विकासन्युज

एनसेलले ल्यायो नयाँ डेटा प्याक सुविधा, यस्ता छन् अफरहरु

काठमाडौं । एनसेलले ग्राहकका लागि नयाँ डेटा प्याक सुविधा ल्याएको छ । यो योजना अन्तर्गत ग्राहकले कुनै पनि डेटा प्याक सुचारु गर्दा जति भोल्युमको प्याक खरिद गरेको हो त्यति नै भोल्युम बराबरको फोरजी डेटा बोनस स्वरुप प्राप्त गर्न सक्नेछन् । कम्पनीका अनुसार यसमा कर सहित न्युनतम २ पैसा प्रति एमबि सम्ममा डेटा सेवा लिन सकिनेछ । नयाँ डेटा प्याक कुनै पनि बेलाप्रयोग गर्न मिल्ने ‘अल टाइम’ प्याक र राति ११ बजे देखि बिहान ५ बजे सम्मको समयमाप्रयोग गर्न मिल्ने ‘नाइट टाइम’ प्याकमा उपलब्ध छन् । यो योजना बुधबार देखि ९० दिनको लागिलागु हुनेछ र फोरजी बोनस ३० दिनकालागि मान्य हुने कम्पनीले जानकारी दिएको छ । अब १ देखि ३० दिन भ्यालिडिटी भएका ३० एमबि देखि १०,००० एमबि सम्मका डेटा प्याकहरु १० रुपैयाँ देखि १५०० रुपैयाँसम्मको प्याक शुल्कमा खरिद गर्न सकिनेछ । आवश्यकताअनुसार कुनै पनि डेटा प्याक सुचारु गर्न सक्ने कम्पनीले जानकारी दिएको छ । कुनै पनि डेटा प्याक सुचारु गर्ने ग्राहकले आफुले खरिद गरेको प्याक बराबरकै फोरजी डेटा पाउने यो योजनाको प्रमुख विषेशता रहेको कम्पनीले जानकारी दिएको छ । यस योजना अन्तर्गतका प्याकहरु ग्राहकले टुजि, थ्रिजी र फोरजी कुनैपनि नेटवर्कमा प्रयोग गर्न सक्छन् भने बोनस स्वरुपप्राप्त थप फोरजी डेटा फोरजी नेटवर्कमा मात्र मान्य हुनेछ । अल टाइम डेटा प्याक अन्तर्गत ग्राहकले १० रुपैयाँमा ३० एमबि डेटा प्राप्तगर्नेछन् र यो प्याक सुचारु गर्नुहुने ग्राहकले ३० एमबि फोरजी डेटा बोनस स्वरुप प्राप्त गर्नेछन् । त्यस्तै अरु अल टाइम डेटा प्याक अन्तर्गत ग्राहकले ३० रुपैयाँमा १०० एमबि, ५० रुपैयाँमा २०० एमबि र ७० रुपैयाँमा २५० एमबि लिन सक्नेछन् र सोहि भोल्युम बराबरको फोरजी डेटाको प्रयोग गर्न मिल्ने कम्पनीले जानकारी दिएको छ । साथै ठूलो भोल्युमको अल टाइम डेटा प्याक अन्तर्गत, ग्राहकले १०० रुपैयाँमा ५०० एमबि, ३०० रुपैयाँमा १२५० एमबि, ५०० रुपैयाँमा २५०० एमबि र १५०० रुपैयाँमा १०००० एमबि डेटा प्राप्तगर्नेछन् र यसका साथै खरिद गरिएको भोल्युम बराबरकै फोरजी डेटा बोनस प्राप्त गर्नेछन् । नाइट भोल्युम प्याक सुचारु गर्ने ग्राहकले सोहि मूल्यमा अल टाइम डेटा प्याक भन्दा चार गुणा बढी डेटा भोल्युमको सेवा लिन सक्नेछन् । यसका साथै नाइट प्याक सुचारु गर्ने ग्राहकले सोही डेटा भोल्युम बाहेक त्यति नै भोल्युमको फोरजी डेटा बोनस पाउनेछन् । जस्तै १५०० रुपैयाँमा ४०००० एमबि नाइट प्याक सुचारु गर्ने ग्राहकले थप ४०००० एमबि फोरजी डेटा बोनस प्राप्तगर्नेछन् र न्युनतम २ पैसा प्रतिएमबिमा डेटा सेवा लिन सक्नेछन् । पहिलो पटक जेठ १८ मा काठमाडौं उपत्यका (नगरकोट सहित), बनेपा र धुलिखेलमा फोरजी सेवा संचालनमा ल्याएपछि एनसेलले तदारुकताका साथ यो सेवा विस्तार गरेको बताएको छ ।

बाढीले चितवनका ४९९ घर क्षति, २१ करोड रुपैयाँ बराबरको नोक्सानी

रत्ननगर । बाढीका कारण चितवन जिल्लामा ४९९ घर पूर्ण क्षति भएको जिल्ला विपद् व्यवस्थापन समितिले जनाएको छ । समितिका स्रोत व्यक्ति हरिबाबु ढकालले आजसम्मको प्राप्त विवरणबारे जानकारी दिँदै ४९९ घर क्षति भएकामध्ये रत्ननगर, राप्ती र माडी नगरपालिका बढी प्रभावित भएका छन् । साउन अन्तिम साताको बाढीले जिल्लाको सात स्थानीय निकायमध्ये रत्ननगर नगरपालिकामा १११, राप्ती नगरपालिकामा १३१ र माडी नगरपालिकामा १२३ घर पूर्ण क्षतिको विवरण संकलन भएको ढकालले बताए । उनले स्थानीय निकायका प्रमुखलाई व्यक्तिगत भेटेर तथा पटकपटक पत्राचार गर्दासमेत सम्पूर्ण क्षतिको विवरण नपठाइदिँदा समस्या भएको दुखेसो गरे। ‘भौतिक तथा आर्थिक क्षतिको विवरण माग गरेको कुनै पनि स्थानीय निकायले पठाएकै छैनन्,’ ढकालले भने, “अलिअलि कृषि, पशु कार्यालयको तथा तटबन्धको क्षतिको तथ्यांक आएको छ, अरु विवरण आउन सकेको छैन ।’ जसका कारण सरकारले दिनुपर्ने प्रतिव्यक्ति ७० रुपैयाँको राहत वितरणसमेत राम्ररी हुन नपाएको र आंशिक मात्रै वितरण भएको उनले बताए । जिल्ला विपद् व्यवस्थापन समितिबाट प्राप्त तथ्यांकमा जिल्लाको कालिका नगरपालिकामा आठ घर, भरतपुर महानगरपालिकामा ८२ घर, माडी नगरपालिकामा १२३ घर, खैरहनी नगरपालिकामा ३६, रत्ननगर नगरपालिकामा १११, राप्तीमा १३१ र इच्छाकामना गाउँपालिकामा आठ घर पूर्ण क्षति भएको विवरण छ । यसपटक स्थानीय निकायमार्फत राहत वितरण भएकाले व्यवस्थापनमा सहज भएको चितवनका प्रमुख जिल्ला अधिकारी तथा विपद् व्यवस्थापन समिति चितवनका संयोजक नारायणप्रसाद भट्टले बताए । उहाँका अनुसार शुरुमा स्थानीय निकाय आफैँले खरिद गरेरसमेत राहत वितरण गरेका थिए । थोत्रा कपडा र जंक फुड वितरणमा रोकेको प्रजिअ भट्टले बताए । कति ठाउँबाट फिर्तासमेत पठाएको उनले बताए । कृषि पशु र तटबन्धको गरी कूल २१ करोड रुपैयाँ नोक्सान  चितवनमा साउन २८ गते आएको वर्षा र बाढीका कारण कृषि पशु र नारायणी तटबन्धनमा झण्डै २१ करोड रुपैयाँको क्षति भएको छ । कृषिमा १५ करोड ६० लाख रुपैयाँ, पशुमा तीन करोड ८७ लाख रुपैयाँ तथा नारायणी तटबन्धनको एक करोड ५० लाख रुपैयाँ क्षति भएको पाइएको छ । अन्य केही सरकारी निकायले क्षतिको क्षेत्रफल मात्रैको विवरण पेश गरेका छन् भने स्थानीय निकायबाट भने क्षतिको विवरण आइनसकेको समितिका स्रोत व्यक्ति तथा जिल्ला प्रशासन कार्यालय चितवनका नायब सुब्बा हरिबाबु ढकालले बताए । जिल्ला कृषि विकास कार्यालय चितवनका प्रमुख सुधीर श्रेष्ठ जिल्लामा एक हजार ७९५ बिगाहा १४ कट्ठामा बाढीले क्षति पु¥याएको र यसबाट किसानलाई रु १५ करोड ६० लाख बढी क्षति भएको बताए । अझै पनि विवरण आउने क्रम रहेको जनाइएको छ । पशु सेवा कार्यालय चितवनका अनुसार सबैभन्दा बढी कुखुरामा क्षति भएको छ । प्राप्त विवरणमा लेयर्स कुखुरा १४ हजार ७५२ वटा र ब्रोइलर कुखुरा ४६ हजार ६३२ वटा मरेको र १४ हजार ७२८ किलो दाना नष्ट भएको जनाइएको छ । कार्यालय प्रमुख डा डिल्लीराम सेढाईंले जिल्ला विपद् व्यवस्थापनमा पेश गर्नुभएको विवरणअनुसार गाई २१, बाख्रा १०७, बंगुर ७९ वटा मरेको र १५ वटा खोर नष्ट भएको जनाइएको छ । स्थानीय निकायबाट विवरण नआउँदा समस्या हुँदै आएको जिल्ला विपद् व्यवस्थापन समितिले जनाएको छ । रासस

कार्यकाल नसकिँदै किन छाड्दैछन बैंकका सीईओहरु ? ३ महिनामा ५ सीईओले दिए राजीनामा

काठमाडौं । गत जेठ २४ गते जनता बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) कुमार लम्सालले कार्यकाल नसकिँदै राजीनामा दिए । उनको राजीनामालाई बैंक सञ्चालक समितिले तत्कालै स्विकृति पनि गर्यो । लम्सालले व्यक्तिगत कारणले राजीनामा दिएको प्रतिक्रिया दिँदै भनेका थिए–‘बैंक राम्रो छ, वित्तीय अवस्था सुधार भईराखेको छ, मैले स्वेच्छाले राजीनामा दिएको हुँ ।’ तर सञ्चालक समितिसंग विवाद बढेपछि उनले राजीनामा गरेकाे बताइन्छ । बैंक अफ काठमाण्डूका सीईओ अजय श्रेष्ठले पनि असार १९ गते राजीनामा गरे । ४ वर्षे कार्यकालका लागि सीईओ नियुक्त भएका उनले १ वर्षमै बैंक छाडे । व्यवसाय बढाउन नसकेको आरोप सञ्चालक समितिले लगाएपछि उनले तत्काल राजीनामा गरे । भदौैं ११ गते सेञ्चुरी कमर्सियल बैंकका सीईओ अनुजमणि तिमल्सिनाले पनि कार्यकाल बाँकी छँदै राजीनामा गरे । सञ्चालक समितिले वाइपास गरेर डेपुटी सीईओमार्फत काम गराउन थालेपछि २ वर्ष कार्यकाल हुदै उनले राजीनामा गरेका छन् । सञ्चालक समितिले उनको राजीनामा स्वीकृत गरेको छैन। उनीपछि कार्यकाल बाँकी रहँदै राजीनामा गर्ने सीईओका सूचिमा ग्लोबल आईएमई बैंकका अनिल ज्ञवाली थपिएका छन् । ज्ञवालीले पनि २ बर्ष कार्यकाल बाँकी छँदै राजीनामा गरेका हुन् । ज्ञवालीले विकासन्युजसंग कुरा गर्दै  अहिले विदामा रहेकाले केही दिनभित्रै राजीनामाको कारण खुलाउने उनले बताए । महालक्ष्मी विकास बैंकका सिइओ रमेश भट्टराईले पनि कार्यकाल छँदै सोमबार राजीनामा गरेका छन् । उनी सञ्चालनमा आउन लागेको महालक्ष्मी इन्स्योरेन्स कम्पनी लिमिटेडको सिइओ बन्ने तयारीमा छन् । पछिल्लो ३ महिनामा बैंकका ५ जना सीईओले कार्यकाल नसकिँदै राजीनामा गरेपछि बैंकिङ क्षेत्रमा नयाँ तरंग उत्पन्न भएको छ । बैंकका सीईओले धमाधम राजीनामा गर्न थालेपछि बैंकिङ क्षेत्र समस्यामा पर्दे गएको हो कि भन्ने शंका पनि उत्पन्न भएको छ । बैंक तथा वित्तीय संस्था ऐन (वाफिया) मा सीईअाेको कार्यकाल २ पटक हुने स्पष्ट व्यवस्था छ । सबैभन्दा बढी सुशासन, पारदर्शी र आर्कषक मानिएको बैंकिङ क्षेत्रका सीईओले कार्यकाल नसकिँदै धमाधम छोड्न थालेपछि बैंकिङ क्षेत्रमा केही समस्या रहेको अनुमान गर्नेलार्इ बल मिलेकाे छ । सिभिल बैंकबाट दुई कार्यकाल पुरा गरेका पूर्वसीईओ किशोर महर्जनले बैंक छाड्नुको मुल कारण सञ्चालक समितिसंग विवाद भएको बताउछन् । विकासन्युजसंग कुरा गर्दे महर्जनले भने “आजको दिनमा बैंकिङ क्षेत्रमा कडा प्रतिस्पर्धा छ र त्यसमाथि हालै लागू भएको वासेल ३ अन्तगत राष्ट्र बैंकले जारी गरेका केही निर्देशनबाट बैंकले व्यवसाय बढाउन नसक्ने र लाभांश पनि दिन नसक्ने अवस्था आएको छ । यसले सीईओको जागिर संकटमा पारेको छ ।” किशोर महर्जन “सञ्चालक समितिले निक्षेप र कर्जा लगानी विस्तार गरेर नाफा बढाउन दवाव दिएका हुन्छन्” उनले भने–“अहिलेको प्रतिस्पर्धी अवस्थामा बैकका सीईओले यो लक्ष्य पुरा गर्न सक्दैन र राजीनामा गर्न बाध्य हुन्छन् ।” २ अर्ब रुपैयाँ पुँजी बढेर ८ अर्ब रुपैयाँ पुर्याउदा सोही अनुसार व्यवसाय नबढेको र त्यसले नाफा पनि थप हुन नसकेपछि सीईओ जागिर छाड्न बाध्य हुने उनको तर्क छ । “५० अर्ब रुपैयाँ निक्षेप भएको बैंकले अहिले शत्प्रतिशत बढाएर १ खर्ब रुपैयाँ पुर्याउन ठूलो चुनौति छ” उनले भने “यो हिसावले सबैं बैकले १० खर्ब रुपैयाँ निक्षेप बढाउनु पर्ने देखिन्छ नेपालको अर्थतन्त्रको आकार अनुसार यो सम्भव पनि छैन ।” पुँजी बढेपछि सोही अनुसार नाफा बढाउन बैंकका सीईओलाई थप चुनौति भएको उनको ठम्याई छ । निक्षेप नबढाई नाफा बढाउन नसकिने उनको भनाई छ । नेपाल राष्ट्र बैंकका सहायक प्रवक्ता राजेन्द्र पण्डित सीईओले राजीनामा गर्नुमा सञ्चालक समितिसंगको विवाद मुल कारण भएको बताउछन् । “सीईओले राजीनामा गर्नु स्वास्थ्य र पारिवारिक लगायत अन्य कारण पनि छन्” उनले भने मुल कारण सञ्चालकसंग विवादले गर्दा राजीनामा गरेको देखिएको छ ।” राष्ट्र बैंकका गभर्नर डा. चिरन्जीवी नेपालले बैंक सेवामुखी भन्दा नाफामुखी भएको आरोप लगाउँदै आएका छन् । बैंकले नाफा भन्दा सेवामा पनि जोड दिनुपर्ने सुझाएका छन् । उनले सञ्चालक समितिले सीईओलाई दवाब दिएर नाफा बढाउन मात्र जोड दिने गरेको बताउँदै आएका छन् । बैंक नाफामुखी भएकोमा उनले कार्यक्रममा असन्तुष्ठि जनाउदै आएका छन् । पछिल्लो समयमा पुँजी वृद्धिपछि सोही अनुसार नाफा बढाउन नसक्दा प्रतिसेयर आम्दानी हालको अवस्था कायम राख्न बैंक तथा वित्तीय संस्थालाई थप चुनौति थपिएको सीईओहरुको भनाई छ । सेयर संख्या बढ्यो तर सोही अनुसार नाफा बढाउन सकिरहेको अवस्था नभएकाले सीईआलाई थप चुनौति देखिएको छ ।      

युनिलिभरका सिइओद्वारा फेयर एण्ड लभ्ली फाउण्डेशनको उद्घाटन, प्लस टुका छात्रालाई छात्रवृत्ति दिने

काठमाण्डौं । युनिलिभर नेपाल लिमिटेडले माइती नेपालसँगको सहकार्यमा १०+ २ का छात्राकालागि हरेक वर्ष छात्रवृत्ति दिने भएको छ । युनिलिभर नेपाली, बेलायती, डच र भारतीय कम्पनी हो । कम्पनीको २५ औं वार्षिक उत्सव मनाउन नेपाल भ्रमणमा रहेका प्रमुख कार्यकारी अधिकृत पौल पोलम्यानले ‘फेयर एण्ड लभ्ली फाउण्डेशन’ को उद्घाटन गरेका हुन् । फाउण्डेसनले १० जना छात्रालाई दुई वर्षका लागि छात्रा वृत्ति दिनेछ । माईती नेपालका महिलाहरुले युनिलिभरको मुल्य श्रृंखलामा रोजगारको अवसर दिने उद्येश्यले व्यवसायिक सिप सम्बन्धी तालिम समेत दिनेछ। नेपाल भ्रमणमा पोलम्यानको साथमा युनिलिभर दक्षिण एशियाका कार्यकारी उपाध्याक्ष सञ्जीव मेहता तथा युनिलिभर नेपालका अध्यक्ष प्रदिप बनर्जी पनि छन् । स्थानिय उत्पादन क्षमता बढाएर मुलुकमा पुँजीगत लगानी वृद्धिलाई कम्पनीले निरन्तरता दिनेमा पोलम्यानले जोड दिए । उनले भने, ‘नेपालमा हाम्रो व्यवसायलाई थप बलियो वनाउन र स्थिर, प्रतिस्पर्धात्मक, नाफामुलक र जिम्मेवारीयुक्त वृद्धिलाई निरन्तरता दिने हाम्रो प्रयास हो ।’ पोलम्यानले युनिलिभरको दिगो विकासको मोडल मुल्यलाई मुल्यसँग समायोजन गर्नु  रहेको बताए । समाजका लागि मनकारी ढंगले खर्च गरेर सामाजिक तथा मौद्रिक सफलता प्राप्त गर्नु उद्येश्य रहेको उनले बताए । उनले भने, ‘हामीले हाम्रा शेयर धनीहरुका लागि मात्र हैन की हाम्रा सवै सरोकारवालाहरु जो हाम्रो मुल्य श्रृंखलामा आवद्ध छन् ती सवैका लागि अझै सुन्दर र अझै बढी उज्यालो भोलीको श्रृजना गर्न प्रयासरत छौं ।’ उनले आफ्नो बसाइको क्रममा प्रधानमन्त्री शेरबहादुर देउवालाई भेट्ने र माईती नेपालको पनि भ्रमण गर्ने बताएका छन् ।

सिटिजन्स बैंकद्वारा बाढीपीडितलाई ५ लाख सहयोग

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले देशकोे बाढी प्रभावित क्षेत्रमा पीिडतलाई आर्थिक सहयोग गरेको छ । बैंकले ११ लाख रुपैयाँ सहायता प्रधानमन्त्री दैवी प्रकोप उद्घार कोषमा प्रदान गरेको छ । यसैको निरन्तरता स्वरूप बाढी पिडितहरुको उद्दार तथा राहतको उदेश्यले सामाजिक उतरदायीत्व कार्यक्रम अन्तर्गत बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत बोधराज देवकोटाले महोतरीकाे मटीहानीका बाढी पीडितहरुलाई ५ लाख रूपैयाँ बराबरको त्रिपाल तथा खाद्यन्न सामग्री वितरण गरेका छन् । बैंकले ५ सय परिवारलाई १ हजार बराबरको त्रीपाल तथा खाद्यन्न सामग्री उपलब्ध गराएको छ । वडा कार्यालय र स्थानीय प्रशाशनको समन्वयमा राहत वितरण कार्यक्रम गरेको थियो । यस अघि पनि बैंकले भूकम्पका पीडितलाई  १ करोड सो कोषमा प्रदान गरेको थियो । बैंकले सामाजिक उत्तरदायित्व अन्तर्गत स्वास्थ, खेलकुद, शिक्षालगायतका क्षेत्रमा सहयोग पु¥याउदै आएको र भविश्यमा समेत यस्तो सेवा र सहयोगको काममा निरन्तरता दिने  देवकोटाले जानकारी दिए ।  

ललितपुर मोबाइल एक्स्पोमा उपभोक्ताको भीड, छुट र उपहारको आकर्षण

ललितपुर । ललितपुर मलमा भदौ १६ गतेदेखि दशैंतिहारको अवसर पारेर चलिरहेको ललितपुर मोबाइल एक्स्पोमा उपभोक्ताको बाक्लो भीड लागेको छ  । मोबाइलमा आकर्षक छुटदेखि उपहारका कारण मेलामा भीड बढेको हो । एक्सपोमा सामसङ, हुवावे, जियोनी, कलर्स, आईफोन, एचटिसी, नोकिया , डिटिसी, ओवीआई, लाभा, सोनी, वान प्लस लगायत ब्राण्डका फोनहरु उपलब्ध छन् । कम्पनीले मोबाइल एक्स्पोको अवसर पारेर विभिन्न ब्राण्डका मोबाइल फोनहरुमा छुट दिईरहेको छ । उपभोक्ताहरुले मोबाइल खरिद गर्दा ह्वावेको जीआर ५ र पी ९ लाइटमा २५ प्रतिशतसम्मको छुट, सोनीको एक्सपेरिया एक्सजेडमा ३० प्रतिशतसम्मको छुट सिधै प्राप्त गर्ने छन् । त्यसैगरि, मोबाइल कम्प्लेक्समा एक्स्पो अवधिभर लाभाको लाभा एक्स वान प्लस, लाभा एक्स ८, लाभा पिक्सेल भी२ प्लस, लाभा ८६०, लाभा ग्राण्ड २, लाभा ग्राण्ड २ सी फोनहरुमा पनि २५ प्रतिशत नगद छुट दिईएको जानकारी दिएको छ । मेलामा हात खालि नजाने उपहारहरु पनि प्रत्येक मोबाइल खरिदमा राखिएको छ । जसअन्तर्गत हरेक मोबाइलको खरिदमा हात खाली नजाने योजनामा पावर ब्यांक, मेमोरी कार्ड, ब्लूतुथ हेडफोन, प्रिन्टेड कप, सेल्फी स्टिक, हेडफोन, स्पीकर प्राप्त गर्न सक्नेछन् । कम्प्लेक्सले ग्राहकहरुलाई सस्तो मूल्यमा विभिन्न ब्राण्डका फोनहरु बिक्री गरिरहेको अध्यक्ष पुरुषोत्तम बस्नेतले जानकारी दिए ।“हामीले सबैभन्दा सस्तो मुल्यमा स्मार्टफोनहरु बिक्री गरिरहेका छाैँ, जसले गर्दा हाम्रो स्टक सकिएको छ । अझै ग्राहकहरुले गुणस्तरीय र ब्राण्डेड मोबाइल सुपथ मुल्यमा किनिरहेका छन् । सबैलाई यो मौकाको फाईदा उठाउन हामी आग्रह गर्दछौं,” अध्यक्ष बस्नेतले भने ।  

भदौ २९ गतेदेखि राजधानीमा कृषि सम्बन्धी मेला, फुलदेखि नगदेबालीसम्म प्रदर्शनीमा

काठमाडौं । भदौ २९ गतेदेखि राजधानीको प्रज्ञाभवनमा कृषि सम्बन्धी मेला ‘एग्रो ट्रेड एण्ड इन्भेस्टमेन्ट २०१७’ आयोजना हुने भएको छ । कृषि तथा पशुपंक्षी सेवा विभागको प्रायोजनमा नेपाल एग्री बिजनेश इन्नोभेसन सेन्टर, नेपाल डेरी एशोसिएशन लगायतका संस्थाको सहकार्यमा हाउस अफ राजकर्निकारले आयोजना गरेको हो । मेला तीन दिनसम्म चल्नेछ । कृषितर्फका लगानीकर्ता, व्यवसायी र किसान सबैलाई एकैछाना मुनि प्राविधि एवं आर्थिक जानकारी दिने तथा कृषिसम्बन्धी उत्पादन प्रवर्द्धन गर्ने उद्येश्य रहेको आयोजकले जानकारी दिएका छन् ।मेलामा १२० जना प्रदर्शकको उपस्थितीमा दुई सय जना सभामा सहभागी हुने अपेक्षा रहेको आयोजकले बताएका छन् । मेलाले नयाँ लगानीकर्ता र व्यवसायीलाई कृषि तर्फ आकर्षित गर्ने आयोजकले बताएका छन् । मेलामा पुष्प, पोल्ट्री, पशुपंक्षी, नगदेबाली लगायतका कृषि सामग्री प्रदर्शनमा राख्ने आयोजकले जानकारी दिएको छ ।

‘निजी क्षेत्रबीच सहजीकरण गर्न चीन तयार छ’ : चिनियाँ राजदूत हुङ

काठमाडौं । नेपालका लागि चिनियाँ राजदूत यु होङले नेपाल-चीनको आर्थिक क्षेत्रमा निजी क्षेत्रबीच सहजीकरण गर्न सहयोग गर्ने बताएकी िछन् । मंगलबार चौधरी ग्रुपको अवलोकन गर्दै उनले नेपाल-चीनबीचको आर्थिक सम्बन्ध थप बलियो बन्दै गएकोमा खुसी ब्यक्त गरीन । राजदूत होङले चीनसँगको व्यवासायिक कारोबारमा कुनै समस्या छ कि भन्ने चासो समेत राखेका थिइन ।  नेपाल र चीनका विभिन्न शहरहरूबीच सिधा हवाई सम्पर्क कायम हुनुले दुई देशबीचको आर्थिक सम्वन्ध पनि विस्तार हुदै जाने उनले विश्वास  ब्यक्त गरेकी िछन् । चौधरी ग्रुपका अध्यक्ष विनोदकुमार चौधरीले नेपालका ठूला अायोजनामा लगानीका लागि चिनियाँ लगानीकर्तालाई प्रोत्साहित गर्न राजदूत होङसँग आग्रह  गरे। चिनियाँ राजदूतावासका उच्चपदस्थ अधिकारीहरुलाई स्वागत गर्दै चौधरीले चिनियाँ लगानीकर्ताका लागि नेपालमा लगानी गर्ने यो उपयुक्त समय रहेकोपनि जोड दिए । ‘पक्कै पनि नेपालमा चिनियाँ लगानी बृद्धि भईरहेको छ । तर,जलस्रोत, पूर्वाधार र वित्तिय क्षेत्रका वृहत परियोजनामा चिनियाँ लगानीकर्तालाई प्रोत्साहित गर्नु जरुरी छ’, चौधरीले भने, ‘नेपाल चिनियाँ लगानीकर्तालाई स्वागत गर्न तयार छ ।’ नेपालका वृहत परियोजनामा चिनियाँ र नेपाली लगानीकर्ताबीचको साझेदारी प्रभावकारी हुने धारणा राख्दै चौधरीले त्यसका लागि दुवै देशका सरकारले आ–आफ्नो देशका निजी क्षेत्रलाई प्रोत्साहित गर्नुपर्ने बताए । नेपालमा लगानीको वातावरण कमजोर रहे पनि लगानीपछिको प्रतिफल अन्य राष्ट्रहरूको भन्दा उच्च रहेकाले विश्वभर लगानी फैलाई रहेका चिनियाँ लगानीकर्ताका लागि छिमेकी देश नेपाल आकर्षक गन्तब्य बन्ने उनले बताए ।