विकासन्युज

११ खानीको अन्वेषण र उत्खनन गर्न २९ कम्पनीको आवेदन, तिहार अगावै कम्पनी छनौट

काठमाडौं । नेपालमा रहेका बिभिन्न ११ वटा खानीहरुको उत्खनन तथा अन्वेषणका लागि २९ वटा कम्पनीहरुको आवेदन परेको छ । खानी तथा भुगर्भ विभागका अनुसार १५ वटा खानीको अन्वेषण तथा उत्खननका लागि आव्हान गरिएको ग्लोबल टेण्डरमा २ विदेशी सहित २९ वटा कम्प्नीले ११ वटा खानीका लागि प्रस्ताव पेश गरेका हुन् । तिहार अगावै ती कम्पनीहरुबाट सर्ट लिस्टिङ गरिसक्ने खानी तथा भुगर्भ विभागका उप महानिर्देशक राम प्रसाद घिमिरेले बताए । घिमिरेका अनुसार चुन, फलाम र तामाका खानीहरुको अन्वेषण तथा उत्खनन गर्न लागिएको हो । तीमध्ये सुर्खेतको लखरपाटाको चुनढुंगा र काभ्रे र स्याङजाको चुन खानीको उत्खननका लागि आव्हान गरिएको छ । अन्य फलाम तथा तामा खानीहरुको भने अन्वेषण गर्न लागिएको हो । विभागले गत चैत १ गते ग्लोबल टेण्डर आव्हान गरेको थियो । मकवानपुर र धादिङको लिड तथा जस्ता, तनहुँको फलाम, मकवानपुरकै तामा, धादिङकै तामा, उदयपुरको तामा, बैतडीको चुन, पाल्पाको चुन खानीको अन्वेषणका लागि आव्हान गरेको हो ।

बैंक घोटाला गरेको आशंकामा १३ जना पक्राउ

इटहरी ।  धरान उपमहानगरपालिकास्थित नेपाल बैंकमा सुनलगायतका वस्तु धितो राखेर कर्जा लिने ऋणी र बैंकमा कार्यरत कर्मचारीसहित १३ जनालाई पक्राउ गरिएको छ । केन्द्रीय अनुसन्धान ब्यूरो र धरान प्रहरीको संयुक्त टोलीले बैंक कारोबारमा रु १५ करोड भन्दा बढीको ठगी गरेको उजुरीको आधारमा उनीहरुलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । सुन धितो राखेर कर्जा लिने र कर्जा दिने कार्यमा संलग्न कर्मचारीमा होमबहादुर भट्टराई, शंकर न्यौपाने, पुष्पराज घिमिरे, रामकिशोर मेहता, सानुबाबु श्रेष्ठ र विद्या तामाङ पक्राउ परेका छन् । त्यस्तै, सुन व्यापारी एवं ऋणी माधव रिजाल, सङ्गीत रसाइली, लालबहादुर विक, सन्तोष रसाइली, सुनिल विक, ज्ञानेन्द्र पुर्कोटी र लीजा थापामगरलाई पनि पक्राउ गरिएको इलाका प्रहरी कार्यालय धरानका प्रहरी नायब उपरीक्षक रामेश्वर पौडेलले जानकारी दिए । बैंक घोटाला प्रकरणमा पक्राउ परेका सबैलाई उच्च अदालत विराटनगरबाट म्याद थप गराई अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय धरानको प्रहरी हिरासतमा राखिएको छ ।

रासयनशास्त्रतर्फ ३ बैज्ञानिकलाई ११ लाख डलरको नोवेल पुरस्कार

स्टकहोम, स्वीडेन । रसायनशास्त्र विधातर्फको नोबेल पुरस्कार तीन जना बैज्ञानिकलाई दिइने भएको छ । स्वीट्जरल्याण्डका ज्याक्येस डुबोसेट, अमेरिकाका र वेलायतका जोएसिम फ्र्यांक र रिचार्ड हेन्डर्सनलाई संयुक्त रुपमा ‘नोबेल केमिस्ट्रि प्राइज’बाट पुरस्कृत गरिएको हो । तीन बैज्ञानिकले रसायनशास्त्र विधामा निरन्तर अनुसन्धान र नवीन आविस्कार गरे वापत नोवेल पुरस्कार पाएका हुन् । पुरस्कार राशी करिब ११ लाख अमेरिकी डलर छ । शरीरका अति सुक्ष्म र जमेका जीवाणु पत्ता लगाउने तथा तिनीहरुका गतिविधि अवलोकन गर्ने अत्याधुनिक प्रबिधियुक्त नवीनतम बैज्ञानिक उपकरणः क्रायो–इलेक्ट्रोन माइस्क्रोस्कोपिको आविष्कार र निर्माण गरे बापत यो पुरस्कार दिइएको नोबेल पुरस्कार समितिले जनाएको छ । यस्तै २०१७ का लागि चिकित्साशास्त्रतर्फको नोबेल पुरस्कार तीन जना अमेरिकी बैज्ञानिकलाई संयुक्त रुपमा प्रदान गर्ने निर्णय गरिएको छ । मानव शरीर तथा जैविकले बिहानदेखि रातिसम्म अथवा विभिन्न समयमा के कस्तो प्रतिक्रिया दिन्छ र समयअनुसारको चाल शरीरले कसरी थाहा पाउछ भन्ने बारेको अनुुसन्धान गरेबापत यो पुरस्कार दिइएको हो ।

धरानमा विमानस्थल बनाउने योजना अगाडि बढेन

इनरुवा । धरान उपमहानगरपालिकामा १४ वर्ष अगाडि विमानस्थल निर्माण गर्ने कार्यलाई प्राथमिकताका साथ अगाडि बढाएको भएपनि त्यसले मूर्त रुप लिनसकेको छैन । सरोकार राख्ने निकायको उदासीनका कारण विमानस्थल बनाउने योजना काजगमै सीमित भएको हो । चौध वर्षदेखि धरान १७ डाँडाघोपामा ट्विनअटर विमान मात्र उडान र अवतरण गर्नसक्ने १८ विघा क्षेत्रफलमा विमानस्थल निर्माण गर्न अध्ययन भएको थियो । विमानस्थल निर्माण गर्न तयार रहेको यति इन कर्पोरेट प्रालिलाई ६ महिनाभित्र विमानस्थल नबने फिर्ता गर्ने सहमतिमा ७ विघा जग्गा स्थानीयवासीले सस्तो मूल्यमा बिक्री गरेका थिए भने १८ विघामध्ये बाँकी जग्गा नगरपालिकाले उपलब्ध गराउने भनेको थियो । अहिले एटिआर ४२ सम्मको विमान उडान र अवतरणका लागि करिब ९२ विघा जग्गा आवश्यक पर्ने अध्ययनले देखाएको छ । प्रतिवेदन अनुसार विमानस्थलका लागि जग्गा उपलब्ध गराउन नसक्ने देखिएपछि जग्गादाताहरुले जग्गा फिर्ता गर्नुपर्ने माग गर्न थालेको जग्गाधनी जीवन भट्टराईले बताए । प्रतिवेदनमा उल्लेख भए अनुसारको जग्गा उपलब्ध गराउन ठूलै सुकुम्बासी बस्ती उठाउनु पर्ने हुन्छ । यता स्थानीय तहको निर्वाचनमा विमानस्थल निर्माणलाई प्रमुख एजेण्डा बनाएको दलहरुले प्रदेश र संघको निर्वाचनका कारण अहिले नाम लिइरहेका छैनन् । जग्गा प्राप्तिमा कुनै समस्या नरहेकाले विमानस्थल बन्ने धरान उपमहानगरपालिकाका कार्यकारी अधिकृत विष्णुप्रसाद कोइरालाले बताए। विगत १४ वर्ष देखि जग्गादाताले न त विमानस्थलको सुविधा लिन पाएका छन् न त जग्गा उपभोग गर्न नै पाएका छन् । रासस

स्मार्ट काठमाडौंलाई तारको चुनौती, अघि बढेन व्यवस्थापन योजना

काठमाडौं । स्मार्ट काठमाडौं बनाउने अभियानमा अव्यवस्थित तारहरुले चुनौती थपिदिएको छ । राजधानीका सडकमा रहेका पोलहरुमा रहेका टेलिफोन, केबल, इन्टरनेट र विद्युतका तारहरुले स्मार्ट काठमाडौं निर्माणको अभियानमा ठुलै चुनौती थपिदिएका हुन् । स्थानीय तहको निर्वाचनमा काठमाडौं महानगरपालिकालाई स्मार्ट सीटी बनाउने योजना अधिकांश दलका घोषणा पत्रमा समेटिएको थियो । तर निर्वाचित जनप्रतिनिधीले त्यसमा अगुवाई गर्न सकेनन् । मोहन बस्नेत सञ्चार मन्त्री भएपछि उनले साउन ३१ गते मन्त्रालयमै सर्वपक्षिय बैठक डाकेर उपत्यकामा अव्यवस्थित तारहरुको व्यवस्थापन गर्ने योजना अघि सारेका थिए । मन्त्री बस्नेतकै उपस्थितीमा नेपाल दुर सञ्चार प्राधिकरण, नेपाल टेलिकम, केबल टेलिभिजन प्रसारक महासंघ, इन्टर सेवा प्रदायकहरुको संस्थाका प्रतिनिधी, काठमाडौं महानगरपालिकाका प्रतिनिधी र शहरी विकास मन्त्रालयका सचिवले अव्यवस्थित तार हटाउने उद्घोष गरेका थिए । ‘हामीले १५ दिनभित्रै त्रिपुरेश्वर–कलंकी सडकमा रहेका अव्यवस्थित तार हटाउने घोषणा गरेका थियौं तर सडक विस्तारको काम नसकिएकाले त्यहाँ काम अघि बढाउन सकिएन, अहिले माइतीघर–बालुवाटारको काम अघि बढाएका छौं’, सञ्चार मन्त्रालयका सह सचिव प्रेम कुमार श्रेष्ठले भने । श्रेष्ठका अनुसार तार हटाउने काम केलब टेलिभिजन प्रसारक संघ र इन्टरनेट सेवा प्रदायकहरुले गर्ने छन् । काटिएको तारको व्यवस्थापन काठमाडौं महानगरपालिकाले गर्नेछ र सो वापतको सम्पुर्ण रकम नेपाल दुर सञ्चार प्राधिकरणले ग्रामिण दुर सञ्चार विकास कोषबाट उपलब्ध गराउनेछ । सोही बैठकले १५ दिन भित्रै सम्बन्धित कम्पनीले आफ्नो तारमा लोगो राख्नुपर्ने सहमति पनि भएको थियो । तर अहिलेसम्म कुनै पनि कम्पनीले लोगो टाँस्ने काम गरेका छैनन् । राजधानीमा अब बन्ने नयाँ सडकमा भने तारहरुको उचित व्यवस्थान गर्ने योजना बनेको छ ।

एकैदिन चार कम्पनीको सेयर मूल्य समायोजन, हेरौँ कुन कुनको भयो?

काठमाडौं । नेपाल स्टक एक्स्चेञ्जमा एकैदिन चार कम्पनीको सेयर मूल्य समायोजन भएको छ । नेप्सेले बुधबार एकैदिन नेपाल इन्भेष्टमेन्ट बैंक प्रमोटर सेयर, बरुण हाइड्रोपावर कम्पनी र नेपाल इन्भेन्टमेन्ट बैंकको बोनस सेयर पछिको र नेपाल कम्यूनिटी डेभलपमेन्ट बैंकको हकप्रद सेयर पछिको सेयर मूल्य समायोजन गरेको हो । नेप्सेले नेपाल इन्भेष्टमेन्ट बैंक प्रमोटर सेयरकोे १५ प्रतिशत बोनस पछिको सेयर मूल्य समायोजन गरेको छ । कम्पनीको समायोजन पछिको सेयर मूल्य प्रतिकित्ता ५८० रुपैयाँ तोकिएको छ । त्यस्तै, नेप्सेले बरुण हाइड्रोपावर कम्पनीको पनि ५ प्रतिशत बोनस पछिको सेयर मूल्य समायोजन गरेको छ । कम्पनीको समायोजन पछिको सेयर मूल्य प्रतिकित्ता २०९ रुपैयाँ तोकिएको छ । जसका लागि आधार मूल्य १५४ रुपैयाँ रहने भएको छ । त्यसैगरी, नेप्सेले नेपाल इन्भेन्टमेन्ट बैंकको पनि १५ प्रतिशत बोनस पछिको सेयर मूल्य समायोजन गरेको छ । कम्पनीको समायोजन पछिको सेयर मूल्य प्रतिकित्ता ६६४ रुपैयाँ तोकिएको छ । जसका लागि आधार मूल्य ७५८ रुपैयाँ रहने भएको छ । त्यस्तै, नेपाल कम्यूनिटीको १२० प्रतिशत हकप्रद पछिको सेयर मूल्य समायोजन गरेको छ । कम्पनीको समायोजन पछिको सेयर मूल्य प्रतिकित्ता १९६ रुपैयाँ तोकिएको छ । जसका लागि आधार मूल्य २२८ रुपैयाँ रहने भएको छ ।

सरकारले निर्वाचनलाई प्रतिकुल असर पार्ने काम गरे, बाध्य भएर अर्को कदम चाल्छौं ः उपाध्यक्ष रावल

काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष भीमबहादुर रावलले सरकार परिवर्तन आफूहरुको प्राथमिकतामा नभएको स्पष्ट पारेका छन् । बुधबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै उपाध्यक्ष रावलले तोकिएकै समयमा निर्वाचन सम्पन्न गर्नको लागि सरकारले गम्भिर भएर काम गर्नुपर्ने बताए । उनले भने,‘हामीले अहिले सरकार फेरबदल गर्ने बारे कुनै रुची राखेको छैन, यो सरकारको काम पनि चुनाव गराउनु नै हो, त्यसैले हामी अहिले सरकार परिवर्तन गर्दैनौं ।’ साक्षात्कारमा बोल्दै रावलले यदि आफूहरुको एकता प्रयास र चुनावी तालमेलका कारण कांग्रेसमा आएको छट्पटीले निर्वाचनमा प्रतिकुल असर परे आफूहरुले बाध्य भएर पाईला चाल्ने बताए । उनले भने,‘तर हाम्रो उद्देश्य र लक्ष्य अहिले सरकारतिर छैन, चुनावमा हामी केन्द्रित भएका छौं ।’उनले वर्तमान सरकारले घोषित मिति भित्रै ईमानदारितापूर्वक आफ्नो काम पूरा गरोस भन्दै त्यसको लागि सहयोग गर्न आफूहरु तयार रहेको स्पष्ट पारे । देशलाई राजनीतिक स्थायित्वतर्फ लैजानको लागि आफूहरुको तालमेल र पार्टी एकताको प्रयास सुरु भएको स्पष्ट पारेका छन् । रावलले भने,‘देशमा छोटो–छोटो समयमा हुने सरकार परिवर्तनको कारणले राजनीतिक स्थायित्व हाँसिल हुन सकेको छैन, त्यसैले हामीले त्यसलाई चिर्नको लागि र त्यो अन्यौलता समाप्त पार्नको लागि वामएकताको थालनी गरेका छौँ ।’ रावलले तीन पार्टीवीचको चुनावी तालमेल र पार्टी एकताको प्रयासबाट अचम्मित बनेर कांग्रेसले अनिष्टको संज्ञाको दिन हाँस्यस्पद भएको बताए । उनले भने,‘एउटै दर्शन, विचार र सिद्धात भएका हामीहरु िवचकै सहकार्यबाट कोही किन यसरी छट्पटीमा पर्नुभएको होला?मलाई त आश्चर्य लागेको छ ।’ उनले आफूहरुको एकतालाई लिएर राष्ट्रको अनिष्ट हुन्छ भन्नेहरुलाई नै चुनावमा अनिष्ट हुने भयो भन्ने भुत सभार भएको आरोप लगाए । उनले भने,‘अरुको आडमा टेको लगाएर यसो उफ्रिनेहरुको लागि बरु अनिष्ट हुने भयो ।’ उनले बढीभन्दा बढी दलहरु एक ठाउँमा आउनु मुलुकलाई राजनीति स्थायित्व र समृद्धितर्फ डोर्याउन मद्दत पुग्ने विश्वास दिलाए । त्यस्तै उनले आफूहरुको एकता प्रयासलाई लिएर केही नेताहरुले लोकतन्त्र माथि नै खतरा भनेर बोलेको पनि आफूहरुले सुनेको उल्लेख गर्दै भने,‘लोकतन्त्रको अभ्यास गर्ने पार्टी एमालेभन्दा अरु कोहीपनि छैन, त्यसैले यस्तो कुरा वाईयात हो ।’

धितोपत्र बोर्डमा ८ कम्पनीको ८५ करोड बोनस सेयर दर्ता

काठमाडौं । चालु आर्थिक वर्ष सुरु भएयता धितोपत्र बोर्डमा ८ कम्पनीको बोनस सेयर दर्ता भएको छ । हालसम्म ८४ करोड ९२ लाख रुपैयाँ बराबरको ८४ लाख ९२ हजार कित्ता बोनस सेयर दर्ता भएको बोर्डले जानकारी दिएको छ । साउनयता सांग्रीला विकास बैंकको ४५ करोड ७३ लाख ९४ हजार, भागर्व विकास बैंको २ करोड ४० लाख, सेती फाइनान्स लिमिटेडको ५७ लाख १० हजार, जनउत्थान सामुदायिक लघुवित्त विकास बैंकको ४० लाख रुपैयाँ दर्ता भएको छ । यस्तै कालिका माइक्रोक्रेडिट डेभलपमेन्ट बैंकको ३ करोड २५ लाख र लाइफ इन्स्योरेन्स कम्पनी नेपाल लिमिटेडको २६ करोड ५२ लाख २४ हजार रुपैयाँको बोनस सेयर दर्ता भएको बोर्डले जनाएको छ । गुराँश लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको ४ करोड ४० लाख रुपैयाँ बराबरको ४४ लाख र साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडको १ करोड ६४ लाख १४ हजार रुपैयाँ बराबरको १ लाख ६४ हजार कित्ता बोनस सेयर बोर्डमा दर्ता भएको छ ।  बैंक तथा वित्तीय संस्था र बीमा कम्पनीले चुक्तापुँजी बढाउन सेयरधनीलाई बोनस सेयर वितरण गरेका हुन् । गत वर्ष बैंक तथा वित्तीय संस्था, जलविद्युत, बीमा र उत्पादनमुलक क्षेत्रका गरी १६४ कम्पनीको ३४ अर्ब ७९ करोड ५९ लाख रुपैयाँ बराबरको ३५ करोड २६ लाख ९८ हजार रुपैयाँ बराबरको बोनस सेयर दर्ता भएको बोर्डले जानकारी दिएको छ ।