विकासन्युज

सानिमा रिलायन्स लाईफको कर्मचारी क्षमता विकासका लागि दुई दिने तालिम सम्पन्न

काठमाडौं । सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स लिमिटेडले आफ्ना कर्मचारीहरूको ज्ञान र क्षमता अभिवृद्धि गर्ने उद्देश्यले दुई दिने आवासीय तालिम कार्यक्रम सम्पन्न गरेको छ । 'संस्थागत नैतिकता र कर्पोरेट संस्कृति तथा सम्पत्ति शुद्धिकरण र आतंकवादी क्रियाकलापमा वित्तीय लगानी निवारण' शीर्षकमा आयोजित कार्यक्रममा कम्पनीका प्रमुख कार्यकारी अधिकृत शिवनाथ पाण्डे, वरिष्ठ नायव प्रमुख कार्यकारी अधिकृत राकेश पोखरेल, नायव प्रमुख कार्यकारी अधिकृत निराजन कंडेलसहित प्रमुख कार्यालयमा कार्यरत कर्मचारीहरूको सहभागिता रहेको थियो । तालिम नेपाल बीमा प्राधिकरणका उप निर्देशक पदम प्रसाद सोडारी र सिनर्जी माइलस्टोनका प्रशिक्षकहरूले प्रदान गरेका थिए । सोडारीले सम्पत्ति शुद्धिकरण तथा आतंकवादी गतिविधिमा वित्तीय लगानी रोकथामबारे प्रशिक्षण दिएका थिए भने सिनर्जी माइलस्टोनका प्रशिक्षकहरूले कार्यस्थलको मूल मान्यता, नैतिक मानक र अनुपालन आवश्यकतासम्बन्धी विषयमा प्रशिक्षण दिएका थिए । साथै सहकर्मी र अन्य आन्तरिक तथा बाह्य व्यक्तिसँग सुमधुर सम्बन्ध कायम राख्न कर्मचारीहरूले अपनाउनुपर्ने व्यवहारिक परिवर्तनबारे पनि छलफल गरिएको थियो । कार्यक्रममा बोल्दै प्रमुख कार्यकारी अधिकृत पाण्डेले सम्पत्ति शुद्धिकरण तथा आतंकवादी गतिविधिमा वित्तीय लगानी निवारणको महत्वमा जोड दिँदै कम्पनीका सबै कर्मचारीले यसलाई अक्षरशः पालना गर्ने प्रतिबद्धता व्यक्त गरे । उनले प्रशिक्षणबाट प्राप्त ज्ञान र सीपलाई कार्यस्थलमा कार्यान्वयन गर्ने, सहकर्मीबीच सुमधुर सम्बन्ध कायम गर्ने, व्यक्तिगत मूल्य र मान्यताको कदर गर्ने र यसले कर्मचारीको कार्यदक्षता अभिवृद्धिमा टेवा पुर्‍याउने विश्वास व्यक्त गरे । सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स लिमिटेडले हाल १६९ शाखा तथा उपशाखामार्फत १८ वटा जीवन बीमा योजना सञ्चालन गर्दै आएको छ । कम्पनीमा २१ हजारभन्दा बढी अभिकर्ताहरू आबद्ध छन् ।

ह्युन्डाईको ‘दशैं तिहार, १० गुणा उपहार’ : धनगढीका अभिषेक चौधरीले जिते १० लाख रुपैयाँ

काठमाडौं । लक्ष्मी इन्टरकन्टिनेन्टल, नेपालका लागि ह्युन्डाई गाडीको आधिकारिक वितरकले दशैं-तिहार अफर 'दशैं तिहार, १० गुणा उपहार' अन्तर्गत पहिलो ग्राण्ड विजेता घोषणा गरेको छ । धनगढीका अभिषेक चौधरीले ह्युन्डाई क्रेटा खरिद गरी स्क्र्याच कार्डमार्फत १० लाख रुपैयाँ जित्ने पहिलो भाग्यशाली ग्राहक बन्न सफल भएका छन् । कम्पनीले चौधरीलाई विजेता घोषित गर्दै हार्दिक बधाई ज्ञापन गरेको छ । गत भदौ २ गतेदेखि सुरु भएको यो अफरअन्तर्गत ग्राहकहरूले ८ लाख रुपैयाँसम्मको नगद छुट, १० लाख रुपैयाँसम्मको स्क्र्याच कार्ड पुरस्कार, २० हजार रुपैयाँसम्मको लोयल्टी बोनस, एक वर्षको निःशुल्क कम्प्रिहेन्सिभ इन्स्योरेन्स र सडक कर सुविधा पाउने व्यवस्था गरिएको छ । त्यसैगरी, हरेक ह्युन्डाई गाडीमा तीन वर्षको वारेन्टी र छ वर्षसम्मको निःशुल्क सर्भिसिङ सुविधा पनि उपलब्ध गराइने कम्पनीले जनाएको छ । ह्युन्डाई नेपालले सम्पूर्ण ग्राहकलाई नजिकको शोरुममा गइ 'दशैं तिहार, १० गुणा उपहार' अफरको लाभ लिन आमन्त्रण गरेको छ ।

सबै सरकारी सम्पत्तिको बीमा गर्ने सरकारको निर्णय

काठमाडौं । सरकारले सरकारी सम्पत्तिहरुको बीमा गर्ने निर्णय गरेको छ । गत भदौ २३ र २४ गते जेनजी आन्दोलनपश्चात् सिंहदरबारदेखि देशभर रहेका धेरै सरकारी संरचनाहरू ध्वस्त भएसँगै सरकारले यस्तो निर्णय गरेको हो । जेनजी आन्दोलनपछि गठन भएको अन्तरिम सरकारको असोज ५ गते बसेको मन्त्रिपरिषद्को बैठकले सरकारी सबै सम्पत्तिको बीमा गर्ने निर्णय गरेको अर्थमन्त्रालयका प्रवक्ता टंक प्रसाद पाण्डेले बताए ।  सरकारी सम्पत्तिको बीमा गर्नुपर्छ भन्ने माग लामो समयदेखि उठ्दै आएपनि सरकारले यसतर्फ ध्यान दिएको थिएन । बीमा प्राधिकरणले सरकारी बीमा गर्नका लागि सरकारसँग पटक पटक छलफल र प्रयास गर्दै आएको थियो । अन्तत: सरकारले सबै सरकारी सम्पत्तिको बीमा गर्ने निर्णय गरेकोमा बीमा कम्पनीहरूले यसलाई सकारात्मक कदमको रुपमा लिएका छन् ।  नेपालमा बेलाबेला घटिरहने भूकम्प, बाढीपहिरोजस्ता प्राकृतिक र मावनजन्य घटनाहरूबाट सार्वजनिक तथा निजी सम्पत्तिमा ठूलो क्षति हुँदै आएको छ । सरकारी सम्पत्तिमा तेस्रो पक्ष बीमा गरिएपनि सरकारी सम्पति भवनको बीमा गर्ने अभ्यास यसअघि थिएन ।    

यी हुन् विश्वका दोस्रो धनी व्यक्ति, जसले गरेका छन् ९५ प्रतिशत सम्पत्ति दान गर्ने वाचा

काठमाडौं । अमेरिकी प्रख्यात टेक कम्पनी ओरेकलका संस्थापक ल्यारी एलिसन विश्वका दोस्रो सबैभन्दा धनी व्यक्ति बनेका छन् । ब्लूमबर्ग बिलियनेयर्स इन्डेक्सका अनुसार उनको नेटवर्थ ३६८ अर्ब डलर पुगेको छ ।  कृत्रिम बौद्धिकता (एआई)को लोकप्रियता बढ्दै जाँदा ओरेकलको सेयरमा ठूलो वृद्धि आएको छ । यसै कारण यो वर्ष मात्रै एलिसनको नेटवर्थ १७६ अर्ब डलरले बढेको हो ।  उनीभन्दा अगाडि केवल टेस्लाका प्रमुख कार्यकारी अधिकृत (सीईओ) एलन मस्क (४५८ अर्ब) मात्र छन् । तर धेरैलाई थाहा छैन कि एलिसनले २०१० मा ‘गिभिङ प्लेज’ अन्तर्गत आफ्नो ९५ प्रतिशत सम्पत्ति दान गर्ने वाचा गरेका थिए । त्यसपछि उनले परम्परागत गैर–नाफामुखी संस्थाहरूसँग दूरी बनाएका छन् । उनी आफू आफ्नै सर्तमा र आफ्नै तरिकाले सम्पत्ति दान गर्न चाहन्छन् । एक रिपोर्टका अनुसार एलिसनले आफ्नो सम्पत्ति कसरी दान गर्ने योजना बनाइरहेका छन् । उनको नेट वर्थको ठूलो हिस्सा ओरेकलमा उनको ४१ प्रतिशत हिस्सेदारीबाट आएको हो । यसबाहेक उनले टेस्लामा पनि ठूलो लगानी गरेका छन् । एलिसनका अधिकांश परोपकारी कार्यहरू एलिसन इन्स्टिच्युट अफ टेक्नोलोजी (ईआईटी) मार्फत गरिन्छ । यो अक्सफोर्ड विश्वविद्यालयमा अवस्थित नाफा कमाउने संस्था हो । यस संस्थाले स्वास्थ्य सेवा, खाद्य असुरक्षा, जलवायु परिवर्तन र एआई अनुसन्धान जस्ता विश्वव्यापी चुनौतीहरूमा ध्यान केन्द्रित गर्छ । ईआईटीका लागि अक्सफोर्डमा नयाँ क्याम्पस २०२७ सम्म खोलिनेछ जसको अनुमानित लागत करिब १.३ अर्ब डलर हुनेछ । गत केही वर्षमा एलिसनले धेरै ठूलो परोपकारी दान गरेका छन् । उनले दक्षिणी क्यालिफोर्निया विश्वविद्यालयलाई क्यान्सर अनुसन्धान केन्द्र स्थापना गर्न २०० मिलियन डलर दिएका थिए । त्यसबाहेक उनले एलिसन मेडिकल फाउन्डेशनलाई करिब १ अर्ब डलर दिएका थिए । यो संस्थाले उमेर बढ्नु र रोग रोकथाममा ध्यान केन्द्रित गथ्र्यो तर अहिले बन्द भइसकेको छ । यद्यपि अन्य धनीहरूभन्दा उनीद्वारा प्रत्यक्ष रूपमा गरिएको दान कम देखिन्छ, तर गिभिङ प्लेज र एलिसन इन्स्टिच्युटमार्फतका उनका प्रतिबद्धता अर्बौं डलरका छन् । एलिसनले भनेका छन् कि उनको लगभग सम्पूर्ण सम्पत्ति अन्ततः परोपकारी कार्यका लागि जानेछ, जुन उनी आफ्नै सर्त र समयसीमाअनुसार व्यवस्थापन गर्नेछन् । एउटा रिपोर्टअनुसार ईआईटीमा नेतृत्व परिवर्तनका कारण केही समस्या आएका छन् । २०२४ मा एलिसनले वैज्ञानिक जोन बेललाई अनुसन्धानको नेतृत्वका लागि नियुक्त गरेका थिए । अगस्टमा उनले भनेका थिए कि मिशिगन विश्वविद्यालयका पूर्वअध्यक्ष सान्ता ओनो यस मामलामा बेलसँग ‘सहयोग’ गर्नेछन् । तर दुई सातापछि बेलले यो धेरै चुनौतीपूर्ण परियोजना’ भएको भन्दै राजीनामा दिएका थिए । जब पोर्शेका धेरै लगानीकर्ताहरूले सेयर बेचिदिए...  

जेनजी आन्दोलन : बीमा कम्पनीहरूमा क्षतिग्रस्त सम्पत्तिको बीमा दाबी २३ अर्ब नाघ्यो

काठमाडौं । गत भदौ २३ र २४ गते जेनजी आन्दोलनका क्रममा भएको आगजनी र तोडफोडबाट क्षतिग्रस्त भएका बीमांकृत सम्पत्तिको बीमा दाबी बढ्दै गएको छ । नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको असोज ८ गतेसम्मको तथ्यांकअनुसार  १४ वटा निर्जीवन र ४ वटा लघु निर्जीवन बीमा कम्पनीमा २३ अर्ब ३९ करोड २७ लाख रुपैयाँ बढीको दाबी परेको परेको छ । प्राधिकरणको अनुसार कम्पनीहरुमा कुल २ हजार ९८८ वटा दाबी परेको परेको छ । प्राधिकरणका अुनसार सबैभन्दा बढी दाबी सिद्धार्थ प्रिमियरमा परेको छ । उक्त कम्पनीमा ५ अर्ब ४५ करोड ९३ लाख रुपैयाँ बराबरको ३०७ वटा दाबी परेको छ । दोस्रो धेरै दाबी परेको कम्पनी ओरिएन्टल इन्स्योरेन्स रहेको छ । ओरियन्टयलले  ८६ वटा दाबीको ५ अर्ब २३ करोड २४ लाख रुपैयाँ भुक्तानी गर्नुपर्ने देखिएको छ ।  त्यस्तै तेस्रोमा आइजीआई प्रुडेन्सियलान २ अर्ब ७९ करोड ६६ लाख रुपैयाँ बराबरको १९६ वटा बीमा दाबी परेको छ । शिखर इन्स्योरेन्समा २ अर्ब ३९ करोड १३ लाख रुपैयाँ, सगरमाथा लुम्बिनी इन्स्योरेन्समा १ अर्ब ५७ करोड ५९ लाख रुपैयाँ, हिमालयन एभरेष्ट इन्स्योरेन्समा १ अर्ब २३ करोड ७८ लाख रुपैयाँ र नेको इन्स्योरेन्समा १ अर्ब १२ करोड ४३ लाख रुपैयाँ राष्ट्रिय बीमा कम्पनीमा ९० करोड ६८ लाख रुपैयाँ, सानिमा जीआईसी इन्स्योरेन्समा ८४ करोड ४४ लाख रुपैयाँ, युनाइटेड अजोड इन्स्योरेन्समा ५३ करोड २० लाख रुपैयाँ, एनएलजी इन्स्योरेन्समा ५१ करोड रुपैयाँ, नेपाल इन्स्योरेन्समा ४८ करोड २ लाख रुपैयाँ, प्रभु इन्स्योरेन्समा २० करोड ४९ लाख रुपैयाँ र नेसनल इन्स्योरेन्समा ६ करोड ८९ लाख रुपैयाँ बराबरको बीमा दाबी परेको छ । लघु निर्जीवन बीमा कम्पनीतर्फ प्रोटेक्टिभ माइक्रोमा १ करोड १५ लाख रुपैयाँ, स्टार माइक्रोमा ७२ लाख ३८ हजार रुपैयाँ, ट्रस्ट माइक्रोमा ४४ लाख रुपैयाँ र नेपाल माइक्रोमा ४१ लाख ५० हजार रुपैयाँ बराबरको बीमा दाबी परेको छ ।  सम्पति बीमा तर्फ धेरै दाबी क्षेत्रगत हिसाबले हेर्दा सम्पत्ति बीमातर्फ सबैभन्दा बढी दाबी परेको छ । प्राधिकराको तथ्यांकअनुसार सम्पत्ति बीमातर्फ कम्पनीहरूमा १९ अर्ब ३ करोड २८ लाख रुपैयाँको ५९४ वटा दाबी परेको छ । त्यस्त मोटर बीमातर्फ ३ अर्ब ६५ करोड ४ लाख रुपैयाँ दाबी परेको छ । इन्जिनियरिङ तथा ठेकेदार जोखिमतर्फ ३४ करोड ७२ लाख रुपैयाँ, अन्य बीमातर्फ ३४ करोड ६६ लाख रुपैयाँ र परिवहन बीमातर्फ १ करोड ५५ लाख रुपैयाँ दाबी परेको छ । 

टाटा मोटर्सको दशैं-तिहार अफर : गाडीमा पाँच लाखसम्म छुट र माल्दिभ्स कपल ट्रिपको अवसर

काठमाडौं । दशैं-तिहारको अवसरमा टाटा मोटर्सको नेपालका लागि आधिकारिक वितरक सिप्रदी ट्रेडिङले ग्राहकका लागि ‘शानदार दशैं–तिहार अफर’ सार्वजनिक गरेको छ । यस अफर अन्तर्गत कम्पनीले आफ्ना लोकप्रिय इलेक्ट्रिक मोडेलदेखि इन्टरनल कम्बशन इन्जिन (आईसिई) मोडेलसम्म आकर्षक छुट र सुविधा प्रदान गर्ने जनाएको छ । ग्राहकहरूले टियागो ईभी, पञ्च ईभी, नेक्सन के३ ईभी र कर्भ ईभी जस्ता नयाँ पुस्ताका इलेक्ट्रिक गाडी छनोट गर्न सक्नेछन् । कम्पनीका अनुसार यी मोडेलहरूले यात्रामा सहजता, आधुनिकता र आत्मविश्वास दिनेछन् । त्यस्तै पेट्रोल तथा डिजेलप्रति आकर्षित ग्राहकका लागि टियागो, पञ्च, नेक्सन र सफारी जस्ता आईसिई मोडेलहरूमा पनि विशेष अफर उपलब्ध हुने बताइएको छ । इलेक्ट्रिक गाडी खरिद गर्ने ग्राहकलाई जीवनभर निःशुल्क डिसी फास्ट चार्जिङ सुविधा, निःशुल्क होम चार्जिङ इन्स्टलेसन, एक वर्षको सवारी कर छुट, निःशुल्क इम्बोस्ड नम्बर प्लेट, सम्पूर्ण बीमा कवरेज, विभिन्न एक्सेसोरिज उपहार र आकर्षक छुट प्रदान गरिनेछ । साथै, लक्की ड्रमार्फत एक भाग्यशाली विजेताले माल्दिभ्सको कपल ट्रिप जित्ने अवसर पाउनेछन् । यस्तै, पेट्रोल र डिजेल मोडेल रोज्ने ग्राहकका लागि नगद छुट, उत्कृष्ट एक्सचेन्ज मूल्यांकन, एक वर्षको सवारी कर छुट, आकर्षक एक्सेसोरिज र इम्बोस्ड नम्बर प्लेटको सुविधा दिइने कम्पनीले जनाएको छ । यो अफरमार्फत ग्राहकले नगद छुटमै पाँच लाख रुपैयाँसम्मको लाभ लिन सक्नेछन् । सिप्रदी ट्रेडिङले देशभरका सबै शोरुममार्फत यो अफर लागू गरेको छ ।

१५ प्रतिशत लाभांश वितरण गर्ने गुराँस लघुवित्तको घोषणा

काठमाडौं । गुराँस लघुवित्त वित्तीय संस्था लिमिटेडले लाभांश घोषणा गरेको छ । लघुवित्तले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीहरुलाई १५ प्रतिशत लाभांश वितरण गर्ने घोषणा हो । लघुवित्तले हाल कायम चुक्ता पूँजीको १४.२५ प्रतिशत बोनस सेयर र सोको कर प्रयोजनार्थ ०.७५ प्रतिशत नगद लाभांश गरी कुल १५ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो । असोज ८ गते बसेको लघुवित्तको सञ्चालक समितिको बैठकले सो दरमा लाभांश वितरण गर्ने निर्णय गरेको हो । नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात सो लाभांश वितरण गरिनेछ ।

अलैँचीको निर्यात ४४ प्रतिशतले बढ्यो

भद्रपुर । मेची भन्सार कार्यालयबाट चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो दुई महिनामा अलैँची निर्यात ४३ दशमलव ९० प्रतिशतले बढेको छ । कार्यालयको तथ्याङ्कअनुसार उक्त अवधिमा ८५ करोड ९६ लाख ११ हजार रुपैयाँ बराबरको अलैँची निर्यात भएको हो । गत दुई महिनाको अवधिमा ५२२ मेट्रिकटन अलैँची निर्यात भएको मेची भन्सार कार्यालयका सूचना अधिकारी ईश्वरकुमार हुमागाईंले जानकारी दिए । आव २०८१/८२ को पहिलो दुई महिनाको अवधिमा ५९ करोड ७३ लाख ५२ हजार रुपैयाँ बराबरको अलैँची निर्यात भएको उनले बताए । कार्यालयको तथ्याङ्कअनुसार चालु आवको दुई महिनामा चियाको निर्यात ३४ प्रतिशतले घटेको छ । उक्त अवधिमा रु ७५ करोड तीन लाख ४८ हजार बराबरको चिया निर्यात भएको छ । सूचना अधिकारी हुमागाईंका अनुसार आव २०८१/८२ को सोही अवधिमा एक अर्ब १३ करोड ७४ लाख आठ हजार रुपैयाँ बराबरको चिया निर्यात भएको छ । भन्सार कार्यालयको तथ्याङ्कअनुसार निर्यात हुने मुख्य वस्तुहरूमा छुर्पी ९८ दशमलव ३० प्रतिशत, काउली, ब्रोकाउली र बन्दागोपी १५५ दशमलव २० प्रतिशत, भेनियर सिट ७४ प्रतिशत, मुसुरो दाल ६५५ दशमलव १० प्रतिशतले वृद्धि भएको छ । यसैगरी फलामे पाता ९३ दशमलव ४० प्रतिशत, अदुवा ४१ दशमलव ८० प्रतिशत र अम्रिसो ३० दशमलव १० प्रतिशतले कमी आएको सूचना अधिकारी हुमागाईंले जानकारी दिए । मेची भन्सारबाट चालु आवको दुई महिनामा तीन अर्ब छ करोड ३७ लाख ३९ हजार रुपैयाँको मालवस्तु निर्यात भएको छ ।