विकासन्युज

तिहारले सुशासनको मार्गमा अग्रसर रहन प्रेरित गर्न सकोस् : राष्ट्रपति पौडेल

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले तिहार पर्वले नेपालीबीच आपसी सद्भाव, सहिष्णुता, भातृत्व, सुशासन र समृद्धिको भावना अझ अभिवृद्धि गर्न उत्प्रेरितगरोस् भनी कामना गरेका छन् । तिहारको अवसरमा स्वदेश तथा विदेशमा रहेका नेपाली दिदीबहिनी तथा दाजुभाइमा आज एक सन्देश जारी गर्दै उनले सुख, शान्ति, समृद्धि एवं उत्तरोत्तर प्रगतिको कामना गरेका हुन् ।  ‘नेपाल मौलिक संस्कृतिले भरिपूर्ण मुलुक हो । हामीले मनाउने विभिन्न चाड पर्वहरूले विविधतालाई एकतामा बाँध्ने कार्य गर्दै आएको छ । यस्ता पर्वहरूमध्ये तिहार हिन्दुको महान पर्वको रूपमा रहेको छ । यस पर्वले विभिन्न जातजाति, भाषाभाषी र संस्कृतिलाई एकताको सुत्रमा बाँध्ने प्रयत्न गरेको छ,’ राष्ट्रपतिले सन्देशमा भनेका छन् । राष्ट्रपति पौडेलले सांस्कृतिक, पौराणिक, व्यावहारिक, मनोवैज्ञानिक तथा वैज्ञानिक महत्व बोकेको तिहार पर्व उज्यालो र प्रकाशको पर्व पनि भएको उल्लेख गरे । तिहारका माध्यमबाट प्रकट हुने विभिन्न सांस्कृतिक अभ्यासले  मानवीय जीवनमा प्रकाश छरी हामी सबैलाई सत्य, न्याय र सामाजिक सुशासनको मार्गमा अग्रसर रहन प्रेरित गर्न सकोस् भन्ने उनले कामना गरे । तिहार पर्वलाई यमपञ्चक पनि भनिन्छ । यस पर्वमा काग, कुकुर, गाई, गोरु, पर्वत आदिको सम्मान गर्ने, पूजा गर्ने तथा लक्ष्मी पूजाको दिनमा भगवती लक्ष्मीको पूजा आराधना गरिन्छ । भाइटीकाका दिनमा दाजुभाइ तथा दिदीबहिनीबीच आपसमा टीका लगाई सद्भावका साथ पूजा अर्चना गरी हर्षोल्लासका साथ यो पर्व मनाइन्छ । भाइटीका लगाउने, म्ह पूजा गरी आत्म शुद्धि गर्ने जस्ता चलनले प्रेम र स्नेह, सामाजिक एकता र समृद्धि, धर्म, दया र करुणा तथा अन्धकार माथिको प्रकाशको विजयजस्ता सन्देशहरू प्रवाह गरेको देखिने राष्ट्रपतिले सन्देशमा स्पष्ट पारे । 

तिहारमा पनि आरटीजीएस प्रणाली सञ्चालनमा रहने

काठमाडौं । तिहार पर्वको अवसरमा समेत ‘रियल टाइम ग्रस सेटलमेन्ट’ (आरटीजीएस) प्रणाली सञ्चालनमा आउने भएको छ । नेपाल राष्ट्र बैंकले एक सूचना जारी गरी कात्तिक ३, ४, ५ र ७ गते सार्वजनिक विदाका दिनमा सो प्रणाली सञ्चालनमा रहने जनाएको हो ।  भाइटीकाका दिन भने सो प्रणाली बन्द हुनेछ । उक्त प्रणाली बिहान १० बजेदेखि अपराह्न ४ बजेसम्म सञ्चालनमा रहने नेपाल राष्ट्र बैंकको भुक्तानी प्रणाली विभागले जनाएको छ । केन्द्रीय बैंकले यसअघि नै भन्सार जाँच पास गर्ने प्रयोजनका लागि आवश्यक बैंकिङ प्रणाली सञ्चालनमा ल्याउन बैंक तथा वित्तीय संस्थालाई निर्देशन दिइसकेको छ । तिहारको भाइटीकाको दिन बाहेक अरु दिन अरु सबै दिन भन्सार जाँचपासका गर्न आवश्यक पर्ने बैंकिङ सेवा सुचारु गर्ने व्यवस्था गर्नु गराउन क, ख र ग वर्गका बैंक तथा वित्तीय संस्थालाई निर्देशन दिएको थियो । 

मल आयातको प्रक्रिया अघि बढ्यो, ४ लाख ७१ हजार मेट्रिक टनका लागि बोलपत्र आह्वन

काठमाडौं । चालु आर्थिक वर्षका लागि कूल ६ लाख मेट्रिक टन रासायनिक मल आयात गर्ने लक्ष्य राखिएकामा हालसम्म ४ लाख ७१ हजार ३ सय मेट्रिक टन बराबरको बोलपत्र आह्वान भएको छ । किसानलाई सहज रुपमा रासायनिक मल उपलब्ध गराउने लक्ष्य अनुसार सरकारले आवश्यक प्रबन्ध मिलाएको स्पष्ट पारेको छ । रासायनिक मल आयातका लागि सरकारले २८ अर्ब ८२ करोड १४ लाख रुपैयाँ बराबर बजेट विनियोजन गरेको छ कृषि तथा पशुपन्छी विकास मन्त्रालयले उपलब्ध गराएको विवरण अनुसार, गत असोज मसान्तसम्म १ लाख ९४ हजार ८५ मेट्रिक टन मल आपूर्तिको चरणमा छ । त्यसमा कृषि सामग्री कम्पनीको यूरिया ३३ हजार ३३८ मेट्रिक टन, साल्ट ट्रेडिङ  कर्पोरेसनको ५७ हजार ६७० मेट्रिक टन बराबर छ । कृषि सामग्री कम्पनीले यूरिया, डिएपीसमेत गरी कूल १ लाख १५ हजार ४०५ मेट्रिक टन र साल्ट ट्रेडिङ  कर्पोरेसनले ७८ हजार ६८० मेट्रिक टन बराबरको मल आपूर्ति गरेको छ । मन्त्रालयका अनुसार, हाल १ लाख ८ हजार ९०८ मेट्रिक टन मल भने मौज्दात छ । त्यसमा कृषि सामग्री कम्पनीमा डिएपी, यूरिया, पोटास समेत गरी कूल ६३ हजार ८ सय मेट्रिक टन र साल्ट्र ट्रेडिङ कर्पोरेसनमा ४५ हजार १०८ मेट्रिक टन बराबर रासायनिक मल मौज्दात छ । हिउँदे खेतीलाई पर्याप्त मात्रामा रासायनिक मल मौज्दात रहेको मन्त्रालयले जनाएको छ । गत साउनदेखि असोज मसान्तसम्म १ लाख ३२ हजार ८०७ मेट्रिक टन मल बिक्री भएको मन्त्रालयले जनाएको छ । 

विदेशीलाई अभद्र व्यवहार गर्ने नविन र विशाल पक्राउ

काठमाडौं । प्रहरीले धारिलो हतियार देखाइ विदेशी नागरिकलाई अभद्र व्यवहार गरेको आरोपमा २ जनालाई पक्राउ गरेको छ । आइतबार पोखरा-२२ अनदु जङ्गलको सार्वजनिक स्थानमा ६७ वर्षीय जर्मन नागरिक अन्स पिटर मार्टीन एक्लै हिँडिरहेको अवस्थामा खुकुरी देखाइ हातपात गरी अभद्र व्यवहार गरेको सूचनाका आधारमा २ जनालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक हरिबहादुर बस्नेतले जानकारी दिए ।  उनका अनुसार सूचना प्राप्त हुनासाथ तत्काल वडा प्रहरी कार्यालय बैदाम कास्कीबाट प्रहरी टोली खटिई घटनामा संलग्न व्यक्तिहरूलाई एक थान खुकुरीसहित नियन्त्रणमा लिइएको हो । पक्राउ पर्नेमा माछापुच्छ्रे गाउँपालिका-८ का २४ वर्षीय नविन विक र तनहूँ व्यास नगरपालिका-५ का २१ वर्षीय विशाल दर्लामी रहेको प्रहरीले जनाएको छ । उनीहरूलाई जिल्ला प्रशासन कार्यालय कास्कीबाट सार्वजनिक हित, स्वास्थ्य, सुरक्षा, सुविधा र नैतिकता विरुद्धको कसुर अन्तर्गत अभद्र व्यवहारसम्बन्धी मुद्दामा १० दिन म्याद थप गरी अनुसन्धान अगाडी बढाइएको प्रवक्ता बस्नेतले बताए । 

आज कुकुर तिहार मनाइँदै, मीठा खानेकुरा दिए यमलोक जाँदा बाटो छोडिदिने

काठमाडौं । तिहारको तेस्रो दिन आज घरघरमा कुकुरलाई पूजा गरी मीठा खानेकुरा दिइ कुकुर तिहार मनाइँदैछ । कुकुर तिहार यमपञ्चक अर्थात् दीपावली पर्वको दोस्रो दिन पर्ने भएपनि यस वर्ष तिथिको घटबढका कारण तेस्रो दिन पर्न गएको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ । समितिका सदस्य एवं वाल्मीकि विद्यापीठ धर्मशास्त्र विभागका अध्यक्ष प्रा.डा. देवमणि भट्टराई नरक चतुर्दशी र कुकुर तिहार सूर्योदय कालमा चतुर्दशी भएको दिन मनाउनुपर्ने बताउँछन् । कार्तिक कृष्ण चतुर्दशीका दिन कुकुरलाई मीठा परिकार खान दिए यमराजको ढोकामा द्वारपालका रूपमा बस्ने श्याम र सबल नामका कुकुरले यमलोक जाँदा बाटो छोडिदिने धार्मिक विश्वासका आधारमा कुकुर तिहार मनाउने गरिएको धर्मशास्त्रविद् प्रा तोयराज नेपालले जानकारी दिए । ​​​​वैवस्वत: मन्वन्तरको कुलमा जन्मिएको कुकुरले धर्मराज युधिष्ठिरलाई स्वर्ग यात्रामा समेत साथ दिएको धार्मिक विश्वास छ । कुकुरलाई आज्ञापालक र सुरक्षामा भरपर्दो घरपालुवा जनावरका रूपमा लिइन्छ ।​​​​​​​ नरक चतुर्दशी आज बिहानै अरूणोदयकालमा विभिन्न तीर्थ, नदी वा तलाउमा गई स्नान, तर्पण गरेर यमदीप दक्षिण फर्काएर बाली बगाउनाले मृत्युपश्चात् नरकको दर्शन गर्नु नपर्ने धार्मिक विश्वासका कारण नरक चतुर्दशीमा नुहाउने विधि रहेको धर्मशास्त्रविद् बताउँछन् । यसरी बत्ती बालेर बगाउनुलाई नरके बगाउने भनिन्छ । यमपञ्चक अर्थात् तिहारका पाँचै दिन तिलको तेल लगाएर स्नान गर्ने प्रचलन छ । यसो गरेमा शरीर स्वस्थ हुने आयुर्वेदिक मत आयुर्वेदका चिकित्सक डा. वंशदीप शर्मा खरेल बताउनुहुन्छ । यसैले तिहार स्वास्थ्य सुरक्षाका दृष्टिले पनि महत्त्वपूर्ण पर्वका रूपमा मनाइन्छ ।

मस्कले पाउने इतिहासकै ‘सबैभन्दा ठूलो कर्पोरेट तलब प्याकेज’मा आईएसएसको अवरोध

काठमाडौं । टेस्लाका सीईओ एलन मस्कका लागि प्रस्ताव गरिएको १ अस्ट्रियन अमेरिकी डलरको तलब प्याकेज शुक्रबार नयाँ विवादमा पर्यो, जब प्रोक्सी सल्लाहकार संस्थागत सेयरधारक सेवा (आईएसएस) ले सेयरधारकहरूलाई यस प्रस्तावलाई अस्वीकार गर्न आग्रह गर्यो । यो कुनै पनि कम्पनी प्रमुखलाई प्रस्ताव गरिएको सम्भवतः सबैभन्दा ठूलो क्षतिपूर्ति योजना हुन सक्छ । यो लगातार दोस्रो वर्ष हो जब आईएसएसले मस्कको क्षतिपूर्ति प्रस्ताव अस्वीकार गर्न लगानीकर्ताहरूलाई सुझाव दिएको हो । यस्तो प्रोक्सी सल्लाह (सामान्यतया सेयरधनी र लगानीकर्ताहरूलाई दिइने पेशागत सिफारिस) ले प्रायः ठूला संस्थागत लगानीकर्ताहरूलाई प्रभाव पार्छ, जसमा टेस्लामा ठूलो सेयर हिस्सेदारी भएका निष्क्रिय कोषहरू पनि पर्छन् । आईएसएसको सिफारिसले टेस्लाको सञ्चालक समितिमा थप दबाब सिर्जना गरेको छ, किनकि नोभेम्बर ६ मा हुन लागेको सेयरधारक बैठकमा यो मुद्दा प्रमुख रूपमा छलफल हुने अपेक्षा छ । यसले मस्कको क्षतिपूर्तिप्रति पुनः ध्यान केन्द्रित गराएको छ, विशेषतः डेलावेयर अदालतले यसअघि मस्कको ५६ अर्ब डलरको तलब प्याकेज रद्द गरेको थियो । मस्कको यो रेकर्ड तलब योजना अत्यन्त महत्त्वाकांक्षी लक्ष्यहरू पुरा नगरे पनि उनलाई दशौं अर्ब डलरसम्मको लाभ दिने सम्भावना छ किनकि यो योजना आंशिक सफलता र सेयर मूल्यको बढोत्तरीमा पनि पुरस्कार दिन्छ। गत महिना टेस्लाको बोर्डले मस्कका लागि १ ट्रिलियन डलरको क्षतिपूर्ति योजना प्रस्ताव गरेको थियो, जसलाई ‘इतिहासकै सबैभन्दा ठूलो कर्पोरेट तलब प्याकेज’ भनेर व्याख्या गरिएको थियो । यसले कम्पनीमा मस्कको नियन्त्रण बढाउने उनको चाहनालाई सम्बोधन गर्ने प्रयास गरेको बताइएको छ । आईएसएसका अनुसार, बोर्डको उद्देश्य मस्कलाई उनको ‘उपलब्धि र दृष्टिकोणका कारण’ रोकिराख्ने भए पनि प्रस्तावित योजना ‘आगामी १० वर्षका लागि असाधारण रूपमा उच्च तलब अवसर’ सुनिश्चित गर्छ र भविष्यमा बोर्डले तलब समायोजन गर्न सक्ने क्षमता घटाउँछ । यो योजना सार्वजनिक भएपछि टेस्लाको सेयर मूल्य बढेको थियो किनकि लगानीकर्ताहरूले यसलाई मस्कलाई कम्पनीको रणनीतिमा केन्द्रित रहन प्रोत्साहन दिने तत्वका रूपमा देखे । ‘धेरैजना मानिसहरू एलनसँगै काम गर्न टेस्लामा आउँछन्, त्यसैले उनलाई रोकिराख्नु र प्रेरित गर्नु दीर्घकालमा हाम्रो ट्यालेन्टलाई कायम राख्न र नयाँ आकर्षित गर्न सहयोगी हुनेछ,’ टेस्लाकी निर्देशक क्याथलीन विल्सन–थोम्पसनले शुक्रबार टेस्लाको एक्स ह्यान्डलमा पोस्ट गरिएको भिडियोमा भनिन् । २०१८ को तलब सम्झौताभन्दा फरक यसपालि मस्कलाई आफ्ना सेयरको मताधिकार प्रयोग गर्न अनुमति दिइनेछ, जसले उनलाई टेस्लामा करिब १३.५५ मतदान अधिकार प्रदान गर्छ। त्यो हिस्सेदारी मात्रले पनि प्रस्ताव स्वीकृत गर्न पर्याप्त हुन सक्छ। प्रोक्सी सल्लाहकारले प्रस्तावित योजनाको ‘अत्यधिक विशाल’ आकार, आंशिक लक्ष्य पूरा गरे पनि अत्यधिक तलब दिने संरचना, र पुराना लगानीकर्ताहरूको हिस्सामा हुन सक्ने सम्भावित कमीलाई औंल्याएको छ। आईएसएसले भनेको छ, ‘टेस्ला फेरि पनि लगानी र सुशासनका मौलिक पक्षहरू बुझ्न असफल भएको छ,’ जबकि टेस्लाले एक्समा एक अलग पोस्टमार्फत सबै प्रस्तावका पक्षमा मतदान गर्न आग्रह गर्दै प्रतिक्रिया दिएको छ । ‘आईएसएसका लागि अरूलाई कसरी मतदान गर्ने भनेर भन्न सजिलो छ, जब उनीहरूको कुनै जोखिम छैन,’ टेस्लाले भनेको छ। आईएसएसले मस्कको सेयर–आधारित तलब पुरस्कारको मूल्य १०४ अर्ब डलर आँकलन गरेको छ, जुन टेस्लाको आफ्नै मूल्यांकन (८७.८ अर्ब डलर) भन्दा बढी हो । यो योजना केवल तब लागू हुनेछ जब टेस्लाले बजार पुँजीकरण ८.५ ट्रिलियन डलरसम्म पुर्याउने, २० मिलियन गाडी डेलिभरी गर्ने, १० लाख रोबोट्याक्सी उत्पादन गर्ने र ४०० अर्ब डलर बराबरको समायोजित कोर आम्दानी हासिल गर्ने जस्ता लक्ष्य पूरा गर्छ। मस्कको तलब सम्बन्धी आईएसएसको सिफारिस शुक्रबार जारी गरिएको विस्तृत मतदान सिफारिसहरूको एक हिस्सा हो । अमेरिका–चीनबीचको आर्थिक द्वन्द्वले विश्व बजार अस्थिर बनाउने संकेत टेस्लाको तलब प्याकेजले मस्कलाई असफलतामै अर्बौं कमाइको बाटो मन्सा मुसा : विश्व इतिहासका सबैभन्दा धनी राजा जसको सम्पत्ति आज पनि एलन मस्कभन्दा धेरै  

दशैंपछि तातोपानी नाका नियमित सञ्चालनमा, तिहारका लागि सयौं गाडीमा फलफूल र बिजुलीका सामान भित्रिए

काठमाडौं । नेपाल-चीन जोड्ने तातोपानी नाका दशैंपछि नियमित सञ्चालनमा आएको छ । विगत एक हप्तादेखि नाकाको सञ्चालन सामान्य अवस्थामा रहेको र तिहारलक्षित आयात बढेको तातोपानी भन्सार कार्यालयले जनाएको छ ।  प्रमुख भन्सार अधिकृत राजेन्द्रप्रसाद चुडालका अनुसार दशैंको नवमीको दिनपछि केही समय समस्या आए पनि अहिले भने नाका नियमित रूपमा सञ्चालित छ ।  ‘दशैंपछि त नियमित नै खुलेको छ, कुनै समस्या छैन,’ उनले भने।  अहिले नाकाबाट भित्रिने कुल सामानको करिब ८० प्रतिशत तिहार लक्षित रहेको अधिकृत चुडालले जानकारी दिए। उनका अनुसार चीनबाट मुख्यगरी तिहारमा प्रयोग हुने ड्राइफ्रुट्स, फलफूल, लत्ताकपडा र बिजुलीका झिलिमिली तथा अन्य सामानहरू आयात भइरहेका छन् ।  ३ करोड रुपैयाँको आयात भएको भन्सार कार्यालयले जनाएको छ।‍ नाकामा गाडीको आवागमनमा भने केही उतारचढाव देखिएको छ । कहिले धेरै गाडी आउने र कहिले कम आउने गरेको ती भन्सार प्रमुख अधिकृत चुडालले बताए । आइतबार भने नाकाबाट करिब ३० भन्दा बढी गाडी भित्रिएको उनले जानकारी दिए । ती गाडीमा मुख्यतया फलफूलहरू रहेको बताइएको छ । त्यस्तै, नियमित रूपमा विद्युतीय सवारीसाधन (ईभी) हरू पनि नाकाबाट भित्रिरहेको उनले  जानकारी दिए ।