विकासन्युज

आन्दोलनरत नर्सका समस्या समाधान गर्न सात वटै प्रदेशमा कार्यदल गठन

काठमाडौं । संघर्षरत नर्सहरूको समस्या सम्बोधन गर्न सरकारले सातवटै प्रदेशमा कार्यदल गठन गर्ने भएको छ । आइतबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा बसेको बैठकले सात वटै प्रदेशमा कार्यदल गठन गर्ने निर्णय गरेको हो । नेपाल नर्सिङ संघको संयोजकत्वमा सम्बन्धित प्रदेशको स्वास्थ्य हेर्ने मन्त्रालयका प्रतिनिधि, जिल्ला प्रशासन कार्यालयका प्रतिनिधि र आन्दोलनरत नर्स प्रतिनिधि समेतको कार्यदल ७ वटै प्रदेशमा गठन गर्ने र सो कार्यदलले स्थलगत अनुगमन गरी सुझावसहितको प्रतिवेदन पेश गर्ने निर्णय भएको जनाइएको छ ।  प्रधानमन्त्री सुशीला कार्कीले मन्त्रीस्तरीय निर्णयबाट नर्सिङहरूको सेवा, सुविधाका विषयमा छलफल गर्न समिति गठन गरेकी थिइन् । जसमा प्रधानमन्त्री कार्कीले अल्पकालीन एवं दीर्घकालीन सुझावसहितको कार्यान्वयन योजना प्रतिवेदन ७ दिनभित्र पेस गर्नुपर्ने बताएकी छन् ।  समितिको दोस्रो बैठक कात्तिक ९ गते बिहान ११ बजे बोलाइएको छ । उक्त बैठकमा नेपाल मेडिकल तथा डेन्टल कलेज एसोसिएसन्ससहित निजी क्षेत्रका प्रतिनिधिलाई पनि अनिवार्य उपस्थित हुन समितिले भनेको छ।

नर्सहरूको पारिश्रमिक बढाउन माग गर्दै नर्सिङ संघले गर्यो आन्दोलनको घोषणा

काठमाडौं । निजी अस्पतालमा कार्यरत आन्दोलनरत नर्सहरूको आन्दोलनमा ऐक्यबद्धता जनाउँदै नेपाल नर्सिङ संघले आन्दोलनका कार्यक्रम  घोषणा गरेका छन् । आइतबार  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा आफ्ना मागहरू पुरा पेश गर्दै आन्दोलनका कार्यक्रम घोषणा गरेको हो । आन्दोलन कार्यक्रम अन्तर्गत कार्तिक ४ गते मंगलबारदेखि ११ गते सम्म देश भरिका सम्पूर्ण अस्पताल तथा स्वास्थ्य शैक्षिक संस्थाहरूमा कालो पट्टी बाँधेर काम गर्ने जनाइएको छ । यस्तै १२ गतेदेखि १८ गते सम्म दिनको २ घण्टा अत्यावश्यक सेवा बाहेकका नर्सिङ सेवा बन्द गर्ने, १८ गते सम्म मन्त्रालयले गठन गरेको कार्यदलको प्रतिवेदन अनुसार थप कार्य तालिका प्रकाशित गरिने नर्सिङ संघले जनाएको छ ।  संघले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयबाट पत्राचार भए अनसार निजी अस्पताल तथा शिक्षण संस्थामा कार्यरत नर्सहरूको न्यूनतम पारिश्रमिक र सेवा सुविधा नेपाल सरकार सरह नघट्ने गरी प्रदान गर्नुपर्ने, हाल सम्म श्रमिकको रुपमा हेरिएको दक्ष नर्सिङ जनशक्तिलाई स्वास्थ्य ऐन अन्तर्गत व्यवस्थापन गरिनुपर्ने माग राखेका छन् ।  यति गर्दा पनि अटेरी भएमा कडा आन्दोलन गर्ने नर्सिङ संघका महासचिव देवका आचार्यले बताइन् । उनका अनुसार आइतबार स्वास्थ्य मन्त्रालयमा बसेको बैठक बिना निष्कर्ष टुङ्गिएको छ । निजी अस्पताल तथा मेडिकल सञ्चालकहरू बैठकबाट निस्केपछि छलफल निष्कर्षमा पुग्न सकेन ।

आज पनि बढ्यो सुनको मूल्य

काठमाडौं । स्थानीय बजारमा पहेँलो धातु सुनको मूल्य तोलामा ३०० रुपैयाँ बढेको छ । आज सुन प्रतितोला दुई लाख ५३ हजार ५०० रुपैयाँमा खरिदबिक्री हुने नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । हिजो आइतबार प्रतितोला दुई लाख ५३ हजार २०० रुपैयाँमा किनबेच भएको थियो । त्यस्तै, आज चाँदी प्रतितोला पाँच रुपैयाँले बढेर तीन हजार २८० मा खरिदबिक्री हुनेछ । अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔंस चार हजार २५५ अमेरिकी डलर हाराहारीमा कारोबार भइरहेको छ ।  

डलर कमजोर, सुन बलियो ! विश्व बजार किन सुनतिर दौडिरहेको छ ?

काठमाडौं ।  सुनको मूल्य प्रतिऔंस ‍‍४ हजार ३०० अमेरिकी डलर माथि पुगेको छ । यसले यो वर्षको असाधारण वृद्धिदरलाई ६० प्रतिशतभन्दा बढी पुर्‍याएको छ । यो वृद्धिदर विश्लेषकहरूको अनुमानभन्दा निकै छिटो भएको हो । सन् २०२४ को सुरुमा सुरु भएको वृद्धिदेखि हालसम्म सुनको मूल्य लगभग दोब्बर भइसकेको छ । सुनको मार्केट क्याप ३० ट्रिलियन डलरभन्दा माथि पुगेको छ । विश्व इतिहासमा पहिलो पटक कुनै एसेट (सम्पत्ति) यो स्तरमा पुगेको हो । सुनको वर्चस्व कति बलियो छ भन्ने कुरा यसैबाट बुझ्न सकिन्छ कि यसको मार्केट क्याप अहिले विश्वकै सबैभन्दा मूल्यवान कम्पनी एनभीडीयाको भन्दा सात गुणा बढी छ । सुनको चर्को मूल्यवृद्धि सँगै विभिन्न देशमा सुन किन्नेहरू सुन व्यापारीका पसल अगाडि लामो लाइनमा उभिएका देखिएका छन् । वास्तवमा सुनको मूल्य पछिल्ला केही वर्षदेखि नै लगातार उकालो लागिरहेको छ – यी हालका कारणहरू देखा पर्नु अघि नै । सबैभन्दा ठोस कारण भनेको सुनसँग सम्बन्धित एक्सचेन्ज–ट्रेडेड फन्ड (ईटीएफ) हरूबाट बढ्दो माग हो । ईटीएफ बजारमा कारोबार गर्न मिल्ने यस्तो लगानी कोष हो, जसले लगानीकर्तालाई एकैपटक धेरै सम्पत्तिमा लगानी गर्ने अवसर दिन्छ । यी फन्डहरूले सुन, सेयर वा बन्डजस्ता सम्पत्तिहरूको मूल्य चाल ट्र्याक गर्छन् र सेयर बजारमा कारोबार गर्न सकिन्छ । यसले लगानीकर्ताहरूका लागि सुनजस्ता वस्तुमा लगानी गर्न सजिलो बनाएको छ । २००३ मा पहिलो सुन ईटीएफ सुरु हुनुअघि सामान्य लगानीकर्ताले सुनमा प्रत्यक्ष लगानी गर्न कठिन मानिन्थ्यो । तर अहिले सुन ईटीएफ सजिलै उपलब्ध भएकाले सुनलाई अरू वित्तीय सम्पत्तिजस्तै किनबेच गर्न सकिन्छ । यसले सुनलाई केवल ‘सुरक्षित सम्पत्ति’ का रूपमा होइन, लाभदायक लगानीका रूपमा पनि हेर्ने दृष्टिकोण बदल्दैछ । पहिलो विश्वका धेरै देशका केन्द्रीय बैंकहरूले आफ्ना विदेशी मुद्रासञ्चय (रिजर्भ) मा सुनको हिस्सा बढाइरहेका छन् । त्यसैले पनि सुनको मूल्य बढिरहेको हो । त्यस्तै, अमेरिकी फेडरल रिजर्भले नीतिगत ब्याजदर घटाउने अपेक्षा र अमेरिकी डलर कमजोर हुँदै गएपछि लगानीकर्ताहरू सुरक्षित विकल्पका रूपमा सुनतर्फ आकर्षित भइरहेका छन् । चीन र रसियाको मागले सुन अझै तातियो खुद्रा लगानीकर्ताका अतिरिक्त केही उदाउँदो अर्थतन्त्रहरू— विशेषगरी चीन र रसियाले आफ्नो विदेशी मुद्रा सञ्चिति अमेरिकी डलरबाट सुनमा स्थानान्तरण गर्न थालेका छन् । अन्तर्राष्ट्रिय मुद्राकोष (आईएमएफ) का अनुसार उदाउँदो बजारहरूमा केन्द्रीय बैंकद्वारा सञ्चित सुनको मात्रा २००६ देखि हालसम्म १६१ प्रतिशतले बढेर करिब १० हजार ३०० टन पुगेको छ । तुलनाका लागि १९५५ देखि २००५ सम्म ५० वर्षमा यो वृद्धि केवल ५० प्रतिशत मात्र थियो। शोधहरूले देखाउँछ — यो रूपान्तरणको कारण अमेरिकी डलर, युरो, येन र पाउण्डजस्ता प्रमुख मुद्राहरू प्रयोग गर्ने मुलुकहरूले लगाएका वित्तीय प्रतिबन्धहरू हुन् । रसियाले सन् २००६ देखि नै सुन किन्ने कार्य तीव्र पारेको हो र २०१४ मा क्राइमिया कब्जा गरेपछि अझ बढाएको हो । अहिले त्यसले विश्वकै ठूला सुन भण्डारहरूमध्ये एक राखेको छ। उता चीनले पनि अमेरिकी सरकारी बन्डहरू बिक्री गर्दै सुन किन्ने क्रम तीव्र पारेको छ । यो प्रक्रिया ‘डि–डलराइजेसन’ भनेर चिनिन्छ । यसको उद्देश्य अमेरिकी मुद्रामा निर्भरता घटाउने हो । यसै क्रममा उदीयमान अर्थतन्त्रहरूले पश्चिमी मुद्राहरूमा सम्भावित वित्तीय प्रतिबन्धको जोखिम देखेका छन् । सुनमा यस्तो जोखिम हुँदैन । त्यसैले भविष्यमा वित्तीय प्रतिबन्ध नीतिगत रूपमा कम प्रभावकारी हुन सक्छ । सुन अझै बढ्न सक्छ ? रसिया र चीनको मागका साथै ईटीएफमा लगानीकर्ताको आकर्षणले सुनको मूल्य अझै बढ्न सक्ने सम्भावना छ । यी दुई कारणले दीर्घकालीन रूपमा सुनको माग बलियो बनाउँछन् । मूल्य बढ्दै जाँदा गुमाइने डरको प्रभावले ईटीएफमा अझ बढी लगानी बढाउँछ । विश्व सुन परिषदका अनुसार सेप्टेम्बर महिनामा रेकर्ड तोड्ने गरी ईटीएफमा लगानी भित्रिएको छ । सेप्टेम्बर त्रैमासमा मात्र २६ अर्ब अमेरिकी डलर बराबर सुन ईटीएफमा पुगेको थियो, जबकि २०२५ का पहिलो नौ महिनामा कुल ६४ अर्ब अमेरिकी डलर प्रवाह भएको छ । केन्द्रीय बैंकहरूको माग भने मूल्यभन्दा बढी भू–राजनीतिक कारणले निर्धारण हुने भएकाले यो माग अझै स्थिर रहन्छ । यी सबै संकेतका आधारमा गोल्डम्यान स्याच्सका विश्लेषकहरूले सुनको मूल्य लक्ष्य पुनः संशोधन गर्दै सन् २०२६ को अन्त्यसम्म प्रतिऔंस अमेरिकी डलर ४ हजार ९०० पुग्ने अनुमान गरेका छन् । मस्कले पाउने इतिहासकै ‘सबैभन्दा ठूलो कर्पोरेट तलब प्याकेज’मा आईएसएसको अवरोध अमेरिका–चीनबीचको आर्थिक द्वन्द्वले विश्व बजार अस्थिर बनाउने संकेत  

फोनपेको १९ प्रतिशत लाभांश घोषणा, कात्तिक २४ गते डाक्यो छैटौँ वार्षिक साधारण सभा

काठमाडौं । भुक्तानी प्रणाली सञ्चालक फोनपे पेमेण्ट सर्भिस लिमिटेड (फोन पे)ले लाभांश घोषणा गरेको छ । कम्पनीको सञ्चालक समितिको कात्तिक २ गते बसेको बैठकले गत आर्थिक वर्ष २०८१/८२ को नाफाबाट चुक्ता पुँजी ५० करोड ५० लाख रुपैयाँको १९ प्रतिशतका दरले ९ करोड ७८ लाख ५० हजार रुपैयाँ नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।  लाभांश प्रस्ताव पारित गर्न कम्पनीले कात्तिक २४ गते साँझ ५ बजे काठमाडौंमा छैटौँ वार्षिक साधारण सभा बोलाएको छ । कम्पनीको सभाले गत आर्थिक वर्ष २०८१/८२ को सञ्चालक समितिको प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदन, चालु आव २०८२/८३ को लागि लेखापरिक्षकको नियुक्ति गर्नेछ ।  यस्तै, सभाले स्वतन्त्र सञ्चालक नियुक्ति गर्ने, प्रबन्धपत्र तथा नियमावली संशोधन गर्ने र सर्वसाधारणहरुलाई सेयर निष्काशन (आईपीओ) जारी गर्ने प्रस्ताव पारित गर्नेछ ।

बैठकमा बोलाएर आफूमाथि अपमानजनक व्यवहार गरिएको निजी मेडिकल सञ्चालकहरूको आरोप

काठमाडौं । निजी मेडिकल सञ्चालकहरूले आफूहरूलाई बैठकमा बोलाएर अपमान गरेको बताएका छन् । आन्दोलनरत नर्सहरूको तलब स्केलका विषयमा छलफल गर्न स्वास्थ्य मन्त्रालयमा बैठक आयोजना गरेको र त्यसमा सहभागी भएर छलफल गरिरहेका बेला आफूमाथि बैठकमै अपमान गर्दा बैठक छोडेर भाग्नु परेको बताएका छन् । एशोसियसन अफ मेडिकल डेन्टल कलेज नेपालका अध्यक्ष डा. ज्ञानेन्द्रमान सिंह कार्की र एशोसिएसन अफ प्राइभेट अस्पताल नेपालका वरिष्ठ उपाध्यक्ष हरिप्रसाद रिजालले संयुक्त विज्ञप्ति निकाल्दै आफूमाथि बैठकमा अपमानजनक व्यवहार हुँदा बैठकबाट निस्कनुपरेको बताएका छन् ।  ‘औपचारिक वार्ता भइरहेको क्रममा आआफ्ना तर्फबाट विषयवस्तु राख्दै गर्दा आन्दोलनरत पक्षबाट प्रयोग गरिएका अपमानजनक शब्द, अनुचित व्यवहार तथा 'माफिया' लेखिएका प्लेकार्डहरू प्रदर्शन गरिएकोमा गम्भिर ध्यानाकर्षण भएको छ,’ विज्ञप्तिमा भनिएको छ ।  निजी स्वास्थ्य संस्थाका प्रतिनिधिहरू सधैं संवाद, सहकार्य र सम्मानका आधारमा समस्या समाधान गर्न प्रतिवद्ध रहँदै आएको भन्दै नर्सहरूको योगदानको सम्मान गर्दै मागहरू प्रति सकारात्मक रहेको बताएका छन् । तर, यस्तो अपमानजनक व्यवहारले वार्ताको वातावरण बिगार्नुका साथै आपसी विश्वासमा आघात पुर्याएको विज्ञप्तिमा भनिएको छ ।  विज्ञप्तिमा भनिएको छ, ‘हामी स्पष्ट रूपमा उल्लेख गर्न चाहन्छौ यस्तो अवस्था सिर्जना हुनुमा राज्य पक्षकै कमजोरी र असन्तुलित व्यवस्थापन जिम्मेवार छ । सरकारले समयमै दिगो नीति, समान व्यवहार र स्पष्ट कार्यविधि नल्याएकै कारण यस्तो अप्रिय परिस्थिति उत्पन्न भएको हो। त्यसैले, यस घटनाको सम्पूर्ण जिम्मेवारी राज्यले लिनुपर्छ।’

जेनजी आन्दोलनपछि भारत गएका थिए खड्का, सेनाको सुरक्षामा बसेको अभिव्यक्ति

काठमाडौं । गृहमन्त्री ओमप्रकाश अर्यालले देश छाडेर भागेको भनिएका निवर्तमान ऊर्जामन्त्री दीपक खड्का स्वदेशमै रहेको पाइएको छ । जेनजी आन्दोलनका क्रममा जलाइएको आफ्नै निवास अगाडि पत्रकार सम्मेलन गर्दै उनी सार्वजनिक भएका हुन् ।  गृहमन्त्री अर्यालले एक दैनिक पत्रिकासँग कुरा गर्दै खड्का विदेश भागिसकेको र अरु भाग्य प्रयास गरिरहेको धारणा राखेका थिए । तर, खड्का भिडियोमार्फत् काठमाडौंस्थित आफ्नो जलेको घरबाटै सार्वजनिक भएका हुन् ।  खडकाले सोमबार पत्रकारहरुसँग कुरा गर्दै सरकारसँग नडराउने बताएका छन् । ‘सरकारले मलाई वारेन्ट काटेको छ र ? बाहिर जान रोक लगाएको छ र ?’ पूर्वमन्त्री खड्काले प्रश्न गरे, ‘म भागे भन्न मिल्छ ? झिनामसिना कुराले मलाई छुँदैन । म डराउँदिनँ ।’ उनले जेनजी आन्दोलनका क्रममा २४ भदौका दिन आफू घरमै रहेको पनि जानकारी दिए ।  पूर्वमन्त्री खड्काले घरबाट निस्किएर छिमेकीमा बसेको र राति नेपाली सेनाको ब्यारेकमा बसेको पनि जानकारी दिए । खड्काले तराईबाट आफू सोझै उपचारका लागि भारत गएको पनि बताए । 

अलैँचीको मूल्य पाउँदा किसान उत्साहित, प्रतिमनको ८८ हजारमा बिक्री

फुङ्लिङ । ताप्लेजुङका किसान यतिबेला अलैँची टिप्न व्यस्त छन् । टिपाइको मुख्य याम चलिरहेका बेला उनीहरू दसैँ–तिहारको उत्सवभन्दा बढी बगानमै रमाइरहेका छन् । बिहानदेखि बेलुकीसम्म बगानमै खटिएका किसान धेरैजसो रात पनि भट्टिमै बस्ने थालेका छन् । फक्ताङलुङ गाउँपालिका-६ का किसान रोशन लिम्बूका अनुसार गाईबस्तु भएका किसानका केही सदस्य मात्र बेलुका घर फर्किन्छन् बाँकी सबै बगानमै बास बस्छन् । अलैँची टिप्ने बेला गुमायो भने वर्षभरको मेहनत खेर जाने भएकाले बगानमै व्यस्त भएको उनले बताए । फुङ्लिङ नगरपालिका-७ का किसान खाङडु शेर्पा झन करिब एक महिनादेखि बगानमै बसिरहेका छन् । दसैँ परिवारसहित बगानमै मनाउनु भएको उनले तिहार पनि त्यहीँ मनाउने तयारी गरिरहेका छन् । ‘चालीस वर्षदेखि अलैँचीखेती गरिरहेको छु ।’ उनले भने,’छिमेकी भारतको सिक्किमबाट बिरुवा ल्याएरै सुरु गरेका थियौँ ।’ किसान शेर्पाको ८० रोपनी बगान टिपाइसक्ने योजना छ । तर टिपाइपछि छोडाउने, सुकाउने र भट्टिमा तयारी गर्न एक हप्ताभन्दा बढी समय लाग्ने उनको भनाइ छ । जिल्लामा बेँसी क्षेत्रमा भदौको पहिलो सातादेखि र लेकाली क्षेत्रमा मङ्सिरसम्म अलैँची टिपाइ गर्ने चलन छ । जिल्लाका ९ स्थानीय तहमध्ये फक्ताङलुङ-७ को ओलाङचुङगोलाबाहेक सबै वडामा अलैँचीखेती हुन्छ । हाल करिब चार हजार ४५० हेक्टर क्षेत्रफलमा व्यावसायिक खेती भइरहेको छ । अलैँचीको मूल्य पनि किसानलाई उत्साहित पार्ने खालको छ । आइतबार ताप्लेजुङमा प्रतिमन (४० केजी) खलैँचीको मूल्य रु ८८ हजारमा खरिदबिक्री भइरहेको व्यवसायी कमल बरालले बताए । अलैँचीले रोजगारी पनि सिर्जना गरेको छ । बगानमा काम गर्ने मजदुरले दैनिक ५०० देखि ७०० सम्म ज्याला पाउँछन् । रासस