तीन दिनभित्रमा प्रतिवेदन तयार गर्न शीर्ष नेताको निर्देशन
काठमाडौं । नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र)का शीर्ष नेताहरूले वाम गठबन्धनका प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन क्षेत्र निर्धारण कार्यदललाई तीन दिनभित्रमा प्रतिवेदन तयार गर्न निर्देशन दिएका छन् । नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र) र नयाँ शक्ति नेपाल पार्टीबीच चुनावी तालमेल र पार्टी एकीकरणबारे मंगलबार समझदारी भएको थियो । सोहीअनुरूप क्षेत्र निर्धारण र घोषणापत्र तयार गर्न बुधबार दुई वटा कार्यदल गठन गरिएको थियो । सिंहदरबारस्थित एमाले संसदीय दलको कार्यालयमा बिहीबार बसेको क्षेत्र निर्धारण र संयुक्त घोषणापत्र तयार गर्न गठित दुई वटै कार्यदलको प्रथम संयुक्त बैठकमा एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लगायतका शीर्ष नेताले सात दिनभित्रमा घोषणापत्रको मस्यौदा तयार गर्न निर्देशन दिएका हुन् । संविधान, लोकतन्त्र, सामाजिक न्यायलगायतका अन्य विषयलाई समेत सम्बोधन गरेर घोषणापत्र तयार गर्न शीर्ष नेताहरूले निर्देशन गरेका नेता गंगा श्रेष्ठले जानकारी दिए । समितिमा एमालेको तर्फबाट नेताहरू विष्णु पौडेल, सुरेन्द्र पाण्डे, माओवादी केन्द्रको तर्फबाट वरिष्ठ नेता रामबहादुर थापा, नेताहरू वर्षमान पुन र मातृका यादव तथा नयाँ शक्ति पार्टीका तर्फबाट नेता गंगा श्रेष्ठ रहेका छन् । सहमतिअनुसार समितिलाई ६० प्रतिशत एमाले र ४० प्रतिशत माओवादी केन्द्र हुने गरी प्रत्यक्षतर्फको उम्मेदवार चयन गर्ने जिम्मेवारी दिइएको छ । त्यसैगरी संयुक्त चुनाव घोषणापत्र मस्यौदा बनाउन गठित कार्यदलमा एमालेबाट उपाध्यक्ष वामदेव गौतम, भीम रावल, प्रदीप ज्ञवाली, माओवादी केन्द्रबाट वरिष्ठ नेता नारायणकाजी श्रेष्ठ, देव गुरुङ, विश्वभक्त दुलाल तथा नयाँ शक्ति पार्टीका डम्बर खतिवडा र डा लक्ष्मी देवकोटा छने । रासस
भौतिकशास्त्रतर्फको नोवेल पुरस्कार तीन जनालाई
स्वीडेन । सन् २०१७को भौतिकशास्त्रतर्फको नोबेल पुरस्कार वैज्ञानिकत्रय रेनर विस, बारी सि बारिस र किप एस थोर्नलाई दिइने घोषणा ‘रोयल एकेडेमी अफ साइन्सेस इन स्टकहोम’ले गरेकोे छ । म्यासाच्युसेट इन्स्टिच्युट अफ टेक्नोलोजीका विसले आधा पुरस्कार र क्यालिफोर्निया इन्स्टिच्युट अफ टेक्नोलोजीका बारिस र थोर्नले अर्को आधा पुरस्कार संयुक्त रूपमा दिइएको नोबेल पुरस्कारको भौतिकशास्त्रतर्फ निर्णायक समितिले जनाएको छ । पुरस्कार गुरुत्वाकर्षण तरङ्गसम्वन्धि अध्ययन गर्ने लेजर इन्टरफेरोमिटर ग्राभिटेसनल–वेभ अब्जरभेटरी (लिगो) डिटेक्टर नामक उपकरण निर्माणका लागि निर्णायक भूमिका खेलेवापत प्रदान गरिएको हो । उनीहरूको विश्वास गरिँदै आएको गुरुत्वाकर्षण तरङ्गलाई पहिलो पटक पत्ता लगाउन गरेको भूमिकाका लागि पुरस्कार दिइएको हो । “यससँगै अहिलेसम्म पहिचान नभएको संसारलाई पत्ता लगाउन बाटो खुलेको छ । यो गुरुत्वाकर्षण तरङ्गसम्वन्धि खगोलशास्त्रमा नयाँ बिहानी मानिएको छ,” पुरस्कार चयन समितिका एक सदस्य ओल्गा बोटनरले जनाए। पुरस्कार घोषणापछि गरिएको टेलिफोन वार्तामा विसले भने, पुरस्कार प्राप्त गर्दा आफूलाई आनन्दको अनुभूति भएको बताए । उनले गुरुत्वाकर्षण तरङ्गलाई लिएर योगदान दशकौदेखि योगदान गर्नुहुने वैज्ञानिकहरूको प्रशंसा गरेका छन् । विसले थपे, “साच्चै म साहै्र प्रफुल्ल छु । यो अचम्मको अनुभव हो ।” यससँगै संसार बुझ्नका लागि नयाँ वैज्ञानिक बाटो तय भएको छ । रासस
चीनद्धारा ‘विश्वकै अग्लो’ विद्युत खम्वाको निर्माण शुरु, ३८० मिटर अग्लो हुने
चीन । चीनले अहिलेसम्म संसारकै ‘सबभन्दा अग्लो ’ विद्युत आपूर्ति गर्ने खम्वाको हालै निर्माण शुरु गरेको छ । पूर्वी चीनको झेजियाङ प्रान्तमा निर्माणधिन विद्युत पोल (खम्बा) अहिलेसम्म सवैभन्दा अग्लो मानिएको लण्डनको विग वेन भन्दा चार गुणा अग्लो अर्थात् ३८० मिटर अग्लो हुने झेजियाङ विद्युत निर्माण कम्पनीले जानकारी गराएकोे छ । यो चीनकै दामाओसानमा घोषणा भएको ३७० मिटर अग्लो विद्युत खम्वाभन्दा १० मिटर अग्लो हुने र विश्वकै सवैभन्दा अग्लो विद्युतकोखम्वा (टावर)को रुपमा विश्व कीर्तिमान रहने निर्माण कम्पनीको दावी छ । सन् २०१८ को अन्त्यसम्म निर्माण सम्पन्न गरी सन् २०१९ को शुरुदेखि नै यसलाई प्रयोगमा ल्याइने योजना कम्पनीको रहेको छ । रासस
१ करोड ६२ लाख कित्ता एफपीओ बजारमा आउँदै, हेर्नुस कसको कति ?
काठमाडौं । नेपालको पुँजी बजारमा ३ कम्पनीले थप निष्कासन (एफपीओ) ल्याउने भएका छन् । एनएमबी बैंक, बुटबल पावर कम्पनी लिमिटेड (बीपीसी) र प्रिमियर इन्स्योरेन्स कम्पनी नेपाल लिमिटेडले प्रिमियम मूल्यमा १ करोड ६१ लाख ५५ हजार ७२८ कित्ता एफपीओ निष्कासन गर्न धितोपत्र बोर्डमा निवेदन दिएका छन् । एफपीओको मूल्य भने तय भएको छैन् । बोर्डले ३ वटै कम्पनीको प्रस्तावको अध्ययन गरिरहेको जनाएको छ । एनएमबी बैंकले १ करोड १४ लाख १५ हजार १६३, बीपीसीले ४० लाख ८१ हजार र प्रिमियर इन्स्योरेन्सले ६ लाख ५९ हजार ५६५ कित्ता एफपीओ निष्कासन गर्न लागेका हुन् । एनएमबी बैंकले चुक्तापुँजी बढाउन एफपीओ निष्कासन गर्न लागेको हो । बैंकको हाल ६ अर्ब ४६ करोड १७ लाख रुपैयाँ चुक्तापुँजी छ । एफपीओ निष्कासन र बोनस सेयरबाट उसले चुक्तापुँजी ८ अर्ब रुपैयाँ पुर्याउदै छ । यस्तै बीपीसीले ३७.६ मेगावाटको कावेली ए र ३० मेगावाटको न्यादी जलविद्युत आयोजना बनाउनका लागि लगानी जुटाउन एफपीओ निष्कासन गर्न लागेको हो । बीपीसीले कात्तिकसम्म एफपीओ ल्याउने जानकारी दिएको छ । बीपीसीले प्रतिकित्ता ५१८ रुपैयाँ प्रिमियम मुल्य प्रस्ताव गरेको छ । उसले ४० लाख ८१ हजार कित्ता एफपीओ निश्कासन गर्न लागेको हो । यो दरमा एफपीओ निश्कासन अनुमति पाए कुल २ अर्ब ११ करोड ३९ लाख ५८ हजार रुपैयाँ संकलन हुने छ । यस्तै, प्रिमियरले पनि चुक्तापुँजी बढाउन एफपीओ निष्कासन गर्न लागेको हो । हाल उसको चुक्तापुँजी ४४ करोड ८५लाख रुपैयाँ छ । आउदो असारसम्म प्रिमिरले चुक्तापुँजी बढाएर १ अर्ब रुपैयाँ पुर्याउदै छ । धितोपत्र बोर्डले उत्पादनमूलक लगायत अन्य क्षेत्रका संगठित संस्थाले पनि एफपीओ निष्कासन गर्न पाउने नीतिगत व्यवस्था गरेपछि कम्पनीहरुले निष्कासन गर्न लागेको हुन् । चालु आर्थिक वर्ष सुरु भएपछि नेपाल ग्रामीण विकास बैंकले प्रतिकित्ता १ सय रुपैयाँ दरले ९ करोड ७५ लाख रुपैयाँको ९ लाख ७५ हजार कित्ता एफपीओ निष्कासन गरिसकेको छ । गत वर्ष नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले प्रतिकित्ता १ हजार ४२४, नेपाल एसबीआई बैंकले ९७१, स्ट्यान्डर्ड चाटर्ड बैंक नेपाल लिमिटेडले १ हजार २९० र पोखरा फाइनान्स लिमिटेडले प्रतिकित्ता २२० रुपैयाँमा एफपीओ निष्कासनको अनुमति पाएका थिए ।
भारतमा सोलार प्रविधिको बिजुली सस्तियो, प्रतियुनिट २.६४ भारु
नयाँदिल्ली । भारतमा वायु उर्जा शक्तिको मूल्यमा गिरावट आएको छ । सरकार स्वामित्वको सोलार इनर्जी कर्पोरेशन अफ इन्डिया (एसईसीआई) ले गरेको प्रतिस्पर्धामा प्रतियुनिट २.६४ भारुमा सोलार कम्पनीले बिजुली बिक्री गर्ने प्रस्ताव गरेका छन् । बिहीबार बिहान प्रतिस्पर्धा गर्दा सोलारको बिजुलीको भाउ सस्तो हुन पुगेको हो । यो हालसम्म कै सर्वाधिक सस्तो मूल्य रहेको लाइभमिन्ट अनलाइनले जानकारी दिएको छ । रिन्यु पावर भेन्चर्स प्रालि र अरेन्ज सिरोन्ज वाइन्ड पावरले प्रतियुनिट २.६४ भारुमा २५० मेगावाट बिजुली बेच्ने सम्झौता गरेका छन् । यस्तै भारतकै वाइन्ड इन्फास्टक्चर सर्भिसेज लिमिटेड र ग्रीन इन्फ्रा इनर्जी लिमिटेडले प्रतियुनिट २.६५ भारुमा २५० मेगावाट बिजुली बेच्ने प्रस्ताव गरेका थिए । यसैगरी आदनी ग्रीन इन्र्जी लिमिटेडले पनि ५० मेगावाट बिजुली प्रतियुनिट २.६५ भारुमा बेच्न प्रस्ताव गरेको थियो । यो मुल्य औसत भन्दा धेरै कम भएको छ । कोइलाबाट बिजुली उत्पादन गर्दे आएको एनटीपीसी लिमिटेडले प्रतियुनिट ३.२० पैसा भारुमा बिजुली बेच्ने प्रस्ताव गरेको थियो । सोलार मोडलस्लको मूल्य ८० र टर्वाइनको मूल्य २० प्रतिशत घटेपछि लागत सस्तो पर्न गई सोलारबाट उत्पादन हुने ऊर्जाको मूल्य घटेको लाइभमिन्टले उल्लेख गरेको छ । भारतले २०२२ को अन्त्यमा १ लाख ७५ हजार मेगावाट थप बिजुली उत्पादन गर्ने लक्ष्य लिएको छ । भारतले ६० हजार मेगावाट वायु उर्जा उत्पादन गरेको छ । विन्ड इन्डिपेन्डेन्ट पावर प्रस्युडर्स एसोसीएसनको अनुसार उर्जा खरिदमा राज्यले महशुलको चाप बढाएको छ । लबी ग्रुपको अनुसार यो मुद्दाले नदेखिएको सम्पत्ति एनपीएसले २० हजार करोड भारतीय उर्जा क्षेत्रमा भारतीय बैंक कोष प्रोजेक्टको लागि सम्बन्धित निकायले उल्यख्य चासो नदिएको हुनाले रोकेको छ । यो लक्ष्य प्राप्तिको लागि नविकरणीय उर्जामन्त्री राजकुमार सिंहले २० हजार मेगावाट उर्जा उत्पादन गर्ने र सोलार पावरको ठेक्का भने डीसेम्बरसम्मा स्थिगित गर्ने बताए ।
नारायणगढ-मुग्लिन सडकको विकल्पको खोजी
चितवन । बढ्दो सवारी चाप र थप सडक विस्तारमा कठिनाइ हुने देखिएपछि नारायणगढ–मुग्लिन सडकखण्डको विकल्प खोजी गरिएको छ । हाल सो सडकमा दैनिक आठ हजारदेखि १० हजार सवारी साधन आवतजावत गर्ने गर्छन् । आउँदो पाँच वर्षभित्रमा यो संख्या १५ हजार हाराहारी पुग्ने अनुमान छ । हाल विस्तार भइरहेको सडकले पाँच वर्षपछि सवारीको चाप थेग्न नसक्ने देखिएको छ । जसका कारण सो सडकको विकल्पको रुपमा धादिङको मलेखुबाट चितवनको भण्डारा जोड्ने ग्रामीण सडकलाई विस्तार गर्न पहिलो विकल्पका रुपमा अघि सारिएको छ भने दोस्रो विकल्पका रुपमा मुग्लिनबाट देवघाट हुँदै नवलपरासीको गैँडाकोटसम्मलाई लिइएको छ । यी दुवै विकल्पका सडकको विस्तृत डिजाइनका लागि परामर्शदाता छनोट गरिसकिएको सडक विभागको एशियाली विकास बैंक आयोजनाका निर्देशक केशवकुमार शर्माले बताए । यी दुई सडकसँगै अन्य सात वटा सडक र तीन वटा पुलसमेतको डिजाइनका लागि कोरियन परामर्शदाता छनोटमा परेको छ । आउँदो साता कामको सम्झौता गरिने उनले बताए । अन्य सडक र पुलका लागि एक वर्ष छ महिनाको समय तोकिएको भए पनि मलेखुबाट भण्डारासम्मको सडकका लागि भने एक वर्षभित्रमा परामर्शदातालाई प्रतिवेदन बुझाउन भनिएको छ । बाटो खोलिसकेको र सडकमा सवारी कम गुड्ने हुँदा काम गर्न पनि सहज हुने भएकाले छिटो निर्माण गर्न सकिने अनुमान छ । दोस्रो विकल्पका रुपमा लिइएको मुग्लिन–देवघाट–गैँडाकोट सडक पनि चट्टानको फेदमा नदीको तिरैतिर बनाउनु पर्ने हुन्छ । हालको नारायणगढ–मुग्लिन सडकलाई विस्तार गर्न कठिन हुँदा विकल्पका रुपमा मानिएको भए पनि धेरै फराकिलो भने सो सडक बनाउन कठिन देखिएको छ । पश्चिमबाट आउने सवारीलाई सो सडक प्रयोग गरेर, पूर्वबाट आउने सवारीलाई भण्डारा–मलेखु सडक प्रयोग गर्दा सवारी चाप व्यवस्थापन गर्न सकिने अनुमान छ । रासस
जिएसटीले बजार भाउ नबढाउने भारतको केन्द्रीय बैंकको निश्कर्ष
नयाँ दिल्ली । भारतको केन्द्रीय बैंक -रिजर्भ बैंक अफ ईण्डिया (आरबीआई) ले वस्तु तथा सेवा कर (जिएसटी)का कारण उपभोग्य सामानमा मूल्य नबढ्ने निश्कर्ष निकालेको छ । जिएसटीले मूद्रास्फिती बढाउने/घटाउने विषयमाथी नेपाल लगायत अन्य छिमेकी मूलुकमा अन्यौलता बढीरहदा आरबीआईले यस्तो तथ्य सार्वजनिक गरेको हो । भारतले गत जनवरीदेखि लागू हुने गरी जिएसटी सुरु गरेको थियो । जिएसटीले कार्यान्वयनका क्रममा व्यवसाय, आपूर्ति प्रणाली लगायत केही उपभोगमा प्रभाव पारिरहेको छ । यद्दपी खुद्रा बजारमा यसको प्रभाव अती न्यून रहेको पाइएको छ । बैंकको प्रतिवेदन अनुसार उपभोक्ता मूल्य सूचकांकको ५० प्रतिशतभन्दा बढीमा जिएसटीको प्रभाव छैन । तथ्यांकले सुचकांकको बाकीमा प्रभाव पारेको देखाएको छ । तयारी खाद्यान्न, लत्ताकपडा तथा मनोरञ्जनका सामग्रीमा मूल्य बढ्ने छ भने व्यक्तिगत स्याहार सामग्री, मसला तथा दाल गेडागुडीको मूल्य घट्ने प्रतिवेदन ले देखाएको छ । सुरुवातमा कम्पनीले मूल्य बढाउने भएकाले कर सुधार कार्यान्वयनको पहिलो वर्षमा एकपटकमा मूद्रास्फिती बढ्न सक्ने बैंकले बताएको छ । आरबीआईले १८ वस्तुको (अती उपभोग्य सामग्री सहित) मूल्यमाथी गरेको सर्वेक्षणले 0.८ प्रतिशतले बढेको देखाएको छ । (भारतीय पत्रिका लाइभमिन्टको अनलाइन संस्करणबाट भावानूवाद गरिएको ।)
तिलिचो ताल जाने छोटो पदमार्गको निर्माण
मुस्ताङ । विश्वकै सबैभन्दा अग्लो स्थानमा रहेको भनी चिनिएको तिलिचो ताल समुद्री सतहदेखि ४,९१९ मिटर अग्लो स्थानमा रहेको छ । सो तालमा जान अब हिमालपारिको जिल्ला मुस्ताङबाट जोमसोमको ठिनी हुँदै ५,१२० मिटर अग्लो मेसोकोन्दो पास भञ्ज्याङ भई पुग्न सकिने छोटो पदमार्गको निर्माण भएको छ । उक्त पदमार्ग निर्माण तथा साइन पोस्टिङको कार्य अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना इलाका संरक्षण कार्यालय, जोमसोमद्वारा गरिएको हो । गत साल र अहिले गरी उक्त निर्माण तथा साइन पोस्टिङको कार्य सफल पारिएको हो । तिलिचो ताल जाने बाटो निर्माण तथा मर्मत कार्यका लागि यस वर्ष अन्नपूर्ण संरक्षण आयोजना इलाका संरक्षण कार्यालय जोमसोमद्वारा १० लाख रुपैयाँ बजेट छुट्याइएको त्यस कार्यालयका कार्यालय प्रमुख तुलसीप्रसाद दाहालले जानकारी दिए । जोमसोम तिलिचो पदमार्ग निर्माण सम्बन्धि आवश्यक ग्याबिन, पुल तथा अन्य आवश्यक सामग्री प्रयोग गरी उक्त बाटो ९.५ किमी लम्बाइ र दुई मिटर चौडाइ निर्माण गरिएको अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना इलाका संरक्षण कार्यालयका सब इञ्जिनियर निकेश शेरचनले बताए । विसं २०७० मा थोरङ पास र डोल्पाको क्षेत्रमा घटेको डरलाग्दो घटनामा धेरै पर्यटकको मृत्यु भएपछि तिलिचो ताल जाने बीचबाटो अथवा तिलिचो बेस क्याम्पमा पनि एउटा बस्ने ठाउँ अथवा टि हाउस चिया पसल र छहारी निर्माण गर्नु आवश्यक भएको हुनाले पूर्वाधार क्षेत्र विकास कार्यक्रमअन्तर्गतको रकमबाट १२ लाख रुपैयाँ सांसद श्रीमाया थकालीको पहलमा सांसद विकास कोषबाट बजेटको व्यवस्था गरिएको हो । हाल याकखर्कमा उक्त पाटी निर्माण भएकाले पर्यटक तथा पदयात्रीलाई बस्नका लागि तथा तिलिचो ताल पदयात्राका लागि धेरै सहज हुने सांसद थकालीले बताए। यो पदमार्गलाई उचित तरिकाले दिगोरुपमा व्यवस्थापन गर्नसके अन्नपूर्ण राउन्डको थोरङ पास जत्तिकै प्रख्यात तथा पर्यटकले रुचाउने कुरामा पूर्णरुपमा विश्वास भएको जनमुक्ति युवा क्लबका अध्यक्ष नरेन्द्र थकालीले जानकारी दिए । यो पदमार्ग निर्माण ठिनी गाउँ र समस्त मुस्ताङ जिल्लाको पर्यटन विकासमा कोशेढुंगा नै भएकोमा अध्यक्ष थकालीले जोड दिए । रासस