अर्थमन्त्री खनाललाई संघीय मामिला मन्त्रालयको पनि जिम्मेवारी दिएका थिए । जसअनुसार मंगलवार मन्त्री खनालले मन्त्रालयको पदभार ग्रहण गरेका हुन् । जेनजी पुस्ताको आन्दोलनसँगै बनेको सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारमा ७ सदस्यीय मन्त्रीपरिषद् विस्तार भएको छ ।
सुनकोशी मरिण र भेरी बबईको ठेक्का तोडिने
काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र सहरी विकासमन्त्री कुलमान घिसिङले राष्ट्रिय गौरवका सुनकोशी मरिण र भेरी बबई बहुउद्देश्यीय आयोजनाको ठेक्का यथास्थितिमा राख्न नसकिने बताएका छन् । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयमा मङ्गलबार मन्त्रालयका सचिव, सिँचाइ विभागका महानिर्देशक, दुवै आयोजनाका प्रमुख, परामर्शदाता र निर्माण व्यवसायीसँग मन्त्री घिसिङले छललफल गरी आयोजनाका ठेक्का तोडेर नयाँ सिराबाट अगाडि बढ्नुको विकल्प नभएको बताए । दुवै आयोजनाको निर्माणमा देखिएको अस्वाभाविक ढिलाइ भएपछि मन्त्री घिसिङले निर्माणमा संलग्न सबै पक्षसँग छलफल गरेका थिए । तराई क्षेत्रमा सिँचाइ पुर्याएर कृषिको उत्पादकत्व वृद्धि गरी मुलुकको अर्थतन्त्रमा योगदान पुर्याउने आयोजनाहरुको निर्माणमा भइरहेको अस्वाभाविक ढिलाइले आयोजनाबाट प्राप्त हुने प्रतिफल गुमिरहेको उल्लेख गर्दै उनले सम्बन्धित सबै पक्षलाई गम्भीर हुन आग्रह गरे । ‘एक पक्षले अर्को पक्षलाई दोष देखाएर बसेको देखिन्छ, निर्माण व्यवसायी छिद्र खोज्दै बस्ने आयोजना त्यस्तो वातावरण दिइराख्ने यस्तो अवस्थामा निर्माण कसरी अगाडि बढ्छ ? राज्यको अर्बौं रुपैयाँ लगानी भइसकेको छ । आयोजना सुरु गर्दा गरिएको वित्तीय विश्लेषण कहाँ पुग्यो, प्रतिफलको अवस्था के भयो ?,’ उनले चेतावनी दिँदै भने । ‘दुवै आयोजनाका सुरुङ निर्माण सम्पन्न भइसकेका छन्, तर बाँध, विद्युतगृहलगायतका संरचना बनाउन नसक्दा आयोजना अलपत्र परेका परेका छन्, तराई/मधेमा सिँचाइका लागि पानीको हाहाकार छ तसर्थ यो स्थितिमा आयोजना चल्न सक्दैनन्, निर्माण व्यवसायी सक्रिय भएको भए काम सकिन्थ्यो, काम गर्ने नियतमा देखिंदैन तसर्थ म्याद थप गर्नुको औचित्य छैन, सबै ठेक्का तोडी अगाडि बढौं,’मन्त्री घिसिङले थपे । भेरी बबईको सुरुङ २०७७ भदौमा निर्माण सम्पन्न भएको थियो । बाँध तथा विद्युत्गृह निर्माणका लागि २०७६ साउनमा गङ्दोङ युतियान—रमण जेभीसँगठेक्का सम्झौता भएको थियो । आयोजनाको भौतिक प्रगति ५७ प्रतिशत छ । सुनकोशी मरिण बाँध, विद्युतगृहलगायतका संरचना निर्माणको प्रगति १० प्रतिशत रहेको छ । ठेक्का समयावधि करिब ६० प्रतिशत बितिसकेको छ । यस आयोजनाको निर्माण व्यवसायी पटेल—रमण जेभी हो ।