नबिल बैंकले ४ अर्ब रुपैयाँ बराबरको ऋणपत्र निष्कासन गर्ने, बिक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल नियुक्त
काठमाडौं । नबिल बैंक लिमिटेडले ४ अर्ब रुपैयाँ बराबरको ५.५ प्रतिशत नबिल डिबेञ्चर २०९३ ऋणपत्र निष्कासन गर्नका लागि बिक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल लिमिटेडलाई नियुक्त गरेको छ । मंगलबार आयोजित एक कार्यक्रमका बीच नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत मनोजकुमार ज्ञवाली र ग्लोबल आइएमई क्यापिटलका प्रमुख कार्यकारी अधिकृत मन्दीप लुइटेलले सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन् । सम्झौता अनुसार क्यापिटलले बैंकको ऋणपत्र निष्कासन तथा बिक्री व्यवस्थापनको सम्पूर्ण काम सम्हाल्नेछ ।बैंकले प्रतिऋणपत्र १ हजार रुपैयाँ अंकित मूल्यका १० वर्ष अवधि रहने कुल ४० लाख कित्ता ऋणपत्र जारी गर्न लागेको हो । वार्षिक ५.५ प्रतिशत ब्याजदर रहेको यस ऋणपत्रको कुल ४ अर्ब रुपैयाँमध्ये २ अर्ब ४० करोड रुपैयाँ बराबरको २४ लाख कित्ता व्यक्तिगत तवर (प्राइभेट प्लेसमेन्ट) बाट बिक्री गरिनेछ । बाँकी १ अर्ब ६० करोड रुपैयाँ बराबरको १६ लाख कित्ता सर्वसाधारणका लागि सार्वजनिक निष्कासनमार्फत बिक्री खुला गरिनेछ । जसमा ५ प्रतिशत अर्थात् ६५ हजार कित्ता ऋणपत्र सामूहिक लगानी कोषका लागि छुट्याइएको छ । निजी क्षेत्रको अग्रणी वाणिज्य बैंक नबिलले चार दशकदेखि २६ लाखभन्दा बढी ग्राहकलाई देशभरका २६३ शाखा र ३१५ एटीएममार्फत आधुनिक बैंकिङ सेवा प्रदान गर्दै आएको छ । हालैका दिनमा बैंकले समग्र देशको अर्थतन्त्रका लागि समावेशी र समृद्ध भविष्य निर्माण गर्ने उद्देश्यका साथ बैंकिङ एण्ड बियोन्ड अवधारणालाई समेत अघि बढाएको छ ।
बाढीपीडितलाई नेरूडे मिर्मिरे लघुवित्तको २८ लाख २० हजारभन्दा बढी सहयोग
काठमाडौं । बाढीबाट प्रभावित नागरिकहरूको उद्धार, राहत तथा पुनर्स्थापना कार्यमा सहयोग पुर्याउने उद्देश्यले नेरूडे मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेडले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा २८ लाख २० हजार २ सय ४९ रूपैंया सहयोग प्रदान गरेको छ । संस्थाका अध्यक्ष राजकुमार राई, प्रमुख कार्यकारी अधिकृत केशव कुमार पौडेल, सहायक कार्यकारी प्रमुख ऋषि प्रसाद न्यौपाने, बरिष्ठ प्रबन्धक रघुनाथ सुवेदी तथा कम्पनी सचिव एवं जनशक्ति व्यवस्थापन विभाग प्रमुख राजेश श्रेष्ठ सहितको टोलीले अर्थमन्त्री डा. स्वर्णिम वाग्लेसँग भेट गरी उक्त राहत रकम हस्तान्तरण गरेका हुन् । विपदमा परी ज्यान गुमाएका सम्पूर्ण मृतकहरूप्रति भावपूर्ण श्रद्धाञ्जली व्यक्त गर्दै संस्थाले शोकसन्तप्त परिवारजनप्रति समवेदना तथा घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ । साथै, बेपत्ता भएका व्यक्तिहरूको यथाशीघ्र खोजी तथा उद्धार कार्य सफल होस् भन्ने कामना गरिएको छ । राहत रकम हस्तान्तरणका क्रममा संस्थाका अध्यक्ष राजकुमार राईले लघुवित्त संस्थाहरू भुइँमान्छेको घर/घरमा पुगेर सेवा तथा वित्तीय पहुँच विस्तारमा समर्पित रहने भएकाले खाँचो परेको समयमा पनि समाज र समुदायसँगै उभिनुपर्ने बताए । विपद्को समयमा सबै पक्षले आफ्नो क्षमता र सामर्थ्य अनुसार सहयोग तथा सहकार्य गर्नुपर्नेमा जोड दिँदै उनले नेरूडे मिर्मिरे सदैव मानवीय हितका कार्यमा सकारात्मक र सहयोगी रहने प्रतिबद्धता व्यक्त गरे । त्यसैगरी, प्रमुख कार्यकारी अधिकृत केशव कुमार पौडेलले “ग्राहक सदस्य पहिलो” भन्ने मूल नीतिलाई आत्मसात् गर्दै नेरूडे मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेडले कर्जा तथा बचतको वित्तीय कारोबारमा मात्र सीमित नरही वित्तीय साक्षरता, संस्थागत सामाजिक उत्तरदायित्व तथा ग्राहक संरक्षणका विभिन्न कार्यक्रमहरू निरन्तर सञ्चालन गर्दै आएको बताए । आगामी दिनमा समेत यस्ता कार्यक्रमहरूलाई अझ प्रभावकारी र बृहत्तर रूपमा विस्तार गर्दै लैजाने उनले प्रतिबद्धता व्यक्त गरे । संस्थाका सञ्चालकहरू, कर्मचारी परिवार तथा संस्थाको तर्फबाट गरिएको सामूहिक योगदानबाट उक्त सहयोग रकम जुटाइएको हो । संस्थाले विपद्को यस कठिन घडीमा भाइचारा, आत्मीयता, सहकार्य र मानवीय संवेदनाको भावनासहित सबैले आफ्नो ठाउँबाट सक्दो सहयोग गर्नुपर्ने सन्देशसमेत दिएको छ । नेरूडे मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेडले आगामी दिनमा पनि आफ्नो सामाजिक उत्तरदायित्व, ग्राहक संरक्षण तथा समुदायप्रतिको प्रतिबद्धतालाई निरन्तरता दिँदै वित्तीय सेवासँगै सामाजिक हितका कार्यक्रमहरूलाई थप प्रभावकारी बनाउँदै लैजाने जनाएको छ ।
काठमाडौं विश्वविद्यालयको रजिस्ट्रारमा विराज सिंह थापा नियुक्त
काठमाडौं । सरकारले काठमाडौं विश्वविद्यालयको रजिस्ट्रारमा विराज सिंह थापालाई नियुक्त गरेको छ । विश्वविद्यालयका उपकुलपतिको सिफारिसका आधारमा प्रधानमन्त्री तथा विश्वविद्यालयका कुलपति वालेन्द्र शाहले थापालाई रजिस्ट्रार नियुक्त गरेका हुन् । नवनियुक्त रजिस्ट्रार थापाले बुधबार शिक्षा तथा खेलकुद मन्त्रालयमा आयोजित कार्यक्रममा पद तथा गोपनीयताको शपथ लिएका छन् । थापा काठमाडौं विश्वविद्यालयमा गत २२ वर्षदेखि सहप्राध्यापकका रूपमा कार्यरत छन् । उनले नर्वेबाट हाइड्रोपावर विषयमा विद्यावारिधि (पीएचडी) गरेका छन्। । शपथ ग्रहण कार्यक्रममा शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले विश्वविद्यालय सुधारका लागि टिमवर्क र सक्रियताका साथ काम गर्न नवनियुक्त पदाधिकारीलाई निर्देशन दिएका छन् । उनले काठमाडौं विश्वविद्यालयलाई विशिष्टीकृत ढङ्गको ट्रस्टी मोडलमा स्थापित गर्ने प्रक्रिया अघि बढाउन आवश्यक रहेको बताए । कार्यक्रममा काठमाडौं विश्वविद्यालयका उपकुलपति प्रा.डा. विवेक बराललगायत मन्त्रालयका उच्च अधिकारीको उपस्थिति रहेको थियो ।
बाढी प्रभावित सबै क्षेत्रमा नेपाल टेलिकमको नेटवर्क सेवा सुचारु
काठमाडौं । नेपाल टेलिकमले बाढी प्रभावित जिल्लाका सबै स्थानमा मोबाइल तथा इन्टरनेट सेवा सुचारु गरेको छ । भदौ १० गते आएको बाढीका कारण रसुवा, नुवाकोट र धादिङलगायत जिल्लामा नेपाल टेलिकमका टावरबाट सञ्चालन हुने मोबाइल तथा इन्टरनेट सेवा अवरुद्ध भएको थियो । टेलिकमका प्राविधिकहरू निरन्तर प्रभावित क्षेत्रमा खटिएपछि सबै साइट पुनः सञ्चालनमा ल्याइएको हो । सडक तथा विद्युत् सेवा अवरुद्ध भएका स्थानमा सुरक्षा निकायसँग समन्वय गरी हेलिकप्टरमार्फत प्राविधिक, उपकरण, जेनेरेटर र इन्धन पुर्याएर सेवा सञ्चालन गरिएको टेलिकमले जनाएको छ । भदौ १४ गते नेपाल–चीन सीमा नजिक रहेको रसुवा बोर्डर मोबाइल साइट सञ्चालनमा आएपछि राहत तथा उद्धार कार्य भइरहेका सबै प्रमुख क्षेत्रमा सञ्चार सेवाको पहुँच पुगेको थियो । बाढीका कारण रसुवा, नुवाकोट र धादिङका १२० साइटमध्ये ८३ साइटको सेवा अवरुद्ध भएको थियो । टिमुरे, चिलिमे खोला र त्रिशूली–३ ‘बी’ साइट भने पूर्ण रूपमा क्षतिग्रस्त भएका थिए । टेलिकमले भदौ १६ गते धादिङको कल्लेरी तथा नुवाकोटका भद्रटार थाप्रेक, पुसनटार, तारुका, किस्पाङ (भाल्चे) र बुधसिंह साइट सञ्चालनमा ल्याएको जनाएको छ । यससँगै सबै साइटबाट सेवा सञ्चालनमा आएको टेलिकमको भनाइ छ । पूर्ण रूपमा क्षतिग्रस्त साइटबाट उपलब्ध हुने सेवा भने हाल अन्य साइटमार्फत प्रदान भइरहेको छ । मोबाइल सेवाको प्रभावकारिता थप बढाउन क्षतिग्रस्त साइटलाई प्राथमिकतामा राखेर पुनर्निर्माण गरी सञ्चालनमा ल्याइने टेलिकमले जनाएको छ । बाढी आएको जानकारी पाएलगत्तै भदौ ११ गते रसुवाका न्यौपानेचौर र राम्चे रिपिटर साइटमा हेलिकप्टरमार्फत जेनेरेटर, इन्धन र ब्याट्रीलगायत उपकरण पठाइएको थियो । धुन्चेमा पनि जेनेरेटर, इन्धन र कर्मचारी परिचालन गरी सेवा सञ्चालनमा ल्याइएको थियो । भदौ १२ गते रसुवाको गोलजुङ टावर, नुवाकोटको गेर्खु, तुप्चे तथा टिमुरेमाथिको डाँडामा रहेका टावरमा हेलिकप्टरमार्फत आवश्यक उपकरण र प्राविधिक पठाएर सेवा सुचारु गरिएको थियो । नुवाकोटको मदनपुर, बट्टार, बिदुर बसपार्क तथा धादिङको बैरेनी ठमेल डाँडामा पनि जेनेरेटर र इन्धनसहित कर्मचारी परिचालन गरिएको थियो । भदौ १३ गते रसुवाको त्रिशूली–३ ‘ए’ नजिकको टावर, उत्तरगया गाउँपालिका–स्थित कालिकास्थान तथा नुवाकोटको बुङताङका टावर सञ्चालनमा ल्याइएका थिए । कटुन्जे, सामरी भञ्ज्याङ र बेतिनीका टावर पनि सोही क्रममा सुचारु भएका थिए। यससँगै प्रभावित १२० साइटमध्ये ९३ साइट सञ्चालनमा आएका थिए । भदौ १४ गते रसुवा बोर्डरसहित अपर सेन्जेन, छापथोके, जिबजिबे माइक्रो र गत्लाङका साइट सञ्चालनमा आए । नुवाकोटका चारघरे र चारघरे मुलाबारी साइट पनि सोही दिन सुचारु भएका थिए । भदौ १५ गते रसुवाको जिबजिबे र सरमथली, धादिङको बेनीघाट तथा नुवाकोटको त्रिशूली बजार साइट सञ्चालनमा ल्याइएको टेलिकमले जनाएको छ। विद्युत् आपूर्ति नियमित नभएका केही साइट अहिले पनि जेनेरेटरमार्फत सञ्चालनमा छन्। विद्युत् सेवा सहज भएका कतिपय साइट भने स्वतः सञ्चालनमा आएका छन् । यससँगै फोरजी सेवाको प्रभावकारिता पनि बढ्दै गएको टेलिकमले जनाएको छ । सेवा सुचारु गर्न सहयोग तथा समन्वय गर्ने सम्बन्धित मन्त्रालय, नेपाली सेना, सुरक्षा निकाय, नेपाल विद्युत् प्राधिकरण, विद्युत् गृह सञ्चालक, हेलिकप्टर सञ्चालक, स्थानीय तह, स्वयंसेवी संस्था, प्राविधिक, सञ्चारमाध्यम तथा सम्बन्धित सहयोगी निकायलाई नेपाल टेलिकमले धन्यवाद दिएको छ । विपद्को समयमा पनि आम नागरिकका लागि सञ्चार सेवा सुनिश्चित गर्दै ‘राष्ट्रको सञ्चार’को गरिमा कायम गर्न कम्पनी प्रतिबद्ध रहेको प्रवक्ता डा. कमल लामिछानेले बताएका छन् ।
सिवाईसी नेपाल लघुवित्तका नवनियुक्त अध्यक्ष गोपालकुमार शर्माले लिए शपथ
काठमाडौं । सिवाईसी नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडका नवनियुक्त अध्यक्ष गोपालकुमार शर्माले पद तथा गोपनीयताको शपथ लिएका छन् । शर्माले भदौ १७ गते बुधबार नेपाल राष्ट्र बैंक, पोखरा कार्यालयका निर्देशक शिखा अधिकारी रेग्मीसमक्ष पद तथा गोपनीयताको शपथ लिएका हुन् । शपथ ग्रहण समारोहमा संस्थाका सञ्चालकद्वय लक्ष्मण खड्का क्षेत्री र राजेन्द्र रेग्मी, प्रमुख कार्यकारी अधिकृत राधेश्याम श्रेष्ठ तथा नायब प्रमुख कार्यकारी अधिकृत बाबुराम कुँवरको उपस्थिति थियो । यसअघि अध्यक्ष पद्मनाथ शर्माले राजीनामा दिएपछि संस्थापक समूहअन्तर्गतको सञ्चालक पद रिक्त भएको थियो । उक्त पदमा गोपालकुमार शर्मालाई नियुक्त गरिएको थियो । त्यसपछि संस्थाको सञ्चालक समितिको १८४औँ बैठकले शर्मालाई अध्यक्ष पदमा नियुक्त गर्ने सर्वसम्मत निर्णय गरेको हो । नवनियुक्त अध्यक्ष शर्मा लामो समय शिक्षण पेसामा आबद्ध भएर अवकाश प्राप्त व्यक्ति हुन् । उनले शिक्षाशास्त्र तथा मानविकी एवं समाजशास्त्र विषयमा स्नातकोत्तर तहसम्म अध्ययन गरेका छन् । शपथ ग्रहणसँगै शर्माले सिवाईसी नेपाल लघुवित्तको सञ्चालक समितिको नेतृत्व सम्हालेका छन् ।
सगरमाथा लुम्बिनी इन्स्योरेन्सले बाढीपीडितलाई दियो ६२ लाख
काठमाडौं । सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनीले भोटेकोसी बाढीपीडितको राहत तथा पुनःस्थापनाका लागि ६२ लाख रुपैयाँ सहयोग गर्ने भएको छ । कम्पनीको सञ्चालक समितिको बैठकले सामाजिक उत्तरदायित्व (सीएसआर) अन्तर्गत ५१ लाख रुपैयाँ प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गर्ने निर्णय गरेको हो । कम्पनीको भदौ १६ गते बसेको सञ्चालक समितिको बैठकले उक्त रकम कोषमा जम्मा गर्ने निर्णय गरेको जनाएको छ । त्यस्तै, कम्पनीमा कार्यरत कर्मचारीहरूले पनि आफ्नो एक दिनको तलब बराबरको ११ लाख रुपैयाँ प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सामूहिक रूपमा योगदान गर्ने निर्णय गरेका छन् । यससँगै कम्पनी र कर्मचारीबाट बाढीपीडितका लागि कुल ६२ लाख रुपैयाँ सहयोग हुने भएको छ । भदौ १० गते रसुवाको भोटेकोसी नदीमा आएको विनाशकारी बाढीका कारण रसुवा, नुवाकोट, धादिङ, गोरखा र चितवनलगायत नदी तटीय क्षेत्रमा ठूलो मानवीय तथा भौतिक क्षति भएको कम्पनीले जनाएको छ । कम्पनीले विपद्को यस कठिन समयमा प्रभावित परिवारलाई साथ र सहानुभूति स्वरूप सहयोग गरिएको जनाएको छ । कम्पनीले स्थापनाकालदेखि नै प्राकृतिक विपद्, महामारी तथा अन्य संकटका समयमा सहयोग गर्दै आएको दाबी गरेको छ । बाढी प्रभावित नागरिकको सुरक्षित उद्धार र घरबारविहीन परिवारको पुनःस्थापना यथाशीघ्र गर्नुपर्नेमा कम्पनीले जोड दिएको छ । कम्पनीले बाढीमा परी ज्यान गुमाउने नागरिकप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनमा गहिरो समवेदना व्यक्त गरेको छ ।
सिवाईसी नेपाल लघुवित्तद्वारा बाढीपीडितका लागि ८ लाख ६१ हजार सहयोग
काठमाडौं । सिवाईसी नेपाल लघुवित्त वित्तीय संस्थाले बाढीपीडितको राहत, उद्धार तथा पुनःस्थापनाका लागि ८ लाख ६१ हजार ६९४ रुपैयाँ सहयोग गरेको छ । भोटेकोसी नदीमा आएको विनाशकारी बाढीबाट रसुवा, नुवाकोट, धादिङलगायत जिल्लामा ठूलो मानवीय तथा भौतिक क्षति भएको भन्दै संस्थाले दुःख व्यक्त गरेको छ । विपद्बाट प्रभावित नागरिकको राहत तथा पुनःस्थापनाका लागि नेपाल सरकारले गरेको आह्वानअनुसार संस्थाले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा उक्त रकम सहयोग गरेको हो । कुल रकममध्ये संस्थाको तर्फबाट ५ लाख रुपैयाँ र संस्थामा कार्यरत कर्मचारीको तर्फबाट ३ लाख ६१ हजार ६९४ रुपैयाँ सहयोग गरिएको छ । सिवाईसी नेपाल लघुवित्तले विपद्को कठिन समयमा प्रभावित नागरिकको राहत तथा उद्धारमा सहयोग पुर्याउनु आफ्नो सामाजिक उत्तरदायित्व भएको जनाएको छ ।
राहत र पुनर्स्थापना लागि प्राप्त हुने सामग्रीमा सतप्रतिशत कर छुट
काठमाडौं । सरकारले विपद् व्यवस्थापन, खोज, उद्धार, राहत तथा पुनर्स्थापना र पुनर्निर्माणका लागि वैदेशिक अनुदान स्वरूप प्राप्त हुने वस्तुगत सहायतामा पूर्ण रूपमा कर तथा भन्सार महसुल छुट दिने निर्णय गरेको छ । अर्थ मन्त्रालयले राजपत्रमा सूचना प्रकाशन गर्दै उक्त व्यवस्था लागू गरेको हो । राजपत्रमा प्रकाशित सूचना अनुसार गृह मन्त्रालयको सिफारिसमा मित्रराष्ट्र, दातृ निकाय तथा अन्य सङ्घ–संस्थाहरूबाट नेपाल सरकारलाई अनुदान स्वरूप नब्बे दिनभित्र (९० दिन) प्राप्त हुने वस्तुगत सहायता स्वीकार गरिनेछ । त्यस्ता विपद् सम्बन्धी सामग्रीहरूको पैठारी (आयात) गर्दा लाग्ने सम्पूर्ण कर तथा भन्सार महसुलमा पूर्ण छुट प्रदान गरिने जनाइएको छ । गृह मन्त्रालयले महसुल छुटका लागि सिफारिस गर्दा ल्याइने वस्तु तथा सामग्रीहरूको स्पष्ट विवरण खुलाउनु पर्ने सर्त समेत राजपत्रको सूचनामा उल्लेख छ । यस निर्णयले विपद्को समयमा अन्तर्राष्ट्रिय निकाय तथा दातृराष्ट्रहरूबाट प्राप्त हुने राहत र उद्धारका सामग्रीहरू छिटो–छरितो रूपमा भन्सारबाट छुटाई प्रभावित क्षेत्रसम्म पु¥याउन सहयोग पुग्ने अपेक्षा गरिएको छ ।