किसान माइक्रोफाइनान्सले २४ प्रतिशत हकप्रद निष्कासन गर्दै, कहिले देखि बुक क्लोज?
काठमाडौं । किसान माइक्रोफाइनान्स वित्तीय संस्थाले २४ दशमलब २२ प्रतिशत हकप्रद सेयर निष्कासन गर्ने भएको छ । सो प्रयोजनको लागि यस संस्थाले आगामी भदौ ११ गतेदेखि १९ गतेसम्म कम्पनीको बुक क्लोज गर्ने निर्णय गरेको छ । उक्त निर्णय कम्पनीको सञ्चालक समितिको बैठकले गरेको हो । बैठकको निर्णयलाई संस्थाको साधारणसभाले पारित गर्नु पर्ने छ ।
सिद्धार्थ इन्स्योरेन्सको सिईओमा वीरेन्द्र वैदावर नियुक्त
काठमाडौं । सिद्धार्थ इन्स्योरेन्स लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सिईओ) मा वीरेन्द्र वैदवार नियुक्त भएका छन् । कामू सिईओको रुपमा कार्यरत वैदवारलाई भदौ १ गतेको सञ्चालक समिति बैठकले आउदो ४ वर्षका लागि सिईओ बनाएको हो । बैदवार विगत १० वर्षदेखि सोही कम्पनीको कार्यरत छन् । बरिष्ठ प्रबन्धकबाट सो कम्पनीमा प्रवेश गरेका उनी सहायक महाप्रवन्धक हुँदै करिव तीन वर्ष कामु प्रमुख कार्यकारी अधिकृत भएर काम गरेका छन् । उनको नेतृत्वमा कम्पनीको प्रर्फमेन्स धेरै राम्रो देखिएकोे छ । कुल प्रिमियम आम्दानी लगायत धेरै सूचकांकका सिद्धार्थ इन्स्योरेन्स दोस्रो स्थानमा रहेको छ । बैद्यवारले आगामी चार वर्ष सो कम्पनी हाँक्ने अख्तियारी पाएका छन् ।
हिमालयन बैंकको थप पाँच शाखा सञ्चालनमा, शाखा संख्या ४७ पुग्यो
काठमाडौं । हिमालयन बैंक लिमिटेडले देशका विभिन्न पाँच स्थानमा आफ्नो नयाँ शाखाहरु सञ्चालनमा ल्याएको छ । बैंकले लम्की (कैलाली), लमही (दाङ्ग), श्रीनगर (सल्यान), बर्दिवास (महोत्तरी) तथा हिले (धनकुटा)मा आफ्ना नयाँ शाखाहरुबाट कारोवार शुरु गरेको छ । गत साउन २७ गतेदेखि नयाँ शाखाहरु सञ्चालनमा आए पश्चात बैंकको कूल शाखा संख्या ४७ पुगेको छ ।
चितवनमा स्क्रब टाइफस र स्वाइनफ्लु रोगको संक्रमण फैलदै गर्दा फेरी डेंगु रोग देखियो
चितवन । स्क्रब टाइफस र स्वाइनफ्लु रोगको संक्रमण फैलिरहेको चितवन जिल्लामा डेंगु रोगसमेत देखिएको छ । जिल्ला जनस्वास्थ्य कार्यालय चितवनका अनुसार यो आर्थिक वर्ष लागेपछि जिल्लामा एक जना डेंगु रोगको बिरामी देखिएको हो । कार्यालयका किट नियन्त्रण निरीक्षक रामकुमार केसीले २२४ जना बिरामीको परीक्षण गरिएकामा एक जनामा डेंगु लागेको पाइएको बताए । कालिका नगरपालिकास्थित जुटपानीकी १७ वर्षीया एक किशोरीमा रोग देखिएको जनाइएको छ । गएको साउन २७ गते भरतपुर अस्पतालमा डेंगु पुष्टि भएको र उनलाई स्क्रब टाइफससमेत देखिएको जनस्वास्थ्य कार्यालय चितवनका किट नियन्त्रण निरीक्षक केसीले बताए । अहिलेसम्म जिल्लामा ३९१ जनामा गरिएको परीक्षणमा १०५ जनामा स्क्रब टाइफस रोग देखिएको छ । जसमा एक जना महिलाको मृत्यु भएको जनस्वास्थ्य कार्यालय चितवनले जनाएको छ । चितवनको भरतपुर अस्पतालमा २७, रत्ननगर अस्पतालमा चार, चितवन मेडिकल कलेजमा २३, नारायणी सामुदायिक अस्पतालमा ३६ र मनकामना अस्पतालमा दुई जना स्क्रब टाइफसका बिरामी फेला परेका छन् । यस्तै अन्य १३ जना बिरामी अन्य विभिन्न निजी ल्याबमा पत्ता लागेका हुन् । यस्तै स्वाइनफ्लुबाट तीन महिनाको अन्तरालमा १७२ जना बिरामी भएको केसीले जानकारी दिए । स्क्रब टाइफस र डेंगुको लक्षण अत्याधिक ज्वरो आउने, टाउको दुख्ने लगायत लक्षण उस्तै भए पनि स्वाइनफ्लुमा भने रुघाखोकी देखिने चिकित्सकले बताएका छन् । स्क्रब टाइफस माइट नामको सुक्ष्म कीराले टोकेमा सर्छ भने डेंगु एडिस एजेप्टाइ नामको संक्रमित पोथी लामखुट्टेले टोकेमा सर्छ । जिल्लामा अहिले भाइरल ज्वरोसमेत फैलिएकाले सचेत हुन र ज्वरोसँगै लक्षण देखिनेबित्तिकै चिकित्सकको निगरानीमा जान भरतपुर अस्पतालका फिजिसियन डा भोजराज अधिकारीले आग्रह गरेका छन् । रासस
मञ्जुश्री फाइनान्सले ल्यायो १३ प्रतिशत ब्याज दिने विशेष योजना
काठमाडौं ।मञ्जुश्री फाइनान्स लिमिटेडले १३ प्रतिशत ब्याज दिने गरी स्पेशल डिपोजिट अफर ल्याएको छ । फाइनान्सले न्युनतम ६ देखि बढीमा १३ महिनासम्मका लागि मुद्धति निक्षेप योजना ल्याएको हो । निश्चित अवधिका लागि यो योजना ल्याएको फाइनान्सले जनाएको छ ।
सिन्धुलीबाट महोत्तरीलाई ६ लाखको राहत सामग्री प्रदान
गौशाला । जिल्ला दैवी प्रकोप उद्धार समिति सिन्धुलीले महोत्तरी जिल्लाका बाढीपीडितका लागि ६ लाख रुपैयाँ मूल्य बराबरको राहत सामग्री प्रदान गरेको छ । सिन्धुली उद्योग वाणिज्य संघको अगुवाइमा जिल्लाका राजनीतिक दल, विभिन्न संघसंस्था, उद्योगी व्यापारी एवं रेडक्रस सिन्धुलीको सहयोगमा शनिबार जिल्ला दैवी प्रकोप उद्धार समिति सिन्धुलीले महोत्तरीका बाढीपीडितका लागि ६ लाख मूल्य बराबरको राहत सामग्री प्रदान गरेको जिल्ला प्रशासन कार्यालय महोत्तरीले जनाएको छ । जिल्ला दैवी प्रकोप उद्धार समिति सिन्धुलीका अध्यक्ष एवं प्रमुख जिल्ला अधिकारी ताराबहादुर कार्की, सिन्धुली उद्योग वाणिज्य संघका अध्यक्ष दिवेश श्रेष्ठ, रेडक्रस सभापति अशोक श्रेष्ठ, माओवादी केन्द्रका नेता राजन दाहाल, काँग्रेस नेता मानिक ढकाल, एमाले नेता प्रदीप कट्वाल र महिला नेत्री गंगा दाहालसहितको टोलीले महोत्तरीको सदरमुकाम जलेश्वरमा आएर जिल्ला दैवी प्रकोप उद्धार समितिलाई सो राहत हस्तान्तरण गरेका हुन् । उनीहरुले महोत्तरीका बाढीपीडितका लागि चामल ३०० बोरा, दाल ३० बोरा, नून १० बोरा, चिउरा तीन बोरा, भुजा दुई बोरा, तेल ३० कार्टुन, चाउचाउ १८ कार्टुन, प्लाष्टिकको बाल्टिन ३०० वटा, थाल २६ थान, डाडु दुई थान, सुकुल तीन थान, अन्य लत्ताकपडा र जुत्ताचप्पल हस्तान्तरण गरे । त्यस्तै रेडक्रस सिन्धुलीले थप १०५ थान त्रिपाल र स्थानीय बासिन्दाले केही राहत सामग्री संकलन गरेर १ लाख मूल्य बराबरको सरसामान पनि महोत्तरी पठाएका छन् । जिल्ला दैवी प्रकोप उद्धार समिति महोत्तरीका तर्फबाट प्रवक्ता एवं सहायक प्रमुख जिल्ला अधिकारी हेमबहादुर कार्कीले सो राहत प्राप्त गरेका छन्। रासस
मध्यपश्चिमका बाढी प्रभावित चार जिल्लालाई राहत वितरण
नेपालगन्ज । मध्यपश्चिमका बाढी प्रभावित चार जिल्ला बाँके, बर्दिया, दाङ र सुर्खेतमा पहिलो चरणअन्तर्गत राहत वितरणको काम दु्रत गतिमा भइरहेको छ । जिल्लाका बाढी तथा पहिरो पीडित घरपरिवारका सदस्यलाई सरकारको तर्पmबाट जिल्ला दैवी प्रकोप उद्धार समितिमार्पmत नगद, चामल, दाल, नून, तेल, लत्ताकपडा, त्रिपाल लगायतका सामग्री उपलब्ध गराइएको छ । यसका साथै घर भत्केका परिवारका सदस्यलाई सुरक्षित स्थानमा शिविर खडागरी बसोबास समेत मिलाइएको र सो स्थानमा महिलामाथि हुनसक्ने सम्भावित दुर्घटनालाई दृष्टिगत गरी सुरक्षाकर्मीसमेत परिचालन गरिएको क्षेत्रीय प्रहरी कार्यालयले जनाएको छ । जिल्लाका दैवी प्रकोप उद्धार समितिअन्तर्गत गठन गरिएका शिक्षा, स्वास्थ्य तथा सरसफाइ, पुनर्वास, राहत वितरण लगायतका कलस्टर समूहलाई पनि बाढी प्रभावित गाउँमा खटाइएको प्रमुख जिल्ला अधिकारी रमेशकुमार केसीले बताए। यसका यस क्षेत्रमा क्रियाशील सामाजिक तथा पेशागत संघ, संगठनले पनि बाढीपीडितका लागि संकलन गरेको सहयोग जिल्ला दैवी प्रकोप उद्धार समितिलाई उपलब्ध गराउँदै आएको पाइन्छ । केही सामाजिक संस्था भने आफैँ बाढी प्रभावित क्षेत्रमा पुगेर राहत वितरण गरिरहेका छन् ।
कैलाश विकास बैंकले १२ प्रतिशतमा सेयर कर्जा दिने
काठमाडौं । कैलाश विकास बैंकले सस्तोमा सेयर कर्जा दिने योजना सार्वजनिक गरेको छ । बैंकले १२ प्रतिशतमा सेयर कर्जा दिने कैलाश सेयर लोन योजना ल्याएको जानकारी दिएको छ । हाल बजारमा सेयर कर्जा १५ प्रतिशत भन्दा कममा पाइन्न । याे समयमा बैंकले बैंकले १२ प्रतिशतमा सेयर कर्जा दिने याेजना ल्याएकाे छ । बैंकले बजार मूल्यकाे ५० प्रतिशत सम्म एक वर्षाकाे कर्जा दिने योजना ल्याएको हो । प्रक्रिया थालेको २ दिनमा सेयर कर्जा पाइने बैंकले जानकारी दिएको छ ।