विकासन्युज

‘नेचर’ र ‘कल्चर’को अद्भुत संगमस्थल ‘मौरिस हर्जोग’ पदमार्ग : ‘जेनजी’ पुस्ताको पहिलो रोजाइ

म्याग्दी । स्नाकोत्तर तहको तेस्रो वर्षमा अध्ययनरत पोखराकी २५ वर्षीया दिवाना सुनुवार यसपालीको दसैँ–तिहारको छुट्टी मनाउन साथीहरुसँगै यहाँस्थित अन्नपूर्ण आधार शिविर र ‘मौरिस हर्जोग’ पदमार्गका यात्रामा निस्किइन् । काभ्रे बनेपाकी अनुषा लामा पनि क्याम्पसका साथीहरुसँगै अन्नपूर्ण आधार शिविर पुगेर फर्किइन् । पोखराकी दिवाना र बनेपाकी अनुषा लामा अन्नपूर्ण गाउँपालिका–४ मा रहेको अन्नपूर्ण आधार शिविरको भ्रमणमा आएका ‘जेनजी’ उमेर समूहका किशोरकिशोरी र युवायुवतिका प्रतिनिधि पात्र हुन् । दशैंलगत्तै मौसममा सुधार आएपछि बिदामा मौरिस हर्जोग पदमार्ग र अन्नपूर्ण आधार शिविरमा अपेक्षा गरेभन्दा धेरै आन्तरिक पर्यटक आएका छन् । दैनिक तीन सय जनाको अनुपातमा अन्नपूर्ण आधार शिविर घुम्न आउने आन्तरिक पर्यटकमध्ये ८० प्रतिशत ‘जेनजी’ पुस्ताका रहेका पञ्चकुण्ड ताल नजिकै होटल सञ्चालन गरेकी नरिमाया गर्बुजा गुरुङले बताए । ‘सामाजिक सञ्जाल र सञ्चार माध्यमको भिडियो, फोटो हेरेर यहाँ आउनेहरु धेरै छन्,’ उनले भने ‘अपेक्षा गरेभन्दा र हाम्रो होटलको क्षमता भन्दा धेरै पर्यटक आउँदा खाना र बसाइ व्यवस्थापन गर्न हम्मेहम्मे भएको छ ।’ विदेशी पर्यटक न्यून मात्रामा छन् । पदमार्गमा प्रौढ र पाका उमेरका पदयात्रीहरु कमै भेटिन्छन् । दश जोड दुई र क्याम्पस तहको अध्ययन गर्ने उमेर समूहका युवायुवतीका समूह तस्बिर, भिडियो बनाएर प्रकृतिसँग रमाइहेको भेटिन्छ । सामाजिक सञ्जाल र सञ्चार माध्यममा देखेको तस्बिर र भिडियोले लोभ्याएर अन्नपूर्ण आधार शिविर घुम्न आएको तनहुँको देवघाटकी सङ्गीता लामाले बताइन् । ‘हिमाल र फेदीमा ठूलो ताल एकै पटक अवलोकन गर्न पाउनु यहाँको मुख्य विशेषता हो,’ उनले भनिन् ‘हाम्रो पुस्तामा नयाँ नयाँ ठाउँ घुमघाम गरेर छुट्टी मनाउने ‘टेण्ड’ बढेको छ ।’ सामाजिक सञ्जाल र प्रविधिमा अभ्यस्त ‘जेनजी’हरु नयाँ, नयाँ ठाउँ घुम्न र प्रकृतिमा रमाउन चाहने पर्वतको जलजला गाउँपालिका–४ का सन्दर्भ आचार्यले बताए । छोटो दुरीमा आधार शिविरमा पुग्न सकिने, हिमाल, ताल, फरक फरक भूगोल, नदीनाला, झरना, वनजङ्गल, वन्यजन्तु र पक्षीहरुको एकै पटकको यात्रामा अवलोकन गर्न पाइने भएकाले जेनीहरुको रोजाइमा अन्नपूर्ण आधार शिविर र मौरिस हर्गोज पदमार्ग परेको उनको भनाइ छ । कालीगण्डकी कोरिडोरको बेनी-जोमसोम-कोरला सडक अन्तर्गत नारच्याङदेखि हुमखोलासम्म २० किलोमिटर कच्ची सडक र १८ किलोमिटर पदमार्गको यात्रा गरेपछि समुद्री सतहदेखि चार हजार एक सय ५० मिटर उचाइमा रहेको अन्नपूर्ण आधार शिविर पुगिन्छ । निलगिरि खोलाको किनारै किनार रहेको पदमार्गमा फुतफुते, छयाली, रातो लगायतका मनमोहक झरना छन् । आकाशे गुफालगायत अनौठा र पृथक भूगोल अवलोकन गर्न सकिन्छ । फुच्चे प्रजातिको गुराँस पाइने यो पदमार्गमा मृग, घोरललगायत वन्यजन्तुको बासस्थान छ । अन्नपूर्ण हिमालको फेदीमा पञ्चकुण्ड ताल छ । निलो ताल र पृष्ठभूमिको हिमाललाई एकै साथ अवलोकन गर्न पाउँदा यात्राको सबै थकान मेटिने र मनमा उमङ्ग छाउने झापाबाट आएका विजय सेनताङले अनुभव सुनाए । समुद्री सतहदेखि चार हजार ५० मिटर उचाइमा रहेको पञ्चकुण्ड तालदेखि एक घण्टा पैदलयात्रा गरेपछि अन्नपूर्ण आधार शिविरमा पुगिन्छ । निलगिरि र अन्नपूर्ण हिमालको फेदीमा समथर जमिनमा आधार शिविर छ । पञ्चकुण्ड ताल नजिकै रहेको कागभुसुन्डी डाँडाको धार्मिक महत्व छ । कागभुसुण्डी ऋषि र पञ्चकुण्ड तालको बारेमा हिन्दू धर्मग्रन्थ पञ्चरामाणयमा उल्लेख छ । सन् १९५० जुन ३ मा पहिलो पटक अन्नपूर्ण हिमाल आरोहण गरेका फ्रान्सका मौरिस हर्जोगको सम्मानमा अन्नपूर्ण गाउँपालिकाले विसं २०७७ मा नारच्याङदेखि आधार शिविर जोड्ने ‘मौरिस हर्जोग’ पदमार्ग घोषणा गरेको थियो । अन्नपूर्ण आरोहण भएको ७५ वर्ष पूरा भएको अवसरमा गत जेठमा गाउँपालिकाले आधार शिविरमा पहिलो आरोहण दलका सदस्यहरुको शालिक र आरोहीहरुको नामावली सहितको विवरण भएको खुल्ला सङ्ग्रहालय स्थापना गरेको छ । आठ हजार मिटरभन्दा अग्लो पहिलो मानव पाइला परेको हुँदा अन्नपूर्णलाई जेठो हिमाल भनिन्छ । विसं २०६८ मा नारच्याङका तेज गुरुङको अगुवाइमा पहिचान भएको मौरिस हर्जोग पदमार्गमा आधारभूत पूर्वाधार तयार भएपछि विसं २०८० देखि सञ्चालन गरिएको थियो । मानव बस्ती नभएको यो पदमार्गमा दुई वर्ष पर्यटक आफैले बन्दोबस्तीका सामान लिएर आधार शिविर भ्रमणमा गए । हिमाल आरोहण गर्ने टोली हेलिकप्टरबाट जाने गरेका थिए । गत वसन्तयामदेखि अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना र गाउँपालिकाबाट अनुमति लिएर नारच्याङका बासिन्दाले हुमखोला, फुतफुते झरना, साँघीखर्क, गुफाफाँट, भुसकेत र पञ्चकुण्डमा अस्थायी संरचना बनाएर ५०/५० जना क्षमताको होटल सुरु गरेका थिए । अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप)मा स्थायी भौतिक संरचना निर्माणका लागि प्रक्रिया पूरा गरेर सरकारको अनुमति लिनुपर्छ । भुसकेतका होटल व्यवसायी माइकल पुनले काठ, त्रिपाल, जस्तापाताको टहरा, तथा टेन्टमा पर्यटकलाई राख्ने गरिएको बताए । ‘एक्यापले पक्की संरचना बनाउन नदिने भएकाले ‘टेन्ट’, टहरामा पाहुना राख्नु परेको हो,’ उनले भने ‘पाहुनाको चापसँगै क्षमता र सुविधा थप गर्न एक्यापले सहज गरिदिनुपर्छ ।’ होटलमा काम गर्नेदेखि भरियाको रुपमा सामान ओसार्न स्थानीयवासीले रोजगारी पाएका छन् । यसअघि वसन्तयाममा आरोही र स्थानीयहरु मात्र जाने आधार शिविरमा अहिले अन्य याममा पनि पर्यटक आउन थालेका छन् । विद्युत् र सञ्चार सुविधाको समस्या छ । अग्रिम बुक गरेर मात्र भ्रमणमा आउन होटल व्यवसायीहरुले अनुरोध गरेका छन् । पाहुनाको बढ्दो चापसँगै फोहरको चुनौती थपिएको छ । काठका अस्थायी झोलुङ्गे पुल र केही ठाउँमा साँघुरा पदमार्गमा आवतजावत गर्न समस्या भएको छ । फोहर व्यवस्थापन र पाहुनाको सहजताका लागि होटलको क्षमता बढाउन गाउँपालिका र एक्यापसँग पहल गरेको पदमार्गका अभियान्ता तेज गुरुङले बताए । अन्नपूर्ण आधार शिविरको भ्रमण गरेर फर्किएका गण्डकी प्रदेशसभा सदस्य हरिबहादुर भण्डारीले तातोपानीदेखि हुमखोलासम्मको सडक स्तरोन्नति, झोलुङ्गे पुल, पदमार्ग र होटल तथा आश्रयस्थलको क्षमता विस्तारका लागि गाउँपालिका, अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना, प्रदेश र सङ्घीय सरकारसँग समन्वय गर्ने जानकारी दिए । उनले भने 'नेचर र कल्चरको अद्भुत संगमस्थल अन्नपूर्ण आधार शिविर र ‘मौरिस हर्जोग’ पदमार्गमा सञ्चार पहुँच पुर्याउन र सरसफाइमा ध्यान दिन जरुरी छ । यसका लागि म सक्दो सहयोग गर्दछु ।' अन्नपूर्ण गाउँपालिकाका अध्यक्ष भारतकुमार पुनले मौरिस हर्जोग पदमार्गको प्रवद्र्धनका लागि महोत्सव, आरोहण दिवस मनाउने, अन्नपूर्ण हिमाल चढ्ने आधार शिविर म्याग्दीको भूगोलमा पर्ने तथ्य स्थापित, एकीकृत गुरुयोजना बनाएर पूर्वाधार निर्माणको कामलाई निरन्तरता दिएको जानकारी दिए । गाउँपालिकाले पदमार्ग, सार्वजनिक शौचालय, खानेपानी व्यवस्थापन, आश्रयस्थल निर्माणको कामलाई निरन्तरता दिएको छ । रासस

कीर्तिपुर क्रिकेट मैदानका फ्लड लाइटका ६ वटै टावर ठड्याइयो

काठमाडौं । त्रिभुवन विश्वविद्यालय (त्रिवि) परिसर कीर्तिपुरमा निर्माणाधीन अन्तर्राष्ट्रियस्तरको क्रिकेट मैदानका फ्लडलाइटका ६ वटै टावर ठड्याइएको छ । फ्लडलाइटको निर्माणव्यवसायीले आइतबार एक दिनमै दुई वटा पोल उठाएपछि ६ वटै पोल ठड्याउने काम सम्पन्न भएको छ । रंगशालामा ४५ मिटर तथा ६० मिटर अग्ला ६ वटा ३०/३० टनका हाइमास्ट लाइट जडान गरिएको हो । पोल नं १, ४, ५ र ६मा फ्लडलाइट आंशिक रुपमा जडान भइसकेको छ । पोल ठड्याइसकिएकाले दुई वटामा अब लाइट राख्ने काम सुरु हुने आयोजना प्रमुख चक्रवर्ती कण्ठले बताए ।  ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र शहरी विकास मन्त्री कुलमान घिसिङले गत २३ असोजमा निर्माणाधीन अन्तर्राष्ट्रिय स्तरको क्रिकेट मैदानको अनुगमन गरेका थिए । दुवै निर्माण व्यवसायीले नेपाल प्रिमियर लिग (एनपिएल) भन्दा अगावै प्यारापेट र फ्लडलाइट जडान सक्ने प्रतिबद्धता जनाएका थिए । परापेटको निर्माण व्यवसायीले काम सम्पन्न गरिसकेको छ । एनपिएल आगामी १ मङ्सिरबाट सुरु हुँदैछ । सरकारले गुरु योजना स्वीकृत गर्दै आयोजनालाई राष्ट्रिय प्राथमिकता निर्धारण गर्दै रङ्गशाला विस्तारका लागि दोस्रो चरणको निर्माण सुरु गर्ने निर्णय गरिसकेको छ । मन्त्रिपरिषद्को ३० असोजको बैठकले शहरी विकास मन्त्रालयको प्रस्तावमा रङ्गशालाको गुरु योजना स्वीकृत गर्दै आयोजनालाई राष्ट्रिय प्राथमिकता निर्धारण गरेको छ । गुरु योजना बमोजिम रङ्गशाला निर्माणका लागि करिब १० अर्ब रुपैयाँ बजेट सुनिश्चित गर्दै दोस्रो चरणको निर्माण अगाडि बढाउने निर्णय गरेको थियो ।

आईएमई लिमिटेडले नगद लाभांश वितरण गर्ने, कात्तिक २५ गते वार्षिक साधारण सभा

काठमाडौं । आईएमई लिमिटेडले नगद लाभांश वितरण गर्ने भएको छ । नगद लाभांश पारित गर्न आईएमई लिमिटेडले वार्षिक साधारण सभा बोलाएको छ ।  कम्पनीको सञ्चालक समितिको असोज ३१ गते बसेको बैठकले कात्तिक २५ गते बिहान ९ बजे काठमाडौंमा २५ औँ वार्षिक साधारण सभा बोलाएको हो । कम्पनीको सभाले सञ्चालक समितिको आर्थिक वर्ष २०८१/८२ को प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदन, साहायक कम्पनी आईएमई खल्तीको आव २०८१/८२ को वित्तीय विवरण स्वीकृत गर्ने  र चालु आव २०८२/८३ को लागि बाह्य लेखापरीक्षक नियुक्ति गरी पारिश्रमिक निर्धारण गर्नेछ । साथै, सभाले सञ्चालक समितिलाई पूर्ण अख्तियारी प्रदान गर्नेछ ।

मेची भन्सारमा लक्ष्यको ९५ प्रतिशत राजस्व असुली

काठमाडौं । मेची भन्सार कार्यालयले आर्थिक वर्ष २०८२/८३ को प्रथम त्रैमासिक अवधिमा लक्ष्यको ९५ प्रतिशत राजस्व असुली गरेको जनाएको छ । पूर्वी नाका काँकडभिट्टा स्थित भन्सार कार्यालयले चालु आवको साउन, भदौ र असोज महिनामा ४ अर्ब ३६ करोड २८ लाख ५५ हजार रुपैयाँ राजस्व सङ्कलन गर्ने लक्ष्य लिएकोमा ४ अर्ब १५ करोड २० लाख ८ हजार रुपैयाँ असुली गर्न सफल भएको कार्यालयका सूचना अधिकारी ईश्वरकुमार हुमागाइँले जानकारी दिए । उनका अनुसार सबैभन्दा बढी राजस्व आयातित सामानको भन्सार महसुलतर्फ १ अर्ब ८० करोड ५३ लाख ७९ हजार ५४९ रुपैयाँ असुली भएको छ । आयातित सामानको मूल्य अभिवृद्धि करतर्फ १ अर्ब ४९ करोड २३ लाख ६४ हजार ३९३ रुपैयाँ, सडक मर्मत तथा सुधार दस्तुरतर्फ १३ करोड १७ लाख १२ हजार रुपैयाँ, आयातको अन्तः शुल्कतर्फ ११ करोड ३ लाख ५९ हजार ९३ रुपैयाँ, निर्यातको भन्सार महसुलतर्फ १० करोड ६२ लाख १० हजार १२४ रुपैयाँ र पूर्वाधार करतर्फ ३९ करोड ५३ लाख ६० हजार रुपैयाँ राजस्व असुली भएको भन्सारको त्रैमासिक प्रगति विवरणमा जनाइएको छ । जेनजी आन्दोलनबाट प्रभावित मानिएको चालु आवको गत असोज महिनामा समेत भन्सारले लक्ष्यभन्दा बढी राजस्व असुली गरेको छ । मासिक लक्ष्यको १०१ प्रतिशत राजस्व असुली गर्न सफलता मिलेको भन्सार कार्यालयले जनाएको छ । कार्यालयले असोज महिनामा १ अर्ब ५० करोड ४९ लाख २४ हजार रुपैयाँ राजस्व असुलीको लक्ष्य लिएको थियो । तर, सो अवधिमा १ अर्ब ५२ करोड २४ लाख ९० हजार रुपैयाँ राजस्व असुली गरेको सूचना अधिकारी हुमागाइँको भनाइ छ ।

भय रहित वातावरणमा निर्वाचन, जेनजीले चाहेको सुशासनको आधारशिला तयार

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले शान्ति, समृद्धि र सुशासनको आकाङ्क्षा पूरा गर्न राष्ट्रिय सङ्कल्पका साथ अघि बढ्न आग्रह गरेकी छिन् । प्रधानमन्त्री कार्कीले तिहार, म्हं पूजा, नेपाल संवतको नयाँ वर्ष ११४६, छठ लगायतका पर्वका अवसरमा आज जारी गरेको शुभकामना सन्देशमा स्वदेश र विदेशमा रहेका सम्पूर्ण  दिदीबहिनी तथा दाजुभाइहरुलाई उक्त शुभकामना व्यक्त गरिन् ।  ‘कठिन परिस्थितिमा एकताबद्ध रहने हाम्रो मौलिक संस्कृति नै हो । तसर्थ कुनै पनि भ्रममा नपरी हामी सबै मिलेर निराशा र अन्धकारको अन्त्य गर्दै नयाँ नेपालको उज्यालो भविष्य निर्माणतर्फ एकजुट होऔंँ,’ शुभकामना सन्देशमा भनिएको छ ।  प्रधानमन्त्री कार्कीले ६ महिनाभित्र स्थिर सरकार दिने प्रतिज्ञाका साथ निर्वाचनको वातावरण बनाउन दत्तचित्त भएर लागि परेको र यसका निम्ति राजनीतिक संवाद र सुरक्षा स्थिति सुधारको काम सन्तोषजनक ढङ्गले अघि बढिरहेको सन्देशमा उल्लेख गरेकी छिन् ।  सन्देशमा भनिएको छ, ‘फागुन २१ गते स्वच्छ, निष्पक्ष र भय रहित वातावरणमा निर्वाचन सम्पन्न गर्ने, सुशासन कायम गर्ने, भ्रष्टाचारविरुद्ध ठोस् कदम चाल्ने र जेनजी आन्दोलनका क्रममा भएका दमन तथा हिंसाको निष्पक्ष छानबिन गर्ने कार्य हाम्रो प्राथमिक जिम्मेवारी हो भन्नेमा हामी स्पष्ट छौँ ।’ यस वर्षको परिवर्तनको असिम आकाङ्क्षा र नयाँ यात्राको जिम्मेवारीसहित अघि बढिरहेको उल्लेख गर्दै सन्देशमा भनिएको छ, ‘भदौको महान् जेनजी आन्दोलनले हामीमाथि जुन भरोसा र दायित्व सुम्पेको छ, त्यसको सम्मान गर्दै सरकारले समावेशी, पारदर्शी र उत्तरदायी शासनको मार्ग अवलम्बन गर्ने दृढ प्रतिबद्धता प्रकट गरेको छ, यसबीचमा जेनजीले चाहेको सुशासन र विकासको आधारशिला तयार पनि भएको छ ।’  दीपावलीको उज्यालोसँगै आउने यी पर्व जीवनमा आशा, विश्वास र समृद्धिका प्रतीक भएको र अन्धकारमाथि उज्यालोको, निराशामाथि आशाको र अन्यायमाथि न्यायको विजयको प्रतीकका रूपमा यी पर्वहरू मनाउने गरेको सन्देशमा छ । 

आज धन धान्य देवी लक्ष्मीको पूजा आराधना गरिँदै, लक्ष्मी आउने बाटोमा पाइला बनाइँदै

काठमाडौं । यमपञ्चक अर्थात् तिहारको तेस्रो दिन आज साँझ ऐश्वर्य, धन धान्य र सम्पन्नताकी देवी लक्ष्मीको पूजा आराधना गरी लक्ष्मीपूजा गरिँदैछ ।  सफासुग्घर र लिपपोत नगरिएको घरमा लक्ष्मीले बास गर्दिनन् भन्ने मान्यताका आधारमा आज बिहानै घर सफा सुग्घर र लिपपोत गरी दीपावली गरेर लक्ष्मीलाई आमन्त्रण गरिन्छ । आज विशेषगरी घरका झ्याल, ढोका, चोटा, कोठा, सङ्घार, कौसी, अटाली र भर्‍याङलगायतका स्थानमा सरसफाइ गरी दीपावली गरिन्छ । लक्ष्मी पूजा गरिने कार्तिक कृष्ण औँसीको रातलाई सुखरात्री पनि भनिन्छ । लक्ष्मी पूजाका लागि आज साँझ आँगनदेखि मूलढोका हुँदै लक्ष्मी स्थापना गरी पूजा गर्ने कोठासम्म गाईको गोबर र रातोमाटोले लिपपोत गरेर चामलको पीठो र अबिरले लक्ष्मीको पाइला बनाइ लक्ष्मी आउने बाटो देखाइन्छ । पाइलैपिच्छे केराको सुत्लो अथवा माटाको पालामा दीप प्रज्ज्वलन गरी झिलीमिली बनाइन्छ । दीपावली गरिसकेपछि पूजा कोठामा दियो, कलश र गणेशसहित लक्ष्मी स्थापना गरेर गरगहना, पैसा, धान, चामल, फलफूल, सेलरोटी र फूलमाला चढाई विधिपूर्वक लक्ष्मीको पूजा गरिन्छ । लक्ष्मीपूजा पछि कन्या केटी र छोरी चेलीलाई लक्ष्मीको प्रतिक मानी पूजा गरी दक्षिणा दिने प्रचलन छ । आज घरमा लक्ष्मीपूजा गरेपछि धनदौलत वा अन्य सामान घरबाहिर पठाए लक्ष्मी बाहिर जान्छिन् भन्ने धार्मिक विश्वास छ । लक्ष्मी पूजा सन्ध्याकालमा गरी मध्यरातमा घरका नारीले नाङ्लो ठटाएर ‘अलक्ष्मी भागोस्, लक्ष्मी र धन धान्यको आगमन होस्’ भनी कामना गर्ने शास्त्रीय विधि रहेको धर्मशास्त्रविद् एवं नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका सदस्य प्रा डा देवमणि भट्टराईले जानकारी दिए ।  आज साँझ युवतीहरू समूह बनाई घरघरमा भैलो खेल्छन् । भगवान् विष्णुले यमपञ्चकको पाँच दिन स्वर्ग, मत्र्य र पाताल तीनै लोकको शासन गर्ने वरदान पाएका बलिराजाले भलो होस् भनी घर घरमा गाउन लगाएको सम्झनामा भैलो खेल्ने गरिएको हो । भलो होस् भन्ने शब्द समयक्रममा अपभ्रंश भई भैलो हुन आएको पनि उनले बताए ।  आज भैलो खेल्न आउनेलाई धान, चामल, फूलमाला, पैसा र सेलरोटी  दिइन्छ । भैलो खेल्न आउनेलाई दिइने दान कात्तिकको दान भएकाले नदिएमा राम्रो नहुने र दिएमा पुण्य प्राप्त हुने धार्मिक विश्वास छ । लक्ष्मी पूजाका अवसरमा आज शहर बजारमा दीपावली गरी झिलीमिली बनाइन्छ । कुल परम्परा अनुसार कतै आजै बिहान गाईको पूजा गर्ने प्रचलन समेत छ । शास्त्रीय रूपमा भने औँसीपछि कार्तिक शुक्ल प्रतिपदा लागेपछि मात्र गाई पूजा गर्नुपर्ने उल्लेख छ ।

तिहारको उज्यालोले रिसलाई बिर्सिएर मेलमिलाप र खुसियालीको वातावरण होस्: उपराष्ट्रपति

काठमाडौं । उपराष्ट्रपति रामसहाय प्रसाद यादवले नेपालको ‘विविधतामा एकता’को भावनालाई चरितार्थ गर्ने तिहार पर्वले विभिन्न क्षेत्र, वर्ग र समुदाय माझ परस्पर विश्वास, सद्भाव र भाइचाराको सम्बन्धलाई थप प्रगाढ बनाउन सहयोग पुग्ने विश्वास व्यक्त गरेका छन् ।  उनले आज आस्था र उल्लासको पर्व तिहार (शुभ दीपावली), २०८२ को पावन अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइमा सुख, शान्ति, समृद्धि र सु-स्वास्थ्यको लागि शुभकामना व्यक्त गर्दै सो विश्वास व्यक्त गरे । उपराष्ट्रपति यादवले भनेका छन्, ‘शुभ दीपावलीले हाम्रो मन, वचन र कर्म प्रतिको पवित्र भावनाहरू आत्मसात गर्न सहयोग पुगोस्, सम्पूर्ण नेपाली एकताबद्ध भई राष्ट्रिय एकता, अखण्डता, सार्वभौमसत्ता र राष्ट्रियतालाई मजबुत बनाउनका लागि यसले उत्प्रेरित गर्न सकोस् ।’ तिहार पर्वको उज्यालोले हाम्रा मनका सम्पूर्ण रिस, राग, वैमनस्यता र द्वेषलाई बिर्सिएर मेलमिलाप र खुसियालीको वातावरण सिर्जना हुने उनको भनाइ छ । समग्रमा पाँच दिनसम्म मनाइने यो पर्वको माध्यमबाट हामीलाई सामूहिकता र एकताको भावनाले बाँधिएको एक सुदृढ समाज निर्माणको प्रेरणा प्राप्त हुने शुभकामना सन्देशमा उल्लेख छ ।

तिहारले सुशासनको मार्गमा अग्रसर रहन प्रेरित गर्न सकोस् : राष्ट्रपति पौडेल

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले तिहार पर्वले नेपालीबीच आपसी सद्भाव, सहिष्णुता, भातृत्व, सुशासन र समृद्धिको भावना अझ अभिवृद्धि गर्न उत्प्रेरितगरोस् भनी कामना गरेका छन् । तिहारको अवसरमा स्वदेश तथा विदेशमा रहेका नेपाली दिदीबहिनी तथा दाजुभाइमा आज एक सन्देश जारी गर्दै उनले सुख, शान्ति, समृद्धि एवं उत्तरोत्तर प्रगतिको कामना गरेका हुन् ।  ‘नेपाल मौलिक संस्कृतिले भरिपूर्ण मुलुक हो । हामीले मनाउने विभिन्न चाड पर्वहरूले विविधतालाई एकतामा बाँध्ने कार्य गर्दै आएको छ । यस्ता पर्वहरूमध्ये तिहार हिन्दुको महान पर्वको रूपमा रहेको छ । यस पर्वले विभिन्न जातजाति, भाषाभाषी र संस्कृतिलाई एकताको सुत्रमा बाँध्ने प्रयत्न गरेको छ,’ राष्ट्रपतिले सन्देशमा भनेका छन् । राष्ट्रपति पौडेलले सांस्कृतिक, पौराणिक, व्यावहारिक, मनोवैज्ञानिक तथा वैज्ञानिक महत्व बोकेको तिहार पर्व उज्यालो र प्रकाशको पर्व पनि भएको उल्लेख गरे । तिहारका माध्यमबाट प्रकट हुने विभिन्न सांस्कृतिक अभ्यासले  मानवीय जीवनमा प्रकाश छरी हामी सबैलाई सत्य, न्याय र सामाजिक सुशासनको मार्गमा अग्रसर रहन प्रेरित गर्न सकोस् भन्ने उनले कामना गरे । तिहार पर्वलाई यमपञ्चक पनि भनिन्छ । यस पर्वमा काग, कुकुर, गाई, गोरु, पर्वत आदिको सम्मान गर्ने, पूजा गर्ने तथा लक्ष्मी पूजाको दिनमा भगवती लक्ष्मीको पूजा आराधना गरिन्छ । भाइटीकाका दिनमा दाजुभाइ तथा दिदीबहिनीबीच आपसमा टीका लगाई सद्भावका साथ पूजा अर्चना गरी हर्षोल्लासका साथ यो पर्व मनाइन्छ । भाइटीका लगाउने, म्ह पूजा गरी आत्म शुद्धि गर्ने जस्ता चलनले प्रेम र स्नेह, सामाजिक एकता र समृद्धि, धर्म, दया र करुणा तथा अन्धकार माथिको प्रकाशको विजयजस्ता सन्देशहरू प्रवाह गरेको देखिने राष्ट्रपतिले सन्देशमा स्पष्ट पारे ।